शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७१५८ - बहु विवाह

भाग: ४४ साल: २०५९ महिना: फागुन अंक: ११

निर्णय नं.७१५८           ने.का.प.२०५९              अङ्क ११/१२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु

सम्बत् २०५४ सालको फौ.पु.नं.१७२६

फैसला मितिः २०५९।११।२।६

 

मुद्दाःबहु विवाह ।

 

पुनरावेदक

प्रतिवादीः जिल्ला रुपन्देही शंकरनगर गा.वि.स.वडा नं.३ बस्ने अशोक थापाको हकमा धनबहादुर       थापा

बिरुद्ध

प्रत्यर्थी

वादीः कल्पना थापाको जाहेरीले श्री ५ को सरकार

 

§  मुलुकी ऐन, बिहावरीको ९ नं.मा देहायका अबस्थामा बाहेक कुनै लोग्नेमानिसले आफ्नी स्वास्नी जीवित छँदै वा कानून बमोजिम लोग्नेस्वास्नीको सम्बन्धमा सम्बन्ध विच्छेद नहुँदै अर्को स्वास्नी मानिससँग विवाह गर्न वा अर्की स्वास्नी राख्न हुँदैन भन्ने किटानी साथ उल्लेख भई तत्कालको सो नं.को देहायमा उल्लेखित कुनै पनि अबस्था विद्यमान भएको भन्ने प्रतिवादी अशोक थापाको जिकिर नरहेको हुँदा सो अबस्थाको विद्यमानता बेगर प्रतिवादी अशोक थापाले बहुविवाह गरेको अबस्था देखिन आयो । जाहेरवाली अदालतमा उपस्थित नहुँदैमा अपराधिक कार्य गरेको प्रष्ट रुपमा देखिंदा देखिंदै त्यस्तो फौज्दारी मुद्दाको अपराधिक कार्यबाट प्रतिवादीले उन्मुक्ति पाउँछ भन्न नमिल्ने हुँदा विहावारीको ९ नं.को कसूरमा सोही महलको १० नं.मा गरिएको तत्कालिन व्यवस्था अनुसार प्रतिवादी अशोक थापालाई सफाई दिएको शुरु अदालतको फैसला उल्टी गरी निजलाई १ महिना कैद र रु.१,०००।जरिवाना हुने ठहर गरेको पुनरावेदन अदालतको फैसला मिलेकै देखिंदा सदर हुने ।

(प्र.नं. १३)

 

पुनरावेदन तर्फबाटः

विपक्षी तर्फबाटः

अवलम्वित नजिरः

 

फैसला

            न्या.सुशिला सिंह सिलुः पुनरावेदन अदालत बुटवलको मिति २०५३।८।१३ को फैसला उपर प्रतिवादीको यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।

            २.    अशोक थापा मगरसँग मेरो विवाह भएको । पतिको भारत पल्टनमा नोकरी भएको। केही समय यता म मेरो माइती घरमा आएको अबस्थामा जिल्ला स्याङजा बालिङ बस्ने ज्योती थापा मगरलाई कान्छी श्रीमती बनाई राखेको कुरा २०५९।९।१५ मा घरमा आउँदा थाहा पाएकीले बहुविवाह गरेतर्फ कानून बमोजिम कारवाही गरी पाउँ भन्ने कल्पना थापा मगरको जाहेरी दरखास्त ।

            ३.    जाहेरवाली कल्पना थापा र अशोक थापाको विवाह २०४५ सालमा भएको हो । जेठी श्रीमती हुँदा हुँदै अशोक थापाले ज्योती भन्ने केटीलाई विवाह गरी कान्छी श्रीमती बनाई राखेका छन् भन्ने समेत व्यहोराको सर्जमिन मुचुल्का ।

            ४.    प्रतिवादी अशोक थापाले बिहावरीको ९ नं.विपरीत जेठी श्रीमती छँदाछँदै कान्छी श्रीमती ज्योतीलाई विवाह गर्ने अशोक थापा र जेठी श्रीमती छन् भन्ने जानीजानी अशोक थापासँग विवाह गरी स्वास्नी भै बस्ने ज्योती थापालाई सोही ऐनको १० नं.अनुसार सजायं गरी पाउँ भन्ने अभियोग पत्र ।

            ५.    अशोक थापाको अर्की श्रीमती घरमा छन भन्ने थाहा पाइन । मलाई अशोक थापाले बालिङबाट साथमा लिई आउँदा जेठी श्रीमती घरमा भएको कुरा नबताएकोले जानी जानी निजसँग आएको होइन । हाल गाउँघरमा हल्ला चलेकोले थाहा पाएकी हुँ । मलाई सजायं हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी ज्योती थापा मगरले अदालतमा गरेको बयान ।

            ६.    मैले जेठी श्रीमती कल्पना थापालाई २०४५ सालमा विवाह गरेको हुँ । त्यसपछि पल्टनमा नोकरीमा गएपछि जेठी श्रीमती माइत गई बसिन् । पटकपटक लिन जाँदा पनि नआएकीले स्याङजा बालिङबाट ज्योती थापालाई श्रीमती बनाई राखेको छु भन्ने समेत व्यहोराको प्रतिवादी अशोक थापाले अदालतमा गरेको बयान ।

            ७.    प्रतिवादी अशोक थापा तथा ज्योती थापाले सफाई पाउने ठहर्छ भन्ने शुरु रुपन्देही जिल्ला अदालतको फैसला ।

            ८.    प्रमाणबाट प्रतिवादी अशोक थापा र ज्योती थापा कसूरदार देखिएको अबस्थामा निजहरुलाई सफाई दिने गरी भएको फैसलामा प्रमाणको मूल्यांकन नभएको हुँदा उक्त फैसला बदर गरी प्रतिवादीहरुलाई अभियोग दावी बमोजिम सजायं गरी पाउँ भन्ने समेत वादी श्री ५ को सरकारको पुनरावेदन अदालत बुटवलमा परेको पुनरावेदन पत्र ।

            ९.    प्रतिवादी अशोक थापा बहुविवाह गरेकोमा अदालतमा समेत सावित भएको देखिंदा शुरुको फैसला फरक पर्न जाने हुँदा छलफलको लागि अ.बं.२०२ नं.बमोजिम प्रत्यर्थीलाई झिकाउनु भन्ने पुनरावेदन अदालत बुटवलको आदेश ।

            १०.    जेठी श्रीमती छँदाछँदै प्रतिवादी ज्योती थापालाई थाहा नदिई अशोक थापाले बहुविवाह गरेको देखिंदा प्रतिवादी अशोक थापालाई विहावारीको १० नं.बमोजिम १ महिना कैद रु.१,०००।जरिवाना हुने ठहर्छ । प्रतिवादी अशोक थापालाई सफाई दिएको हदसम्म रुपन्देही जिल्ला अदालतको फैसला उल्टी हुन्छ । प्रतिवादी ज्योती थापा उपरको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत बुटवलको मिति २०५३।८।१३ को फैसला ।

            ११.    ज्योती थापालाई विवाह गर्न अशोक थापालाई जाहेरवालीले नै वाध्यता पारेको कुरा जाहेरवालीले नै समर्थन गरी अ.बं.११५ नं.बमोजिम अदालतबाट म्याद जारी पठाउँदा पनि अदालतमा उपस्थित भई जाहेरी सनाखत गर्न नसकेको अबस्था मिसिलबाट देखिंदा देखिंदै पनि त्यसतर्फ कुनै विचारै नगरी अशोक थापालाई दोषी ठहर गरेको पुनरावेदन अदालत बुटवलको फैसला न्यायपूर्ण नभएकोले सो फैसला बदर गरी शुरु रुपन्देही जिल्ला अदालतको फैसला कायम गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी अशोक थापाको हकमा अ.बं.८३ नं.बमोजिम निजको बाबु धनबहादुर थापाले अनुमति लिई यस अदालतमा दायर गरेको पुनरावेदन पत्र ।

            १२.   नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो । प्रतिवादी अशोक थापाको हकमा पुनरावेदन दिने धन बहादुर थापाले यस अदालतबाट तोकी पाएको मिति २०५५।२।२५ को तारेख गुजारी वसेको प्रमाणित भएको मिसिलबाट देखिए पनि अदालती बन्दोबस्तको २०१ नं.बमोजिम इन्साफ गर्नुपर्ने भै प्रतिवादी अशोक थापाले मुलकुी ऐन, विहावरीको ९ नं.विपरीत कार्य गरेकोले निज प्रतिवादी अशोक थापा र प्रतिवादी ज्योती थापालाई सोही महलको १० नं.बमोजिम सजायं गरी पाउँ भन्ने अभियोग दावी भएकोमा प्रतिवादीहरुलाई सफाई दिने ठहर गरेको शुरु रुपन्देही जिल्ला अदालतको फैसला केही उल्टी गरी प्रतिवादी अशोक थापालाई अभियोग दावी बमोजिम कसूरदार ठहर गरी सजायं हुने र प्रतिवादी ज्योती थापाको हकमा पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर गरेको पुनरावेदन अदालत बुटवलको फैसला उपर प्रतिवादी ज्योती थापाको हकमा वादी पक्षको यस अदालतमा पुनरावेदन नपरी प्रतिवादी अशोक थापाको मात्र यस अदालतमा पुनरावेदन परेकोले प्रस्तुत मुद्दामा प्रतिवादी ज्योती थापाको हकमा केही विचार गर्नु नपरी प्रतिवादी अशोक थापालाई अभियोग दावी बमोजिम कसूरदार ठहर गरेको पुनरावेदन अदालत बुटवलको फैसला मिले नमिलेको सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।

            १३.   निर्णयतर्फ विचार गर्दा प्रतिवादी अशोक थापाले आफ्नी जेठी श्रीमती जाहेरवाली कल्पना थापा मगर जीवित छँदाछँदै प्रतिवादी ज्योती थापालाई दोश्रो श्रीमती बनाई ल्याएको भन्ने प्रस्तुत मुद्दामा शुरु जिल्ला अदालतले प्रतिवादी अशोक थापालाई सफाई दिंदा निज जाहेरवाली प्रतिवादी अशोक थापाको बाबु र निज प्रतिवादी स्वयंले पटकपटक बोलाउन जाँदा माइतबाट नआएको भन्ने भनाई रहेको र त्यसको प्रतिवाद गर्न जाहेरवालीलाई अदालत समक्ष उपस्थित हुने आदेश दिंदा पनि उपस्थित नभएकोले प्रतिवादीले बाध्य भई दोश्रो श्रीमती ल्याउनु परेको भन्ने आधार लिएको  देखिन्छ । प्रतिवादी अशोक थापाले जेठी स्वास्नी छँदा छँदै बहुविवाह गरेकोमा कुनै विवाद छैन । मुलुकी ऐन, बिहावरीको ९ नं.मा देहायका अबस्थामा बाहेक कुनै लोग्नेमानिसले आफ्नी स्वास्नी जीवित छँदै वा कानून बमोजिम लोग्नेस्वास्नीको सम्बन्धमा सम्बन्ध विच्छेद नहुँदै अर्को स्वास्नी मानिससँग विवाह गर्न वा अर्की स्वास्नी राख्न हुँदैन भन्ने किटानी साथ उल्लेख भई तत्कालको सो नं.को देहायमा स्वास्नीलाई यौन सम्बन्धी कुनै सरुवा रोग भै निको नहुने भएमा, विवाह भएको दश वर्षभित्र सन्तान नभएमा वा नरहेमा, स्वास्नी हिडडुल गर्न नसक्ने गरी कुंजी भएमा, स्वास्नी दुबै आँखा नदेख्ने अन्धी भएमा१ र अंशवण्डाको महलको १० वा १०क. नम्बर बमोजिम स्वास्नीले अंश लिई भिन्न बसेमा भन्ने उल्लेख भएको पाइन्छ । उपरोक्त कुनै पनि अबस्था विद्यमान भएको भन्ने प्रतिवादी अशोक थापाको जिकिर नरहेको हुँदा सो अबस्थाको विद्यमानता बेगर प्रतिवादी अशोक थापाले बहुविवाह गरेको अबस्था देखिन आयो । जाहेरवाली अदालतमा उपस्थित नहुँदैमा अपराधिक कार्य गरेको प्रष्ट रुपमा देखिंदा देखिंदै त्यस्तो फौज्दारी मुद्दाको अपराधिक कार्यबाट प्रतिवादीले उन्मुक्ति पाउँछ भन्न नमिल्ने हुँदा विहावारीको ९ नं.को कसूरमा सोही महलको १० नं.मा गरिएको तत्कालिन व्यवस्था अनुसार प्रतिवादी अशोक थापालाई सफाई दिएको शुरु रुपन्देही जिल्ला अदालतको फैसला उल्टी गरी प्रतिवादी अशोक थापालाई १ महिना कैद र रु.१,०००।जरिवाना हुने ठहर गरेको पुनरावेदन अदालत बुटवलको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरिश्चन्द्रप्रसाद उपाध्याय

 

 

इति सम्बत् २०५९ साल फाल्गुण २ गते रोज ६ शुभम्...।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु