शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७१५७ - जवर्जस्ती करणी

भाग: ४४ साल: २०५९ महिना: फागुन अंक: ११

निर्णय नं.७१५७     ने.का.प.२०५९              अङ्क ११/१२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री कृष्णकुमार बर्मा

माननीय न्यायाधीश श्री रामनगिना सिंह

संवत् २०५५ सालको फौ.पु.नं.१८२९

फैसला मितिः २०५९।९।१।२

 

मुद्दाः जवर्जस्ती करणी ।

 

पुनरावेदक

वादीः  रुपन्देही जिल्ला मक्रहर गा.वि.स.वडा नं. ६ भद्राणी गाईघाट वस्ने चन्द्रकला लामिछानेको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रत्यर्थी

प्रतिवादीः रुपन्देही जिल्ला मक्रहर गा.वि.स.वडा नं. ६ भद्राणी गाईघाट वस्ने रामवहादुर कार्की

 

§  पुनरावेदन जिकिर बमोजिम ढिलो जांच भएकै कारणले जवर्जस्ती करणीका चिन्हहरु नभेटिएको भन्न नसकिने । शरीरमा लाग्ने चोटहरु ५ दिन पछि परीक्षण हुँदा मेटिई सक्ने अथवा कन्याजाली च्यातिएकै भएपनि ५ दिन पछि परीक्षण हुँदा सो नदेखिने भनी भन्न नमिल्ने ।

§  गर्ने प्रमाण ऐन, २०३१ को दफा २५ ले फौज्दारी मुद्दामा अभियुक्तको कसूर प्रमाणित भार वादीको हुनेछ भन्ने कानूनी व्यवस्था गरेको सन्दर्भमा प्रस्तुत मुद्दामा वादी पक्षले शंकारहित तवरले आफ्नो दावी प्रमाणित गर्न सकेको देखिएन । यस्तो अवस्थामा सिर्फ शंकाको आधारमा मात्र जवर्जस्ती करणी जस्तो गम्भीर प्रकृतिको फौजदारी अपराधमा कसूरदार ठहर्‍याउनु फौजदारी न्यायशास्त्रको विपरीत हुने ।

(प्र.नं. १९)

 

पुनरावेदक तर्फबाट: उप न्यायाधिवक्ता श्री भरतलाल शर्मा

विपक्षी तर्फबाट: विद्वान अधिवक्ताव्दय श्री हरिहर दाहाल र शम्भु पोखरेल

अवलम्वित नजिरः

 

फैसला

न्या.रामनगिना सिंहः पुनरावेदन अदालत वुटवलको मिति २०५४।१२।१३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ ।

            २.    मिति २०५१।१०।१ गतेका दिन मेरी नातिनी वर्ष १३ कि सिताकुमारी लामिछाने घरमा एक्लै रहेकी र म गाउँको पूजाको निम्तो मानी घरमा फर्कि आउँदा ४.३० वजेको समयमा सितालाई नदेखि भान्सा कोठामा हेर्न जांदा ढोका ढप्काएको र खोल्दा भद्राणी गाईघाट वस्ने रामवहादुर कार्की रहेछ । नातिनी केही वेहोस अवस्थामा खाटमा पल्टिएकि रहिछ । यो वदमासले नातिनीलाई जवरजस्ती करणी गरेछ भनि कराउदै निज रामवहादुरलाई समात्न खोज्दा जोरवल साथ भान्सावाट फुत्की भागी गएको र मैले नातिनीलाई पानी छम्की होसमा ल्याई के भयो भनि सोद्धा नातिनीले रुदै हाम्रो घर छेउको रामवहादुर कार्कीको आमाले आगो ल्याई देउ भनेकोले मैले भान्सावाट आगो निकाल्दै गरेको वेला निज रामवहादुर भान्सा कोठामा पसि ढोका वन्द गरी आगो लैजान नदिई मलाई खाटमा पल्टाई कराउन लाग्दा मुखमा कपडाको वुजो लगाई जवरजस्ती करणी गर्‍यो, मलाई ज्यादै पीडा भएको छ भनि रुदै नातिनीले वताएकिले निज रामवहादुर कार्कीलाई कारवाही गरि पाउँ भन्ने चन्द्रकला लामिछानेको जाहेरी दरखास्त ।

            ३.    मिति २०५१।१०।१ का दिन वावा वुटवल तर्फ जानु भएको आमा मामाको घर पाल्पा जानु भएको र हजुर आमा गाउँको पूजामा जानु भएको र घर कुर्न भनि म घरमा थिएं । दिनको करिव ४ वजे मेरो छिमेकी दिलवहादुर कार्कीको श्रीमतीले मलाई आगो मागेकोले म भान्साको चुलोमा आगो निकाल्न जांदा मेरो पछाडि दिलवहादुरको छोरा रामवहादुर कार्कि आई ढोका ढप्काई मलाई जवरजस्ती समाती खाटमा पल्टाई वोल्न चल्न नदिई मुखमा वुजो लगाई जवरजस्ती करणी गर्‍यो । मलाई ज्यादै पीडा भै गुप्ताङ्ग समेत दुख्यो । म वेहोस जस्ती भए । यस्तैमा मेरो हजुर आमा चन्द्रकला घरमा आई ढोका खोली भान्सामा पस्दा निज भागी गएको हो । निजले मलाई करणी गरे पछि मैले लगाएको कट्टु समेतमा सेतो दाग लागेको थियो भन्ने पीडित सिताकुमारी लामिछानेको कागज ।

            ४.    सिताकुमारी लामिछानेको उमेर १३ वर्ष हुने देखिन्छ भन्ने लु.अं.अस्पताल वुटवलको प्रतिवेदन ।

            ५.    जि. रुपन्देही मक्रहर गा.वि.स. वडा नं. ५ भद्राणी गाईघाट टोलमा रहेको जाहेरवालाको पूर्व मोहडा भएको १ तले टायलको छानो भएको घरको उत्तर तर्फको भान्सा कोठाको दक्षिण आगो वाल्ने चुलो रहेकोमा सो को उत्तर तर्फ रहेको खाटमा उक्त वारदात घटेको भन्ने घटनास्थल प्रकृति मुचुल्का ।

            ६.    मिति २०५१।१०।१ का दिन वेलुकी अं. ४.३० वजेको समयमा जाहेरवालाको घरको भान्सा कोठामा प्र. रामवहादुर कार्कीले जाहेरवालाकी नातिनी (नावालक) एक्लै फेला पारि जवरजस्ती करणी गरी वेहोस् अवस्थामा जाहेरवालाले फेला पारी निज प्र. रामवहादुर कार्की भागी गएका हुन् । हाल कहां छन् थाहा छैन । निज नराम्रो चाल चलन भएको व्यक्ति हुन् भन्ने सर्जमिन मुचुल्का ।

            ७.    अनुसन्धान कार्य सम्पन्न भइ सक्कल मिसिल संलग्न चन्द्रकलाको जाहेरी दरखास्त, पीडित सिताकुमारी लामीछानेको कागज, शारीरिक जांच प्रतिवेदन, घटनास्थल प्रकृति विवरण एवं सर्जमिन मुचुल्का समेतका आधारमा मिति २०५१।१०।१ गतेका दिन वर्ष १३ की सिताकुमारी लामिछाने आफ्नो घरमा एक्लै भएको अवस्था दिउँसो अं. ४.३० वजेको समयमा गाउँकै छिमेकी दिलवहादुर कार्कीको श्रीमतीले सितालाई आगो ल्याई देउ भनि भनेवाट सिता भान्साकोठामा पसि चुलोमा आगो निकाल्न लाग्दा पछाडिवाट रामवहादुर कार्की आई सितालाई जवरजस्ती करणी गरेको र सो पिडाले सिता वेहोस् जस्तो भएकी, सोही वखत सिताकी हजुर आमा चन्द्रकला लामिछाने गाउँमा पूजाको निम्तो मानी घरमा फर्कि आउँदा नातिनीलाई नदेखेकोले भान्सामा आई हेर्दा ढोका ढप्काएको जस्तो, देखि ढोका खोली हेर्दा प्र. रामवहादुर कार्की सोही ठाउँमा भएको, नातिनी केही वेहोस अवस्थामा खाटमा पल्टिएकी र यो वदमासले नातिनीलाई जवरजस्ती करणी गरेछ भनि कराउदै निज रामवहादुरलाई समात्न खोज्दा निज तत्काल भाग्न सफल भएको र पीडीत वर्ष १३ की सिता लामिछानेले गरेको कागजमा पनि जवरजस्ती करणी गरेको भन्ने कुरा देखिन खुल्न आएको र सर्जमिनका मानिसहरुले पनि जवर्जस्ती करणी भएको भन्ने कुरा हल्ला खल्ला हुँदा थाहा पाएको भनि लेखाई दिएकोले निज प्र. रामवहादुर कार्कीले मु.ऐन जवरजस्ती करणीको महलको १ नं. को विपरीत ३ नं. अन्तरगतको कसूर अपराध गरेको देखिंदा निज उपर सोही महलको ३ नं. अनुसार कारवाही भई सजायं हुन र पीडीत सिताकुमारी लामिछानेलाई सोही महलको १० नं. अनुसार निज प्र. रामवहादुर कार्किको आधा अंश दिलाई दिन माग दावी लिई फरार रहेका रामवहादुर कार्कीलाई ताहांवाटै समाहवान जारी भई कारवाही हुन सक्कल मिसिल साथै प्रस्तुत गरिएको छ भन्ने अभियोग पत्र ।

            ८.    मिति २०५१।९।२९ गते मलाई साथीहरुले वोलाएको कारण नेपालगंज गएको थिए । त्यहां हावापानी नमिलेको कारण विमार परि औषधि उपचार समेत गराएको हुँ । दरखास्तवालाहरुलाई मैले मेरो मिल भएको कारण चामल दिएको थिए । सो चामलको रुपैया रु ६००।( निजसंग लिन वांकी थियो । सो माग्दा ०५१।९।२८ गते निज संग झगडा भनाभन भएको थियो । सोही रिसइवीवाट म उपर झुट्टा जाहेरी दिएकी हुन् । सिताकुमारीले गरेको कागज आफ्नो आमा वावुले सिकाए अनुसार गरेकी हुन् । मिति २०५१।११।१५ गते मात्र म नेपालगंजवाट फर्केको हुँदा मैले जवरजस्ती करणी गरेको छैन । सो वारदातमा म घरमा नभएको हुँदा झुट्टा दावावाट फुर्सद पाउँ भन्ने प्रतिवादी रामवहादुर कार्कीले शुरु रुपन्देही जिल्ला अदालतमा गरेको वयान ।

            ९.    आदेशानुसार जाहेरवाला चन्द्रकला लामिछाने, सर्जमिन मुचुल्काको वावुराम आचार्य, पीडीत सिताकुमारी लामिछाने तथा प्रतिवादीको साक्षी श्री राम चौधरी समेतको वकपत्र भई मिसिल सामेल रहेको ।

            १०.    जाहेरवालाले आफ्नो नातिनीको जिन्दगीमा इज्जतमा धक्का लाग्ने गरी जवरजस्ती करणी गर्‍यो भनी जाहेरी दिने र पीडीतले पनि आफनो जिवनमा कालो कलंक लाग्ने गरी इज्जतलाई नै धरोहरमा पारी वलात्कार गर्‍यो भनी झुट्टा भन्नु नपर्ने, आइमाइले आफनो वेइज्जती हुने गरी झुठ्ठा करणी दोष लगाउने कारण नदेखीने भन्ने स.अ.वाट प्रतिपादीत न्यायिक सिद्धान्त समेतको आधारमा प्रमाण समेतलाई दृष्टिगत गर्दा प्र. रामवहादुर कार्कीले आरोपित कसूर गरेको होइन भन्न सकिने स्थिति देखिन आएन । अतः निज प्रतिवादीलाई अभियोगपत्र माग दावी बमोजिम जवरजस्ती करणीको महलको ३ नं. बमोजिम १४ वर्ष मुनीको स्वास्नीमानीसलाई जवरजस्ती करणी गरेको देखिएकाले ६ वर्ष कैद सजाय हुने र प्रतिवादीको आधा अंश पीडीत पक्षलाई दिलाई दिने समेत ठहर्छ भन्ने समेत सुरु रुपन्देही जिल्ला अदालतको मिति ०५४।२।१९ को फैसला ।

            ११.    वारदातको समयमा अन्यत्र रहेका,े मेडिकल रिपोर्टवाट कुनै घाउ चोट नभएको भनी उल्लेख भएको र रु ६००।( को कारोवारको विषयमा जाहेरवाली संग झगडा विवाद भएकोमा मलाई फसाउने नियतवाट झुटा जाहेरी दिएकोमा जवरजस्ती करणीको कसूर गरेको ठहर्‍याई सजाय समेत गर्ने गरेको शुरु जिल्ला अदालतको फैसला वदर गरी अभियोग माग दावीवाट अलग फुर्सद पाउँ  भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत वुटवलमा परेको पुनरावेदन पत्र ।

            १२.   यसमा लुम्विनी अंचल अस्पतालको मेडिकल वोर्डले दिएको राय प्रतिवेदनमा करणी भएको कुरा प्रमाणित गर्न नसकिने देखिन्छ भन्ने भएको अवस्थामा जवरजस्ती करणी भएको ठहर गरेको शुरु जिल्ला अदालतको फैसला नमिली फरक पर्ने देखिंदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ बमोजिम छलफलको लागि विपक्षी झिकाई आए वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत वुटवलको मिति २०५४।११।२० को आदेश ।

            १३.   प्रतिवादी रामवहादुर कार्की वारदातको समय आफू अन्यत्र रहेको भनी कसूरमा इन्कारी रही वयान गरेको, जाहेरवाली अदालतमा आई वकपत्र गर्दा सो वारदात ४.३० वजे तिर देखेकी हुँ घटना घटे नघटेको भगवान जानून भनी लेखाई दिएको व्यहोरा आफैमा स्पष्ट नभएको र पीडीत सिताकुमारीले समेत मौकामा प्रहरीमा कागज गर्दाको लेखाईलाई फरक पारी खण्डित हुने गरी शरिरको कुनै पनि भागमा चोट लागेको छैन गुप्ताङ्गवाट रगत आएको थिएन र मैले लगाएको कटुमा कुनै दाग लागेको थिएन भनी लेखाई दिएको व्यहोरा र निज सिताकुमारीको शारीरिक जांच गर्दा कुनै घाउ चोट निलडाम समेत केही नभएको र करणी गरेको कुरा प्रमाणित गर्न नसकिने भन्ने चिकित्सकहरुको राय समेत भएको, योनी छेदन भएको भन्ने समेत नदेखिंदा आधार प्रमाणहरुवाट पुनरावेदक प्रतिवादीले पीडित सिताकुमारीलाई जवरजस्ती करणी गरेको हो भनी भन्न मिल्ने अवस्था विद्यमान नहुँदा निज पुनरावेदक प्रतिवादीले आरोपित कसूरवाट सफाई पाउने ठहर्छ । सो ठहराउनु पर्नेमा निज पुनरावेदक प्रतिवादीलाई आरोपित कसूर गरेको ठहर्‍याई सजायं समेत गर्ने गरेको शुरु रुपन्देही जिल्ला अदालतवाट भएको मिति २०५४।२।१९ को फैसला मिलेको नदेखिंदा उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत वुटवलको मिति २०५४।१२।१३ को फैसला ।

            १४.   प्रतिवादीले मात्र अपराधवाट वच्नका लागि आफूले लिएको अन्यत्र स्थितिको दावी प्रमाणित नगरी केवल वयानमा उल्लेख गरेकोमा सोलाई आधार मानी भएको फैसला अन्यत्र स्थितिको जिकिर प्रमाणित गर्ने भार प्रतिवादीको रहन्छ भन्ने नि.नं. ४८७६ को न्यायिक निर्णय तथा आफनो एलिबी (Alibi) को जिकिर प्रमाणित गर्न नसकेकोमा उक्त कुरा निजको विरुध्दमा लाग्ने भन्ने नि.नं. ३६१३ को न्यायिक निर्णय विपरीत भै त्रुटिपूर्ण छ । जर्वजस्ती करणी गरेको प्रत्यक्ष जाहेरवालीले आफ्नो आंखाले देखेको नभई पीडितवाट थाहा पाएकी र नराम्रा हालतमा देखेको र प्रतिवादीलाई रंगेहात पक्राउ गरेको भनी अनुसन्धान अधिकारी तथा अदालतमा लेखाएको कुरालाई वंग्याई अपव्याख्या गरी भएको फैसला त्रुटीपूर्ण छ । कपडामा सेतो टाटो लागे नलागेको तथा शरीरको अंग कोतरिएको थियो थिएन भन्ने विषयवस्तु भन्दा पनि पीडितले आफू उपर गरिएको अपराधको सिलसिलेवार रुपमा पुष्टयाई दिई वकपत्र गरेकी छन् । J.P. Modi Medical Juriprudnce and Toxicology 16th edition अनुसार जवरजस्ती करणीको कानूनी प्रयोजनका लागि Hymen rupture हुनै पर्छ भन्ने छैन । अतः पुनरावेदन अदालत वुटवलको फैसला वदर गरी अभियोगपत्र बमोजिम प्रतिवादीको कसूर अपराध ठहर गरि पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

            १५.   यसमा पीडित सीताकुमारीको शारीरिक परीक्षण, वारदातको चार पांच दिन पछि भएकोले एकत त्यस्तो करणी भएको कुरा देखाउने प्रकृतिको कुनै चिन्ह नपाइनु स्वाभाविक भएको र त्यसमा पनि निजको उमेर र वारदात हुँदाको अवस्थालाई विचार गर्दा निजले प्रतिकार वा संघर्ष गर्न सक्ने स्थिति समेत नदेखिएको अवस्थामा जाहेरवाली र पीडित सिताकुमारी समेतले आफनो इज्जतमा कलड्ढ लाग्न सक्ने गरी प्रतिवादीलाई नै रु ६००।- को लागि दोषारोपण लगाउनु पर्ने विश्वसनीय आधार समेत नदेखिएकोले पुनरावेदन अदालत वुटवलले प्रतिवादीलाई सफाई दिने गरेको फैसला विचारणीय हुँदा अ.वं. २०२ नं. बमोजिम छलफलको लागि विपक्षी झिकाउनु भन्ने समेत मिति २०५७।११।२२।२ को यस अदालतको आदेश ।

            १६.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारका तर्फवाट विद्वान उप­न्यायाधिवक्ता श्री भरतलाल शर्माले जाहेरवालीको वकपत्रलाई समग्रतामा हेर्दा कुनै अस्पष्टता छैन । प्रतिवादीलाई आपत्तिजनक अवस्थामा देखेको भनेको छ । पीडितको शारीरिक परीक्षण तत्कालै हुन नसकेकाले जवर्जस्ती करणीका चिन्हहरु नदेखिएका हुन । रु.६००। का लागि जर्वजस्ती करणी जस्तो कसूरमा आरोपित गर्नुपर्ने अवस्था हुँदैन । पीडितले अदालतमा वकपत्र गर्दा जवर्जस्ती करणी गरेको भनी लेखाइरहेको अवस्था छ । तसर्थ पुनरावेदन अदालतको फैसला उल्टी भै शुरु रुपन्देही जिल्ला अदालतको फैसला सदर हुनु पर्छ भनी तथा प्रत्यर्थी प्रतिवादीका तर्फवाट विद्वान अधिवक्ता द्धय श्री हरिहर दाहाल र शम्भु पोखरेलले पीडितको शारीरिक जांच हुँदा जवर्जस्ती करणीका लक्ष्ण देखिएको छैन । चिकित्सकहरुले जवर्जस्ती करणी भएको भन्न नसकिने भनी उल्लेख गरि दिएका छन् । पीडित र जाहेरवालीको मौकाको कागज र वकपत्र विरोधाभाषपूर्ण छ । मौकामा पीडितले कट्टुमा दाग लागेको भनेकोमा वकपत्रमा सो कुरा उल्लेख गरेकै  छैन । कट्टु वरामद भएकै छैन । देखाइएकै छैन । वीर्य स्खलनको कुरो कतै उल्लेख भएकै छैन । तसर्थ पुनरावेदन अदालत वुटवलको फैसला सदर हुनु पर्छ भनी गर्नु भएको वहस सुनियो ।

            १७.   विद्वान अधिवक्ताहरुको वहस जिकिर सुनी पुनरावेदन पत्र लगायत शुरु रेकर्ड मिसिल समेत हेर्दा यसमा पुनरावेदन अदालत वुटवलको फैसला मिलेको छ छैन निर्णय दिनु पर्ने देखिन आयो ।

            १८.   निर्णय तर्फ विचार गर्दा, प्रत्यर्थी प्रतिवादी रामवहादुर कार्की उपर मुलुकी ऐन, जवर्जस्ती करणीको महलको ३ नं. अनुसार सजायं हुन र ऐ. को १० नं. अनुसार निजको आधा अंश सिताकुमारी लामिछानेलाई भराई दिन माग दावी लिइएकोमा शुरु रुपन्देही जिल्ला अदालतवाट अभियोग दावी बमोजिम कसूर ठहर भै सजाय हुने गरी फैसला भै सो उपर प्रतिवादीको पुनरावेदन परी पुनरावेदन अदालत वुटवलवाट शुरु फैसला उल्टी भै प्रतिवादीलाई सफाई दिने ठहर्‍याई फैसला भएको र सो उपर वादी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।

            १९.    यसमा जाहेरवाली चन्द्रकला लामिछानेले दिएको जाहेरी दरखास्तमा सिताकुमारी लामिछानेलाई जवर्जस्ती करणी गरिरहेको अवस्थामा प्रतिवादी रामवहादुर कार्कीलाई देखेको भनी उल्लेख भएको देखिदैन । जाहेरीमा ढोका खोल्दा भित्र रामवहादुर रहेको, निज भागी गएको र सिताकुमारी केही वेहोस अवस्थामा खाटमा पल्टिएको रहेछ भनी उल्लेख भएको देखिन्छ । जाहेरवालीले अदालतमा वकपत्र गर्दा घटना घटे नघटेको भगवान जानुन् भनी लेखाएको देखिन्छ । पीडित भनिएकी सिताकुमारीले अनुसन्धानका सिलसिलामा कागज गर्दा प्रतिवादीले जवरजस्ती करणी गरेको भनी उल्लेख गर्दै निज सिताले लगाएको कट्टु समेतमा सेतो दाग लागेको थियो भनी लेखाएकीमा अदालतमा आई वकपत्र गर्दा कट्टुमा दाग लागेको थिएन भनी भनेको पाइन्छ । त्यस्तै जाहेरवालीले वकपत्र गर्दा सिताको मुखमा कोतरेको थियो भनी भनेकीमा सिताकुमारीले वकपत्र गर्दा शरीरमा कुनै चोट नलागेको भनी लेखाएको देखिन्छ । मौकामा पीडित भनिएकी सिताले कट्टुमा दाग लागेको भनी उल्लेख गरेकोमा सो कट्टु वरामद वा पेश दाखिल भएको पनि देखिदैन । यसवाट सिताकुमारीको मौकाको कागज र वयानमा एकरुपता भएको देखिन आएन । पीडित भनिएकी सीताकुमारीको लुम्विनी अंचल अस्पतालमा जांच गर्दा निजको स्तन, छाती, पेट, पिठ्यू, कुम, हातमा कही पनि कोतरेको निलडाम घाउँ इत्यादि केही पनि फेला नपरेको, VALVAE. VAGINA.  Hymen -NAD. Vaginal Swoll - Spermatozoa not found, करणी भएको कुरा प्रमाणित गर्न नसकिने देखिन्छ भनी ३ जना चिकित्सकहरुको वोर्डले उल्लेख गरिदिएको देखिन्छ । पुनरावेदन जिकिर बमोजिम ढिलो जांच भएकै कारणले जवर्जस्ती करणीका चिन्हहरु नभेटिएको भन्न सकिदैन । शरीरमा लाग्ने चोटहरु ५ दिन पछि परीक्षण हुँदा मेटिई सक्ने अथवा कन्याजाली च्यातिएकै भएपनि ५ दिन पछि परीक्षण हुँदा सो नदेखिने भनी भन्न मिल्दैन । प्रमाण ऐन, २०३१ को दफा २३ ले विशेषज्ञको राय प्रमाणमा लिनुपर्ने व्यवस्था गरेको देखिन्छ । पुनरावेदक वादी श्री ५ को सरकारको तर्फवाट उल्लेखित विशेषज्ञको रायलाई अन्यथा मान्न सकिने कुनै ठोस प्रमाण पेश भएको पनि देखिन आउदैन । प्रमाण ऐन, २०३१ को दफा २५ ले फौज्दारी मुद्दामा अभियुक्तको कसूर प्रमाणित गर्ने भार वादीको हुनेछ भन्ने कानूनी व्यवस्था गरेको सन्दर्भमा प्रस्तुत मुद्दामा वादी पक्षले शंकारहित तवरले आफ्नो दावी प्रमाणित गर्न सकेको देखिएन । यस्तो अवस्थामा सिर्फ शंकाको आधारमा मात्र जवर्जस्ती करणी जस्तो गम्भीर प्रकृतिको फौजदारी अपराधमा कसूरदार ठहर्‍याउनु फौजदारी न्यायशास्त्रको विपरीत हुने भएकोले शुरु रुपन्देही जिल्ला अदालतको अभियोग दावी बमोजिम कसूर ठहर गरेको  फैसला उल्टी गरी प्रत्यर्थी प्रतिवादी रामवहादुर कार्कीलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालत वुटवलको मिति २०५४।१२।१३ को फैसला मनासिवै देखिएकाले सदर हुने ठहर्छ । पुनरावेदक वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

 

उक्त रायमा म सहमत छु ।

 

न्या.कृष्णकुमार वर्मा

 

 

इति संवत् २०५९ साल पौष १ गते रोज २ शुभम्........

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु