निर्णय नं. ६७२७ - ज्यान मार्ने उद्योग

नि.नं. ६७२७ ने.का.प. २०५६ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधिश श्री अरविन्दनाथ आचार्य
माननीय न्यायाधिश श्री राजेन्द्रराज नाख्वा
सम्वत् २०५२ सालको फौ.पु.नं. .. १२३३
फैसला मितिः २०५५।८।१४।२
मुद्दाः ज्यान मार्ने उद्योग ।
पुनरावेदक/वादी : काउमाया गुरुङको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : जि लमजुङ, दुराडाडा गा.वि.स. वार्ड नं. ९ वस्ने गोकुल वहादुर गुरुङ
§ प्रतिवादीले घातक एवं धारिलो हतियार प्रहार गरेको भन्ने पुष्टि हुन नआएको पिडित मर्ने अवस्था सम्म पुगेको भन्ने नदेखिएको र पिडित के कस्तो अवस्था परी मर्न पाएको रहेनछन भन्ने समेत खुल्न नआई चोट पटक सम्म लागेको भन्ने देखिन आएको स्थितिमा अभियोग दावी लिएको वारदातमा ज्यान सम्वन्धी महलको १५ नं. को अवस्थाको विद्यमानता थियो भनी मान्न सकिने अवस्था नदेखिंदा कानको लोती सम्म काटिन पुगेको र मध्यम खालको चोट पुगेको अवस्थालाई ज्यान मार्ने उद्योग ठहराएको शुरु लमजुङ जिल्ला अदालतको इन्साफ त्रुटीपूर्ण देखिंदा उल्टी गरी प्रतिवादी गोकुल गुरुङलाई अभियोग दावीबाट सफाइ पाउने ठहराई वारदात एवं प्रहरी प्रतिवेदन दाखिल हुंदा कायम रहेको साविक सरकारी मुद्दा सम्वन्धी ऐन, २०१७ को दफा ७(क) वमोजिम प्रस्तुत मुद्दालाई कुटपिटमा परिणत गरी जाहेरवाला पक्षले चाहेमा कुटपिटतर्फ कारवाही चलाउन भनी गरेको फैसला मनासिव देखिंदा सदर हुने ।
(प्र.नं. १४)
वादी तर्र्फवाटः
प्रतिवादी तर्फबाटः
अवलम्वित नजीरः
फैसला
न्या. अरविन्दनाथ आचार्यः पुनरावेदन अदालत पोखराको मिति २०५१।९।२४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१)(ग) वमोजिम पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ ।
२. विपक्षी गोकुल गुरुङ र मेरो घर नजिकमा पर्छ । निजले ल्याउने नपाउने ठाउं मेरो वारीबाट कुलो काटी लगेका र मैले गाउंका भद्र भलादमी समेतलाई जम्मा गराई सो ठाउंबाट कुलो लान नपाउने निर्णय गराएपछि सोही रीसइवीको कारणबाट निजले मलाई पख तलाई नमारी छाडदिन भनी डर धम्की दिने गरेतापनि नाता पर्ने मानिस भएकाले मात्र भन्नू भएको होला भन्ने लाग्दथ्यो । यस्तैमा मिति २०४७।११।७ गते निजको वारीमा दाउरा काटेको भन्ने विषयमा निजको श्रीमती र छोरीसंग मेरो विवाद भइरहेको अवस्थामा निज गोकुल वहादुर गुरुङ एक्कासी हसिया हातमा लिई मेरो गर्धन ताकी हान्न लाग्दा म डराई यसो कोल्टो पर्दा वांया कान नेर लागी म मुर्छा भएछु । पछि गाउंलेहरुको सहायताले लमजुङ अस्पतालमा ल्याई उपचार गराएको हो । निजले मार्ने उद्देश्यले हसिंया प्रहार गरी हानी काटेको हुंदा पक्राउ गरी निजलाई ज्यान मार्ने उद्देश्यमा कानून वमोजिम कारवाही गरी पाउं भन्ने समेत व्यहोराको जाहेरी दरखास्त ।
३. जाहेरवालाको वारीबाट प्रतिवादीले कुलो काटी लैजान नपाएको कारण निजहरुको वीच वादविवाद भै यस्तैमा मिति २०४७।११।७ गते प्रतिवादीले जाहेरवालाको नन्द गीताले आफ्नो वारीमा दाउरा काटेको निहुंमा वादविवाद हुंदा जाहेरवालीलाई प्रतिवादीले धारीलो हतियार प्रयोग गरी हाने काटेको भन्ने समेत व्यहोराको सर्जमीन मुचुल्का ।
४. धारीलो हतियार प्रयोग गरी काटिएको ३५ दिनभित्र निको नहुन सक्छ भन्ने समेतको घाउ जांच प्रतिवेदन ।
५. जाहेरवालीले विभिन्न गाली गलौज गरेको कारणबाट रिस थाम्न नसकी हातमा भएको हसिंया र वांसको कप्टेरा समेतले हाने प्रहार गरेको हुन भन्ने समेतको प्र. गोकुल गुरुङको प्रहरीमा भएको वयान कागज ।
६. प्रतिवादीले ज्यान मार्ने उद्देश्यले जाहेरवालीलाई घाटीमा चोट लाग्ने गरी खुर्पा प्रहार गरेको र लमजुङ अस्पतालबाट गरिएको घाउ जांच केश फारमबाट समेत ३५ दिनभित्र घाउ निको नहुन सक्ने र घाउ धारिलो हतियारले भएको भन्ने प्रष्ट उल्लेख भएको हुंदा ज्यान सम्वन्धीको १५ नं. वमोजिम संजाय गरी पाउं भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन दावी रहेछ ।
७. मेरो वारीमा भएको चिलाउनेको रुखको दाउरा जाहेरवालीकी नन्द गिताले काट्न लागेकी रहिछन । पछि जाहेरवालीलाई झगडा गर्दा घचेटाघचेट भएको थियो । म रीसको आवेशमा आई मैले वासंको कप्टेरा फेला पारी सोही वांसको कप्टेराले हानेको हुं । खुर्पाले हानेको होइन भन्ने समेत व्यहोराको प्र. गोकुल गुरुङले अदालत समक्ष गरेको वयान ।
८. प्रतिवादीका साक्षी सर्जमीनका मानिस र जाहेरवाला समेतको वकपत्र भै मिसिल संलग्न रहेको छ ।
९. प्रतिवादीले प्रहरी प्रतिवेदन माग दावी अनुसारको कसुर गरेको देखिन आएकोले ज्यान सम्वन्धीको १५ नं. वमोजिम कैद वर्ष ५ हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु लमजुङ जिल्ला अदालतको मिति ०५०।१।३ को फैसला ।
१०. उल्लेखित फैसलामा चित्त बुझेन । जाहेरवाली र मेरो वीच झगडा भै घचेटाघचेट, कुटपिट हुंदा परेका घाखत जचाई म उमेर अवस्थाले समेत वृद्ध भएको र ज्यान मार्ने मनसाय सम्म पनि नभएको व्यक्ति उपर ज्यान मार्ने उद्योग जस्तो जघन्य अपराध गरेको आरोप लगाई दायर भएको प्रस्तुत मुद्दामा कानूनी मुल्याकंन नै नगरी गरेको उक्त त्रुटीपूर्ण फैसला वदर गरी आरोपित कसुरबाट सफाइ पाउं भन्ने समेत व्यहोराको प्र. गोकुल गुरुङको पुनरावेदन अदालत पोखरामा परेको पुनरावेदन ।
११. कानको लोती सम्ममा घाउ पुगेको र मध्यम खालको चोटपटक पुगेको अवस्थालाई ज्यान मार्ने उद्योग ठहराएको लमजुङ जिल्ला अदालतको फैसला त्रुटीपूर्ण देखिदा उल्टी हुन्छ र प्रतिवादी गोकुल गुरुङले ज्यान मार्ने उद्योगको अभियोगबाट सफाइ पाउने ठहर्छ वारदात मिति २०४७।११।७ र प्रहरी प्रतिवेदन मिति २०४८।३।११ मा दाखिल हुंदाको अवस्थामा सरकारी मुद्दा सम्वन्धी ऐन, २०१७ विद्यमान रहेको देखिंदा तथा गोकुल गुरुङले सामान्य दाउराको लागि आफ्ना छिमेकी काउमाया गुरुङलाई कुटपिट गरेको र कुटपिट गरेमा प्रतिवादी सावितै रहेको अवस्था तथा घाउ जांच प्रतिवेदनबाट समेत चोट पटक लागेको स्थिति देखिंदा सरकारी मुद्दा सम्वन्धी ऐन, २०१७ को दफा ७(क) वमोजिम प्रस्तुत मुद्दालाई कुटपिटमा परिण्ँत गरी जोहरवाला पक्षले चाहेमा यसै मिसिलबाट कुटपिट तर्फको कार्यवाही चलाउनु भनी लमजुङ जिल्ला अदालतमा लेखि पठाई दिने भन्ने पुनरावेदन अदालत पोखराको फैसला ।
१२. पिडितको टाउको जस्तो संवेदनशील अंगमा घाउ देखिएको उक्त घाउ ३५ दिनभित्र निको नहुने गम्भीर प्रकृतिको भएको भन्ने घा जांच केश फारामबाट देखिन्छ । प्रतिवादीले पिडितलाई मार्नको लागि धारीलो हतियार खुर्पाले हानेको कुरामा अधिकार प्राप्त अधिकरी समक्ष सावित छन् । पिडित गाउंलेको सहायता पाई उपचार हुन सकेको कारणले ज्यान वच्न सकेको स्थितिमा शुरु लमजुङ जिल्ला अदालतको इन्साफ उल्टी गरी प्रतिवादीलाई ज्यान मार्ने उद्योगबाट सफाइ दिने ठहर्याएको पुनरावेदन अदालत पोखराको इन्साफ त्रुटीपूर्ण हुंदा वदर गरी प्रतिवादीलाई शुरु अभियोग माग दावी वमोजिम संजाय गरी पाउं भन्ने वादी श्री ५ को सरकारको यस अदालतमा परेको पुनरावेदन ।
१३. नियम वमोजिम मुद्दा पेशी सुचीमा चढी पेश हुन आएको पुनरावेदन सहितको मिसिल अध्ययन गर्दा प्रतिवादीले ज्यान मार्ने उद्देश्यले घारीलो हतियार खुर्पाले काउमाया गुरुङलाई घांटीमा चोट लाग्ने गरी प्रहार गरेको देखिएकोले ज्यान सम्वन्धीको १५ नं. वमोजिम संजाय गर्न अभियोग दावी भएको प्रस्तुत मुद्दामा शुरु लमजुङ जिल्ला अदालतले प्रतिवादीले ज्यान मार्ने उद्योगको कसुर गरेको ठहर गरी ५ वर्ष कैदको संजाय गरेको फैसला उल्टी गरी प्रतिवादीले आरोपित कसुरबाट सफाइ दिने गरी भएको पुनरावेदन अदालत पोखराको फैसला उपर वादी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन पर्न आएको देखिएकाले पुनरावेदन अदालत पोखराको इन्साफ मिले नमिलेको के रहेछ सो सम्वन्धमा हेरी निर्णय दिनु परेको छ ।
१४. निर्णय तर्फ विचार गर्दा प्रतिवादी गोकुल गुरुङको अधिकार प्राप्त अधिकारी र अदालत समक्ष भएको वयान समेतबाट मिति २०४७।११।७ गते मा प्रतिवादी गोकुल गुरुङ र काउमाया वीच दाउरा काटेको विषयलाई लिएर झै झगडा भएको तथ्यमा विवाद देखिदैन । सोही झै झगडाको क्रममा प्र. ले गरेको प्रहारबाट पिडितलाई घाउ चोट लागेको तथ्य सम्ममा प्रतिवादी सावित नै रहेको पाइन्छ । मिसिल संलग्न पिडित काउमाया गुरुङको घा जांच केश फाराम हेर्दा चेहराको वायातर्फ कानको पछाडि र कानको लोतीमा क्रमश ५ इन्च र २ इन्च लम्वाई भएका काटेको घाउ भएको भन्ने देखिन्छ । सो फारमको क्रम नं. १८ मा घाउको प्रकृति मध्यम भन्ने उल्लेख भएको पाइन्छ । मर्ने सम्भव भए नभएको महलमा क्रमस (x) चिन्ह दिई मर्ने संभावना नभएको तर्फ इङ्गित गरेको पाइन्छ । यस सम्वन्धी कानूनी व्यवस्था हेर्दा ज्यान मार्ने मनसायले गोली चलाउने वा वम हान्ने वा घातक हतियारले काट्ने वा मार्नका लागि अरु जुनसुकै कुराको उद्योग गरी मर्ने सम्मको काम गरेकोमा कुनै कारणले ज्यान मर्न पाएको रहेनछ भने त्यस्तो काम गर्ने र गर्न लगाउने वा सो ठाउंमा गै वचन दिने या मद्दत गर्नेलाई पांच वर्ष देखि वाह« वर्ष सम्म कैद गर्नुपर्छ भन्ने ज्यान सम्वन्धी महलको १५ नं. मा व्यवस्था भैरहेको देखिंदा ज्यान मार्ने उद्योगको कसुर स्थापित हुनका लागि कुनै तरीकाले मर्ने सम्मको काम भई कुनै कारणले ज्यान मर्न नपाएको अवस्था हुनु पर्ने देखिन्छ । घा जांच केश फारमको अध्ययनबाट प्रतिवादीले गरेको प्रहारबाट पिडित मर्ने सम्मको अवस्थामा पुगेको भन्ने देखिन आउदैन । साथै प्रतिवादीले पिडितलाई मार्नु पर्ने सम्मको कारण र त्यस्तो के कुन अवस्था जसबाट प्रतिवादीले ज्यान मार्न सकेको रहेनछ भन्ने कारण पनि वारदातको प्रकृतिबाट देखिन आउदैन । प्रतिवादी र पिडित वीच उत्पन्न झै झगडामा प्रतिवादीले तत्काल आवेशमा आई धारीलो हतियारले चोट छाडेको भन्ने सन्दर्भमा हेर्दा प्रतिवादीले अदालत समक्ष गरेको वयानमा वासको कप्टेरा सम्मले हानेको हुं हतियार छाडेको होइन भनि हतियार छाडेको तथ्थमा इन्कार रही वयान गरेको पाइन्छ । सर्जमीनका जूद्ध वहादुर गुरुङ समेतका व्यक्तिहरुले पनि यी प्रतिवादीले धारीलो हतियारले हानेको देखेको भनि लेखाउन नसकेको र घा जांच केश फारम समेतको अध्ययनबाट धारीलो हतियारले नै प्रहार गरेको भनि मान्न मिल्ने अवस्था देखिदैन । यसप्रकार प्रतिवादीले घातक एवं धारिलो हतियार प्रहार गरेको भन्ने पुष्टि हुन नआएको पिडित मर्ने अवस्थासम्म पुगेको भन्ने नदेखिएको र पिडित के कस्तो अवस्था परी मर्न पाएको रहेनछन भन्ने समेत खुल्न नआई चोट पटक सम्म लागेको भन्ने देखिन आएको स्थितिमा अभियोग दावी लिएको वारदातमा ज्यान सम्वन्धी महलको १५ नं. को अवस्थाको विद्यमानता थियो भनि मान्न सकिने अवस्था नदेखिंदा कानको लोतीसम्म काटिन पुगेको र मध्यम खालको चोट पुगेको अवस्थालाई ज्यान मार्ने उद्योग ठहराएको शुरु लमजुङ जिल्ला अदालतको इन्साफ त्रुटीपूर्ण देखिंदा उल्टी गरी प्रतिवादी गोकुल गुरुङलाई अभियोग दावीबाट सफाइ पाउने ठहराई वारदात एवं प्रहरी प्रतिवेदन दाखिल हुंदा कायम रहेको साविक सरकारी मुद्दा सम्वन्धी ऐन, २०१७ को दफा ७(क) वमोजिम प्रस्तुत मुद्दालाई कुटपिटमा परिण्ँत गरी जाहेरवाला पक्षले चाहेमा कुटपिट तर्फ कार्वाही चलाउन भनी गरेको फैसला मनासिव देखिंदा सदर हुने ठहर्छ । अभियोग दावी वमोजिम संजाय हुनुपर्ने भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. राजेन्द्रराज नांख्वा
इति संवत् २०५५ साल मंसीर १४ गते रोज २ शुभम् ....................................... ।