शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८४६६ - जबरजस्ती करणी

भाग: ५२ साल: २०६७ महिना: पौस अंक:

निर्णय नं.८४६६ ने.का.प २०६७ अङ्क ९

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी

माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय

संवत् २०६३ सालको फौ.पु.नं. १६७

फैसला मितिः २०६६।११।११।३

मुद्दाःजबरजस्ती करणी

 

      पुनरावेदक वादीः रामबन धवलको जाहेरीले नेपाल सरकार

विरुद्ध

      प्रत्यर्थी प्रतिवादीः जिल्ला रुपन्देही बोदबार गा.वि.स.वडा ९ बस्ने मोईला भन्ने मुवारक   मिर मुसलमान

 

§  जबरजस्ती करणीको अपराध सामान्य प्रकृतिको अन्य अपराधजस्तो होइन । सामान्यतयाः अन्य अपराधमा पीडकले गर्ने आपराधिक कार्य (Criminal Act) बाट एक वा अर्को प्रकार र परिमाणको प्रतिफल (Return) प्राप्त हुन्छ । त्यो प्रतिफल आर्थिक लाभ होस, इबी साधन होस अथवा मनोबैज्ञानिक संन्तुष्टि (Psychological Satisfaction) नै किन नहोस् एक वा अर्को प्रकारको प्रतिफलका लागि मानिसले अपराध गर्दछ । त्यसैले अपराधबाट हुने लाभ वा प्रतिफलको आधारमा अन्य अपराधहरूको स्वरुप र गम्भीरता निर्धारण हुन्छ । जबरजस्ती करणीको अपराध भिन्न प्रकृतिको विशेष र गम्भीर अपराध हो । यसको स्वरुप र गम्भीरताको मापन दुई प्रकारले हुन्छ । पहिलो मापदण्ड हो पीडितलाई हुने क्षति र दोस्रो हो पीडकलाई प्राप्त हुने प्रतिफल ।

(प्रकरण नं.३)

§  जबरजस्ती करणीको अपराधमा पीडितको शारीरिक, मानसिक र मनोवैज्ञानिक जुन क्षति हुन्छ, त्यो अपूरणीय हुन्छ । यसबाट पीडितको स्वतन्त्र मानवीय अस्तित्व, मान, सम्मान र उसको व्यक्तिगत एवम् सामाजिक प्रतिष्ठा, मानमर्यादा र मानवीय अस्मिता लुटिएको हुन्छ । उसको स्वतन्त्र अस्तित्व नै खण्डित भएको हुन्छ । त्यसैले पीडितको क्षतिको आधारलाई जबरजस्ती करणीको अपराध प्रमाणित गर्ने सन्दर्भमा पहिलो मापकको रुपमा अदालतले ग्रहण गर्नुपर्ने ।

§  एउटी सातवर्र्षीया नाबालिकासँगको घृणित आपराधिक कार्यको सन्दर्भमा अरु कार्यहरू गरी सकेको अवस्थामा पीडितको योनीमा पीडकको लिङ्ग प्रबेश आँशिक वा पूर्ण जे जस्तो अवस्थाको भएपनि जबरजस्ती करणीको कसूर प्रमाणित हुन त्यति नै पर्याप्त हुन्छ । उद्योग भनेको जबरजस्ती करणीको प्रयास गर्नुसम्म हो । जबरजस्ती करणी गर्ने कामको प्रारम्भ गरी सकेपछि उद्योगको अवस्था रहँदैन । त्यो काम जुन चरणसम्म गरेको भएपनि कामको उद्योग नभै कामै गरेको ठहरिने ।

(प्रकरण नं.४)

पुनरावेदक वादी तर्फबाटः

प्रत्यर्थी प्रतिवादी तर्फबाटः

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

      जबरजस्ती करणीको महलको ३(१) र १० नं.

 

फैसला

      न्या.ताहिर अली अन्सारीः यसमा यस अदालतबाट मिति २०६४।९।१०।३ (नेकाप २०६४,अङ्क ९ नि.नं. ७८८० पृष्ठ १२०८) मा जारी भएको विशेष प्रकृतिका मुद्दाहरूको कारवाहीमा पक्षहरूको गोपनीयता कायम राख्ने निर्देशिका, २०६४ को दफा ३(१) बमोजिम जाहेरवाला र पीडितको नाम परिबर्तन गरी निजहरूको वास्तविक नाम सिलबन्दी गरी मिसिल सामेल गरिएको छ । सो सिलबन्दी खाम फैसलाको अभिन्न अङ्ग मानी अ.ब..२१ नं बमोजिम तायदाती फारामको नमूनाको कहिल्यै नसडाउने महलमा उल्लेख गरी अभिलेख राख्नु ।

      पुनरावेदन अदालत बुटबलको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई दायर भएको प्रस्तुत मुद्दाको सार संक्षेप र ठहर यस प्रकार छः

      मेरो छोरी बर्ष ७ को सीतावन(परिबर्तित नाम) धवललाई मिति २०५९।७।१ गतेका दिन म घरमा एक्लै रहेको अवस्थामा गाउँकै मोइल भन्ने मुवारक मिर मुसलमानले प्रलोभन देखाई गाउँकै रामवृक्ष धवलको घरमा कोही नभएको अवस्था जबरजस्ती करणी गरेको हुँदा कारवाही गरिपाऊँ भन्ने व्यहोराको रसियाबन धवल धोवीको जाहेरी दरखास्त ।

      जिल्ला रुपन्देही.बोदवार गा.वि.स. वडा नं. ९ ललितपुर स्थित पूर्व रामवृक्ष धवलको घर, पश्चिम सह आलम गद्दीको खेत,उत्तर सम बनियाको घर,दक्षिण मोहरत मिर मुसलमानको घर, यतिचार किल्लाभित्र पूर्व मोहडा भएको १ तले माटोले बनेको खपडाको कच्ची घर सो घरभित्र १ वटा खाली खटिया सो खटियामा पीडितलाई जबरजस्ती करणी गरेको भन्ने घटनास्थल मुचुल्का ।

      मिति २०५९।७।१ गते १६ बजेको समयमा आफ्नै घरमा धान सुकाई बिस्कुन कुरी रहेको अवस्थामा गाउँकै मोइल भन्ने मुवारक मिर मुसलमान मेरो घर आँगनमा आई मसँग हिड तिमीलाई मिठाई दिन्छु भनी प्रलोभन देखाई गाउँकै रामवृक्ष धवलको घरमा लगी खटियामामाथि राखी मैले लगाएको कट्टु जबरजस्ती खोली मेरो गुप्तांगमा निजले लिङ्ग पसाएर करणी गरेका हुन् कसैलाई जानकारी नगराउनु भनी डरत्रास देखाएको कारण राती १२ बजेमात्र आमालाई जानकारी गराएको हुँ भन्ने समेत व्यहोराको पीडित सीताबन धवलको कागज ।

      मलाई केही दिन अगाबैदेखि यौन सम्पर्क गर्ने इच्छा जागेबाट मिति २०५९।७।१ गते जाहेरवालको घरतर्फ जाँदा निज सीतावन धवललाई एक्लै घर आँगनमा धान सुकाई बिस्कुन कुरी रहेको अवस्थामा देखी गाउँबाट चक्लेट किनी ल्याएर निजलाई दिई गाउँतर्फ जाउँ भनी लिई गाउँकै रामवृक्ष धवलको घरमा कोही नभएको अवस्थामा निजले लगाएको कट्टु खोली करणी गरी रहँदा रोई चिच्याएकी र निजको योनीबाट रगत बगेको देखी करणी गर्न छाडी कसैलाई जानकारी नगराउनु गराए मारीदिन्छु भन्ने डर धम्की वारदातस्थलमा दिएको हुँ भन्ने प्रतिवादी मोइल भन्ने मुवारक मिर मुसलमानको अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

     मिति २०५९।७।१ गते बिहन खाना खाई घर परिवार अन्य सबै काममा गएका र बर्ष ७ की छोरी सीतावन धानको बिस्कुन कुरी घरमा बसेकोमा बेलुका कामबाट घर फर्की खाना खाई सबै सुतेको अवस्थामा रातको १२ बजेको समयमा छोरी सीतावन धवलको आफ्नो कट्टुमा रगत लागेको देखी सोधपुछ गर्दा गाउँकै मोइल भन्ने मुवारक मिर मुसलमान दिनको ४ बजेतिर मैले बिस्कुन सुकाएको ठाउँमा आई तिमीलाई मिठाई पैसा समेत दिन्छु भनी प्रलोभन देखाई गाउँकै रामवृक्षको घरमा मानिस नभएको मौका पारी मैले लगाएको कट्टु जबरजस्ती खोली खटियामाथि सुताई मेरो गुप्ताङ्गमा निजले लिङ्ग पसालेर केही बेर करणी गरेका हुन् । सो अवस्थामा म चिच्याई गराउँदा कोही कसैलाई जानकारी नगराउनु भनी डरत्रास देखाएकोले कसैलाई जानकारी नगराएको हुँ पीडाको कारण तपाईलाई भनेको हुँ भनी छोरी ताराकुमारी धवलले बताएको हुँदा सुनी थाहा पाएको हुँ भन्ने समेत व्यहोराको पीडितको आमा सावित्री (परिवर्तित नाम) धवलको प्रहरीमा गरेको कागज ।

            मिति २०५९।७।१ गतेका दिन निज मोइल भन्ने मुवारक मिर मुसलमानले ऐ.ऐ. बस्ने ताराकुमारी धवललाई जबरजस्ती करणी गरेको भन्ने कुरा गाउँ घरमा होहल्ला भए पश्चात ऐ. २ गते थाहा पाएको हो भन्ने समेत व्यहोराको रामबृक्ष धवल, मस्तार अहमद खाँ, भागीरथी गुप्ता, इस्लाम.बेग, बेयस मोहम्मद समेतको एकै मिलानको वस्तुस्थिती मुचुल्का ।

      प्रतिवादी मोइल भन्ने मुवारक मिर मुसलमानले जाहेरीबालाको बर्ष ७ को छोरी सीतावन धवललाई फकाई घटनास्थलमा लगी डरत्रास देखाई जबरजस्ती करणी गरेको र निजको उक्त कार्य मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र ३ (१) नं. बमोजिम कसूर हुँदा निज प्रतिवादीलाई मुलुकी ऐन,जबरजस्ती करणीको महलको ३(१) नं. बमोजिम सजाय हुन र ऐ. को १० नं. बमोजिम निज प्रतिवादी मोइल भन्ने मुवारक मिर मुसलमानको आधा अंश सर्वश्व गरी पीडित सीतावनलाई दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको अभियोग दावी ।

      यी जाहेरवाला तथा मेरो बाबुको बीचमा लेनदेन कारोबार रहेको, सो विषयमा विवाद भै तिमीलाई फसाउँछु भनी भन्दै आएका थिए र यस मुद्दामा जाहेरी दिएकी हुुन । सीतावनलाई मैले करणी गरेको होइन र मिठाई खान दिएको पनि होइन प्रहरीमा मैले त्यस्तो बयान गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादीले अदालतसमक्ष गरेको बयान ।

      आदेशबमोजिम वस्तुस्थिती मुचुल्का मानिस वेयस मोहम्द, जाहेरबाला रसियावन धवल, प्रहरीमा कागज गर्ने शान्ती धवल, पीडित सीतावन धवलले शुरु जिल्ला अदालतसमक्ष गरेको बकपत्र मिसिल सामेल रहेको ।

     जाहेरी दरखास्त पीडितको स्वास्थ्य परीक्षण प्रतिबेदन समेतबाट जबरजस्ती करणी वारदात भएको देखिएको पीडित र साबित्री धवलले अदालतमा भिन्न प्रकृतिको कागज गरे पनि वारदातलाई स्वीकार गरेको सामान्य झगडामा जबरजस्ती करणी जस्तो गम्भीर अपराध खडा गर्नुपर्ने अवस्था नदेखिएको वस्तुस्थिति मुचुल्काका मानिस वेयस मोहम्मदले आफ्नो गल्ती प्रतिवादीले स्वीकारेको थियो भनी बकपत्र गरेको समेतबाट जबरजस्ती करणीको वारदात स्थापित हुन आयो । प्रतिवादीले पीडितको योनीभित्र लिङ्ग पूर्ण प्रवेश गराई नसकेको र योनी भित्रबाट समेत विर्य स्खलन भैसकेको अवस्था नदेखिएकोले प्रतिवादी मुवारक मिर मुसलमानले मुलुकी ऐेन, जबरजस्ती करणीको ५ नं.अनुसार जबरजस्ती करणी उद्योग कसूर गरेको देखिदा ५ (पाँच) बर्ष कैद हुने ठहर्छ भन्ने समेत व्यहोराको रुपन्देही जिल्ला अदालतले मिति २०६१।५।२४ मा गरेको फैसला ।

     पीडित, जाहेरवाला र पीडितको आमा साबित्री धवल समेतको बकपत्रबाट म निर्दोष व्यक्तिउपर प्रहरीले जबरजस्ती जाहेरी दरखास्त दिन लगाएको र जबरजस्ती करणी सम्बन्धी वारदात नभएको भन्ने स्पष्ट हुन्छ । साबित्री धवलले छोरी सीताबनको योनीमा पहिल्यै घाउ भएको भनी बकपत्र गरेबाट ताराको स्वास्थ्य परीक्षण प्रतिबेदनलाई मुख्य आधार बनाउन मिल्ने होइन । प्रहरीसमक्ष इच्छा बिरुद्ध गराएको बयान अन्य प्रमाणबाट समर्थित नभएको अवस्थामा प्रमाणमा लिन मिल्दैन मिसिल संलग्न प्रमाणबाट अभियोग दावी पुष्टी हुन नसकेकोमा बिना आधार कसूरदार ठहराएको शुरु फैसला नमिलेकोले उल्टी गरी सफाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदनपत्र ।

      वारदात भएको कुरा अदालत स्वयंले स्वीकार गरेको देखिन्छ । विद्वानहरूले विभिन्न अवस्था र परिस्थितिलाई उल्लेख गरी जबरजस्ती करणी हुनको लागि लिङ्गको योनीमा प्रवेश वा स्पर्शलाई नै मुख्य आधार मानी लिङ्गको पूर्ण प्रवेश हुन वा योनीभित्र विर्य स्खलन हुनु वा योनीको कन्याजाली फाटेको हुनुलाई करणी भएको कुरालाई पुष्टी गर्ने अपरिहार्य आधार ठानेको पाइदैन । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट देखिएको प्रकृति र अवस्था प्रतिवादीले जबरजस्ती करणी गर्दा भएको भन्ने तथ्य प्रतिवादीको बयान एंव पीडितको मौकाको कागज समेतबाट देखिएको र मिसिल संलग्न प्रमाणबाट जबरजस्ती करणीको वारदात भएको स्पष्ट भएको अवस्थामा उद्योगको कसूर कायम गरी सजाय गरेको शुरु फैसला त्रुटिपूर्ण देखिंदा उल्टी गरी अभियोग मागदावी अनुसार प्रतिवादीलाई सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।

      जबरजस्ती करणीको उद्योगकोसम्म कसूर कायम गरी प्रतिवादीलाई ५ (पाँच) वर्ष कैदको सजाय गर्ने गरेको रुपन्देही जिल्ला अदालतको मिति २०६१।५।२४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । दुवै पक्षको पुनरावेदन जिकीर पुग्न सक्तैन भन्ने मिति २०६१।१२।२५ को पुनरावेदन अदालत बुटवलको फैसला ।

      प्रतिवादी मुबारक मिर मुसलमानले जबरजस्ती करणीको कसूर गरेको भन्ने तथ्य मौकामा निज प्रतिवादीले कसूरमा साबित भै गरेको बयानलाई मौकामा पीडित र पीडितको आमाले जबरजस्ती करणी गरेको हो भनी लेखाई दिएको र अदालतमा समेत आई बकपत्र गरेकोबाट पुष्टि भएको छ । पीडितको शारीरिक परीक्षणबाट कन्याजाली च्यातिएको र योनी सुनिएको भनी लेखाई दिएको देखिएबाट सो जबरजस्ती करणीको कसूर पुष्टि भएको हुँदा योनीमा बीर्य फेला नपरेको भन्ने आधारमा जबरजस्ती करणीको कसूर ठहर गर्नुपर्नेमा सो कसूरको उद्योगसम्म ठहर गरेको शुरुको फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको फैसला त्रुटिपूर्ण हुँदा मुद्दा दोहो¥याई हेरी सो फैसला बदर गरी अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको निवेदन पर्न आएको ।

      यसमा पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय भीम अस्पताल रुपन्देहीको मिति २०५९।७।४ को पीडितको परीक्षण प्रतिबेदनमा योनीको बाहिरी भाग सुन्निएको रगतको डाम भएको, योनीको बीट च्यातिएको र घाउ भएको भन्ने समेतको प्रतिबेदन प्राप्त भएको, प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष साबिती बयान गरेको अवस्थामा जबरजस्ती करणीको उद्योगतर्फमात्र सजाय गरेको पाइन्छ । यस अदालतबाट मिति २०६३।२।२८ गते इन्साफ भएको २०६२ को फौ.पु.नं.३७६० श्री ५ को सरकार विरुद्ध भीमबहादुर पोखरेल भएको जबरजस्ती करणी मुद्दामा जबरजस्ती करणीको वारदात कायम हुनका लागि योनिभित्र लिङ्ग पूर्ण प्रबेश गरेको हुनुपर्ने वा योनिभित्रै  बिर्य स्खलन भएको हुनुपर्ने वा पीडितको योनीको कन्याजाली च्यातिएको हुनुपर्ने भन्ने कुरा उल्लेख नभएको अवस्थामा लिङ्ग र योनीबीच सामान्य घर्षण प्रर्याप्त हुने भन्ने समेतको सिद्धान्त प्रतिपादन भएको परिप्रेक्षमा उल्लिखित प्रतिपादित सिद्धान्त र कानूनी व्यवस्था समेतको विपरीत जबरजस्ती करणीको उद्योगतर्फमात्र सजाय गर्ने गरेको पुनरावेदन अदालत बुटवलको मिति २०६१।१२।२५ को फैसला उल्लिखित प्रतिपादित सिद्धान्त र मुलुकी ऐन जबरजस्ती करणीको महलको १ नं मा भएको कानूनी व्यवस्था समेतको विपरीत हुँदा न्याय प्रशासन ऐन,२०४८ को दफा १२(१) (क) र (ख) को आधारमा प्रस्तुत मुद्दा दोहो¥याई हेर्न अनुमति प्रदान गरिएको छ भन्ने मिति २०६३।६।६ को यस अदालतको संयुक्त इजलासको आदेश ।

     नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको पुनरावेदन जिकीर सहितको मिसिल अध्ययन गरी हेर्दा प्रतिवादी मोइल भन्ने मुवारक मिर मुसलमानलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १, र ३(१) नं को कसूरमा सोही महलको ३(१) नं. बमोजिम सजाय गरी १० नं. बमोजिम पीडितलाई प्रतिवादीको आधाअंश भराई दिने अभियोग दावी भएकोमा प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ५ नं. अनुसार जबरजस्ती करणीको उद्योगको कसूर ठहर गरी ५ बर्ष कैद हुने ठहर गरेको शुरुको फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको फैसलाउपर वादी नेपाल सरकारको मुद्दा दोहो¥याई पाऊँ भन्ने निवेदन परी दोहो¥याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालतको फैसला मिले नमिलेको विषयमा र वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्ने हो होइन भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

      वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनु भएका बिद्धान उपन्यायाधिवक्ता श्री योगराज बरालले बारदात भएको कुरा स्वयम् अदालतले स्वीकारेको अवस्था विद्यमान रहेको छ । जबरजस्ती करणी हुनको लागि लिंङ्गको योनीमा पुरै प्रवेश वा विर्य स्खलन हुनु वा कन्याजाली फाटेको हुनुपर्छ भन्ने तथ्यलाई अपरिहार्य आधार मानिदैन । पीडितको स्वास्थ्य परिक्षण प्रतिवेदनबाट देखिएको प्रकृति र अवस्था पीडितको मौकाको कागजले प्रतिवादीले जबरजस्ती करणी गरेको भन्ने तथ्य पुष्टी भै राखेको अवस्थामा शुरु जिल्ला अदालतले जबरजस्ती करणीको उद्योग ठहर गरेको फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावी बमोजिम सजाय समेत गरिपाऊँ भन्ने समेत बहस गर्नुभयो ।

      विद्वान सरकारी वकीलको बहससमेत सुनी मिसिल संलग्न कागज प्रमाण अध्ययन गरी निर्णयतर्फ विचार गर्दा मिति २०५९।७।१ का दिन जाहेरवालाको वर्ष ७ की छोरी सीतावन घरमा एक्लै भएको मौकापारी प्रलोभन देखाई गाउँकै रामबृक्ष धवलको घरमा कोही नभएको अवस्थामा प्रतिवादीले जबरजस्ती करणी गरेको भन्ने जाहेरी दरखास्तबाट अनुसन्धान प्रारम्भ भएको रहेछ । यी प्रतिवादीले अनुसन्धानमा साबिती बयान दिएको र अदालतमा इन्कारी बयान गरे पनि रामवृक्ष धवलको घरमा लगी खाटियामाथि राखी मेरो कट्टु खोली गुप्ताङ्गमा लिङ्ग पसाएर करणी गरेको हुन् भनी पीडित बालिकाले लेखाई दिएको तथ्यलाई पीडितको स्वास्थ्य परीक्षण प्रतिबेदनबाट योनी च्यातिएको र सुन्निएको भन्ने देखिएबाट पीडितको कागज र अनुसन्धानको क्रममा भएको बयानको पुष्टी हुनआएको छ ।

            २. वारदातबाट पीडित सीतावन धवल र निजकी आमा साबित्री धवलले समेत अदालतमा उपस्थित भै बकपत्र गर्दा पीडित सीतावनलाई पिटेकोमा प्रहरीमा गै उजूर गरेकोसम्म हो भनेको देखिए पनि सामाजिक कारणले र वारदात भएको ११ महिनापछि त्यस्तो बकपत्र गरेको भन्ने देखिन आउँछ । मौकाको जाहेरी र पीडितको कागजबाट करणीसम्बन्धी वारदात पुष्टी भएको देखिएको र डाक्टरको प्रतिबेदनबाट यौनिक अपराध भएको देखिन्छ । सो कार्य प्रतिवादीकै कारणबाट हुन गएको भन्ने देखिएको छ भने पीडित र जाहेरवालाले अदालतमा गरेको बकपत्रमा करणी गरेको होइन भनी लेखाएको नदेखिदा उक्त कसूर यिनै प्रतिवादीले गरेको भन्ने कुरा शंकारहित प्रमाणहरूबाट प्रमाणित भई रहेको छ । जबरजस्ती करणीको उद्योगसम्म ठहर गरेउपर प्रतिवादीको निवेदन नपरी वादी पक्षबाट प्रस्तुत पुनरावेदन परेको समेत देखिन्छ ।

      ३. अब प्रतिवादीले गरेको कसूरको प्रकृति र गम्भीरता हेर्दा यी प्रतिवादीले पीडित सीतावनलाई आफूले करणी गर्ने मनसायले रामबृक्षको घरमा लगेको, निज नाबालिकालाई सुताएको र निजमाथि अपराधिक कार्य गरेको देखिई सकेपछि पीडितको योनीभित्र प्रतिवादीको पूरै लिङ्ग प्रबेश गरेनगरेको र योनीभित्र वीर्य स्खलन भए, नभएको कुराले कुनै महत्व राख्दैन । आंशिक योनी प्रबेश वा प्रबेश हुन सकी सो संवेदनशील ठाउँमा अर्थात योनी क्षेत्रमा लिङ्गको घर्षण पनि जबरजस्ती करणी प्रमाणित हुन पर्याप्त हुन्छ । जबरजस्ती करणीको अपराध सामान्य प्रकृतिको अन्य अपराधजस्तो होइन । सामान्यतया अन्य अपराधमा पीडकले गर्ने अपराधिक कार्य ९Criminal Act० बाट एक वा अर्को प्रकार र परिमाणको प्रतिफल ९चभतगचल० प्राप्त हुन्छ । त्यो प्रतिफल आर्थिक लाभहोस, इबी साधन होस अथवा मनोबैज्ञानिक संन्तुष्टि ९Psychological Satisfaction० नै किन नहोस् एक वा अर्को प्रकारको प्रतिफलका लागि मानिसले अपराध गर्दछ । त्यसैले अपराधबाट हुने लाभ वा प्रतिफलको आधारमा अन्य अपराधहरूको स्वरुप र गम्भीरता निर्धारण हुन्छ । जबरजस्ती करणीको अपराध भिन्न प्रकृतिको विशेष र गम्भीर अपराध हो । यसको स्वरुप र गम्भीरताको मापन दुई प्रकारले हुन्छ । पहिलो मापदण्ड हो पीडितलाई हुने क्षति र दोस्रो हो पीडकलाई प्राप्त हुने प्रतिफल । तर पीडकलाई प्राप्त हुने प्रतिफल अर्थात यौनेच्छाको परिपूर्ति अथवा कामवासनाबाट प्राप्त हुने तथाकथित आनन्दको प्राप्तीभन्दा बढी महत्वपूर्ण मापक हो पीडितलाई हुने क्षति ।

      ४. जबरजस्ती करणीको अपराधमा पीडितको शारीरिक, मानसिक र मनोवैज्ञानिक जुन क्षति हुन्छ, त्यो अपूरणीय हुन्छ । यसबाट पीडितको स्वतन्त्र मानवीय अस्तित्व, मान, सम्मान र उसको व्यक्तिगत एवं सामाजिक प्रतिष्ठा, मानमर्यादा र मानवीय अस्मिता लुटिएको हुन्छ । उसको स्वतन्त्र अस्तित्व नै खण्डित भएको हुन्छ । त्यसैले पीडितको क्षतिको आधारलाई जबरजस्ती करणीको अपराध प्रमाणित गर्ने सन्दर्भमा पहिलो मापकको रुपमा अदालतले ग्रहण गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा पीडक वा पीडितको कुन अङ्ग कहाँ, कतासम्म पुग्यो ? यो अत्यन्त गौण विषय हुनजान्छ । त्यसमा पनि एउटी सातवर्र्षीया नाबालिकासँगको यस्तो घृणित अपराधिक कार्यको सन्दर्भमा अरु कार्यहरू गरी सकेको अवस्थामा पीडितको योनिमा पीडकको लिङ्ग प्रबेश आँशिक वा पूर्ण जे जस्तो अवस्थाको भएपनि जबरजस्ती करणीको कसूर प्रमाणित हुन त्यति नै पर्याप्त हुन्छ । उद्योग भनेको जबरजस्ती करणीको प्रयास गर्नुसम्म हो । जबरजस्ती करणी गर्ने कामको प्रारम्भ गरी सकेपछि उद्योगको अवस्था रहँदैन । त्यो काम जुन चरणसम्म गरेको भएपनि कामै गरेको ठहरिन्छ । कामको उद्योग होइन ।

     ५. पीडित सीतावन धवल र निजकी आमा साबित्री धवलको मौका कागजबाट जबरजस्ती करणीको कसूर भएको देखिएको छ भने योनी च्यातिएको, सुन्निएको भन्ने चिकित्सकको प्रतिवेदनबाट देखिन्छ । डाक्टरको प्रतिबेदनबाट जबरजस्ती करणी भएको पुष्टी भै राखेकोले प्र.मुबारक भन्ने मिर मुसलमानले अभियोग दावी बमोजिम जबरजस्ती करणीको कसूर गरेको ठहर्छ।  

      ६. तसर्थ, अभियोग दावीबमोजिम जबरजस्ती करणीको कसूर ठहर गरी प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३(१) नं. बमोजिम १० वर्ष कैद गरी ऐजन को १० नं. बमोजिम प्रतिवादीको आधाअंँश पीडितलाई भराई दिनुपर्नेमा जबरजस्ती करणीको उद्योगको कसूरसम्म ठहर गरी प्रतिवादी मोइल भन्ने मुवारक मिर मुसलमानलाई ५(पाँच) वर्ष कैद गर्ने गरेको शुरु रुपन्देही जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको मिति २०६१।१२।२५ को फैसला मिलेको नदेखिदा केही उल्टी भई प्रतिवादीलाई दावी बमोजिम जबरजस्ती करणीको महलको ३(१)नं अनुसार दश वर्ष कैद हुने र सोही महलको १० नं अनुसार प्रतिवादीको आधीअंश पीडितलाई भराई दिनुपर्ने ठहर्छ । अरुमा तपसील बमोजिम गर्नू ।

तपसील

 

      माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत बुटवलको फैसला केही उल्टी भै प्रतिवादी मोइल भन्ने मुवारक मिर मुसलमानलाई कैद वर्ष १० (दश) हुने र प्रतिवादीको आधाअंश पीडितलाई भराई दिने ठहरेकोले शुरु रुपन्देही जिल्ला अदालतले निज प्रतिवादीलाई ५ वर्ष कैद गर्ने गरेको लगत कायम नरहने हुँदा सोको लगत कट्टा गरी १० दश वर्ष कैदको लगत राखी निज मिति २०५९।७।२ देखि प्रहरी हिरासतमा रही थुनामा र फैसलाअनुसार कैदमा बसेको अबधि कट्टा गरी बाँकी कैद अबधिको लगत कस्नु भनी रुपन्देही जिल्ला अदालतमा लेखी पठाई दिनू .... १

      पीडित बालिकालाई प्रतिवादी मुबारक मीर मुसलमानको आधा अंश भराईदिने ठहरेकोले आवश्यक परे अदालतबाट डोरसमेत खटाई निजको अँशभागमा पर्ने चलअचल सम्पत्ति यकीन गरी त्यसबाट चलमा आधा पीडित वा निजको नजिकको नातेदार वा संरक्षकलाई बुझाई दिन अचल सम्पत्ति निज पीडितको नाउँमा कुनै दस्तूर नलिई नामसारी गर्न सम्बन्धित कार्यालयहरूलाई लेखी पठाई दिनू  ......२

   पुनरावेदन दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ..३

 

उक्त रायमा सहमत छु ।

 

न्या.कृष्णप्रसाद उपाध्याय

 

संवत् २०६६ साल फागुन ११ गते रोज शुभम्.......

 

 

इजलास अधिकृत :खड्गबहादुर श्रेष्ठ                 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु