शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३४५५ - कूत दिलाई मोही निष्कासन

भाग: ३० साल: २०४५ महिना: भाद्र अंक:

निर्णय नं. ३४५५ ने.का.प. २०४५   अङ्क ५

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४५ सालको दे.पु.नं. ८११

फैसला भएको मिति : २०४५।३।१६।५ मा

 

पुनरावेदक/वादी : विराटनगर न.पं.वा.नं.२२ बस्ने भूर्तजा मियाँ

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने फागु साह सुडी

 

मुद्दा : कूत दिलाई मोही निष्कासन

 

(१)                  बाली नलगाइने समयमा गोरु गाडाहरु आवत जावत गर्न सहज होस भन्नाको लागि आली काटिएको र बाटो भन्दा पनि उच्च जग्गालाई खेती योग्य बनाउन माटो काटिएकोलाई जग्गाको स्वरुप परिवर्तन गरी हैसियत घटाएको भनी मोही हकबाट नै निष्कासन हुने ठहर गर्नु न्यायोचित भन्न नसकिने ।

(प्रकरण नं. ११)

(२)                भू.सं.ऐन, २०२१ को दफा २९(२) मा जानी बुझी जग्गाको मोल वा उव्जा घट्ने गरी कुनै काम गरे वा मनासिब रेखदेख नपुर्‍याएको कारणले जग्गाको मोल वा उब्जा घटेमा वा १ वर्ष सम्म खेती नगरेमा वा खेतीमा हेलचेक्र्याई गरेको अवस्थामा मात्र मोही निष्कासन हुनसक्ने ।

(प्रकरण नं. ११)

 

पुनरावेदक वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त

विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल

 

फैसला

न्या.बब्बरप्रसाद सिंह : पु.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार रहेछ ।

२.     मेरो नाम दर्ताको जि.मोरङ ज्तुला कठकुव्या गा.पं.वडा नं.४(क) कि.नं.१२८,२३ र २५ को धनहर ज.वि.३५ र विराटनगर न.पं.वडा नं.१७ को कि.नं.७४ को धनहर ज.वि.०११५ समेत जम्मा ज.वि.३१११० जग्गामा प्रतिवादी मोही हुन । २०४०।१।१४ गते विहानको समयमा जग्गा हेर्न जाँदा कि.नं.१२८ को जग्गामा विदेशी मानिसबाट उत्तर पूर्वतर्फको र कि.नं.२३ र २५ को पश्चिमतर्फको आली धुर काटी दिएको ०४१।२।२५ गते कि.नं.७४ को जग्गाको माटो काटी उत्तर जग्गाहरुको मोल उब्जा घटने गरी खाल्टो गरी आली धुर भत्काई काटी सो जग्गाको माटो गोरु गाडामा लादी लगेकाले उपरोक्त जग्गाबाट प्रतिवादीको मोही हक निष्कासन गरी कूत बापतको जम्मा बिगो रु.२२७४।३५ प्रतिवादीबाट दिलाई पाउँ भन्ने समेत व्यहोराको     फिराद ।

३.     दावी बमोजिमको कूत मध्ये २१ मन बुझाई सकेको, समुच्च कूत बुझाउन अनावृष्टिको कारणबाट नसकेको जग्गाको आलीधुर काटी जग्गा नबिगारेको हुँदा दावी बमोजिम मोही निष्कासन हुनु पर्ने होइन भन्ने समेत प्रतिउत्तर ।

४.     कूततर्फको दावी मध्ये रु.२०५५।५८ मिन्हा पाउने देखिएको हुँदा सो कट्टा गरी बाँकी रु.४५८।३५ सम्म वादीले प्रतिवादीबाट भरी पाउने ठहर्छ । मोही निष्कासनतर्फ दावीको कि.नं.२३, २५, १२८ को जग्गा बिगारेको देखिँदा उक्त कि.नं.का जग्गाहरुबाट मोही हक निष्कासन हुने र कि.नं.७४ को जग्गाको मोही निष्कासनको दावी नपुग्ने भन्ने समेत व्यहोराको  मोरङ जि.अ.को २०४०।११।१४ को फैसला ।

५.     शुरु अदालतको इन्साफ चित्त बुझेन । सो फैसला बदर गरी मेरो मोही हक कायम नै राखिपाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको को.अं.अ.मा परेको पुनरावेदनमा मोरङ जि.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने को.अं.अ.को ०४१।८।१२ को फैसला देखिन्छ ।

६.     शुरु जि.अ.को इन्साफ सदर गर्ने गरेको अञ्चल अदालतको इन्साफमा कानुनी त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भनी पुनरावेदन गर्न अनुमति पाउन प्रतिवादीको पु.क्षे.अ.मा परेको निवेदनमा पुनरावेदनको अनुमति प्रदान भएकोमा बाटो भन्दा पनि उच्च जग्गाको केही बाटो काटिएकोबाट कसरी कति हैसियत घट्यो स्वयं वादीले नै भन्न नसकेको र खेत भएको उच्च जग्गाका बाटो काटिन्छ भने त्यो जग्गा झन असल हुन जाने मान्नु पर्छ । सामान्य व्यवहारको कुराले जग्गाको हैसियत र उब्जा घट्न जान्छ भनी मोहियानी हकबाट निष्कासन गर्नु न्यायोचित देखिँदैन । बाली केही बुझाइएको पनि देखिएकोबाट जग्गाको हैसियत बिगोको भन्ने आधारमा प्रतिवादीलाई मोही हकबाट नै निष्कासन गर्ने भनी ठहराएको मो.जि.अ.को इन्साफ सदर गरेको को.अं.अ.को इन्साफ समेत उल्टी भई मोही हकबाट प्रतिवादी निष्कासन हुने ठहर्दैन भन्ने समेत व्यहोराको पु.क्षे.अ.बाट फैसला भएको देखिन्छ ।

७.     जानी बुझी जग्गाको मोल वा उब्जा घट्ने कार्य गरेको हुनुको साथै मनासिब रेखदेख नपुर्‍याएको कुराले जग्गाको हैसियत घटाएको भन्ने कुरा नक्शा मुचुल्काबाट प्रष्ट देखिएको अवस्थामा मोही निष्कासन नगर्ने गरी गरेको पु.क्षे.अ.को फैसलामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(२) को प्रत्यक्षतः गलत व्याख्या हुन गएकोले पुनरावेदनको अनुमति पाउँ भनी वादी भूर्तजा मियाँको यस अदालतमा पुनरावेदन गर्ने अनुमति पाउँ भनी पर्न आएको निवेदनमा अनुमति प्राप्त भई आएको पाइन्छ ।

८.     नियम बमोजिम पेशीमा चढी आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले मेरो पक्षको नाम दर्ताको जग्गामा प्रतिवादी मोही भएको कुरामा विवाद नरहेको तर विपक्षी मोहीले जग्गाधनीलाई तिर्नु बुझाउनु पर्ने सालिन्दा कूतबाली पनि कहिले बाँकी रहने गरी आँशिक बुझाउने, कहिले बुझाउँदै नबुझाउने गरी मोहीले जग्गाधनी प्रति निर्वाह गर्नुपर्ने दायित्व पूरा नगरेको साथै जग्गाको हैसियत बिगारेको तथ्य अदालतबाट भई आएको नक्शा प्रकृति मुचुल्काबाट विवाद रहित रुपले प्रमाणित भई नै रहेको जग्गाको साविक रुप परिवर्तन भएकोमा जग्गाको हैसियत नघट्ने भन्न सकिने आधार पनि नभएको जग्गाको भई आएको प्रकृति मुचुल्काबाट जग्गाको रुप परिवर्तन भएको अवस्थालाई सामान्य र व्यवहारिक भन्न मिल्ने पनि नहुँदा क्षे.अ.बाट भएको निर्णय बदर गरी मोहीबाट निष्कासन गरिपाउँ भनी बहस गर्नु भयो भने विपक्षीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहालले आफ्नो बहसको क्रममा कूतबाली नबुझाएको भन्ने दावीको हकमा अनावृष्टिको कारण कूतबाली मिन्हा दिने सम्बन्धमा सम्बन्धित कार्यालयबाट निर्णय भएको साथै दावीको कूतबाली मध्ये २१ मन बुझाएको नै छु मोही निष्कासनतर्फ विवादीत मेरो मोही हकको जग्गा साविकमा उच्चा रहेकोमा उब्जा कमी भई उब्जा वृद्धि गराउन मेरो पक्षको भगिरथ प्रयत्नबाट सो जग्गा समेतल र मलिलो बनाएको सोही अवस्थाले जग्गाको मूल्यांकन बढी जाने भएको देखी मोही हकबाट निष्कासन गर्ने प्रयास निज वादीले गरेका हुन् जग्गाको प्रकृति मुचुल्का उब्जाउ नलाएको समयमा भएको मधेशमा गोरु गाडा लान लेराउन सहज होस भन्ने हेतुले खेत डिल आली खेतसँगै समान गरिन्छ त्यत्तिकै अवस्थालाई खेतको हैसियत घट्ने भन्ने तर्क कानुन र व्यवहार संगत पनि हुँदैन मोहीको हैसियतले जीवन धान्ने मेरो पक्षले सोही जग्गाको हैसियत बिगारेको होला भन्ने तर्क आधारहीन कपोल कल्पीत मान्नु पर्छ तसर्थ मेरो पक्ष मोही हकबाट  निष्कासन नहुने ठहर गरेको पु.क्षे.अ.को इन्साफ सदर होस भनी प्रस्तुत गर्नुभएको बहस जिकिर समेत सुनियो ।

९.     प्रस्तुत मुद्दामा पु.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ भनी निर्णय दिन पर्ने देखिन  आयो ।

१०.     मेरो नाम दर्ताको कि.नं.२३,२५, १२८ ७४ को जग्गामा विपक्षी मोही भएको सालिन्दा कूतबाली नबुझाएको सँधै जग्गाको हैसियत समेत बिगारेकोले कूतबाली दिलाई मोही हकबाट निष्कासन गरिपाउँ भन्ने वादीको मुख्य दावी रहेकोमा जग्गाको हैसियत बिगार्ने काम नभएको कूतवाली २१ मन बुझाई सकेको हुँदा मोही हकबाट निष्कासन हुन पर्ने होइन भन्ने प्रतिवादी जिकिर रहेकोमा मोही निष्कासन नहुने पु.क्षे.अ.बाट निर्णय भएको देखिन्छ ।

११.     यसमा मोल उब्जा घट्ने गरी जग्गाको स्थिति बिगारेको भनिएको विवादीत कि.नं.२३, २५, १२८ र ७४ को जग्गाको भई आएको नक्शा प्रकृति मुचुल्काबाट यी प्रतिवादीले जानी बुझी जग्गाको मोल वा उब्जा घट्ने गरी कुनै काम गरेको वा मनासिब रेखदेख नपुर्‍याएको जग्गाको हैसियत घटाएको भनी भन्न सकिने अवस्था र स्थिति देखिन आएन । बाली नलगाइने समयमा गोरु गाडाहरु आवत जावत गर्नु सहज होस भन्नाको लागि आली काटिएको र बाटो भन्दा पनि उच्च जग्गालाई खेती योग्य बनाउन माटो काटिएकोलाई जग्गाको स्वरुप परिवर्तन गरी हैसियत घटाएको भनी मोही हकबाट नै निष्कासन हुने ठहर गर्नु न्यायोचित भन्न   सकिएन । अतः भू.सं.ऐन, २०२१ को दफा २९(२) मा जानी बुझी जग्गाको मोल वा उब्जा घट्ने गरी कुनै काम गरेको वा मनासिब रेखदेख नपुर्‍याएको कारणले जग्गाको मोल वा उब्जा घटेमा वा १ वर्षसम्म खेती नगरेमा वा खेतीमा हेलचेक्र्याँई गरेको अवस्थामा मात्र मोही निष्कासन हुनसक्ने कानुनी व्यवस्था विद्यमान रहेको तर उक्त अवस्था प्रस्तुत विवादमा भए रहेको नदेखिएको हुँदा मोही निष्कासन नहुने ठहर गरेको पु.क्षे.अ.को इन्साफमा कुनै कानुनी त्रुटी नहुँदा इन्साफ मनासिब ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी राखी पुनरावेदन दायर भएको देखिँदा केही गर्न परेन मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.प्रचण्डराज अनिल

 

इति सम्वत् ०४५ साल आषाढ १६ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु