शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९०१५ - कर्तव्य ज्यान

भाग: ५५ साल: २०७० महिना: भाद्र अंक:

ने.का.प. २०७०,           अङ्क ५

निर्णय नं.९०१५

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की

०६९-CR-००५९

फैसला मितिः २०७०।२।३।६

 

मुद्दा : कर्तव्य ज्यान ।

 

वादीः रामबहादुर महतको जाहेरीले नेपाल सरकार

विरुद्ध

प्रतिवादीः जिल्ला गोरखा, गा.वि.स. आँपपिपल, वडा नं.७ घर भै हाल कारागार कार्यालय काभ्रेपलाञ्चोक, धुलिखेलमा थुनामा रहेका मानबहादुर महत

 

शुरू फैसला गर्ने :

मा.न्या.श्री प्रभा वस्नेत

पुनरावेदन फैसला गर्ने :

मा.न्या.श्री माधवप्रसाद चालिसे

मा.न्या.श्री राजकुमार वन

 

§  आफूले आफ्नै आमामाथि गरेको जघन्य कर्तुतको सविस्तार उल्लेख गरेको हुँदा घटना हुँदाका अवस्था निजको मानसिक अवस्था सामान्य रहेको भनी सहज अनुमान गर्न सकिने ।

§  वारदात हुनुभन्दा पहिलेको अवस्था वा घटनापछिका अवस्था नभई वारदात हुँदाको अवस्था दण्ड सजायको १ नं. प्रयोग हुने वा नहुने भन्ने कुराको निर्धारक हुन्छ । वारदातको अवस्थामा मानसिक सन्तुलन गुमेको थियो थिएन भन्ने मूल कुरा भएकाले यस किसिमका सजायमा छूटको दावी भएका मुद्दामा हेरिनु पर्ने घटना नै नबुझ्ने अवस्थामा मानसिक स्थिति रहेको भन्ने चित्रित हुन सकेको अवस्था छैन । सजायबाट उन्मुक्ति पाउने उद्देश्यले जिकीर लिएको हो वा वास्तविक रूपमा नै मानसिक रोगी हो भन्ने तथ्यको उजागर् घटनाक्रममा प्रतिवादीले खेलेको कार्यको भूमिकामा निर्भर हुने ।

(प्रकरण नं.५)

§  अदालतमा आई बकपत्र गर्ने प्रतिवादीकी श्रीमतीले समेत घटनाअघि परिवारसँग अन्य कुनै प्रकारको झैझगडा हुँदैनथ्यो, परिवार राम्रोसँग नै बसेका थियौँ भनी बकपत्र गरेको अवस्था भएको तथा प्रतिवादीले जाँच गराएको प्रेसक्रिप्सनमा "Mental illness psychosis" को विरामी रहेको भन्ने उल्लेख भएता पनि उक्त जाँच घटना भएको सात महिनापछाडि भएको अवस्था हुँदा घटना भएको अवस्थाको प्रतिवादीको मानसिक अवस्थालाई उक्त परीक्षण प्रतिवेदनले चित्रित गर्न नसक्ने ।

(प्रकरण नं.७)

 

वादीतर्फबाटः

प्रतिवादीतर्फबाटः

अवलम्बित नजीरः

§  नेकाप  २०४४, वैशाख, नि.नं.२९७८, पृष्ठ ११०

§  नेकाप  २०४५, कात्तिक, नि.नं.३५३१, पृष्ठ ७२८,

सम्बद्ध कानूनः

§  मुलुकी ऐन, दण्ड सजायको महलको १ नं.

 

फैसला

न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम साधक जाँचको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यस प्रकार छ :

जिल्ला गोरखा, आँपपिपल गा.वि.स. सिम्पानीस्थित मानबहादुर महतको घरको भूईंतल्लाको भर्‍याङ्को कुनामा मृतक मीनकुमारी महतको टाउको नभएको शरीर रहेको, उक्त स्थानको आसपासमा रगत जमेको, सोही घरको बीच तल्लाको मकैको कुनियो नजिक मृतकको टाउको र तरबार रहेको, तरबार प्रहरीले बरामद गरी लिएको भन्ने घटनास्थल मुचुल्का ।

जिल्ला गोरखा, आँपपिपल गा.वि.स.वडा नं.७ स्थित प्रतिवादी मानबहादुर महतलाई आफ्नै घरमा फेला पारी निजले लगाएको टिसर्ट र पाइन्टमा रगत लागेकाले निजलाई पक्राउ गरी उक्त कपडा बरामद गरिएको भन्नेसमेत व्यहोराको बरामदी मुचुल्का ।

मिति २०६५।८।७ गतेका दिन मेरो भाइ मानबहादुर महतले आमा वर्ष ७० की मीनकुमारी महतसँग दूध दही खान मागेकोमा निज आमाले तेरो बच्चालाई चाहिन्छ भनी नदिएपछि निज घरको सिरान तलामा गई धानको भकारीमा तरबारले हानेकोले आमा मीनकुमारी महत गई किन यसो गरेको भन्दा उल्टै तरबारले आमालाई प्रहार गरी ढलाई घाँटीमा रेटी शरीरबाट टाउको छुट्याई कर्तव्य गरी मारेको हुँदा आवश्यक कारवाही गरिपाऊँ भन्नेसमेत व्यहोराको रामबहादुर महतको जाहेरी दरखास्त ।

घाँटीमा धारिलो हतियारले काटिई टाउकोको भाग छुट्टिई मृत्यु भएको भन्नेसमेत व्यहोराको मृतक मीनकुमारी महतको शव परीक्षण प्रतिवेदन ।

मिति २०६५।८।७ गतेका दिन घरको काम गरी थकावट भै प्यास लागेकोले आमा मीनकुमारी महतसँग दूध दही खान माग्दा छैन, तेरो बच्चालाई चाहिन्छ भनी नदिएकाले रिस उठी घरको सिरान तल्लामा गई तरबार निकाली धानको भकारीमा हान्न लाग्दा आमा आई यसो किन गरेको भनी गाली गरेकाले सोही तरबारले आमाको खुट्टामा हानेँ । आमा ढलेपछि सोही तरबारले आमाको घाँटीमा हानी रेटी टाउकोको भाग छुट्याई टाउको बीच तल्लामा र शरीर भूईं तलामा झारी दिएको हुँ । उक्त तरबार रिसले काठको थाममा हान्दा भाँचिन गई चार टुक्रा भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी मानबहादुर महतले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।

मिति २०६५।८।७ गतेका दिन म घरमा नै काम गरिबसेको अवस्थामा अं.१४.०० बजेको समयमा घरमा होहल्ला भएको आवाज सुनी के भयो भनी हेर्दा श्रीमान् मानबहादुर महतले सासू मीनकुमारी महतलाई धारिलो हतियार तरबारले हानी घाइते बनाएको देखी हारगुहार गर्दा गाउँलेहरू आइपुग्दा निज श्रीमान्‌ले सासूलाई धारिलो हतियार तरबारले घाँटीमा रेटी टाउको छुट्याई सकेका रहेछन् । निज श्रीमान्‌ले सासूसँग दूध दही खान माग्दा नदिएको भन्ने रिसले तरबारले हानी कर्तव्य गरी मारेका हुन् भन्नेसमेत व्यहोराको देवीमाया महतले गरिदिएको कागज ।

मिति २०६५।८।७ गतेका दिन देवीमाया महतले गुहार मागेकाले के भयो भनी हेर्न जाँदा मानबहादुर महतले आफ्नै आमा मीनकुमारी महतलाई धारिलो हतियार तरबारले घाँटीमा हानी रेटी शरीरबाट टाउको छुट्याई कर्तव्य गरी मारी मृत लास भूईंतलामा र टाउको बीच तलामा रहेको अवस्थामा देखेका हौँ । घटना के कसरी भयो भन्ने सम्बन्धमा बुझ्दा मानबहादुर महतले आमासँग दूध दही खान माग्दा नदिएपछि तरबारले भकारीमा हानेको र किन यसो गरेको भनी सम्झाउँदा उल्टै सोही तरबारले हानी कर्तव्य गरी मारेका रहेछन् भन्नेसमेत व्यहोराको बुझिएका विष्णुकुमार श्रेष्ठ, नेत्रबहादुर ढकाल, रामजी बस्नेत, रामबहादुर बस्नेतसमेतले गरिदिएको एकैमिलानको कागज ।

प्रतिवादी मानबहादुर महतले मिति २०६५।८।७ गतेका दिन आमा मीनकुमारी महतसँग दूध दही खान मागेको र नदिएपछि रिसले घरमा रहेको धानको भकारीमा हानी रहेको अवस्थामा किन यसो गरेको भन्दा सोही तरबारले आमालाई प्रहार गरी आमा ढलेपछि घाँटीमा तरबारले हानी रेटी कर्तव्य गरी मारेको पुष्टि हुन आएकोले निज प्रतिवादी मानबहादुर महतलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(१) नं. को कसूर अपराधमा ऐ. को १३(१) बमोजिम सजाय हुन माग दावी लिई पेश भएको अभियोग पत्र ।

मिति २०६५।८।७ गतेको कुरा हो । म आफ्नै घरमा काम गरी थाकेकाले तिर्खा लागि आमासँग दूध दही मागी खान खोज्दा आमाले तँलाई पुग्दैन, तेरा केटाकेटीलाई दिनुपर्छ भनी नदिएकीले मलाई रिस उठी भदालामा रहेको दूध घोप्ट्याई, दहीको भाँडालाई झिकी फाली दिई रिस थाम्न नसकी माथि धान राखेको भकारीमा गै भकारीलाई तरबारले हानिरहेको ठाउँमा आमा आई बाबु तैले के गरेको यस्तो भनी गाली गरेकीले मैले आफ्नो रिस थाम्न नसकी आफूसँग रहेको तरबारले आमाको घाँटीमा प्रहार गरेपछि आमा भूईंमा लड्नु भएपछि केही समयपछि छटपटाउँदै बीच तलामा झर्नुभयो । म पनि पछ्‌याउँदै आमा भएको ठाउँमा आई आफूसँग भएको तरबारले आमाको घाँटीमा पटक पटक प्रहार गरी टाउको छुट्याई टाउकोलाई मकैको कुनियो नजिक राखी शरीर भूईं तलामा भर्‍याङ्बाट तल खसाली दिएको हो भन्ने व्यहोराको प्रतिवादी मानबहादुर महतले अदालतमा गरेको बयान ।

मिति २०६५।८।७ गते आफ्नै ठूलो बुबाको दाञीमा गएको थिएँ । दिउसो २ः३० बजेतिर मानबहादुरको श्रीमती रूँदै हामीहरू काम गरेको ठाउँमा आइपुगिन् । के भयो भनी सोधपुछ गर्दा आमा छोराको झगडा भै मेरो श्रीमान्‌ले भकारी काट्न थाल्नु भएको थियो र आमाले यसो नगर भकारी काट्न हुँदैन भनी भन्दा आमालाई नै काटेका छन् भनी भनिन् । हामी गाउँका मानिसहरू त्यहाँ जाँदा आमालाई मारी काटी सकेको रहेछ । हातमा तरबारसमेत लिई बसेका रहेछन् । ऊ घरभित्र नै बसेको थियो । गाउँलेहरू जम्मा भै प्रहरीलाई खबर गरी पक्राउ गरेको हो । ऊ मानसिक रोगी हो । उसले ९/१० वर्ष पहिलादेखि नै औषधि सेवन गरिआएको थियो भन्ने व्यहोराको प्रहरीमा कागज गर्ने रामबहादुर बस्नेतले अदालतमा गरेको बकपत्र ।    

मृतक मीनकुमारी महतलाई प्रतिवादी मानबहादुर महतले तरबारले काटी मारेको हो । मृतक र प्रतिवादी सख्यात आमा छोरा हुन् । के घरायसी रिसइबीको कारणबाट आफ्नै आमालाई काटी मारे खुलाउन सक्क्तिन । मानसिक रोगको औषधि सेवन गर्थे भन्ने सुनेको हुँ अरू थाहा छैन भन्ने व्यहोराको प्रहरीमा कागज गर्ने नेत्रबहादुर ढकाल र रामजी बस्नेतले अदालतमा गरेको एकैमिलानको बकपत्र ।

प्रतिवादी मानबहादुरलाई आमाले नै पाल्नु भएको थियो । आमालाई उसले पालेको होइन । ऊ अल्छी थियो । सुतिरहन चाहन्थ्यो । आमाले काम गर भनेर झक्झकाई रहनुहुन्थ्यो । त्यो सहन नसकेर उसले आमाको हत्या गरेको हो । अन्य रिसइबी केही थिएन भन्ने व्यहोराको जाहेरवाला रामबहादुर महतले अदालतमा गरेको बकपत्र ।

मेरो श्रीमान्‌ले आमा मीनकुमारीसँग दूध खान्छु भनी माग्नु भएछ । अलिकति खाउ अलिकति छोराछोरीलाई राख भन्दा सबै दूध खानु भएछ, ठेकीमा भएको मही खाई तल्लामा उक्ली भकारी काट्न थालेपछि म घरमा आएँ । आमा मीनकुमारीले यसरी भकारी नकाट भन्दा आमा मीनकुमारीको खुट्टामा  काटेछन् । आमा बेहोस् भएपछि भर्‍याङ्मा लगी तरबारले घाँटीमा काटी घाँटी छिनाली टाउको कता लुकाए मलाई थाहा भएन । मलाई डर लागेकोले माथि तलामा उक्लिन । म रूँदै कराउँदै गाउँलेलाई खबर गरेपछि गाउँलेहरू घटनास्थलमा आइपुग्दा आमालाई मारिसकेका रहेछन् र प्रहरीलाई खबर गरी प्रहरीले पक्राउ गरी ल्याएको हो । मेरो श्रीमान् मानसिक रोगी हो भन्ने व्यहोराको प्रहरीमा कागज गर्ने देवीमाया महतले अदालतमा गरेको बकपत्र ।    

प्रतिवादी मानबहादुर महतले मिति २०६५।८।७ गते आफ्नै आमा मीनकुमारी महतलाई धारिलो तरबारले प्रहार गरी ढलेपछि घाँटीमा तरबारले हानी रेटी कर्तव्य गरी मारेको भन्ने मिसिल संलग्न प्रमाणहरूबाट प्रमाणित हुन आएकोले प्रतिवादी मानबहादुर महतले अभियोग दावीबमोजिम ज्यानसम्बन्धी महलको १ र १३(१) नं. को कसूर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी मानबहादुर महतलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ भन्ने शुरू गोरखा जिल्ला अदालतको मिति २०६६।७।११ को फैसला ।

म वारदातभन्दा ४/५ वर्ष पहिलेदेखि नै मानसिक रोगी भएको कारण मानसिक रोगको औषधि सेवन गरिरहेको थिएँ । म मानसिक रोगी भएको अवस्थालाई दृष्टिगत नगरी आरोपित कसूर गरेको ठहर गरी अधिकतम् सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण भएकाले बदर गरी मुलुकी ऐन, दण्ड सजायको १ नं. बमोजिम कुनै सजाय नगर्ने गरी फैसला गरिपाऊँ वा म पुनरावेदक घटना भएको समय तथा सोभन्दा अघिदेखि मानसिक रोगी भै औषधि सेवन गरी आएको अवस्था र परिस्थितिलाई मध्यनजर राखी मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम न्यूनतम् मात्र सजाय गरिपाऊँ भन्ने मानबहादुर महतको पुनरावेदन अदालत, पोखरामा परेको पुनरावेदन पत्र ।

यसमा प्रतिवादी मानबहादुर महत ूएकथअजयकष्कू नामक रोगी भएको भन्ने देखिएको, तर तत्सम्बन्धमा विवेचना नभएको शुरूको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. बमोजिम छलफलको लागि पुनरावेदन सरकारी वकीलको कार्यालय, पोखरालाई पेशीको जानकारी गराई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत, पोखराको मिति २०६८।८।१८ को आदेश ।

प्रतिवादी अनुसन्धान अधिकारी र अदालतमा समेत आरोपित कसूरमा साबित रही बयान गरेको र सो तथ्य शव परीक्षण प्रतिवेदन र मौकामा कागज गर्ने व्यक्तिहरूले गरेको प्रमाण समेतबाट प्रतिवादीले आरोपित कसूर गरेको पुष्टि हुन आयो । प्रतिवादीले दण्ड सजायको १ नं. को प्रतिरक्षाको जिकीर लिएतर्फ विचार गर्दा प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतमा बयान गर्दा सिलसिलेवार ढङ्गले घटनाको तथ्यगत प्रसङ्गलाई उजागर् गरी कसूर स्वीकार गरेको देखिन्छ । केवल पुनरावेदन जिकीरमा मानसिक रोगी भनी लिएको जिकीरका आधारमा मात्र प्रतिवादीले फौजदारी कानूनले निर्दिष्ट गरेको प्रतिरक्षाको सुविधाप्राप्त गर्न सक्ने अवस्था नदेखिँदा प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर गरेको शुरू गोरखा जिल्ला अदालतको मिति २०६६।७।११।४ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ  भन्ने पुनरावेदन अदालत, पोखराको मिति २०६८।११।२ को फैसला ।

      नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदन अदालत, पोखराले प्रतिवादी मानबहादुर महतलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय गर्ने ठहर्‍याएको फैसला मिलेको छ छैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

            यसमा प्रतिवादी मानबहादुर महतले आफ्नी आमा मीनकुमारी महतलाई तरबारले काटी कर्तव्य गरी मारेको हुँदा निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ (१) नं. बमोजिम सजाय गरिपाऊँ भनी अभियोगपत्र पेश भएकोमा प्रतिवादीलाई अभियोग दावीबमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर्‍याएको शुरू गोरखा जिल्ला अदालतको फैसला सदर हुने गरी पुनरावेदन अदालत, पोखराबाट मिति २०६८।११।२ मा भएको फैसलाउपर पुनरावेदन गर्न निज प्रतिवादीको नाममा मिति २०६९।५।७ मा म्याद जारी भई २०६९।५।२६ मा म्याद तामेल भई म्यादभित्र निज प्रतिवादीको पुनरावेदन नपरेकोले साधक जाँचको लागि निर्णयार्थ पेश भएको देखियो ।

२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी मानबहादुर महतले आफ्नी आमा मीनकुमारी महतलाई मिति २०६५।८।७ मा तरबारले काटी हत्या गरेकोले निजलाई ज्यानसम्बन्धी महलको १ र १३(१) नं. को कसूरमा सोही महलको १३(१) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग दावी भएको प्रस्तुत मुद्दामा प्रतिवादीले अनुसन्धान अधिकारी तथा अदालतमा समेत बयान गर्दा आफू घरमा काम गरेपछि थाकेकोले आमासँग दूध दही खान माग्दा केटाकेटीलाई दिनुपर्छ भनी नदिएकोले मलाई रिस उठ्यो । त्यसपछि दूध दहीको भाँडोलाई फाली दिई धान राखेको भकारीमा गई तरबारले भकारी काटिरहेको अवस्थामा आमा आई के काटेको भनी गाली गरेकोले मैले रिस थाम्न नसकी तरबारले आमाको घाँटीमा प्रहार गरे । निज त्यहीँ लडी केही समयपछि छट्पटाउँदै तल्लो तलामा झरेपछि म पनि पछ्याउँदै गई निजको घाँटीमा तरबारले पटक पटक प्रहार गरी टाउको छुट्याई टाउकोलाई मकैको कुनियो नजिक राखी शरीरलाई भर्‍याङ्बाट खसाली दिएँ भनी कसूरमा पूर्ण साबित रही बयान गरेको देखिन्छ । निजको उक्त बयान शव परीक्षण प्रतिवेदन, मौकाको कागज र मौकामा कागज गर्ने व्यक्तिहरू प्रतिवादीकी श्रीमती देवीमाया महत, रामबहादुर बस्नेत, नेत्रबहादुर ढकाल र रामजी बस्नेत तथा जाहेरवाला रामबहादुर महतले अदालतमा गरेको बकपत्रबाट समेत समर्थित भइरहेको अवस्थामा यी प्रतिवादी मानबहादुर महतले धारिलो हतियार प्रहार गरी आफ्नी आमालाई कर्तव्य गरी ज्यान लिएको तथ्यमा विवाद भएन ।

३. अब, निज प्रतिवादीलाई अभियोग दावीबमोजिम सजाय हुनुपर्ने हो होइन सोतर्फ विचार गर्दा  निज प्रतिवादीले पुनरावेदन अदालतको फैसलाउपर पुनरावेदन गरेको अवस्था छैन । तर, निजले पुनरावेदन अदालतमा गरेको पुनरावेदनमा मुलुकी ऐन, दण्ड सजायको महलको १ नं. को प्रतिरक्षाको जिकीर लिएको र उक्त अदालतले सो कुराको विवेचना गरी प्रतिवादीले सो सुविधा पाउन सक्ने अवस्थाको वारदात नभएको भनी प्रतिरक्षाको सुविधा प्रदान नगरी दावीबमोजिम कसूरदार ठहर गरेउपर साधकको रोहबाट पेस भएबाट सो विवादित प्रश्नको निरूपण गर्नु आवश्यक छ ।

४. मुलुकी ऐन, दण्ड सजायको महलको १ नं. को कानूनी व्यवस्था हेर्दा, “कानूनबमोजिम अपराध ठहरिने कुनै काम गर्नें व्यक्ति सो काम गर्दा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा  नपाउने गरी मगज बिग्रेको वा बौलाएको रहेछ भने निजलाई खतबात लाग्न वा कुनै प्रकारको सजाय हुन सक्दैनभन्ने उल्लेख छ । यस प्रावधानअनुसार प्रतिरक्षाको जिकीर लिने त्यस्तो व्यक्तिले वारदात हुँदाका अवस्था त्यस्तो कार्य जसको प्रकृति र परिणाम के हुन्छ र के परिणाम निस्क्यो भन्नेसम्मको कुनै जानकारी हासिल गर्न नसक्ने अवस्थालाई इङ्गीत गरेको छ । अब, यी प्रतिवादीमा त्यो अवस्था छ वा छैन सो विचारणीय छ । यी प्रतिवादीको अनुसन्धान अधिकारीसमक्षको बयान हेर्दा सवाल जवाफ २ मा आफू मानसिक रोगी भए पनि औषधि सेवन गरेपछि ठीक भएको र सोधिएको प्रश्नको जवाफ दिन सक्छु भनी उल्लेख गरेको देखिन्छ । त्यस्तै अदालतमा बयान गर्दासमेत आफ्नो मानसिक अवस्था ठीक रहेको भनी उल्लेख गरेको देखिन्छ । त्यसै गरी अदालतको बयानको स.ज १२ मा तत्काल उठेको रिसको कारणले आमालाई तरबार प्रयोग गरी मारेको हुँ अहिले पश्चाताप लागेको छ, किन त्यस्तो कार्य गरेँ हूँला भन्ने सोची राखेको छु भनेको हुँदा मानसिकरूपले अस्वस्थ्य व्यक्तिले त्यस्तो बयान गर्न सक्ने अवस्था रहँदैन ।

५. निज प्रतिवादीले अनुसन्धान अधिकारी तथा अदालतसमक्ष गरेको बयानका अभिव्यक्ति हेर्दा यी प्रतिवादी घटना हुँदाका अवस्थामा मानसिकरूपले विक्षिप्त रहेको वा मानसिक सन्तुलन गुमाएको अवस्था देखिँदैन । आफूले आफ्नै आमामाथि गरेको जघन्य कर्तुतको सविस्तार उल्लेख गरेको हुँदा घटना हुँदाका अवस्था निजको मानसिक अवस्था सामान्य रहेको भनी सहज अनुमान गर्न सकिन्छ । वारदात हुनुभन्दा पहिलेको अवस्था वा घटनापछिका अवस्था नभई वारदात हुँदाको अवस्था दण्ड सजायको १ नं. प्रयोग हुने वा नहुने भन्ने कुराको निर्धारक हुन्छ । वारदातको अवस्थामा प्रतिवादीमा मानसिक सन्तुलन गुमेको थियो थिएन यही नै मूल कुरा हो । यस किसिमका सजायमा छूटको दावी भएका मुद्दामा हेरिनु पर्ने घटना नै नबुझ्ने अवस्थामा प्रतिवादीको मानसिक स्थिति रहेको भन्ने यहाँ चित्रित हुन सकेको अवस्था छैन । सजायबाट उन्मुक्ति पाउने उद्देश्यले जिकीर लिएको हो वा वास्तविकरूपमा नै प्रतिवादी मानसिक रोगी हो भन्ने तथ्यको उजागर् घटनाक्रममा प्रतिवादीले खेलेको कार्यको भूमिकामा निर्भर गर्दछ ।

६. दण्ड सजायको १ नं. प्रयोग गरी सजायबाट सम्बन्धित व्यक्तिलाई उन्मुक्ति दिइएका उदाहरण  छन् । नेकाप  २०४४, वैशाख, नि.नं. २९७८ पृष्ठ ११० र नेकाप  २०४५, कात्तिक, नि.नं. ३५३१, पृष्ठ ७२८, यस सजायबाट उन्मुक्ति दिइएका केही उदाहरण हुन् । ती नजीरमा अन्तर्निहीत तथ्य हेर्दा अभियुक्त मानसिकरूपमा असन्तुलित भनी चिकित्सकले लेखिदिएको र अभियुक्त बिहानदेखि नाङ्गै हिंडडुल गरेको र रातमा स्वास्नीलाई घाइते पारी छोरालाई मारेको देखिन्छ । सजायमा उन्मुक्तिको दावी गर्नसक्ने स्थितिमा अभियुक्त नहुन पनि सक्दछ । यस्तो अवस्थामा अभियुक्तले आफ्नो मानसिक स्थितिको परीक्षण गराइपाउन मांग नै गरेको छैन भनी पन्छन मिल्दैन । यस्तो अवस्थामा अनुसन्धान अधिकारी तथा अदालतसमेतको अभियुक्त अपराध गर्दाको अवस्थामा कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको वा बहुलाएको छ छैन अनुसन्धान अधिकारीलाई अनुसन्धानको क्रममा र अदालतमा मुद्दा पेश भएपछि निर्णयकर्तालाई परीक्षण गराउन आवश्यक लागेमा अभियुक्तको स्वास्थ्य परीक्षण गराउनु पर्ने हुन्छ । यस्तो आवश्यकता आरोपित व्यक्तिको क्रियाकलाप र विभिन्न मुचुल्कामा सम्मिलित व्यक्तिहरूको कथनबाट प्रकट हुन्छ । प्रस्तुत विवादमा शुरूको मानसिक अवस्थाको परीक्षण गराउन आवश्यक नसम्झेको स्थितिलाई अन्यथा भन्न सकिने अवस्था छैन ।

७. प्रस्तुत मुद्दामा यी प्रतिवादीले मौकामा तथा अदालतमा घटनाक्रमहरू सिलसिलेवाररूपमा क्रमशः उल्लेख गरेको देखिन्छ । अदालतमा आई बकपत्र गर्ने प्रतिवादीकी श्रीमती देवीमायाले समेत घटनाअघि निज प्रतिवादीको परिवारसँग अन्य कुनै प्रकारको झैझगडा हुँदैनथ्यो, परिवार राम्रोसँग नै बसेका थियौँ भनी बकपत्र गरेको अवस्था देखिन्छ । यी प्रतिवादीले जाँच गराएको प्रेसक्रिप्सनमा "Mental illness psychosis" को विरामी रहेको भन्ने उल्लेख भएता पनि उक्त जाँच मिति २०६६।३।५ मा अर्थात् घटना भएको मिति २०६५।८।७ भन्दा सात महिनापछाडि भएको अवस्था हुँदा घटना भएको अवस्थाको प्रतिवादीको मानसिक अवस्थालाई उक्त परीक्षण प्रतिवेदनले चित्रित गर्न सक्दैन । कुनै पनि प्रमाणले प्रतिवादी वारदात हुँदाका अवस्थामा दण्ड सजायको १ नं. मा वर्णित अवस्थामा रहेको देखिँदैन ।

८. अतः प्रतिवादी मानबहादुर महत वारदात हुँदाको अवस्था मुलुकी ऐन, दण्ड सजायको महलको १ नं. को कानूनी व्यवस्थाबमोजिम प्रतिरक्षाको जिकीर लिन सक्ने अवस्थाको व्यक्ति नहुँदा निजलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर गरेको गोरखा जिल्ला अदालतको मिति २०६६।७।११ को फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत, पोखराबाट मिति २०६८।११।२ मा भएको फैसला मिलेकै देखिँदा साधक सदर हुने ठहर्छ । फैसलाको जानकारी सम्बन्धित कारागारमार्फत् प्रतिवादीलाई दिई प्रस्तुत मुद्दाको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू । 

 

उक्त रायमा सहमत छु ।

 

न्या.प्रा.डा.भरतबहादुर कार्की

 

इति संवत् २०७० साल जेठ ३ गते रोज ६ शुभम .....

 

इजलास अधिकृत : दीपक ढकाल

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु