शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३४६१ - जग्गा खिचोला

भाग: ३० साल: २०४५ महिना: भाद्र अंक:

निर्णय नं. ३४६१ ने.का.प. २०४५     अङ्क ५

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४३ सालको दे.पु.नं. ५३९

फैसला भएको मिति : २०४५।३।१९।१

 

पुनरावेदक प्रतिवादी : का.न.पं.वार्ड नं. ११ को हाल १७ क्षेत्रपाटी धोवीचौर निवासी वर्ष ६४ को रत्नलाल धोविसमेत

विरुद्ध

विपक्षी वादी : ऐ.ऐ.निवासी विष्णुकान्त मैनाली

 

मुद्दा : जग्गा खिचोला

 

(१)                  वादीले घर जग्गा किनी घर जग्गाको वरिपरि पर्खाल बनाई २०१८ सालदेखि भोगचलन गरेको कुरालाई अहिले आएर वादीको जग्गा बढी भएको वा क्षे.अ.ले दावी भन्दा बढी हुने गरी फैसला गरेको इन्साफ मिलेन भन्ने कुरा तर्कसंगत नदेखिने ।

(प्रकरण नं. १६)

(२)                लिखतमा कुनै विवाद नगरी लिखतमा लेखिएको तथ्यहरुलाई स्वीकार गरी सकेपछि  वादीले लिखतकै आधारमा आफ्नो जग्गा भित्र पारी पर्खाल लगाएको र ९।१० वर्ष पछि आएर पर्खालमा प्रतिवादीले खिचोला गरेको देखिँदा क्षेत्रीय अदालतले प्रतिवादीले वादीको जग्गामा खिचोला गरेको ठहर्‍याएको इन्साफ मनासिब ठहर्ने ।

(प्रकरण नं. १७)

 

पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गजेन्द्रबहादुर

विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा

 

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोला : मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफउपर रतनलाल धोवी समेतको पर्न आएको निवेदनमा यस अदालतको मिति २०४३।४।२९।४ मा पुनरावेदनको अनुमति पाई दर्ता भई यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ ।

२.     भैरवदेवीले मबाट रु.९९९९।लिई ०१९ साल पौष १६ गते मलाई फार्छे गरिदिई मेरो हक भोगचलनको घरजग्गा हो । हरिगोपाल रत्नलाल समेतको बीचमा भएको बण्डापत्रमा जनकलालको नाउँको उत्तर १७९७ को पोता लगतमा दर्ता भएको पोता रु.।४ लागेको पूर्व रैकर, पश्चिम ग्यानुबाबु साहेबको पर्खाल, उत्तर राइना धोवीको घर, दक्षिण धारापाटी यति ४ किल्लाभित्रको इपीखेल रोपनी चारआना जग्गा र सो जग्गामा बनेको पूर्व मोहडा उत्तर दक्षिण ल.को २ नाले, ३ कवले, २ तले पक्कि गारो, झिंगटी छाना भएको घर र सो घरले चर्चेको लगापात समेतको घर भन्ने उल्लेख भएको छ र सोही घर जग्गा अंशबाट हक हुने गरी गोपालको नाउँमा २२७५ नै दर्ता भई पटकपटक वंधकी र त्यसपछि फार्छे दुबैलाई मैले खरीद गरिलिएको र उक्त ४ किल्लाभित्रको घरजग्गा चारैतिर पर्खालले घेरिएको कम्पाउण्ड भित्रको घरजग्गा भोगचलन गरी आई उक्त कम्पाउण्ड भित्रको आफ्नै जग्गामा घरदेखि दक्षिण २८ फूट टाढामा चर्पी बनाउँन नक्शा पासको लागि दर्खास्त दिएकोमा विपक्षीहरुले दुःख दिने नियतले उजूर गरी का.न.पं.बाट भएको फैसला उपर पुनरावेदन परी नगर सभाले नक्शा बमोजिम आफ्नो जग्गामा चर्पी बनाउन नक्शा पास गरिदिने ठहर्‍याएको फैसला उपर पनि विपक्षीहरुको श्री स.अ.मा रिट निवेदन परेकोमा हक बेहकमा अदालतबाट निरोपण गराई आएपछि ठहरे बमोजिम हुनेछ भनी पर्चा गरी हक बेहकमा जानु भनी पक्षहरुलाई सुनाउनु पर्नेमा नसुनाई नक्शा पास गर्ने गरेको का.न.पं.सभाको ०३८।१२।२३ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहराई श्री सर्वोच्च अदालतबाट आदेश भइरहेकोमा मेरो कम्पाउण्ड भित्रको घर जग्गामा आउन जानलाई राखेको ढोका मैले बन्द गरी घरमा रहेको अवस्थामा मेरो इजाजत बेगर जबरजस्ती खोली ०३० साल कार्तिक २० गते मेरो घर कम्पाउण्ड दक्षिणतर्फको १ आना जग्गामा खिचोला गर्न आई प्रचलित मोल रु.२०० पर्ने उक्त एकआना जग्गामा खिचोला गरेको हुनाले खिचोला मेटाई मैले आफ्नो जग्गामा सेÇटीटैंक समेत खनी चर्पी बनाउन पाउने गरी विपक्षीहरुलाई कानुन बमोजिम सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।

३.     वादी दावीमा उल्लेख भएबमोजिम ढोका रहेको भनेको ठाउँमा ढोका थिएन र अहिले पनि छैन ढोका भएको भए ढोकाको मोल, चौडाई, लम्बाई खुलाउनु पर्ने सो समेत नखुलाएकोबाट ढोका नै थिएन भन्ने प्रष्ट हुन्छ । विपक्षीले भैरवदेवीबाट खरीद गरेको जग्गाका साविक दाता हरिगोपाल धोवी हुन् । कुलबहादुर  धोवीका ३ छोरामा जेठा छोरा जनकलाल दुई छोरामा जेठो म रत्नलाल र कान्छा हरिगोपाल जसले घरजग्गा बेचेको छ । कुलबहादुर धोवीका ३ छोरा बीच २००३।१।५ मा बण्डा हुँदा प्रत्येकलाई घर समेत ०० चारआनाको दरले सो जग्गाको अंश भाग ०१२० लागेको स्पष्ट हुन्छ र उक्त ०१२० जग्गाको उत्तर छेउमा ९ कवल घर बनेको र ३ भाइ प्रत्येकलाई घर जग्गा समेत ०० भाग परेको बण्डापत्रबाट देखिएकैछ ३।३ कवल घर र पूर्व पश्चिम घर अगाडिको जग्गा आआफ्नो गरी दक्षिण छेउमा भाग पर्ने जनकलाललाई दक्षिणतर्फ घर संगैको केही जग्गा अर्थात जनकलालको भागमा परेको घर समेत गरी उत्तर दक्षिण चौडा १८ हात मात्रै हो । पूर्व पश्चिम लम्बाई अन्दाजी ३८ हात छ । त्यतिबाट नै विपक्षीको ४ आना घर जग्गा पुगेकै छ । हामीजस्ता सोझालाई हायल कायल पारी जबरजस्ती जग्गा खाने नियतले मात्र झूठ्ठा नालेस गरेको छ । वादीले हामीहरुको जग्गा समेत भित्र पारी नक्शा दिएकोले मात्र हामीहरुले उजूर गरी रोक्का गरेको हो । हामीहरुको जग्गा हामीले नै भोग गरी आएको छ विपक्षीको जग्गा खिचोला गरेका छैनौं । विपक्षले नभएको झुठ्ठा कुरा रची उजूर गरेकोसम्म हो । यसअधिका भोगबन्धकीवाला, खरीदवाला समेतले दावी नगरेबाट समेत विपक्षी झूठ्ठा प्रमाणित हुनआएको हुँदा झूठ्ठा दावी गर्ने वादीलाई नै सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको राइचा धोवी र रतनलाल धोवीको संयुक्त रुपमा पर्न आएको प्रतिउत्तरपत्र ।

४.     फिराद जग्गा मिच्नेको १८ नं. को म्याद नाघी परेको देखिएकोले अ.बं.१८० नं. ले प्रस्तुत मुद्दा खारेज हुन्छ भन्ने समेत व्यहोराको का.जि.अ.को ०३४।५।९ को फैसला ।

५.     मुद्दाको औचित्यलाई र तथ्यभित्र प्रवेश नगरी कानुनी सुन्धकृत आधार लिई नालेस खारेज गरेको काठमाडौं जिल्ला अदालतको फैसला प्रत्यक्षतः कानुनी त्रुटिपूर्ण भएको हुँदा उक्त फैसला बदर गरी मुद्दाको औचित्य र तथ्यभित्र प्रवेश गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको राइचा धोवी र रतनलाल धोवीको बा.अं.अ.मा पर्न आएको पुनरावेदनपत्र ।

६.     तत्कालिन ज.मि. को १८ नं. को म्याद २ वर्ष भित्र फिराद नपरेको भनी खारेज गरेको शुरु का.जि.अ.को फैसला मिलेको नदेखिँदा बदर गरिएको छ, अब दुबैपक्षको सबूद प्रमाण बुझी इन्साफ गरिदिनु भनी उपस्थित पक्षलाई का.जि.अ.मा हाजिर हुन तारेख तोकी मिसिल सोही अदालतमा पठाई दिनु भन्ने समेत व्यहोराको बा.अं.अ.को मिति ०३५।१२।२६ को फैसला ।

७.     प्रतिवादीले आफ्नो हक नपुुग्ने जग्गामा चर्पि बनाउन नदिएकोले खिचोला गरेको ठहर्छ भन्ने समेत व्यहोराको का.जि.अ.को मिति ०३६।१२।२० को फैसला ।

८.     शुरु जि.अ.ले गरेको ठहर्‍याएको फैसला उल्टी बदर गरिपाउँ भन्ने समेत व्यहोराको राइचा धोवी र रतनलाल धोवीको बा.अं.अ.मा पर्न आएको पुनरावेदनपत्र ।

९.     प्रतिवादीले जग्गामा खिचेला गरेको भन्ने नमिल्ने देखिएकोले शुरुको इन्साफ बदर भई वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतको मिति ०४०।१०।५ को फैसला ।

१०.     बागमती अञ्चल अदालतको फैसलामा चित्त नबुझेकोले सो बदर गरिपाउँ भन्ने समेत व्यहोराको वादीले मध्यमाञ्चल क्षेत्रीय अदालतमा दिएको निवेदन ।

११.     बा.अं.अ.को फैसला नमिली प्रमाणको मूल्यांकन सम्बन्धी त्रुटिपूर्ण भएको स्पष्ट छ । तसर्थ निवेदन माग बमोजिम न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(३) को आधारमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेतको मिति २०४२।३।१९ को मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश ।

१२.    प्रतिवादी विवादीत जग्गामा निजहरुको हकभोग भएको ठोस सबूद प्रमाण समेत गर्न नसकी पहिलेदेखि खाली रहेको उनीहरुकै पुर्खाको जग्गा भने तापनि सो जग्गा अंशबण्डाबाट भाग पाउने हरिगोपालले बिक्री गरिसकेको र सो बण्डामा राइचा धोवी समेत साक्षी बसेको तथा पुरानो श्रेस्ताबाट हाल नापीमा घटबढ हुनसक्ने नै देखिएको हुँदा प्रतिवादीहरुले वादीको जग्गामा खिचोला गरेको नठहर्‍याएको बागमती अञ्चल अदालतको इन्साफ उल्टी भई वादी दावी बमोजिमकै प्रतिवादीहरुले खिचोला गरेको ठहर्छ भन्ने समेतको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।२।३१ को फैसला ।

१३.    विपक्षीको ०० जग्गा बाहेक विवादीत जग्गाको तिरो तिरान हामीले गरी आएको र विपक्षीको घरसहित ४ आना जग्गामा हामीले खिचोला गरेको छैन । म.क्षे.अ.ले अ.बं.१८४ नं.बमोजिम निर्णयाधार नखोली वादी दावीमै उल्लेख नभएको आधार लिई न्यायकर्ताज्यूहरुले आत्मगत विश्लेषण गरी खास प्रमाण छाडी इन्साफ तलमाथि अस्पष्ट फिराद बमोजिमको वादी दावी पुग्ने ठहर्‍याएको फैसला प्रत्यक्षतः गम्भीर कानुनी त्रुटिपूर्ण भएकोले सो फैसला बदर गरी बा.अं.अ.को ०४०।१०।५ को फैसला कायम सदर गरिपाउँन पुनरावेदनको अनुमति पाउन यो निवेदन चढाएका छौं भन्ने समेत व्यहोराको रतनलाल धोवी समेतको यस अदालतमा पर्न आएको निवेदन ।

१४.    शुरु जिल्ला अदालतले झगडा परेको सम्पूर्ण जग्गामा खिचोला गरेको ठहर्‍याएको देखिन्छ । र सोही इन्साफ म.क्षे.अ.बाट मनासिब ठहर्‍याएको देखियो, यसरी वादी दावीमा उल्लेख भएको भन्दा बढी जग्गा वादीलाई दिलाई दिएको म.क्षे.अ.को इन्साफमा त्रुटी भएको हुँदा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३ (५) (ख) बमोजिम अनुमति प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०४३।४।२९।४ को आदेश ।

१५.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता गजेन्द्रबहादुर र विपक्षीतर्फबाट उपस्थित विद्वान अधिवक्त शम्भु थापाले गर्नुभएको बहस जिकिर समेत सुनी इन्साफतर्फ विचार गर्दा मध्यमाञ्चल क्षेत्रीय अदालतले वादी दावी बमोजिम प्रतिवादीहरुले खिचोला गरेको ठहर गरेको फैसला मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुन आयो ।

१६.     यसमा पुनरावेदक रत्नलाल धोबी तथा वादीका परदाता हरिगोपाल समेतका बीचमा मिति २००७ सालमा घरसारमा बण्डापत्र भएको र उक्त बण्डापत्रमा पूर्व रैकर पश्चिम सानुको पर्खाल उत्तर राइचा धोबीको साँध दक्षिण धारापाटी भन्ने उल्लेख भएको र उक्त लिखतमा राइचा धोबी समेत साक्षी बसेको देखिन्छ । साथै सोही लिखतमा उल्लेख भएकै चारकिल्लालाई मान्यता दिई हरिगोपालको अंश भागको भनी २०११ सालमा बण्डापत्र पारित भएको मिसिल संलग्न बण्डापत्रको नक्कलबाट देखिन्छ । आफ्नो भागको सम्पूर्ण घर जग्गा मिति २०१२।११।२६ मा हरिगोपालले भैरवीदेवीलाई राजीनामा पारित गरिदिएको देखिन्छ । सोही राजीनामामा उल्लिखित जग्गा सम्पूर्ण नै वादीलाई भैरवीदेवीले मिति २०१८।९।१६ मा राजीनामा पारित गरेको देखिन्छ । यसरी वादीका परदाता र प्रतिवादीहरुका बीचमा २००७ सालमा घरसारमा भएको अंशबण्डाको लिखतलाई मान्यता दिई किल्ला समेत उनै राखी २०११ सालमा बण्डापत्र पारित भएको र २०१२ सालमा हरिगोपालबाट भैरवीदेवीले र ०१९ सालमा निज भैरवीदेवीबाट वादीले खरीद गरेको पाइन्छ । साथै उक्त विवादीत घर जग्गाको यथार्थ स्थिति पत्ता लगाउने उद्देश्यबाट भएको मिति २०३४।३।१९ को नक्शाको नं.८ मा रैकर जग्गा सार्वजनिक जग्गा देखिएको र नं.नं. ११ मा पाटी र न.नं.१२ मा धारा भई न.नं.१ मा पर्खाल देखिन्छ र उक्त तथ्यलाई २०३९।२।२४ को नक्शा र सर्भेको नक्शाबाट समेत समर्थित भएको पाइन्छ । वादीले घर  जग्गा किनी उक्त घर जग्गाको वरिपरी पर्खाल समेत बनाई ०१८ सालदेखि भोगचलन समेत गरेको कुरालाई अहिले आएर वादीको जग्गा बढी भएको वा म.क्षे.अ.ले दावीभन्दा बढी हुने गरी फैसला गरेको इन्साफ मिलेन भन्ने कुरा तर्कसंगत देखिएन । पर्खालभित्रको जग्गा घटीबढी भएको भन्ने हुँदा र सो जग्गालाई घटीबढी गरी संशोधन गर्न मिल्ने देखिँदैन । अर्कोतर्फ प्रतिवादीहरुले उक्त विवादीत जग्गामा निजहरुको हक भोग भएको कुनै ठोस सबूद प्रमाण पेश गर्न नसकी केवल पहिलेदेखिको हाम्रो पूर्खाको खाली जग्गासम्म भन्ने कुराको जिकिर लिएको देखिन्छ ।

१७.    यसरी दक्षिणकिल्ला धारा पाटी राखी पटकपटकका लिखतमा जनिएको देखिन्छ । उक्त लिखतहरुमा वा ति लिखतमा उल्लेख भएको किल्लामा कुनै विवाद भएको पनि पाइँदैन । यसरी लिखतमा कुनै विवाद नगरी उक्त लिखतमा लेखिएको तथ्यहरुलाई स्वीकार गरिसकेपछि वादीले लिखतकै आधारमा आफ्नो जग्गाभित्र पारी पर्खाल लगाएको र ९।१० वर्षपछि आएर पर्खालमा प्रतिवादीले खिचोला गरेको देखिँदा मध्यमाञ्चल क्षेत्रीय अदालतले प्रतिवादीले वादीको जग्गामा खिचोला गरेको ठहर्‍याएको इन्साफ मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

रतनलाल धोवी समेत के माथि इन्साफ खण्डमा लेखिएबमोजिम म.क्षे.अ.का इन्साफ सदर हुने ठहरेकोले पुनरावेदन गरे बापत केही गर्न पर्छ कि भन्नलाई कोर्टफी जफत हुने हुँदा केही गर्न परेन....१

मिसिल नियम बमोजिम बुझाई दिनु....२

 

उक्त रायमा म सहमत छु ।

न्या.महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४५ साल आषाढ १९ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु