शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३४६० - अंश

भाग: ३० साल: २०४५ महिना: भाद्र अंक:

निर्णय नं. ३४६० ने.का.प. २०४५     अङ्क ५

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४४ सालको दे.पु.नं. ५५९,७०८

फैसला भएको मिति : २०४५।४।९।१

 

पुनरावेदक प्रतिवादी : काभ्रेपलान्चोक कोलाती गा.पं.वा.नं.७ बस्ने रोहिणीराज उप्रेती

विरुद्ध

विपक्षी वादी : ऐ.ऐ.बस्ने भिष्मकुमारी उप्रेती

 

पुनरावेदक वादी : जि.काभ्रेपलान्चोक कौलाती गा.पं.वा.नं.७ बस्ने भिष्मकुमारी उप्रेती

विरुद्ध

विपक्षी वादी : ऐ.ऐ.बस्ने रोहिणीराज उप्रेतीसमेत

 

मुद्दा : अंश

 

(१)                  बण्डापत्रमा अंश भाग लागेको जग्गाहरु माल अड्डाबाट दाखिल खारेज, दर्ता फुटेको देखिन नआएकोले व्यवहार प्रमाणबाट अंश दिए लिएको भन्न नमिल्ने ।

(प्रकरण नं. १३)

(२)                पारित बण्डापत्र र व्यवहार प्रमाणबाट अंश दिए पाएको सबूदको अभाव भएको र यसका अतिरिक्त मागिएका तायदातीमा पनि वादीले आफ्नो नाममा केही नभएको भनी तायदाती दिएकोबाट निज वादीको नाममा सम्पत्ति रहे भएको भन्न मिल्ने अवस्था नदेखिँदा अंश दिए लिएको भन्ने प्रतिवादी जिकिर मनासिब देखिन नआउने ।

(प्रकरण नं. १४)

(३)                वादीको पति बेपत्ता भएकोमा विवाद नदेखिएपछि त्यस्तो बेपत्ता भएको लोग्नेको अंश वादीले पाउँदैन भन्न नमिल्ने ।

(प्रकरण नं. १५)

 

पुनरावेदक, वादीतर्फवाट : विद्वान अधिवक्ता श्री रेवन्तबहादुर कुंवर

पुनरावेदक, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री रोहिणीराज सिग्देल

 

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोला : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण तथा निर्णय यसप्रकार छ ।

२.     मेरो पति ००९ सालदेखि नै बेपत्ता भएको, ससुरा कृष्णप्रसाद परलोक भएको, जेठाजुले २०२८ सालमा मलाई मेरो लोग्नेको केही अंश दिई पन्छाउन खोजेको र डोरमा अंशियार यति छौ भन्ने कागजमा सही गराएका थिए, के कागजमा सही गराए थाहा छैन, ०३७।१२।५ मा ज्यादै हेला गरेकाले गोठमा बसी आएको समेतबाट ३ खण्डको १ खण्ड मेरा लोग्नेले पाउने अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

३.     २०२८।१०।१५ मा विपक्षीले अंश माग गरेकाले सो दिन निजलाई जग्गा, गाईबस्तु श्रीसम्पती निजले अंश बुझेको भर्पाई गरिदिएकै छ सो भर्पाईमा निजको सहोदर भाइ पनि साक्षी बसेका छन्, सो पतीको भागको निजले पाएको जग्गा भोग चलन, तिरोतिरान पनि निजले गर्दै आएको र पञ्चायत लगतमा सोही बमोजिम दर्ता भएको, आफ्नो भागको कतिपय जग्गा तिनले बिक्री पनि गरेको छ, तसर्थ पुनः अंश दिनुपर्ने नहुँदा झूठा दावीबाट फूर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

४.     २०२८।१०।१५ को लिखत भर्पाई मलाई झुक्याई गराएको हो मैले अंश बुझाई भर्पाई गरिदिएको होइन भन्ने समेत वादीको बयान ।

५.     वादीलाई हामीले झुक्याई कागज गराएको होइन अंश बुझी भरपाई गरिदिएको हो भन्ने समेत व्यहोराको प्रतिवादी भोलानाथको बयान ।

६.     वादीलाई झुक्याई कागज गराइएको भए सोतर्फ उजूर गर्नु पर्नेमा गर्न नसकेको, सो लिखतमा भएको जग्गा वादीका नाउँमा पञ्चायत लगतमा दर्ता भएको र ०३१ सालमा तिरो तिरान गरेको मिसिलबाट देखिँदा जालसाजी लिखत खडा गरेको भन्ने दावी पुग्न सक्दैन, अंशतर्फ वादीले ०३७।२।१२ मा ठूली तामाङनीलाई कि.नं.४२५ को जग्गा राजीनामा गरिदिएको र लिखतको कैफियतमा मेरो जग्गा भन्ने उल्लेख गरेको देखिँदा बण्डापत्र रजिष्ट्रेशन नभए पनि व्यवहार प्रमाणबाट अंशबण्डाको ३० नं.बमोजिम अंश पाइसकेको देखिँदा वादी पुग्न सक्दैन भन्ने समेत व्यहोराको ०४१।५।५ को शुरु काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसला ।

७.     सो फैसलामा चित्त बुझेन दावी बमोजिम अंश दिलाइपाउँ भन्ने समेत व्यहोराको वादीतर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।

८.     वादी भिष्मकुमारी र निजको पति हेमलालतर्फबाट केही सन्तान भएको देखिन आएको छैन । यस अवस्थामा तायदाती बमोजिमको सम्पत्तिमध्ये हेमलालले पाउने ३ खण्डको १ खण्डको आधा वादीले अंश पाउने ठहर्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४३।७।२४ को फैसला ।

९.     मेरो पति हेमलाल २००९ सालदेखि नै बेपत्ता रहेको क्षेत्रीय अदालतले स्वीकार गरेपछि निजको अंशको हकदार मलाई कायम गरी उक्त सम्पत्ति मेरा नाममा दर्ता गर्नु पर्नेमा बाँकी आधा सम्पत्ति हेमलालका नाउँमा कायम राखी मलाई भोगचलन मात्र गर्न पाउने  ठहराएको फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी भिष्मकुमारी उप्रेतीको र मालपोत कार्यालयको मिति ०३९।१।२० को पर्चाबाट कथित बण्डापत्र कार्यान्वयन हुन नसकेको भनिएको छ सो पर्चामा विपक्षी वादीले हामी प्रतिवादीको मिति ०२८।१०।१५ को अंशबण्डा अनुसारका जग्गा हामीहरुका नाममा नापी भई हामीले जग्गाधनी दर्ता प्रमाण पूर्जा लिने अवस्थामा वादी भिष्मकुमारीकै उजूरीका कारणबाट दर्त नभई रहेको भन्ने मालका पर्चाबाट स्पष्ट भएको छ मालले गरेको कानुनसंगत पर्चालाई बण्डापत्र निष्क्रिय भएको भनी बुँदा लिन मिल्ने नहुँदा मध्यमाञ्चल क्षेत्रीय अदालतको त्रुटिपूर्ण फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने प्रतिवादीहरुको यस अदालतमा परेको पृथकपृथक निवेदनपत्र ।

१०.     यसमा लोग्ने बेपत्ता भएको भन्ने कुरामा विवाद देखिएन । लोग्नेको भाग समेत स्वास्नीले तीन भागको १ भाग अंश पाउनु पर्नेमा लोग्नेको भागबाट आधा भाग मात्र स्वास्नी भिष्मकुमारीलाई दिलाउने भन्ने म.क्षे.अ.को इन्साफमा अंशबण्डाको २ नं. समेतको त्रुटिपूर्ण व्याख्या भएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने भिष्मकुमारीको निवेदनमा र सोही लगाउको यस निवेदनमा समेत पुनरावेदनको अनुमति दिइएको छ भन्ने रोहिणीराज उप्रेती समेतको निवेदनमा यस अदालत संयुक्त इजलासबाट मिति ०४४।४।१५ मा भएको आदेश ।

११.     नियम बमोजिम दैनीक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रेवन्तबहादुर कुँवर तथा पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रोहिणीराज सिग्देलले गर्नुभएको बहस समेत सुनी प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के रहेछ भन्ने निर्णय दिनु पर्ने हुन आयो ।

१२.    यसमा सम्पूर्ण सम्पत्तिको ३ भाग मध्ये मेरो लोग्ने २००९ सालदेखि बेपत्ता हुँदा निजको १ भाग सम्पत्ति अंश दिलाई भराई पाउँ भन्ने वादी दावी तथा ०२८।१०।१५ मा वादीले अंश भाग गरेको निजलाई जग्गा गाइबस्तु सम्पत्ति दिई अंश बुझेको भर्पाई गरिदिएको छ, सो पतिको भागको निजले पाएको जग्गा भोगचलन गर्दै आएको र आफ्नो भागको कतिपय जग्गा तिनले बिक्री पनि गरेको हुँदा पुनः अंश दिनुपर्ने होइन भन्ने प्रतिवाद जिकिर भएकोमा तायदाती बमोजिमको सम्पत्ति मध्ये हेमलालले पाउने ३ खण्डको १ खण्डको आधा वादीले अंश पाउने ठहर्छ भनी क्षेत्रीय अदालतबाट फैसला भएको देखिन्छ ।

१३.    वादी प्रतिवादी अंशियार भन्ने कुरामा विवाद देखिँदैन । वादीले अंश बुझिसकेको छ भनी प्रतिवादीबाट ०२८।१०।१५ को घरसारको बण्डापत्र तथा सम्पत्ति बुझेको सोही मितिको भर्पाई समेत पेश भएको देखिन्छ । सो बण्डापत्र कानुन बमोजिम रजिष्ट्रेशन पास भएको छैन । अंशबण्डाको महलको ३० नं. को प्रयोजनको लागि विचार गर्दा बण्डापत्रमा अंश भाग लागेका जग्गाहरु माल अड्डाबाट दाखिल खारेज, दर्ता फुटेको देखिन नआएकोले व्यवहार प्रमाणबाट अंश दिए लिएको भन्न मिलेन ।

१४.    मालपोत कार्यालय काभ्रेपलाञ्चोकको मिति ०३९।१।२० को पर्चाबाट घरसारको भनिएको सो बण्डापत्रको कारवाई हुन नसकी निष्कृय रहेको देखिन्छ । पारित बण्डापत्र र व्यवहार प्रमाणबाट अंश दिए पाएको सबूदको अभाव भएको र यसका अतिरिक्त मागिएको तायदातीमा पनि वादीले आफ्नो नाममा केही नभएको भनी तायदाती दिएकोबाट निज वादीको नाममा सम्पत्ति रहे भएको भन्न मिल्ने अवस्था नदेखिँदा अंश दिए लिएको भन्ने प्रतिवादी जिकिर मनासिब देखिन आएन ।

१५.    अब दोश्रो प्रश्न वादीले कति अंश भाग पाउने हो भन्ने सम्बन्धमा विचार गर्दा अंशबण्डाको २  नं. मा अंशबण्डा गर्दा पाउने सबैको बराबर अंश गर्नु पर्छ भन्ने व्यवस्था देखिन्छ । वादीका पति हेमलाल प्रतिवादीहरु सरहको अंशियार भएको र हेमलाल तथा वादीको कुनै सन्तान नभएको र पति हेमलाल २००९ सालदेखि बेपत्ता भएकोमा विवाद नदेखिएपछि त्यस्तो बेपत्ता भएको लोग्नेको अंश वादीले पाउँदैन भन्न मिल्दैन । अतः वादीका पति हेमलालको सम्पूर्ण अंश भाग वादीले पाउनु पर्नेमा ३ खण्डको १ खण्डको आधा भाग वादीले अंश पाउने र आधा पति हेमलालको भाग जति वादीले भोगचलन मात्र गर्न पाउने गरी निज वादीको जिम्मा राख्ने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ केही उल्टी हुन्छ तायदाती बमोजिमको सम्पत्ति मध्ये ३ खण्डको १ खण्ड वादीले पाउने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । अरु तपसील बमोजिम गर्नु ।

तपसील

पुनरावेदिका वादी भिष्मकुमारी उप्रेती के माथिइन्साफ खण्डमा लेखिएबमोजिम म.क्षे.अ.को इन्साफ केहिउल्टी हुने ठहरेकाले म.क्षे.अ.को मिति ०४३।७।२४ को फैसलाले कायम रहेको लगत कट्टा गरी मिति ०४३।६।२१ का तायदाती बमोजिम ३ खण्डको १ खण्ड अंश छुट्याई पाउँ भनी ऐनका म्यादभित्र वादी भिष्मकुमारीको दर्खास्त दिए ३ खण्डको १ खण्ड अंश कानुन बमोजिम छुट्याई दिनु भनी शुरु काभ्रेपलाञ्चोक जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु.....१

पुनरावेदीका वादी भिष्मकुमारी के माथि इन्साफ खण्डमा लेखिएबमोजिम ठहरेकाले निजले शुरु जिल्ला अदालत र म.क्षे.अ.समेतमा राखेको कोर्टफी रु.२६८।२६ र यस अदालतमा राखेको कोर्टफी रु.४०।२५ समेत जम्मा रु.३०८।५१ दर्खास्त दिए सो कोर्टफी कानुन बमोजिम प्रतिवादीबाट भराई दिनु भनी शुरु काभ्रेपलाञ्चोक जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु.....२

मिसिल नियम बमोजिम गरी बुझाई दिनु

 

उक्त रायमा म सहमत छु ।

न्या.रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४५ साल श्रावण ९ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु