शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८५३१ - अंश ।

भाग: ५२ साल: २०६७ महिना: चैत्र अंक: १२

निर्णय नं. ८५३१     ने.का.प.२०६७       अङ्क १२

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की

२०६६ सालको CI११६३

फैसला मितिः २०६७।१०।१२।४

मुद्दा अंश ।

 

पुनरावेदक वादीः अर्घाखाँची जिल्ला सन्धिखर्क गा.वि.स. वडा नं.६ बस्ने पुनकला अधिकारी

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः अर्घाखाँची जिल्ला सन्धिखर्क गा.वि.स. वडा नं. ६ बस्ने धर्मराज अधिकारी

 

 

शुरु अर्घाखाँची जिल्ला अदालतः

मा.जि.न्या. श्री पुरुषोत्तमप्रसाद ढकाल

पुनरावेदन अदालत, बुटवलमा फैसला गर्नेः

मा.न्या.श्री मोहनप्रकाश सिटौला

मा.न्या.श्री बमकुमार श्रेष्ठ

 

§  बण्डापत्रको लिखत स्थापित भएको अवस्थामा त्यसमा लेखिएका सम्पूर्ण व्यहोरा पढेर नै निष्कर्ष निकाल्न पर्ने हुन्छ । वादीले अंश लिएकोमा मञ्जूरी नै व्यक्त गरेको भए पेटबोलीमा लेखिन सक्दथ्यो, पक्ष नै कायम हुन सक्दथ्यो भन्ने तर्कहरूलाई न्यायसंगत मान्न नसकिने ।

§  लेख्ने मस्यौदाकारको सोचाई, ज्ञान र स्थानीय चलनले पनि मस्यौदा गर्नेलाई प्रभाव पारिरहेको   हुन्छ । मूल कुरा व्यहोरा कहाँ के कसरी लेखियो भन्दा पनि त्यो व्यहोराले के अर्थ बोक्दछ भन्ने कुरा नै न्यायकर्ताले ठम्याउन पर्ने कुरा हो । लिखतमा कुनै घोषणा गरिन्छ । त्यसमा पक्षको सही पर्दछ र त्यो कुनै प्रमाणबाट थपिएको, झुक्याइएको, कीर्ते वा जालसाजी भएको प्रमाणित हुन सक्दैन भने प्रमाण ऐन, २०३१ को दफा ३४ को विवन्धनको परिधिमा त्यो कथन पर्दछ । साक्षी लेखिने ठाउँमा लेखियो भन्दैमा त्यो कथन स्वतः निष्क्रिय र निरर्थक हुन नसक्ने ।

(प्रकरण नं.५)

§  आफ्नो तर्फका छोराहरू विरुद्ध विधिवत रुपमा अंशमा दावी लिएको खण्डमा निजका छोराहरू जिम्मा रहेको सम्पत्तिबाट आफ्नो हकको अंश पाउने नै हुँदा गलत व्यक्तिउपर अंशको दावी गरेकोलाई न्यायसंगत मान्न नमिल्ने ।

(प्रकरण नं.६)

पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री श्यामप्रसाद पाण्डे र श्री बामदेव ज्ञवाली

प्रत्यीर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री विष्णुप्रसाद भुसाल

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

प्रमाण ऐन, २०३१ को दफा ३४ र ३५(२)

 

फैसला

न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत बुटवलको मिति २०६५।२।१ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्न निस्सा प्रदान भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :

विपक्ष धर्मराज मेरो विवाहित पति हुनुहुन्छ । विपक्षी पति र मबाट दुई छोरा जन्मेकोमा दुवै छोरा अंश लिई भिन्न भएका छन् । हामी एकासगोलमा म, पति धर्मराज, कान्छी सौता बहिनी र निजतर्फका दुई छोरा गरी जम्मा ५ अंशियार मात्र छौं । विपक्षी पतिले २०६२ साल पुस १७ गते तँ मेरा घरमा बस्न खान पाउँदिनस् भनी कुटपीट गरी मलाई घरबाट निकाला गरेकोले निजबाट अंशबण्डाको २०, २१, २२ र २३ नं. बमोजिम अंशको फाँटवारी लिई बुझ्नु पर्ने साक्षीलगायतका अंशियार समेत बुझी पाँच अंशियारमध्ये मैले पाउने एक भाग अंश मलाई दिलाई भराई फिरादसाथ राखेको कोर्टफी समेत पाऊँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

अर्घाखाँची जिल्ला वाङला गा.वि.स. वडा नं. ७ मा पर्ने कि.नं. ७७, ३४२ गरी २ कित्ता खेत पाखोको क्षेत्रफल २९११३ र ऐ. वडा नं.८ मा पर्ने कि.नं. ३५, ४६९, ४७२ गरी ३ कित्ता खेत पाखोको क्षेत्रफल ५३ समेत जम्मा क्षेत्रफल ३४१४३ का जग्गा सगोलबाट पिताजी नेत्रलालले आफ्नो हक छाडी मलाई हालैको बकसपत्र गरिदिन्छु भनी भनेकाले म सो बखत बिरामी हुँदा मेरै सल्लाहले मैले वादीलाई पठाई पिताजीका नाउँका उक्त जग्गा पूरै वादीका नाउँमा बकसपत्र पारित गराइएको थियो । वादीका नाउँका उक्त जग्गाहरू समेत प्रमाण ऐन, २०३१ को दफा ६(क) बमोजिम सम्पूर्ण अंशियारहरूमा अंश भाग लाग्ने जग्गा हुँदा पिताजीको मृत्युपश्चात् २०५४।१२।२ गते अंशियार वादीतर्फका छोराहरू कृष्ण र ठाकुरले छुट्टी भिन्न हुने मनसाय गरेकाले बण्डापत्र छुट्याउने जग्गा वादीकै अंश मानी वादीकै नाउँमा रहने भन्ने समाजले निर्णय गरेपछि सोबमोजिम अंशबण्डा गर्दा छोरा कृष्णप्रसाद, ठाकुरप्रसाद र कान्छी श्रीमती डिलकुमारीतर्फका छोरा सृजन तथा गौरव र म समेत ५ अंशियारमा अंशबण्डा गरी कान्छी श्रीमतीलाई उनकै छोराले पाल्ने, वादीलाई वादीकै छोराले पाल्ने भनी २०५४।१२।४ गते बण्डापत्र पारित गरियो । सो बण्डापत्र हुँदा अंशियार छोरा ठाकुरप्रसाद, कृष्णप्रसादसँग सगोलमै बसेकाले अंश पनि निजहरूसँगै छ भन्ने जनाई यी वादी बण्डापत्रमा मञ्जूर रही सहिछाप समेत गरेकी हुन् । अतः वादीले पिताजीबाट पाएको बकस पत्र लिखत र वादीका नाउँको जग्गाधनी दर्ता प्रमाणपूर्जा बुझी झूठ्ठा उजूर गर्ने वादीको कोर्टफी जफत गरी एकपटक टुङ्गिएको अंश सम्बन्धमा पुनः उजूर नलाग्ने हुँदा फिराद दावी अ.वं १८० नं. बमोजिम खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

वादीका साक्षी मित्रलाल आचार्य, प्रतिवादीका साक्षी दलबहादुर के.सी., देवीबहादुर खड्का, गुणनिधि भुसाल र नुमानन्द अधिकारी समेतको बकपत्र भई मिसिल संलग्न रहेको ।

ससुरा नेत्रलालले दिदी पुनकलालाई बकस दिएको सम्पत्ति दिदीका शेषपछि ठाकुर र कृष्णले बराबर खाने समझदारी भएकोले वादीको पति धर्मराजसँग अंश माग्ने दावी केही छैन । हाम्रो २०५४।१२।४ गते मालपोत कार्यालय अर्घाखाँचीमा बण्डापत्र पास भएको हो । सो बण्डापत्रमा जेठी पुनकलालाई निजैतर्फका छोरा कृष्ण र ठाकुरले पाल्ने शर्त भएको हो भन्ने समेत व्यहोराको अ.वं. १३९ नं. बुझिएकी दिलकुमारी अधिकारीको बयान ।

बाबु धर्मराज अधिकारी, ठूली आमा पट्टी दुई भाइ छोरा कृष्ण र ठाकुर, मेरी आमातर्फका सृजन म गौरव र दिदी बिन्दु गरी जम्मा आठ अंशियार छौं । अंशियारबीच २०५४ साल चैत्र ४ गते अंशबण्डा हुँदा आमाहरूको सम्पत्ति आआफ्ना छोराहरू जिम्मा रहने गरी बण्डापत्र भएको हो भन्ने समेत व्यहोराको अ.वं.१३९ नं. बमोजिम बुझिएका अंशियार गौरव अधिकारीको बयान कागज ।

बाबु धर्मराज, आमा पुनकला अधिकारी, कान्छी आमा दिलकुमारी, दाजु कृष्णप्रसाद, म ठाकुर र कान्छी आमातर्फका सृजन र गौरव अधिकारीसमेत ७ अंशियार भएकोमा २०५४।१२।४ मा कृष्ण, सृजन, गौरव, धर्मराज र म ठाकुरबीच अंशबण्डा पारित भएको साथै आमा पुनकला अधिकारी र कान्छी आमा दिलकुमारीको अंश बाबु धर्मराज जिम्मा रहेको, हाम्रो बण्डा हुँदा अंश बुझेको भनी आमा साक्षीमात्र बस्नु भएको हो । आमाको अंश हामी छोराहरू जिम्मा रहेको छैन भन्ने समेत व्यहोराको अंशियार ठाकुर अधिकारीले गरेको बयान कागज ।

बाबु र हामी ४ भाइबीच २०५४।१२।४ मा अंशबण्डा भई मेरी आमा पुनकला अधिकारीलाई म र मेरो भाइ ठाकुरले र कान्छी आमालाई भाइहरू सृजन र गौरवले पाल्ने शर्तमा ५ अंश लगाएको हो । आमा पुनकलाले बाबु धर्मराज विरुद्ध किन अंश मुद्दा दिनु भयो थाहा छैन भन्ने समेत व्यहोराको अंशियार कृष्णप्रसाद अधिकारीले गरेको बयान ।

मेरा बाबुका २ वटी आमा, हामी ४ भाइ छोराहरू र एउटी अबिवाहिता बहिनी विन्दु अधिकारी गरी जम्मा आठ अंशियार छौं । जेठी आमाको पालनपोषण दाजुहरू कृष्ण र ठाकुरले गर्ने, मेरी आमालाई म र भाइ गौरव अधिकारीले पालनपोषण गर्ने गरी बाबु र हामी ४ भाइको अंशबण्डा भएको हो भन्ने समेत व्यहोराको सृजन अधिकारीले गरेको बयान ।

मिति २०५४।१२।४ को पारित बण्डापत्रमा अर्घा ७ को कि.नं. ५८५, ५८६, ५९० र ५९६ का जग्गाबाट आधा वादी पुनकलाका छोरा ठाकुर र कृष्णले बरावर खाने, वादीको अंश भाग निजका छोरा ठाकुर र कृष्णकै जिम्मा रही निजहरू सँगै सगोलमै बस्ने भन्ने समेत व्यहोरा उल्लेख भई यी वादी समेतले सहिछाप गरेको देखिन्छ । वादीले बण्डापत्र बारे अनभिज्ञता प्रकट गरे पनि छोराहरूले स्वीकारै गरेको पाइन्छ । बण्डापत्रमा उल्लेख भएअनुसार वादीले ससुराबाट बकसपत्र पाएको मध्ये कि.नं. ३५ को जग्गा जेठाजु नुमानन्द र लोग्ने धर्मराजलाई आधाआधा दिनुपर्ने शर्त उल्लेख भएकोमा त्यसको सट्टा कि.नं. ४७९ र ४७२ को जग्गा वादीले जेठाजुलाई राजीनामा गरिदिएको देखिँदा बण्डापत्रको शर्त वादीले पालना गरिसकेको मान्नुपर्ने अवस्था छ । यसरी बण्डापत्रउपर उजूर नगरी स्वीकारी बसेको हुँदा प्रतिवादीबाट अंश पाऊँ भन्ने वादीको दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको अर्घाखाँची जिल्ला अदालतको मिति २०६४।२।२१ को फैसला ।

म बण्डापत्रमा साक्षी बसेकी छैन र सहिछाप गरेकी पनि छैन । अन्य अंशियारको स्वीकारोक्ति मेरो विरुद्धमा प्रमाण बनाउन मिल्दैन । कि.नं.४७८ र ४७९ को जग्गा जेठाजुलाई राजीनामा गरिदिएकी हुँ । पतिलाई दिएकी छैन । मैले अंश पाएकी छैन । प्रमाणको उचित मूल्याङ्कन नगरी अंश पाउने नैसर्गिक अधिकारबाट समेत बञ्चित गराई गरिएको शुरुको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी फिराद दावीबमोजिम अंश पाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत बुटवलमा परेको पुनरावेदनपत्र ।

यसमा मिति २०५४।१२।४ को बण्डापत्रबाट यी वादीले आफ्नो अंश बुझिलिएको भन्ने नदेखिएको अवस्थामा अंश पाऊँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्‍याएको शुरुको फैसला फरक पर्न सक्ने देखिँदा छलफलका निमित्त अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई उपस्थित भएपछि वा अवधि व्यतीत भएपछि नियमानुसार पेश गर्नु भन्ने मिति २०६४।९।२ को पुनरावेदन अदालत बुटवलको आदेश ।

वादी समेतको उपस्थिति र मञ्जूरीमा उक्त मिति २०५४।१२।४ मा पारित बण्डापत्रमा उल्लिखित शर्तअनुसार वादीले ससुराबाट बकसपत्र पाएको कि.नं.३५ को जग्गा जेठाजु र पतिलाई आधाआधा दिने भन्ने भएकोमा सो कि.नं.३५ को सट्टा बकसपत्र पाएमध्येकै कि.नं. ४७२ समेतको जग्गा जेठाजु नुमानन्दलाई राजीनामा गरिदिएको समेत देखिँदा वादीले बण्डापत्रको शर्त पालना गरिसकेको देखिन आएको अवस्थामा प्रतिवादीबाट वादीले अंश पाउन बाँकी देखिँदैन । अतः अंशमा वादी दावी नपुग्ने ठहर्‍याएको अर्घाखाँची जिल्ला अदालतको फैसला मिलेको हुँदा सदर हुने ठहर गरी भएको पुनरावेदन अदालत बुटवलको मिति २०६५।२।१ को फैसला ।

मिति २०५४।१२।४ मा भएको बण्डामा म वादीलाई कारणी बनाइएको छैन । मेरो अंश भाग छूट्याइएको तथा अंश त्यागेको कहीँ कतै छैन । अंश दिलाइदिनु पर्नेमा अंशबाट बञ्चित गराई भएको फैसला अंशबण्डाको १ र २ नं. को विपरीत छ । अंशियारलाई वादी प्रतिवादी नबनाई पेटबोलीबाट देखिएका अंशियारको पनि अंश छुट्याउन र निज जिम्माको सम्पत्ति बण्डाको सम्पत्ति भए बण्डा गर्न मिल्ने हुन्छ । तसर्थ, एका अंशियारको अंश हक अरु कुनै अंशियारलाई जिम्मा दिएको भए जोजसले जिम्मा लिएको हो त्यसबाट अंशहक दिलाइदिनु पर्नेमा सो नगरी मलाई अंशबाट बञ्चित गरी फैसला भएको छ । मैले ससुराबाट पाएको शेषपछिको बकसपत्रबापतको जग्गा पेवा भएको हुँदा मैले उक्त जग्गा ससुराको मृत्युपश्चात् सद्‌ग, काजकृया गरेबापत जेठाजु नुमानन्दलाई राजीनामा गरिदिएको आधारमा बण्डापत्रको शर्तलाई स्वीकार गरेको मान्न मिल्दैन । अंश पाउन बाँकी देखिँदैन भन्नाको लागि अंश पाइसकेको प्रमाणित गर्न सक्नुपर्छ । सो गर्न नसकेको अवस्था हुँदा विनाआधार शुरु फैसला नै सदर गरेको पुनरावेदन अदालत बुटवलको फैसला अंशबण्डाको १, २ नं., अ.वं. १८४(क), १८५ नं., प्रमाण ऐन, २०३१ को दफा ३, ३४ र ५४ को कानूनी त्रुटि तथा नेकाप २०४५ नि.नं. ३४८० पृष्ठ ५४८ मा प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम मुद्दा दोहोर्‍याई हेरी शुरुको फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको फैसला बदर गरिपाऊँ भन्ने व्यहोराको वादीको तर्फबाट यस अदालतमा परेको निवेदन पत्र ।

यसमा अंशियारले कानूनबमोजिम अंश पाउने कुरामा विवाद नभएको र प्रतिवादी धर्मराज अधिकारीले वादीको अंश २०५४।१२।४ को बण्डापत्रबमोजिम छोराहरू कृष्णप्रसाद अधिकारी तथा ठाकुरप्रसाद अधिकारीको जिम्मामा छ भनी उक्त बण्डापत्रको प्रतिलिपि पेश गरेको देखिन्छ । सोही बण्डापत्रको आधारमा निज छोराहरू कृष्णप्रसाद अधिकारी तथा ठाकुरप्रसाद अधिकारीलाई अ.वं. १३९ नं. बमोजिम बुझी कारणी सरह तारेखमा राखेको समेत देखिएको अवस्थामा निज वादी दावी नपुग्ने ठहर्‍याएको पुनरावेदन अदालत बुटवलको फैसला अंशबण्डाको १ र १०ख नं. तथा अ.वं. १३९ नं. को समेतको व्याख्यात्मक त्रुटि देखिनुका साथै अ.वं. १८४क नं., प्रमाण ऐन, २०३१ को ३ र ५४ समेतको त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ । नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालतको मिति २०६७।२।२८ को आदेश ।

नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फका विद्वान अधिवक्ताद्वय श्री श्यामप्रसाद पाण्डे र श्री वामदेव ज्ञवालीले अंशबण्डाको १ नं. ले अंशियारहरू बीच जिय जियैको अंश गर्नुपर्ने व्यवस्था गरेको हुँदा मेरो पक्षले अंश पाउनुपर्ने नैसर्गिक अधिकार हो । मिति २०५४।१२।४ मा भएको अंशबण्डामा साक्षीसम्म राखेको तर मूल व्यहोरामा मेरो पक्षलाई अंश छुट्याउको छैन । अंशियार हुँदाहुँदै कारणी राख्न किन आपत्ति भएको हो ? प्रष्ट छैन । अ.वं.१३९ नं. बमोजिम बुझिएका छोरा ठाकुर अधिकारीले आमाको अंश हाम्रो जिम्मामा छैन भनी बयान गरेका छन् । पालनतालन गर्दैमा अंशबाट बञ्चित हुनुपर्ने होइन, सो हुँदा मेरो पक्ष वादी पुनकलाले अंश पाउनुपर्ने नै हुन्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

प्रत्यर्थी प्रतिवादी तर्फका विद्वान अधिवक्ता श्री विष्णुप्रसाद भुसालले वादीले फिराद गर्दा अंश भएको कुरा स्वीकार गरिसकेको छ । बण्डापत्रमा मेरो सही होइन भनी मौखिक रुपमा मात्र भनेर नहुने सोको विरुद्धमा कानूनबमोजिम जानु पर्नेमा त्यस्तो गरेको नहुँदा बण्डापत्रमा मेरो सही होइन भन्न मिल्दैन । वादीका छोरा कृष्णप्रसादले आमालाई चित्त बुझाउने दायित्व हाम्रो हो, बाबुलाई किन अंश मुद्दा दिनुभयो थाहा छैन भन्ने बयान समेत गरेको हुँदा वादीले छोराहरू साथै बस्ने गरी बण्डापत्रमा स्वीकार गरी साक्षी समेत बसेको हुँदा वादीले प्रतिवादीबाट अंश पाउने होइन सो हुँदा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको फैसला सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

दुवैतर्फका विद्वान कानून व्यवसायीले प्रस्तुत गर्नुभएको बहस जिकीर सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत बुटवलको फैसला मिलेको छ छैन सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

      २. निर्णयतर्फ विचार गर्दा आफ्नो अंश भाग आफूतर्फका छोरासँग रहेको व्यहोरासहित अन्तर्साक्षी बस्ने वादीले लोग्ने, सौता तथा सौताने छोराहरूबाट अंश पाउनु पर्ने हो होइन भन्ने विषय नै प्रस्तुत मुद्दामा विचारणीय पक्ष रहेको छ । सर्वप्रथम उक्त पारित बण्डापत्रको प्रकृति हेर्दा प्रतिवादी धर्मराजका दुई श्रीमतीमध्ये जेठी वादीतर्फबाट दुई छोरा र कान्छीतर्फबाट पनि दुई छोरा हुँदा छोराहरूलाई सम्पत्ति विभाजन गरी दुवै आमाहरूको भाग आआफ्ना हाँगाका सन्तानमा रहने व्यहोरासहित साक्षी बसेको पाइन्छ । स्वयम् वादीले यस फिरादमा आफूतर्फका छोराले अंश लिइसकेको भन्दै आफू, लोग्ने, सौता र सौताने छोराहरूसँग सगोलमा रहेको जिकीर लिएको पाइन्छ । वादीतर्फका छोराहरूले यही २०५४।१२।४ को र.नं. २२२९ बाहेक अन्य उपायबाट अंश लिएको कतै देखिँदैन । सोही लिखतको पेटबोलीमा एउटा जग्गा जेठाजुलाई यिनै वादीले दिनुपर्ने लेखिएकोमा सो पनि कार्यान्वयन भएको पाइन्छ । यस स्थितिमा सो पारित बण्डापत्रलाई अन्यथा भन्न सकिने अवस्था नै रहेन ।

३. बण्डापत्र यही ढाँचामा लेखिनु पर्छ भन्ने वाध्यता कुनै कानूनले लगाएको छैन । अदालतमा प्रमाणका रुपमा कुनै लिखत प्रस्तुत हुन्छ भने सर्वप्रथम त्यो सद्दे कीर्ते के हो निरोपण गर्न अदालतले आवश्यक देखेमा त्यो परीक्षण गर्नैपर्ने हुन्छ । पक्षले नै चुनौती नदिएको लिखतका हकमा अदालतले आफैँ विवाद सिर्जना गरी हिड्दैन । यसो गर्नु न्यायिक मर्यादाभित्र पनि पर्दैन । त्यसमा पनि कार्यान्वित नै भइसकेको तथा पक्षहरूले आचरणद्वारा स्वीकार गरिसकेको लिखतमा सन्देह गरेर पक्षहरूको व्यवहारलाई भताभुंग पार्ने कार्य पनि अदालतले गर्दैन । प्रस्तुत लिखतलाई वादीकै एक छोराले बण्डा भएको हो, लिखत भएको हो र आमाको चित्त बुझाउने हाम्रो जिम्मेवारी हो भनी अदालतमा बयान गरेको कुराले पनि खास प्रामाणिक महत्व राख्दछ । आमाले पाउने सम्पत्तिमा आघात पुर्‍याउने दुराशयले यी कुरा व्यक्त भएको भए तिनलाई विधिवत चुनौती दिनुपर्छ वा अदालतलाई त्यो प्रतिकूल कथन छोराले व्यक्त गर्नुपर्नाको भरपर्दो आधार प्रमाण वादीले देखाउन सक्नु पर्दछ । तेस्रो पक्षको कथनको कुनै कानूनी महत्व नै नहुने होइन । खासगरी व्यक्तकर्ता वादीकै छोरा हो, सो कथन व्यक्त गर्नुपर्ने कुनै दुरासय छैन र वादीले त्यसलाई चुनौती दिन सकेको पनि छैन भने न्यायिक धारणा बनाउन अदालतले यस्ता कथनलाई सम्बद्ध प्रमाणकै रुपमा ग्रहण गर्नुपर्ने हुन्छ ।

४. सक्कल लिखत द्वन्द्वका कारणले नष्ट भएकोले प्रतिवादीबाटै प्रस्तुत लिखत बिश्वसनीय छैन भन्ने पुनरावेदिका वादीको कथन पनि ग्रहणयोग्य छैन । आन्तरिक द्वन्द्वका कारणले मालपोत कार्यालय जल्दा ती लिखत परेको संलग्न पत्रबाट देखिएको छ । मूलतः सो लिखत कार्यान्वयनमा आएको छ भने अव आएर मालपोत कार्यालयमा पारित लिखतको मूल प्रति छैन भन्दैमा व्यवहार अमान्य हुन सक्दैन । प्रमाण ऐन, २०३१ को दफा ३५(२)(ग) ले प्राथमिक प्रमाण नष्ट भएमा गौण प्रमाणद्वारा सो पुष्टि हुनसक्ने कानूनी प्रवन्ध गरेकै छ । मूल लिखत नष्ट भएकोमा वादीले पनि विवाद उठाउन नसकेको अवस्थामा सो प्राथमिक प्रमाण नष्ट हुनुबाट वादी स्वतः लाभान्वित हुने होइन ।

५. बण्डापत्रको लिखत स्थापित भएको अवस्थामा त्यसमा लेखिएका सम्पूर्ण व्यहोरा पढेर नै निष्कर्ष निकाल्न पर्ने हुन्छ । वादीले अंश लिएकोमा मञ्जूरी नै व्यक्त गरेको भए पेटबोलीमा लेखिन सक्दथ्यो, पक्ष नै कायम हुन सक्दथ्यो भन्ने तर्कहरूलाई न्यायसंगत मान्न सकिन्न । लेख्ने मस्यौदाकारको सोचाई, ज्ञान र स्थानीय चलनले पनि मस्यौदा गर्नेलाई प्रभाव पारिरहेको हुन्छ । मूल कुरा व्यहोरा कहाँ के कसरी लेखियो भन्दा पनि त्यो व्यहोराले के अर्थ बोक्दछ भन्ने कुरा नै न्यायकर्ताले ठम्याउन पर्ने कुरा हो । लिखतमा कुनै घोषणा गरिन्छ । त्यसमा पक्षको सही पर्दछ र त्यो कुनै प्रमाणबाट थपिएको, झुक्याइएको, कीर्ते वा जालसाजी भएको प्रमाणित हुन सक्दैन भने प्रमाण ऐन, २०३१ को दफा ३४ को विवन्धनको परिधिमा त्यो कथन पर्दछ । साक्षी लेखिने ठाउँमा लेखियो भन्दैमा त्यो कथन स्वतः निष्क्रिय र निरर्थक हुन सक्दैन ।

६. वादीले अंश नपाएको भन्ने सन्दर्भमा विचार गर्दा अंशबण्डा लिखतमा अन्तरसाक्षी बसी अंशियार छोरा ठाकुर र कृष्णसँग सगोलमै बस्ने हुँदा मेरो अंशसहित निजहरू जिम्मा नै छ भनी यिनै वादीले सही गरी बण्डापत्रको व्यहोरालाई स्वीकार गरेको अवस्था विद्यमान छ । प्रस्तुत मुद्दामा वादीका छोरा कृष्णप्रसादले जिल्ला अदालतमा गरेको बयानमा आमा पुनकला, म र ठाकुरको अंशबाट पालनपोषण गर्ने भनी बण्डापत्रमा मञ्जूरी जनाई सहिछाप गरेकाले आमाको चित्त बुझाउने दायित्व हामी दुई भाइको हो भन्ने स्वीकार गरेको र मिति २०५४।१२।४ को अंशबण्डाले वादीको अंश निजका दुई भाइ छोराहरू जिम्मा रहेको भन्ने देखिँदा वादीले अंश नपाउने स्थिति छैन । वादीले आफूतर्फका छोराहरू विरुद्ध विधिवत रुपमा अंशमा दावी लिएको खण्डमा निजका छोराहरू जिम्मा रहेको सम्पत्तिबाट आफ्नो हकको अंश पाउने नै हुँदा गलत व्यक्तिउपर अंशको दावी गरेकोलाई न्यायसंगत मान्न मिलेन ।

७. सौता दिलकुमारीले पनि अन्तर साक्षीको रुपमा वादी सरह नै कैफियत व्यहोरा लेखाई सही गरेको अवस्था रहेको र सो व्यहोरालाई पुष्टि हुने गरी प्रस्तुत मुद्दामा जिल्ला अदालतसमक्ष दिलकुमारीले गरेको बयानमा बण्डापत्रमा भएको कैफियत व्यहोरालाई स्वीकारी हामी दुवै सौताको आआफ्ना छोराहरू जिम्मा अंश रहेको हुँदा पतिबाट अंश लिन बाँकी छैन भनेबाट पनि वादीले पतिबाट अंश पाउने भन्न मिलेन ।

८. एउटै बण्डापत्रबाट भिन्न भएका अंशीहरूमध्ये पनि वादीले आफ्ना छोरालाई मात्र २०५४।१२।४ को बण्डापत्रको आधारमा भिन्न भएको मानी सगोलमा रहेको नदेखाई निजहरू सरह नै छुट्टि भिन्न भएको सौता र सौताका दुई भाइ छोराहरूलाई सगोलमा देखाई पाँच अंशी बनाई आफ्ना छोराहरू तर्फको अंश सामेल नगरेको, तर बण्डा भइसकेको पतिबाट अंश दावी गर्नुले पनि वादीको मनसाय कलुषित रहेको देखिन्छ ।

९. अतः माथि विवेचित आधार कारणहरूबाट वादी दावीबमोजिम वादीले अंश पाउन बाँकी नदेखिँदा वादी दावी नपुग्ने ठहर्‍याएको शुरु अर्घाखाँची जिल्ला अदालतको मिति २०६४।२।२१ को फैसलालाई सदर गरेको पुनरावेदन अदालत बुटवलको मिति २०६५।२।१ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.प्रा.डा.भरतबहादुर कार्की

 

इति संवत् २०६७ साल माघ १२ गते रोज ४ शुभम्

इजलास अधिकृत :गेहेन्द्रराज रेग्मी

 

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु