निर्णय नं. ६७२६ - लेनदेन

निर्णय नं. ६७२६ ने.का.प. २०५६ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधिश श्री गोविन्द बहादुर श्रेष्ठ
माननीय न्यायाधिश श्री भैरवप्रसाद लम्साल
सम्वत् २०५१ सालको दे.पु.नं. .. २०२५
फैसला मितिः २०५५।७।९।२
मुद्दाः लेनदेन ।
पुनरावेदक /वादीः सर्लाही जि. औरही गा.वि.स. वडा नं. ३ घर भई हाल ऐ. गौरी शंकर गा.वि.स. वडा नं. २ वस्ने किसुनवति देवी
विरुद्ध
विपक्षी /प्रतिवादीः सर्लाही जिल्ला गौरीशंकर गा.वि.स. वडा नं. ३ वस्ने रामकरण चौधरी थारु
§ वादीको गफलतले गर्दा जग्गा घटेको हो भन्न प्रतिवादी नसकेको र वादीको राजिनामा उल्लेखत जग्गा नपुग देखिएको अवस्थामा लिखत वमोजिम घटी भएको जग्गाको थैली कपाली सरह वादीले भरी पाउने हुंदा कपाली सरह भराई नपाउने ठहर्याएको पुनरावेदन अदालत जनकपुरको फैसला उल्टी भई शुरु सर्लाही जिल्ला अदालतको फैसला सदर हुने ।
(प्र.नं. १३)
पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री तिर्थ वसौला
विपक्षी प्र्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री जयनारायण हुज्जेदार
अवलम्वित नजिरः
फैसला
न्या.गोविन्दबहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ वमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः
२. विपक्षीका नाउंको जि.स. वल्वा सोकनाहा वा.नं. ४(ख) कि.नं. १३८ को ०-५-१०.१/२ जग्गालाई ऐ. वा.नं. ४ कि.नं. १४ को ०/५/१७ भनि ढाटी विक्री गर्छु भनि मोल रु. ९५००। लिइ ०४२।३।१९ गतेमा कि.नं. १४ को जग्गा पास गरेपनि मलाई देखाएको कि.नं. १३८ को जग्गा नै मैले भोगचलन गरी आएकोमा ०४७।२।२ मा सिवरनिया देवीले उक्त जग्गा भोग गर्न आउंदा विवादमै नक्सा हेर्दा कि.नं. १३८ जग्गा मलाई पास गरी दिनुपर्नेमा कि.नं. १४ को जग्गा मलाई पास गरी दिई कि.नं. १३८ को जग्गा सिवरनियादेवीलाई पास गरी दिएकोले ठगीतर्फ नालेस गर्ने म्याद नाघी सकेकोले सो तर्फ उजुर गर्न मिलेन । मैले ०-०-१७ जग्गा मात्र ट्रायल चेकवाट पाएकोले ०-५-० जग्गा भोग गर्न नपाएकोले लेनदने व्यवहहारको २ नं. र रजिष्ट्रेशनको ६ नं. वमोजिम नालिस गर्न पाउने हुंदा काचो ठहरेको ०-५-० जग्गाको हुने रु. ८११९।६५ र कोर्टफि समेत भराई पाउं भन्ने वादीको दावी ।
३. वादीलाई कि.नं. १३८ को जग्गा देखाई कि.नं. १४ को जग्गा दिएको होइन । वादीले कि.नं. १४ कै ०-५-१७ जग्गा भोगचलन गरी आएका हुन । कि.नं. १३८ को जग्गा कहिले पनि भोग गरेको छैन । लेनदेन व्यवहारको ४० नं. को म्याद नघाई दर्ता भएको फिराद खारेज गरी पाउं भन्ने प्रतिवादीको प्रतिउत्तर पत्र ।
४. वादीका साक्षी कल्पनाथ, भरत प्रसाद, राम वहादुर र प्र.का साक्षी रामनारायण, देव नारायण समेतको वकपत्र ।
५. विवादित कि.नं. १४ को जग्गाको मिति ०४८।२।२७ मा भै आएको नापनक्सा ।
६. कि.नं. १३८ को जग्गा मैले खरिद गर्नु अघि दाताकै हकभोगमा थियो । मैले खरिद गरे पश्चात मैले भोगी आएको छु भन्ने सिवरनिया देवीको वयान ।
७. ट्रायल चेकवाट ०-१-० जग्गा र भै आएको नापनक्सावाट ०-०-१७-५.१/२ जग्गा मात्र देखिएकोले रजिष्ट्रेशनको ६ नं. वमोजिम लिखत वमोजिमको सम्पत्ति भोग गर्न नपाएमा भोग गर्न नपाए जतिको थैली कपाली सरह भराई लिन पाउने कानूनी व्यवस्था भएको देखिंदा वादीले भोग गर्न नपाएजतिको जग्गाको दामासाहीले हुने थैली प्रतिवादीवाट भराई लिन पाउने ठहर्छ भन्ने स.जि.अ. को मिति ०४९।२।२६ को फैसला ।
८. शुरु सर्लाही जिल्ला अदालतको त्रुटिपूर्ण फैसला वदर वातील गरी हक इन्साफ गरी पाउं भन्ने प्रतिवादीको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
९. यसमा लिखत पारित हुंदा कि.न. १४ को जग्गा पारित भएको देखिंदा शुरु इन्साफ फरक पर्ने देखिएकोले अ.वं. २०२ नं. वमोजिम विपक्षी भिकाई नियम वमोजिम पेश गर्नु भन्ने पुनरावेदन अदालत जनकपुरको आदेश
१०. वादीले राजिनामा गरी लिएको कि.न. १४ को जग्गा भोग गर्न नपाएको भन्ने ठोस सबुद प्रमाणवाट प्रमाणित नभएको र राजिनामा गरेकै अवस्थामा जग्गा घटीवढी के कस्तो हो भन्ने कुरामा हेरी बुझी मात्र राजिनामा गराउनु पर्नेमा त्यस्तो नगरी पछि ट्रायल चेक गराउंदा जग्गा घटी भएको भन्ने मात्र आधारमा लिखत वमोजिमको थैली कपाली सरह भराई दिन उपयुक्त नभएको समेत कारण वादीले राजिनामा गराई लिएको जग्गा घटेको कारणले भोग गर्न पाएको जग्गाको दामाशाहीले हुने थैली प्रतिवादीवाट वादीले भरी पाउने ठहर्याएको शुरु सर्लाही जिल्ला अदालतको इन्साफ कानून संगत नभएकोले उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरको फैसला ।
११. प्रतिवादीले मलाई कि.न.. १३८ को जग्गा देखाएर कि.नं. १४ को जग्गा पारित गरिदिएको भन्ने कुरा कि.नं. १३८ विपक्षीकै नाममा दर्ता कायम रहेको, कि.न. १४ को जग्गाको उल्लेखित क्षेत्रफल र कि.नं. १३८ को वास्तविक क्षेत्रफल झण्डै वरावर भएको र कि.न. १३८ को जग्गा विपक्षीले सिवरनिया देवीलाई राजिनामा गरी दिएकोवाट प्रमाणित भइरहेकोमा कि.नं. १३८ देखाई कि.नं. १४ को जग्गा पारित गरिदिएको भन्ने भनाई प्रमाणवाट समर्थन नभएको भनि कि.नं. १४ को -५-१७ क्षेत्रफलको जग्गा भनि मलाई राजिनामा गरि दिएकोमा कि.नं. १४ को जग्गा ट्रायल चेक गर्दा ०-१-० क्षेत्रफल मात्र देखिएकोमा मैले राजिनामा वमोजिमको जग्गा भोग नपाएको प्रष्ट देखिएकोमा राजिनामा लिएको जग्गा भोग गर्न नपाएको भन्ने ठोस सबुद प्रमाणवाट प्रमाणित नभएको भनि गरेको पुनरावेदन अदालत जनकपुरको फैसला प्रमाण ऐन २०३१ को दफा ३, ५४ समेतको त्रुटिपूर्ण हुंदा उल्टी गरी शुरु इन्साफ मनासिव ठहर्याई पाउं भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
१२. यसमा कि.नं. १४ को ज.वि. ०-५-१७ जग्गाको मोल रु.९५००। प्रतिवादीले लिएको लिखत व्यहोरावाट देखियो । पारित भएको कि.नं. ५४ को ज.वि. ०-१-० मात्र देखिएपछि वादीलाई प्राप्त नभएको जग्गको प्रतिवादीले लिएको रकम वादीले नपाउने गरेको पुनरावेदन अदालत जनकपुरको फैसला फरक पर्ने देखिंदा छलफलको लागि अ.वं. २०२ नं. वमोजिम विपक्षीलाई झिकाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालतको आदेश ।
१३. नियम वमोजिम दैनिक पेशी सुचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री तिर्थ वसौलाले वादीले राजिनामा वमोजिमको जग्गा भोग गर्न नपाएको भन्ने कुरा ट्रायल चेक र नक्सा समेतवाट प्रष्ट भएको र लिखत वमोजिमको सम्पत्ति भोग गर्न नपाएमा भोग गर्न नपाए जतिको थैलीकपाली सरह भराइ लिन पाउने कानूनी व्यवस्था भएको हुंदा पुनरावदेन अदालतको पैसला वदर गरी भोग गर्न नपाएको जग्गाको दामासाहीले हुने थैली वादीले भरी पाउने ठहर्याएको शुरु जिल्ला अदालतको फैसला सदर गरिनुपर्छ भनि र प्रत्यर्थी तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री जय नारायण हुज्जेदारले जग्गा पारित गरी लिएपछि पछि मात्र जग्गा घटी भएको भने आधारमा भोग गर्न नपाएको जति जग्गाको थैली भराई दिन समेत नमिल्ने हुंदा शुरु जिल्ला अदालतको फैसला उल्टी हुने ठहरेको पुनरावेदन अदालतको फैसला सदर गरिनुपर्छ भनि गर्नु भएको वहस सुनी, लिखत वमोजिमको थैली कपाली सरह भराई दिन नमिल्ने ठहर्याएको पुनरावदेन अदालत जनकपुरको फैसला मिले नमिलेको के रहेछ भनि निर्णयतर्फ विचार गर्दा, यसमा पुनरावेदक । वादी किसुनवति देवीले प्रतिवादी रामकरण चौधरीवाट मिति ०४२।३।१९ मा मोल रु.९५००। मा कि.नं. १४ को ज.वि. ०-५-१७ राजिनामा पारित गरी लिएकोमा विवाद छैन । राजिनामा लिखत वमोजिमको थैली कपाली सरह भराई पाउं भन्ने फिराद दावी देखिन्छ । राजिनामा पारित गरिदिएको जग्गा नपुग भएमा राजिनामा गर्नेले दिएको जति जग्गा पुर्याई दिनुपर्ने हुन्छ प्रस्तुत मुद्दामा कि.नं. १४ को क्षेत्रफल ०-०-१७-५.१र२ भन्ने भइ आएको नक्सावाट देखिन्छ । कि.न. १४ को जग्गाको जग्गाधनी दर्ता प्रमाण पुर्जामा ०-५-१७ उल्लेख भएको र कि.नं. १४ को क्षेत्रफल ०-५-१७ नभई ज.वि ०-१-० हो भन्ने कुरा मालपोत कार्र्यालय सर्लाहीको ०४७।८।२४ को टिप्पणी आदेशवाट देखिन्छ । यसरी वादीको गफलतले गर्दा जग्गा घटेको हो भन्न प्रतिवादी नसकेको र वादीको राजिनामा उल्लेखित जग्गा नपुग देखिएको अवस्थामा लिखत वमोजिम घटी भएको जग्गाको थैली कपाली सरह वादीले भरी पाउने हुंदा कपाली सरह भराइ नपाउने ठहर्याएको पुनरावदेन अदालत जनकपुरको फैसला उल्टी भई शुरु सर्लाही जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ अरुमा तपसिल वमोजिम गर्नु ।
तपसिल
पुनरावेदक । वादी किसुनवति देवीके, माथि ठहर खण्डमा लेखिए वमोजिम पुनरावेदन अदालत जनकपुरको फैसला उल्टी भई भोग गर्न नपाएको जग्गाको दामासाहीले हुने थैली वादीले भरी पाउने ठहर्याएको शुरु सर्लाही जिल्ला अदालतको फैसला सदर हुने ठहरेकोले विगो र अन्य दस्तूर समेत वादीलाइ प्रतिवादीवाट भराउनु नपर्ने भनि रहेको लगत वमोजिम गरी रहनु परेन भनि शुरु जिल्ला अदालतमा लेखि पठाई दिनु ............ १
पुनरावेदक । वादी किसुनवति देवीके पुनरावेदन अदालत जनकपुरको फैसला उल्टी भई शुरु जिल्ला अदालतको फैसला सदर हुने ठहरेकोले निजले पुनरावेदन गर्दा यस अदालतमा राखेको कोर्ट फि रु.५२।३२ प्रतिवादीको यसै सरहदको जेथा देखाइ भराइ पाउं भनी दर्खास्त दिए नियमानुसार भराई दिनु भनि शुरु जिल्ला अदालतमा लगत दिनु ................ २
मिसिल नियमानुसार बुझाई दिनु...... ३
उक्त रायमा म सहमत छु ।
न्या.भैरवप्रसाद लम्साल
इति सम्वत २०५५ साल कार्तिक ९ गते रोज २ शुभम्............... ।