शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८५२५ - कर्तव्य ज्यान ।

भाग: ५२ साल: २०६७ महिना: चैत्र अंक: १२

निर्णय नं.८५२५     ने.का.प.२०६७       अङ्क १२

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

संवत् २०६४ सालको CR०३७८

फैसला मितिः २०६७।७।१६।३

मुद्दा : कर्तव्य ज्यान ।

पुनरावेदक प्रतिवादीः सिरहा जिल्ला, लहान नगरपालिका वडा नं.३ घर भै कारागार शाखा सिरहामा थुनामा रहेका जागेश्वर कामैत

विरुद्ध

प्रत्यर्थी वादीः राम नारायण कामैतको जाहेरीले नेपाल सरकार

 

शुरु सिरहा जिल्ला अदालतः

मा.न्या. श्री दीपककुमार कार्की

पुनरावेदन फैसला गर्ने :

मा.मु.न्या.श्री वैद्यनाथ उपाध्याय

मा.न्या. श्री शम्भुबहादुर कार्की

 

 

§  वारदात भएपछि जाहेरी पर्नुभन्दा अगाडिसम्मको झन्डै एक हप्तासम्मको अवधिमा खडा भएका कुनै पनि कागजपत्रमा उक्त वारदात निज प्रतिवादीले घटाएका हुन् वा उक्त वारदातमा निजको संलग्नता रहेको तथा निजले बचन दिएको भनी कोही कसैले लेखाउन एवं खुलाउन सकेको पाइँदैन । त्यस्तो जाहेरी दरखास्त स्वंयलाई मौकामा व्यक्त गरेको कुराको रुपमा प्रमाणमा ग्रहण गर्न नमिल्ने ।

§  कुनै वारदात भएपश्चात् पनि त्यस्तो वारदात गर्ने गराउने व्यक्तिका विरुद्ध पीडित पक्षबाट स्वाभाविक रुपमा किटानी अभिव्यक्ति आउनुपर्दछ तबमात्र त्यस्तो अभिव्यक्तिलाई विश्वसनीय प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने देखिन्छ । आफू विरुद्ध वारदात घटाउने व्यक्तिको परिचय कि त नचिनेको भए वा अन्य कुनै डर धाक धम्की भएको अवस्थामा बाहेक त्यस्तो व्यक्तिको नाम त्यस्तो वारदातबाट पीडित परिवारले तुरुन्तै उल्लेख गर्न सक्नुपर्ने ।

(प्रकरण नं.३)

§  जाहेरी व्यहोरा प्रमाण ग्राह्य हुनको लागि त्यसलाई अन्य स्वतन्त्र प्रमाणहरूबाट पुष्टि हुन आवश्यक देखिन्छ । सोका अलावा जाहेरी पनि युक्तियुक्त रुपमा विश्वसनीय देखिनु आफैमा अपरिहार्य पनि हुन्छ । जाहेरी व्यहोरा यर्थाथपरक हुनको लागि महत्वपूर्ण तत्व भनेको सो जाहेरी वारदात भएको समयदेखि अनुचित विलम्ब गरी दायर गरेको हुनुहुँदैन । अनुचित विलम्ब गरी दिइएको जाहेरी व्यहोरालाई प्रमाण मूल्याङ्कनको कसीमा खरो उत्रनको लागि अन्य स्वतन्त्र प्रमाणहरूबाट पुष्टि हुन जरुरी हुने ।

§  कुनै वारदातको बारेमा वारदात हुनासाथ जाहेरी नदिई केही समयको विलम्ब गरी पछिबाट सोच विचार गरी किटान गरी दिएको (After thought statement) जाहेरीलाई प्रमाण मूल्याङ्कनको रोहमा उच्चस्तरको प्रमाण मान्न मिल्ने देखिँदैन र त्यस्तो जाहेरी व्यहोरालाई प्रमाणित गर्ने गरी भएका बकपत्र व्यहोरा समेतलाई सोहीबमोजिम हेर्नुपर्ने ।

(प्रकरण नं.४)

§  अधिकारप्राप्त अधिकारीसमक्षको बयान व्यहोरालाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुन नसकेसम्म सो बयान व्यहोरालाई प्रमाणमा लिइनु मनासिब नदेखिने ।

§  प्रतिवादीले तेस्रो व्यक्तिलाई प्रयोग गरी वारदात गराएको भए आफू सो वारदातस्थलमा उपस्थित हुनुपर्ने कुनै तार्किक आधार देखिँदैन । आपराधिक मत वा सल्लाहमा पसेको व्यक्ति वारदातपश्चात् वारदातस्थलमा नै बसी उद्धार कार्यमा संलग्न हुन्छ भन्ने कुरा विश्वसनीय नहुँने ।

§

(प्रकरण नं.६)

पुनरावेदक प्रतिवादी तर्फबाटःविद्वान वरिष्ठ अधिवक्ताहरू श्री शम्भु थापा, श्री सीताराम तिवारी, विद्वान अधिवक्ताहरू श्री कृष्णप्रसाद सापकोटा, श्री सतिशकृष्ण खरेल, श्री भोजेन्द्रबहादुर खत्री, श्री शेखरकुमार जोशी र श्री कुमुद भटृराई

प्रत्यर्थी वादी तर्फबाटः विद्वान नायव महान्यायाधिवक्ता श्री प्रेमराज कार्की, विद्वान उपन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली एवं विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, श्री महादेव यादव, श्री हरिहर दाहाल एवं विद्वान अधिवक्ताहरू श्री रमनकुमार श्रेष्ठ, श्री रामचन्द्र सुवेदी, श्री सुरेन्द्र खड्का, श्री तेजनारायण चौधरी, श्री शंकरकुमार निरौला, श्री खगेन्द्र अधिकारी र बगला रेग्मी

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

फैसला

      न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत राजविराजको मिति २०६४।१।९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ ।

      सिरहा जिल्ला, लहान नगरपालिका वडा नं.३ स्थित पूर्वमा राजेन्द्र कामैतको घर, पश्चिममा जिवछ कामैतको पक्का घर, उत्तरमा बाटो दक्षिणमा राजेन्द्र कामैताको बारी यति चार किल्लाभित्र राजेन्द्र कामैतको खपडाको घरदेखि अन्दाजी तीन फिट पश्चिम बीचमा प्यासेज भएको खपडाको छाना भएको बोराको टाट, भुईंतले दक्षिण मोहडाको दुई कोठाको घर, सो घरको प्यासेजदेखि पाँच फिट दक्षिण आँगनमा रगत, सो रगतदेखि २८ फिट दक्षिणमा एकजोर चप्पल रहेको, पश्चिमतर्फका कोठाको चौकटमाथि एक फिट चार इन्चको प्वाल, कोठाभित्र टेलिफोनको लाइन तथा विद्युतको तारसमेत काटिएको, विस्तारामाथि मृतकको लास रहेको, लासको घाँटीदेखि छातिमा गोली लागेको प्वाल रहेको, विस्तारा तन्नामा समेत रगत लतपतिएको भन्ने समेत व्यहोराको मिति २०६१।५।२४ गतेको घटनास्थल तथा लास जाँच मुचुल्का ।

      मेरो दाजु घुरन कामैत तथा पुरन कामैतलाई २०६१।५।२३ गते राती सुतिरहेको अवस्थामा गोली हानि कर्तव्यबाट घुरन कामैतको घटनास्थलमा नै मृत्यु भएको र पुरन कामैतलाई उपचारको लागि धरानतर्फ लगेकोले विस्तृत निवेदन सहितको पछि छुट्टै जाहेरी दिने नै हुँदा हाललाई लास सदगत गर्न पाऊँ भन्ने समेत व्यहोराको विलेक्षण कामैतको मिति २०६१।४।२४ गतेको निवेदन पत्र ।

      मिति २०६१।५।२३ गते राती आआफ्नो कोठामा सुतिरहेको अवस्थामा रातको अन्दाजी १२:३० बजेको समयमा ६, ७ जनाले हातहातमा सानो कटुवा बन्दुक, टर्च लिई योजनाबद्ध तरिकाले म सुतिरहेको ठाउँमा आई मलाई व्युँझाई एक नाले बन्दुक देखाई हल्ला गरेमा ज्यानै मारिदिने धम्की दिई जागेश्वर कामैत लगायत अन्य अन्यायीहरू घर आँगनमा प्रवेश गरी एकजनाले छोरा पुरन कामैत सुतिरहेको कोठाको ढोका घचघचाई ढोका खोल्न लगाई ढोका खोल्नासाथ दुईजनाले पुरन कामैतलाई समाती दाजु घुरन देखा भनेका, दाजु जनकपुर जानु भएको छ भन्नासाथ जागेश्वरले छोरा घुरन कामैत सुतेको कोठा देखाई एकजनाले ढोका घचघच्याई घुरन कामैतलाई पुकारसमेत गर्दा घुरन कामैतले ढोका नखोलेपछि जागेश्वर कामैतले ज्यानै मारिदे भनी बचन दिएपछि सो बचन मानी एकजनाले टर्च बाली एकजनाले गोली प्रहार गरी हत्या गरी जागेश्वरकै बचनमा पुरन कामैतसमेतलाई गोली हानि सख्त घाइते बनाई निजहरू भागी गएका हुन् भन्ने समेत व्यहोराको रामनारायण कामैतको मिति २०६१।५।२८ को जाहेरी दरखास्त ।

      दाहिनेपट्टि पातामा गोली लागेको भन्ने समेत व्यहोराको पुरन कामैतको घाउ जाँच केश फाराम ।

      सबै घरको परिवार सुतिरहेको अवस्थामा रातको १२:३० बजेको समयमा देवर पुरन कामैत सुतेको ढोका घचघच्याई नाम पुकारी ढोका खोल भनेको आवाजले म र मेरो श्रीमान् निद्राबाट व्युझी डरले कोठाभित्रै बसी रहयौ । पुरन कामैत ढोका खोली बाहिर निस्किएपछि तेरो दाजु कहाँ छ भनी हिन्दी भाषामा भनेकाले दाजु जनकपुर जानु भएको छ आउनु भएको छैन भनी देवर पुरन कामैतले जवाफ दिँदा घुरन कामैत जनकपुरबाट आइसकेछ त्यो यही घर कोठमा छ भन्ने जागेश्वर कामैतको आवाज आएकोले एकजना हिन्दी भाषामा बोल्ने मानिस ढोकाको छेउमा आई ढोकाको छेउमा कुर्सि राखी सो कुर्सिमाथि चढी ढोकाको माथि भएको प्वालबाट हामीलाई हेरेका र हामीलाई केही नगर्नुहोस् जे चाहिन्छ लानुहोस् भनी मेरो श्रीमान्‌ले भन्नासाथ बाहिरबाट जागेश्वरले यही बोल्ने मानिस घुरन वकील हो हान्दे भनी बचन दिनासाथ एकजनाले टर्च बाली अर्कोजनाले गोली हान्दा मेरो श्रीमान्‌लाई लाग्यो । श्रीमान् बिस्तारामा ढल्नु भयो त्यसपछि पुरनलाई एक राउण्ड गोली हानेको आवाज आयो भन्ने समेत व्यहोराको मृतककी श्रीमती उर्मीलादेवीले मिति २०६१।६।४ मा गरिदिएको कागज ।

      राती हामी सबै घरका परिवारहरू सुति निदाएको अवस्थामा घरको दक्षिणपट्टि आँगनबाट छोरा पुरन सुतिरहेको कोठाको ढोका ढकढक पारी पुरन भनी बोलाएको आवाजबाट व्युझिँदा एकजना हिन्दी भाषा बोल्ने मनिसले बोलिस् भने मारिदिन्छु भनी मेरो श्रीमान्‌लाई बन्दुक ताकेका, छोरा पुरन ढोका खोली बाहिर निस्किंदा दाजु घुरन खोई देखा भनी भनेकाले पुरनले दाजु जनकपुर जानु भएको छ आउनु भएको छैन भन्दा जनकपुरबाट आइसकेको छ भन्ने जागेश्वर कामैत बोलेको आवाज सुनेको हुँ । निज जागेश्वर कामैतकै बचन मानी अन्य मानिसहरूले घुरन कामैत र पुरन कामैतलाई गोली हानि घुरन कामैतको घटनास्थलमा नै मृत्यु भएको र पुरन कामैत सख्त घाइते भएको भन्ने समेत व्यहोराको देव सुनैर कामैतको मिति २०६१।६।४ को कागज ।

घुरन कामैत र मेरो जग्गासम्बन्धी विवाद अगाडिदेखि नै चलिरहेको थियो । मैले सर्वोच्च अदालतबाट मुद्दा जिते पनि निज आफैं वकील भएकोले मलाई दुःख दिइरहने हुँदा मार्नै पर्छ भनी भारतबाट चार, पाँच जना हतियारसहितका मानिसहरू भारत लौकाह बस्ने मोहमद इदरिसमार्फत् झिकाई मैले नै मार्न लगाएको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी जागेश्वर कामैतले मिति २०६१।६।५ गते अधिकारप्राप्त अधिकारसमक्ष गरेको साबिती बयान ।

घरका सबै परिवाहरू सुति निदाएको बेला रातको १२:३० बजेको समयमा मेरो नाम लिँदै एकजनाले म सुतेको कोठाको ढोका ढकढक गरेपछि मैले कोठाको बत्ति बालेर ढोका खोली बाहिर निस्कने बित्तिकै दुईजना अपरिचित मनिसले मलाई समातेर जागेश्वर कामैत उभिएको ठाउँ आँगनतिर लगे र खै तिम्रो दाजु घुरन वकील भन्दै सोध्न थाले । मैले दाजु जनकपुर जानु भएको थियो आउनु भएको छैन भन्ने बित्तिकै जागेश्वर कामैतले यो साले झूठो बोलिरहेको छ भन्दै दाजु सुत्ने कोठा देखाउँदै साँझ घुरन जनकपुरबाट आइसकेको छ भन्दै उ सुतेको कोठाको माथिबाट टर्च देखाए, भित्रबाट तपाईहरूलाई के चाहिन्छ लैजानुहोस् हामीलाई केही नगर्नुहोस् भनेको आवाज मैले सुनें । जागेश्वर कामैतले यही बोल्ने मानिस घुरन वकील हो हामीलाई केही चाहिदैन यसैलाई मारिदिनु भनी बचन दिने बित्तिकै एकजनाले बत्ती बाले, अर्को एकजनाले घुरन कामैतलाई गोली हाने । त्यसपछि मलाई देखाउँदै यो सालेले हामीलाई चिनिहाल्यो यसलाई पनि मारिदिनु भन्ने बित्तिकै मलाई समातिरहेको दुइजनाले भुईंमा लडाई मलाई पनि गोली हानि भागे भन्ने समेत व्यहोराको घाइते पुरन कामैतले मिति २०६१।६।५ गते गरिदिएको कागज ।

छातिमा गोली लागेर मृत्यु भएको भन्ने समेत व्यहोराको मृतक घुरन कामैतको शव परीक्षण प्रतिवेदन ।

जाहेरवाला मेरा बाबु हुन् । दाजुहरूलाई रक्षाबन्धन बाधिदिन म माइती आएको थिएँ । मिति २०६२।५।२३ गते राती म आमासँग बाहिर बरण्डामा सुतेको थिए । राती १२:३० बजेको थियो होला ६,७ जनाका समूहमा आएका मानिसहरूले दाजु सुतेको कोठाको ढोका ढकढकाई पुरन उठ् भनेको आवाजले म समेत निद्राबाट व्युझीएको हो । दाजुलाई बोलाउने को हो भनी हेर्दा दुईजना अपरिचित मानिसले हामी सुतेको ठाउँमा आई बोलिस् भने मारिदिन्छु भनी बन्दुक देखाई पुरन बाहिर निस्किएपछि जागेश्वर कामैतको बचनमा दाजु घुरनलाई गोली हानि हत्या गरेपछि पुरनलाई समेत गोलीहानि घाइते बनाई भागेका हुन् भन्ने समेत व्यहोराको शान्तिदेवी कामैतको मिति २०६१।६।६ गतेको कागज ।

हामी सबै घरका मानिसहरू सुतिरहेको बेला रातको १२:३० बजेको समयम म र मेरो श्रीमान् पुरन कामैत सुतेको कोठामा श्रीमान् पुरन कामैतको नाम पुकार गरी ढोका ढकढक पारी बोलएकोले मेरो श्रीमान्‌ले ढोका खोली बाहिर निस्किंदा म पनि पछिपछि बाहिर निस्किएको हुँ । श्रीमान् बाहिर निस्किंदा श्रीमान्‌लाई दुईजना अपरिचित व्यक्तिहरूले समाती तेरो दाजु वकील खोई भनी भनेकोले मेरो श्रीमान्‌ले दाजु जनकपुर जानु भएको छ घर आउनु भएको छैन भन्नासाथ जागेश्वर कामैतले घुरन कामैत घरमा नै छ निज सुतेको कोठा यही हो भनी एकजनाले टर्च बाली अर्का एकजनाले गोली हानि घुरन कामैतको हत्या गरेका हुन । त्यसपछि पुरनलाई समेत गोली हानि घाइते बनाई भागेका हुन भन्ने समेत व्यहोराको लिलादेवी कामैतको २०६१।६।६ मा गरिदिएको कागज ।

मृतक घुरन कामैतको शरीरबाट निस्किएको गोली लोकल मेड हतियारबाट फायर भएको ०.३०३ इन्चको गोली र घाइते पुरन कामैतको शरीरबाट निकालिएको गोली लोकल मेडको हतियारबाट फायर भएको ७.६२ एम.एम.को गोली हो भन्ने समेत व्यहोराको केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशालाको परीक्षण प्रतिवेदन ।

राती सुती निदाएको बेला एक्कासी दुईपटक गोली फायर भएको आवाजले निद्राबाट व्युँझी आँगनमा आई बुझ्दा होहल्ला भएको आवाज सुनें । हालको परिस्थितिले गर्दा डरले घटनास्थल गइनँ । जागेश्वर पनि म भए ठाउँमा आई कता के भयो भन्न थाले । देवनारायण र रघुनाथ कामैतले रिक्सामा घाइतेलाई अस्पतालतर्फ डोर्‍याउँदै लगेकोले पुरनलाई गोली लागेको थाहा भयो । मेरै घरमा भएको ५६०९३७ नं को टेलिफोनबाट म र जागेश्वर कामैत दुईजना भई आर्मी क्याम्प समेतमा फोन गरेको हो । जागेश्वर र घुरनबीच जग्गा सम्बन्धमा मुद्दा चलेको सबैलाई थाहा छ र वारदातमा जागेश्वर कामैतको संलग्नता छैन भन्ने समेत व्यहोराको रामदयाल सिंहले मिति २०६१।६।१७ गते गरिदिएको कागज ।

जागेश्वर कामैत र घुरनबीच जग्गासम्बन्धी मुद्दा अदालतमा चलिरहेको भएतापनि वारदातमा जागेश्वर कामैतको सहमति संलग्नता भएकोमा मलाई विश्वास लाग्दैन भन्ने समेत व्यहोराको भोला कामैतले मिति २०६१।६।१७ मा गरेको गरिदिएको कागज ।

घुरन र जागेश्वरबीच जग्गा सम्बन्धमा अदालतमा मुद्दा चलिरहेको भएतापनि अदालतबाट जागेश्वरकै हकमा फैसला भएकोले जग्गा सम्बन्धमा नै जागेश्वरले घुरनको ज्यानै मारिहाल्नु पर्ने अवस्था छैन । जागेश्वरलाई जग्गाको मुद्दा विषयमा नै किटान गरी जाहेरी दिएका हुन् भन्ने समेत व्यहोराको घुरन कामैतले मिति २०६१।६।१७ मा गरिदिएको कागज ।

मिति २०६१।५।२३ गते राती गोलीको आवाजले निद्राबाट व्युँझी तत्काल घटनास्थलमा गएको हुँ । म जाँदा देवनारायण महतोसमेत आएकोले घटनास्थलमा हेर्दा पुरनलाई समेत गोली लागी रगताम्य अवस्थामा देखी तत्काल म र देवनारायणले घाइतेलाई रिक्सामा राखी अस्पताल पुर्‍याएका हौं । घुरन कामैतको मृत्यु भइसकेको कुरा पछि थाहा भयो । वारदातमा जागेश्वर कामैतको संलग्नता भएकोमा मलाई विश्वास लाग्दैन । जग्गासम्बन्धी मुद्दा रहेको भन्ने समेत व्यहोराको रघुनाथ कामैत, देवनारायण महतोले एकै मिलानको गरिदिएको कागज ।

म र मेरो श्रीमान् बच्चाहरूसमेत बाबाधाम गएका थियौं । बाबाधामको दर्शन गरी छोराहरू पटनामा पढ्ने भएकोले उतै बस्नु भयो । म र अन्य परिवारमात्र घर आएपछि मात्र घुरन कामैतलाई गोली हानि मारेको पुरनलाई घाइते बनाएको थाहा भयो । निज घुरन कामैतसँग हाम्रो जग्गासम्बन्धी मुद्दा भएतापनि सो मुद्दा अदालतबाटै हाम्रो हकमा फैसला भैसकेको, हाल निजहरूसँग कुनै रिसइवि छैन । आफ्नो छोराको मृत्यु भएकोले पिर चिन्ता आवेशमा आई जागेश्वरलाई किटानी जाहेरी दिएका हुन् भन्ने समेत व्यहोराको फुलदाइ कामैतले मिति २०६१।६।१७ मा गरेको कागज ।

मिति २०६१।५।२३ गते राती घुरन कामैतलाई गोली हानि हत्या गरी निजको भाइसमेतलाई गोली हानि घाइते बनाउने को कहाँका थिए हामीले चिनेनौं । गोलीको आवाजसमेत सुनेनौं । जोगश्वर कामैत उक्त वारदातमा संलग्न रहेकोमा विश्वास लाग्दैन । जग्गासम्बन्धी जागेश्वर र घुरनबीच मुद्दा चलिरहेको भन्ने समेत थाहा छ भन्ने समेत व्यहोराको अशोककुमार रजकसमेतले एकै मिलानको लेखाइदिएको वस्तुस्थिति मुचुल्का ।

प्रतिवादीको बयानबाट खुलेको महमद इद्रिस र अन्य नाम नखुलेको मानिसमहरूको हकमा समेत खोजतलास तथा सुराक पत्ता लगाउँदा फेला नपरेको तथा कहिबाट पत्ता नलागेको भन्ने समेत व्यहोराको प्र.स.नी.दीलिप दासको प्रतिवेदन ।

हालसम्म अनुसन्धानको क्रममा संकलित कागजातहरू जाहेरी दरखास्त, घटनास्थल एवं लास जाँच मुचुल्का, घाइतेको घाउ केश फाराम, मृतकको शव परीक्षण प्रतिवेदन, प्रतिवादीको बयान, बुझिएका पुरन कामैत समेतको कागज, वस्तुस्थिति मुचुल्का मानिसहरूको बयान र केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशालाको परीक्षण रिपोर्टसमेतका कागज प्रमाणहरूबाट मिति २०६१।५।२३ गते राती गोली प्रहारबाट घुरन कामैतको मृत्यु भएको र उक्त वारदातमा प्रतिवादी जागेश्वर कामैतको संलग्नता रहेको तथा निजले बचन दिएको पुष्टि भएकोले निज प्रतिवादी जागेश्वर कामैतलाई मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १३(४) र १५ नं. बमोजिम सजाय गरिपाउँ भन्ने समेत व्यहोराको अभियोग पत्र ।

मिति २०६१।५।२३ गते राती म आफ्नै घरमा थिए । राती १२:३० बजे फुपाजुको घरमा एक्कासी हल्लाखल्ला भयो । होहल्ला सुनी जाँदा घाइतेलाई अस्पताल लगेपछि मलाई पक्राउ गरिएको हो । जाहेरीको व्यहोरा झुठ्ठा हो । जग्गासम्बन्धी मुद्दा हारेपछि सोलाई रिसइवि बनाई मलाई फसाउन जाहेरी दिएका हुन् । मेरो बचनबाट घटना भएको होइन । मलाई किटानी कागज गर्ने मानिसहरू एकै परिवारका भएकाले मलाई फसाउन कागज गरेका हुन । कसले घुरन र पुरनलाई गोली हाने मलाई थाहा भएन । अनुसन्धानको क्रममा भएको बयान व्यहोरा मेरो होइन । प्रहरीले धाक धम्की दिएर लेखी राखेको कागजमा सहि गराएका हुन् । जग्गासम्बन्धी मुद्दाको इवीले मलाई फसाउन यो मुद्दा रचिएको हुँदा सफाइपाउँ भन्ने समेत व्यहोराको प्रतिवादी जागेश्वर कामैतले शुरु अदालतमा गरेको बयान ।

प्रतिवादी जागेश्वर कामैतको साक्षी संजिव यादव र असर्फी कामैत बुझिएका मानिसहरू रामदयाल सिंह, देवनारायण महतो, हरिलाल महतो, बेचन राय, उर्मिला देवी कामैत, घुरन कामैत, रघुनाथ कामैत, भोला कामैत, फलदाई कामैत तथा वस्तुस्थिति मुचुल्काका मानिसहरू मुनेश्वर महतो, दीपनारायण महतो र जाहेरवाला रामनारायण कामैत, घाइते पुरन कामैतसमेतले बकेको बकपत्र मिसिल सामेल रहेको ।

मिसिल संलग्न जाहेरी दरखास्त, शव परीक्षण प्रतिवेदन, प्रतिवादीको बयान, बुझिएका व्यक्तिहरूको कागज, वस्तुस्थिति मुचुल्काका मानिसहरूको बयान, लगायतका कागज प्रमाणबाट गोली प्रहारबाट घुरन कामैतको मृत्यु भएको देखिएको र उक्त वारदातमा प्रतिवादी जागेश्वर कामैताको संलग्नता रहेको देखिएको र निजले बचन दिएको देखिई प्रतिवादी विरुद्धको अभियोग दावी पुष्टि भइरहेकोले अभियोग दावीबमोजिम निजलाई ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम जन्मकैदको सजाय हुने ठहर्छ । जन्मकैद नै भइसकेकोले ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम थप कुनै सजाय गर्नुपर्ने देखिएन भनी सिराहा जिल्ला अदालतबाट मिति २०६२।२।१५ मा भएको फैसला ।

सिरहा जिल्ला अदालतबाट फैसला गर्दा मबाट गराएको बयानलाई प्रमुख आधारको रुपमा लिएकोमा सो साबिती बयान अन्य स्वतन्त्र प्रमाणबाट समर्थित हुन नआएको अवस्थामा त्यसलाई प्रमाणमा लिन मिल्दैन । वारदात भएको समयमा म अन्यत्र भएको कुरा पेश भएको कागज प्रमाणबाट पुष्टि भएकै छ । मेरो साक्षी प्रमाणबाट समेत सो कुराको पुष्टि भएको छ । बुझिएका व्यक्तिले जागेश्वरमाथि शंका छैन भनी बकपत्रमा उल्लेख गरेको र प्रहरीमा खबर गर्ने पुरनले मौकामा मेरो नाम नबताएको, एक हप्तासम्म अनुसन्धान गरी तत्पश्चात् षड्यन्त्रपूर्वक मुद्दा हारेको रिसइविबाट बदला लिने भावनाले प्रेरित भई दिएको जाहेरीबाट मलाई कसूरदार ठहर्‍याई शुरुबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने समेत प्रतिवादीका तर्फबाट पुनरावेदन अदालत राजविराजमा पर्न आएको पुनरावेदन पत्र ।

वारदातपछि मौकामा खडा गरिएका प्रमाणका कागजमा प्रतिवादीलाई पोल गर्न नसकेको अवस्थामा कसूरदार ठहराएको शुरुको इन्साफ फरक पर्न सक्ने देखिएकोले अ.बं.२०२ नं.तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलको लागि पुनरावेदन सरकारी वकील कार्यालय राजविराजलाई पेसीको सूचना दिई पेश गर्नु भनी पुनरावेदन अदालत राजविराजबाट मिति २०६२।१०।२ मा भएको आदेश ।

प्रतिवादी जागेश्वर कामैत अदालतमा बयान गर्दा आरोपित कसूरमा ईन्कार रहेपनि निजले अनुसन्धानको सिलसिलामा कागज गर्दा जग्गा मुद्दाको रिसको कारणले वकील घुरन कामैतलाई मार्न भारतबाट मानिसहरू ल्याई मार्न लगाएको भनी आरोपित कसूरमा सावित भएको र सोही मिलानको घटनास्थलमा तत्काल रहने पीडित परिवारका सदस्यको कागज व्यहोरा तथा जाहेरवाला घाइते पुरन कामैत र मृतककी पत्नी उर्मीलादेवी समेत चश्मदित गवाहले अदालतमा आई आफ्नो भनाईलाई बकपत्रबाट पुष्टि गरिदिएको र धन सम्पत्ति नलुट्ने केवल मारेर जाने नियतले पूर्व रिसईवि साथ आएका व्यक्तिहरूको कर्तव्यबाट मृत्युभएको र मृतक परिवारसँग यी पुनरावेदक प्रतिवादी जागेश्वर कामैत बाहेक अरु कोही नहुनु ईत्यादि समेतका कारणहरू बाट यी पुनरावेदक प्रतिवादी जागेश्वर कामैत कसूरदार होइनन् भन्न मिलेन, तसर्थ शुरु सिराह जिल्ला अदालतबाट अभियोग दावीबमोजिम प्रतिवादीलाई सजाय गर्ने गरेको फैसला मिलेकै देखिदा सदर हुने ठर्हछ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको मिति २०६४।१।९ को फैसला ।

      वारदात हुँदा देख्ने सुन्ने र सो कुराको पीडा महसुस गर्ने यी तिनै जना व्यक्तिले अदालतमा आई बकपत्र गरेको र त्यसबाट मैले बचन दिएको कुरा प्रमाणित भएको भनेतापनि ती सबै व्यक्तिहरूको बयान एवं कागज व्यहोरा एक आपसमा सामान्जस्य रहेको नहुदा मलाई सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ । त्यसैगरी वारदात हुदाको दिन म अन्यत्र रहेको भन्ने कुरा सप्रमाण पेश गरेको भए पनि सो कुरालाई फैसलामा कुनै विवेचना नै नगरी भएको फैसला त्रुटिपूर्ण छ । साथै फौजदारी मुद्दामा दावी प्रमाणित गर्ने भार वादी पक्षमा रहेको हुन्छ भने म प्रतिवादी घरमा हुदैमा उक्त वारदात मैले नै घटाएको भनी मान्न मिल्दैन । अनुसन्धानको क्रममा गरिएको कागजबाट म विरुद्ध पोल उजूरी सम्म गरिएको छैन । वारदात भै सकेपछि सोको तत्काल पछि खडा गरिएका कागजपत्रमा म विरुद्ध कुनै किटानी उजूरी गरेको नदेखिएको भए पनि पछिबाट नियोजित रुपमा खडा गरिएको कागज व्यहोराको आधारमा म विरुद्धको कसूर स्थापित हुन सक्ने हुदैन । त्यसैगरी मैले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साविती बयान व्यहोरालाई नै कसूर कायम गर्ने मूख्य प्रमाणको रुपमा लिइएको छ जुन कुरा सरासर अमिल्दो छ । मौकाको साबिति व्यहोरालाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुन नसकेमा सो कुरालाई प्रमाणमा लिइनु हुदैन । यस्तो अवस्थामा मौकाको साविती बयानलाई प्रमाणमा लिई भएको फैसला सम्मानित सर्वोच्च अदालतबाट स्थापित कानूनी सिद्धान्तहरू समेतको विपरीत हुँदा बदरभागी छ । यदि उक्त वारदात मैले गरेको भए म सो वारदात पश्चात भाग्न पनि सक्थे, त्यसो केही नगरी उक्त घटना घटेको बारेमा जानकारी प्राप्त भएपछि मैले नै सेना, प्रहरीमा खवर गरी घाइतेलाई अस्पतालसम्म पुर्‍याएको समेत हुँ । तसर्थ मेरो उक्त भूमिकालाई कुनै वास्तै नगरी म विरुद्धको कसूर कायम गरेको शुरु फैसला सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदरभागी छ । तसर्थ म विरुद्धको तथ्ययुक्त सबुद प्रमाणको अभावमा मलाई कसूरदार कायम गर्ने गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबाट छूटकारा पाँउ भन्ने समेत व्यहोराको प्रतिवादी जागेश्वर कामैतको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

      यसमा मिति २०६१।५।२३ गते भएको वारदातमा मिति २०६१।५।२९ गते मात्र जाहेरी दरखास्त परेको देखिएको र मौकामा बी.पी. कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान, धरानमा घाइते पुरन कामैतलाई उपचारका लागि लैजादा उपचारका क्रममा घाँउ केश फारममा Brief about the incidence df by unknown person (Dacoit) भन्ने उल्लेख भएको अवस्थामा समेत कसूरदार ठहर गरेको पुनरावेदन अदालत राजविराजको फैसला फरक पर्ने देखिदा अ.वं. २०२ नं. बमोजिम छलफलको लागि महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०६५।३।४ गतेको यस अदालतको आदेश ।

       नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, सीताराम तिवारी अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, सतिशकृष्ण खरेल, भोजेन्द्रबहादुर खत्री, शेखरकुमार जोशी , कुमुद भट्टराई समेतले पुनरावेदक प्रतिवादी जागेश्वर कामैतले बचन दिई मृतकलाई मारेको भन्ने कुरा वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुनसकेको छैन । सोका अलावा वारदात भए पश्चात तत्काल कुनैपनि व्यक्तिले जागेश्वर कामैतले वारदात घटाएका हुन भनी लेखाउन सकेका छैनन । वारदात हुदाका अवस्थामा नाम उल्लेख नगरी फसाउने उद्देश्यसाथ वारदात भएको झन्डै एकहप्ता पछि दिएको जाहेरी दरखास्तमा जागेश्वर कामैतको नाम उल्लेख गर्नुका पछाडि फसाउने उद्देश्य साथ सो काम गरिएको हुँदा सो कुरालाई नजरअन्दाज गरी भएको फैसला त्रुटिपूर्ण छ । सो का अलावा उक्त वारदातमा घाइते भएका पुरन कामैतलाई यिनै पुनरावेदकले उपचारको लागि अस्पतालसम्म लैजानुको साथै उक्त वारदातको वारेमा प्रहरी तथा सेनालाई खवर गरेका हुन । मौकामा खडा गरिएका कागज तथा सो कागज गर्ने व्यक्तिहरू अदालतमा आई बकपत्र गर्दा समेत उक्त कागज व्यहोरा र बकपत्र व्यहोरा एक आपसमा बाझिनुका साथै अमिल्दो भै रहेको अवस्थामा समेत यी पुनरावेदकलाई सजाय गर्ने गरी भएको शुरु जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला उल्टी गरी पुनरावेदकलाई अभियोग दावीबाट सफाइ दिलाई पाऊँ भनी तथा विपक्षी वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान नायब महान्यायाधिवक्ता श्री प्रेमराज कार्की तथा उपन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली तथा जाहेरवालाको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, महादेव यादव, हरिहर दहाल तथा अधिवक्ताहरू रमनकुमार श्रेष्ठ, रामचन्द्र सुवेदी, सुरेन्द्र खडका, तेजनारायण चौधरी, शंकरकुमार निरौला, खगेन्द्र अधिकारी, बगला रेग्मी समेतले पुनरावेदक प्रतिवादी जागेश्वर कामैत र मृतक घुरन कामैतको परिवार बीच जग्गा एवं सम्पत्ति सम्बन्धी रिसइवी रहेको तथा निजहरू बीच मुद्दासमेत चलिरहेको थियो । मृतक घुरन यादव कानून व्यवसायी समेत भएको कारणले निजले नै प्रतिवादी विरुद्द मुद्दा गरेको र निजैलाई मारिदिएमा सो मुद्दाबाट एवं कानूनी झन्झटबाट मुक्ती पाइन्छ भन्ने उद्देश्यले नियोजित रुपमा रिसईवी साध्ने हिसाबले सो वारदात घटाएको देखिदा यी पुनरावेदक प्रतिवादीलाई सजाय गर्ने गरी भएको पुनरावेदन अदालतको ईन्साफ मिलेकै हुँदा सदरहोस् भनी गर्नु भएको बहस समेत सुनियो ।

       दुवैपक्ष तर्फबाट उपस्थित कानून व्यवसायीहरूको बहस जिकीर सुनि मिसिल संलग्न कागजात अध्ययन गरी निर्णयतर्फ बिचार गर्दा यसमा पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो वा होइन ? तथा पुनरावेदन अदालतको फैसला मिले नमिलेको के रहेछ सोको नै निर्णय दिनुपर्ने देखियो ।

यसमा मृतक घुरन कामैतलाई निजकै घरमा गई रातको समयमा पेशेवर डाकाहरू बोलाई गोली प्रहार गर्नको लागि प्रतिवादी जागेश्वर कामैतले आदेश दिई निजको आदेशानुसार नाम थर थाह नभएका भारतीय डाकाहरूले गोली प्रहार गरेको कारणबाट निज घुरन कामैतको सोही स्थानमा नै मृत्यु भएको तथा भाइ पुरन कामैत घाइते भएको हुँदा उक्त वारदात घटाउने मुख्य भूमिका निर्वाह गर्ने एवं गोली प्रहार गर्न बचन दिने निज प्रतिवादी जागेश्वर कामैतलाई मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १३(४) र १५ नं. बमोजिम सजाय गरिपाऊँ भनी शुरु सिरहा जिल्ला अदालतमा अभियोगपत्र पेश भएकोमा शुरु जिल्ला अदालतले प्रतिवादी जागेश्वर कामैतलाई अभियोग दावीबमोजिमको कसूर कायम गरी निजलाई ऐ. १३(४) नं. बमोजिम जन्मकैदको सजाय हुने ठहर गर्ने गरी भएको फैसलाउपर प्रतिवादीको पुनरावेदन अदालत राजविराजमा पुनरावेदन परेकोमा सो अदालतबाट समेत शुरु जिल्ला अदालतको फैसला नै सदर हुने गरी भएको फैसलाउपर प्रतिवादीले चित्त नबुझाई निजको तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको देखियो ।

२. निर्णयतर्फ विचार गर्दा मृतक घुरन कामैतको मृत्यु "Severe Chest injury and haemothorax due to bullet injury" भनी मृतकको शव परीक्षण प्रतिवेदनमा उल्लेख भएको देखिन्छ । सो कुराका अलावा मृतकको लास जाँच मुचुल्का, मौकामा बुझिएका व्यक्तिहरूको कागज व्यहोरा एवं जाहेरी दरखास्त व्यहोरा समेतबाट मृतकको मृत्यु बन्दुकको गोली प्रहारबाटै भएको हो भन्ने कुरामा विवाद देखिँदैन । मृतकको मृत्यु गोली प्रहारबाट भएको भन्ने कुरामा विवाद नदेखिए पनि उक्त गोली कसले प्रहार गर्‍यो भन्ने कुरातर्फ विचार गर्नु परेको छ । शुरु जिल्ला अदालत तथा पुनरावेदन अदालत समेतले उक्त गोली प्रहार यिनै पुनरावेदक प्रतिवादी जागेश्वर कामैतले बचन दिएर अपरिचित डाँकाहरू मार्फत गराएको भनी निजलाई अभियोग दावीबमोजिम सजाय गर्ने गरी फैसला गरेको देखिन्छ । तर सो वारदात आफूले गराएको होइन तथा आफ्नो वारदातमा सलंग्नता नरहेको कुरा आफूले अदालतमा स्वतन्त्र रुपमा बयान गर्दा समेत लेखाई दिएको र आफ्ना साक्षीले सो कुरा पुष्टि हुने गरी बकपत्र गरिरहेको अवस्थामा सो प्रमाणलाई मूल्याङ्कन नगरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाऊँ भनी जिकीर लिएको देखिन्छ । त्यसैतर्फ विवेचना गर्दा यी पुनरावेदक प्रतिवादी जागेश्वर कामैतले बचन दिएर वारदात घटाएका हुन् भनी निज विरुद्ध किटानी जाहेरी दरखास्त परेको र सो जाहेरी व्यहोरालाई जाहेरवाला लगायत मृतकका परिवारका सदस्यहरूले बकपत्र गरी पुष्टि गरेको भए पनि सो किटानी जाहेरी दरखास्त वारदात भएको भनिएको मिति २०६१।५।२३ गतेको झन्डै एकहप्ता पछि मात्र मिति २०६१।५।२८ मा परेको देखिन्छ ।

३. मिति २०६१।५।२३ गते राति वारदात भएको र सो वारदात भएपछि जाहेरी पर्नुभन्दा अगाडिसम्मको झन्डै एक हप्तासम्मको अवधिमा खडा भएका कुनैपनि कागजपत्रमा उक्त वारदात निज प्रतिवादीले वारदात घटाएका हुन वा उक्त वारदातमा निजको संलग्नता रहेको तथा निजले बचन दिएको भनी कोही कसैले लेखाउन एवं खुलाउन सकेको पाईदैन । त्यस्तो जाहेरी दरखास्त स्वंयलाई मौकामा व्यक्त गरेको कुराको रुपमा प्रमाणमा ग्रहण गर्न मिल्ने अवस्था देखिन्न । कुनै कुरा प्रमाणमा लिन मिल्ने नमिल्ने सम्बन्धमा प्रमाण ऐन, २०३१ को दफा १० मा निम्न व्यवस्था भएको पाइन्छः

मौकामा व्यक्त गरेको कुराः

(१)   कुनै काम घटना वा अवस्थाका सम्बन्धमा देहायका कुनै व्यक्तिले मौकामा वा त्यसको तत्काल अघि वा पछि व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छः

(क) सो काम गर्ने वा सो काम, घटना वा अवस्था प्रत्यक्ष रुपमा देख्ने वा थाहा पाउने व्यक्ति, वा

(ख) सो काम, घटना वा अवस्थाबाट पीडित भएका व्यक्ति ।

(२)   कुनै व्यक्तिले निजको शारीरिक वा मानसिक अवस्था स्पष्टरुपमा बोध हुने गरी त्यस्तो अवस्था कायम छँदै व्यक्त गरेको कुरा प्रमाणमा लिनहुन्छ ।

३. उपरोक्त व्यवस्थाबमोजिम मौकामा व्यक्त गरेको कुरालाई प्रमाणमा लिनको लागि प्रत्यक्ष हुनुपर्दछ तथा सो कुरा सो कार्य भए गरेको तत्काल पछि व्यक्त हुन आवश्यक मात्र नभएर वान्छनीय समेत मानेको देखिन्छ । मौकामा कुनै कुरा उल्लेख नगरी वारदात भएको लामो समय पछि व्यक्त गरेको कुरालाई विश्वास गर्नुपर्ने पर्याप्त आधार र कारण रहँदैन । जस्तो तातो आगोले पोल्नासाथ मानिसले आत्थु भन्छ र सो शब्द स्वतःस्फूर्त रुपमा निस्किएको स्वाभाविक अभिव्यक्ति मानिन्छ । त्यसैगरी कुनै वारदात भएपश्चात् पनि त्यस्तो वारदात गर्ने गराउने व्यक्तिका विरुद्ध पीडित पक्षबाट स्वाभाविक रुपमा किटानी अभिव्यक्ति आउनुपर्दछ तबमात्र त्यस्तो अभिव्यक्तिलाई विश्वसनीय प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने देखिन्छ । आफू विरुद्ध वारदात घटाउने व्यक्तिको परिचय कि त नचिनेको भए वा अन्य कुनै डर धाक धम्की भएको अवस्थामा बाहेक त्यस्तो व्यक्तिको नाम त्यस्तो वारदातबाट पीडित परिवारले तुरुन्तै उल्लेख गर्न सक्नुपर्दछ । प्रस्तुत मुद्दामा आफ्नो परिवारका दुईजना सदस्यमाथि वारदात भएको कुरा स्वंय थाहा पाउने अन्य सदस्यहरूले मौकामा व्यक्त गर्न सकेको वा कही कतै उल्लेख गर्न सकेको देखिदैन । आफ्नो छिमेकी एवं नातामा मामा पर्ने भनिएका यी प्रतिवादीको उक्त वारदातमा संलग्नता भएको भए तुरुन्तै निजको नाम उल्लेख गरी निजलाई पक्राउ गराउन सक्नुपर्नेमा सो केही गरेको देखिन आएन । वारदात भएपछि सो वारदातस्थलमा यी पुनरावेदक प्रतिवादी पनि उपस्थित भएको भन्ने कुरा देखिएको र निजैले नै प्रहरी तथा सेनामा खवर गरी घाइतेलाई उपचार गर्न लगेको समेत देखिँदा निजको सो वारदातमा संलग्नता भएको भए तत्कालै पीडित परिवारले सो कुरा उल्लेख गर्न सक्नु पर्दथ्यो, तर सोबमोजिम गराउन सकेको पाइएन ।

४. किटानी जाहेरी दिदैमा सो जाहेरी व्यहोरा आफैमा अकाट्य प्रमाण हुने होइन । जाहेरी दरखास्त मुद्दाको वा वारदातको सूचनासम्म मात्र हो । जाहेरी व्यहोरा प्रमाण ग्राह्य हुनको लागि त्यसलाई अन्य स्वतन्त्र प्रमाणहरूबाट पुष्टि हुन आवश्यक देखिन्छ । सो का अलावा जाहेरी पनि युक्तियुक्त रुपमा विश्वसनीय देखिनु आफैमा अपरिहार्य पनि हुन्छ । जाहेरी व्यहोरा यर्थाथपरक हुनको लागि महत्वपूर्ण तत्व भनेको सो जाहेरी वारदात भएको समयदेखि अनुचित विलम्ब गरी दायर गरेको हुनुहुँदैन । अनुचित विलम्ब गरी दिइएको जाहेरी व्यहोरालाई प्रमाण मूल्याङ्कनको कसीमा खरो उत्रनको लागि अन्य स्वतन्त्र प्रमाणहरूबाट पुष्टि हुन जरुरी ठानिन्छ । कुनै वारदातको बारेमा वारदात हुनासाथ जाहेरी नदिई केही समयको विलम्ब गरिपछिबाट सोच विचार गरी किटान गरी दिएको (after thought statement) जाहेरीलाई प्रमाण मूल्याङ्कनको रोहमा उच्चस्तरको प्रमाण मान्न मिल्ने देखिँदैन र त्यस्तो जाहेरी व्यहोरालाई प्रमाणित गर्ने गरी भएका बकपत्र व्यहोरा समेतलाई सोहीबमोजिम हेर्नुपर्ने हुन्छ ।

५. प्रस्तुत मुद्दामा घटना पश्चात घाइते पुरन यादवलाई उपचारको लागि धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गर्दा समेत जाहेरवालाले अपरिचित व्यक्तिहरूले वारदात घटाएको र सोही कारणले घाइते भएको भनी उल्लेख गरी अस्पतालमा भर्ना गराएको देखिन्छ । यदि मौकैमा वारदात घटाउने अपराधी चिनेको भए स्वतःस्फूर्त रुपमा उक्त अपराधीको नाम उल्लेख गर्न सक्नुपर्ने देखिन्छ । तर प्रस्तुत मुद्दामा जाहेरवाला लगायतले त्यसरी नाम उल्लेख गर्न सकेको देखिएन ।

६. पुनरावेदक प्रतिवादी जागेश्वर कामैतले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्ने क्रममा उक्त वारदात आफूले गराएको भनी साविती बयान दिएको भए पनि उक्त बयान करकापबाट गराइएको हो भनी सो व्यहोरालाई खण्डन गरी अदातलसमक्ष बयान गरेको देखिन्छ । प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्षको बयान व्यहोरालाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुन नसकेसम्म सो बयान व्यहोरालाई प्रमाणमा लिइनु मनासिब देखिदैन । फौजदारी मुद्दामा कसूर प्रमाणित गर्ने भार प्रमाण ऐनको दफा २५ बमोजिम वादी पक्षमा हुने देखिएको हुँदा यी पुनरावेदक प्रतिवादी जागेश्वर कामैतले वारदात गराएको भनी कुनै ठोस प्रमाण गुर्जान नसकेसम्म निज विरुद्ध कसूर स्थापित गर्न मिल्ने हुँदैन । सोको अलावा पुनरावेदक प्रतिवादीले तेस्रो व्यक्तिलाई प्रयोग गरी वारदात गराएको भए आफू सो वारदातस्थलमा उपस्थित हुनुपर्ने कुनै तार्किक आधार देखिदैन । आपराधिक मत वा सल्लाहमा पसेको व्यक्ति वारदातपश्चात् वारदातस्थलमा नै बसी उद्धार कार्यमा संलग्न हुन्छ भन्ने कुरा विश्वसनीय हुँदैन । त्यसका साथै यदि यी पुनरावेदक प्रतिवादी उक्त वारदातको मत सल्लाहमा पसेको भए निजको साथबाट कुनै न कुनै प्रकारको दशी वस्तु एवं प्रमाणयोग्य अन्य कुरा बरामद हुन पनि सक्नुपर्दथ्यो । प्रस्तुत मुद्दामा त्यस्तो प्रमाण वा चीज यी पुनरावदेकबाट बरामद भएको भनी वादी पक्षले देखाउन सकेको देखिन्न । जाहेरवालाले पछिबाट सोची विचार गरी दिएको जाहेरी व्यहोरालाई पुष्टि हुने गरी मौकामा कुनै तथ्य साथ किटान गरी लेखाई दिन नसक्ने निजकै परिवारका सदस्यले पछिबाट लेखाई दिएको कागज व्यहोरा बाहेक प्रस्तुत मुद्दामा यी पुनरावेदक प्रतिवादीले वारदात गरेका हुन् भनी देखिने कुनै ठोस एवं वस्तुनिष्ठ प्रमाण संकलन भई पेश हुन सकेको समेत पाइएन ।

७. अतः जाहेरवालाले दिएको संदिग्ध जाहेरी दरखास्त व्यहोरा एवं सोहीअनुरूप गरेको बकपत्र र प्रतिवादीको प्रहरी हिरासतमा रहँदाको बखतको अधिकारप्राप्त अधिकारीसमक्षको साविती बयान व्यहोरा बाहेक निज पुनरावेदक प्रतिवादी जागेश्वर कामैतले वारदात गराएको भन्न सकिने कुनै पनि वस्तुनिष्ठ एवं भरपर्दो प्रमाणको अभावमा अधिकारप्राप्त अधिकारीसमक्षको साबिती बयानकै आधारमा कसूर कायम गर्ने गरी भएको फैसला फौजदारी न्यायका मान्य सिद्धान्त समेतले नमिल्ने देखिँदा शुरु जिल्ला अदालतले कसूर ठहर गर्ने गरी गरेको इन्साफ सदर गर्ने गरी भएको पुनरावेदन अदालत राजविराजको इन्साफ मिलेको नदेखिएकोले उल्टी भै पुनरावेदक प्रतिवादी जागेश्वर कामैतले अभियोग दावीबाट सफाइ पाउने ठर्हछ । अरुमा तपसीलबमोजिम गर्नू।

 

तपसील

माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी जागेश्वर कामैतले अभियोग दावीबाट सफाइ पाउने ठहरी फैसला भएको देखिँदा शुरु जिल्ला अदालतको फैसलाबमोजिम कसेको लगत कट्टा गरी निज प्रतिवादी जागेश्वर कामैतलाई आजैका मितिदेखि थुनामुक्त गरिदिनु भनी लेखी पठाउनू ...........१

सरोकारवालाले नक्कल माग्न आएमा लाग्ने दस्तूर लिई नक्कल दिनू ....................२

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टागरी मिसिल नियमानुसार गरी बुझाइदिनू ..................३

 

उक्त रायमा म सहमत छु । 

 

न्या.प्रकाश वस्ती

 

इति संवत् २०६७ साल कात्तिक १६ गते रोज ३ शुभम्

इजलास अधिकृतः विमल पौडेल

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु