शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६७२२ - लागु औषध ।

भाग: ४१ साल: २०५६ महिना: भाद्र अंक:

निर्णय नं. ६७२२    ने.का.प. २०५६ अङ्क ५

 

संयुक्त इजलास

माननीय न्यायाधिश श्री केशवप्रसाद उपाध्याय

माननीय न्यायाधिश श्री भैरवप्रसाद लम्साल

सम्वत् २०५४ सालको फौ.पु.नं.. १७३३

फैसला मितिः २०५५।११।१९।४

 

मुद्दाः लागु औषध ।

 

पुनरावेदक/7प्रतिवादीः विदेश भारत जि.सुपौल गाउ कर्जाइन घर भै हाल कारागार शाखा मोरंग थुनामा रहेको सुरेन्द्र सिंह राजपुत

विरुद्ध

विपक्षी /वादीः प्र.स.नि. चन्द्र सुवेदीको निवेदनले श्री ५ को सरकार

 

§  लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा (३)(क) को ६(क) मा अफिम  तथा कोकाको सारतत्व मिश्रण वा लवण समेत मिसाई तयार गरिने पदार्थलाई लागु औषध भनी औषधिको परिभाषा भित्र समेटेको पाइन्छ भने भाग ३ मिति २०५१।२।२ को राजपत्रमा पनि साविक वमोजिम फेन्सिडिललाई लागु औषध कै परिभाषा भित्र कायमै राखी मात्राको सम्वन्धमा थप व्यवस्था सम्म उल्लेख गरेको पाइदा सो फेन्सिडिललाई ०५१।२।२ को राजपत्रमा प्रकाशित सूचना भन्दा अगाडि लागु औषधको परिभाषा भित्र नपरेको भनी भन्न र मान्न नमिल्ने ।

         (प्र.नं. १८)

§  प्र. सुरेन्द्र सिंह राजपुतले अदालतमा आइ वयान गर्दा देखाइएको फेन्सिडिल आफुबाट वरामद नभएको र आफुले उक्त कसुर नगरेको भनी वयान गरेको भएता पनि सो को पुष्टि समर्थन हुने गरी कुनै ठोस प्रमाण प्रस्तुत गर्न सकेको देखिदैन । यस्तो स्थितिमा निज प्रतिवादी सुरेन्द्र सिंह राजपुतले आरोपित कसुर गरेको होइन भनी भन्न र मान्न नमिल्ने ।

(प्र.नं. १८)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री मिथिलेश कुमार सिंह

विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री लेखनाथ ढकाल

अवलम्वित नजिरः

 

फैसला

      न्या.केशवप्रसाद उपाध्यायः पुनरावेदन अदालत विराटनगरबाट मिति २०५२।१०।२ मा भएको फैसला उपर प्रतिवादीले न्या.प्र.सु.ऐन, २०४८ को दफा १२(३) वमोजिम मुद्दा दोहर्‍याई पाउं भनी दिएको निवेदनमा मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भै यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा फैसला यस प्रकार छ ।

      २.    जिल्ला सुनसरी हरिहरपुर गा.वि.स. वडा नं. ९ स्थित भन्टावारी भन्सार ढाटमा नेपाल भारत आवत जावत गर्ने मानिसहरुको शरीर र झोला जांच गर्ने क्रममा २०५०।१२।११ को दिन भारत सुपोल जिल्ला कर्जाइन वस्ने सुरेन्द्र सिंहले वोकेको झोला चेकजांच गर्दा निजको झोलाबाट १३ वोतल  लागु औषध फेन्सिडिल फेला परेको हुंदा निजलाई लागु औषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक कार्यवाही गरी पाउं भन्ने २०५०।१२।११ को प्रहरी प्रतिवेदन ।

      ३.    २०५०।१२।११ गते विहान अं. ८ वजेको समयमा नेपाल भारत सिमाना स्थित भन्टावारी भन्सारको ढाटमा भारत सुपोल जिल्ला कर्जाइन वस्ने सुरेन्द्र सिंहको झोलाबाट १३ वोतल (१२५ एम.एल. को प्रति गोटा १८।८५ पर्ने) वरामद भएको हो भन्ने २०५०।१२।११ को वरामदी मुचुल्का ।

      ४.    नेसनल फोरेन्सिक साइन्स लेव्रोटरीको परीक्षण प्रतिवेदन मिसिल संलग्न रहेको ।

      ५.    मिति २०५०।१२।११ का दिन गाउंको महेन्द्र चौधरी र म सल्लाह गरी नेपाल आउने भै १६।- को दरले जम्मा १३ वोतल फेन्सिडिल खरीद गरी आउंदै गर्दा भन्टावारी भन्सारबाट छेउमा आइपुग्दा १३ वोतल फेन्सिडिल सहित म पक्राउ भएको हो । साथी प्रहरी देख्नासाथ भागि गए भन्ने समेत व्यहोराको प्रतिवादी सुरेन्द्र सिंह राजपुतले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान ।

      ६.    २०५०।१२।११ गते विहान ८ वजे भण्टावारी ढांटमा सुरेन्द्र सिंहको शरीर र झोला चेक गर्दा निजको साथबाट १२५ एम.एल. को १३ वोतल लागु औषध फेन्सिडिल वरामद भएको हो। निजले विक्रि वितरणको लागि उक्त फेन्सिडिल ल्याएको हो भन्ने २०५०।१२।१५ को वस्तुस्थिति मुचुल्का ।

      ७.    मिसिल संलग्न वरामदी मुचुल्का प्रतिवादी सुरेन्द्र सिंह राजपुतको साविति वयान वस्तुस्थिति मुचुल्काका मानिसहरुले लेखँई दिएको व्यहोरा समेतका प्रमाणबाट प्रतिवादी सुरेन्द्र सिंह राजपुतले १३ वोतल लागु औषध फेन्सिडिलको वसारपसार गरी लागु औषध    (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को (घ) र (च) अनुसारको कसुर गरेको पुष्टि भएकोले निजलाई सोहि ऐनको तेश्रो संशोधनसहित २०४९ को दफा १४(१)(१३) को देहाय (१) अनुसार सजाय गरी पाउं भन्ने मिति २०५०।१२।२५ को अभियोग पत्र ।

      ८.    मिति २०५०।१२।११ को दिन विहान ७.०० वजे घरबाट राजविराज आउन भनी भण्टावारी चोकमा गाडिको वाटो हेरिरहेको वेलामा पक्राउ परेको हुं । जाहेरी अनुसार कसुर गरेका छैन । म टि.वि. को विरामी भएकाले सोको होमियोपेथिक दवाई थियो त्यो प्रहरीले भण्टावारीमा राखिदिए । वरामदी मुचुल्का  अनुसार मेरो झोलाबाट फेन्सिडिल वरामद भएको होइन । मेरो छिमेकी महेन्द्र चौधरी मेरो दुस्मनी हुंदा निजले प्रहरीसंग त्यस प्रकारको व्यहोरा लेखाएको हुन । प्रहरीमा कुटपिट गरी वयान गराएको हुन वस्तुस्थिति मुचुल्का मलाई थाहा छैन । प्रहरी प्रतिवेदन अनुसार मलाई सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी सुरेन्द्र सिंह राजपुतले अदालतमा गरेको वयान ।

      ९.    प्रतिवादीको साक्षी तथा प्रतिवेदक चन्द्र सुवेदी र शिवकुमार श्रेष्ठ तथा अ.वं. ११५ नं. वमोजिम बुझिएको वरामदी मानिसहरु समेतको वकपत्र मिसिल संलग्न  रहेको ।

      १०.    वरामदी मुचुल्का अभियुक्तले प्रहरीमा गरेको साविति वयान प्र.स.नि. चन्द्र सुवेदी समेतले अदालतमा गरेको किटानी वकपत्र समेतको आधार प्रमाणबाट अभियोगपत्र दावी स्थापित भएको हुंदा प्रतिवादीको इन्कारी जिकिर र निजका साक्षीहरुले हचुवाको भरमा गरेको वकपत्र पत्यार लायक नदेखिंदा अभियोग पत्र दावि वमोजिम प्रतिवादीले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(घ) र (च) वमोजिम कसुर गरेको ठहर्छ । निजलाई ऐ. ऐनको दफा १४(१)(छ) को देहाय (१) अनुसार कैद वर्ष ५ र जरिवाना रु.५०००। पांचहजार हुने ठहर्छ भन्ने समेत व्यहोराको सुनसरी जिल्ला अदालतको मिति २०५२।१।१७ को फैसला ।

      ११.    शुरु जिल्ला अदालतको अन्यायपूर्ण फैसला वदर गरी न्याय दिलाई पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत विराटनगरमा परेको पुनरावेदन पत्र ।

      १२.   प्रतिवादीले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को (घ) र (च) वमोजिम कसुर गरेको ठहराई निजलाई ऐ. ऐनको दफा १४(१)(छ) को देहाय (१) वमोजिम ५ वर्ष कैद र रु.५०००। जरिवाना समेत गर्ने गरेको शुरु सुनसरी जिल्ला अदालतको फैसला मनासिव देखिंदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको २०५२।१०।२।३ को पुनरावेदन अदालत विराटनगरको फैसला ।

      १३.  पुनरावेदन अदालत विराटनगरको फैसला अन्यायपूर्ण हुंदा सो फैसला वदर गरी पाउनको लागि मुद्दा दोहर्‍याई हेरी पाउं भनी प्रतिवादीको यस अदालतमा पर्न आएको   निवेदन ।

      १४.   यसमा नेपाल राजपत्र भाग ३ मिति २०५१।२।२ को आइटम नं. १२ मा कोडिन र यसको लवण र रसायनहरुलाई लागु औषधको परिभाषा भित्र पारेको प्रस्तुत मुद्दामा कोडिनका लवण र रसायनलाई निषेध गर्नु अगावै २०५०।१२।११ को वारदात हुंदा लागु औषध ऐन, २०३३ को संशोधन सहितको दफा १४ को व्याख्या सम्वन्धमा त्रुटी देखिएको हुंदा मुद्दा दोहर्‍याउनको लागि यो निस्सा प्रदान गरिएको छ । विपक्षीलाई झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने २०५४।९।१८।६   मा यस अदालत संयुक्त इजालसबाट भएको आदेश ।

      १५.   यसमा दाखिल भएको फेन्सिडिलमा कोडिनको मात्रा के कति रहेको छ सो कुरा सम्वन्धित विशेषज्ञद्वारा परीक्षण गराएको नभई २०५०।४।२५ मा यस मुद्दासंग असम्वन्धित फेन्सिडिल जचांइएको प्रतिवेदन समावेश गरी मुद्दा चलाइएको देखिएकोले दाखिल हुन आएको फेन्सिडिलमा कोडिनको मात्रा के कति छ सम्वन्धित विशेषज्ञद्वारा जांच गराउनका लागि दाखिल भएको फेन्सिडिलको वोतल मध्ये १(एक) वोतल फेन्सिडिल  परीक्षणको लागि सिघ्र पठाई दिनु भनी शुरु सुनसरी जिल्ला अदालतमा लेखि पठाई आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने २०५५।५।१८।५ मा यस अदालत संयुक्त इजालसबाट भएको आदेश ।

      १६.    नियम वमोजिम दैनिक पेशी सुचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक सुरेन्द्र सिंह राजपुतको तर्फबाट वहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री मिथिलेश कुमार सिंहले वरामद भएको वस्तु फेन्सिडिल हो भन्ने कुरामा कुनै विवाद छैन । नेपालमा फेन्सिडिल किनवेच एवं राख्नको लागि प्रतिवन्ध छैन । वरामद भनिएको फेन्सिडिल परीक्षण गरिएको पनि छैन । मेरो पक्षलाई २०५०।४।३ मा अर्को मुद्दामा वरामद भएको फेन्सिडिल जांच गरी सजाय गरिएको  छ । मेरो पक्षबाट ०५०।१२।११ मा फेन्सिडिल वरामद गरिएको छ । सो फेन्सिडिल निषेध गर्ने कार्य २०५१।२।२ मा मात्र भएको छ । फेन्सिडिल लागु औषधको परिभाषा भित्र पनि पर्दैन । फेन्सिडिललाई नेगेटिभ लिष्टमा राखिएको छैन र औषधि ऐनले रोक पनि लगाएको छैन । तसर्थः प्रस्तुत मुद्दामा मेरो पक्षले आरोपित कसुरबाट सफाइ पाउनु पर्दछ भनी र विपक्षी श्री ५ को सरकारको तर्फबाट वहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री लेखनाथ ढकालले कोडिन अफिमबाट वन्दछ । ०३८।८।२९ मा प्रकाशित सूचनाको नं. १४ मा अफिम र अफिमबाट उत्पत्ति भएका सम्वन्धी सवै (ठोस वा तरल रसायनिक पदार्थहरु) लागु औषध (नियन्त्रण, तेश्रो संशोधन) ऐन, २०४९ द्वारा २०५०।२।३२ मा संशोधन भै ०५०।१२।११ मा वारदात भए सो पनि उक्त सूचनाले समेटेकै  छ । अतः पुनरावेदकलाई कसुर गरेको ठहर गरी गरेको पु.वे.अ. विराटनगरको फैसला मिलेकै हुंदा सो फैसला सदर हुनु पर्दछ भनी गर्नु भएको वहस जिकिर समेत सुनियो ।

      १७.   यसमा दुवै तर्फका विद्वान कानून व्यवसायीहरुको वहस जिकिर समेत सुनी निर्णय सुनाउनको लागि आजको पेशी तारेख तोकिएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत विराटनगरबाट मिति २०५२।१०।२ मा भएको फैसला मिले नमिलेको के रहेछ ? सो सम्वन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

      १८.   यसमा प्रतिवादी सुरेन्द्र सिंह राजपुत उपर लागु औषध (नियन्त्रण) ऐन २०३३ को दफा ४(घ) र (च) को कसुरमा ऐ. को दफा १४(१)(छ)(१) अनुसार सजायको मागदावी लिई अभियोग प्रस्तुत गरिएकोमा शुरु जिल्ला अदालतबाट निज प्रतिवादी सुरेन्द्र सिंह राजपुतलाई कैद वर्ष ५ र जरिवाना रु.५०००। हुने ठहर गरी फैसला भए उपर प्रतिवादीको पुनरावेदन अदालत विराटनगरमा पुनरावेदन परी पुनरावेदन अदालतबाट मिति २०५२।१०।२ मा फैसला हुंदा समेत शुरुले गरेको फैसला सदर गरेकोले सो फैसला उपर मुद्दा दोहोर्‍याई हेरी पाउं भनी प्रतिवादीको यस अदालतमा निवेदन परी मुद्दा दोहोर्‍याई हेर्नका लागि निस्सा प्रदान भै पुनरावेदनको लगतमा दर्ता भएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा यस अदालतको मिति २०५५।५।१८ को आदेशानुसार वरामद फेन्सिडिल शाही औषधी अनुसन्धानशालाबाट परीक्षण गराउंदा सिसी भित्रको फेन्सिडिलमा ८.५५ (९५.०२ प्रतिशत) कोडिन फोस्फेट भएको भन्ने कुरा उल्लेख भएको देखिन्छ । लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ३(क)(७) को प्रयोजनार्थ नेपालराजपत्र भाग ३ मिति ०३८।८।२९ मा प्रकाशित सूचनाको नं. १४ मा अफिम र अफिमबाट उत्पति भएको   सम्वन्धित सवै (ठोस र तरल पदार्थ)  रसायनिक पदार्थ  भनी  तोकिदिएको पाइन्छ ।

लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा  (३)(क) को ६(क) मा अफिम  तथा कोकाको सारतत्व मिश्रण वा लवण समेत मिसाई तयार गरिने पदार्थलाई लागु औषध भनी औषधको परिभाषा भित्र समेटेको पाइन्छ भने भाग ३ मिति २०५१।२।२ को राजपत्रमा पनि साविक वमोजिम फेन्सिडिललाई लागु औषध कै परिभाषा भित्र कायमै राखी मात्राको सम्वन्धमा थप व्यवस्था सम्म उल्लेख गरेको पाइदा सो फेन्सिडिललाई ०५१।२।२ को राजपत्रमा प्रकाशित सूचना भन्दा अगाडि लागु औषधको परिभाषा भित्र नपरेको भनी भन्न र मान्न मिल्ने देखिन आएन । २०५०।१२।२५।२ को वरामदी मुचुल्काको आधारमा प्रतिवादी सुरेन्द्र सिंह राजपुतबाट १३ वोतल लागु औषध फेन्सिडिल वरामद भएको देखिन्छ । निज प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा आफुले सो कसुर गरेकोमा सावित भै वयान गरेको पाइन्छ । वरामदी मुचुल्काको काम तामेल गर्ने व्यक्ति अदालत समक्ष उपस्थित भै वकपत्र गर्दा पनि उक्त लागु औषध फेन्सिडिल निज प्रतिवादीबाटै वरामद भएको भनी किटानी वकपत्र गरेको देखिन्छ । प्रतिवादीले आफुबाट वरामद भएको लागु औषध लागु औधष (नियन्त्रण) ऐन, २०३३ को दफा १२ अनुसार लागु औषध नियन्त्रण ऐन, २०३३ र सो ऐन अन्तर्गत वनेको नियम वा जारी भएको आदेश वमोजिम प्राप्त गरेको वा राखेको हो भन्ने कुराको प्रमाण प्रस्तुत गर्न सकेको पाइदैन । प्र. सुरेन्द्र सिंह राजपुतले अदालतमा आई वयान गर्दा देखाइएको फेन्सिडिल आफुबाट वरामद नभएको र आफुले उक्त कसुर नगरेको भनी वयान गरेको भएता पनि सो को पुष्टि समर्थन हुने गरी कुनै ठोस प्रमाण प्रस्तुत गर्न सकेको देखिदैन । यस्तो स्थितिमा निज प्रतिवादि सुरेन्द्र सिंह राजपुतले आरोपित कसुर गरेको होइन भनी भन्न  र  मान्न  मिलेन । तसर्थः यी प्रतिवादी सुरेन्द्रसिंह राजपुतले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(घ) र (च) को कसुर गरेको ठहर गरी ऐ. को दफा १४(१)(छ)(१) अनुसार कैद वर्ष ५ एवं जरिवाना रु.५०००। गर्ने गरी शुरु सुनसरी जिल्ला अदालतले गरेको फैसला सदर गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०५२।१०।२ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । फैसलाको जानकारी थुनामा रहेका प्रतिवादी सुरेन्द्र सिंह राजपुतलाई दिई मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. भैरवप्रसाद लम्साल

 

इति संवत २०५५ साल फाल्गूण १९ गते रोज ४ शुभम

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु