शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८४९७ - नामसारी हक कायम समेत

भाग: ५२ साल: २०६७ महिना: फागुन अंक: ११

निर्णय नं. ८४९७                     ने.का.प. २०६७            अङ्क ११

 

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री तपबहादुर मगर

माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह

माननीय न्यायाधीश श्री गौरी ढकाल

संवत् २०६५–NF–००२७, ००२८

आदेश मितिः २०६७।३।३।५

 

मुद्दा : नामसारी हक कायम समेत 

 

पुनरावेदक वादीः जिल्ला झापा दुवागढी गा.वि.स.वडा नं. ५ बस्ने हेमसरी राजवंशीको मु.स.गर्ने तालपरी राजवंशी

बिरुद्ध

प्रत्यर्थी प्रतिवादीः जिल्ला झापा, दुवागढी गा.वि.स.वडा नं. ५ बस्ने रिसो राजवंशी समेत

 

पुनरावेदक/प्रतिवादीः जिल्ला झापा, दुवागढी गा.वि.स.वडा नं. ५ बस्ने रिसो राजवंशी समेत

बिरुद्ध

प्रत्यर्थी/वादीः जिल्ला झापा दुवागढी गा.वि.स.वडा नं. ५ बस्ने हेमसरी राजवंशीको मु.स. गर्ने तालपरी राजवंशी

 

अघि मुद्दा छिन्ने

मा.जि.न्या.श्री विष्णुप्रसाद पौडेल

पुनरावेदन फैसला गर्नेः

मा.का.मु.मुख्य न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी

मा.न्या.श्री दीपकराज जोशी

सर्वोच्च अदालत संयुक्त इजलासः

मा.न्या.श्री बद्रीकुमार बस्नेत

मा.न्या.श्री परमानन्द झा

 

§  अंशियार कानूनबमोजिम छुट्टी भिन्न भै अंश लिई अलग बसेको भन्ने नदेखिएको अवस्थामा सगोलको सम्पत्ति समान हाँगाका जीवित अंशियारका नाउँमा नामसारी हुने कुरामा विवाद हुन नसक्ने 

(प्रकरण नं.३)

§  सगोलका अंशियारहरू बीच बण्डा नलाग्ने वा आफ्नो मात्र हक लाग्ने भन्नलाई यस प्रकारको लिखत व्यहोराले निजी आर्जनको हो अन्य कसैको हक लाग्दैन भनी दावी जिकीर लिनेले पुष्टि गर्नुपर्ने 

(प्रकरण नं.४)

§  समान पुस्ताका अंशियारहरू मध्ये जसको नाममा दर्ता रहेको  सम्पत्ति भए पनि मूल अंशीपछिको अर्को पुस्ताका छोरीहरूको नाममा हक कायम नामसारी हुन नसक्ने 

(प्रकरण नं.५)

 

पुनरावेदन वादी तर्फबाटः विद्वान अधिवक्ताहरू श्री अर्जुन कँडेल र श्री श्रीभक्त भडेल

प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री नारायणप्रसाद दुवाडी

अवलम्बित नजीरः

§  नेकाप २०४५, नि.नं. ३३५२, पृष्ठ ९६

सम्बद्ध कानूनः

§  अपुतालीको २ नं.

 

आदेश

न्या.तपबहादुर मगरः यस अदालत पूर्ण इजलासको २०६५।८।२५ को आदेशानुसार न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) बमोजिम पुनरावलोकनको निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :

       मेरा पति ज्ञान्दा राजवंशीको २ परिवारमा जेठी श्रीमती वादो राजवंशी र कान्छी म फिरादी हुँ । हामी दुवैवाट छोरा नभई विपक्षीमध्येका छोरीहरू रिसो, उपासी र मृत्यु भएको सन्दी राजवंशी समेत ३ जना छोरीहरू दिदी वादो राजवंशीतर्फवाट र म तर्फवाट १ छोरी तालपरी हुन् । तालपरी र उपासीको विवाह हुन बाँकी छ । पति २०४३।१०।१८ मा र दिदी वादो राजवंशी पनि २०४५।१०।४ मा परलोक हुनुभयो । हामी ३ जना अंशियारबीच अंशबण्डा नभएको र वादो राजवंशी नाउँ दर्ताको जिल्ला झापा, दुवागढी गा.वि.स. वडा नं. ५ को कि.नं. ३१७ र ३१९ समेतको जम्मा जग्गा विगाहा ०० अपुतालीको २ नं.ले मेरो हकमा नामसारी भई आउने हुँदा मालपोत कार्यालयमा मेरो निवेदन पर्दा हाम्रो पनि हक लाग्ने सम्पत्ति हो भनी छोरीहरूको दावी परेको र मालपोत कार्यालयवाट हकदार कायम गरी ल्याउनु भनी तामेली आदेश भएकोले प्रस्तुत फिराद गर्न आएकी छु । श्रीमान्‌को आर्जनवाट सौता वादो राजवंशीको नाउँमा राखेको झापा दुवागढी वडा नं. ५ को उक्त जग्गामा सगोलका अंशियार पति र सौताको मृत्यु भैसकेको अवस्थामा मेरो मात्र एकलौटी हक लाग्ने जग्गा हुँदा अपुतालीको २ नं. बमोजिम मेरो हक कायम गरी नामसारी दाखेल खारेज गराई पाऊँ भन्ने समेत व्यहोराको वादी हेमसरी राजवंशीको फिराद पत्र 

       हामी प्रतिवादीहरूकी आमा स्वर्गीय वादो राजवंशीले पिता भारतीया राजवंशीको अपुताली अन्य हकवाला कोही नहुँदा आफूले प्राप्त गरेको हो । प्रतिवादीहरूकी आमा वादो राजवंशी र पिता ज्ञान्दा राजवंशीको मृत्यु भैसकेको छ । प्रतिवादीमध्ये रिसो राजवंशीको विवाह भैसकेको र उपासी राजवंशीको विवाह भएको छैन । बावु गेन्दा विवाह गरी वादो राजवंशीको माइती घरमा घरज्वाईंको रुपमा वस्नु भएको र पछि कान्छी श्रीमती हेमसरी राजवंशीलाई विवाह गरी आमा वादोवाट अलग बसी आउनु भएको थियो । निज हेमसरीवाट तालपरीको जन्म भएको हो । वादी दावीको कित्ता जग्गामा हामी प्रतिवादीहरू रिसो र उपासीको संयुक्त वसोवास भोगचलन छ । अपुतालीको २, ३ नं. को प्रयोजनार्थ स्त्री अंशधनको १ नं.ले उक्त जग्गामा हामी प्रतिवादीहरूको हक पुग्ने कुरा निर्विवाद छ । आमा स्वर्गीय वादो राजवंशीले माइतिपट्टिवाट अपुताली प्राप्त गरेको सम्पत्तिमा विपक्षी वादी हेमसरी र निजको छोरी प्रतिवादी तालपरी राजवंशीको हक नपुग्ने कुरामा सन्देह छैन । अपुतालीको २ नं.को आधारमा आमा वादो राजवंशीलाई प्राप्त जग्गा अंशबण्डाको १८ नं.ले परिभाषित निजी आर्जनको सम्पत्तिमा अपुतालीको ३, १० तथा १२ नं. का आधारमा हाम्रो मात्र हक पुग्ने कुरा निर्विवाद छ । वादी दावी झूठा हो भन्ने समेत व्यहोराको प्रतिवादी रिसो राजवंशी र उपासी राजवंशीको संयुक्त प्रतिउत्तर पत्र 

       प्रतिवादीमध्येकी तालपरी राजवंशीले अदालतवाट जारी भएको इतलायनामा म्याद २०५३।१।१७ मा तामेल भएकोमा शुरु म्यादै गुजारी प्रतिउत्तर नफिराई वसेको मिसिलवाट देखियो 

       वादी प्रतिवादीहरूका साक्षीहरूले गरेको बकपत्र मिसिल सामेल रहेको 

       दावीका कित्ता जग्गाहरू वादो राजवंशीका नाउँमा अपुतालीवाट प्राप्त भएको भन्ने प्रतिउत्तर जिकीरलाई मिसिल संलग्न कागज प्रमाणले पुष्टि हुन नसकेको र वादी प्रतिवादीका पति पिता वादीसँग भिन्न भै छुट्टै रहे बसेको भन्ने पनि मिसिल संलग्न तथ्यको आधारमा निर्विवाद पुष्टि हुन नसकेको कारण ज्ञान्दाका श्रीमती समेतका ३ अंशियारहरू कानूनबमोजिम अंशबण्डा नगरी एका सगोलमा रहे भएको अवस्थामा अंशियारमध्ये कुनै एक अंशिका नाममा लिए राखेको अचल सम्पत्तिमा समान हाँगाका अंशियारहरू मध्येको मृत्यु हुँदा एकासगोलका पति, पत्नि, सौता मध्ये जीवित अंशिलाई हक प्राप्त हुने हुँदा सवै अंशियारको मृत्यु भएमा मात्र अपुताली खान पाउने १ पुस्ता पछिका छोरी प्रतिवादीहरूलाई सौतेनी आमा वादी हेमसरीको जीवनकालमै अपुताली हक पुग्ने कानूनी अवस्था भए रहेको नहुँदा वादी हेमसरीको हक कायम हुने हुँदा नामसारी समेत हुने ठहर्छ भन्ने समेत व्यहोराको झापा जिल्ला अदालतको २०५४।१०।२२ को फैसला 

       पुनरावेदक प्रतिवादीहरूकी आमा स्वर्गीय वादो राजवंशीलाई मावलीपट्टिवाट प्राप्त भएको विवादको जग्गा स्त्री अंशधनभित्र पर्ने सम्पत्ति हो भन्ने कुरा देखिँदा देखिँदै वादी हेमसरीका नाउँमा नामसारी हुने ठहर्‍याएको झापा जिल्ला अदालतको फैसला त्रुटिपूर्ण छ । मावली हजुरबुवाको नामको जग्गा कहिले कुन स्रेस्तावाट स्वर्गीय वादो राजवंशीलाई प्राप्त भएको हो भन्ने सम्बन्धमा मालपोत कार्यालय बुझी निर्णयमा पुग्नु पर्नेमा सो समेत नगरी हामीलाई हराई भएको शुरुको फैसला नमिलेको हुँदा बदर गरी प्रतिवादी रिसो र उपासी राजवंशीको नाउँमा हक कायम गरी नामसारी समेत गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी रिसो राजवंशी र उपासी राजवंशीको पुनरावेदन अदालत इलाममा परेको पुनरावेदन पत्र 

       लगाउको दे.पु.नं. २४१/५७२ को नामसारी हक कायम मुद्दामा विपक्षी झिकाउने आदेश भएको हुँदा यस मुद्दामा पनि विपक्षी झिकाउनु भन्ने पुनरावेदन अदालत इलामको आदेश 

       भारतीय राजवंशीको नाउँवाट वादो राजवंशीको नाउँमा अपुताली परी जग्गा आएको भनी आधिकारिक प्रमाण लिखत नपाइएको र समान अंशियार ज्ञान्दा राजवंशी र वादो राजवंशी मरेपछि वादोका नाउँको दावीको कि.नं. ३१७ र ३१९ को जग्गा अंशियारमध्येकी वादी हेमसरी जीवित रहँदै छोरीहरूको नाउँमा नामसारी दर्ता हुने अवस्था नदेखिँदा पुनरावेदन जिकीर तथा प्रत्यर्थी झिकाउने आदेश एवं पुनरावेदक पक्षका विद्वान अधिवक्ताको वहस जिकीरसँग सहमत हुन सकिएन । तसर्थ वादी दावीबमोजिम वादी हेमसरी राजवंशीको हक कायम हुने भै नामसारी समेत हुने ठहर्‍याएको झापा जिल्ला अदालतको २०५४।१०।२२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत इलामको २०५६।२।२४ को फैसला 

       भारतीय राजवंशीको नाम दर्ताको विवादित जग्गा वादो राजवंशीको नाममा के कुन व्यहोरावाट कसरी आयो सो कुरा नै सवैभन्दा महत्वपूर्ण कुरा हो । सो कुराको यकीन नगरी शुरु जिल्ला अदालत र पुनरावेदन अदालतवाट फैसला भएको अवस्था छ । प्रस्तुत विवादको सम्बन्धमा आकर्षित नहुने नजीर प्रयोग गरिएको छ । जिल्ला अदालतको फैसलामा भारतीय राजवंशीवाट वादो राजवंशीको नाउँमा दर्ता रहेको जग्गा स्वीकार गरिसकेपछि हाम्रो नाउँमा प्राप्त हुने जग्गालाई सौतेनी आमा हेमसरीको नाउँमा नामसारी हुने ठहर्‍याएको फैसला कानूनी त्रुटिपूर्ण हुँदा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी रिसो राजवंशी र उपासी राजवंशीको यस अदालतमा परेको निवेदन पत्र 

       विवादित जग्गा प्रतिवादीहरूका मावली बाजे भारतीय राजवंशीका नाममा साविकमा दर्ता रहेकोमा विवाद देखिँदैन । त्यस्तै यी वादीकी आमा वादो राजवंशी भारतीय राजवंशीको छोरी हुन् भन्ने कुरामा समेत विवाद देखिँदैन । २०१४ सालमा वादीको आमा वादोले २ नं. रसिद लिएको र २०२१ सालको नापीमा वादो राजवंशीको जग्गा हो भनी निजको पति ज्ञान्दा राजवंशीले मोहीको हैसियतमा लेखाएको देखिन्छ । यसरी माइतीतर्फवाट प्राप्त गरेको उक्त जग्गा वादोको स्त्री अंशधन भित्रको जग्गा भएकोले बण्डा वा अपुतालीवाट अन्य व्यक्तिमा जाने नभई स्त्री अंशधनको ६ नं. र अपुतालीको २ नं. अनुसार आफ्नो छोरीमा जाने हुँदा सौतेनी आमा हेमसरीको मात्र हक लाग्ने भनी पुनरावेदन अदालत इलामले गरेको फैसलामा उपरोक्त कानूनको त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१)(क) अनुसार यो निस्सा प्रदान गरिएको छ, विपक्षी झिकाई पेश गर्नु भन्ने यस अदालतको २०५७।४।२६ को आदेश 

      स्वयं लोग्ने जीवित रहेको अवस्था भएमा पनि निजले यस्तो स्त्री अंशधनको सम्पत्तिमा अपुताली पाउन नसक्नेमा वादी सौताले अपुताली पाउँछ भनी मान्न मिलेन । तसर्थ छोरीहरू जीवित रहेको अवस्थामा सौताले अपुताली पाउन सक्ने अवस्था नहुँदा सौतेनी आमा हेमसरीको मात्र हक लाग्ने भनी गरेको झापा जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत इलामको २०५६।२।२४ को फैसलाउपरोक्त आधार र कारणवाट उल्टी हुने ठहर्छ । वादो राजवंशीका नाममा रहेका जग्गाहरू माथि उल्लिखित आधार तथा कारण र अपुतालीको २ नं. अनुसार तीनवटै छोरीहरूले बराबरी उपभोग गर्न पाउने ठहर्छ भन्ने समेत व्यहोराको २०६२।७।२७ को यस अदालत संयुक्त इजलासको फैसला 

       मुलुकी ऐन, स्त्री अंशधनको ५ नं. बमोजिम मावलीपट्टिको दाइजो पेवामा आमा वादो राजवंशीको परलोक भएपछि हामी छोरी २ जनाले मात्रै पाउने हो । माइतीवाट पाएको सम्पत्ति स्त्री अंशधनको महलबमोजिम एकलौटी हुने, वादीको दावी नभएको कुरामा अदालतले तर्क उठाई असर पार्न नहुने भन्ने विभिन्न स्थापित सिद्धान्तविपरीत फैसला भएको छ । सर्वोच्च अदालतवाट प्रतिपादित पूर्व नजीरसँग बाझिई न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) को अवस्था विद्यमान भएकोले प्रस्तुत मुद्दा पुनरावलोकन गरी हेरी दावी बमोजिम पूरै कि.नं. ३१७ र ३१९ को जम्मा जग्गा विगाहा ०० जग्गा मावली तर्फवाट दाइजो पेवा पाउने आमा वादो राजवंशीको सँगै बसेका छोरीहरू जना २ को नाउँमा मात्र नामसारी हक कायम गरी पाउन संयुक्त इजलासको फैसला पुनरावलोकन गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरू रिसो राजवंशी र उपासी राजवंशी समेत जना २ को यस अदालतमा परेको निवेदनपत्र 

       सर्वोच्च अदालत संयुक्त इजलासको फैसलामा गलत तथ्य उल्लेख गरी कानून र नजीरको व्याख्यात्मक त्रुटि हुन गएको छ । विवादित सम्पत्ति भारतीय राजवंशीवाट वादोको नाममा आएको भने पनि हक हस्तान्तरण प्रक्रिया प्रमाणित भएको छैन । ज्ञान्दा राजवंशीको २ श्रीमतीमध्ये वादो जेठी र निवेदिका हेमसरी कान्छी भएको र विवादको सम्पत्ति वादोको नाममा रहे पनि हामी अंशियार एका सगोलमा रहेको भन्ने देखिएको छ । अपुतालीको क्रमअनुसार जीवित रहेकी म कान्छी श्रीमती हेमसरीका नाममा नामसारी हक कायम हुनु पर्नेमा अन्यथा गरेको संयुक्त इजलासको फैसला पुनरावलोकन गरी हेरिपाऊँ भन्ने समेत व्यहोराको वादी हेमसरी राजवंशीको तर्फवाट यस अदालतमा परेको निवेदनपत्र 

       प्रस्तुत मुद्दासँग सम्बन्धित शुरु, रेकर्ड र भए प्रमाण मिसिल समेत झिकाई यस अदालतवाट भएको फैसलासहितको फाइल साथै राखी पेश गर्नु भन्ने यस अदालतको २०६४।४।९ को आदेश 

       विवादित कित्ता नं. ३१७ र ३१९ को ०० जग्गा प्रतिवादीहरू रिसो राजवंशी र उपासी राजवंशीका मावली बाजे भारतीय राजवंशीवाट निजकी छोरी अर्थात् प्रतिवादीहरूकी आमा स्वर्गीय वादो राजवंशीले प्राप्त गरेको भन्ने कुराको प्रमाण नदेखिएको अवस्थामा स्वर्गीय वादो राजवंशीकी सौता हेमसरी राजवंशी जीवितै रहेको हुँदा अपुतालीको २ नं. विपरीत सगोलको सम्पत्ति स्वर्गीय वादो राजवंशीका २ छोरीहरू रिसो राजवंशी र उपासी राजवंशी एवं वादी हेमसरी राजवंशीकी छोरी तालपरी राजवंशी समेत तीनवटी छोरीहरूले बराबरी पाउने गरी यस अदालतवाट २०६२।७।२७ मा भएको फैसला वावुलाल साह तेली विरुद्ध सुगिया तेलिन समेत भएको (ने.का.प.२०४५, नि.नं. ३३५२, पृष्ठ ९६) अपुताली मुद्दामा प्रतिपादित सिद्धान्तको विपरीत देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) बमोजिम पुनरावलोकनको निस्सा प्रदान गरिएको छ । विपक्षी झिकाई पेश गर्नु भन्ने यस अदालत पूर्ण इजलासवाट दे.पु.नं. ००२८ मा भएको २०६५।८।२५ को आदेश 

       यसै लगाउको नि.नं. ००१३ को मुद्दामा पुनरावलोकन निस्सा प्रदान भएकोले प्रस्तुत मुद्दाको विषयवस्तु समेत एउटै भै अन्तरप्रभावी देखिँदा उक्त मुद्दामा लिइएका आधार कारण समेतवाट प्रस्तुत मुद्दामा समेत न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) बमोजिम पुनरावलोकनको निस्सा प्रदान गरिएको छ । विपक्षी झिकाई पेश गर्नु भन्ने यस अदालत पूर्ण इजलासवाट दे.पु.नं. ००२७ मा २०६५।८।२५ मा भएको आदेश 

       नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावलोकनकर्ता प्रतिवादी रिसो राजवंशी र उपासी राजवंशीको तर्फवाट रहनु भएका विद्वान अधिवक्ताहरू श्री अर्जुन कँडेल र श्री श्रीभक्त भडेलले प्रस्तुत मुद्दामा झापा दुवागढी५ को जम्मा ५ कट्ठा जग्गामा विवाद परेको छ । यो जग्गा ज्ञान्दाको जेठी श्रीमती वादो राजवंशीले माइती तर्फवाट पाएको भन्ने कुरा अदालतमा बयान गर्दा खुलाएको छ । वादो राजवंशीको मृत्यु भएपछि त्यस्तो सम्पत्ति निजका जीवित छोरीहरू रिसो र उपासीले पाउनु पर्नेमा विवाद छैन । सर्वोच्च अदालत संयुक्त इजलासवाट फैसला हुँदा ज्ञान्दाकी कान्छी श्रीमती हेमसरीवाट जन्मेकी छोरी तालपरी समेत ३ जना छोरीहरूले बराबरी खान पाउने ठहर गरेको मिलेको छैन । हाल ज्ञान्दोको कान्छी श्रीमती हेमसरीको समेत मृत्यु भैसकेको अवस्थामा यस अदालतवाट पुनरावलोकनको निस्सा हुँदा निजलाई जीवित देखाइएको आदेश समेत मिलेको छैन । हेमसरीको छोरी तालपरी समेत वादी भएर नआएको अवस्थामा तालपरीको समेत हक कायम गर्न मिल्दैन । जेठी श्रीमती वादोले दाइजो पेवावाट पाएको सम्पत्ति निजका छोरीहरू रिसो र उपासीले मात्र पाउने स्थिति हो । सोही कारणले गर्दा आमा वादोको सम्पत्ति नामसारीको लागि यिनै दिदी बहिनी मालपोत कार्यालयमा गएपश्चात हेमसरीको छोरी तालपरी २०४८ सालमा नामसारी रोक्काको लागि गएकी छन् । हेमसरी २०५२ सालमा मात्र मालपोत कार्यालयमा नामसारीको लागि गएकी छिन् । वादो राजवंशीको २०४५ सालमा मृत्यु भैसकेकोले २ नं. रसिद समेतको आधारमा प्रतिवादीहरूले नामसारीको लागि मालपोत कार्यालयमा निवेदन दिन गएका हुन् । विवादको सम्पत्ति दा.खा. भै हेमसरीले विक्री समेत गरिसकेकी छिन् । सो लिखत बदरका लागि हाम्रो पक्षको लिखत बदरमा मुद्दा परी जिल्ला अदालतवाट ३ भागको २ भाग लिखत बदर भै फैसला समेत भैसकेको छ । रिसो र उपासीको आमाका नाममा रहेको सम्पत्ति आमाको मृत्यु भैसकेको हुँदा निजका छोरीहरूको नाममा मात्र नामसारी हक कायम हुनुपर्छ भन्ने समेत व्यहोराको वहस गर्नुभयो 

       त्यसै गरी पुनरावलोकनकर्ता वादी हेमसरीको मु.स. गरी आफ्नो हकमा समेत तालपरी राजवंशीको तर्फवाट रहनु भएका विद्वान अधिवक्ता श्री नारायणप्रसाद दुवाडीले मूल पुरुष ज्ञान्दा राजवंशीको श्रीमती जेठी वादो र कान्छी हेमसरी रहेका । जेठी वादोवाट छोरीहरू रिसो र उपासी तथा कान्छी हेमसरीवाट जन्मेकी छोरी तालपरीको बीचमा जेठी श्रीमती वादोको मृत्यु पश्चात् निजका नाममा रहेको कि.नं. ३१७ र ३१९ को सम्पत्तिमा विवाद सिर्जना भएको देखिन्छ । ज्ञान्दा राजवंशी वादोको वावु भारतीय राजवंशीको घरमा घरज्वाईं बसेको तथा सो विवादको सम्पत्ति वादोले वावुवाट दाइजो पाएको भन्ने तथ्य कतैवाट पुष्टि हुन आउँदैन । वादोले अपुताली पाएको भन्ने कुराको प्रमाण समेत निजहरूले देखाउन सकेका छैनन् । रिसो र उपासीको दावी जिकीर पुष्टि हुने आधार मिसिलमा छैन । हेमसरी समेतले दावी गर्दा विवादको सम्पत्ति सगोलको हो भनी दावी लिएको अवस्थामा सो सम्पत्ति मावलीपट्टिवाट प्राप्त भएको भनी जिकीर लिने वादोका छोरीहरूले सप्रमाण पुष्टि गर्न सकेका छैनन् । फिल्डवुकमा लेखिएको व्यहोरा समेतले विवादको जग्गा रिसो र उपासी राजवंशीका आमा वादोले माइती मावलीतर्फवाट पाएको भन्ने देखिएको छैन । मुद्दाको तथ्यवाट विवादको सम्पत्ति सगोलको सम्पत्ति रहेको देखिएको र कान्छी श्रीमती पनि पति ज्ञान्दा र सौतावाट अलग भिन्न भै बसेको भन्ने नदेखिँदा रिसो, उपासी र तालपरी तीनवटै छोरीहरूले बराबरी खान पाउने गरी भएको यस अदालत संयुक्त इजलासको फैसला उल्टी गरी पुनरावेदन अदालत इलामको फैसला सदर हुनुपर्छ भन्ने समेत व्यहोराको वहस गर्नुभयो 

       विद्वान कानून व्यवसायीहरूले गर्नु भएको उपर्युक्त वहस सुनी निर्णय तर्फ विचार गर्दा पुनरावेदन अदालतको फैसला उल्टी गरी वादो राजवंशीका नाममा रहेका जग्गाहरू अपुतालीको २ नं. अनुसार तीनवटै छोरीहरूले बराबरी उपभोग गर्न पाउने ठहर गरी भएको यस अदालत संयुक्त इजलासको फैसला मिले नमिलेको के रहेछ ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो 

      २. निर्णयतर्फ विचार गर्दा मूलतः पति ज्ञान्दा राजवंशीका दुई श्रीमतीमा जेठी वादो राजवंशी र कान्छी म वादी हेमसरी हुँ । दुवैजना श्रीमतीवाट छोरा नभई वादो तर्फवाट रहेका  जीवित छोरीहरू प्रतिवादी रिसो राजवंशी, उपासी राजवंशी र म वादी हेमसरीवाट छोरी प्रतिवादी तालपरीको जन्म भई हामी एकासगोलमा बसिआएको अवस्थामा पति ज्ञान्दाको २०४३ सालमा र दिदी वादोको २०४५ सालमा मृत्यु भएपश्चात् छोरीहरूको पालन पोषण गरी आएकी छु । पति र सौताको मृत्यु पश्चात पतिले आर्जन गरी सौता वादो राजवंशीको नाउँमा रहेको झापा दुवागढी५ को कि.नं. ३१७ र ३१९ को ज.वि. ०० जग्गा अपुतालीको २ नं. ले आफ्ना हकमा आउने हुँदा नामसारीका लागि मालपोत कार्यालयमा जाँदा हक कायम गराई ल्याउने भनी आदेश दिएको छ । छोरीहरू तालपरी समेतले मलाई जानकारी नदिई उक्त जग्गा नामसारीको लागि गएको अवस्थामा हकदार कायम गराई ल्याउनु भन्ने आदेश भएको रहेछ । सगोलका अंशियार पति एवं सौताको मृत्यु भएपछि मेरो मात्र एकलौटी हक लाग्ने हुँदा उक्त जग्गा मेरो नाममा हक कायम गरी नामसारी समेत गरिपाऊँ भनी वादी हेमसरी राजवंशीले आफ्नो छोरी तालपरी र वादोका छोरीहरू रिसो र उपासी समेतलाई प्रतिवादी वनाई प्रस्तुत मुद्दामा दावी लिएको पाइयो । प्रतिवादी मध्येकी तालपरी राजवंशीले शुरु अदालतमा प्रतिउत्तर नै नफिराई बसेकी र रिसो तथा उपासीले आफ्नी आमा वादो राजवंशीको नाममा रहेका विवादका जग्गा पिता भारतीय राजवंशीको मृत्युपश्चात अपुतालीको रुपमा आमा वादो राजवंशीका नाममा आएको हो । आमा वादो राजवंशीलाई हामी प्रतिवादी रिसो तथा उपासीले पालनपोषण गरेका र मृत्युपश्चात् काजक्रिया समेत गरेकाले मावली पट्टिवाट अपुतालीमा प्राप्त गरेको निजी आर्जनको सम्पत्तिमा अन्य कसैको हक लाग्ने होइन भनी प्रतिवाद गरेको देखियो 

       ३. उल्लिखित पृष्ठभूमि रहेको प्रस्तुत विवादमा स्वर्गीय वादो राजवंशीका नाउँमा दर्ता रहेका कि.नं ३१७ र ३१९ का जग्गाहरूमा वादी प्रतिवादीहरू कसको नाउँमा हक कायम नामसारी हुने हो भन्ने मूल प्रश्नको निरुपण हुनुपर्ने देखिन आयो । वादी प्रतिवादीहरू बीचको पुस्तावारी हेर्दा मूल पुरुष ज्ञान्दा राजवंशीका श्रीमतीमध्ये जेठी वादो र कान्छी हेमसरी रहेको र वादो तर्फवाट छोरीहरू रिसो र उपासी तथा हेमसरी तर्फवाट छोरी तालपरी रहेको भन्नेमा विवाद देखिएन । ज्ञान्दा र वादोको मृत्युपश्चात् वादोका नाममा रहेका कित्ता नम्वर ३१७ र ३१९ का जग्गाहरूमा हेमसरीले आफूले पाउनु पर्ने भनी तथा वादोका छोरीहरूले आफूहरूले पाउनु पर्ने भनी छुट्टाछुट्टै दावी लिई छुट्टाछुट्टै फिराद पत्र दायर गरेको पाइन्छ । ज्ञान्दा, वादो र हेमसरी मूल ३ अंशियार एक आपसमा छुट्टी भिन्न भएको भन्ने तथ्य मिसिलवाट देखिँदैन भने छुट्टी भिन्न भएको भन्ने दावी जिकीरसमेत प्रतिवादीहरू रिसो र उपासीले लिएको देखिँदैन । ३ अंशियार कानूनबमोजिम छुट्टी भिन्न भै अंश लिई अलग वसेको भन्ने नदेखिएको अवस्थामा ज्ञान्दा र वादोको मृत्युपश्चात सगोलको सम्पत्ति समान हाँगाका जीवित अंशियारका नाउँमा नामसारी हुने कुरामा समेत विवाद हुन सक्दैन 

४. अब, स्वर्गीय वादो राजवंशीको नाममा रहेका विवादका कित्ता जग्गाहरू वादोले आफ्ना वावु भारतीय राजवंशीवाट अपुतालीमा प्राप्त गरेको हुँदा अपुताली प्राप्त गर्ने वादोका छोरी रिसो र उपासीको मात्र एकलौटी हक लाग्ने हो भन्ने निजहरूको प्रतिउत्तर जिकीर रहेको देखिन्छ । उक्त विवादको सम्पत्ति भारतीय राजवंशीवाट अपुतालीको रुपमा वादोले प्राप्त गरेको  सो सम्पत्तिलाई निजको स्वआर्जनको सम्पत्ति हो भनी रिसो र उपासीले दावी गरे पनि भारतीय राजवंशीवाट निजले अपुताली वा दाइजोस्वरुप पाएको भन्ने लिखत प्रमाणले पुष्टि गरेको अवस्था देखिएन । वादोका नाममा रहनु नै सो सम्पत्ति स्त्री अंशधन अन्तर्गतको हो भनी अदालतले अनुमान गरी निष्कर्षमा पुग्ने स्थिति रहँदैन । मावली बाजे भारतीय राजवंशीवाट आमा वादोले अपुतालीको माध्यमवाट प्राप्त गरेको भनी वादोका छोरीहरूले लिएको दावी जिकीर सम्मको आधारले सो सम्पत्ति निजहरूको मात्र हक लाग्ने प्रकृतिको देखिन आएन । अन्य सगोलका अंशियारहरू बीच बण्डा नलाग्ने वा आफ्नो मात्र हक लाग्ने प्रकृति भन्नलाई यस प्रकारको लिखत व्यहोराले निजी आर्जनको हो अन्य कसैको हक लाग्दैन भनी दावी जिकीर लिनेले पुष्टि गर्नुपर्ने हुन्छ 

       ५. मुलुकी ऐन अपुतालीको २ नं. ले यस महलको अन्य नम्बरहरूको अधीनमा रही अपुताली पर्दा मर्नेको लोग्ने, स्वास्नी, छोरा, अविवाहिता छोरी, छोराको छोरा वा निजको अविवाहिता छोरी भएसम्म अरुले अपुताली पाउँदैनभन्ने व्यवस्थाले प्रस्तुत विवादमा सगोलमा रहेका ३ अंशियारहरू मध्ये २ अंशियारको मृत्यु भए पनि समान पुस्ताको सौतेनी आमा हेमसरीका नाममा नआई त्यसपछिको अर्को पुस्ता रिसो र उपासी राजवंशीको नाममा अपुताली सर्ने अवस्था पनि देखिएन । अपुतालीको सन्दर्भमा अंश र अपुताली भन्ने दुई वेग्लावेग्लै अवधारणा हुन् । पुस्ताको हिसावले विचार गर्दा पनि लोग्नेस्वास्नी समान पुस्तामा पर्छन् भने छोरा दोस्रो पुस्तामा पर्न आउँछ । अपुताली पहिला समान पुस्तामा र त्यसपछि मात्र दोस्रो पुस्तामा जान्छभनी पुनरावेदक वादी वावुलाल साह तेली विरुद्ध सुगिया तेलिन समेत भएको (ने.का.प. २०४५, अङ्क २, नि.नं. ३३५२, पृष्ठ ९६) अपुताली मुद्दामा सिद्धान्त प्रतिपादन भएको देखिन्छ । प्रस्तुत मुद्दामा समान पुस्ताका अंशियारहरू ज्ञान्दा, निजको जेठी श्रीमती वादो एवं कान्छी श्रीमती हेमसरी राजवंशी भएको र ज्ञान्दा र जेठी श्रीमती वादोको मृत्युपछि वादोको नाममा दर्ता रहेको स्त्री अंशधनअन्तर्गत नदेखिएको विवादित सम्पत्तिमा मुद्दा दर्ता हुँदा जीवित रहेकी ज्ञान्दोको कान्छी श्रीमती हेमसरीले उक्त सम्पत्ति हक कायम नामसारी माग गरेको यस स्थितिमा, मूल अंशिपछिको अर्को पुस्ताका छोरीहरूको नाममा हक कायम नामसारी हुन सक्ने अवस्था देखिएन । वादोले अपुतालीवाट प्राप्त गरेको वा स्वआर्जनवाट प्राप्त गरेको भन्ने तथ्य पुष्टि नभएको अवस्थामा मूल अंशी हेमसरीलाई बाहेक गरी विनाआधार प्रमाण वादो राजवंशीका नाममा रहेका जग्गाहरू अपुतालीको २ नं. को कानूनी व्यवस्था उल्लेख गरी रिसो, उपासी र तालपरी तीनवटै छोरीहरूले बराबरी उपभोग गर्न पाउने ठहर्‍याई भएको यस अदालत संयुक्त इजलासको २०६२।७।२७ को फैसला मिलेको नदेखिँदा उल्टी हुन्छ । वादी हेमसरी राजवंशीको दावी बमोजिम निजको नाममा नामसारी समेत हुने ठहर्‍याएको झापा जिल्ला अदालतको २०५४।१०।२२ को फैसला सदर गरेको पुनरावेदन अदालत इलामको २०५६।२।२४ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ 

 

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम यस अदालत संयुक्त इजलासको फैसला उल्टी भै पुनरावेदन अदालत इलामको फैसला सदर हुने ठहरेकोले यस अदालत संयुक्त इजलासको २०६२।७।२७ को फैसलाको तपसील खण्डको १ नं. मा रहेको लगत कायम नरहने जानकारी शुरु झापा जिल्ला अदालतमा लेखी पठाई दिनू .......  १

माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत इलामको फैसला सदर हुने ठहरेकोले झापा जिल्ला अदालतको फैसलाको तपसील खण्डमा रहेको लगत कायमै राखी सोहीअनुसार फैसला कार्यान्वयन गर्नु भनी झापा जिल्ला अदालतमा लेखी पठाई मिसिल नियमबमोजिम बुझाई दिनू ...........२  

 

उक्त रायमा सहमत छौं 

 

न्या.रामकुमारप्रसाद शाह

न्या.गौरी ढकाल

 

इति संवत् २०६७ साल असार ३ गते रोज ५ शुभम्

इजलास अधिकृत : पुनाराम खनाल

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु