निर्णय नं. ३४४६ - क.ख. समेत

निर्णय नं. ३४४६ ने.का.प. २०४५ अङ्क ५
पूर्ण इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४२ सालको दे.पु.ई.नंवर ६६
फैसला भएको मिति : २०४४।९।९।५ मा
निवेदिका/प्रतिवादी : गणक राजकुमारी मरी मु.स.गर्ने चन्द्रजङ्ग शाह समेत मरी मु.स.गर्ने फणिन्द्रकुमारी थापा
पेटबोलीको/प्रतिवादी : धादिङ्ग कल्लेरी गा.पं.वा.नं.८ बस्ने टंकनाथ आचार्य
विरुद्ध
विपक्षी/वादी : धादिङ्ग खाल्टे गा.पं.वा.नं.३ बस्ने रामप्रसाद शर्मा
मुद्दा : क.ख. समेत
(१) एउटै लालमोहर भित्रको कुनै जग्गा (ख) श्रेणीको र कुनै जग्गा (क) श्रेणीको देखिन ठहर्न आउने अवस्था नदेखिने ।
(प्रकरण नं. २५)
(२) विवादीत जग्गामा मालपोतसम्म उठाई खाएको हो भनी प्रमाणित गराउनु पर्ने भार प्रमाण ऐन, २०३१ को दफा २६ बमोजिम वादीमा रहने ।
(प्रकरण नं. २५)
(३) अ.बं.७८ नं.बमोजिम बयान हुँदा रसीदको विषयमा कुरा बाझिएको देखिँदा वादीको राजीनामा सद्दे साँचो व्यवहारबाट भएको भनी मान्न नमिल्ने ।
(प्रकरण नं. २६)
निवेदक, प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल तथा विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी एवं विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी
विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ एवं विद्वान अधिवक्ता श्री लवदेव भट्ट
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोला : सर्वोच्च अदालत डिभिजन बेञ्चका निर्णयउपर निवेदिकाको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्ति–पत्र पर्दा व्यहोरा साँचो भए बिन्ति–पत्रमा लेखिएको सर्वोच्च अदालतबाट निर्णय भएको क.ख. समेत दुबै मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहोर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बकस भई आएको हुकुम प्रमाङ्गी बमोजिम यस इजलासको लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. मिति १९९७।६।११।५ मा विपक्षीका नाममा भएको दाइजो विर्ताको लालमोहरको ४ किल्लाभित्रको पूर्व खोल्सी, पश्चिम हरिप्रसाद, पशुपतिप्रसादको खेत, उत्तर मूल बाटो र माझकोट आँपको रुख, टाँकीको रुख गैरीको कुलो, दक्षिण माहिला पण्डित पूर्णप्रसादको खेत यो ४ किल्लाभित्रको गैरी भन्ने खेत माटो मुरी ४६ को कूत धान मुरी रु.१९।४ लागेको जग्गा १६,०००।– मा धा.जि.कल्लेरी आमडाँडा बस्ने मेघप्रसाद आचार्यबाट मिति २०२२।९।२१।४ मा घरसारमा र २०२२।११।२४।२ मा पास राजीनामा गरी मैले लिई आज तक भोग गरी आएको आखिर विर्ता उन्मूलन ऐन, २०१६ बमोजिम उक्त जग्गा रैकरमा परिणत विर्तावालले नै क.ख. छुट्याई दिनुपर्ने, विपक्षीले धादिङ्ग मालमा रैकरमा परिणत गर्दा मोहियानी मेरो नाममा र क. श्रेणीमा परिणत गर्नुपर्नेमा सो नगरी टङ्कनाथ आचार्यलाई मोहियानी गराई ख. श्रेणीमा परिणत गराई सकेछन् सो कुरा मलाई थाहा थिएन । आखिर उक्त ४ किल्लाभित्रको जग्गा समेत कसैको केही पर्ने भए आजका ७ दिनभित्र उजूर गर्न आउनु भनी धादिङ्ग मालबाट मिति २०२४।६।२०।६ मा कल्लेरी गाउँ मौजामा टाँस भएको रहेछ । सो फेला परेपछि मात्र क. श्रेणीको जग्गा ख. श्रेणीबाट मोही टङ्कनाथ आचार्य देखाई झुठ्ठा विवरण दाखिल गरेछन् भन्ने थाहा भएकोले गुज्रेको म्याद थामी फिराद गरेको छु । ख. श्रेणीमा कुनै हालतमा पनि परिणत हुन नसक्ने कुरालाई ख. श्रेणीमा परिणत गराएको विपक्षीको विवरण बदर वातिल गरी क. श्रेणीबाट परिणत गराई मोहियानी समेत मेरै नाममा कायम गराई पाउँ भन्ने समेत फिरादपत्र दावी ।
३. मिति १९९७।६।११।५ को मेरा नामको दाइजा विर्ताको लालमोहर अनुसार मैले मोही टंकनाथ आचार्र्यलाई जग्गा कमाउन दिई साल सालै आयस्ता खाई आएको र विर्ता उन्मूलन ऐन, अनुसार रैकरमा परिणत गर्दा ख. श्रेणीमा मोही टंकनाथको नाममा मोही कायम गरी रैकर परिणत गरेको हो । वादी दावी बमोजिम वादीलाई मोही कायम गरी क. श्रेणीमा परिणत गरिदिनु पर्ने होइन भन्ने समेत प्रतिउत्तर–पत्र ।
४. व्यहोरा साँचो भए मालबाट त्यस अदालतमा सरी आएको मिसिलबाटै राजीनामा जालसाजीतर्फ ऐन बमोजिम कारवाही गर्नु भन्ने समेत धादिङ्ग जिल्ला अदालतका नाममा हुकुम प्रमांगी बक्स भएको ।
५. मिति २०२२।११।२४।२ मा पास भएको रु.१६,०००।– को राजीनामा लिखत रसीद समेत जालसाजी कीर्ते हो भन्ने समेत प्रतिवादी वा. गोविन्दप्रसाद र अन्तरसाक्षी मेघनाथको बयान ।
६. लिखित राजीनामा रसीद सद्द साँचो हो कीर्ते होइन भन्ने समेत रामप्रसाद शर्मा, मेघनाथ, जयनारायण र लिखत साक्षी विष्णुप्रासदको बयान ।
७. ऋणदाता मेघप्रसादले जालसाजी गरेको र रसीद जालसाजी गरेकोले राजीनामा बदर हुने र वादीको उक्त जग्गामा हकै पुगेको नदेखिनाले उक्त दावी बमोजिम क.ख. मा निर्णय दिन नपर्ने ठहर्छ भन्ने समेत धादिङ जिल्ला अदालतको मिति २०३१।२।६ को फैसला ।
८. उक्त फैसलामा चित्त नबुझी वादी प्रतिवादी दुबैको पुनरावेदन परेकोमा क. विर्ता हो वा ख. विर्ता हो भन्ने प्रश्न उठेमा ऐन बमोजिम न्यायिक निर्णय दिने र सो अनुसार श्रेणी कायम हुने हुँदा मालले कारवाही गरी नसकेको भनी खारेज गरेको मिलेन कानुन बमोजिम फैसला गर्नु भनी मिसिल धादिङ जिल्ला अदालतमा पठाई दिने भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
९. मिति २०३३।५।२१ को राजपत्रबाट विशेष अदालत गठन भएको हुँदा प्रस्तुत मुद्दा विशेष अदालतको कार्य क्षेत्र भित्र पर्न आएको रहेछ ।
१०. रु. १६,०००।– को लिखत राजीनामा कीर्तेमा जालसाजी भन्ने प्रतिवादीको बयान खारेज हुने मिति १९९७।६।११ को लालमोहरमा धान २७।३ ठेकिएको र सो ठेकिएको धान मालपोत सरहको भन्ने ठोस सबूद नहुँदा वादी दावीको जग्गा ख.श्रेणीको ठहर्छ । खेत ठेक मुरी ।४६ मा मोही टंकनाथ देखाएको मिति ०३३।१२।६ को विवरण बदर भई मोही महलमा वादीको नाम कायम हुने ठहर्छ भन्ने समेत अध्यक्ष जिल्ला न्यायाधीश माधवराज थापाबाट र क.ख. छुट्याएको बाहेक अरुमा मेरो सहमति छ । क.ख. सम्बन्धमा धान ठेकी मालको दर भाउले बुझाउने गरेको देखिन्छ । मालको दर भाउ भन्दा बढी खाएको प्रमाण प्रतिवादीले गुजार्न सकेको छैन । तसर्थ क. श्रेणीमा दर्ता हुनुपर्ने भन्ने भूमि प्रशासकबाट मिति २०३४।३।१५ मा भएको फैसला ।
११. यसरी क.ख. छुट्याउने सम्बन्धमा रायबाझी भएकोले सो दिन अनुपस्थित सदस्य मालका हाकिमको उपस्थितिको दिन पेश गरिंदा मिति १९९७।५।१२ को रसीदबाट नगदै बुझेको देखिएको समेतबाट क.श्रेणीको कायम गरेको सदस्य तीर्थराज भट्टराइज्यूको रायमा म सहमत छु भन्ने समेत सदस्य मालको हाकिम अम्बरबहादुर शाहले मिति २०३४।३।२२ मा गरेको निर्णय ।
१२. उक्त फैसलामा चित्त बुझेन भनी टंकनाथ आचार्यको र जालसाजीमा रु.१००।– मात्र जरिवाना गरेको चित्त बुझेन भनी राजप्रसाद समेतको पुनरावेदन पर्दा एकजना सदस्यको अनुपस्थितिमा राय बाझिने भएमा तीनैजना सदस्यको इजलासमा पेश गर्नु पर्नेमा छुट्टै तेश्रो न्यायाधीशमा पेश गरी कायम गराएको निर्णय बदर हुन्छ । उक्त विशेष अदालतको अवधि समाप्त भई अन्य विशेष अदालत गठन भएमा कानुन बमोजिम कारवाही किनारा गर्नु भनी मिसिल धादिङ जिल्ला अदालतमा पठाई दिनु भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१३. धादिङ जिल्ला अदालतका न्यायाधीशले पहिले नै यो मुद्दा छिनेको हुँदा अन्य न्यायाधीशबाट छिनी दिनु भन्ने हुकुम प्रमाड्डी बक्स पाउँ भनी फणिन्द्रकुमारीले चढाएको बिन्ति–पत्रमा कानुन बमोजिम गरी ३ महीनाभित्र मुद्दा छिनी नतिजा जाहेर गर्नु भन्ने समेत धादिङ जिल्ला अदालतका नाममा हुकुम प्रमाड्डी बक्स भएको ।
१४. विशेष अदालतबाट मिति २०३४।३।२५ मा विवादीत जग्गा क. श्रेणीको ठहर्ने जालसाजीतर्फ प्रतिवादीको जिकिर खारेज हुने र मोही टंकनाथ राखेको सम्म विवरण बदर हुने भनी निर्णय भएको सो निर्णय विशेष अदालत ऐन, २०३१ को दफा ८(ग) अनुसार कानुन अनुकूल हुँदा सोही निर्णय कायम हुन्छ भन्ने समेत धादिङ्ग जिल्ला अदालतको मिति २०३६।२।२।४ को फैसला रहेछ ।
१५. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादीको पुनरावेदन परेकोमा बदर भइसकेको विशेष अदालतको फैसलालाई सिरान हाली गरेको फैसला नमिलेकोले विपक्षी झिकाउने भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चको मिति २०३८।२।७ को आदेश ।
१६. विवादीत जग्गा क.श्रेणीको कायम गरेको जालसाजीतर्फ खारेज गरेको टंकनाथ मोही देखाएको विवरण बदर गरेको धादिङ जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०३८।१०।७ को फैसला ।
१७. उक्त फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटी विद्यमान भएकोले पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको निवेदन परेकोमा बदर भएको विशेष अदालतको फैसलालाई सिरान हाली निर्णय भएको र लालमोहरमा धान २७।३ लेखिएकोबाट सो होइन भनी वादीले प्रमाणित गर्न नसकेकोले ख. विर्ता कायम हुनु पर्नेमा क. विर्ता कायम गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा विर्ता उन्मूलन ऐन, २०१६ को दफा २ को त्रुटी देखिँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०३९।३।९ को आदेश ।
१८. निर्णयार्थ पेश हुँदा विवादीत कल्लेरी ।६६ मध्येको ।४६ को जग्गाको साविक मोही लक्ष्मीदाश भएकोमा दुबैपक्षको मुख मिलेकै देखिन्छ । १९९६।६।११ को लालमोहरमा धान २७।३ लेखिएको छ तापनि सो बमोजिम धानै बुझेको हो भनी प्रतिवादी पक्षबाट प्रमाणित हुनसकेको छैन । मिति १९९७।५।१२ को रसीदबाट नगदै रकम लिनु दिनु गरेको देखिन्छ । ठेकिएको मालपोत भन्दा बढी उठाई खाएको भन्ने कुरा कतैबाट प्रमाणित हुनआएको देखिँदैन । यस्तो अवस्थामा विवादीत जग्गालाई क.श्रेणीको विर्ता जग्गा नै मान्नु पर्ने हुन्छ । यसरी क.श्रेणीको विर्ता जग्गा मोहिको नाममा दर्ता भई विर्तावारको कुनै पनि स्वामित्व नरहने कुरा विर्ता उन्मूलन ऐन, २०१६ को दफा ४(२) मा उल्लेख भएको हुँदा र टंकनाथले आफू मोही बनी यिनै वादी रामप्रसाद समेतउपर दिएको जालसाजी मुद्दामा वादी दावी पुग्न नसक्ने ठहरी सर्वोच्च अदालतबाट निर्णय भइसकेको देखिँदा साविक मोही लक्ष्मीदाश साक्षी बसी निजका छोरा मेघप्रसादले यी वादी रामप्रसादलाई मिति २०२२।११।२४ मा पास गरिदिएको राजीनामा जालसाजी हो भन्ने प्रतिवादी फणिन्द्रकुमारीको दावी जिकिर खारेज हुने ठहर्छ । विवादीत जग्गा क.श्रेणीको विर्ता कायम गरेको जालसाजीतर्फ खारेज गर्ने गरेको र मोही टंकनाथ भनी दिएको विवरण बदर हुने ठहर्याएको शुरु धादिङ्ग जिल्ला अदालतको फैसला सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४१।३।१२।२ को फैसला ।
१९. प्रस्तुत मुद्दा दोहोर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमाड्डी बकस भई पूर्ण इजलास समक्ष पेश हुँदा शुरु र क्षेत्रीय अदालतबाट इन्साफ हुँदा मोही टंकथान भनी दिएको विवरण बदर हुने ठहरी इन्साफ हुँदै आएको देखिएको तर टंकनाथ आचार्यलाई बुझिएको नदेखिँदा अ.बं.१३९ नं.बमोजिम टंकनाथलाई बुझ्ने भन्ने मिति २०४४।१।२९ गतेको आदेश ।
२०. वादी दावीको चारकिल्लाको जग्गामा लालमोहर भई मोही जनिएका काका लक्ष्मीदाश र विर्तावारको सहमतिबाट म निवेदकको मोही कायम भएको हुँ । सो जग्गा मैले नै जोतेको हुँ मिति २०३०।३।२७ को जिल्ला भूमिसुधार कार्यालय, धादिङ्गको निर्णय समेतबाट म मोही ठहरी मैले जग्गाधनी गणक राजकुमारीलाई कूत बाली बुझाउनु पर्ने ठहर भएको छ । विवादको जग्गा ख. विर्ताको हुनाले विर्ता छँदा पनि मोहिले बुझाउनु पर्ने कूत बापत जिन्सी धान नै मैले बुझाई आएको हुँदा रामप्रसादको नाममा मोहियानी कायम हुन पर्ने होइन भन्ने समेत टंकनाथ आचार्यको मिति २०४४।४।२६ गतेको बयान र निज प्रतिवादी सरह देखिएको हुँदा तारीखमा राख्ने भन्ने ऐ.मितिको पूर्ण इजलासको आदेश ।
२१. निवेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता द्धय श्री लक्ष्मणप्रसाद अर्याल तथा श्री मुकन्द रेग्मी एवं विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले विवादीत जग्गा गणक राजकुमारी समेतले दाइजो विर्ता पाएको सर्वाङ्ग माफी विर्ता भन्ने २७ मुरी धान नै उठाई खाने शर्त उल्लेख गरेको र टंकनाथ आचार्यबाट धान नै कूत बुझेको भपाई दिएको, २०२८ सालको बाली नबुझाएकोमा बुझाउनु पर्ने ठहरी भूमिसुधार कार्यालयबाट फैसला भइसकेको समेत हुँदा ख. विर्ता हुँदा क. विर्ता ठहराई विर्ता विवरण बदर गरेको संयुक्त इजलासको इन्साफ उल्टी हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो । विपक्षी वादी रामप्रसादको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कुसुम श्रेष्ठ एवं विद्वान अधिवक्ता श्री लवदेव भट्टले जुनसुकै तरहले पाएको भए पनि मालपोतको अंकसम्म उठाई खाएको अवस्थामा त्यस्तो विर्ता क. श्रेणीको विर्ता कायम भई मोहिको नाममा रैकरमा परिणत हुनु पर्ने भन्ने कानुनी व्यवस्था छ । प्रतिवादीले बाली नै उठाई खाएको भन्ने कुनै प्रमाण प्रस्तुत गर्नसकेको छैन । २७ मुरी धान र घ्यूको उल्लेख लालमोहरमा भए पनि त्यस अवस्थामा पहाडमा जिन्सी नै मालपोतको रुपमा उठाइने प्रचलन हुँदा सो उल्लेख हुन गएको हो । तसर्थ विवादीत जग्गालाई क. श्रेणीको विर्ता ठहर्याई प्रतिवादीले दिएको विर्ता विवरण बदर हुने ठहर्याएको संयुक्त इजलासको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।
२२. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा संयुक्त इजलासको इन्साफ मनासिब बेमनासिब के हो ? सो विषयमा निर्णय दिनु पर्ने हुन आयो ।
२३. यसमा निर्णयतर्फ हेर्दा मिति १९९७।६।११।५ मा विपक्षीका नाममा भएको दाइजो विर्ताको लालमोहरका चारकिल्लाभित्रको गैरी भन्ने खेत पाटो मुरी ।४६ को खलो जग्गा रु.१६,०००।– मा मेघप्रसादबाट मिति २०२२।११।२४।५ मा पास राजीनामा गरी आज तक भोग गरी आएको विर्ता उन्मूलन ऐन, २०१६ बमोजिम उक्त जग्गा रैकरमा परिणत गराउँदा मोहियानी मेरा नाममा र क.श्रेणीमा परिणत गराउनु पर्नेमा सो नगरी मोहियानी हकमा टंकनाथ आचार्य गराई ख. श्रेणीबाट विवरण दिएको थाहा हुन आएकोले ख.श्रेणीमा कुनै हालतमा परिणत हुन नसक्ने कुरालाई ख. श्रेणीमा परिणत गराएको विवरण बदर वातेल गराई क. श्रेणीमा परिणत गराई मोहियानी समेत मेरै कायम गरिपाउँ भन्ने समेत वादी दावी देखिन्छ । जिन्सी नै उठाई खान पाउने गरी लालमोहर भएको र जिन्सी नै उठाई खाएको हुँदा क.श्रेणीको विर्ता कायम हुन नसक्ने मोहिमा टंकनाथले कमाएको हुँदा हकै नपुग्ने व्यक्ति मेघप्रसादबाट लिएको राजीनामाको आधारमा उक्त विर्ता विवरण बदर गरिपाउँ भन्ने वादी दावी लाग्न नसक्ने भन्ने प्रतिउत्तर–पत्र जिकिर देखिन्छ ।
२४. विवादीत जग्गा वि.सं.१९९७।६।११।५ को लालमोहरद्वारा गणकराजकुमारीले प्राप्त गरेको दाइजो विर्ताको जग्गा हो भन्ने कुरामा कुनै विवाद देखिएन । विर्ता उन्मूलन ऐन, २०१६ बमोजिम विवादीत जग्गा वादी दावी बमोजिम क. श्रेणीमा परिणत हुने हो वा प्रतिउत्तरपत्र जिकिर बमोजिम ख.श्रेणीमा परिणत हुने हो भन्ने सन्दर्भमा हेर्दा विर्ता उन्मूलन ऐन, २०१६ को दफा २ को उपदफा (१) को देहाय खण्ड (ख) मा क.श्रेणीको विर्ता भन्नाले ठेकिएको मालपोतसम्म उठाई खान पाउने गरिपाएको वा जसरी लिएको पाएको भए पनि ठेकिएको मालपोत वा मालपोतको अंक बमोजिम सम्म खाने गरी आएको श्री ५ को सरकारमा केही तिर्नु पर्ने वा नपर्ने विर्ता जग्गा र आवाद नभएको पर्ति जग्गा तथा जंगल विर्ता जग्गा सम्झनु पर्छ भन्ने देहाय खण्ड (ग) मा “ख” श्रेणीको विर्ता जग्गा भन्नाले “क” श्रेणीको विर्ता जग्गा बाहेकको अरु सबै विर्ता जग्गा सम्झनु पर्छ भन्ने उल्लेख भएको पाइन्छ । विवादीत जग्गा “क” वा “ख” कुन श्रेणीको विर्ता हो भन्ने प्रश्नको निरोपणको लागि सर्वप्रथम वि.सं.१९९७।६।११।५ को लालमोहर हेर्दा विवादीत जग्गा ९५ सालका बाली देखि बाली खान पाउने गरी गादी मुमारख बाहेक गोडधुवा, चुवावन लगायत सर्वकर अकर सर्वाङ्ग माफि गरी सन्तान दरसन्तान खान पाउने गरी गणकराजकुमारीलाई विर्ता दिएको र तपसीलमा खेत मुरी ।६६ को धान ठेक २७।३ घ्यू १।६४।३ भन्ने उल्लेख भएको देखिन्छ । लालमोहरको उक्त व्यहोरामा ९५ सालका बाली देखि बाली खान पाउने भन्ने उल्लेख भई सर्वाङ्ग माफि विर्ता दिएको देखिएको र उक्त लालमोहरमा बाली भन्ने शब्द उल्लेख भएकोले आयस्ता खान पाउने गरी विर्ता पाएको सम्झनु पर्ने, ठेकमा पनि धान २७।३ भन्ने उल्लेख भएको सो धान २७।३ मालपोत सरह उठाई खान पाउने गरेको वा मालपोत सरह उठाई खाएको भन्ने कुरा वादीले प्रमाणित गर्नसकेको नदेखिएबाट ठेकिएको मालपोतसम्म उठाई खान पाउने गरी विर्ता दिइएको नभई बाली नै उठाई खान पाउने गरी प्र.ले विर्ता प्राप्त गरेको देखिन आयो ।
२५. प्रतिवादीको पेटबोलीको व्यहोराबाट बुझिएको टंकनाथ आचार्यले विवादीत जग्गा मोहिमा आफूले कमाई कूत बापत धान जिन्सी नै बुझाई आएको भनी मिति २०४४।४।२६ मा यस अदालतमा बयान गरेको देखिन्छ । लालमोहरमा मोही जनिएको लक्ष्मीदाश आचार्यले मिति २०२२।१।१५ मा गणकराजकुमारीलाई गरिदिएको कागजमा खेत मुरी ।६६ को कूत टंकनाथबाट बुझिलिनु भनी मोही छोडपत्र गरेको देखिन्छ । वादी गणकराजकुमारी प्रतिवादी यिनै टंकनाथ आचार्य भई चलेको ०२८ सालको बाली नदिएकोले बाली दिलाई मोही निष्कासन गरिपाउँ भन्ने मुद्दामा बाली दिलाउने र मोही प्रतिवादीकै कायम रहने गरी मिति २०३०।३।२७ मा भूमिसुधार कार्यालय, धादिङबाट निर्णय भएको मिसिलबाट देखिन्छ । त्यस्तै उक्त १९९७ को लालमोहर भित्रको जग्गाको रैकरमा परिणत विषयमा वादी कुस्माखर खतिवडा प्रतिवादी गणकराजकुमारी भई चलेको क.ख. विर्ता सम्बन्धी मुद्दामा उक्त जग्गा ख. श्रेणीको विर्ता ठहरी धादिङ जिल्ला अदालतबाट मिति २०२८।३।६ मा निर्णय भएको मिसिल संलग्न फैसला प्रतिलिपिबाट देखिन्छ । यस स्थितिमा एउटै लालमोहर भित्रको कुनै जग्गा ख. श्रेणीको र कुनै जग्गा क. श्रेणीको देखिन ठहर्न आउने अवस्था पनि देखिँदैन । साथै विवादीत जग्गामा मालपोतसम्म उठाई खाएको हो भनी प्रमाणित गराउनु पर्ने भार प्रमाण ऐन, २०३१ को दफा २६ बमोजिम वादीमा रहने सो वादीले प्रमाणित गर्नसकेको समेत देखिन आएन ।
२६. मेरो दाइजो विर्ताको खेत ।६६ मध्ये ।२० टंकनाथको भागको र बाँकी खेत ।४६ टंकनाथको कान्छा बाबु लक्ष्मी दाशको भागको काका भतिजाको के शर्तमा हो भतिजालाई कमाउन दिएबाट खेत ।६६ टंकनाथले कमाई आएको वादीको दाता मेघप्रसादको हक टुटी सकेकोमा पनि रैकरमा परिणत भइनसकेको उक्त जग्गा के आधारमा कसरी रसीद खडा गरी रजिष्ट्रेशन पारित गराएको भन्ने जिकिर प्रतिवादीले प्रतिउत्तर–पत्रको प्रकरण नं.१ मा उल्लेख गरेको देखिन्छ । लक्ष्मीदाशले गणकराजकुमारीलाई गरिदिएको माथि उल्लिखित मिति २०२२।१।१५ को कागजमा खेत मुरी ।६६।७।४ मध्ये माटो मुरी ।२० अघि नै भागमा परेको र माटो मुरी ।४६।७।४ पछि जिउनीतर्फ मिलाउनु पर्ने हुँदा भतिजा टंकनाथलाई छोडी दिएको हुँदा सम्पूर्ण जग्गा ६६।७।४ को बाली टंकनाथसंग बुझी लिनु भन्ने व्यहोरा उल्लेख भएको पाइन्छ । व्यहोरा साँचो भए मालबाट त्यस अदालतमा सरी आएको मिसिलबाट राजीनामा जालसाजीतर्फ ऐन बमोजिम कारवाही गर्नु भन्ने मिति २०२८।४।१८।३ मा हुकुम प्रमांगी बक्स भई रामप्रसादले मेघप्रसादबाट गराई लिएको मिति २०२२।११।२४ को राजीनामा अ.बं.७८ नं.बमोजिम सुनाउँदा मोही लक्ष्मीदाश जीवित हुँदैको अवस्थामा हकै नपुग्ने व्यक्ति मेघप्रसादबाट मेरो भोग तिराको भनी गराई लिएको राजीनामा कीर्ते रसीद समेत खडा गरी जालसाजबाट गराएको भन्ने जिकिर लिई प्रतिवादीको वारिस गोविन्दप्रसादले बयान गरेको पाइन्छ । १९९७।६।११।५ को लालमोहरमा कल्लेरी मौजाको विवादीत जग्गाको मोही लक्ष्मीदाश भन्ने जनिएको पाइन्छ । राजीनामाको कागज हुँदाको अवस्थामा लक्ष्मीदाश जीवितै भएको र निजले आफ्नो मोही हक छाडेको सूचना विर्तावाललाई दिइसकेको पाइएको र विवादीत जग्गामा रैकर परिणत आदि कुनै तरिकाबाट मेघप्रसादको हक पुगेको भन्ने कतैबाट नदेखिएको अवस्थामा गणकराजकुमारीको विर्ता भन्ने समेत कुरा उल्लेख नगरी राजीनामा लिएको देखिन्छ । अ.बं.७८ नं.बमोजिम बयान हुँदा रसीदको विषयमा मेघप्रसादले ल्याएको हो भन्ने रामप्रसाद र रामप्रसादले ल्याएको हो भन्ने मेघप्रसाद भई कुरा समेत बाझिएको देखिँदा वादी रामप्रसादले गराई लिएको मिति २०२२।११।२४ को राजीनामा सद्दे साँचो व्यवहारबाट भएको भनी मान्न मिल्ने अवस्था समेत देखिन आउँदैन ।
२७. अतः उपर्युक्त कारणहरुबाट विवादीत जग्गा ख. श्रेणीको विर्ता जग्गा देखिन आएको हुँदा विर्तावार गणकराजकुमारीले दिएको विर्ता विवरण बदर गरी क.श्रेणीबाट रैकरमा परिणत गरी मोहीमा मेरो नाम कायम गरिपाउँ भन्ने वादी दावी नपुग्ने ठहर्छ । वादी दावी बमोजिम प्रतिवादीले दिएको विर्ता विवरण बदर हुने ठहराएको शुरु धादिङ जिल्ला अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालत तथा सर्वोच्च अदालतको मिति २०४१।३।१२ को इन्साफ मिलेको देखिएन अरु तपसील बमोजिम गर्नु ।
तपसील
प्रतिावदी गणराजकुमारी शाहको मु.स.गर्ने प्रतिवादी फणिन्द्रकुमारी थापाके शुरु धादिङ जिल्ला अदालतका फैसलाले निजलाई लाग्ने ठहराएको जरिवाना रु.१००।– निजले मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गर्दा मिति २०३६।६।२९ मा तिरेको सदर स्याहा भएको देखिएको, अब निजलाई उक्त जरिवाना नलाग्ने हुँदा उक्त रकम फिर्ता पाउँ भनी कानुनका म्यादभित्र दर्खास्त पर्न आए दस्तूर केही नलिई अड्डैको आम्दानीबाट भराई दिनु भनी धादिङ जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु...१
प्रतिवादी मु.स.गर्ने फणिन्द्रकुमारी थापाके निजले सर्वोच्च अदालतमा पुनरावेदन गर्दा मिति २०३९।५।१८ मा दाखिल गरी सदर स्याहा भएको कोर्टफी रु.९९।– र मुद्दा दोहोराउँदा मिति २०४२।४।८ मा दाखिल गरी सदर स्याहा गरेको कोर्टफी रु.६६।– समेत जम्मा रु.१६५।– वादीबाट भरी पाउँ भनी कानुनका म्यादभित्र दर्खास्त पर्न आए कानुनको रीत पुर्याई वादी रामप्रसाद शर्माबाट भराई दिनु भनी ऐजनमा पठाउन ऐजनमा लगत दिनु...२
मिसिल नियम बमोजिम गरी बुझाई दिनु.......................३
उक्त रायमा हामीहरु सहमत छौं ।
न्या.सुरेन्द्रप्रसाद सिंह,
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४४ साल पौष ९ गते रोज ५ शुभम् ।