निर्णय नं. ८५११ - निर्णय दर्ता बदर हक कायम

निर्णय नं. ८५११ ने.का.प. २०६७ अङ्क ११
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
माननीय न्यायाधीश श्री भरतराज उप्रेती
संवत् २०६४ सालको दे.पु.नं. ११८५, १२४४ र १२८१
फैसला मितिः २०६७।६।१२।३
मुद्दाः निर्णय दर्ता बदर हक कायम ।
पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २२ बस्ने आयुरत्न सिख्राकार
विरुद्ध
प्रत्यर्थी वादीः ऐ. ऐ. बस्ने छोरी सिख्राकार समेत
पुनरावेदक वादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २२ बस्ने छोरी सिख्राकार समेत
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २२ बस्ने आयुरत्न सिख्राकार समेत र
पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २२ बस्ने दिव्यकुमारी सिख्राकार
विरुद्ध
प्रत्यर्थी वादीः ऐ. ऐ. बस्ने छोरी सिख्राकार समेत
शुरु फैसला गर्नेः
मा.न्या.श्री सुष्मालता माथेमा
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री दुर्गाप्रसाद उप्रेती
मा.न्या. श्री बुद्धिप्रसाद रेग्मी
§ बण्डापत्रको अस्तित्व स्वीकार गरी सोअनुसार आफ्नो अंश भाग लिई खाइसकेपछि सोही बण्डापत्रका अन्य शर्त र व्यवस्थाहरू सबै अंशियारले मान्नु पर्ने हुन्छ र बण्डापत्रका शर्त र व्यवस्थाहरू मान्न त्यसमा हस्ताक्षर गर्ने सबै पक्ष र व्यक्ति विवन्धित हुने भएकाले कसैले त्यसको विपरीत जान नमिल्ने ।
(प्रकरण नं.५)
§ सगोलका अंशियारका नाममा रहेको जग्गा नामसारी र दर्ता गराउँदैमा अन्य अंशियारहरूको हक जान सक्दैन । त्यस्तै एउटाको हकको अंशको जग्गा अर्का अंशियारले नामसारी दर्ता गराएमा त्यो दूषित दर्ता हुन्छ । दूषित दर्ता बदर गराउन हदम्यादको सीमा बाधक बन्न सक्दैन । त्यस्तो दूषित दर्ताले अंशहकको जग्गा दर्ता गर्नबाट रोक्न नसक्ने ।
(प्रकरण नं.६)
§ बण्डापत्रको पक्ष नरहेको व्यक्तिलाई बण्डापत्रको शर्तले विवन्धित गर्न सक्ने अवस्था नदेखिएको र आफ्नो अंश भाग जीउनीको सम्पत्ति कानूनको अधीनमा रही कसैलाई विक्री, दान वा बकस गरिदिन नपाउने भन्न नमिल्ने ।
(प्रकरण नं.७)
प्रत्यर्थी प्रतिवादीका तर्फबाटः विद्वान अधिवक्ता श्री रामचन्द्रप्रसाद वर्णवाल
प्रत्यर्थी वादीका तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल र विद्वान अधिवक्ताहरु श्री बालकृष्ण नेउपाने र श्री तेजबहादुर कटुवाल
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ मुलुकी ऐन लेनदेन व्यवहारको २५ नं.
न्या.ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदक वादी एवं प्रतिवादी दुवैतर्फबाट यस अदालतमा पुनरावेदन पत्र पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर निम्नानुसार रहेको छ :–
पूर्णकाजी सिख्राकार र रत्नमाया सिख्राकारका ३ छोरामा जेठो सुशीलरत्न, महिला विपक्षी आयुरत्न र कान्छो दुर्गारत्न भएकोमा हामीहरूका पति तथा पिता सुशीलरत्न मिति २०३७।१२।१५ मा परलोक हुनु भएको, उहाँका २ श्रीमती हामी फिरादीमध्येका छोरी सिख्राकार र सूर्यलक्ष्मी तथा छोराहरू रमेश, द्रव्यरत्न र बुद्धरत्न छौं । कान्छो दुर्गारत्न, निजको श्रीमती कृष्णदेवी एवं छोरा गायन्द्ररत्न र राजेन्द्र छन् । दुर्गारत्नको मिति २०५०।१।३१ मा परलोक भएकोमा मूल अंशियार पूर्णकाजी, रत्नमाया, सुशीलरत्नको हक खाने श्रीमती र छोरा समेत गरी ५ विपक्षी आयुरत्न र दुर्गारत्नको बीचमा मिति २०४७।३।१४ मा र.नं. ८३४८(ख)बाट अंशबण्डा भएको थियो । अंशबण्डामा बाबु पूर्णकाजी र आमा रत्नमायाको जीउनी अंशभागमा परेको घर जग्गा बाबु आमाको शेषपछि ५ भाग लगाई खान पाउने र केही घर जग्गा एकलौटी खान पाउने गरी अंश भाग गरी लिन दिनमा सबै मञ्जूरी छ भनी बण्डापत्र पारित भएको थियो । बाबु पूर्णकाजी मिति २०४९।७।२५ मा परलोक हुनु भएपछि आमा रत्नमायाको सन्तुष्टिको लागि बाबुको नाममा रहेको घर जग्गाहरू आमा रत्नमायाका नाममा नामसारी गर्न मञ्जूर गरी मिति २०५२।७।१३ मा आमा रत्नमायाका नाममा नामसारी भएको थियो । दाखेल खारेज गरौं भनी विपक्षीलाई भन्दा आलटाल गरी जे गर्छस् गर भनी जवाफ दिएकोले के रहेछ भनी मालपोत कार्यालयमा गई बुझ्दा आमा रत्नमायाको शेषपछिको बकसपत्र लिई एकलौटी नामसारी भएको कुरा ती निर्णयको मिति २०६०।१।१८ मा नक्कल सारी थाहा पाएकोले विभिन्न व्यक्तिले खान पाउने शर्त भएको काठमाडौं जिल्ला धापासी वडा नं.९(ख) कि.नं. ६९, कि.नं. ६५ ऐ. कपन गाउँ विकास समिति वडा नं. १(घ) कि.नं. ९२ र ९३ ऐ. कि.नं. १४७० को जग्गा विपक्षीको नाममा नामसारी गर्ने गरी मिति २०५७।६।१३ मा मालपोत कार्यालय, चावाहिलबाट भएको निर्णय बदर गरी ३ भागको २ भाग हामी फिरादीका नाममा नामसारी गरी दर्ता गरिपाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।
विपक्षी समेतका सबै अंशियारहरू बीच मिति २०४७।३।१४ मा छुट्टिई भिन्न भएपनि बाबुआमाको हेरविचार समेत आयुरत्न सिख्राकारले गर्दै आउनु भए पनि म समेतले सेवा सुसार गर्दै आएकी छु । मैले स्याहार सुसार गरी रिझाएको कारण आमाले मिति २०५३।१।१८ मा मलाई शेष पछिको बकस पत्र लिखत पारित गरी दिँदा काठमाडौं जिल्ला धापासी गाउँ विकास समिति वडा नं. ९(ख) कि.नं. ६५ र ६९ का २ कित्ता जग्गा मध्ये जुनसुकै कित्ताबाट ०–२–० जग्गा म बाचुञ्जेल आफूखुश गर्न पाउने र मेरो शेषपछि तिमी छोरीले खान पाउने भन्ने व्यहोरा उल्लेख गरी आमाले लिखत पारित गरिदिनु भएको हो । आफूमात्र पिताको हकखाने हकदार हुँदा नामसारी गरिपाऊँ भनी कारवाही चलाउँदा विपक्षीहरू समेतले विवादको जग्गाको हक खाने आमा मात्रै हो भन्ने तथ्य स्वीकारी उहाँको नाममा नामसारी गर्न मञ्जूर भई सनाखत समेत गरेकोले मालपोत कार्यालय काठमाडौं चावहिलले गरेको निर्णय कायम राखी हकदैया तथा हदम्याद विहीन फिराद खारेज गरिपाऊँ भन्ने दिव्यकुमारीको प्रतिउत्तर जिकीर ।
आमाको जीवनकालमा सबै व्यहोरा खुलाई मलाई र बहिनी दिव्यकुमारी छुट्टा छुट्टै लिखत गरी माताको नाममा एकलौटी हक कायम दर्ता रहेको धापासी गाउँ विकास समिति वडा नं. ९(ख) कि.नं. ६५ र ६९ का कित्ताबाट दिव्यकुमारीलाई ०–२–० र सोही गाउँ विकास समितिको कि.नं. १४७० समेतका जग्गाहरू शेषपछिको बकसपत्र पारित गरी दिनु भएकोमा आमाको मृत्युपछि मालपोत कार्यालयबाट मेरा नाममा नामसारी गर्ने गरी भएको निर्णय तथा दर्ता यथावत राखिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी आयुरत्नको प्रतिउत्तर ।
वादी प्रतिवादीहरू अंशियार नाताका भई मिति २०४७।३।१४ गते वण्डापत्र पारित भई छुटिृएकोमा विवाद भएन । सो वण्डापत्रबमोजिम विवादित जग्गाहरू मध्ये कि. नं. ६५ को ०–०–२ जग्गा प्रतिवादी मध्येकी दिव्यकुमारीको नाममा संयुक्त रहने गरी आयुरत्न समेतका नाममा र अरु जग्गाहरू प्रतिवादी आयुरत्नले मात्रै नामसारी गराएको देखियो । प्रतिवादी आयुरत्नले दर्ता गाराएको हदसम्मको जग्गाहरूका सम्बन्धमा लगाउको दे.नं. ५३९/५००२ मा विवेचित गरिएबमोजिम निजले मिति २०४७।३।१४ को वण्डापत्रको कारणी समेत रहेको आधारमा सो वण्डापत्र विपरीत एकलौटी नामसारी गराएको ३ खण्डको २ खण्ड बदर भई वादीहरूको नाममा नामसारी हुने ठहर्छ । प्रतिवादी दिव्यकुमारीको नाममा कायम ०–०–२ जग्गाको हकमा मिति २०५३।१।१८ को शेषपछिको बकसपत्रको आधारमा नामसारी गराएकोमा सो बकसपत्र हेर्दा आमा रत्नमायाले आफूलाई हेर विचार गरेबापत छोरीलाई २ आना जग्गा आफ्नो शेषपछि खान पाउने गरी बकसपत्र दिएकोमा बण्डापत्रमा उल्लिखित सम्पत्ति हेर्दा निज दाताले आफ्नो भागबाट त्यति सम्पत्ति छोरीलाई दिएको अन्यथा भन्न सकिने अवस्था देखिएन । निज प्रतिवादी दिव्यकुमारीले आफू वण्डा पत्रको पक्ष पनि नभएको र आमाबाट खुसी भई बकस पाएको देखिँदा सो हदसम्म वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको शुरु काठमाडौं जिल्ला अदालतको फैसला ।
बाबु आमाको अंश हक लाग्ने जति अबण्डा निज बाबु आमाले आफ्नो खुश गर्न पाउने निर्विवाद छ । आमाको अन्तिम कालसम्म मैले नै हेरविचार गरेको र मैले आमाबाट शेषपछिको बकसपत्र पाएको सम्पत्तिमा छुट्टी भिन्न भएका विपक्षीहरूको हकै नलाग्नेमा हक लाग्ने गरी शुरुबाट भएको फैसला कानून एवं नजीर समेतको आधारमा त्रुटिपूर्ण हुँदा बदर गरी मेरो प्रतिउत्तर एवं पुनरावेदन जिकीरबमोजिम न्याय पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी आयुरत्न सिख्राकारले मिति २०६२।१२।३ मा दिएको पुनरावेदन ।
आमाको भाग नै नछुट्टिएको अवस्थाको जग्गा हक छाड्न मिल्दैन । त्यस्तो जग्गाको तर्फ र कित्ता समेत स्पष्ट नहुँदा त्यस्तो कच्चा हक स्रोतको लिखतबाट विपक्षी दिव्यकुमारीको हकै स्थापित नहुनेमा हाम्रो समेत बण्डा हुने अबण्डा जग्गाको सम्बन्धमा वादी दावी नपुग्ने भनी भएको शुरु फैसला कानून र प्रतिपादित नजीर समेतको विपरीत भई बदरभागी छ । हाम्रो फिराद एवं पुनरावेदन जिकीरबमोजिम न्याय पाऊँ भन्ने समेत व्यहोराको वादी छोरी सिख्राकार समेतले मिति २०६३।२।३१ मा दिएको पुनरावेदन ।
यसै लगाउको दे.पु.नं. १५७१ को हक कायम मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भएको हुँदा प्रस्तुत मुद्दामा पनि प्रत्यर्थी झिकाउने भन्ने व्यहोराको मिति २०६३।५।१५ को पुनरावेदन अदालत पाटनको आदेश ।
अबण्डाको रुपमा रहेको पैतृक सम्पत्तिमा सबै अंशियारको अंश हक लाग्ने भन्ने कुरामा विवाद छैन । बाबु पूर्णकाजीको मृत्युपछि प्रतिवादी आयुरत्नलाई एकलौटी खान पाउने गरी आमा रत्नमायाले उल्लिखित सम्पत्तिहरू र.नं. १०११३ मिति २०५३।१।१८ मा शेषपछिको बकसपत्र पारित गरी दिएको अवस्था देखिन्छ । यसरी अबण्डा पूरै सम्पत्ति समान अंशियार मध्येका कुनै अंशियारलाई मात्र एकलौटी खान पाउने गरी शेषपछिको बकसपत्र दिन पाउने भन्नलाई कानूनतः मिल्ने अवस्था देखिदैन । जीवनकालमै शेषपछिको बकसपत्र दिएको हुँदा उक्त अबण्डा सम्पत्तिमा आमा रत्नमाया तथा छोराहरू स्व. सुशीलरत्न, आयुरत्न र दुर्गारत्न गरी चार भाग लाग्नेमा आमा रत्नमायाको एक भाग छोरा आयुरत्नलाई दिएको र निज प्रतिवादी आयुरत्न उक्त अबण्डाका सम्पत्तिको अंशियार समेत हुँदा आमाको एक भाग र निजको एक भाग समेत गरी २ भागसम्म उक्त शेषपछिको बकसपत्र लिखत सदरै कायम रहने र बाँकी २ भाग वादीहरूको अंश भागको हुँदा बदर हुनु पर्ने देखिन्छ । अतः प्रतिवादी आयुरत्न सिख्राकारलाई आमा रत्नमायाले अबण्डा अन्तर्गतका माथि उल्लिखित सम्पत्ति शेषपछिको बकसपत्र दिएको मध्ये ४ भागको २ भाग बदर गर्नु पर्नेमा ३ भागको २ भाग बदर हुने ठहर्याएकोसम्म शुरु काठमाडौं जिल्ला अदालतको मिति २०६२।५।२६ को फैसला केही उल्टी भई ४ भागको २ भाग मात्र बदर हुने ठहर्छ । प्रतिवादी दिव्यकुमारीको हकमा निज मिति २०४७।३।१४ को बण्डापत्रकी पक्ष नभएकी र आमा रत्नमायालाई हेरविचार सेवा टहल गरेबापत आमाबाट प्राप्त गरेको कि.नं. ६५ र ६९ का कित्ता मध्ये जुनसुकै कित्ताबाट भए पनि ०–२–० जग्गा छोरी दिव्यकुमारी सिख्राकारले खान पाउने व्यहोरा उल्लेख गरी आमा रत्नमायाले मिति २०५३।१।१८ मा र.नं. १०११३ बाट शेषपछिको बकसपत्र पारित गरिदिएको देखिन्छ । छोरीलाई शेषपछिको बकसपत्र गरी दिएको कुरामा अन्य अंशियारहरूले कानूनका म्यादभित्रै उजूर समेत गरी बदर गराउन सकेको अवस्था समेत नहुँदा सो दिव्यकुमारीलाई शेषपछिको बकसपत्र लिखत गरिदिएको हदसम्मको लिखत बदर नगर्ने ठहराएको हदसम्म उक्त मिति २०६२।५।२६ को शुरु फैसला मिलेकै हुँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको फैसला ।
मूल अंशियारहरूको पारित बण्डापत्रमा अबण्डा राखिएको जग्गाहरू अंशबण्डाको महलको १ नं., २ नं. र ३५ नं. बमोजिम ५ भागको १ भाग पिता पूर्णकाजी सिख्राकारको अंश हक भाग भएकोमा पिता पूर्णकाजी सिख्राकार परलोक हुनुभएपछि निजको अंश भाग आमा रत्नमाया सिख्राकारको नाउँमा अपुतालीको महलको १ नं. बमोजिम नामसारी भई आफ्नो १ भाग र पतिको नामवाट नामसारी भई आएको १ भाग गरी आमा रत्नमाया सिख्राकारको नाममा ५ भागको २ भागको हक स्वामित्व स्थापित भएको हो । आमा रत्नमाया सिख्राकारले म आयुरत्न सिख्राकारलाई रजिष्ट्रेशन पारित गरी दिनु भएको शेषपछिको बकसपत्र लिखतबाट पिता पूर्णकाजी र आमा रत्नमायाको २ भाग म आयुरत्नको १ भाग गरी विवादित ७ कित्ता घर जग्गामा ५ भागको ३ भाग म आयुरत्न सिख्राकारको निर्विवाद अंश हक हुँदाहुँदै र उक्त सम्पत्तिमा ५ भागको २ भाग मात्र विपक्षीको अंशहक भएको हुँदाहुँदै पनि ४ भागको २ भाग जग्गामा विपक्षी वादीहरूको हक कायम हुने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसलामा न्यायिक मनको प्रयोग नभएको र कानूनी आधारमा मूलभूत प्रमाणहरूको मूल्याङ्कन नभएको हुँदा पुनरावेदन अदालत पाटनको उक्त फैसलालाई सोहदसम्म उल्टाई बदर गरी मेरो प्रतिउत्तर एवं पुनरावेदन जिकीरबमोजिम न्याय इन्साफ गरिपाऊँ भन्ने समेत व्यहोराको पुनरावेदक प्रतिवादी आयुरत्न सिख्राकारले यस अदालतमा दायर गरेको पुनरावेदन पत्र ।
मूल ५ अंशियार बीच मिति २०४७।३।१४ मा अंशबण्डा भएको थियो । अंशबण्डा हुँदा बाबु पूर्णकाजी र आमा रत्नमायाको जीउनी र अबण्डा अंश भागमा परेको घर जग्गा बाबु आमाको शेषपछि ३ भाग लगाई खान पाउने समेतमा सबै अंशियारको मञ्जूरी भई बण्डापत्र पारित भएको थियो । बाबु पूर्णकाजीको मिति २०४९।७।२५ र आमा रत्नमायाको मिति २०५७।१।२३ मा स्वर्गे भयो । मिति २०४७।३।१४ को बण्डापत्र लिखत र त्यसको शर्त बन्देजमा कुनै विवाद छैन । सो बण्डापत्र अंशियार र हकवाला समेत ९ जनाको सही छाप भई पारित भएकोले सो निष्क्रिय हुन सक्ने अवस्था छैन । पुनरावेदन अदालतले न्यायिक मनको प्रयोग नगरी उक्त निर्विवाद बण्डापत्रविपरीत हुने गरी फैसला गरेकोले सो फैसला मिलेको छैन । पुनरावेदन अदालतको फैसला कायम राख्ने हो भने अंशबण्डाको महलको १, २ र ३५ नं. समेत समाप्त हुन्छ । विपक्षीले आमालाई झुक्याई लिखत गरेका हुन, आमाले सो कुरा इन्कार गर्ने मौका नै पाउनु भएन । मिति २०५३।१।१८ मा पारित भएको शेषपछिको बकसपत्रको लिखत आमाको जीवनकाल भरी गुपचुप राखी आमाको जीवनकालपछि हाम्रो समेत हक लाग्ने सम्पत्ति विपक्षीले सो लिखतको आधारमा आफ्नो नाममा नामसारी गरी बण्डापत्रविपरीत लिन खान पाउने नहुँदा पुनरावेदन अदालत पाटनको फैसला बदर गरी फिराद दावीबमोजिम भएको काठमाडौं जिल्ला अदालतको फैसला कायम राखिपाऊँ भन्ने समेत व्यहोराको छोरी सिख्राकार समेतका पुनरावेदक वादीले यस अदालतमा दायर गरेको पुनरावेदन पत्र ।
आमा रत्नमायालाई सेवा टहल गरेबापत आमाबाट म दिव्यकुमारीले धापासी गाउँ विकास समिति वडा नं. ९(क) कि.नं. ६५ र ६९ का कित्तामध्ये जुनसुकै कित्ताबाट भएपनि ०–२–० जग्गा खान पाउने गरी आमा रत्नमायाले मिति २०५३।१।१८ मा र.नं. १०११३ बाट शेषपछिको बकसपत्र पारित गरी दिएको लिखतलाई बदर गरिपाऊँ भन्ने वादीहरूको दावी छैन । विपक्षीले दावी नै नलिएको विषयलाई फैसलामा लेख्नै नपर्नेमा दिव्यकुमारीलाई शेषपछिको बकसपत्र लिखत गरी दिएको हदसम्म लिखत बदर नगर्ने भन्ने गलत कुरा उल्लेख गरी भएको फैसलामा न्यायिक मनको प्रयोग भएको छैन । म दिव्यकुमारी सिख्राकारको नाममा दा.खा. गर्ने गरी मालपोत कार्यालय काठमाडौंबाट भएको निर्णय र सो निर्णयको आधारमा मेरो नाममा दर्ता भएको उक्त ०–२–० जग्गाको दा.खा. निर्णय दर्ता बदर नहुने भनी फैसलामा लेख्नु पर्नेमा सो नलेखेको, लिखत बदर नहुने भन्ने फैसलामा लेखिएको बोली हदसम्म पुनरावेदन अदालत पाटनको फैसला बदरभागी भएको हुँदा सो फैसलालाई उल्टाई बदर गरी मेरो प्रतिउत्तर एवं पुनरावेदन जिकीरबमोजिम काठमाडौं जिल्ला अदालतबाट भएको फैसलालाई सदर कायम गरिपाऊँ भन्ने समेत व्यहोराको दिव्यकुमारी सिख्राकारको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
यसमा आयुरत्न सिख्राकार समेतका अंशियारहरू बीच मिति २०४७।३।१४ मा भएको पारित बण्डापत्रमा बाबु आमाको हकमा, हामी बाबु आमाको शेषपछि अबण्डामा रहेको तपसीलमा लेखिएको जग्गा ३ भाग लगाई खान पाउने भन्ने व्यहोरा लेखी बाबु पूर्णकाजी सिख्राकार र आमा रत्नमाया सिख्राकारको नाममा जीउनी अंश भाग समेत राखी अंशबण्डाको लिखत भएको पाइन्छ । सो लिखतको शर्तमा बाबुआमाको जीवनकालमा उनीहरूको विरोध नभएको अवस्थामा बाबु आमाको शेषपछि बण्डापत्र यथाअवस्थामा नै कार्यान्वयन भई सो बण्डापत्रमा उल्लिखित सम्पत्ति बण्डापत्र मै लेखिएबमोजिम भागबण्डा लगाउनु पर्ने हुन्छ । तर बाबुको मृत्युपछि बण्डापत्रमा उल्लिखित सम्पत्ति सबैको मञ्जूरीले आमा रत्नमायाको नाममा नामसारी भई निजले माइलो छोरा आयुरत्न सिख्राकारलाई शेषपछिको बकसपत्र गरिदिएको र सो शेषपछिको बकसपत्रको आधार देखाई बण्डापत्रअनुसार सबै अंशियारले पाउनु पर्नेमा बाबु र आमा रत्नमाया समेतको भागको सम्पत्ति आयुरत्नले मात्र पाउने ठहर्याएको पुनरावेदन अदालत, पाटनको इन्साफ फरक पर्नसक्ने भएकोले छलफलको लागि विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालतको मिति २०६५।५।१५ को आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको वादी एवं प्रतिवादीहरूका तर्फबाट दोहोरो पुनरावेदन परेको प्रस्तुत मुद्दामा पुनरावेदक वादीहरूका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल र विद्वान अधिवक्ताहरू श्री बालकृष्ण न्यौपाने र श्री तेजबहादुर कटुवालले बहस गर्नु भयो । पुनरावेदक प्रतिवादी आयुरत्न सिख्राकारको तर्फबाट विद्वान अधिवक्ता रामचन्द्रप्रसाद बर्नवालले बहस गर्नुभयो ।
वादी पुनरावेदकहरूको तर्फबाट बहस प्रारम्भ गर्दै विद्वान वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेलले २०४७ सालको अंशबण्डापत्र सबै अंशियारबीचको बण्डा पत्र हो । सो बण्डामा रत्नमाया तथा पूर्णकाजीको जीउनीको रुपमा राखिएको जग्गा पूर्णकाजीको मरणोपरान्त रत्नमायाको नाममा नामसारी भएको छ । बाबु आमाको हकको सम्पत्तिमा निजका सन्तान सबैको समान हक लाग्ने हुन्छ । प्रतिवादी आयुरत्नले आमाबाट मिति २०५३।१।१८ मा पाएको लिखत कुनै खास जग्गाको लागि नभई अष्टलोह भन्ने हो । त्यस कारण त्यसबाट समेत सबै अंशियारले बराबर अंश भाग पाउनु पर्छ भन्ने समेत बहस गर्नु भयो । २०४७ सालको विस्तृत बण्डापत्रमा सबैको भाग उल्लेख गरिएको छ । बाबु आमाको शेषपछि बाँकी रहेका तीन अंशियारबीच बण्डा लाग्नु पर्नेमा परलोक भइसकेकी आमाको पनि अंश भाग लगाएको फैसला अंशबण्डासम्बन्धी कानूनी व्यवस्थाको विपरीत छ । कित्ता किटेर रत्नमायाले आयुरत्नलाई बकसपत्र नदिएको र अंशियारभित्रै सो सम्पत्ति रहेकोले सो बकसपत्र बदरतर्फ नालेस गरी रहनु पर्दैन । २०४७ सालको बण्डापत्र सबै अंशियारले पाउनु पर्ने र पूर्णकाजीको नाममा अबण्डा रहेको जग्गामा पनि सबै अंशियारले बराबर अंश भाग पाउनेमा सो अबण्डा जग्गाबाट पनि परलोक भइसकेकी आमाको समेत अंश भाग कायम गर्ने गरी पुनरावेदन अदालतले गरेको फैसला मिलेको छैन भन्ने समेत बहस गर्नु भयो ।
यस्तै पुनरावेदक वादी तर्फका विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपाने र तेजबहादुर कटुवालले पारित बण्डापत्रअनुसार अबण्डा राखिएको जग्गामा ३ भागको १ भाग मात्र प्रतिवादी आयुरत्नको हक हुनेमा सबै आफैले नामसारी गराएकोले कानूनी मान्यता पाउने अवस्था छैन । विपक्षी आफैँले बाबु आमाको शेषपछि अबण्डामा रहेको सम्पत्ति भागबण्डा गर्ने भनी व्यहोरा उल्लेख भएको पारित बण्डापत्र कायमै रहेको अवस्था निजले सो बण्डापत्रको शर्तविपरीत सोही सम्पत्ति सम्बन्धमा अन्यथा गर्ने गरेको शेषपछिको बकसपत्रको लिखत र सो लिखतको आधारमा अबण्डामा रहेको सम्पत्ति समेत आफ्नो नाममा नामसारी गर्ने कार्य उक्त बण्डापत्र एवं अंशबण्डाको महलमा भएका कानूनी व्यवस्था समेत विपरीत छ । बण्डापत्रबमोजिम जिल्ला अदालतले ३ भागको २ भाग वादीको हुने ठहर गरेकोमा सो फैसलालाई सदर गर्नुपर्नेमा पुनरावेदन अदालत पाटनले पारित बण्डापत्रविपरीत ४ भागको २ भाग मात्र वादीको ठहर गरेकोले सो फैसलालाई उल्टी गरी शुरु जिल्ला अदालतले गरेको फैसलालाई सदर कायम गरिपाऊँ भन्ने समेत बहस जिकीर प्रस्तुत गर्नु भयो ।
पुनरावेदक प्रतिवादी आयुरत्न सिख्राकारको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रामचन्द्रप्रसाद वर्णवालले प्रस्तुत विवादमा मूल अंशियारहरू ५ भएको र निजहरूको बीचमा मिति २०४७।३।१४ मा अंशबण्डा भई सो अंशबण्डाको लिखत पारित भएकोमा विवाद छैन । बाबु र आमा २ अंशियार र छोराहरू ३ अंशियारबीच भएको उक्त पारित अंशबण्डाबाट यी सबै अंशियार छुट्टिई भिन्न भएपछि बाबुको मृत्युपछि सबैको सहमतिले निजको अंशभाग आमाको नाममा नामसारी गराएको हो । आफूलाई स्याहार सेवा टहल गरेको आधारमा आमाले आफ्नो नामको सम्पत्ति आफ्नो छोरा यी प्रतिवादी आयुरत्नलाई लेखिदिएको शेषपछिको बकसपत्रको आधारमा निजले आमाको परलोकपछि आफ्नो नाममा नामसारी गराएको हो । छुट्टी भिन्न भई आ–आफ्नो अंशभाग लिइसकेपछि पुनः अंश भागको दावी गर्न मिल्दैन । विपक्षीहरूले आमाले प्रतिवादी आयुरत्नलाई दिएको मिति २०५३।१।१८ को शेषपछिको बकसपत्रलाई बदर गराउन जानु भएको छैन । उक्त बकसपत्रको लिखत कायम रहेसम्म निजले सो लिखतमार्फत् पाएको सम्पत्तिलाई अन्यथा गर्न भन्न सकिने अवस्था हुँदैन । सो लिखतको सम्पत्तिलाई अवण्डा मानेकोमा पनि अबण्डामा रहेको सम्पत्तिमध्ये बाबुको नामबाट आमाको नाममा नामसारी भएको १ भाग, आमाको १ भाग र यी प्रतिवादी आफू १ अंशियार भएकाले १ भाग गरी अबण्डा सम्पत्तिको ५ भागको ३ भाग यी प्रतिवादीले पाउनुपर्नेमा शुरु जिल्ला अदालतले ३ भागको १ भाग कायम गरेको र पुनरावेदन अदालतले ४ मागको २ भाग मात्र कायम गरेको अवस्था हुँदा उक्त फैसला मिलेको छैन । यी पुनरावेदक प्रतिवादीको नाममा ५ भागको ३ भाग कायम हुनुपर्छ भन्ने समेत बहस जिकीर प्रस्तुत गर्नुभयो ।
प्रस्तुत मुद्दामा वादी एवं प्रतिवादीका तर्फबाट पर्न आएका पुनरावेदन पत्रसहितका मिसिल संलग्न कागजातको अध्ययन गरी पक्ष विपक्षका तर्फबाट विद्वान कानून व्यवसायीहरूले प्रस्तुत गर्नु भएको बहस जिकीर समेत सुनी विचार गर्दा पुनरावेदन अदालत पाटनबाट मिति २०६३।१०।२१ मा भएको फैसला मिलेको छ, छैन र पुनरावेदकहरूको पुनरावेदन जिकीर पुग्न सक्ने हो, होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा यी वादी प्रतिवादीहरू एकै परिवारका अंशियार नाता भित्रका भएको र निजहरूको बीचमा मिति २०४७।३।१४ मा अंशबण्डा भई सो अंशबण्डाको लिखत पारित समेत भएको तथ्यमा विवाद देखिँदैन । उक्त मितिमा अंशबण्डा हुँदा तत्काल कायम रहेका ५ अंशियारमा बाबु पूर्णकाजी, आमा रत्नमाया, छोराहरू वादीका पति पिता स्वं सुशीलरत्न, आयुरत्न र दुर्गारत्न भएको देखिन्छ । निजहरूको बीचमा उल्लिखित मितिमा सो वण्डापत्र हुनुका अतिरिक्त छोरी सिख्राकार र सूर्यलक्ष्मी सिख्राकार र निजहरूका छोराहरू समेतको नाम उल्लेख भएपनि तिनीहरूले पूर्णकाजीका छोरा सुशीलरत्नको भागबाटै पाउने हुनाले मुख्य अंशियार बाहेकका व्यक्तिहरूको पनि अंश भाग लगाइएको कारण सो बण्डापत्रको वैधानिकतामा कमी आउन सक्दैन । उक्त मितिको वण्डपत्र वैध र त्यसमा सहीछाप गर्ने सबैका लागि मान्य छ ।
३. उक्त पारित बण्डापत्रमा बाबुआमाको अंश भाग जीउनीको रुपमा रहेको घर जग्गा अबण्डामा राखी शेषपछि छोराहरूले तीन भाग गरी खान पाउने भनी शर्त उल्लेख भएको देखिन्छ । यसको अतिरिक्त आयुरत्न सिख्राकार, दुर्गारत्न सिख्राकार तथा सुशील रत्नका छोराहरूको अंश भाग छुट्याइएको समेत देखिन्छ । यसको अतिरिक्त आयुरत्न सिख्राकार, दुर्गारत्न सिख्राकार तथा सुशील रत्न्नका छोरीहरूको अंश भागमा भनी अलग अलग सबैको अंश भाग उल्लेख भएको छ । यसका अलावा बाबु पूर्णकाजीकै नाममा विभिन्न सात कित्ता जग्गाहरू अबण्डा रहने भन्ने पनि सो बण्डापत्रमा उल्लेख गरिएको छ । साथै उक्त बण्डापत्रको पेट व्यहोरामा नै कुन अंशियारको भागमा घरको कुन भाग परेको, कसको निकास, मोहडा कहाँबाट कतातिर पर्ने हो । सो सबै विस्तृत व्यहोरा स्पष्टसँग उल्लेख भएको पाइन्छ । मिति २०६१।९।२१ मा भई आएको नक्सा मुचुल्काबाट पनि सोही कुराको पुष्टि हुन्छ ।
४. यसरी मिति २०४७।३।१४ मा रजिष्ट्रेशन पारित भएको अंशबण्डापत्रको लिखत भएको र सो पारित बण्डापत्रमा सबै अंशियारहरूको दस्तखत भएको तथ्यमा समेत विवाद देखिँदैन । यसबाट उल्लिखित बण्डापत्रको आधारमा सबै अंशियारले आफ्नो अंशभाग पाउने तथा अबण्डा राखिएको सम्पत्तिको सम्बन्धमा सोही बण्डापत्रमा उल्लेख भएको शर्तबमोजिम हुने देखिन आउँछ । अंशियारमध्येका बाबु पूर्णकाजीको मिति २०४९।७।२५ मा मृत्यु भएपछि निजको नाममा रहेको सम्पत्ति सबै अंशियारको मञ्जूरीबाट नै आमा रत्नमायाको नाममा नामसारी भएको देखिन्छ । बाबुको नाममा रहेको जीउनी तथा अबण्डामा रहेको सम्पत्ति आमाको नाममा नामसारी भएपछि आमाले मिति २०५३।१।१८ मा छोरी दिव्यकुमारीलाई धापासी गाउँ विकास समिति वडा नं. ९(क) को कि.नं. ६५ को कित्तामध्येबाट ०–२–० जग्गा शेषपछिको बकसपत्र लेखिदिएकोलाई बण्डापत्रअनुरूप नै मान्नुपर्ने हुन आउँछ । तर प्रतिवादी आयुरत्नलाई सोही मितिमा अबण्डामा रहेका अन्य अष्टलौह सम्पत्ति समेत शेषपछिको बकसपत्रको लिखत गरिदिएको देखिन्छ, जुन अंशबण्डाको शर्त र व्यवस्थाअनुरूप देखिदैन । आमा रत्नमायाको मिति २०५७।१।२९ मा मृत्यु भएपछि छोरी दिव्यकुमारी र आयुरत्नले उल्लिखित शेषपछिको बकसपत्रको लिखतको आधारमा आफ्नो–आफ्नो नाममा नामसारी गराएको देखिन्छ ।
५. अबण्डामा राखिएको सम्पत्ति र बाबु आमाको जीउनी भनी राखिएको सम्पत्तिबाट निजहरूको शेषपछि ३ भाई छोराहरूले भाग गरी लिन पाउने बण्डापत्रमा शर्त उल्लेख गरिएको हुनाले उक्त सम्पत्ति विपक्षी प्रतिवादी आयुरत्न एक्लैले शेषपछिको बकसपत्रको लिखतको आधारमा नामसारी गराई लिई एक्लैले भोग गर्न पाउने होइन । बण्डापत्रको अस्तित्व स्वीकार गरी सोअनुसार आफ्नो अंश भाग लिई खाइसकेपछि सोही बण्डापत्रका अन्य शर्त र व्यवस्थाहरू सबै अंशियारले मान्नु पर्ने हुन्छ र बण्डापत्रका शर्त र व्यवस्थाहरू मान्न त्यसमा हस्ताक्षर गर्ने सबै पक्ष र व्यक्ति विवन्धित छन् । कसैले त्यसको विपरीत जान मिल्दैन । आमा बाबुको जीउनी निजहरूको शेषपछि तीन छोराहरूले बाँडी लिने खान पाउने भन्ने कुरा बण्डापत्रमा उल्लेख भएकोले कुनै अंशियारले एकलौटी खान पाउदैन । अर्कोतर्फ पूर्णकाजीका नाममा रहेको अबण्डा सम्पत्तिमा निज र निजको श्रीमतीको शेषपछि तीन छोराहरूको बराबर अंश भाग लाग्नेमा कुनै द्विविधा रहनु हुँदैन । त्यसकारण ३ भागको १ भागसम्म प्रतिवादी आयुरत्नको अंश हक भएकोमा सबै सम्पत्ति आमाको नामबाट नामसारी गराएकै आधारमा प्रतिवादी आयुरत्न एक्लैले खान पाउने भन्न मिल्दैन । आमाको नामबाट नामसारी गराए पनि अंशियारकै नाममा रहेको हुनाले रत्नमायाले गरिदिएको बकपत्र बदर गराउन वा नामसारी बदर गराउन नालेस दिई रहनु नपर्ने र नालेस नदिए कै कारण बाबु आमाको जीउनी र अबण्डा राखिएको सम्पत्तिमा यी वादीहरूको अंश हक समाप्त हुने वा प्रतिवादी आयुरत्नको एकलौटी हक सिर्जना हुन सक्दैन । उक्त जग्गाहरूमा यी वादीहरूको बराबर अंश हक लाग्ने देखिन्छ ।
६. अब प्रतिवादी आयुरत्न सिख्राकारको नाममा मालपोत कार्यालयबाट मिति २०५७।६।१३ मा भएको नामसारी निर्णयको सम्बन्धमा विचार गर्दा नामसारी गरिएका कित्ता नम्बरका जग्गाहरूमा तीन भागको दुई भागमा यी वादीहरूको हक कायम हुने र वादीहरूका नाममा दर्ता समेत हुने भनी माथिका प्रकरणहरूमा उल्लेख गरिसकिएको छ । नामसारी र दर्ता गराउँदैमा अन्य अंशियारहरूको हक जान सक्दैन । त्यस्तै एउटाको हकको अंशको जग्गा अर्का अंशियारले नामसारी दर्ता गराएमा त्यो दूषित दर्ता हुन्छ । दूषित दर्ता बदर गराउन हदम्यादको सीमा बाधक बन्न सक्दैन । त्यस्तो दूषित दर्ताले वादीहरूको नाममा निजहरूको अंशहकको जग्गा दर्ता गर्नबाट रोक्न सक्दैन । विवादित मिति २०५७।।६।१३ को नामसारी दर्ता पूरै प्रतिवादी आयुरत्नका नाममा कायम रहन नसक्ने हुनाले उक्त मितिको नामसारी दर्तामध्ये वादीहरूको हकसम्म तीन भागको दुई भाग बदर हुने देखिन्छ ।
७. अब आमा रत्नमायाले छोरी दिव्यकुमारीलाई मिति २०५३।१।१८ मा गरिदिएको शेषपछिको बकसपत्रको आधारमा निजले मिति २०५७।६।१३ मा मालपोत कार्यालयबाट आफ्नो नाममा नामसारी गराएको ०–२–० जग्गाको सम्बन्धमा विचार गर्दा मिति २०४७।३।१४ मा भएको अंशबण्डाको लिखतमा पक्षको रुपमा नरहेकी छोरी दिव्यकुमारीलाई आमाले आफ्नो सम्पत्तिबाट शेषपछिको बकसपत्र लेखिदिएको देखिन्छ । सो बण्डापत्रको पक्ष नरहेको व्यक्तिलाई बण्डापत्रको शर्तले विवन्धित गर्न सक्ने अवस्था नदेखिएको र आफ्नो अंश भाग जीउनीको सम्पत्ति कानूनको अधीनमा रही रत्नमाया सिख्राकारले कसैलाई विक्री, दान वा बकस गरिदिन नपाउने भन्न मिल्दैन । त्यस्तो बन्देज बण्डापत्रले लगाएको छैन र लगाउन पाउने पनि होइन । त्यसकारण वादीहरूले प्रतिवादी दिव्यकुमारीलाई रत्नमायाले लेखिदिएको मिति २०५३।१।१८ को शेषपछिको बकसपत्रको लिखतलाई मौकामा उजूर गरी बदर गराउन समेत सकेको अवस्था नहुँदा दिव्यकुमारीले उक्त लिखतको आधारमा आफ्नो नाममा गराएको उक्त जग्गाको नामसारी दर्तालाई अन्यथा भन्न सक्ने अवस्था देखिन आएन ।
८. तसर्थ, उल्लिखित विवेचित आधार प्रमाणबाट वादीहरूले मिति २०४७।३।१४ मा पारित बण्डापत्र अनुसार जीउनी र अबण्डा सम्पत्तिको ३ भागको २ भाग पाउने देखिएको र प्रतिवादी दिव्यकुमारीले मिति २०५३।१।१८ को शेषपछिको बकसपत्रको आधारमा आफ्नो नाममा नामसारी गराएको ०–२–० बदर गर्नुपर्ने अवस्था नदेखिएको भनी काठमाडौं जिल्ला अदालतले मिति २०६२।५।२६ मा गरेको फैसला सदर गर्नुपर्नेमा सो फैसला केही उल्टी गरी रत्नमायाले आयुरत्न सिख्राकारलाई दिएको शेषपछिको बकसपत्रको आधारमा नामसारी र दर्ता भएको सम्पत्तिको ४ भागको २ भाग मात्र बदर हुने ठहराएको मिति २०६३।१०।२१ को पुनरावेदन अदालत पाटनको फैसला नमिलेकाले सो हदसम्म केही उल्टी भई शुरु काठमाडौं जिल्ला अदालतको मिति २०६२।५।२६ को फैसला सदर भई प्रतिवादी आयुरत्नको नामको दर्ता तीन भागको दुई भाग बदर भई सो दुई भागमध्ये एक भाग सुशीलरत्नको हकदार र एक भाग दुर्गारत्नका हकदार वादी कृष्णदेवीको हुने गरी तीन भागबाट दुई भागमा वादीहरूको हक कायम र वादीहरूको नाममा दर्ता समेत हुने ठहर्छ । पुनरावेदक प्रतिवादी आयुरत्न सिख्राकारको पुनरावेदन जिकीर र दिव्यकुमारीको हकमा वादीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन । साथै रत्नमायाले दिव्यकुमारीलाई गरी दिएको कि.नं. ६५ को ज.रो. ०–२–० को बकसपत्र पुनरावेदन अदालतले बदर नगरेकोले निज दिव्यकुमारी सिख्राकारको पुनरावेदनको औचित्य नहुँदा निजको पुनरावेदन जिकीर पुग्न सक्दैन । अरुमा तपसीलबमोजिम गर्नू ।
तपसील
माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत पाटनको मिति २०६३।१०।२१ को फैसला केही उल्टी भई मिति २०४७।३।१४ को बण्डापत्रमा पूर्णकाजी सिख्राकार र रत्नमाया सिख्राकारको जीउनी अंश भाग भनी काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २२ को कि.नं. १६४५, कि.नं. ८०५, ऐ. चुनिखेल ९ख को कि.नं. १०२ र कि.नं. १०३ र पूर्णकाजीका नाममा अवण्डा भनी उल्लेख भएको काठमाडौं जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं. २२ को कि.नं. १३३८ ऐ. धापासी वडा नं.९(ख) कि.नं. ६९, कि.नं. ६५ ऐ., कपन गाउँ विकास समिति वडा नं. १(घ) कि.नं. ९२, ९३ र कि.नं. ९१, ऐ. पालिफल वडा नं. ९ को कि.नं. ६७ उल्लेख भएकोमा वादीले फिराद पत्रमा दावी लिएको मालपोत कार्यालयको मिति २०५७।६।१३ को निर्णयले प्रतिवादी आयुरत्न सिख्राकारका नाममा नामसारी भएको काठमाडौं जिल्ला धापासी वडा नं.९(ख) कि.नं. ६९, कि.नं. ६५ ऐ. कपन गाउँ विकास समिति वडा नं. १(घ) कि.नं. ९२, ९३ र कि.नं. ९१ बाट कित्ताकाट भई हाल कायम भएको कि.नं. १४७० का जग्गाहरूको प्रतिवादी आयुरत्न सिख्राकारको नामको नामसारी दर्ताहरू तीन खण्डको दुई खण्ड बदर भई वादीहरूका नाममा दर्ता समेत हुने ठहरेकाले सोही बमोजिम स्रेस्ता कायम गर्न सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाउनु र पुनरावेदन अदालत पाटनको फैसलाले कायम गरेको लगत कटृा गर्नु भनी शुरु काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनू –––– १
माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी दिव्यकुमारी सिख्राकारलाई रत्नमायाले मिति २०५३।१।१८ मा दिएको कि. नं. ६५ को जग्गामध्ये रोपनी ०–२–० को बकसपत्र र सो अनुसार दिव्यकुमारी सिख्राकारका नाममा भएको नामसारी दर्ता समेत बदर नहुने ठहरेकाले सो सम्बन्धमा केही गरी रहनु परेन ––––––– २
वादीहरूले फिराद दर्ता गर्दा शुरुमा राखेको कोर्ट फी रु.४,२००।– प्रतिवादीबाट भराई पाउने भएको र प्रतिवादीले पुनरावेदन अदालत पाटनमा पुनरावेदन गर्दा र.नं. २९८, मिति २०६२।१२।३ बाट सो रकमको आधा रु.२,१००।– धरौटी राखेको देखिँदा उक्त रकम भराई पाऊँ भनी ऐनका म्यादभित्र वादीको निवेदन परे उक्त रकम वादीलाई भराई दिनु भनी पुनरावेदन अदालत पाटनमा लेखी पठाउनू ––––––– ३
वादीले यस अदालतमा पुनरावेदन गर्दा र.नं. ३६४२८, मिति २०६४।३।२१ बाट राखेको कोर्ट फी रु.६३०।– र शुरमा कोर्ट फी राखेको मध्ये आधा रकम रु.२,१००।– प्रतिवादीले पुनरावेदन अदालतमा पुनरावेदन गर्दा धरौट राखेको रकमबाट असूल गरी बाँकी रहेको रु.२,१००।– समेत गरी जम्मा रु.२,७३०।– प्रतिवादीबाट भराई पाउने भएकोले सो रकम प्रतिवादीबाट भराई पाऊँ भनी ऐनका म्याद भित्र वादीको निवेदन परे सो रकम वादीलाई प्रतिवादीबाट भराई दिनु भनी शुरु काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनू –––––––– ४
वादीले यस अदालतमा पुनरावेदन गर्दा र.नं. ७२७, मिति २०६४।३।२१ बाट राखेको धरौटी रु.१५७।५० फिर्ता पाउने भएकोले सो रकम फिर्ता पाऊँ भनी ऐनका म्याद भित्र वादीको निवेदन परे सो रकम वादीलाई फिर्ता दिनु भनी यस अदालतको लेखा शाखामा लेखी पठाउनु––––––– ५
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ––––––– ६
उक्त रायमा सहमत छु ।
न्या.भरतराज उप्रेती
इति संवत् २०६७ साल असोज १२ गते रोज ३ शुभम्
इजलास अधिकृत : श्री प्रकाश उप्रेती