निर्णय नं. ८५०३ - गैडा मारी खाग विक्री

निर्णय नं. ८५०३ ने.का.प. २०६७ अङ्क ११
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
माननीय न्यायाधीश श्री रणबहादुर बम
संवत् २०६६ सालको फौ.पु.नं ..००७९, ००२३
फैसला मितिः २०६७।८।८।४
मुद्दाः— गैडा मारी खाग विक्री ।
पुनरावेदक प्रतिवादीः जिल्ला चितवन, गा.वि.स. सिद्धि वडा नं. ३ घर भई हाल कारागार शाखा भरतपुर चितवनमा थुनामा रहेको बमबहादुर प्रजा
विरुद्ध
सहायक संरक्षण अधिकृत कमलजंग कुँवरको जाहेरीले नेपाल सरकार
पुनरावेदक प्रतिवादीः जिल्ला नवलपसारी, गा.वि.स. प्रतापनगर वडा नं. १ घर भई हाल कारागार कार्यालय रुपन्देही भैरहवामा थुनामा रहेको बेदबहादुर बोटे
विरुद्ध
प्रत्यर्थी वादीः सहायक संरक्षण अधिकृत कमलजंग कुँवरको जाहेरीले नेपाल सरकार
शुरु फैसला गर्नेः
प्रमुख संरक्षण अधिकृत श्री मेघबहादुर पाण्डे
पुनरावेदन फैसला गर्नेः
मा.न्या. श्री राजेन्द्रप्रसाद राजभण्डारी
मा.न्या. श्री गिरीराज पौड्याल
§ अदालतले वयान वकपत्र गराउँदा शक्तिको प्रयोग गर्दैन र त्यहाको काम स्वतन्त्रपूर्वक हुन्छ भन्ने ठानिन्छ । यो सर्वमान्य मान्यता र वास्तविकरता पनि हो । प्रमाण ऐन २०३१ को दफा २(क) ले मुद्दा हेर्ने अधिकारीलाई समेत अदालतको परिभाषाभित्र समेटेको छ । प्रतिवादीले मुद्दा हेर्ने अधिकारीसमक्ष वयान गरेका छन् । प्रमाण ऐन २०३१ को दफा ९ मा अदालत बाहेक अन्यत्र गरेको कागज स्वतन्त्रपूर्वक भएको छैन भनी प्रमाणित भएको स्थितिमा मात्र त्यस्तो वयान वा कागजलाई मान्यता दिन नमिल्ने हो । मौकाको वयान नै स्वेच्छाले भएको होइन भनी प्रतिवादीले पुष्टि गर्न नसकेको स्थितिमा मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको वयानलाई स्वेच्छापूर्वक भएको होइन भनेकै आधारमा प्रतिवादीको वयान स्वच्छापूर्वक भएको छैन र सो वयान निजको विरुद्ध प्रमाणमा लिन मिल्दैन भन्न नमिल्ने ।
§ अदालत वा मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको वयान नै स्वतन्त्र छैन भन्ने कुरा मान्ने हो भने समग्र न्याय प्रणाली र कानूनी पद्धति नै परिवर्तन गर्नुपर्ने स्थिति आउँछ । त्यसैले अदालत र मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको वयान स्वतन्त्रपूर्वक भएको छैन भन्ने जिकीरलाई कानूनी मान्यता र सिद्धान्तको आधारमा नै स्वीकार गर्न नसकिने ।
(प्रकरण नं.४)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री रामप्रसाद अर्याल र विद्वान अधिवक्ता श्री युवराज ओली
प्रत्यर्थी वादी तर्फबाटः
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५क र १९(१) दफा २६(१) २७
फैसला
न्या.खिलराज रेग्मीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार पुनरावेदन अदालत हेटौंडाको मिति २०६६।२।३ को फैसलाउपर प्रतिवादीहरूको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः–
२०५८ साल फागुन महिनाको अन्तिम हप्तातिर निकुञ्ज क्षेत्रभित्र गैडा मार्न जाने व्यक्ति बमबहादुर प्रजा समेतलाई आफ्नो घरमा बास बस्न दिई मिति २०५८।१२।१४ को मुचुल्कासँग सम्बन्धित गैडा मारेको कार्यमा संलग्न भएको एवं त्यस कार्यमा सहयोग पुर्याएबापत बमबहादुर प्रजाबाट बेदबहादुर बोटेले रु.५०,०००।– (पचास हजार) लिएको भनी सुराकीबाट खुल्न आएकोले जिल्ला नवलपरासी प्रगतिनगर १ दलदले बस्ने वर्ष ३७ का बेदबहादुर बोटेलाई पक्राउ गरी कानूनी कारवाहीको लागि पेश गरेको छु भन्ने व्यहोराको स.सं.अ कमलजंग कुँबरको जाहेरी प्रतिवेदन ।
मिति२०५८।१२।१३ गते चि.रा.नि.अन्तर्गत लौखानी प्रवेशद्वारवाट खटी गएको गस्ती टोलीले पूर्वमा मर्दिघोल, पश्चिममाकुमारवर्ती सामुदायिक वन, उत्तरमा सिर्केटापु, दक्षिणमा बादरझुला यी चौहद्धिभित्र रा.नि.को कालिवन क्षेत्रमा १५,२० दिन अगाडि मारेको, खाग धारिलो हतियारले काटी लगेको, अन्दाजी १४।१५ बर्षको मृत गैंडा फेला परेको भन्ने व्यहोराको मृत गैंडाको स.सं.अ. टीकाराम अधिकारी समेतले लेखाई दिएको घटनास्थल प्रकृति लास जाँचको मुचुल्का ।
गैडा मारेको मुद्दामा हाल कारागार शाखा भरतपुरमा २०५९ माघमा थुनामा रहेको मेरो घर नजिकको छिमेकी जिल्ला नवलपरासी बस्ने सानोकान्छा भन्ने नरबहादुर वि.क.ले., गैंडा मारेको मुद्दामा हाल कारागार शाखा भरतपुरमा थुनामा रहेका जिल्ला चितवन सिद्धि गा.वि.स.वडा नं. ३ बस्ने बमबहादुर प्रजा र निजसँगै आउने जिल्ला चितवन पदमपुर घर बताउने विजय लामालाई चिनाई दिई, घरमा वास वस्न दिनु, उनीहरू गैडा मार्न जान्छन्, पछि पैसा पाउँछस् भनी भनेका थिए । उनीहरू २०५८ साल फागुन महिनाको अन्तिम सातातिर नारायणी नदीपारी निकुञ्ज क्षेत्रभित्र गैडा मार्न गएको हुन् र खाग विक्री भएपछि रु.५०,०००।– (पचास हजार) बमबहादुर प्रजाले मलाई दिएको हो । उक्त रकम मध्ये रु.१५,०००।– भाईलाई आमाको उपचार गराउँदा ऋणस्वरुप दिएको र केही घर खर्च गरेको हुँ । नरबहादुर पक्राउ परेपछि २०५९ माघ महिनामा रु.७,०००।– लिई भारत गै भारतको दिल्लीस्थित नमोडा गार्मेन्टमा काम गरी बसेँ भन्ने व्यहोराको बेदबहादुर बोटेको बयान ।
बेदबहादुर बोटेको बयानबाट खुल्न आएको, गैडा मार्नलाई वेदबहादुर वोटेको घरमा वास वसेका जिल्ला चितवन पदमपुर गा.वि.स.वडा नं. १ बस्ने विजय लामालाई पक्राउ गरी पेश गर्न लेखिएको पत्र ।
बेदबहादुर बोटेको बयानअनुसार खुल्न आएका कारगार शाखा भरतपुर चितवनमा गैंडा मारी खाग विक्री व्यवसाय गरेको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नरबहादुर वि.क. र बमबहादुर प्रजालाई कार्यालयमा झिकाई बयान गर्नुपर्ने भएकोले थुनुवा उपस्थित गराउन लेखिएको पत्र ।
दलदले बजारमा फर्निचर पसल राखेका वुद्धिराम महतोले जिल्ला चितवन सिद्धी गा.वि.स. घर भएका बमबहादुर प्रजालाई २०५७ सालमा चिनाई दिएका थिए । निज बमबहादुर प्रजा मेरो घरमा बसेर करिव ३, ४ वडा गैडा मारेको हुन् । त्यसमा बमबहादुरले मलाई रु.५०,०००।– (पचास हजार) दिएका थिए । पैसा लिएको गाउँमा हल्ला खल्ला भएकोले आफ्नो घर नजिक बस्ने बेदबहादुर बोटेलाई बमबहादुर प्रजासँग चिनजान गराई दिएको हुँ । त्यसपछि आफू पक्राउ परी थुनामा रहेको भन्ने व्यहोराको नरबहादु वि.क.को बयान ।
गैडा मार्ने क्रममा जिल्ला नवलपरासी, प्रगतिनगर गा.वि.स.दलदले बस्ने नरबहादुर वि.क.ले आफ्नो सम्बन्धमा गाउँघरमा चहलपहल धेरै भएको भनी मलाई निजको घर नजिकका बेदबहादुर बोटेसँग चिनजान गराई दिएका थिए । २०५८ साल फागुन महिनाको अन्तिम साता निज बोटेको घरमा वास वसी नारायणी पारी निकुञ्ज क्षेत्रभित्रको जंगलमा गई गैडा मारी धारिलो हतियारले खाग काटी बिक्री गर्न भनी विजय लामाले लगेको हो । खाग विक्रीबाट आएको मध्ये निज बोटेलाई रु.५०,०००।– (पचास हजार) दिएको हुँ । खाग विजय लामाले कहाँ लगी विक्री गर्यो सो आफूलाई थाहा नभएको, बन्दुक सिर्केटापुमा लुकाई राखेकोमा पछि बनका कर्मचारीबाट बरामद गर्न जाँदा वाढीले बगाई लगी फेला नपरेको भन्ने व्यहोराको बमबहादुर प्रजाले गरेको बयान ।
बेदबहादुर बोटेको बयानबाट खुल्न आएका, गैडा मार्नलाई निजको घरमा बास बस्ने जिल्ला चितवन पदमपुर बस्ने विजय लामालाई पक्राउ गर्न नसकिएको र खोजतलास भई रहेको भन्ने व्यहोराको सि.गे.सुर्यप्रसाद रेग्मीको प्रतिवेदन ।
बेदबहादुर बोटेको सम्बन्धमा जिल्ला नवलपरासी प्रगतिनगर १ दलदले बस्ने गोविन्दबहादुर बोटे समेतले लेखाई दिएको सर्जमिन मुचुल्का ।
चितवन जिल्ला निकुञ्ज कार्यालय कसराका रेञ्जर राजु घिमिरेले प्रतिवादी बेदबहादुर बोटेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ को कसूर अपराधमा सोही ऐनको दफा २७ बमोजिम र प्रतिवादी बमबहादुर प्रजा र विजय लामालाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क) को कसूरमा सोही ऐनको दफा २६(१) बमोजिम हदैसम्मको सजाय गरी ऐ को दफा २८ बमोजिम वरामद सामान जफत गरी, फरार प्रतिवादी विजय लामालाई म्याद जारी गरी कारवाही गरिपाऊँ भन्ने माग दावी लिई पेश गरेको मिति २०६२।३।१ को अभियोग पत्र ।
मेरो घर छेउमा बस्ने नरबहादुर वि.क.ले नै बमबहादुर प्रजा र विजय लामालाई मेरो घरमा बस्ने खाने व्यवस्था गरी दिनु पर्यो, उहाँहरू नजिकको साथी हुनुहुन्छ भनी परिचय गराई दिएकोले मैले चिनेको हुँ । निजहरू २ पटक वास बस्न आएको हुन् । निजहरूले २०५८ साल फागुन महिनाको अन्तिम सातातिर होला निकुञ्ज क्षेत्रभित्र नारायणी नदी तरेर गई एउटा गैंडा मारेका रहेछन् । निजहरू सो गैंडा मारेपछि र अघि पनि म कहाँ वास वस्न आएका थिए । गैडाको खाग निजहरू मध्ये कसले कहाँ लगेर विक्री गरे सो मलाई थाहा भएन । पछि मलाई तिम्रो भाग भनी रु.५०,०००।– (पचास हजार) दिएका हुन् । सो पैसाले मैले मेरो ऋण तिरे, केही घर खर्च गरेको हुँ भन्ने वमबहादुर बोटेले इजलाससमक्ष गरेको साविती बयान ।
मिति २०६२।३।२ गते रा.नि.तथा व.ज.सं.ऐन २०२९ को दफा ५(क) को कसूर अपराध गरेको तत्काल प्राप्त प्रमाणबाट देखिएको हुँदा सोही ऐनको दफा २७ बमोजिम हुने सजायलाई मध्यनजर राखी पछि ठहरेबमोजिम हुने गरी अ.वं. ११८(२) नं. बमोजिम पुर्पक्षको लागि थुनामा राख्न प्रतिवादी वमबहादुर वोटेलाई कारागार शाखा भरतपुरमा पठाउन गरेको आदेश ।
म बेदबहादुर बोटेको घरमा गई एक रात बसेको हुँ । सोही रात मैले गैडा मारेको होइन । उसको घरमा बसेको दुई दिनपछि उसको घरमा र नरबहादुर वि.क.सँग सम्पर्क नगरी नारायणी नदीको तिरमा जिल्ला चितवन पदमपुर गा.वि.स. १ बस्ने विजय लामासँग सम्पर्क गरी गैडा मार्न गएको हो । गैडालाई गोली मैले नै हानेको हो । गैंडाको खाग विजय लामाले नम्बर थाहा नभएको वाई.वि.एक्स मोटरसाईकलमा लगी बेच्दथ्यो, कहाँ वेच्थ्यो थाहा भएन । दुई चार दिन देखि १५।२० दिनसम्मको भेट्ने स्थान तोकी दिन्थ्यो । सोही स्थानमा गई कुरेर बस्थे, उसले पैसा दिन्थ्यो । म बन्दुक चलाई निसाना लगाउन सिपालु भएकोले उसले सो कुरा थाहा पाई मलाई गैडा मार्न जान अनुरोध गर्न मेरो घरमा आफैं आएको हो । पदमपुरमा उसलाई पक्रन खोजेकोले उ मेरो घरभन्दा माथि सिद्धि गा.वि.स.मा नै आफन्तको घरमा गई लुक्ने गर्दथ्यो । जि.चि. पदमपुर–१ बस्ने राजनप्रसाद पक्राउ भएदेखि विजय लामासँग सम्पर्क भएन । जिल्ला चितवन शुक्रनगर घर भई जिल्ला नवलपरासी प्रगतिनगर १ दलदलेमा फर्निचर पसल राखी बस्ने कालो वर्णको अग्लो अग्लो मोटो वुद्धिराम महतोले नरबहादुर वि.क.सँग परिचय गराई दियो । नरबहादुर वि.क.ले बेदबहादुर बोटेसँग सम्पर्क गराई दिएको हो । नरबहादुर आफ्नो घरमा नबस्ने हुनाले खान र बस्नको समस्या भएकोले कुनै व्यवस्था गर्नु पर्यो भनी मैले भनेकोले उसले वेदबहादुर बोटेसँग सम्पर्क गराएको हो । नरबहादुर वि.क.लाई ५ वटा गैडाको पैसा दिएको हो, वुद्धिराम महतोलाई १ वटा गैडा मारेको पैसा दिएको हो । गैडा मार्न भनी २ पटक दलदले जाँदा वुद्धिरामसँग भेट भएको थियो । वुद्धिराम महतोले कम पैसा भयो भनेर झगडा गरी बसेको हो । नरबहादुर वि.क.ले चाहीँ काम गरिरहेको थियो । उसले हल्ला खल्ला गरी हिड्न थालेपछि मैले सम्पर्क गरिन । मैले जम्मा ८,८०,०००। (आठ लाख असि हजार) कमाए । सो मध्येबाट जिल्ला रौतहट चन्द्रनिगाहपुर गा.वि.स. वडा नं. १ मा एककठ्ठा जग्गामा बनेको एकतले घर किनी ६ लाख पचास हजारमा आफ्नो नाउँमा पास गरेको छु । मैले आफैंले ताला लगाएको छु । ढलान नभएको घर किनेकोले एकलाख ढलान गर्न लाग्यो भन्ने व्यहोराको बम बहादुर प्रजाले इजलाससमक्ष गरेको साविती बयान ।
घटनास्थल प्रकृति लासजाँचको मुचुल्काका जंगबहादुर श्रेष्ठ, रामसेवक यादव, सर्जमिन मुचुल्काका गणेशबहादुर बोटे, लालबहादुर बोटे समेतको बकपत्र ।
प्रतिवादी बेदबहादुर बोटेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क) को कसूर अपराधमा सोही ऐनको दफा २७ बमोजिम १५(पन्ध्र) बर्ष कैद र रु.१,००,०००।– (एकलाख) जरीवाना र प्रतिवादी बमबहादुर प्रजा र विजय लामालाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क) र १९(१) को कसूर अपराधमा सोही ऐनको दफा २६(१) बमोजिम जनही पन्ध्र (१५) वर्ष कैद र रु.१,००,०००।– (एकलाख) जरीवाना हुने ठहर्छ भन्ने चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको मिति २०६५।३।१६को फैसला ।
मैले गैडा मारेको छैन, मार्ने काममा कुनै संलग्नता पनि छैन । मेरो इच्छाविपरीत डर, धाक, धम्की दिई बनाइएको बयान कागजलाई मुख्य आधार बनाई राष्ट्रिय निकुञ्ज कार्यालयले सजाय गरेको छ । वादी नेपाल सरकारले मैले नै अपराध गरेको हो भनी ठोस तथ्य एवं प्रमाण पेश गर्न सकेको छैन । वादीले आफ्नो दावी प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम निर्विवाद रुपमा प्रमाणित गरेको अवस्थामा मात्र अभियोग दावीबमोजिम कसूर अपराध गरेको मान्नुपर्ने हो, दशी प्रमाणको अभावमा, सजाय गर्न नमिल्नेमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरा चितवनले हचुवा र कपोलकल्पित आधारमा मैले कसूर गरेको ठहर गरेको छ । सो फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दावीवाट सफाइ पाऊँ भन्ने समेतको प्रतिवादी बमबहादुर प्रजाको पुनरावेदन अदालत हेटौंडामा परेको पुनरावेदन पत्र ।
मैले गैडा मारेको छैन र सो अपराधमा कुनै पनि किसिमबाट संलग्न छैन । गैंडा मार्ने व्यक्तिहरू मेरो घरमा बास बसेको मात्र हो । सो आधारमा मलाई अपराधी ठहर्याउन मिल्दैन । वादीले आफ्नो अभियोग दावी विवादरहित तवरले प्रमाणित गर्नु पर्नेमा सोको पुष्ट्याई गर्न सकेको छैन । सुनेको भन्ने सर्जमिनको आधारमा मलाई सजाय गर्ने गरेको फैसला मिलेको नहुँदा बदर भागी छ । सहअभियुक्तको पोल अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि नभई प्रमाणमा लिन नमिल्ने हुँदा वादीबाट पेश भएका साक्षीको भनाई प्रमाणमा लिन मिल्दैन । शुरु फैसला त्रुटिपूर्ण भएको कारण सो फैसला बदर गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेतको प्रतिवादी बेदबहादुर बोटेको पुनरावेदन अदालत हेटौंडामा परेको पुनरावेदन पत्र ।
कसूरको प्रकृति र घटना विवरणअनुसार प्रमाणको उचित मूल्याङ्कन नगरी अन्तिम हदसम्मको सजाय गरेको शुरुको फैसला फरक पर्न सक्ने हुँदा पुनरावेदन सरकारी वकील कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत हेटौडाको मिति २०६५।८।३ को आदेश ।
घटनास्थल लास प्रकृति मुचुल्कामा बस्ने टीकाराम अधिकारी, माझी मुङ्ग्रे बोटे तथा काम तामेल गर्ने रेञ्जरद्वय अशोककुमार राय र रुपक महर्जन समेतका व्यक्तिहरू प्रस्तुत मुद्दाको रोहमा बुझ्नु पर्ने देखिदा निजहरूलाई अ.वं. ११५ नं. बमोजिम समाह्वान जारी गरी झिकाई बुझी नियमानुसार पेश गर्नु भन्ने समेतको मिति २०६५।१०।६ को पुनरावेदन अदालत हेटौडाको आदेश ।
गैडा, चोरी सिकारीले मारी खाग चोरी गरी लगेको हो । शिकारी फेला नपरेको हुँदा कसले मारेको हो थाहा छैन भन्ने समेत व्यहोराको रेन्जर रुपक महर्जन र घटनास्थल लास प्रकृति मुचुल्काका मानिस माईली मुङग्रे बोटेले गरेको छुट्टाछुट्टै बकपत्र ।
प्रतिवादीहरूको साविती बयान, घटनास्थल लास प्रकृति मुचुल्का र सर्जमिन मुचुल्काका मानिसहरूको बकपत्र समेतका आधार प्रमाणबाट प्रतिवादी बमबहादुर प्रजाले गैरकानूनी तरिकाले गैडा मारी खाग विक्री गर्ने कार्य गरेको तथा अर्का प्रतिवादी बेदबहादुर बोटेले गैडा मार्ने कार्यमा सरिक रहेका प्रतिवादी बमबहादुर प्रजालाई आफ्नो घरमा बास बसाई गैडा मारेबापत निजबाट रु.५०,०००।– समेत लिएको देखिदा रकम समेत लिई मतियार भै आरोपित कसूर गरेको पुष्टि भएको हुँदा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवनबाट प्रतिवादी बेदबहादुर बोटेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क) को कसूर अपराधमा सोही ऐनको दफा २७ बमोजिम १५(पन्ध्र वर्ष कैद र रु.१,००,०००।– (एक लाख) जरीवाना हुने ठहराई र प्रतिवादी बमबहादुर प्रजा र विजय लामालाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क) र १९(१) को कसूर अपराधमा सोही ऐनको दफा २६(१) बमोजिम (१५) पन्ध्र वर्ष कैद र रु.१,००,०००।– (एकलाख) जरीवाना हुने ठहराई मिति २०६५।३।१६ मा गरेको फैसला मिलेकै हुँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौंडाको मिति २०६६।२।३ को फैसला ।
मैले गैडा मार्ने कुरा थाहा पाई बमबहादुरलाई बास दिएको भनी बयान गरेको छैन । सह अभियुक्तको बयानको आधारमा तयार पारेको बयानमा सैनिक राखी धम्की दिई सही गराएको हो । मैले बमबहादुर प्रजा र विजय लामालाई प्रत्यक्ष रुपमा चिन्दैन । अनुसन्धान र निर्णय गर्ने एउटै व्यक्ति हुँदा फरक बकपत्र हुन सक्ने स्थिति छैन । एक रात वास वस्दैमा रु.५०,०००।– दिने भन्ने कुरा पनि विश्वासलायक छैन र देख्ने पनि कोही छैन । ५० हजार दिएको भनी बमबहादुरले कहिकतै बयानमा भनेका छैनन् । लास प्रकृति मुचुल्काका राम सेवक यादवको बयानको आधारमा मलाई हदैसम्मको सजाय गरिएको छ । बास बस्न दिएको र रकम लिएको कुरा सुनेको भनी लालबहादुर बोटे र गणेशबहादुर बोटेले सर्जमिनलाई समर्थन गरी बपकत्र गरेका छन् । सुनेको आधार प्रमाण हुन सक्दैन । स्वयं रेञ्जर रुपक महर्जनले मैले गैडा मारेको भन्न सक्नु भएको छैन । केवल सुनेको आधारमा गरेको बकपत्र र अनुमानकै आधारमा मैले गैडा मारेको ठहराई, स्थिति र अवस्था नहेरी हदैसम्मको उच्चतम सजाय गरेको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाइ पाऊँ वा वैकल्पिक जिकीरको रुपमा न्यूनतम सजाय गरिपाऊँ भन्ने बेदबहादुर बोटेको यस अदालतमा परेको पुनरावेदन पत्र ।
मेरो रेञ्जर र प्रमुख वन संरक्षण अधिकृतसमक्ष गरेको बयान स्वेच्छापूर्वक होइन । वेदबहादुर बोटेलाई पनि यातना दिई बयान गराएको हुँदा सो आधारमा मैले गैडा मारेको भन्न मिल्दैन । स्वेच्छा विरुद्ध गराएको बयान प्रमाणमा लिन मिल्दैन । लास जाँच मुचुल्का र सर्जमिनका मानिसले मैले नै गैडा मारेको देखेको भनी किटानी पोल गरेको छैनन् । हाम्रो मुलुक Common Law System बाट सञ्चालित मुलुक हुँदा स्वेच्छा विरुद्धको बयानलाई प्रमाणमा लिन मिल्दैन । बयानलाई पनि स्वतन्त्र प्रमाणले समर्थन गरेपछि मात्र कसूर कायम गर्नुपर्नेमा कुनै प्रमाणबाट समर्थन हुन नसकेको स्थितिमा पनि कसूर ठहर गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला समेत गैरकानूनी तथा न्यायिक मन विपरीत हुँदा सो फैसला बदर गरी सफाइ पाऊँ भन्ने बमबहादुर प्रजाको यस अदालतमा परेको पुनरावेदन पत्र ।
नियमबमोजिम पेश भएको प्रस्तुत मुद्दाको अध्ययन गरी पुनरावेदक प्रतिवादी वेदप्रसाद बोटेको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रामप्रसाद अर्यालले मेरो पक्षको बमबहादुर प्रजा र विजयलामासँग प्रत्यक्ष चिनजान नै छैन, वास वस्दैमा गैडा मार्नमा सहयोग गरेको भन्न मिल्दैन । रकम दिएको भन्ने कसैले देखेको छैन । केवल अनुमान र सुनेको आधारमा मेरो पक्षलाई कसूर ठहर गरेको शुरुको फैसला सदर गरेको मिलेको छैन, तसर्थ सो फैसला बदर भै सफाइ हुनुपर्छ भन्ने र प्रतिवादी बमबहादुर प्रजाको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री युवराज ओलीले मेरो पक्षलाई रेन्जर र वन संरक्षण अधिकृतले डर धाक दिई लेखी राखेको बयानमा सही गराएका छन् । सावितीलाई अन्य स्वतन्त्र प्रमाणले समर्थन गरेको देखिदैन । गैडाको लास प्रकृति मुचुल्कामा जनप्रतिनिधि पनि छैन । कसूर कायम गर्न शंकारहित तवरले कसूर प्रमाणित हुनुपर्छ । यस्तोमा कसूर कायम गरेको फैसला त्रुटिपूर्ण हुँदा बदरभै सफाइ पाउनुपर्छ भनी गर्नुभएको वहस सुनियो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी बमबहादुर प्रजा, विजयलामा र वेदबहादुर वोटे आपसमा मिली संरक्षित बन्यजन्तु गैडाको चोरी शिकारी गरी मारी खाग काटी लगी वेच विखन समेत गरेकोले प्रतिवादीमध्येका बमबहादुर प्रजा र विजय लामाले गैडा मारी खाग विक्री गरे उपर रा.नि. तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५क र १९(१)को कसूरमा ऐ. २६(१) नं. बमोजिम र अर्का प्रतिवादी वेदबहादुर बोटेलाई गैडा मार्ने कार्यमा जानीवुझी बास वस्न दिई सहयोग पुर्याएको कसूरमा सोही ऐनको दफा २७ बमोजिम सजाय हुन भनी मागदावी भएकोमा प्रतिवादी विजय लामा फरार रहेको तथा बमबहादुर प्रजा र बेदबहादुर बोटेले कसूर स्वीकार गरी बयान गरेको अवस्थामा चितवन राष्ट्रिय निकुन्ज कार्यालयले बम बहादुर प्रजा र विजय लामालाई ऐ. ऐनको दफा ५क र १९(१)को कसूरमा ऐ. दफा २६(१) अनुसार र वेदबहादुर बोटेलाई ऐ. ५क को कसूरमा दफा २७ अनुसार १५ वर्ष कैद र १ लाख रुपैयाँ जरीवाना गरेको देखिन्छ । सो फैसलाउपर प्रतिवादी बेदबहादुर बोटे र बमबहादुर प्रजाको पुनरावेदन पर्दा पुनरावेदनबाट सो फैसला सदर भएउपर ती दुवै प्रतिवादीको यस अदालत समक्ष पुनरावेदन पर्न आएको हुँदा यी प्रतिवादीहरूले कसूर गरेका हुन् वा होइन ? शुरुको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मुनासिब बेमुनासिब के रहेछ ? सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आएको छ ।
३. पुनरावेदक प्रतिवादीमध्ये बेदबहादुर बोटेको सन्दर्भमा विचार गर्दा, प्रतिवादी बेदबहादुर बोटेले आफूले जानी बुझी गैडा मार्नलाई बास दिएको होइन र रकम लिएको पनि कसैले देखेको छैनन्, एक रात वास वस्दैमा रु.५०,०००।– दिने कुरा पनि पत्यार लायक छैन ,त्यस अवस्थामा कसरी कसूर प्रमाणित हुन्छ भनी जिकीर लिएको देखिन्छ । यी प्रतिवादीलाई बम बहादुर प्रजा र विजय लामासँग परिचय गराई गैडा मार्नका लागि वास वस्न दिनु भनी परिचय गराई दिएको हुँ भनी नरबहादुर वि.क.ले मौकामा बयान गरेको तथा बमबहादुर प्रजाले मुद्दा हेर्ने अधिकारीसमक्ष बयान गर्दा वोटेसँग गैडा मार्दाको दिन सम्पर्क नगरेको भनी भनेपनि मौकामा वयान गर्दा प्रतिवादी बेदबहादुर बोटेको घरमा वास बसेको तथ्य स्वीकार गर्नुका साथै सो वयान र सहिछापलाई मुद्दा हेर्ने अधिकारीसमक्षको वयानमा ईन्कार गर्न सकेको छैनन् । प्रतिवादी बेदबहादुर बोटेले मौकामा र मुद्दा हेर्ने अधिकारीसमक्ष बयान गर्दा नरबहादुर वि.क.ले बम बहादुर प्रजा र विजय लामालाई वास वस्न दिनु गैडा मार्न जान्छन् भनी चिनाई दिएका, गैडा मार्नु अघि र पछि पनि आफूकहाF वास बसेका र खाग विक्री गरेपछि तिम्रो भाग भनी रु.५०,०००।– दिएका हुन् भनी बयान गरेको देखिन्छ । स्वयं प्रतिवादीले गैडा मार्न जाने क्रममा वमबहादुर प्रजा र विजय लामा आफनो घरमा वास वसेको, गैडाको खाग विक्रिपछि रु रु.५०,०००।०० लिएको कुरा स्वीकार गरेका छन् । सो स्वीकारोक्ति सह अभियुक्त वमबहादुर प्रजाको बयानबाट समेत पुष्टि भै रहेको स्थितिमा यी प्रतिवादीले गैडा मार्ने प्रयोजनका लागि जानी जानी वास वस्न दिएको होइन भन्न मिल्ने देखिएन । यी प्रतिवादीले मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको बयान स्वतन्त्र र स्वच्छापूर्वक भएको होइन, सैनिक राखी डरधाक दिई लेखिएको कागजमा सही गराएको हुन् भन्ने जिकीर लिएपनि मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको वयान सिद्धान्त र व्यवहारतः पनि स्वतन्त्रपूर्वक भएको छैन भनी स्वीकार गर्न सकिदैन । तसर्थ यी प्रतिवादीले बमबहादुर प्रजा र विजय लामासँग मिली निजहरूलाई गैडा मार्नका लागि वास वस्न दिई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ अनुसार गैडा मार्ने कार्यमा सहयोग गरी कसूर गरेको देखिन आयो ।
४. अर्का प्रतिवादी बमबहादुर प्रजाको सम्बन्धमा विचार गर्दा यी प्रतिवादीले मेरो अनुसन्धान अधिकारीसमक्ष र मुद्दा हेर्ने अधिकारीसमक्षको बयान पनि स्वच्छापूर्वक भएको होइन । साविती अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि भएको छैन र गैडा मारेको कसैले देखेको छ भनी भन्न सकेको पनि छैनन् । यस्तो अवस्थामा मैले सफाइ पाउनुपर्छ भनी जिकीर लिएको देखिन्छ । सामान्यतयाः अदालतले वयान वकपत्र गराउदा शक्तिको प्रयोग गर्दैन र त्यहाको काम स्वतन्त्रपूर्वक हुन्छ भन्ने ठानिन्छ । यो सर्वमान्य मान्यता र वास्तविकरता पनि हो । प्रमाण ऐन २०३१को दफा २(क) ले मुद्दा हेर्ने अधिकारीलाई समेत अदालतको परिभाषाभित्र समेटेको छ । प्रतिवादीले मुद्दा हेर्ने अधिकारीसमक्ष वयान गरेका छन् । प्रमाण ऐन २०३१को दफा ९मा अदालत बाहेक अन्यत्र गरेको कागज स्वतन्त्रपूर्वक भएको छैन भनी प्रमाणीत भएको स्थितिमा मात्र त्यस्तो वयान वा कागजलाई मान्यता दिन नमिल्ने हो । मौकाको वयाननै स्वच्छाले भएको होइन भनी प्रतिवादीले पुष्टि गर्न नसकेको स्थितिमा मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको वयानलाई स्वच्छापुर्वक भएको होइन भनेकै आधारमा प्रतिवादीको वयान स्वच्छापूर्वक भएको छैन र सो वयान निजको विरुद्ध प्रमाणमा लिन मिल्दैन भन्न मिल्दैन । अदालत वा मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको वयान नै स्वतन्त्र छैन भन्ने कुरा मान्ने हो भने समग्र न्याय प्रणाली र कानूनी पद्धतिनै परिवर्तन गर्नुपर्ने स्थिति आउँछ । त्यसैले अदालत र मुद्दाहेर्ने अधिकारीसमक्ष गरेको वयान स्वतन्त्रपूर्वक भएको छैन भन्ने जिकीरलाई कानूनी मान्यता र सिद्धान्तको आधारमानै स्वीकार गर्न सकिदैन । यी प्रतिवादीले मौका र मुद्दा हेर्ने अधिकारीसमक्ष बयान गर्दा नरबहादुर वि.क.ले चिनाई दिएको आधारमा वेदबहादुर बोटेको घरमा वसी २०५८ फागुनमा नारायणी जंगल पारी गै मैले नै गोली हानी गैडा मारेको हुँ । खाग विजयले लगि विक्री गरेको हो भनी कसूर स्वीकार गरेको छन । मिति २०५८।१२।१४ मा चितवन राष्ट्रिय निकुञ्जको कालिवन क्षेत्रमा गैडा हत्या गरेको अवस्थामा भेटिई फेला पारी सोही दिन घटनास्थल तथा लास प्रकृति मुचुल्का भएको देखिन्छ । प्रतिवादीहरू वमबहादुर प्रजा र विजय लामा गैडा मरेको समयमा बेदबहादुर बोटेको घरमा वास वसेको देखिन्छ । बमबहादुर प्रजाले गोली हानी गैडा मारेको, विजय लामाले गैडा मारी खाग विक्री गरेको र वास वस्न दिई सहयोग गरेबापत वमबहादुर प्रजाले केही समयपछि बेदबहादुर बोटेलाई रु.५०,०००।– दिएको समेतका घटनाक्रमको श्रृङ्खला समेतवाट गैडा मार्नमा प्रतिवादीहरू तीनै जना मिली वेदबहादुरको घरमा बास बस्ने वमबहादुर प्रजा र विजय लामा जंगल जाने वमबहादुरले गोलि प्रहार गर्ने र विजय लामाले खाग विक्रि गर्ने योजना वनाई योजना अन्तर्गत बमबहादुरले गोली प्रहार गरी गैडा मारेको देखिन आयो । प्रतिवादीको मौकाको र मुद्दा हेर्ने अधिकारीसमक्षको बयान, सहअभियुक्त वेदबहादुर वोटेको मौकाको र मुद्दा हेर्ने अधिकारीसमक्षको पोलाइबाट समेत यी प्रतिवादीले गैडा मारेको र निज खाग विक्री गर्ने कार्यमा समेत संलग्न भएको देखिन आयो ।
५. तसर्थ उपरोक्त उल्लिखित आधार प्रमाण र विवेचना समेतको आधारमा प्रतिवादी बेदबहादुर बोटेलाई गैडा मार्ने कुराको जानकारी हुँदाहुँदै सो कार्यमा संलग्न व्यक्तिहरूलाई आफ्नो घरमा बास बस्न दिई गैडा मार्ने कार्यमा सहयोग गरेको , बमबहादुर प्रजा र विजय लामाले बन जंगलमा गै संरक्षित वन्यजन्तु गैडा मार्ने र खाग विक्री गर्ने कार्य गरेको देखिदा, प्रतिवादी वेदबहादुर बोटेले गैडामार्ने कार्यमा संलग्न भएका व्यक्तिहरूलाई वास वस्न दिई गैडा मार्नलाई सहयोग पुर्याएको हुँदा निजलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ बमोजिमको कसूरमा सोही ऐनको सोही दफाबमोजिम १५ वर्ष कैद र १ लाख जरीवाना तथा प्रतिवादी बमबहादुर प्रजाले गैडा मारेको र निज खाग विक्रीमा समेत संलग्न रहेको देखिदा निजलाई सोही ऐनको दफा ५क र १९(१) को कसूरमा सोही ऐनको दफा २६(१) बमोजिम १५ वर्ष कैद र रु.१ लाख रुपैंया जरीवाना हुने ठहर गरेको शुरुको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०६६।२।३ को फैसला मुनासिब देखिदा सदर हुने ठहर्छ । प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.रणबहादुर बम
इति संवत् २०६७ साल मंसिर ८ गते रोज ४ शुभम्
इजलास अधिकृतः—लीलाराज अधिकारी