निर्णय नं. ६८५० - विष खूवाई कर्तव्य ज्यान

निर्णय नं. ६८५० ने.का.प.२०५७ अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल
सम्वत् २०५४ सालको फौ.पू.नं. .. १५८०
सम्वत २०५६ सालको फौ.सा.नं. ..३२३
फैसला मिति : २०५६।११।१६।२
मुद्दाः विष खूवाई कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादीः ग.अ. तनहुँ जि. भिरकोट गा.वि. स. वडा न. १ घर भै हाल कास्की कारागार शाखामा थुनामा रहेकी वर्ष २३ कि मिठु भन्ने देवीमाया रानाभाट ।
विरुद्ध
विपक्षी/वादीः डोलराज रानाभाटको जाहेरीले श्री ५ को सरकार
वादीः डोलराज रानाभाटको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादीः देवीमाया रानाभाट
§ सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतलाई अवलम्वन नगरी अ.वं. १८८ नं समेतको प्रयोग नगरी भएको पुनरावेदन अदालतको फैसला वदर गरी सूधारात्मक दण्ड प्रकृयाको आधारमा अ.वं. १८८ नं. वमोजिम सजाय कमी गरी पाउँ भन्ने मिठु भन्ने देवीमायाको मुख्य पुनरावेदन जिकिर भएको प्रस्तुत मुद्दामा प्रमाण ऐन, २०३१ को दफा २७(१) मा प्रचलित नेपाल कानून वमोजिम सजायमा कमी वा छुट हुने वा रिहाई पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्याउने भार निजको हुने भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा उक्त कानूनी व्यवस्था वमोजिम सजाय कम हुनुपर्ने भनी जिकिर लिएता पनि त्यसरी सजायमा कमी हुनुपर्ने कुराको प्रतिवादीले कुनै मनासिव आधार प्रमाण देखाउन सकेको पाइदैन । यी पूनरावेदीका प्रतिवादी मिठु भन्ने देवीमायाले अदालतमा गरेको वयानमा समेत मृतकलाई खानामा मुसा मार्ने विषालु औषधी हाली खान दिएको कारणबाट मृत्यु भएको भन्ने कुरामा साविती वयान गरेकी र त्यसरी प्रतिवादीले मानिस मर्न सक्छ भनी जानी जानी खानामा मुसा मार्ने विषालु औषधी हाली खान दिएको कारणबाट मृतकको मृत्यु भएको, त्यस्तो अपराधिक कृया गरेको कारणबाट घट्न गएको प्रस्तुत घटनामा सजाय कम हुनु पर्ने भन्ने पुनरावेदिकाको जिकिर मनासिव देखिएन । यस स्थितिमा यी प्रतिवादी पूनरावेदिकालाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(२) नं. वमोजिम सर्वश्वसहित जन्म कैद हुने ठहराई गरेको शुरु सदर गरेको पुनरावेदन अदालत पोखराको फैसला मिलेकै देखिदा मनासिव ठहर्ने ।
(प्र.नं. २५)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री श्रीकान्त वराल
विपक्षी वादी तर्फबाटः x
अवलम्वित नजिरः x
फैसला
न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः पुनरावेदन अदालत पोखराको फैसला उपर यस अदालत समक्ष पर्न आएको पुनरावेदन सहितको मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः
२. मिति २०५२ पूष २१ गते डोलनाथ रानाभाट ढूंङ्गाडे भन्ने ठाउँमा विवाह नांचगान हेरी वेलूकी घर फर्कि खाना खाई सूतेको रहेछ । २२ गते अवेरसम्म निज डोलनाथ नउठेकाले आमा पदमा छोराको घरतर्फ जांदा घर वाहिर छांदै छाद भएको त्यहिनेर कुखुरा मरी रहेको र डोलनाथ आफ्नै घरको विस्तारामा छांदै छाद भई मृत अवस्थामा देखी हल्ला हुँदा निजको श्रीमती मिठुराना भाट घरमा नदेखिएको हुँदा निज मिठुले नै खानामा विषाद प्रयोग गरी मारे मराएकोमा विश्वास लागेकोले कानून वमोजिम गरी पाउँ भन्ने अपराधको सूचना ।
३. ढूंगा माटोले वनेको ढूंगाको छानो भएको घर घरको ढोका अगाडि छांदको दाग देखिएको आंगन वरपर ११ वटा कुखुरा मरेको र घरको भित्र दूई थाम मध्ये नजिक उत्तरतर्फ गून्द्री विछ्याएको गून्द्री माथि सिरक ओडी मृत अवस्थामा डोलनाथको लास रहेको सो नजिक भूईमा साग भात मिसिएको छांद रहेको मृतकको मुखबाट रगत निस्किएको वांया कोखामा कालो देखिएको लिगंबाट विर्य निस्किएको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति र मृत लास प्रकृति मुचुल्का ।
४. भिषेरा रिपोर्ट प्राप्त भएपछि मृतकको मृत्युको कारण खुलाउन सक्ने भन्ने समेत व्यहोराको पोष्टमार्टम राय ।
५. पहिलो, दोस्रो, तेस्रो विवाह गर्दा पनि लोग्नेहरुबाट मेरो सन्तान नभएकाले माइतमा बसेकी थिएं । मिति २०५२।९।१४ गते सूमित्रा विश्वकर्माले डोलनाथ रानाभाटसँग लगाई दिएकीले निजसँग पोइल गएं । निजको श्रीमती मरेको र छोरा र छोरी भएको कुरा पछि थाहा भयो । छोरा छोरी भएको मानिससँग परिएछ भनेर मन विग्रीन थाल्यो निज डोलनाथ रानाभाटले मलाई छोरा छोरीलाई खान दिएन । केहि ढंग नभएको भनी गाली गरी रहने र निज परिवार नियोजन गरी बसेको हुँदा वालवच्चा पनि नहुने भएकोले जिन्दगी वरवाद भएकाले सूमित्रालाई पनि लोग्नेले कवोल गरेको रु.५००। दिई नसकेकाले निज समेत डोलनाथ राना भाटसँग रिसाएकी थिइन । सूमित्राले विष हालेर डोलनाथलाई मारी दे भनी २०५२।९।१९ गते भनेकीले मुसा मार्न भनी मुसाको विष खरिद गरी ल्याई २०५२।९।२१ गते राती भातसँग पकाई झोलवाला सागमा विष हाली दिई रक्सीले मातिएका लोग्ने डोलनाथलाई भात र साग खान दिए । त्यसपछि छटपटाउन थाल्यो र म भागी गएं । भोलिपल्ट निजको मृत्यु भैसकेको थाहा भयो । मैले नै विष हाली खाना खान दिई डोलनाथ रानाभाटलाई मारेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी मिठु भन्ने देवीमाया रानाभाटले प्रहरीमा गरेको वयान ।
६. डोलनाथ रानाभाटसँग मिठुलाई लगाई दिए वापत मलाई दिनु पर्ने रुपैया दिइ सकेको थिएन । निजको स्वास्नी मिठुले खानामा विषादी राखी खान दिएकोले डोलनाथ रानाभाटको मृत्यु भएछ । निजको मृत्यु सम्वन्धमा मेरो कुनै संलग्नता छैन भन्ने समेत व्यहोराको प्रतिवादी कोप्रि भन्ने सूमित्रा वि.क. ले प्रहरी समक्ष गरेको वयान कागज ।
७. सूमित्रा वि.क. ले डोलनाथ रानाभाटसँग विवाह गराई दिएकी र विवाह गराई दिएकोमा मलाई रु.५००। चाहिन्छ भनी भेनकीले रु.२००। दिई रु.३००। वाँकी नै थियो । बांकि रुपैया दिएन । विषालु औषधी राखी खान दिनु भनी भनेकीले मुसाको विष ल्याई खान दिएको भनी देवी माया रानाभाटले गाउँलेको सामून्ने भनेकीले निजहरुकै मिलेमतोबाट डोलनाथ रानाभाटको मृत्यु भएको हो भन्ने समेत व्यहोराको सूर्यबहादुर रानाभाट कृष्णबहादुर रानाभाट, भिमबहादुर रानाभाट भक्त बहादुर रानाभाट, रामनाथ काफ्ले समेतको पृथक पृथक व्यहोराको कागज ।
८. मिति २०५२।९।२१ गतेका दिन घर मै वसिरहेकी वूहारी देवीमाया भोलिपल्ट विहान घरमा देखिन । सूमित्रा विश्वकर्माको मिलेमतोबाट वूहारी देवीमायाले विषादी प्रयोग गरी डोलनाथ रानाभाटलाई कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको मृतककी आमा पदमा रानाभाटले प्रहरीमा गरेको कागज ।
९. मिति २०५२।९।२२ गते जोती रहेको थिएं । त्यहाँ सदस्य डोलराज आई मिठुलाई देख्नू भयो । मिठुको मित आमा चिरन थापाको श्रीमती चौपारीमा दाउरा खोज्न आउनु भएको थियो । मिठु विरामी छु भनी आएकी थिई । लिमास्वारा तर्फ गएकी छु भनेकाले लिमास्वाराकरुमाक्कीकोमा जांदा गोठमा वसेकी छे भनेकाले जांदा गोठमा लूकिछिपी वसेकी रहिछ । त्यहाँ पूग्दा लोग्ने मारेर आएकी भनी कृष्णले भनेकाले रुन कराउन लागि भन्ने समेत व्यहोराको डम्वर बहादुर सूगरी मगरले प्रहरीमा गरेको कागज ।
१०. मिति २०५२।९।२१ गते सांझ हामीलाई सानी आमा मिठुले खाना खान दिइनन् । वूवाले पछि खाना खानूभयो । वूवा विरामी हुँदा सुति सकेको थिए । पछि सानीमा मिठुले हजूरआमासँग सूत्न जा भनी भनेकीले सूत्न गएं । वूवा पेट पोल्यो भनी छटपटाई रहेका थिए । २०५२।९।२२ गते वूवा मृतक अवस्थामा देखेको हुँ भन्ने समेत व्यहोराको मृतकको छोरा लिल बहादुर रानाभाटले गरेको कागज ।
११. मिति २०५२।९।२२ गते विहानी पख मिठु मेरो घरमा विरामी छु भन्दै आएकी थिइ र उपचार गराउन माक्कीम थापा मगरकोमा गई पछि लोग्नेलाई विषालु औषधी खूवाई मारेकाले समातेर लगे भन्ने सूनेकी हुँ भन्ने समेत व्यहोराको कूलमाया माक्कीम मगरले प्रहरीमा गरेको कागज ।
१२. मेरो दोकानमा दैनिक उपभोगका सामान लगायत मुसा मार्ने औषधी पनि विक्रि गर्न राखेको छु । २०५२।९।२१ गते दिउँसो मिठु मेरो दोकानमा आई मुसाले धान खायो । मुसाको औषधी दिनुहोस भनी भनेकाले रु.५। लिई एक पूडिया मुसाको औषधी दिएकी थिए । सो मुसा मार्ने औषधी (विष) मिठुले लोग्ने डोलनाथलाई खुवाएर मारेको भन्ने हल्ला भएकोले डोलनाथको मृत्यु भएको थाहा भयो भन्ने समेत व्यहोराको रुक्मणी रानाभाटले प्रहरीमा गरेको कागज ।
१३. प्रतिवादी देवीमाया रानाभाटले डोलनाथ रानाभाटलाई प्र. सूमित्रा वि.क. ले विष खुलाउन लगाएकिले मुसा मार्ने विष सागमा मिसाई खान दिई डोलनाथ रानाभाटको ज्यान मरेको स्पष्ट देखिँदा अभियुक्त देवीमाया रानाभाटलाई मू.ऐन ज्यान सम्वन्धीको महलको १ नं. र १३(२) नं. मा वर्णित भएको कसुर अपराधमा सोही ज्यान सम्वन्धी महलको १३(२) वमोजिम सर्वश्व सहित जन्मकैद र प्रतिवादी सूमित्रा वि.क.लाई ज्यान सम्वन्धी महलको १ नं. र १३(२) नं. मा वर्णित कसुर अपराधमा सोही ज्यान सम्वन्धी महलको १३(२) वमोजिम जन्म कैदको सजाय गरी पाउँ भन्ने समेत व्यहोराको अभियोग पत्र माग दावी ।
१४. म हाल पांचौ लोग्ने मृत्यु हुने डोलनाथ रानाभाटसँग पोइल गएकी हुँ । यस भन्दा अगाडिका लोग्ने छोडी २, ३ वर्ष अगाडि देखि आफ्नै माइतमा वसेकी थिए । मृतक डोलनाथ रानाभाट पेन्सीने लाहुरे हो भनी सूमित्रा वि.क. ले लगाई दिएकी हुन । डोलनाथसँग पोइल लगाई दिए वापत सूमित्राले रु.२००। मात्र पाएकी र ३००। दिन बांकि थियो । मृतक डोलनाथले बांकि रुपैया पनि नदिएको र रक्सि पनि नखूवाएकोले मैले भनेको रुपैया पुरै नदिए अर्को ठांउमा पोइल लगाई दिन्छु भनी भनेकी थिइन । मलाई पोइल लगाई दिंदा लाहुर जान पाइन्छ भनी झूक्याई पोइल लगाई दिएको र घरमा जांदा २ छोरी १ छोरा भएको र मलाई लगेपछि सधै गाली गरी रहन्थे । उक्त २१ गते विहान विवाहमा डोलनाथले रक्सी दाल भात खाएर वेलुका घरमा आएको थियो । मैले उक्त २१ गते दिउँसो १२ वजे तिर विहान घर नजिकको साप्रे भन्ने मान्छेको दोकानबाट रु.५। को मुसाको विष किनेर ल्याई सोही दिन वेलुका ७ वजे तिर केटा केटीलाई खाना खूवाई गरी आफ्नो हजुरआमाको घरमा सूत्न गएको थिएं । त्यसपछि डोलनाथ आए । मैले सागको तरकारी वनाएकि थिएं । खाना पाकि वरी सागको तरकारीमा विष हाली खान दिएं । खाना खाएको १, २ घण्टा जति म आमा छोरा छोरीसँग गफ गर्दै थिएं । सोही दिन निजको वहिनीको छोरा विरामी भएकोले लामा कहाँ लिएर दाजु वहिनी गए । फर्कि आएपछि वान्ता भयो पानी खान दिएपछि केही आराम भयो । केहिवेर पछि पेट पोल्यो भनी छटपटाउन थाल्यो र आमा वहिनीले दहि झिकेर खान दिए । फेरी शान्त भयो फेरी पेट पोल्यो भन्यो त्यसपछि वान्ता गर्यो । पानी माग्यो पानी खान दिएं पटक पटक शान्त हुने छटपटाउने गर्यो त्यसवेला विहानको कुखुरा वासी सकेको थियो । मलाई त्यस्तो अवस्था देखेपछि डर लाग्यो र कसैलाई पनि नउठाई नवोलाई मित वावु लुरे मगर कहां वसिरहेको अवस्था २०५२।९।२२ गते नन्दे भाई सूर्य रानाभाट लिन गई म मेरो घरमा आएं । घरमा आई हेर्दा डोलनाथ रानाभाट आफनो ओछ्यानमा मरी रहेको अवस्था थियो । मृतकले छांदेको छांद खाई ५ वटा कुखुरा पनि मरेका थिए । निजका पहिलो श्रीमती तिर छोरा तथा छोरी भएका र निजले परिवार नियोजन गरी सकेको हुँदा मेरो मन उराठ भई मन थाम्न नसकी यसै उसै मारी दिन्छु भनी डोलनाथ रानाभाटलाई विष हाली मारी दिएकी हु । सूमित्रा वि.क.ले विष हालेर मारी दे भनी सल्लाह दिएकी होइन भन्ने समेत व्यहोराको मिठु भन्ने देवीमाया रानाभाटले शुरु अदालतमा गरेको वयान ।
१५. मिति २०५१ साल पौष १६ गते विहान ८ वजेतिर देवीमाया र डोलनाथ भै डोलनाथ रानाभाटको घरमा गएका हुन । देवीमाया रानाभाटलाई डोलनाथ रानाभाटले स्वास्नी वनाउन लैजाँदा डोलनाथले दिदी म तिमीलाई रु.५००। दिउँला है भनेका थिए तर मलाई केटी लांदाकै दिनमा रु.१००। दिएका थिए । मैलै स्वास्नी मिलाई दिए वापत रु.५००। दिनुपर्छ भनी भनेको थिइन । मैले मृतकसँग रुपैया पनि नमागेको र रुपैया दिएन भनी मृतकलाई मार्नुपर्छ भनी देवीमाया रानाभाटसँग सर सल्लाह भएको समेत होइन र मेरो सहमतीबाट मृतक डोलनाथलाई मारेको समेत होइन । डोलनाथ रानाभाटलाई देवीमाया रानाभाटले विष खुवाई मारेको भनी भनेकी छन् । निजले होला भन्ने समेत व्यहोराको सूमित्रा वि.क. ले शुरु अदालतमा गरेको वयान ।
१६. जाहेरवाला डोलनाथ रानाभाट तथा प्रहरीमा कागज गर्ने भक्तबहादुर रानाभाट, सूर्यबहादुर रानाभाट, रामनाथ काफ्लेको बकपत्र मिसिल सामेल रहेछ ।
१७. प्र. देवीमाया रानाभाटले मू. ऐन ज्यान सम्वन्धी महलको १ नं. मा वर्णित कसुर गरेको सिद्ध हुन आएकोले निजलाई ज्यान सम्वन्धीको १३(२) अनुसार सर्वश्बसीहत जन्मकैदको सजाय हुने ठहर्छ । प्र. सूमित्रा वि.क. अदालतमा इन्कार रहेकी सूमित्रा वि.क. को कुनै पनि कसुर प्रमाणित गर्ने प्रमाण वादी पक्षबाट पेश गर्न सकेको नदेखिँदा निज सूमित्रा वि.क. ले वादी अभियोग दावीबाट सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु तनहुँ जिल्ला अदालतको फैसला ।
१८. देवी मायाको मौकाको पोल वयान र बुझिएका सूर्य बहादुर रानाभाटको बकपत्र समेतका भनाइ प्रमाण ऐन, २०३१ को दफा १८ समेत प्रमाण ग्राह्य देखिँदा देखिंदै कसुर प्रमाणित गर्ने प्रमाण वादी पक्षबाट पेश गर्न सकेको नेखिंएको भन्दै सूमित्रा वि.क.लाई सफाइ दिने गरेको हदसम्मको शुरुको फैसला वदर गरी निज सूमित्रा वि.क. लाई अभियोग पत्र मागदावि वमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदन पत्र ।
१९. सर्वोच्च अदालतबाट प्रतिपादित प्रशस्त कानूनी सिद्धान्तलाई अवलम्वन गरी तनहुँ जिल्ला अदालतबाट अ.व. १८८ नं. को प्रयोग नगरी भएको फैसला वदर गरी अ.वं. १८८ नं. वमोजिम न्युनतम सजाय गर्ने गरी राय प्रस्तुत गरी पाउँ भन्ने समेत व्यहोराको मिठु भन्ने देवीमाया रानाभाटको पुनरावेदन पत्र ।
२०. प्र.सूमित्रा वि.क. र प्र. देवीमाया रानाभाटको हकमा शुरु तनहुँ जिल्ला अदालतले गरेको फैसला मिलेकै देखिँदा मनासिव ठहर्छ । श्री ५ को सरकारको तर्फको र प्र. देवीमाया रानाभाट समेतको पुनरावेदन जिकिर पूग्न सक्दैन । प्र. देवीमाया रानाभाटको हकमा प्रस्तुत मुद्दा न्याय प्रशासन ऐन, २०४८ को दफा १० वमोजिम साधक सदरको लागी श्री सर्वोच्च अदालतमा पठाई दिनु भन्ने समेतको पुनरावेदन अदालत पोखराको मिति २०५३।९।१७।४ को फैसला ।
२१. हामी जस्ता सिधा साधा व्यक्तिबाट भएका घटनाक्रममा उदारतापूर्वक विचार गरी म २३ वर्षिय एक अवला महिलाको घटनाक्रम मृतक र सूमित्राले ढांट छल गरी मलाई षडयन्त्रमा फसाई गराएको विवाहको कारण म एकाएक आवेशमा आई प्रस्तुत घटना घटेको कारण अ.वं. १८८ नं. लगाई प्रयोग गरी साह्रै न्युनतम सजाय गरी पाउँ भन्ने पुनरावेदक प्रतिवादी देवीमाया रानाभाटको यस अदालत समक्ष पर्न आएको पुनरावेदन ।
२२. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट नियुक्त कानून व्यवसायी विद्वान अधिवक्ता श्री श्रीकान्त वरालले मेरो पक्ष प्रतिवादीलाई दिएको सजायमा दण्डको सूधारात्मक सिद्धान्त समेतको आधारमा अ.व. १८८ नं. प्रयोग गरी सजायमा कमि हुनु पर्दछ भनी वहस प्रस्तुत गर्नुभयो ।
२३. विद्वान अधिवक्ताको वहस सुन्नुको साथै इजलास समक्ष प्राप्त हुन आएको सम्पूर्ण मिसिल कागजात समेत अध्ययन गरी पुनरावेदन जिकिर पुग्ने नपुग्ने के हो र पुनरावेदन अदालतले गरेको निर्णय इन्साफ मिले नमिलेको के हो भनी निर्णयतर्फ विचार गरी हेर्दा यसमा प्र. देवी माया रानाभाटले डोलनाथ रानाभाटलाई प्र. सूमित्रा विश्वकर्मांको सिकायतबाट मुसा मार्ने विष सागमा मिसाई खान दिई डोलनाथ रानाभाटको ज्यान मारेको स्पष्ट देखिँदा अभियुक्त देवीमाया रानाभाटलाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(२) नं. वमोजिम सर्वश्वसहित जन्मकैद र प्र. सूमित्रा विश्वकर्मालाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(२) नं. वमोजिम जन्मकैदको सजायको माग दावी लिई चलेको प्रस्तुत मुद्दाको कारवाही किनारा हुँदै जांदा प्रतिवादी मिठु भन्ने देवीमाया रानाभाटलाई ज्यान सम्वन्धी महलको १३(२) नं. अनुसार सर्वश्वसहित जन्मकैद हुने ठहर हुनुको साथै प्रतिवादी मध्येकी कोप्रि भन्ने सूमित्रा विश्वकर्माले अभियोग माग दावीबाट सफाइ पाउने ठहराई भएको शुरु तनहुँ जिल्ला अदालतको मिति २०५२।११।२० गते भएको ठहर फैसला उपर श्री ५ को सरकार तथा यी प्रतिवादी देवीमाया रानाभाट समेतको पुनरावेदन पर्दा शुरु जिल्ला अदालतको निर्णयलाई नै सदर कायम गरी पुनरावेदन अदालत पोखराबाट मिति २०५३।९।१७।४ मा ठहर फैसला भए उपर चित्त नवुझी यी पुनरावेदक प्रतिवादी देवीमाया रानाभाटको यस अदालत समक्ष प्रस्तुत पुनरावेदन पर्न आएको देखियो ।
२४. यसमा कसुरदार ठहर भएकी प्रतिवादी मिठु भन्ने देवीमायाको पुनरावेदन परी आएको देखिँदा निजको हकमा पुनरावेदन रोहबाटै विचार हुने हुँदा प्रस्तुत मुद्दाको साधकको लगत काटिदिनु ।
२५. सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतलाई अवलम्वन नगरी अ.वं. १८८ नं समेतको प्रयोग नगरी भएको पुनरावेदन अदालतको फैसला वदर गरी सूधारात्मक दण्ड प्रकृयाको आधारमा अ.वं. १८८ नं. वमोजिम सजाय कमी गरी पाउँ भन्ने मिठु भन्ने देवीमायाको मुख्य पुनरावेदन जिकिर भएको प्रस्तुत मुद्दामा प्रमाण ऐन, २०३१ को दफा २७(१) मा प्रचलित नेपाल कानून वमोजिम सजायमा कमी वा छुट हुने वा रिहाई पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्याउने भार निजको हुने भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा उक्त कानूनी व्यवस्था वमोजिम सजाय कम हुनुपर्ने भनी जिकिर लिएता पनि त्यसरी सजायमा कमी हुनुपर्ने कुराको प्रतिवादीले कुनै मनासिव आधार प्रमाण देखाउन सकेको पाइदैन । यी पुनरावेदीका प्रतिवादी मिठु भन्ने देवीमायाले अदालतमा गरेको वयानमा समेत मृतकलाई खानामा मुसा मार्ने विषालु औषधी हाली खान दिएको कारणबाट मृत्यु भएको भन्ने कुरामा साविती वयान गरेकी र त्यसरी प्रतिवादीले मानिस मर्न सक्छ भनी जानी जानी खानामा मुसा मार्ने विषालु औषधी हाली खान दिएको कारणबाट मृतकको मृत्यु भएको, त्यस्तो अपराधिक कृया गरेको कारणबाट घट्न गएको प्रस्तुत घटनामा सजाय कम हुनु पर्ने भन्ने पुनरावेदिकाको जिकिर मनासिव देखिएन । यस स्थितिमा यी प्रतिवादी पूनरावेदिकालाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(२) नं. वमोजिम सर्वश्वसहित जन्म कैद हुने ठहराई गरेको शुरु सदर गरेको पुनरावेदन अदालत पोखराको फैसला मिलेकै देखिदा मनासिव ठहर्छ । पुनरावेदिकाको पुनरावेदन जिकिर पूग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.दिलीपकुमार पौडेल
इति सम्वत २०५६ साल फाल्गुण १६ गते रोज २ शुभम ... ।