शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८४८३ - अंश चलन समेत

भाग: ५२ साल: २०६७ महिना: माघ अंक: १०

निर्णय नं. ८४८३ ने.का.प २०६७ अङ्क १०

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह

माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी

संवत् ०६३CI७९३

फैसला मितिः २०६७।१।२९

 

मुद्दाःअंश चलन समेत 

 

पुनरावेदक/प्रतिवादीः का.जि. काठमाडौं महानगरपालिका वडा नं. ३४ शान्तिनगर वस्ने केदार मिश्रको श्रीमती वर्ष ५६ की मखमली मिश्र समेत

विरुद्ध

प्रत्यर्थी/वादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १३ वस्ने लक्ष्मीकुमारी मिश्र (श्रेष्ठ)

 

शुरु फैसला गर्ने काठमाडौं जिल्ला अदालतः

मा.जि.न्या.श्री हरिवंश त्रिपाठी

पुनरावेदन फैसला गर्ने पुनरावेदन अदालत, पाटनः

मा.न्या. श्री दुर्गाप्रसाद उप्रेती

मा.न्या. श्री जनार्दनबहादुर खड्का

 

§  मतदाता नामावली कुनै निर्वाचनमा भाग लिन कानूनले मतदाता हुनसक्ने व्यक्तिहरूको नाम संकलन गरिएको र निर्वाचन प्रयोजनमा मात्र प्रयोग हुनसक्ने मतदाताहरूको नामको आधिकारिक सूची हो । सो सूचीलाई मतदान गर्ने प्रयोजनको लागि अन्तिम प्रमाणको रुपमा लिन मिल्ने भएपनि सोलाई अथवा त्यसमा जनिएको कुनै व्यहोरालाई कसैको अंश हक कायम गर्न वा सो सूचीमा नजनिएको व्यहोराबाट कसैको अंश हक समाप्त भएको मान्ने आधारभूत प्रमाणको रुपमा ग्रहण गर्न नसकिने 

§  मतदाता नामावलीमा जनिएको अन्य कुनै व्यहोराले कसैको उमेर, नाता आदिलाई विवादरहित र निश्चयात्मक रुपमा स्थापित र प्रमाणित गर्ने निर्णायक प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने 

§  कानूनले जुन उद्देश्य र प्रयोजनको लागि जे जो प्रमाणपत्र वा सूची अधिकारप्राप्त अधिकारीबाट जारी गरिएको हुन्छ सो प्रमाणपत्र वा सूचीलाई सो उद्देश्यवाहेक अन्य उद्देश्य वा प्रयोजनमा सहायक प्रमाणको रुपमा ग्रहण गर्न सकिने भए पनि आधारभूत र निर्णायक प्रमाणको रुपमा ग्रहण गर्न कानूनसंगत नहुने 

§  अंश मुद्दामा भचष्त तथा सम्बद्ध प्रमाणहरूलाई नै आधार मानी निर्णय गर्नुपर्ने हुन्छ । मतदाता नामावली वा मतदाता परिचयपत्रलाई अंशियार वा नाता प्रमाणपत्रको रुपमा ग्रहण गर्न नमिल्ने 

(प्रकरण नं.५)

§  जैविक माता पिता नभएको भनी डी.एन.ए. परीक्षण प्रतिवेदन प्राप्त भएको अवस्थामा तथा सो परीक्षण गर्ने विशेषज्ञले आफ्नो परीक्षण र प्रतिवेदनको आधिकारिकता एवं यथार्थता (Accuracy) को सम्बन्धमा अदालतमा साक्षीसरह बकपत्र गरी दिएको अवस्थामा सो वकपत्र जिरहको माध्यमद्वारा अन्यथा देखिन नआए अदालतले त्यस्तो वैज्ञानिक परीक्षण प्रतिवेदनलाई अमान्य गर्ने कानूनी आधार नदेखिने 

§  जिरह समेतबाट अन्यथा देखिन नआएको विशेषज्ञको रायलाई प्रमाण ऐन, २०३१ को दफा २३(७) बमोजिम अदालतले प्रमाणको रुपमा ग्रहण गर्नुपर्ने हुन्छ । यस्तो हालसम्मको सर्वमान्य DNA जस्तो वैज्ञानिक परीक्षणको आधारमा विशेषज्ञले दिएको रायलाई त्यस्तै वैज्ञानिक परीक्षण गर्ने विशेषज्ञको अन्यथा राय भएमा मात्र खण्डन गर्न सकिने 

(प्रकरण नं.६)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान अधिवक्ता श्री युवराज भण्डारी

प्रत्यर्थी वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारी र विद्वान अधिवक्ता श्री शम्भु थापा श्री शालिकराम पाण्डे

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

§  प्रमाण ऐन, २०३१ को दफा २३(४), २६

 

फैसला

     न्या.रामकुमार प्रसाद शाहः पुनरावेदन अदालत पाटनको मिति २०६३।३।२० को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा  १२ को उपदफा १ को खण्ड (क) अनुसार यस अदालतमा मुद्दा दोहोर्‍याई पाउँ भन्ने निवेदन परी निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :

      प्रतिवादी रवि मिश्र र मेरो प्रेम भई ०५५।१०।८ मा दक्षिणकालीको मन्दिरमा विवाहमा परिणत भै हाल पति र मेरो शारीरिक सम्पर्कबाट एउटा छोरी रित्सुको जायजन्म भएको छ । विवाह २०५५ सालमा भएता पनि घरका परिवारले अस्वीकार गरेकाले मलाई पतिले कोठा खोजी बाहिर राख्नु भएकोमा गर्भवती भए पछाडि निजले घरमा नलगी उल्टै गाली गलौज गर्ने, महिनौ डेरा कोठामा नआउने र मलाई एक्लै डेरा कोठामा छाडनु भयो । यस्तैमा  म मिति ०५७।५।९ गते पाटन अस्पतालमा भर्ना भई ११ गते छोरीको जन्म भएको र हाल म माईतीको शरणमा रही आएकी छु । यसैबीचमा जिल्ला प्रहरी कार्यालय काठमाडौँ महिला सेलमा निवेदन दिई कारवाही हुदाँ घरायसी कारणले गर्दा मैले घरमा लान नसकेको हुँ र एक महिनाभित्र घरमा लैजानेछु भनी कागज गरी सकेको अवस्थामा निजले मलाई घरमा नलगेकोले मैले छोरीलाई लिएर घरमा गएकोमा पति, सासू, ससुरा समेतले कुनै वास्ता नगरी घरबाट निकाला गरी दिएकाले प्रतिवादी रवि मिश्रले समेत मलाई प्रेम गरी विवाह समेत गरी छोरीको जन्म भएपछि कुनै वास्ता नगरेकोले खान लाउँन समेत नदिई घरबाट निकाला गरी दिएकोले मेरो ससुरा असर्फीलाल मिश्र, सासू मखमली मिश्र, पति पिता रवि मिश्र सौता मीना मिश्र र सौता को एक छोरा कवि मिश्र समेतको परिवार भएकाले फिराद परेको मितिलाई मानो छुट्टिएको मिति कायम गरी बण्डा गर्नुपर्ने सम्पूर्ण सम्पत्तिको तायदाती फांटवारी विपक्षबाट दाखिल गराई सो सम्पत्तिलाई ३ भाग लगाई ३ भागमध्ये १ भाग विपक्षी पति तथा पिता रवि मिश्रको अंश हक कायम गरी पति पिता रवि मिश्रको १ भागबाट विवाह गर्न वाँकी छोरा छोरीको विवाह खर्च परसारी ५ भागमध्ये २ भाग अंश हामी फिरादीलाई दिलाई चलन समेत चलाई पाऊँ भन्ने वादीको फिराद दावी 

      फिरादमा उल्लिखित व्यहोरा झूठा हो । मैले कुनै लक्ष्मी श्रेष्ठलाई चिनेको समेत छैन । प्रेम गरी विवाह गरेको भन्ने पनि झूठा हो । प्रतिवादी बनाइएका रवि मिश्र भन्ने अन्य कुनै व्यक्तिको म्याद म रविशंकर मिश्रलाई ल्याई बुझाएकाले म मीना मिश्र समेतले संयुक्त प्रतिउत्तर पत्र दर्ता गर्न परेको हो । म नेपाली नागरिक नभई व्यापार व्यवसाय गर्न आएको भारतीय नागरिक हुँ । म मखमली मिश्रको छोरा नभई काम गर्न वसेको व्यक्ति भएकाले म जस्तो काम गर्ने व्यक्तिलाई पति वनाई अंश मुद्दा दायर गर्दैमा अंश पाउने होइन । निजले अरु नै रवि मिश्रसँग विवाह गरेको  हुनुपर्दछ । वादीसँग मेरो विवाह नभएको र मेरो विवाह मीना मिश्रसँग भै एउटा छोरा समेतको जन्म भएको छ । म भारतीय व्यक्तिलाई प्रतिवादी बनाएकाले हकदैयाको अभाव छ । फिराद खारेज गरिपाऊँ भन्ने समेत रवि मिश्र भन्ने रविशंकर मिश्र र मीना मिश्रको संयुक्त प्रतिउत्तरपत्र 

      वादीका सारा कथन झूठा हुन् । विपक्षीसँग हाम्रो कुनै चिनजान छैन । म केदार मिश्र भारतीय नागरिक भई यहाँ सानो व्यापार गरी आएको छु । प्रतिवादी रविशंकर मिश्र म प्रतिवादी मखमली मिश्रको कोखबाट जन्मिएको व्यक्ति होइन र निजसँग मेरो कुनै नाता सम्बन्ध छैन । रवि मिश्र र लक्ष्मी श्रेष्ठबीच विवाह भै वच्चा भएको मलाई थाहाँ छैन । भारतीय नागरिकलाई नेपाली नागरिक भनी मुद्दा दर्ता गर्ने कार्य अ.वं. २९ नं. तथा न्याय प्रशासन ऐन, २०४८ को दफा ७ को अधिकारक्षेत्र भित्र पर्दैन । विपक्षीसँग हाम्रो कुनै नाता सम्बन्ध नभएकोले फिराद खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी केदार मिश्र र मखमली मिश्रको संयुक्त प्रतिउत्तर पत्र 

      विपक्षी रविशंकर मिश्रसँग ०५५।१०।८ गते प्रेम विवाह दक्षिणकाली मन्दिरमा भएको हो । हामीहरूको अन्तरजातीय विवाह भएकाले घरमा नलगी कोठा खोजी रविले मलाई राखेकोमा निज र मेरो संसर्गबाट मिति ०५७।५।११ मा पाटन अस्पतालमा एउटी छोरीको जन्म भएको हो । म र प्रतिवादी रवि मिश्रले विवाह गर्दा खिचेका फोटोहरू, निर्वाचन आयोगका परिचय पत्र समेतका कागज यसै बयान, साथ पेश गरेको छु मखमली मिश्रले नेपाली नागरिकता लिएकोले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट झिकाई पाऊँ । यी समेत कारणले प्रतिवादी रविशंकर मिश्र मेरा श्रीमान हुनुहुन्छ र अन्य प्रतिवादीहरू सासू ससुरा र सौता हुन् भन्ने समेत व्यहोराको वादी लक्ष्मी मिश्रले अ.वं ८० नं. बमोजिम नातातर्फ गरेको बयान 

      वादीले गरेको बयान झूठा हो । निज लक्ष्मी श्रेष्ठसँग मेरो कुनै चिनजान नाता सम्बन्ध छैन । फोटोहरू विवाह गर्दाका अवस्थाका नभई सामान्य चिनजानबाट पनि खिचाउन सकिन्छ । फोटोबाट विवाह भएको  पुष्टि हुंदैन । रित्सु मिश्र मेरो वच्चा होइन भन्ने समेत व्यहोराको प्रतिवादी रवि मिश्रका वा. हरिबहादुर कार्कीले अ वं ८० नं बमोजिम गरेको बयान 

      वादीले जस्तो बयान गरे पनि वादीसँग कुनै नाता सम्बन्ध पर्दैन । फोटो हुँदैमा नाता सम्बन्ध हुने होइन । वादीको बयानअनुसार नाताकायम हुने होइन भन्ने समेत व्यहोराको प्र.वा. हरिकृष्ण श्रेष्ठले अ.वं. ८० नं. बमोजिम नातामा गरेको बयान 

       वादीसँग प्रतिवादी रविशंकर मिश्रको विवाह भएको हामीलाई थाहा छैन । निज प्रतिवादीको विवाह मिना मिश्रसँग भएको हो । कहिले काँही आउने जाने गर्दैमा छोरा भन्ने कुरा आउँदैन भन्ने समेत व्यहोराको प्र.का. साक्षी सविता भट्टराईको वकपत्र 

       प्रतिवादी रवि मिश्रसँगै वादी लक्ष्मी मिश्रको प्रेम विवाह भएको हो र निजहरूबाट एउटा छोरीको जायजन्म भएकोले निजलाई पालन पोषण गर्न समेत वादीलाई अप्ठारो परेकोले पति रवि मिश्र समेतसँगबाट अंश पाउनु पर्दछ भन्ने समेत व्यहोराको वादीका साक्षी भुवनप्रसाद दुवाडी र शान्ता सापकोटाको वकपत्र 

      वादी लक्ष्मी श्रेष्ठ प्रतिवादी रविशंकर मिश्रको कुनै नाताको व्यक्ति होइन । रविशंकर मिश्र भारतीय नागरिक हो । निज केदार मिश्रको घरमा भाडामा वसेको व्यक्ति हो, छोरा होइन भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी वलराम पोखरेलले गरेको वकपत्र 

      वादीबाट पेश भएका फोटोहरू देखी हेरें चिनें । चिनजान र मित्रताका आधारमा खिचिएका फोटोहरू हुन् । फोटो खिचिएको आधारमा नै नाताकायम हुने होइन भन्ने समेत व्यहोराको प्रतिवादीले सनाखत गरेको बयान 

      जिल्ला प्रहरी कार्यालय काठमाडौँ महिला सेलमा भएको कागजमा उल्लिखित सही मेरो होइन । उक्त सही कीर्ते हो भन्ने समेत व्यहोराको रविशंकर मिश्रले अ.वं ७८ नं. बमोजिम गरेको बयान 

जिल्ला प्रहरी कार्यालय काठमाडौँ महिला सेलमा भएको कागजमा, उल्लिखित सही रवि मिश्रको नै हो कीर्ते गरी गरेको होइन भन्ने लक्ष्मीकुमारी मिश्रले अ.वं. ७८ नं. बमोजिम गरेको बयान 

      यी वादी र प्रतिवादी रविशंकर मिश्र लोग्नेस्वास्नी नाताका मानिसहरू देखिन आएको र प्रतिवादी रविशंकर मिश्रकी जेठी श्रीमती समेत देखिन आएकोले यी वादी प्रतिवादीका बीच अंशबण्डा छट्याई दिनुपर्ने देखिन आयो । अतः फिराद परेको दिनलाई मानो छुट्टिएको मिति कायम गरी सोको अघिल्लो दिनसम्मको वादी र प्रतिवादीहरू जिम्माको बण्डा गर्नुपर्ने चल अचल सम्पत्तिको तायदाती फांटवारी अंशबण्डाको २०, २१, २२ र २३ नं. अनुसार दाखिल गराई वादीबाट नपुग कोर्ट फी दाखिल गराई पेश गर्नु भन्ने समेत व्यहोराको शुरु जिल्ला अदालतको आदेश 

      प्रतिवादी रविशंकर मिश्र, प्रतिवादी असर्फीलाल मिश्र र प्रतिवादी मखमली मिश्रको छोरा नाताका मानिस देखिन आएको र प्र.रविशंकर  मिश्र र यी वादी लक्ष्मी मिश्रका बीचमा लोग्नेस्वास्नीको सम्बन्ध स्थापित भई निजहरूको छोरी रित्सु मिश्रको जन्म भई सकेको अवस्था समेत देखिन आएबाट वादी दावीबमोजिम वादी र प्र. रविशंकर मिश्रका हकमा लोग्नेस्वास्नीको नाताकायम हुने ठहर्छ । वादीको नाममा कुनै सम्पत्ति नभएको भनी तायदातीमा खुलाएको हुँदा वादीले पेश गरेको अन्य प्रतिवादीको सम्पत्तिबाट ३ भागमध्ये रविशंकर मिश्रको १ भागबाट ५ खण्डको २ खण्ड फिरादीलाई अंश छुट्याई दिई विवाह खर्च समेत पर सार्नुपर्ने ठहर्छ । प्रतिवादी  रविशंकर मिश्रले प्रहरी कार्यालयको लिखतमा परेको निजको दस्तखत कीर्ते हो भनी लिएको दावी पुग्न सक्दैन भनी काठमाडौं जिल्ला अदालतबाट २०६१।७।२० मा भएको फैसला 

      शुरु जिल्ला अदालतबाट भएको फैसलामा चित्त वुझेन । निज वादीसँग मेरो कुनै नातासम्बन्ध छैन । रविशंकरसँग विपक्षी वादीको नाता देखिए निजै रविशंकरको सम्पत्तिबाट अंश पाउने हो । मेरा कुनै नाता नभएकोले मेरो सम्पत्तिबाट मैले अंश दिनुपर्ने होइन प्रतिवादी मखमली मिश्रबाट मेरो जायजन्म भएको होइन मलाई उसले पालनपोषण गरी हुर्काउँदै व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र 

      यसमा प्रतिवादी रविशंकर मिश्रले प्रतिउत्तरमा आफू निज प्रतिवादी मखमली मिश्रको छोरा होइन भनी उल्लेख गरेको अवस्थामा कुनै प्रकारको परीक्षण नै नगराई नाताकायम गर्ने समेत ठहराई शुरुबाट भएको फैसला फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम छलफलको लागि प्रत्यर्थीलाई झिकाई नियमानुसार पेशगर्नु भन्ने पुनरावेदन अदालतको आदेश 

      यसमा प्रतिवादी मखमली मिश्रले प्रतिउत्तर पत्र फिराउँदा प्रतिवादी रवि मिश्रलाई मेरो छोरा होइन भनी नातामा विवाद उठाएको देखिएकोले अ.वं. ८० नं. बमोजिम नाताकायमतर्फ निज पुनरावेदक र प्रत्यर्थी पक्षको समेत बयान गराई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश 

      रविशंकर, म मखमली मिश्र र केदार मिश्रको सन्तान होइनन् । हामीहरूबाट कुनै सन्तान भएको छैन । डी.एन.ए. परीक्षणको माध्यमद्वारा परीक्षण गरिपाऊँ । म मखमली मिश्र निज रविशंकर को आमा होइन भन्ने कुरा निजकै प्रतिउत्तरबाट प्रष्ट हुन्छ । निज रविशंकर सानो छँदा मेरो घरमा वसेको सम्म हो र सोही आधारमा छोरा भनी मेरा अंश हक खान पाउने होइन । निजसँग छोरा हुँ भन्ने कुनै प्रमाण समेत छैन भन्ने पुनरावेदक प्रतिवादीका वारेस तेजप्रसाद चौलागाईले पुनरावेदन अदालतमा गरेको बयान 

      मखमली मिश्र र रवि मिश्रबीच आमा छोराको नातासम्बन्ध पर्दछ । मलाई अंश दिनु  पर्लाकि भनेर आमा छोरा होइन भनी कुनियतबाट निजले आज समेत बयान गरेका छन । विपक्षीले डी.एन.ए. परीक्षणको जुन कुरा उठाउनु भएको छ मुद्दा लम्व्याउने हिसावले मात्र बयान गर्नु भएको हो । मुद्दाको चाँडो फैसला गरिपाऊँ भन्ने समेत प्रत्यर्थी वादी लक्ष्मीकुमारी श्रेष्ठले पुनरावेदन अदालतमा गरेको बयान 

      मिसिल संलग्न प्रमाणबाट यी प्रत्यर्थी वादी र पुनरावेदक समेतका प्रतिवादीहरू वीच नाता सम्बन्ध देखाई सगोलको सम्पत्तिबाट विवाह खर्च परसारी ३ भाग गरी प्रतिवादी रविशंकरको भागमा परेको १ भागलाई ५ भाग गरी २ भाग प्रत्यर्थी वादीलाई अंश छुट्टयाई दिने गरी शुरु काठमाडौँ जिल्ला अदालतबाट भएको फैसला मिलेको देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन भनी पुनरावेदन अदालत पाटनबाट २०६३।३।२० मा भएको फैसला 

       विपक्षी लक्ष्मीकुमारी श्रेष्ठले आफ्नो पति भनी उल्लेख गरेको रविशंकर हामी निवेदकको वीर्य र रगतबाट जन्मेका व्यक्ति होइन । निज हाम्रो छोरा होइन भन्ने जिकीर लिंदा लिंदै पनि हाम्रो जिकीर तर्फ कुनै न्यायिक दृष्टिपात नै नगरी फैसला भएको छ । हाम्रो जिकीर मागबमोजिम डी.एन.ए. परीक्षण गरी न्यायिक निष्कर्शमा पुग्नुपर्नेमा डी.एन.ए. परीक्षण गराइएको छैन । रविशंकर हाम्रो छोरा नै नभएको र हामीबाट कुनै सन्तान नै जन्म नभएको अवस्थामा हाम्रो सम्पत्तिबाट रविशंकरको अंश भाग लाग्ने ठहर गरी सो बाट वादीले अंश पाउने ठहर भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी पाउन न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) समेतको आधारमा मुद्दा दोहोर्‍याई पाऊँ भन्ने प्रतिवादीको यस अदालतमा परेको निवेदन 

      निवेदक प्रतिवादीहरू मखमली मिश्र र असर्फीलाल मिश्र भन्ने केदार मिश्रले प्रतिवादी मध्येका रविशंकर मिश्र आफ्नो छोरा होइन भनी प्रतिउत्तरमा उल्लेख गरेको र पुनरावेदन अदालत पाटनमा नाताकायम तर्फ बयान गर्दा समेत सोही व्यहोरा उल्लेख गरी डी.एन.ए. परीक्षण गरिपाऊँ भनी बयान जिकीर लिएको देखिएकोमा सो परीक्षण नगराई र असर्फीलाल मिश्र भारतीय नागरिक भएकोमा नेपाली नागरिक मखमली श्रेष्ठसँग विवाह भएको र विवाह अगाडि नै अंश पाउने ठहरिएका सम्पत्ति निजको भएको भन्ने देखिएको अवस्थामा त्यस्तो सम्पत्ति समेतबाट वादीले अंश पाउने ठहर्‍याई भएको पुनरावेदन अदालत पाटनको फैसलामा अ.वं. १८४क नं., प्रमाण ऐन, २०३१ को दफा ५४ को ब्याख्यात्मक त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरी दिएको छ । साथै पुनरावेदकको मागबमोजिम लाग्ने दस्तूर पुनरावेदकहरूबाट दाखिल गर्न लगाई मखमली मिश्र, असर्फीलाल मिश्र भन्ने केदार मिश्र र रविशंकर मिश्रको डी.एन.ए. परीक्षण गर्न पठाई परीक्षण प्रतिवेदन प्राप्त भएपछि पेश गर्नु भनी यस अदालतबाट २०६४।११।१७ मा भएको आदेश 

      आदेशानुसार राष्ट्रिय विधिविज्ञान प्रयोगशालाबाट डी.एन.ए. परीक्षण भई प्रतिवेदन मिसिल सामेल रहेको र विशेषज्ञ जीवनप्रसाद रिजालले गरेको वकपत्र संलग्न भएको 

      नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको सम्पूर्ण मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र अधिवक्ता श्री युवराज भण्डारीले असर्फीलाल भन्ने केदार मिश्रसँग मखमली मिश्रको विवाह भई पति पत्नी रहेकोमा विवाद छैन । निजहरूबाट कुनै जायजन्म भएको छैन । रविशंकर मिश्र निजहरूको छोरा होइन । सो कुरालाई डी.एन.ए.परीक्षण प्रतिवेदनले समेत पुष्टि गरेको अवस्था हुँदा रविशंकर मिश्र पुनरावेदक प्रतिवादी बाट अंश पाउने अंशियार नहुँदा निजको अंश कायम गरी सोबाट वादीले अंश पाउने ठहर्‍याई भएको फैसला त्रुटिपूर्ण हुंदा बदर हुनुपर्ने भनी र प्रत्यर्थी वादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री वसन्तराम भण्डारी, अधिवक्ता श्री शंभु थापा तथा अधिवक्ता श्री शालिकराम पाण्डेले जिल्ला निर्वाचन कार्र्यालयको मतदाता नामावलीमा भरेको विवरण, रविशंकर मिश्रले लिएको सवारी चालक अनुमतिपत्र, रविशंकरले पेश गरेको प्रतिउत्तरपत्रको शीर व्यहोरा र २०६०।११।२७ मा गरेको बयान समेतबाट प्रतिवादी केदार मिश्र र रविशंकर वावु छोरा भएको पुष्टि भएको अवस्थामा प्रस्तुत मुद्दामा डी.एन.ए.असम्बन्धित भएको र डी.एन.ए.लाई नै पूर्णरुपमा मान्ने अवस्था नभएको हुँदा पुनरावेदन जिकीरबमोजिम पुनरावेदन अदालत पाटनबाट भएको फैसला सदर हुनुपर्दछ भनी गर्नु भएको वहस समेत सुनियो 

      दुवै पक्षका तर्फबाट उपस्थित कानून व्यवसायीहरूको वहस सुनी मिसिल संलग्न कागज प्रमाणहरूको अध्ययन गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ छैन सोही विषयमा नै निर्णय दिनुपर्ने देखियो 

      वादीले प्रतिवादी रवि मिश्रसँग मेरो प्रेम भई २०५५।१०।८ मा दक्षिणकाली मन्दिरमा विवाह भई निजबाट छोरी १ जन्म भएको र  विवाह पश्चात् निजको घर परिवारले अस्वीकार गरेकोले मलाई डेरा खोजी बाहिरै राख्नु भएकोमा पतिले पनि वास्ता नगरेकोले छोरी लिई घर गएकोमा सासू ससुराले वास्ता नगरी खान लाउन नदिई घरबाट निकाला गरी दिएकोले सासू ससुराको अंशबाट पति पिताको अंश भाग पर सारी ५ खण्डको २ खण्ड अंश दिलाई पाउँ भन्ने वादी दावी भएकोमा मैले लक्ष्मी श्रेष्ठलाई चिनेकै छैन, प्रेमगरी विवाह गरेको भन्ने भनाई झूठा हो । म प्रतिवादी मखमली र केदार मिश्रको छोरा होइन, निजले पालनपोषण गरेकोसम्म हो तथा वादीले अंश पाउने होइन भन्ने समेत प्रतिवादी रविशंकर मिश्रको तथा रविशंकर मिश्र आफ्नो छोरा होइन, वादी रविशंकरको पत्नी हो होइन थाहा छैन । प्रतिवादी रविशंकर हाम्रो छोरा नभएको हुँदा हाम्रो सम्पत्तिबाट निजको अंश भाग लाग्ने तथा सोबाट वादीले अंश पाउने होइन भनी प्र.मखमली मिश्र र केदार मिश्रको प्रतिउत्तर रहेको देखिन्छ । शुरु जिल्ला अदालतले नाताकायमतर्फ बयान गराई प्र. रविशंकरलाई प्र. केदार मिश्र र मखमली मिश्रको छोरा नाताको तथा वादी लक्ष्मी श्रेष्ठलाई प्र. रविशंकरकी पत्नी नाताकायम गरी प्र.केदार र मखमलीबाट प्र. रविशंकरले पाउने अंश भाग छूट्याई निज रविशंकरको अंश भागबाट वादीले ५ भागबाट २ भाग अंश पाउने ठहरयाई भएको पुनरावेदन अदालत पाटनको फैसलाउपर प्रतिवादी मखमली र केदार मिश्रको प्रस्तुत पुनरावेदन परेको देखिन्छ 

      २. निर्णयतर्फ विचार गर्दा वादी लक्ष्मी श्रेष्ठले आफू प्रतिवादी रविशंकर मिश्रकी पत्नी भएको र निजले तथा सासू ससुराले घरबाट निकाला गरेकाले सासू ससुराबाट पति रविशंकरको अंश छूट्याई पतिबाट ५ भागको २ भाग अंश दिलाई पाउँ भनी दावी गरेकोमा प्रतिवादी रविशंकरको अंश भागबाट वादी र निजको छोरीले अंश पाउने ठहरयाई भएको फैसलाउपर निज प्रतिवादी रविशंकर मिश्रको पुनरावेदन परेको नदेखिंदा त्यस सम्बन्धमा थप विचार र विवेचना गर्नु परेन । प्र. रविशंकर मिश्र आफ्नो छोरा नभएको र आफू र मखमली मिश्रबाट कुनै सन्तान नै नजन्मेको हुँदा प्र. रविशंकर मिश्रलाई आफ्नो छोरा कायम गरी आफ्नो सम्पत्तिबाट रविशंकर मिश्रले अंश भाग पाउने गरी भएको फैसला त्रुटिपूर्ण हुंदा बदर हुनुपर्ने भनी यी पुनरावेदक प्रतिवादीहरूको मुख्य पुनरावेदन जिकीर रहेकोले प्रतिवादी मध्येका रविशंकर मिश्र पुनरावेदक प्रतिवादी असर्फीलाल भन्ने केदार मिश्र र प्रतिवादी मखमली मिश्रको छोरा हो होइन र निजहरूको सम्पत्तिबाट प्र. रविशंकर मिश्रले अंश पाउने हो होइन भन्ने सम्बद्ध विषयमा निर्णय दिनुपर्ने हुन आएको छ 

      ३. वादीले फिरादपत्रमा आफ्नो पति र पिता प्रतिवादी रविशंकर मिश्र प्र.असर्फीलाल मिश्र भन्ने केदार मिश्र र प्र. मखमली मिश्रको छोरा भएको भन्ने उल्लेख गरी सोलाई पुष्टि गर्ने आधारको रुपमा जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त मतदाता नामावलीमा एउटै घर नं. घ ५९९ मा यी वादी प्रतिवादी चारै जनाको नाम उल्लेख भई रविशंकर मिश्रको पितामा असर्फीलाल मिश्र भन्ने उल्लेख भएको र निर्वाचन आयोगबाट प्र. रविशंकर मिश्रले प्राप्त गरेको मतदाता परिचय पत्रमा रविशंकर मिश्र र असर्फीलाल मिश्र पुत्र पिता भन्ने उल्लेख भएकोले सोलाई पुनरावेदन अदालतले प्रमाणको रुपमा लिई निर्णयाधार बनाएको तथा रविशंकरलाई अशर्फी भन्ने केदार र मखमली मिश्रको छोरा भनी ठहर गरी निजको सम्पत्तिबाट समेत वादीले अंश पाउने ठहर गरेको पाइन्छ 

      ४. प्रस्तुत मुद्दामा वादी लक्ष्मी श्रेष्ठले प्र. रविशंकर मिश्र आफ्नो पति भएको र आफ्नो छोरीको जन्म प्र. रविशंकर मिश्रको सहवासबाट भएको भन्ने आधारमा निजबाट अंश दिलाई पाउँ भनी दावी गरेको छ । प्र. रविशंकर मिश्रले निजलाई आफ्नो पत्नी र निजबाट जन्मेकी छोरी आफ्नो सहवासबाट जन्मेकी छैन भन्ने प्रतिवाद गरे पनि विभिन्न प्रमाणको आधारमा निज र वादी लक्ष्मी श्रेष्ठलाई पति पत्नी तथा निजकी छोरीसँग निजको पिता नाताकायम गरी निजबाट कानून र दावीबमोजिम अंश दिलाउने ठहर्‍याएको अदालतको फैसलाउपर निज प्र. रविशंकरले पुनरावेदन नगरी चित्त बुझाई बसेको देखिएकोले यी वादी र निजकी छोरीले निज रविशंकरबाट फैसला बमोजिम अंश छूट्याई लिन पाउने कुरामा विवाद छैन । तर यी प्र.रविशंकरलाई पुनरावेदक मखमली मिश्र र निजका पति अशर्फी भन्ने केदार मिश्रको छोरा ठहर गरी निज पुनरावेदकको सम्पत्ति समेतबाट अंश दिलाउने ठहर्‍याएको फैसलाका सम्बन्धमा मात्र पुनरावेदन जिकीर रहेको पाइन्छ । प्रतिवादी रविशंकर मिश्र वादी लक्ष्मी श्रेष्ठको पति र निजबाट जन्मेकी छोरीको पिता भएको भन्ने अदालतको ठहर भएको वारेमा पुनरावेदकहरूले यस अदालतमा पुनरावेदन गर्दा कुनै विवाद उठाएको नदेखिएता पनि रविशंकर मिश्र आफ्नो छोरा होइन, आफूबाट कुनै सन्तान नै जन्म नभएको, पितृत्व ठेगान गर्न डी.एन.ए. परीक्षण गराई पाउँ समेत भनी यी पुनरावेदकले आफ्नो प्रतिउत्तरमा र तत्पश्चात पुनरावेदन अदालतमा नातातर्फ बयान गर्दा र हाल यस अदालतमा दिएको पुनरावेदनमा समेत जिकीर लिई यी रविशंकर मिश्र आफूबाट जन्मेको आफ्नो छोरा नभएको र आफूबाट निजले अंश पाउन सक्ने होइन भनी निरन्तर प्रतिवाद गरेको पाइन्छ । सोही कारण र आधारमा यस अदालतबाट २०६४।११।१७ मा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिदा प्र. रविशंकर मिश्र र प्र. अशर्फी तथा मखमलीको छोरा हो होइन भन्ने पत्ता लगाउन डी.एन.ए. परीक्षण गर्न आदेश भएको र सो आदेशानुसार मखमली मिश्र, असर्फीलाल भन्ने केदार मिश्र र रविशंकर मिश्रको नमूना रक्त संकलन गरी डी.एन.ए. परीक्षण भई राष्ट्रिय विधिविज्ञान प्रयोगशालाबाट परीक्षण रिपोर्ट प्राप्त भएको देखिन्छ 

      ५. प्रस्तुत मुद्दामा वादीको मुख्य दावी आफ्नो पतिबाट अंश दिलाई पाउँ भन्ने भएको र वादीका पति रविशंकर मिश्रबाट निजले अंश पाउने ठहरी फैसला भएको छ । तर निजका पति रविशंकर यी पुनरावेदकको वीर्यबाट जन्मेको निजहरूको जैविक छोरा नभएकोले रविशंकरले यी पुनरावेदकबाट अंश नपाउनेमा निजलाई छोरा नाताकायम गरी पुनरावेदकबाट रविशंकरलाई अंश दिलाउने गरी भएको अदालतको फैसलाउपर पुनरावेदन जिकीर हुँदा सो सम्बन्धमा नै मुख्य रुपमा विचार गर्नुपर्ने हुन आएको छ । छोरा छोरीले पिताबाट अंश पाउनका लागी निज आफ्नो आमा बाबुबाट जन्मेको जैविक सन्तान हुनुपर्ने वा कानूनबमोजिम धर्मपुत्र वा धर्मपुत्री राखेको हुनुपर्ने हुन्छ । सो बाहेक अन्य अवस्थाका व्यक्तिले छोरा छोरीको रुपमा अंशमा दावी गर्न र अदालतले अंश दिलाई दिन कानूनले मिल्ने हुँदैन । वादी लक्ष्मी श्रेष्ठका पति रविशंकर मिश्रलाई पुनरावेदन अदालत समेतबाट यी पुनरावेदक अशर्फी भन्ने केदार मिश्र र मखमली मिश्रको छोरा नाताकायम गरेको र सो नाताकायम गर्न निर्वाचन आयोगको मतदाता नामावलीमा उल्लेख भएको व्यहोरा  समेतलाई अदालतले प्रमाणको रुपमा ग्रहण गरेको छ । प्रमाण ऐन, २०३१ को दफा २३ (४) मा अदालतले कुनै व्यक्तिको अर्को कुनै व्यक्तिसँग कुनै नाता सम्बन्ध छ वा छैन भन्ने कुरा यकीन गर्नु परेमा त्यस्तो नाता वा सम्बन्धको विशेष जानकारी हुन सक्ने स्थितिमा भएको व्यक्तिको राय प्रमाणमा लिन हुन्छभन्ने व्यवस्था रहेको छ । तर त्यस्तो कुनै व्यक्तिको रायलाई अदालतले प्रमाणमा लिएको र सो रायको आधारमा प्र. रविशंकरलाई पुनरावेदकको छोरा नाताकायम गरेको अवस्था देखिदैन । मतदाता नामावली कुनै निर्वाचनमा भाग लिन कानूनले मतदाता हुन सक्ने व्यक्तिहरूको नाम संकलन गरिएको र निर्वाचन प्रयोजनमा मात्र प्रयोग हुन सक्ने मतदाताहरूको नामको आधिकारिक सूची हो । सो सूचीलाई मतदान गर्ने प्रयोजनको लागी अन्तिम प्रमाणको रुपमा लिन मिल्ने भएपनि सोलाई अथवा त्यसमा जनिएको कुनै व्यहोरालाई कसैको अंशहक कायम गर्न वा सो सूचीमा नजनिएको वेहोराबाट कसैको अंश हक समाप्त भएको मान्ने आधारभूत प्रमाणको रुपमा ग्रहण गर्न सकिने हुँदैन । साथै त्यसमा जनिएको अन्य कुनै व्यहोराले कसैको उमेर, नाता आदिलाई विवादरहित र निश्चयात्मक रुपमा स्थापित र प्रमाणित गर्ने निर्णायक प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने पनि हुँदैन । कानूनले जुन उद्देश्य र प्रयोजनको लागि जे जो प्रमाणपत्र वा सूची अधिकारप्राप्त अधिकारीबाट जारी गरिएको हुन्छ सो प्रमाणपत्र वा सूचीलाई सो उद्देश्य वाहेक अन्य उद्देश्य वा प्रयोजनमा सहायक प्रमाणको रुपमा ग्रहण गर्न सकिने भए पनि आधारभूत र निर्णायक प्रमाणको रुपमा ग्रहण गर्न कानूनसंगत हुँदैन । प्रस्तुत अंश मुद्दामा कसैको अंश हक कायम गर्न वा नगर्न अंश मुद्दाको Merit तथा सम्बद्ध प्रमाणहरूलाई नै आधार मानी निर्णय गर्नुपर्ने  हुन्छ । मतदाता नामावली वा मतदाता परिचय पत्रलाई अंशियार वा नाता प्रमाणपत्रको रुपमा ग्रहण गर्न मिल्ने हुँदैन 

      ६. वादीले प्रतिवादी रविशंकरलाई आफ्नो पति भनी निजबाट अंशमा दावी गरेको छ । साथै रविशंकरलाई यी पुनरावेदकहरूको छोरा भनी सासू ससुराको सम्पत्ति समेतबाट अंशमा दावी  गरेको छ । तर यी पुनरावेदकहरूले प्रतिवादी रविशंकर आफ्नो छोरा नभएको तथा आफूबाट कुनै सन्तान नै नजन्मी आफू निःसन्तान रहेको भन्ने पुनरावेदक मखमली मिश्रको प्रतिवाद रहेको छ । प्रतिवादी रविशंकरले पनि आफू यी पुनरावेदकको छोरा नभई सानो अवस्थादेखि निजको घरमा काम गर्न बसेको व्यक्ति हुँ भनी प्रतिउत्तरमा उल्लेख गरेको देखिन्छ ।  सोही आधारमा बाबु आमा भनी सम्बोधन गरे पनि आफूबाट जन्मेको छोरा नभएकोले प्र. रविशंकरलाई अंश दिन यी पुनरावेदकहरूले इन्कार गरेको छ । वादीले आफ्नो दावी प्रमाण ऐन, २०३१ को दफा २६ बमोजिम आफैले प्रमाणित गर्न पर्नेमा यी रविशंकर पुनरावेदकको छोरा हो र निजले यी पुनरावेदकहरूबाट अंश पाउने हो भन्ने दावीलाई कुनै निश्चित एवं ठोस प्रमाणबाट प्रमाणित गर्न सकेको मिसिलबाट देखिदैन । कानूनबमोजिम अंश दिन र पाउन सो व्यक्ति आफ्नो छोरा वा अंश दिन पर्ने नाताभित्रको अंशियार हुनुपर्ने हुन्छ । कानूनले अंशियार नठहर्ने व्यक्तिलाई अदालतले अंश दिलाई दिन पनि मिल्ने हुँदैन । यी पुनरावेदकहरूले प्रतिउत्तर दिँदा र पुनरावेदन गर्दा समेत प्रतिवादको प्रत्येक चरणमा यी रविशंकर आफ्नो  छोरा नभएकोले निजलाई कानूनबमोजिम आफूले अंश दिन नपर्ने त्यसकारण यी वादीले आफ्नो सम्पत्तिबाट अंश नपाउने भन्ने जिकीर लिएको देखिन्छ । त्यसकारण रविशंकर मिश्रको पितृत्व एवं मातृत्व पत्ता लगाउन यी रविशंकर मिश्र पुनरावेदक मखमली मिश्र र केदार मिश्रको रक्त सम्बन्धबाट जन्मेको निजहरूको जैविक छोरा हुन होइनन भन्ने सन्दर्भमा यस अदालतको आदेशबाट राष्ट्रिय विधिविज्ञान प्रयोगशालाबाट डी.एन.ए. परीक्षण गराइएको छ । सो बमोजिम उक्त प्रयोगशालाबाट प्राप्त डि.एन.ए परीक्षण प्रतिवेदन हेर्दा दावी गरिएको बाबु केदार मिश्रको डी.एन.ए. प्रोफाइल तुलना गरी हेर्दा दावी गरिएको आमा बाबु निज रविशंकर मिश्रको जैविक आमाबाबु नभएको पाइयोभन्ने विशेषज्ञको प्रतिवेदनमा उल्लेख भएको देखिन्छ । डी.एन.ए. परीक्षण पद्धतिबाट पितृत्व (Paternity) निर्धारण गर्ने हालसम्मको सबैभन्दा प्रमाणिक, वास्तविक एवं यथार्थ (Accurate) वैज्ञानिक पद्धतिको रुपमा स्वीकार गरिएको छ भने यस्को प्रमाणिकता लगभग शत प्रतिशत रहेको मानिएको छ । आमाको गर्भबाट बच्चा जन्मिने भएको कारणबाट मातृत्वको निर्धारण तथ्यमा आधारित हुन्छभनिन्छ तर कुनै बच्चाको बाबु फलानो हो भनी आमा वा अरुले चिनाई दिएको आधारमा अर्थातअनुमानमा आधारित हो (Maternity is a matter of fact whereas the paternity is a matter of assumption)  भन्ने रहेको परम्परागत उक्तिमा कुनै वैज्ञानिक आधार छैन । तर आजको वैज्ञानिक युगमा रक्त परीक्षण गरी रगतमा रहेको Cell वा DNA Profile को माध्यमबाट कुनै बच्चाको जैविक बाबु वा आमा (Biological father or mother) पत्ता लगाउन सम्भव भएको छ र सो परीक्षण पद्धति नै DNA हो Deoxyribonucleic Acid  (DNA) परीक्षण पद्धतिमा बाबु आमा तथा सन्तानको रगतमा रहेको आनुवंशिक उत्पत्ति बारे प्रयोगशालामा छुट्टाछुट्टै Profile को विकास गरिन्छ र पिता भनिएको व्यक्तिको Profile लाई सन्तान भनिएको व्यक्तिको Profile सँग तुलना गरी अधिकतम लक्षणको आधारमा पितृत्व वा मातृत्वको निर्धारण गर्ने गरिन्छ । पितृत्व परीक्षण पद्धति पिता पुत्रको जैविक सम्बन्ध निर्धारणमा हालसम्म सर्वोत्तम पद्धतिको रुपमा मानिएको छ । साथै योग्य र तालिम प्राप्त कुशल विशेषज्ञबाट परीक्षण गरिएमा तथा परीक्षण  विधि र Profile को तुलना गर्दा कुनै त्रुटि नगरी निष्कर्ष र परिणाम ज्ञात गरिएमा तथा विशेषज्ञको योग्यता र क्षमता दोषपूर्ण नभएमा  DNA  परीक्षण पद्धति हालसम्म उपलब्ध पद्धतिहरू मध्ये सबैभन्दा बढी यथार्थ (Accurate) रहेको र यस्को प्रमाणिकता लगभग शतप्रतिशत रहेको मानिएको छ । पुनरावेदक मखमली मिश्र र असर्फीलाल भन्ने केदार मिश्र प्रतिवादी रविशंकर मिश्रको जैविक माता पिता नभएको भनी डी.एन.ए. परीक्षण प्रतिवेदन प्राप्त भएको अवस्थामा तथा सो परीक्षण गर्ने विशेषज्ञले आफ्नो परीक्षण र प्रतिवेदनको आधिकारिकता एवं यथार्थता (Accuracy) को सम्बन्धमा अदालतमा साक्षी सरह बकपत्र गरी दिएको अवस्थामा सो वकपत्र जिरहको माध्यमद्वारा अन्यथा देखिन नआए अदालतले त्यस्तो वैज्ञानिक परीक्षण प्रतिवेदनलाई अमान्य गर्ने कानूनी आधार देखिदैन । साथै जिरह समेतबाट अन्यथा देखिन नआएको विशेषज्ञको रायलाई प्रमाण ऐन, २०३१ को दफा २३(७) बमोजिम अदालतले प्रमाणको रुपमा ग्रहण गर्नुपर्ने हुन्छ । यस्तो हालसम्मको सर्वमान्य DNA जस्तो वैज्ञानिक परीक्षणको आधारमा विशेषज्ञले दिएको रायलाई त्यस्तै वैज्ञानिक परीक्षण गर्ने विशेषज्ञको अन्यथा राय भएमा मात्र खण्डन गर्न सकिने हुन्छ । तर वादीले विशेषज्ञको राय खण्डन हुने कुनै सारभूत प्रमाण पेश गर्न सकेको देखिदैन । यस्तो अवस्थामा DNA प्रतिवेदनअनुसार प्र. रविशंकर मिश्र यी पुनरावेदकहरूको जैविक छोरा नभएकोभन्ने प्रतिवेदन रायको विद्यमानतामा पुनरावेदक प्रतिवादीले स्वीकार नगरेको निर्वाचन कार्यालयको मतदाता नामावली तथा परिचयपत्रमा उल्लिखित व्यहोराले मान्यता पाउन सक्ने अवस्था हुँदैन र सो मतदाता नामावली र परिचयपत्र मात्रको आधारमा प्रतिवादी रविशंकर मिश्र, प्र.मखमली मिश्र र असर्फीलाल भन्ने केदार मिश्रको छोरा भएको भन्ने ठहर गर्न र पुनरावेदकबाट अंश पाउँछ भन्न नमिल्ने हुन्छ 

      ७. अतः माथि गरिएको विवेचना एवं डी.एन.ए. परीक्षण प्रतिवेदनबाट प्रतिवादी रविशंकर मिश्र निज पुनरावेदकहरूको जैविक छोरा रहेको देखिन नआएको हुनाले प्र.रविशंकरलाई निर्वाचन प्रयोजनका लागि तयार भएको मतदाता नामावलीको एक मात्र आधारमा पुनरावेदकहरूको छोरा कायम गरी निजहरूको सम्पत्तिबाट निज रविशंकरले अंश पाउने ठहर्‍याएको फैसला त्रुटिपूर्ण रहेको देखिँदा सो हदसम्म पुनरावेदन अदालत पाटनको फैसला केही उल्टी हुने र रविशंकरको नाममा सम्पत्ति देखिए निजबाट मात्र यी वादीले दावी बमोजिम अंश पाउने हुँदा यी पुनरावेदकको सम्पत्ति समेतबाट अंश दिलाई पाऊँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ । काठमाडौँ जिल्ला अदालत बाट भएको फैसला सदर गरी पुनरावेदन अदालत पाटनबाट यी पुनरावेदकहरूबाट रविशंकर मिश्रलाई अंश दिलाई दिने ठहर गरी मिति २०६३।३।२० मा भएको फैसला सो हदसम्म केही उल्टी हुने ठहर्छ । अरुमा तपसीलबमोजिम गर्नू 

 

तपसील

      माथि इन्साफ खण्डमा लेखिएबमोजिम काठमाडौं जिल्ला अदालत तथा पुनरावेदन अदालतको फैसला केही उल्टी भई वादीको पति प्रतिवादी रविशंकर मिश्र पुनरावेदक प्रतिवादी असर्फीलाल भन्ने केदार मिश्र र मखमली मिश्रको छोरा नठहरेकोले वादीले प्र. रविशंकर मिश्रको सम्पत्तिबाट मात्र अंश पाउने भई पुनरावेदक असर्फीलाल मिश्र र मखमली मिश्रको सम्पत्तिबाट अंश नपाउने हुँदा निजहरूको सम्पत्ति बाट २०६१।४।१३ को तायदाती फाँटवारीअनुसार वादीलाई बण्डा छुट्टयाई दिने गरी राखेको तपसील खण्डको ३ नं. को लगत सो हद सम्म कट्टा गर्नु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउनू ...१

शुरु जिल्ला अदालतबाट वादीले कोर्टफी ऐन, २०१७ को दफा २३ को सुविधा लिई कोर्टफी दाखिला गरेको नदेखिएकोले यी प्रतिवादीले पुनरावेदन अदालत पाटनमा पुनरावेदन गर्दा मिति २०६२।१।२१ मा रु.५,४८४।३३ र सर्वोच्च अदालतमा पुनरावेदन गर्दा मिति २०६४।१२।३ मा रु.१,८७१।र मिति २०६४।११।२८ मा रु.१,५९५।१० कोर्ट फी दाखिल गरेको देखिंदा उक्त कोर्टफी रकम वादीबाट भरी पाउने हुँदा भराई पाउँ भनी ऐनका म्याद भित्र प्रतिवादीको दरखास्त परे केही दस्तूर नलिई वादीबाट प्रतिवादीलाई भराई दिनु भनी शुरु जिल्ला अदालतमा लेखी  पठाउनू ..२

दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा वुझाई दिनू .........३

 

उक्त रायमा म सहमत छु ।                                   

 

न्या.ताहिर अली अन्सारी

 

इति संवत् २०६७ साल वैशाख २९ गते रोज ४ शुभम्

 

 इजलास अधिकृत :हरिश्चन्द्र इङ्नाम

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु