निर्णय नं. ३४४९ - उत्प्रेषण, परमादेश लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

निर्णय नं. ३४४९ ने.का.प. २०४५ अङ्क ५
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
सम्वत् २०४३ सालको रिट नं. १६६४
आदेश भएको मिति : २०४५।२।२१।६ मा
निवेदक : कायम होलिया गाउँ पञ्चायत वडा नं.बस्ने रामप्यारीदेवी मुराउनी
विरुद्ध
विपक्षी : भूमिसुधार कार्यालय बाँकेका भूमिसुधार अधिकारीसमेत
विषय : उत्प्रेषण, परमादेश लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
(१) जग्गाधनी देखिएका रिट निवेदिकालाई बुझ्दै नबुझी निजलाई आफ्नो कुरा भन्ने मौका प्रदान नगरी निजका नामको दर्ताको जग्गा बिक्री वितरण गर्ने गरेको हदबन्दी जग्गा बिक्री वितरण समितिको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भई त्रुटिपूर्ण देखिने ।
(प्रकरण नं. १०)
रिट निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण लाल दास
प्रत्यर्थीतर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
आदेश
प्र.न्या.धनेन्द्रबहादुर सिंह : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत परी निर्णयार्थ पेश हुन आएकोमा तथ्य यसप्रकार छ :
२. भूमिसम्बन्धी ऐन लागू हुँदाका अवस्था आमा रजकला र वेचनलाल दुई परिवार कायम हुने अंशियार हुनुहुन्थ्यो । म २७ वर्ष उमेर पुगेकी मैले हक हिस्सा पाउने अवस्था नहुँदा मेरो नाम उल्लेख नभई ७ नं. अनुसूची भरियो । मिति २०३०।३।१८ मा ७ नं. फाँटवारी छानबीन हुँदा आमा रजकलिया र वेचनलालको २ परिवार कायम भई साविक दर्ताबाट ५८४–४–८ मध्ये २ परिवारको ५६–०–० विगहा राख्ने कटाई बाँकी ५२८–४–८ जफत हुनु पर्नेमा हाल सर्भेमा सो सम्पूर्ण जग्गा ३२०–१२–१ ३/४ कायम भएकोले सो मध्ये २ परिवारको ५५–१९–१७ राखी बाँकी २६४–१६–९ ३/४ जफत भएको थियो । आमा मिति २०३०।४।२ मा स्वर्गे भई मिति २०३०।४।८ मा लालताप्रसाद मुराउले रजकलाका नाममा रहेको २८ विगहा जग्गा प्राप्त गरी मोहिका नाममा वितरण गरिपाउँ भनी निवेदन दिएको र मिति २०३०।९।१६ मा सनाखत गरेको मलाई थाहा थिएन सो मुद्दामा म उमेर पुगेका छोरीलाई नबुझी बेचनलालले फाँटवारी नदिएको देखाई आमा रजकला नामको २८ विगहा जग्गा प्राप्त गर्ने मिति २०३१।६।२७ मा निर्णय गर्नु भयो मलाई जानकारी थिएन । आमाका नामको सो जग्गा नामसारी गरिपाउँ भनी निवेदन दिंदा कुनै हकदारको उजूर नपरेकोमा म हकदार भएको कुरा प्रमाणित गर्न नसकेको भन्दै मेरो उजूरी माथि कारवाही गर्न मिल्दैन भन्ने भूमिप्रशासन कार्यालय, बाँकेको निर्णयउपर मेरो पुनरावेदन परी नामसारी दर्ता गरिदिने भनी भेरी अञ्चल कार्यालय, नपालगञ्जबाट मिति २०३७।१।८ मा फैसला भयो । सो जग्गामा वेचनलालउपर खिचोला मुद्दा परेकोमा मिति २०३७।१०।१७ मा मेरा नाममा नामसारी दर्ता हुने ठहरी मिलापत्र भयो । मिलापत्र अनुसारको जग्गा मध्ये वेचनलाल मुराउका नाममा दर्ता रहेको जिल्ला बाँके फत्तेपुर गा.पं.वडा नं.७(क) कि.नं.५४, ५९, ६३, ८३, ८८, ९२, ९४, १००, १०५, १०९, ११०, १११, ११२, १२० १४०, १७८, ३०४, ३०६, ३१०, ३१७, ३२०, ३२२, ३२७, ३२८, ३३०, ३३१, ३३२, ३३७, ३३८, ३३९, ३४०, ३४४, ३४५, ३६१ समेत जम्मा मिति २०३७।१०।२१ को र.नं.१००६ को छोडपत्र अनुसार मेरा नाममा मिति २०३७।१०।२२ मा जग्गाधनी प्रमाण पूर्जा प्राप्त गरें । आमा रजकलाका नाममा दर्ता रहेको ऐ.कि.नं.३६६, ३६९ र ३७४ को जग्गाको मिति २०३७।१।८।१ को फैसला र मालपोत कार्यालय, बाँकेको मिति २०३७।१०।८ को निर्णय अनुसार जग्गाधनी दर्ता प्रमाण पूर्जा पाएकोमा श्री अधिकारीज्यूले मिति २०३८।१०।५।२ मा पुनः जग्गा प्राप्त गर्ने भनी निर्णय गर्नु भयो । सोउपर मैले पुनरावेदनपत्र गर्दा भेरी अञ्चल अदालतबाट मिति २०४१।३।२९ मा श्री अधिकारीज्यूको मिति २०३८।१०।५ को निर्णय बदर गरिदिने फैसला भयो । मेरो निर्विवाद हक भइसकेको उल्लिखित जग्गाहरु मध्ये जिल्ला बाँके फत्तेपुर गाउँ पञ्चायत वडा नं.७(क) कि.नं.८३ को ०–१०–१०½ बिक्री वितरण गर्ने भनी समितिले मिति २०४३।३।३१ मा निर्णय आदेश नं.२९ बाट आदेश गरेको कुरा मिति २०४३।४।१०।६ मा नक्कल लिई विदित हुन आयो ।
३. सो जग्गा कुन मितिमा प्राप्त गरी बिक्री वितरण गरिएको हो सो उल्लेख छैन । प्राप्त नै गरेको जग्गा बिक्री वितरण गरेको भूमिसम्बन्धी ऐनको दफा १३, १४, १५, १६ र २१ तथा ऐ.नियमावलीको नियम १६, १८, १९, २०, २१ र २३ को प्रत्यक्ष त्रुटी छ मेरो नामको दर्ताको जग्गामा मलाई बुझ्दै नबुझी स्वेक्षिक रुपले बिक्री वितरण गरेको प्राकृतिक न्याय सिद्धान्तको उल्लंघन हुन गएको छ । जग्गा प्राप्त नगरी बिक्री वितरण गर्ने अधिकार समितिलाई दिएको छैन । अधिकार क्षेत्रको त्रुटी छ । कानुन विपरीत भएको निर्णयले नेपालको संविधानको धारा १०(१), ११(१) र (ङ) १५ द्वारा प्रदत्त हक आघातित भएकोले उत्प्रेषण लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरी समितिको निर्णय बदर गरी जग्गा प्राप्त गर्ने स्वतः बदर निर्णयलाई निष्कृय घोषित गरिपाउँ भन्ने समेत रिट निवेदन ।
४. विपक्षीबाट लिखित जवाफ लिई आएपछि पेश गर्नु भन्ने समेत मिति २०४३।५।२४ गतेको श्री सर्वोच्च अदालत सिंगलबेञ्चको आदेश ।
५. रजकला मुराउनी परलोक भइसकेपछि दुई कोटाको जग्गा मिलाउँदा हदबन्दी भन्दा बढी भएको जग्गा विगहा २८–०–० प्राप्त गर्ने मिति २०३१।६।२७ मा निर्णय भएको कानुनी तवरबाट बदर हुनसकेको छैन । कानुन नियम बमोजिम प्राप्त गरेको जग्गा मोहिलाई बिक्री वितरण गरेको हो । रोज्ने छाड्ने मौका दिइएको हो । समितिबाट बिक्री वितरण गरेको पूर्ण कानुनी र न्यायसंगत छ । रिट निवेदिका सगोल बसेकी छोरी भन्ने कुरा नै आधारभूत प्रमाणको अभावमा दावी पुग्न नसक्ने भई रिट निवेदन खारेज हुनु पर्ने भन्ने समेत श्री ५ को सरकार भूमिसुधार मन्त्रालय हदबन्दी जग्गा बिक्री वितरण समिति र भूमिसुधार कार्यालय, बाँके समेतको लिखित जवाफ ।
६. प्रत्यर्थी राम आधार कुर्मीले तामेल भएको सूचनाको म्यादभित्र लिखित जवाफ नदिई गुजारी बसेको ।
७. रिट निवेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री कमलनारायणलाल दाशले रिट निवेदकका नाममा दर्ता भएको जग्गा प्राप्त गर्ने निर्णय भएको छैन । जग्गा प्राप्त नगरी बिक्री वितरण हुनसक्दैन । रिट निवेदकका नामको दर्ताको जग्गाहरुलाई बिक्री वितरण गर्ने निर्णय गर्नु भन्दा अघि रिट निवेदकलाई बुझ्नु पर्ने । तर रिट निवेदकलाई बुझ्दै नबुझी जग्गा बिक्री वितरण गरेको समितिको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत समेत हुँदा बदर हुनु पर्दछ, भन्ने समेत बहस गर्नु भयो । प्रत्यर्थी कार्यालयतर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले मिति २०३१।६।२७ गतेमा जग्गा प्राप्त गर्ने निर्णय भइसकेको छ । जग्गा बिक्री वितरण गर्ने गरेको समितिको निर्णयमा कुनै त्रुटी छैन भन्ने समेत बहस गर्नु भयो ।
८. प्रस्तुत रिट निवेदन–पत्रमा रिट निवेदकका माग अनुसारको आदेश जारी हुनु पर्ने हो होइन ? सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।
९. यस्मा निर्णयतर्फ हेर्दा प्रत्यर्थी हदबन्दी जग्गा बिक्री वितरण गर्न बसेको समिति बाँकेले प्रत्यर्थी राम आधार कुर्मीलाई जग्गा बिक्री वितरण गर्ने मिति २०४३।३।३१ मा निर्णय गर्दा साविक जग्गाधनीको नामको महलमा बेचनलाल मुराउ हाल रामप्यारीदेवी मुराउनी भन्ने उल्लेख भई जग्गाधनीमा रिट निवेदिकालाई देखाई रिट निवेदिकाको जग्गा बिक्री वितरण गरेको पाइन्छ । मेरा नाममा फैसला मिलापत्र समेतबाट जग्गाधनी दर्ता प्रमाण पूर्जा पाई हक भएको जग्गा मलाई बुझ्दै नबुझी जग्गा प्राप्त गर्ने निर्णय नगरी जग्गा बिक्री वितरण गर्ने गरेको प्रत्यर्थी समितिको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत हुँदा बदर गरिपाउँ भन्ने समेत रिट निवेदकको निवेदन जिकिर देखिन्छ ।
१०. त्यसरी रिट निवेदिकाका नाम दर्ताको जग्गा बिक्री वितरण गर्ने निर्णय गर्दा जग्गाधनी देखिएका रिट निवेदीकालाई आफ्नो कुरा भन्ने अवसर दिई निजको कथनलाई समेत दृष्टिगत गरी निर्णय गर्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा प्रत्यर्थी हदबन्दी जग्गा बिक्री वितरण समिति बाँकेले रिट निवेदिकाका नामका दर्ताको जग्गा बिक्री वितरण गर्ने निर्णय गर्दा जग्गाधनी देखिएका रिट निवेदिकालाई बुझी निजलाई आफ्नो कुरा भन्ने मौका प्रदान गरी निर्णय गरेको देखिँदैन । यसप्रकार जग्गाधनी देखिएका रिट निवेदिकालाई बुझ्दै नबुझी निजलाई आफ्नो कुरा भन्ने मौका समेत प्रदान नगरी निजका नामको दर्ताको जग्गा बिक्री वितरण गर्ने गरेको प्रत्यर्थी हदबन्दी जग्गा बिक्री वितरण समिति बाँकेको मिति २०४३।३।३१ गतेको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भई त्रुटिपूर्ण देखिन आयो ।
११. अतः उपरोक्त उल्लेख भएबमोजिम प्रत्यर्थी हदबन्दी जग्गा बिक्री वितरण समिति बाँकेले मिति २०४३।३।३१ मा रिट निवेदिकाको नामको जग्गा बिक्री वितरण गर्ने गरेको त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानुन बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी समितिका नाममा परमादेशको आदेश जारी गरिएको छ । यो आदेशको एकप्रति प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.पृथ्वीबहादुर सिंह
इति सम्वत् २०४५ साल ज्येष्ठ २१ गते रोज ६ शुभम् ।