निर्णय नं. ६७१९ - पूजारी कायम नापी निर्णय बदर

निर्णय नं. ६७१९ ने.का.प. २०५६ अङ्क ५
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधिश श्री मोहनप्रसाद शर्मा
माननीय न्यायाधिश श्री भैरवप्रसाद लम्साल
सम्वत् २०५५ सालको दे.पु.नं.. ४२८६
फैसला मितिः २०५५।९।२४।६
मुद्दाः पुजारी कायम नापी निर्णय वदर ।
पुनरावेदक/वादीः जि.पर्सा वि.न.पा. वार्ड नं. १९ वस्ने हिरादेवी व्राम्हाणी
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीः जि.पर्सा वीरगंज न.पा. वार्ड नं. १२ वस्ने काशीनाथ सुकुल
§ दानपत्र समेतका लिखतबाट पनि पतिको मृत्यु पछि पत्नीमा पुजारीको हक सर्ने अवस्था नदेखिंदा वादी हिरादेवीलाई पुजारी कायम गर्न नमिल्ने ठहर गरेकोसम्म शुरु सदर गरेको फैसला मिलेकै देखिंदा मनासिव ठहर्ने ।
(प्र.नं. १२)
पुनरावेदक वादी तर्फबाटःविद्वान वरिष्ठ अधिवक्ता श्री चूडामणी राज सिं मल्ल
प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री अनिता चापागाई
अवलम्वित नजिरः
फैसला
प्र.न्या.मोहनप्रसाद शर्माः पुनरावेदन अदालत हेटौडाको मिति २०५१।१०।२३ को फैसला उपर परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) को आधारमा दोहराउने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरो एवं ठहर यस प्रकार छ ।
२. पर्सा जिल्ला तत्कालीन श्रीपुर गा.पं. वडा नं. ९ हाल वि.न.पा. वडा नं. १२ पुर्व कुलो पश्चिम सडक उत्तर दक्षिण पनि चार किल्ला भित्रको ०-७-१२ जग्गा श्री रामजानकीको मठ मन्दिर भएकोले २०२३ सालको नापीले क्षेत्रीय पुस्तकमा सोही व्यहोरा उल्लेख गरी फिल्डबुक तयार भै कैफियतमा मेरो लोग्ने कैलास व्राम्हणलाई पुजारी भनी लेखिएको छ । सो ऐलानी जग्गामा स्थापना भएको श्रीरामचन्द्र भगवान र मन्दिर समेत सिताराम भन्ने गणेश दास व्रम्हचारीले स्थापना गरी पुजा आजा समेत गरी आउनु भएको छ । लोग्ने कैलास सुकुल पनि २०४०।१।११ मा परलोक हुनु भएको र मेरो छोरा सन्तान नहुंदा छोरीको छोरा धिरनारायणलाई पालन पोषण गरी आएको छु । देवस्थललाई आफ्नै निजी वनाउने वदनियतबाट विक्रम सिंह तथा अन्य अंशियारहरुले म.क्षे.अ.को २०४२।१।२१ को फैसलाले भगवानकै नाममा दर्ता कायम राख्ने ठहर भएकोमा श्री सर्वोच्च अदालतमा मिलापत्र गरेकोमा सो धर्मलोप मिलापत्र वदर मुद्दा चली रहेको छ । वीरगंज नापी कार्यालयले सो जग्गाको नापी गर्दा उल्लेखित साविक कि.नं. ३७ को जग्गाको कि.नं. ४३ र ०-७-१२ क्षेत्रफल कायम गरिएको र जग्गाधनी महलमा श्रीराम जानकी मन्दिर भनी लेखिएको ठीक छ र कैफियत महलमा म हिरादेवी धिरनारायणलाई पुजारी लेखिएकोलाई कटृा गरी २०४८।१०।९ को तोक आदेश भन्दै प्रतिवादीलाई पुजारी भनी फिल्डबुकको कैफियतमा लेखिन गएकोले मिति २०४८।२।२ गतेको निर्णय तथा २०४८।१०।९ मा भएको तोक आदेश समेत गैरकानूनी हुंदा स्व. लोग्ने कैलाश सकुलले १९९० सालको वण्डापत्रबाट पाएको उल्लेखित कि.नं. ४३ मा भएको भगवानको मन्दिरमा म फिरादीलाई पुजारी संरक्षक कायम गरी नापी शाखाले फिल्डबुकको कैफियतमा प्रतिवादीलाई पुजारी भनी लेखिएको भए नापी कार्यालयको निर्णय समेत वदर गरी पाउं भन्ने समेत व्यहोराको फिराद पत्र ।
३. रामजानकी मठ मन्दिरको सवै गुठी एवं धर्मकृती संरक्षण गर्न कैलास सुकुलले विक्रम सिंह भुमिहारलाई २०१६।१।६ मा वकसपत्र गरिदिएको छ । धर्म लोप नहुने गरी राम्रो पुजा आजा गरेमा कैलासलाई र नगरेमा पंचले रोजेको व्यक्तिलाई पुजारी नियुक्त गरी पुजा संचालन गर्नु पर्ने धर्मकृतिको संरक्षण राख्नू पर्ने व्यहोरा १९९०।८।२० को दानपत्र र २०१२।६।२९ को प्रधान न्यायालयको फैसला तथा मिति २०१६।१।६ को वकसपत्रमा लिखत समेत भई दाई कैलासको मृत्यु पछि म काशीनाथ पुजारी भई उक्त मन्दिरको पुजा आजा गरी आएको हो । वीरगंज नगरपालिका समेतले पुजारीको रुपमा नियुक्त गरी हालसम्म रामजानकी मठ मन्दिरको पुजा आजा गर्दै धर्मकृतिको संरक्षण गर्दै आएको छु भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।
४. फिल्डबुकको कैफियत महलमा रामजानकी मन्दिरको पुजारी भनी नापी कार्यालयले जो सुकैको नाम लेखे पनि सोही आधारमा पुजारी कायम हुने होइन । त्यस्तो केही भए आफ्नो सवुद प्रमाण पेश गरी नापी कार्यालयमा निवेदन दिई सो सच्याउन पाउने नै हुंदा फिराद दावीका सम्वन्धमा यस मुद्दाबाट केही विचार गरी रहनु नपर्ने भै खारेज हुन्छ भन्ने समेत व्यहोराको पर्सा जिल्ला अदालतको मिति २०५०।३।१४ को फैसला ।
५. शुरुले खारेज गरेको फैसलामा चित्त बुझेको छ । सो फैसलाको ठहर खण्डमा फिल्डबुकमा पुजारी लेखिदैमा पुजारी हुने होइन सो संशोधन गर्न सकिने हुंदा भन्ने शव्द लेखिएको सम्म वदर गरी फिल्ड बुकमा लेखिए अनुसार रामजानकी मन्दिरको पुजारी भै पुजा आजा गरी आएको व्यक्ति नै पुजारी हुने भनी ठहर फैसला गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादी काशीनाथ सुकुलको पुनरावेदन अदालत हेटौडामा परेको पुनरावेदन ।
६. प्रस्तुत मुद्दाबाट पुजारी कायम गरी पाउं र नापीले फिल्डबुकको कैफियतमा पुजारी भनी मेरो नाम लेखिएकोलाई काटी प्रतिवादीको नाम उल्लेख गरेकोलाई नापीको निर्णय वदर गरी पाउं भन्ने समेत दावी रहेकोमा दावीको सम्पुर्ण कुरामा शुरु फैसलाको ठहर नभै कैफियत व्यहोरा निवेदन दिई सच्याउन सकिने भन्ने उल्लेख गरी शुरुबाट भएको अधुरो फैसला त्रुटीपूर्ण हुंदा वदर गरी पाउं भन्ने समेत व्यहोरो वादी हिरादेवीको पुनरावेदन अदालत हेटौडामा परेको पुनरावेदन ।
७. शुरुले खारेज गर्ने गरेको इन्साफ विचारणीय हुंदा अ.वं. २०२ नं. वमोजिम प्रत्यर्थीलाई झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौडाको मिति २०५१।१।२९ को आदेश ।
८. गुठी राखेको मन्दिरको पुजाको अधिकारी स्पष्ट लिखतको अभावमा पति पछि पत्नीले पाउने संझन मिल्दैन । अव प्रतिवादी काशीनाथले पनि आफु पुजारी भएको कुराको प्रमाण दिन गूजार्न सकेको पाइदैन । केवल नापी कार्यालयमा रहेका गुठीको जग्गाको कैफियत महलमा निज प्रतिवादी काशीनाथको नाम उल्लेख हुंदैमा निज काशीनाथ नै सो रामचन्द्र मन्दिरको पुजारी हो भनी यकिन गर्न मनासिव नपर्ने भएको र यस्ले पुजारी कायम गर्ने सम्वन्धमा विवाद परी वीरगंज गोश्वरा र २०१२।६।२९ को प्रधान न्यायालयको फैसलाबाट पुजारी राख्ने सम्वन्धमा सिद्धान्त कायम भएको देखिएकोले सो प्रकृया पुरा गरी पुजारी नियुक्त हुने हुंदा सो वमोजिम दुवै भएको नपाइएको समेत अवस्था तथ्य र प्रमाण बुझी निर्णय गर्दा पनि वादी दावी पुग्न नसक्ने देखिएको स्थिति हुंदा शुरुको खारेजी फैसला नमिलेको भन्न सकिएन । शुरुको खारेजी फैसला मनासिव ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौडाको मिति २०५१।१०।२३ को फैसला ।
९. पुनरावेदन अदालत समेतको फैसलामा अपुतालीको २ नं. दानवक्सको १ नं. समेतको व्याख्यामा गंभिर त्रुटी भएको छ उक्त खारेजी फैसलाहरुले मलाई पुजारी कायम गरी नदिंदा मेरा हकमा आघात परेको छ । तसर्थ न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क)(ख) र (घ) वमोजिम मुद्दा दोहराई हेरी उक्त खारेजी फैसलाहरु वदर गरी पाउं भन्ने समेत व्यहोराको वादी हिरा देवी व्राम्हणीको यस अदालतमा परेको निवेदन ।
१०. यसै लगाउको फौ.पु.नं. ३८९ को जालसाजी मुद्दामा शुरुको खारेजी वदर भई निर्णयको लागि शुरु मै पठाउने गरेको पुनरावेदन अदालतको फैसला उपर यस अदालतमा पुनरावेदन परी कारवही चलिरहेको सो मुद्दाको लगाउको भनी दे.पु.नं. ३६७, ३६८, ३८६८, ३८६९, ३८६७ र फौ.पु.नं. १५९२ का अन्य मुद्दाहरुमा विपक्षी झिकाउने आदेश भई तथा दोहराउने निस्सा प्रदान भई कारवाही चलिरहेको प्रस्तुत मुद्दा पनि एकै साथ निर्णय गर्नु पर्ने अवस्थाको भई कानूनको व्याख्या सम्वन्धी प्रश्न समेत समावेश हुन आएकोले समेत न्याय प्रशासन ऐन २०४८ को दफा १२(१) को खण्ड (क) को अवस्था विद्यमान देखिंदा दोहराई हेर्न निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५५।२।१ को आदेश ।
११. नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री चूडामणीराज सिं मल्लले काशीनाथ सुकुलको नजिकको हकदार वादी हुन । सितारामबाट सोझै वादीका पतिले जग्गा पाएको हुंदा काशीनाथको पुजारी हुने हक छैन । लोग्नेको पछि वादी पुजारी मै पुजा आजा चलाई आएको सन्तानले नै पुजारी चलाउन पाउने लिखतले नै वोलेको छ । दुवैलाई पुजारी नवनाउनुबाट झन धर्मलोप हुन गएको छ । जिल्ला र पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण छ भन्ने समेत व्यहोराको वहस जिकिर प्रस्तुत गर्नु भयो । प्रत्यर्थी प्रतिवादी काशीनाथको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री अनिता चापागाइले कैलाशको मृत्युपछि निजका भाई काशीनाथले पुजा आजा गर्दै आएको । हिरादेवी वृद्ध भै पुजा आजा गर्न नसक्ने अवस्थाकी भएकी । सर्जमिनले पनि पुजारी काशीनाथ नै हुन भनेको गुठीका ३ नं. ले हकदारले चलाउने भन्ने हुंदा काशीनाथ वादीको देवर र कैलाशको भाई भै निजहरुको हकदार हुंदा पुजारीको कार्य समेत गर्दैृ आएकाले निजलाई नै पुजारी कायम गरिनु पर्दछ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो ।
१२. आज निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत मुद्दामा वीरगंज नगरपालिका वडा नं. १२ मा रहेको सीताराम भन्ने गणेशदास व्रम्हचारीले स्थापना गरी पुजा आजा गरी आएको रामजानकी मन्दिर रहेको हालको कि.नं. ४३ को जग्गामा २०२३ सालमा नापी हुंदा पुजारी भनी लोग्ने कैलाश सुकुलको नाम क्षेत्रीय कित्ताव (फिल्डबुक) को कैफियत महलमा उल्लेख भएकोमा नापी कार्यालयको २०४८।२।२ को निर्णय तथा २०४८।१०।९ को तोक आदेश वमोजिम फिल्ड बुकमा पुजारी भनी विपक्षीको नाम उल्लेख गरेको हुंदा सो वदर गरी मलाई पुजारी कायम गरी पाउं भन्ने वादीको मुख्य फिराद दावी रहेको देखिन्छ । आफु पुजारी हुनु पर्ने आधारमा फिरादीले लोग्ने कैलाश सुकुलले १९९० सालमा दानपत्र गरी उक्त जग्गा सीताराम भन्ने गणेशदाससंग लिएको लोग्ने स्वर्गे भई सकेको छोरा छोरी नभएकोले पत्नीको नाताबाट उक्त जग्गामा आफ्ना पहिलो हक रहन जाने भन्ने उल्लेख गरेको पाइन्छ । विवादित मन्दिरको स्थापना समेत गरी मठ मन्दिर संचालन गर्न १९९० सालमा दानपत्र गरी कैलाश सुकुलले प्राप्त गरे पनि उक्त जग्गा रामचन्द्र गुठीको रहे भएको र ती सवै जग्गाहरु रामचन्द्र जानकी मन्दिरको नाउंमा दर्ता हुने समेत ठहर्याएको शुरु सदर गरेको पुनरावेदन अदालतको फैसला सदर भै लगाउको दे.पु.नं. ३८६६, ३८६७ समेतका मुद्दाहरु आजै यसै इजलासबाट फैसला भएको । ती मुद्दाहरुको फैसलाबाट विवादित सम्पत्तिमा निजी तवरबाट कसैको हक नलाग्ने अंशियार वीच वकसपत्र समेत हुन नसक्ने ठहर भएकोले वादीले दावी गरे वमोजिम निजको पति पछि उक्त जग्गामा निजको हक हुन जाने प्रकृतिको प्रस्तुत संम्पति रहे भएको देखिन आएन । साथै दानपत्र समेतका लिखतबाट पनि पतिको मृत्यु पछि पत्नीमा पुजारीको हक सर्ने अवस्था नदेखिंदा वादी हिरादेवीलाई पुजारी कायम गर्न नमिल्ने ठहर गरेकोसम्म शुरु सदर गरेको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ । प्रतिवादीको नाम कटाई मेरो नाम पुजारीमा कायम गरी पाउं भन्ने वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उपयुक्त रायमा सहमत छु ।
न्या.भैरवप्रसाद लम्साल
इति संवत २०५५ साल पौष २४ गते रोज ६ शुभम ..... ।