निर्णय नं. ८४७६ - लुटपीट ।

निर्णय नं. ८४७६ ने.का.प.२०६७ अङ्क १०
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय
संवत् २०६४ सालको फौ.पु.नं.––०३४०
फैसला मितिः २०६७।१।६।२
मुद्दा : लुटपीट ।
पुनरावेदक/ प्रतिवादीः जिल्ला सर्लाही, गा.वि.स. हरिवन, वडा नं .१ बस्ने नेत्रबहादुर आलेमगर
विरुद्ध
प्रत्यर्थी /वादीः ऐ.ऐ. बस्ने लेखकुमार शर्मा घिमिरे
शुरु फैसला गर्नेः
मा.जि.न्या. श्री शान्तिराज सुवेदी
पुनरावेदन फैसला गर्नेः
मा.न्या. श्री हरिवंश त्रिपाठी
मा.न्या. श्री गिरीराज पौडेल
§ कसैको जग्गा खिचोला गर्नु र जग्गाको बाली लैजानु वेग्ला वेग्लै वारदात र विषय हुन् । अर्काको जग्गा खिचोला गरी बाली लगाएको अवस्थामा बाली खिचोला गर्नेले लगाएको मानी खिचोला गर्नेको बाली स्वीकार गरी लुटपीट ठहर नगर्ने हो भने खिचोलाले वैधानिकता प्राप्त गर्ने र अवैधानिक कार्यले प्रश्रय पाउन सक्ने ।
§ अवैधानिक तरिकाबाट कब्जा खिचोला गरी लगाएको बालीमा, बाली जसले लगाए पनि सो जग्गाको बालीमा वैधानिक जग्गाधनीको हक निरन्तर रहिरहेको मान्नु नै औचित्यपूर्ण एवं विवेकसम्मत् समेत हुन्छ । यस्तो अवस्थामा जग्गाको बाली वैधानिक जग्गाधनीले नलिई अन्यले लिएको छ भने लुटपीट गरेको मान्नुपर्ने हुँदा खिचोला ठहरे लुटपीट हुँदैन र लुटपीट ठहरे खिचोला हुँदैन भन्न नमिल्ने ।
(प्रकरण नं.४)
पुनरावेदक प्रतिवादी तफबाटः विद्वान अधिवक्ता श्री कालीप्रसाद घिमिरे
प्रत्यर्थी वादी तर्फबाटः
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ मुलुकी ऐन लुटपीटको १ नं.
§ जग्गा मिच्नेको १ नं.
फैसला
न्या.खिलराज रेग्मीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) बमोजिम पुनरावेदन अदालत जनकपुरको मिति २०६४।१।२ को फैसलाउपर प्रतिवादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः–
मेरो कि.नं. ५३ को २–२–३ जग्गामा धान बाली लगाएकोमा सो धान बाली पाकी तयार भैसकेकोले सो धान काटुला भन्दै थिए । यसै बीच विपक्षीहरू मिली २०६०।८।५ गते विहान ६ बजेको समयमा विपक्षीहरू र नचिनेका १०।१२ जना मजदुर छेमप्रसादको अगुवाईमा आई मेरो कि.नं. ५३ को क्षे.फ. २–२–३ जग्गा मध्ये दक्षिण तर्फबाट ०–७–१० जग्गाको पाकी तयार भएको धान बाली काटी लुटपीट गरी रहेकै अवस्थामा थाहा पाई म वारदात स्थानमा पुगी मैले लगाएको धानबाली किन काटी लैजान लाग्नु भएको भन्दा विपक्षीहरूले मलाई धम्की दिई यहाँ आईस भने अरु नराम्रो नतिजा होला तैले जानेको गर भनी विपक्षीहरूले जबरजस्ती लुटपीट गरी मेरो कि.नं. ५३ नं. को २–२–३ जग्गा मध्ये दक्षिण तर्फको ०–७–१० जग्गाको धान प्रतिकठ्ठा ४ मनका दरले हुने जम्मा ३० मन लुटपीट गरेकोले दिए धान नै नदिए प्रति क्वीन्टल रु.८००।– का दरले रु.९६००।– र सो धानको परालको मूल्य रु.१,०००।– समेत गरी जम्मा रु.१०,६००।– विपक्षीहरूबाट दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
वादीले देखाउनु भएको वारदात लुटपीटको १ नं. को परिभाषा भित्र नपर्ने, लुटपीट वारदात नभएको र उचित कानूनको प्रयोग गरी प्रस्तुत मुद्दा आएको छैन । वादीले देखाउनु भएको तथाकथित वारदातमा हामी प्रतिवादीहरूले वादीको धानबाली कस कसले कुन रुपमा के कति काटी लगेको स्पष्ट रुपमा खुलाउन सक्नु भएको छैन, केवल गोश्वारा रुपमा अस्पष्ट दावी रहेको छ । अतः उचित कानूनको दावी नभै अस्पष्ट रुपमा गरेको दावी अ.बं. १८० नं बमोजिम खारेज गरिपाऊँ । खारेज नभई इन्साफ भएमा हाम्रा प्रमाण बुझी वादीको झूठा मुद्दाबाट हामीलाई फुर्सद गराई पाऊँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।
वादीको साक्षी खेमराज खनाल, दधिवल्लभ भट्टराई तथा प्रतिवादीका साक्षी गीरबहादुर लामिछाने, होमबहादुर आले मगरले यस अदालतमा गरेको बकपत्र ।
वादी दावीबमोजिम प्रतिवादीहरूले लुटपीट गरेको ठहर्दैन । वादी दावी झूठा ठहर्छ । वादीलाई मुलुकी ऐन दण्ड सजायको १८ नं. बमोजिम रु.१०६०।–जरीवाना हुन्छ । झूठा बक्ने वादीका साक्षी दधिवल्लभ भट्टराई र खेमराज खनाललाई मुलुकी ऐन अदालती बन्दोवस्तको १६९ नं. बमोजिम जनही रु.१००।– का दरले रु.२००।– जरीवाना हुन्छ भन्ने समेत स.जि.अ. बाट मिति २०६०।१२।३० मा भएको फैसला ।
सबूद प्रमाणको मूल्याङ्कन नै नगरी कानूनविपरीत मेरो वादी दावीलाई नै झूठा ठहर गरी जरीवाना समेत गरेको शुरु स.जि.अ. को मिति २०६०।१२।१३ को फैसला गैरकानूनी एवं अन्यायपूर्ण रहेकोले बदर वातील गरी इन्साफ गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदनपत्र ।
यसमा यसै लगाउको दे.पु.नं. १५९६ को ज.खि.च. मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भएकोले प्रस्तुत मुद्दामा पनि सोही आधार कारणले शुरु सर्लाही जिल्ला अदालतको मिति २०६०।१२।३० को फैसला फरक पर्नसक्ने देखिँदा छलफलको लागि प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतबाट मिति २०६३।३।२२ मा भएको आदेश ।
यिनै वादीले यिनै प्रतिवादी नेत्रबहादुर आलेउपर दिएको दे.पु.नं. १५९६ को जग्गा खिचोला चलन मुद्दामा वादी दावीको कि.नं. ५३ को जग्गाबाट ०–७–१० जग्गामा प्रतिवादीले खिचोला गरेको ठहरी आज यसै इजलासबाट फैसला भएको अवस्थामा र विवादको जग्गा भोगी आएको जिकीर लिई प्रतिवादीले प्रतिउत्तरपत्र फिराएको देखिएकोले भोगको जिकीरबाटै उक्त जग्गामा लगाएको बाली समेतमा प्रतिवादीले हस्तक्षेप गरेको देखिन आयो । बुझिएका वादीका साक्षीको बकपत्रबाट वादी दावी समर्थित भएकै देखिन्छ । अन्य प्रतिवादीहरू उपर जग्गा खिचोलातर्फ फिराद परेको नदेखिएको र निजहरूले लुटपीट गरेको स्वतन्त्र र विश्वसनीय प्रमाणको अभावमा जग्गा खिचोला मुद्दाका प्रतिवादी नेत्रबहादुरले मात्र बाली लुटपीट गरेको देखिन आयो । अतः जग्गा खिचोला मुद्दाका प्रतिवादी नेत्रबहादुर आलेका हकमा वादी दावी ठहर गर्नुपर्नेमा सबै प्रतिवादीहरूले लुटपीट गरेको ठहर्याई शुरु सर्लाही जिल्ला अदालतबाट मिति २०६०।१२।३० मा भएको फैसला मिलेको नदेखिदा केही उल्टी भै प्रतिवादी नेत्रबहादुरले सम्म वादी दावीको बाली लुटपीट गरेको ठहर्छ भन्ने पुनरावेदन अदालत, जनकपुरको मिति २०६४।१।२ को फैसला ।
पुनरावेदन अदालतले जग्गा खिचोला मुद्दामा खिचोला गरेको ठहर गरेको आधारमा लुटपीट मुद्दामा लुटपीट ठहर गरेको छ । २०६०।८।५ को वारदातमा २०६०।८।२२ मा लुटपीट मुद्दा परेको छ भने २०६०।९।१ को वारदात देखाई २०६०।११।२२ मा जग्गा खिचोला चलन मुद्दा दर्ता भएको छ । लुटपीट मुद्दामा मैले उक्त जग्गा भोग गरी रहेको भन्ने आधारमा जग्गा खिचोला मुद्दामा खिचोला ठहर भएको छ । लुटपीट हुन लुटपीटको १ नं. विपरीतको कार्य भएको हुनुपर्छ । वादी शम्भुप्रसाद मैनाली प्रतिवादी कालु थापा भएको २०५७ सालको दे.नं. ७५९ को जग्गा खिचोला मुद्दामा स.जि.अ. बाट २०५७।१२।१२ मा भएको नक्सा मुचुल्काले निर्धारण गरेको साँध सीमा अनुसारको जग्गा खरीद गरी सोही साँधको आधारमा भोग गरी आएको छु । मैले खिचोला गरेको छैन । सो जग्गामा वादीले जोतभोग र बाली नलगाएकोमा लुटपीट हुन सक्दैन । वादी लेखकुमार शर्मा प्रतिवादी शम्भुप्रसाद मैनाली, वादी शम्भुप्रसाद मैनाली प्रतिवादी कालु थापा समेत भएको पहिलेका खिचोला मुद्दामा भएको नक्सा कुण्डली र त्यसवखत भएको सिमाङ्कनको आधारमा मैले जोतभोग गरी आएको छु । जग्गाको आली सार्ने, खिचोला गर्ने र लुटपीट गर्ने कार्य गरेको छैन । पछि परेको खिचोला मुद्दाबाट अगाडि भएको भनिएको लुटपीट ठहर गर्नु न्यायसंगत नहुँदा नापी नक्सासँग मिल्न भिड्न नआउने दूषित नक्सालाई आधार लिई खिचोला ठहर गरेको र सो आधारमा लुटपीट ठहर गरेको फैसला कानूनी तथा प्रतिपादित सिद्धान्त समेत विपरीत हुँदा उक्त फैसला बदर गरी सफाई पाऊँ भन्ने नेत्रबहादुर आले मगरको मिति २०६४।८।२५ को पुनरावेदनपत्र ।
नियमबमोजिम पेश भएको प्रस्तुत मुद्दाको पुनरावेदनपत्र सहित शुरु एवं प्रमाण मिसिल समेत अध्ययन गरी पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री कालीप्रसाद घिमिरेले वादीले छेमप्रसाद बरालको नेतृत्वमा लुटपीट गरेको भनेका छन् । निजले सफाई पाएको अवस्थामा नेत्रप्रसादले कसरी लुटपीट गर्न सक्छ । लुटपीट भए खिचोला हुदैन र खिचोला ठहरे लुटपीट हुँदैन । खिचोला मुद्दाको आधारमा लुटपीट ठहर गरेको त्रुटिपूर्ण हुँदा सो फैसला बदर भै प्रति जिकीर बमोजिम सफाई हुनुपर्छ भनी गर्नु भएको बहस सुनियो ।
२. निर्णयतर्फ विचार गर्दा मेरो कि.नं. ५३ को जग्गामा लगाएको धानबाली पाकी तयार भैसकेको अवस्थामा मिति २०६०।८।५ गतेका दिन बिहान ६ बजेको समयमा विपक्षीहरू मिली मेरो उक्त कि.नं. को दक्षिणतर्फबाट ०–७–१० जग्गाको धानबाली लुटपीट गरी लगेकोले दिए धान मन ३० र नदिए सोको हुने मूल्य रु.९६००।– र सो धानको परालको रु.१०००।– गरी जम्मा १०६००।– विपक्षीहरूबाट दिलाई भराई पाऊँ भन्ने वादी दावी भएकोमा वादी दावी गोश्वारा रुपमा रही अस्पष्ट रहेको छ । वारदात नै नभएको अवस्थामा झूठा दावी खारेज गरिपाऊँ भन्ने प्रतिउत्तर जिकीर रहेको देखिन्छ । वादी दावी झूठा ठहरी वादी समेतलाई जरिवाना गर्ने गरी भएको शुरु फैसलामा केही उल्टी भै प्रतिवादी नेत्रबहादुर आलेले लुटपीट गरेको ठहर गरी पुनरावेदन अदालतबाट फैसला भए उपर प्रतिवादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीले लुटपीट गरेका हुन् वा होइनन् ? पुनरावेदन अदालत जनकपुरको फैसला मिले नमिलेको के रहेछ ? सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आएको छ ।
३. वादीले लुटपीट भयो भनेको सर्लाही जिल्ला हरिवन गा.वि.स. वडा नं. ४क कि.नं. ५३ को क्षे.फ. २–२–३ मध्ये दक्षिणतर्फबाट ०–७–१० जग्गामा प्रतिवादीहरूले २०६०।८।५ मा धान बाली काटी लगी लुटपीट गरे भन्ने मुख्य दावी रहेको छ । यसै जग्गाको सम्बन्धमा वादीको यो जग्गाको तत्कालीन दक्षिण सँधियार शम्भुप्रसाद मैनालीसँग जग्गा खिचोला चलन मुद्दा परेको र सो मुद्दा खिचोला गरेको ठहर भै वादीले चलनी पुर्जी लिई तत्कालीन विवादको अन्त्य भएको देखिन्छ । सोही जग्गाको दक्षिण तर्फका तत्कालीन जग्गाधनी शम्भुप्रसाद मैनालीसँग जग्गा किन्ने यी प्रतिवादी नेत्रबहादुर आले मगरले अहिले पुनः जग्गा खिचोला गरे भनी विवाद उठेको देखिन्छ ।
४. यसमा लुटपीट मुद्दा पहिले परेको र जग्गा खिचोला चलन मुद्दा पछि परेको आधारले खिचोला मुद्दाको आधारमा लुटपीट ठहर गर्न मिल्दैन र एउटा कसूर गरेमा अर्को कसूर वा अपराध नहुने भन्ने प्रतिवादीको जिकीर रहेको देखिन्छ, लुटपीट र जग्गा खिचोला दुई वेग्लावेग्लै वारदात भएमा एउटा मुद्दा ठहर गरे अर्कोमुद्दामा गर्न मिल्दैन भन्ने कुनै कानूनी आधार देखिदैन । फौजदारी कसूर र देवानी हकको विषयमा इन्साफ गर्नुपर्ने नै हुन्छ । मुलुकी ऐन लुटपीटको १ नं.मा “वारदातका रुपबाट चोरीको महल बमोजिमको अपराध ठहर्ने वाहेक अरु यसै महलका नम्वर नम्वरमा लेखिएका रुपबाट उठान भै सोहि जरियाबाट झगडा कुटपीटसम्म भै वा सो केही नभै अर्काको हकको वा जिम्माको नगदी जिन्सी धनमाल दोपाया चौपाया जग्गाको बाली समेत हातहाली जबर्जस्तीसँग खोसी लैजान वा कुनै किसिमसँग नोक्सान गराई दिन समेत हुदैन, गरे लुटपीट ठहर्छ” भन्ने र जग्गा मिच्नेको १ नं.मा “एकाको हकको जग्गा अर्कोले चापी मिची घुसाई खान र सरकारी जग्गा तिरो नगरी कुनै तवरले दवाई आफूले खान र अर्कालाई खुवाउन समेत हुदैन” भन्ने कानूनी व्यवस्था भएको देखिन्छ । कसैको जग्गा खिचोला गर्नु र जग्गाको बाली लैजानु वेग्ला वेग्लै वारदात र विषय हुन् । अर्काको जग्गा खिचोला गरी बाली लगाएको अवस्थामा बाली खिचोला गर्नेले लगाएको मानी खिचोला गर्नेको बाली स्वीकार गरी लुटपीट ठहर नगर्ने हो भने खिचोलाले वैधानिकता प्राप्त गर्ने र अवैधानिक कार्यले प्रश्रय पाउने स्थिति आउँछ । यस्तो स्थितिमा अवैधानिक तरिकाबाट कब्जा खिचोला गरी लगाएको बालीमा, बाली जसले लगाए पनि सो जग्गाको बालीमा वैधानिक जग्गाधनीको हक निरन्तर रहिरहेको मान्नु नै औचित्यपूर्ण एवं विवेकसम्मत् समेत हुन्छ । यस्तो अवस्थामा जग्गाको बाली वैधानिक जग्गा धनीले नलिई अन्यले लिएको छ भने लुटपीट गरेको मान्नु पर्ने हुन्छ । तसर्थ खिचोला ठहरे लुटपीट हुँदैन र लुटपीट ठहरे खिचोला हुँदैन भन्ने पुनरावेदकका कानून व्यवसायीको बहस जिकीरसँग इजलास सहमत हुन सकेन ।
५. लुटपीट मुद्दा पहिला र खिचोला मुद्दा पछि परेको हुँदा पछि परेको मुद्दाको आधारमा अघिल्लो मुद्दा निर्णय गर्न मिल्दैन भन्ने अर्कोजिकीरका सन्दर्भमा हेर्दा कुन मुद्दा अगाडि पर्यो भन्ने भन्दा पनि जग्गा खिचोला भएको छ वा छैन ? लुटपीट भएको छ, वा छैन ? त्यो महत्वपूर्ण कुरा हो । प्रतिवादीमध्येका नेत्रबहादुर आले मगरले जग्गा खिचोला गरेको ठहर भएको सन्दर्भमा सो जग्गा जोती भोग गरी रहेको छु भन्ने वादीले लुटपीटको कार्य गरेनन् होला भनी अनुमान गर्न मिल्दैन । वादीका साक्षीले समेत प्रतिवादीले लुटपीट गरी बाली लगेको हुन् भनी बकपत्र गरेको परिप्रेक्ष्यमा प्रतिवादीमध्येका नेत्रबहादुर आले मगरले लुटपीटको कार्य गरेको देखियो । अन्य प्रतिवादीहरू उपर जग्गा खिचोला मुद्दा नपरेको र जोतभोग गर्न र बाली लैजान सहयोग गरेको भन्ने कतै प्रमाणबाट पुष्टि हुन नसकेको अवस्थामा निजहरूले लुटपीट गरेका हुन् भन्न मिल्ने देखिएन ।
६. अतः यिनै पुनरावेदक प्रतिवादी नेत्रबहादुर आलेमगर विरुद्ध प्रत्यर्थी वादी लेखकुमार शर्मा घिमिरे भएको संवत् २०६४ सालको ०४९३ को जग्गा खिचोला चलन मुद्दामा पुनरावेदक प्रतिवादी नेत्रबहादुर आले मगरले वादीको जग्गा खिचोला गरेको ठहर गरी भएको पुनरावेदन अदालतको फैसला सदर गरी आजै यसै इजलासबाट फैसला भएको सन्दर्भमा खिचोला गरेको जग्गा मेरो नै जोतभोग छ भनी प्रतिउत्तरपत्रमा उल्लेख गरेको कारण एवं माथि विवेचित आधार प्रमाणबाट प्रतिवादी नेत्रबहादुर आलेमगरले मात्र वादीको दावीको जग्गाको बाली लुटपीट गरेको देखिदा प्रतिवादीहरू सबैलाई लुटपीटको कसूरमा सफाई दिएको र झूठा फिराद गर्ने वादीलाई रु.१,०६०। जरिवाना गर्ने गरेको शुरु सर्लाही जिल्ला अदालतको फैसला केही उल्टी गरी प्रतिवादी तोयकुमारी थापा र छेमप्रसाद बरालले लुटपीट नगरेको र प्रतिवादी नेत्रबहादुर आलेले लुटपीट गरेको ठहर गरी पुनरावेदन अदालत जनकपुरले मिति २०६४।१।२ मा गरेको फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरी लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.कृष्णप्रसाद उपाध्याय
इति संवत् २०६७ साल वैशाख ६ गते रोज २ शुभम्
इजलास अधिकृत लीलाराज अधिकारी