निर्णय नं. ३४४८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. ३४४८ ने.का.प. २०४५ अङ्क ५
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०४२ सालको रिट नं. १८३७
आदेश भएको मिति : २०४३।९।१७।५ मा
रिट निवेदिका : जिल्ला सुनसरी, धरान न.पं.वार्ड नं. ४ बस्ने त्रैलोक्यकुमारी थापा
विरुद्ध
विपक्षी : का.मु. भूमिसुधार अधिकारी, भूमिसुधार कार्यालय, सुनसरीसमेत
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) मा मोहिले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निज पछि निजको पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भन्ने उल्लेख भएकोबाट सो उपदफामा उल्लेख भएका व्यक्तिहरु मध्येबाट जग्गाधनीले पत्याएको एकजना व्यक्तिलाई मोही हक प्राप्त हुने ।
(प्रकरण नं. १०)
(२) दुबैजनाको नाउँमा मोही हक संयुक्त नामसारी गर्नसक्ने ऐनले व्यवस्था गरेको नदेखिँदा मर्ने मोहीको छोराहरु दुइजनाका नाउँमा संयुक्त नामसारी गर्ने गरेको निर्णय त्रुटिपूर्ण देखिने ।
(प्रकरण नं. ११)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल
विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री केदारप्रसाद शर्मा र विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी
आदेश
प्र.न्या.धनेन्द्रबहादुर सिंह : भूमिसुधार कार्यालय सुनसरीको मिति ०४२।५।१२ को निर्णय उत्प्रेषणको आदेशद्धार बदर गरी पाउँ भनी नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ :
२. त्रैलोक्यकुमारीका नाउँको जि.सुन्सरी हुहली गा.पं.वार्ड नं. ५(क) कि.नं.१ को ज.वि.२–१२–१० र प्रकाशबहादुरका नाउँका ४–३–१० जग्गाको मोही हाम्रो पिता मधुरी शाह भएकोमा पिता र माता समेत परलोक भई सक्नु भएकोमा पिता र मातासमेत परलोक भई सक्नु भएकोले मोही नाउँसारी गरिपाउँ भनी विपक्षीहरु घुरन तथा सम्पतको विपक्षी कार्यालयमा संयुक्त निवेदन परेकोमा यिनै विपक्षीहरुले अघि बेदखली मुद्दा दिएकोमा मधुरीले २०२९ सालमा नै जग्गा जोत्न छाडी म जग्गाधनीले नै जोत भोग गरी आएको छु भन्ने समेत प्रतिवाद गरेको थिएँ । विपक्षी अधिकारीज्यूले मधुरीको नाउँमा मोहिको प्रमाणपत्र तयार भएको र वादीहरु मधुरीको हकवाला होइनन् भन्ने जिकिर नभएको मोही पछि ज.ध.ले पत्याएको व्यक्तिलाई मोही हक प्राप्त हुने र वादीहरु छोराहरु हुन् भन्ने प्रमाणबाट देखिएकोले मृतक मधुरी शाहको नाउँबाट छोराहरुका नाउँमा संयुक्त मोही नामसारी हुने ठहर्छ भनी मिति ०४२।५।१२ मा निर्णय गर्नु भयो जुन निर्णय त्रुटिपूर्ण छ ।
३. साविक दर्तावाला मोहिले ०२९ साल देखिनै जग्गा कमाउन छाडी हामीले कमाई आएको र ०३५ सालमानै मोही मरेका हुन् भन्ने हाम्रो प्रतिउत्तर जिकिरतर्फ कुनै मतलबै नराखी विपक्षी अधिकारीज्यूले निर्णय गर्नुभएको छ । विपक्षीहरुले पेश गरेको भर्पाईहरू सम्बन्धमा सद्दे कीर्तेमा सुन्सरी जिल्ला अदालतमा कारवाही चली रहेको छ भन्ने मेरो जिकिरतर्फ ख्यालै नराखी सो तथा बेदखली मुद्दालाई समेत असर पर्ने गरी गरिएको निर्णय त्रुटिपूर्ण छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम कसलाई पत्याउने भनी मलाई सोधिनु पर्नेमा सो कुरा सोधिएको छैन । कुनै एकलाई मोही पत्याउने हक आघात पुर्याई निर्णय गरिएको छ । धुरनका नाउँमा तत्काल प्राप्त २–३–० जग्गा र समेतका नाउँमा २–०–० जग्गा छ । मेरो नाउँको ज.बि. २–१२–१० जग्गा थप्दा ४ विगहा भन्दा बढि हुन जान्छ भूमिसम्बन्धी ऐन, २०२१ को दफा ८(१) मा निर्धारित मोहिले कमाउन पाउँने अधिकतम हदभन्दा बढि जग्गा कमाउन पाउने गरी गरिएको विपक्षी अधिकारीज्यूको निर्णय त्रुटिपूर्ण हुनाले बदरभागी छ । उपरोक्त उल्लेख गरिए अनुसार अधिकारीज्यूको त्रुटिपूर्ण निर्णयले मेरो संविधानको धारा १०(१), ११(२)(ङ) तथा १५ द्वारा प्रदत्त सम्पत्ति सम्बन्धी हकमा समेत आघात परेकोले उत्प्रेषणको आदेशद्वारा विपक्ष अधिकारीज्यूले गर्नुभएको मिति २०४२।५।१२ को निर्णय बदर गरी मेरो संवैधानिक तथा कानुनी हकको प्रचलन गराई पाउँ भन्ने समेत रिट निवेदन जिकिर ।
४. विपक्षीहरुबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको मिति २०४२।८।१२।४ को आदेश ।
५. रिट निवेदकको जिकिर अनुसार निजको जग्गा दर्तावाला मोही हाम्रो पिताले २०२९ साल देखिनै कमाउन छाड्नु भएको भए भूमिसम्बन्धी ऐन बमोजिमको कार्यविधि पुरा हुनु पर्ने, मोही लगत कट्टा हुनु पर्ने सो भए गरेको पाइँदैन । भू.सु.का.सुनसरीका का.मु.भू.सु.अ.ज्यूले न्यायिक मनको प्रयोग गरी सबूद प्रमाणको मूल्यांकन गरी हाम्रो नाउँमा उक्त जग्गाको मोहियानी हकको प्रमाणपत्र बनाई दिने गरी भएको निर्णय बिलकुल कानुनसंगत भएकोले रिट निवेदन खारेजभागी छ भन्ने समेत धुरन साहू तेली र सम्पत साहू तेलीको संयुक्त लिखित जवाफ ।
६. मृतक मोहिले मोही हक छाडेको कार्यालयबाट भएको निर्णय प्रतिउत्तरसाथ पेश गर्न नसकेकोले निजको भनाई कानुनी आधारयुक्त नहुनाले मोही हक छाडेको भन्न मिल्दैन । रिट निवेदकले प्रतिवाद गर्दा आफैंले वादीहरुमध्य एकजनालाई रोज्नु पर्नेमा नरोजेकोले मोही रोज्न पाइन्न भन्ने दावी उचित नभएको । मोही हदबन्दी भन्दा बढी जग्गा भएको कार्यालयबाट जफत गरी बिक्री वितरण गर्ने कानुनी व्यवस्था भएको हुँदा यस कार्यालयबाट मोही नामसारी हुने ठहराई भएको मिति ०४२।५।१२ को निर्णय कानुनसंगत भएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भूमिसुधार कार्यालय सुनसरीको लिखित जवाफ ।
७. रिट निवेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले साविक मोही मरेपछि निजको पति, पत्नी छोराहरु मध्ये कुनै एकलाई मोही पत्याउन पाउने अधिकार जग्गाधनीलाई भूमिसम्बन्धी ऐनको दफा २६(१) ले प्रदान गरिएको कुनै एकलाई मोही पत्याउन पाउने अधिकारबाट मेरो पक्षलाई बन्चित गरी गरिएको निर्णय प्रत्यक्षतः कानुनी त्रुटिपूर्ण हुनाले विपक्षी कार्यालयको उक्त निर्णय बदर गरिपाउँ भन्ने समेत बहस गर्नु भयो । विपक्षी कार्यालयको उक्त निर्णय बदर गरिपाउँ भन्ने समेत बहस गर्नु भयो । विपक्षी कार्यालयका तर्फबाट बहस गर्न उपस्थित विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्माले रिट निवेदकले भूमिसुधार कार्यालयमा प्रतिवाद गर्दा नै वादीहरु मध्ये कुनै एकलाई मोहिमा रोज्नु पर्दथ्यो । तर निज आफैंले कुनै एकलाई नरोजेकोले मोही रोज्न पाइन्न भन्ने निजको जिकिर उचित नहुनाले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत र विपक्षीहरुका तर्फबाट बहस गर्न उपस्थित विद्वान अधिवक्ता श्री प्रभूनारायण चौधरीले भू.सु.का.सुन्सरीका का.मु.सु.अ.ज्यूले न्यायिक मनको प्रयोग गरी सबूद प्रमाणको मूल्यांकन गरी मेरो पक्षहरुका नाउँमा मोहियानी हकको प्रमाण–पत्र बनाई दिने गरी भएको निर्णय कानुनसंगत भएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत बहस गर्नु भयो ।
८. प्रस्तुत रिट निवेदनमा निवेदकका माग अनुसारको आदेश जारी हुने हो होइन सो कुराको निर्णय दिनुपरेको छ ।
९. यसमा निर्णयतर्फ हाम्रो बाबु मधुरी साहू तेलीको मोहियानी जग्गा बाबु परलोक हुनुभएको आमा पनि परलोक हुनु भई हामी दुई भाइ छोरा मात्र भएकोले हाम्रो नाउँमा मोही नामसारी गरिपाउँ भन्ने समेत प्रत्यर्थी धुरन साहू तेली र सम्पत साहू तेलीको निवेदन परेकोमा छोराहरुका नाउँमा संयुक्त मोही नामसारी हुने ठहर्छ भनी प्रत्यर्थी भूमिसुधार अधिकारीले निर्णय गरेको देखिन्छ ।
१०. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) मा मोहिले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निज पछि निजको पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भन्ने समेत उल्लेख भएको छ । यसबाट सो उपदफामा उल्लेख भएका व्यक्तिहरु मध्येबाट जग्गाधनीले पत्याएको एकजना व्यक्तिलाई मोही हक प्राप्त हुने व्यवस्था गरेको पाइन्छ ।
११. प्रस्तुत मुद्दामा मर्ने मोही मधुरी साहू तेलीको छोराहरु प्रत्यर्थी घुरन साहू तेली र सम्पत साहू तेली दुइजनाको मोही नाउँसारी गरिपाउँ भन्ने दावी परेको पाइन्छ । दावी अनुसार दुबैजनाको नाउँमा मोही हक संयुक्त नामसारी गर्नसक्ने उक्त ऐनले व्यवस्था गरेको देखिँदैन । यस्तोमा, प्रत्यर्थी भूमिसुधार अधिकारी, भू.सु.का.सुनसरीले मर्ने मोही मधुरी साहू तेलीको छोराहरु प्रत्यर्थी घुरन साहू तेली, सम्पत साहू तेली दुइजनाका नाउँमा संयुक्त नामसारी गर्ने गरेको मिति ०४२।५।१२ को निर्णय त्रुटिपूर्ण देखिन आयो ।
१२. अतः उपर्युक्त उल्लेख भएअनुसार प्रत्यर्थी भूमिसुधार अधिकारी भू.सु. कार्यालय सुनसरीको मिति २०४२।५।१२ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानुन बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी भू.सु.का.सुनसरीका नाउँमा परमादेशको आदेश जारी गरिएको छ । यो आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् २०४३ साल पौष १७ गते रोज ५ शुभम् ।