शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३४७९ - कर्तव्य ज्यान

भाग: ३० साल: २०४५ महिना: असोज अंक:

निर्णय नं. ३४७९ ने.का.प. २०४५ अङ्क ६

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४३ सालको फौ.पु.नं. ४८१,५३५र ६५३

सम्वत् २०४३ सालको साधक नं. ६८

फैसला भएको मिति : २०४४।१२।३।४ मा

 

पुनरावेदक प्रतिवादी : कास्की चापाकोट गा.पं.वा.नं.३ बस्ने गौमती थापा मगरसमेत

विरुद्ध

प्रत्यर्थी वादी : कृष्णप्रसाद अधिकारीको जाहेरीले श्री ५ को सरकार

 

पुनरावेदक वादी : पुनरावेदक कृष्णप्रसाद अधिकारीको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रत्यर्थी प्रतिवादी : कास्की चापाकोट गा.पं.वा. नं.३ बस्ने गौमती थापा मगर

 

मुद्दा : कर्तव्य ज्यान

 

(१)                  सावितीलाई पारस्परिक सहअभियुक्तको भनाई तथा घर धनीको बयान तथा घटनास्थलको रगत लागेको माटो तथा सरजमिनको बकाई समेतका आधार प्रमाणबाट प्रत्यवादीलाई शूरुले ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गर्ने गरेको इन्साफ मनासिब ठहर्ने ।

(प्रकरण नं. ३७)

(२)                जनाना जातीलाई सत्य डगाउने उद्देश्यले रातको समयमा परपुरुषले साडी तान्न आएपछि पुच लागी बस्ने अवस्था नभएको र सो कुराको बचावटको लागि चप्पलले हिर्काउनु र हल्ला गर्नु समेतका कुरा यती अस्वभाविक भन्न र ज्यान मार्ने उद्देश्यले नै गरेको भन्न मिल्ने देखिएन, त्यस्तो स्थितिमा निज पुनरावेदीकालाई १७(३) अनुसार ३ वर्ष कैद गरेको मिलेको देखिएन निजलाई ऐ.महलको १७(३) अनुसार २ वर्ष कैद हुने ।

(प्रकरण नं. ३७)

 

पुनरावेदक, वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जितबहादुर कार्की

विपक्षी, प्र.पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री चूडामणीराज सिंह मल्ल

प्र.पुनरावेदक, तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री रामजी विष्ट

 

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।६।१।४ को फैसलामा चित्त बुझेन भनी प्र.मध्येका गौमती थापा मगर र प्र.देउबहादुर गुरुङ तथा वादी श्री ५ को सरकारकोतर्फबाट पुनरावेदन परी पुनरावेदनसाथ साधकको रुपमा समेत निर्णयार्थ यस इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको विवरण संक्षिप्तमा निम्न प्रकार छ ।

२.     २०४०।३।१२। गतेको दिन अं.१ बजेको समयमा मेरो भाइ जे. टि.बद्रीनाथ र गौमती थापा मगर भन्ने केटी संगसंगै साईकल लिई सदि भन्ने ठाउँमा साइकल राखी खपाउदी भन्ने ठाउँमा खिनेको बहिनीको दोकानमा दुवैले खाजा खाई त्यहाँबाट पामेतर्फ लागेका रहेछन् निज बद्रीनाथ १२ गतेबाट घरमा नआएकोले खोज तलाश गर्दै २०४०।३।१६ दिन जाँदा जे.टि.बद्रीनाथलाई ढल्केवर नजदिकै सिन्धुरे खोला भन्ने ठाउँमा लाश फालेका छन् भन्ने खबर पाई हेर्न गएकोमा भाइ बद्रीनाथकै लाश देखेकाले जाहेर गर्न आएको छु । निज गौमती थापाकै कर्तव्य र षडयन्त्रबाट भाइ जे.टि.बद्रीनाथको मृत्यु भएकोले कानुन बमोजिम सजायँ गरिपाउँ भन्ने कृष्णप्रसादको जाहेरी दर्खास्त ।

३.     बायाँ हातको बुढी र माझी औलानेर ३।३ ईन्च लामो छाला काटिएको जस्तो घाउ देखिएको सोही हातको नारीमा ३ इन्च लामो धर्के घाउ । बाया आँखा मुनि कोपेको जस्तो घाउ देखिएको लाश कुहिएको अवस्थामा रहेको भन्ने लाश जाँच प्रकृति मुचुल्का ।

४.     लाश पानीमा डुबी सडेगलेको हुँदा मृत्युको कारण पत्ता लगाउन नसकिने भन्ने मेडिकल जाँच रिपोर्ट ।

५.     २०४०।३।१२ गते जे.टि.बद्रीनाथ र म फलफूलका विरुवाहरु लिई खपाउदी तिर लाग्यौं । खपाउदी खिनेको बहिनीको दोकानमा रक्सी माछा खाई पामेतर्फ लाग्यो । मानबहादुरको भट्टी पसलमा खाना पकाउने अडर दियौं । सोही बखत कृष्णबहादुर गुरुङ पनि त्यहीँ आई रक्सी खायो र बेलुकी मानबहादुर गुरुङ, विष्णुमाया गुरुङ, पूर्णकुमारी गुरुङस्यानी, तलामा र कृष्णबहादुर गुरुङ, जे.टी.बद्रीनाथ म समेत तल भूई कोठामा भिन्नाभिन्नै सुत्यौं । १ घण्टा पछि कृष्णबहादुर गुरुङ आई मलाई करणी गर्नुभयो सो पश्चात बद्रीनाथ पनि मेरो सारी समाउन आएपछि मैले ४।५ पटक चप्पलले मुखमा हानेँ त्यसपछि कृष्णबहादुरले भक्त गिरी, सेते सार्की समेतलाई बोलाउन पठाई टाउको मुख समेतमा छुरी हानी मारी सकेपछि बोरामा बाँधी फेवातालको सिरतिर फ्याकेका हुन् कृष्णबहादुर, सेते सार्की, भरत गिरी समेतले छुरी हानी मारेका हुन् मैले कर्तव्य गरी मारेकी होइन भन्ने समेत व्यहोराको गौमती थापा मगरको प्रहरीमा भएको बयान कागज ।

६.     गौमती थापा, जे.टि.बद्रीनाथ र कृष्णबहादुर गुरुङ समेत भई मेरो भट्टी पसलमा रक्सी खाई बास बसेका राती करणीको विषयमा झगडा भई कृष्णबहादुर सेते सार्की र भरत गिरी समेतले छुरी हानेका हुन् सेते सार्कीले सन्नी तानी दिएपछि मृत्यु भएको हो भन्ने समेत व्यहोराको विष्णुमाया गुरुङको प्रहरीमा भएको बयान कागज । 

७.     कृष्णबहादुर, सेते सार्की, भरत गिरी समेत भई छुरी हाने, सन्नी तान्ने समेत गरी जे.टि.बद्रीनाथको मृत्यु भएको हो भन्ने समेत व्यहोराको मानबहादुर गुरुङले प्रहरीमा गरेको बयान कागज ।

८.     रातको ११ बजेको समयमा आवाज सुनी तल आई हेर्दा बद्रीनाथले मलाई करणी गर्न खोज्यो भनी गौमतीले भनेकी र कृष्णबहादुर, देउबहादुर, सेते सार्की, भरत गिरी समेत भई छुरी हान्ने मुख थुन्ने, सन्नी तान्ने गरी मारी सकेपछि तालको किनारामा लगी फ्याँके दोश्रो दिन पुनः तेल डाँडा भन्ने खोला पानीमा लगी फालेका हुन् भन्ने समेत व्यहोराको पूर्णकुमारी गूरुङको प्रहरीमा बयान कागज ।

९.     कृष्णबहादुरले ३।४ पटक छुरीले टाउकोमा हानेको र सेते सार्कीले पनि छुरीले हान्यो । देउबहादुरले मुड्कीले र मैले पिर्काले हानेँ सेते सार्कीले सन्नी तानी दिंदा चलबलाउन नसकी बद्रीनाथको मृत्यु भएको हो भन्ने समेत व्यहोराको भरत गिरीको को प्रहरीमा भएको बयान कागज ।

१०.     प्र.पं.कृष्णबहादुरले मार मार भनेकोले मैले पनि हानेको हुँ र कृष्णबहादुर, भक्त गिरी, सेते सार्की समेतले जथाभावी हानेको कारणबाट जे.टि.बद्रीनाथको मृत्यु भएको हो भन्ने समेत व्यहोराको देउबहादुर गुरुङको प्रहरीमा भएको बयान कागज ।

११.     अभियुक्त मानबहादुरको घर भित्रबाट लिपेको ठाउँबाट एकमुठी जती रगत लागेको जस्तो रातो माटो प्रहरी अधिकृतले बरामद गरी लगेका हुन् भन्ने विष्णु गिरी समेतको बदरामदी मुचुल्का ।

१२.    गौमती थापा मगर, यमबहादुर मगर, जे.टि.बद्रीनाथ आई मसंग रक्सी मागी रक्सी माछा समेत खाई पामेतर्फ लगेका हुन् भन्ने पूर्णकुमारी गुरुङको प्रहरीमा भएको बयान कागज ।

१३.    मेरो घरको नजदिक फलफूलका विरुवा राखे जे.टि.बद्रीनाथ र गौमती थापा खापाउदीतर्फ लागेका हुन् भन्ने सेते पौडेलको श्रीमती कान्छीकुमारी पौडेलको प्रहरीमा भएको बयान कागज ।

१४.    उपप्र.पं.कृष्णबहादुर गुरुङले मृतक बद्रीनाथको लाश बोकेर लगी गाडिदेउ भनेकोमा डर लागी म र मिनबहादुर घर्ती भागी गएका हौं । निज कृष्णबहादुर धनी मानिस हुँदा बरोबर निजको घरमा कामकाज गरी खाने मानिस भएकोले जाहेर प्रकाश गर्न नसकेका हौं भन्ने समेत व्यहोराको कामी सदस्य भन्ने मनवीर विश्वकर्माको प्रहरीमा भएको बयान कागज ।

१५.    जे.टि.बद्रीनाथको लाश जसरी भए पनि तालको किनारामा लगी गाडी दिन मद्दत गर्नु पर्‍यो भनी कृष्णबहादुरले भन्दा मनवीर र मनमानी आफ्नो घरमा गएर सुनेका हौं । अरु मलाई थाहा छैन भन्ने मिनबहादुर धर्तीले प्रहरीमा गरेको बयान कागज ।

१६.     २०४०।३।१२ गते खपाउदी खिनेको बहिनीको घरमा रक्सी माछा खाई पामे गयो । त्यहीँ मानबहादुरको घरमा जे.टि. बद्रीनाथ र गौमती बस्ने भएपछि म आफ्नो घरतर्फ लागेको हुँ भन्ने समेत व्यहोराको यमबहादुर मगरको प्रहरीमा भएको बयान कागज ।

१७.    करणीसम्बन्धी विषयमा विवाद भई गौमती थापा उपप्र.पं. कृष्णबहादुर गुरुङ र अन्य अभियुक्तहरु भरत गिरी समेतको सहयोगबाट जे.टि.बद्रीनाथको मृत्यु भएको हो भन्ने वडाअध्यक्ष कुलप्रसाद तिमिल्सीना समेतको सरजमीन मुचुल्का ।

१८.    मृतक बद्रीनाथ अधिकारीलाई उप प्र.पं.कृष्णबहादुर गुरुङ, भक्त गिरी, देउबहादुर गुरुङ गौमती थापा समेतको छुरी, पिर्का, मुड्कीको प्रहारबाट मृत्यु भएको सिद्ध हुनआएकोबाट निजहरुलाई ज्या.सं.को १३(३) अनुसार सजायँ हुन र मानबहादुर विष्णुमाया गुरुङ, पूर्णकुमारी गुरुङसमेतको मृतक लाशको अनुहारमा कालो अंगार पिनी दली दिएको र घटनास्थलमा खसेका रगतका छिटा टाटा लिपीपोती गैह्र कुरा गरी संयोग पारी दिएकोले निजहरुलाई ऐ.को १७  नं. को (२) अनुसार सजायँ हुन र कामी सदस्य भन्ने मनवीर विश्वकर्मा र मिनबहादुर घर्ती समेतले ज्यान मारेको देखी डरत्रासबाट जाहेर प्रकाश नगरेको भनी साविती बयान दिएबाट छिपाउने नियत लिएकोमा निजहरुउपर ऐ.ऐन को २५ नं.बमोजिम सजायँ गरिपाउँ र फरार रहेको उप प्र.पं. कृष्णबहादुर गुरुङ, सेते सार्कीका नाउँमा अदालतबाटै वारेण्ट तथा समाव्हान जारी गरिपाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

१९.     २०४०।३।१२ गते कृष्णबहादुर गुरुङ, जे.टि.बद्रीनाथ र गौमतीले मेरा घरमा खाना खाई छिँडिमा राखेको खाटमा सुतेका हुन् । अरु कुरा मलाई थाहा छैन भन्ने मानबहादुर गुरुङको अदालतमा भएको बयान ।

२०.    प्रहरीमा भएको बयान मेरो राजीखुसीले भएको होइन, जे.टि.बद्रीनाथलाई यसैले मारे भन्ने मैले देखिन भन्ने समेत व्यहोराको विष्णुमाया गुरुङको अदालतमा भएको बयान ।

२१.    घरबेटी मानबहादुरको घरमा खाना खाइसकेपछि कृष्णबहादुर गुरुङलाई र बद्रीनाथलाई एउटा खाटमा र मलाई एउटा खाटमा बिस्तारा लगाई दिए सबै निदाई सकेपछि बद्रीनाथ मेरो सारी तान्न आएपछि कस्तो बेइज्जती भनी कराएपछि कृष्णबहादुरले सुत्न जान भनेर भने त्यसपछि म बुढीको छोरी सुतेको ठाउँमा गएर सुतेँ मेरो समेत कर्तव्यबाट बद्रीनाथको मृत्यु भएको होइन । प्रहरीमा भएको कागज मेरो राजीखुसीबाट भएको होइन भन्ने समेत व्यहोराको गौमती थापा मगरको अदालतमा भएको बयान ।

२२.    तीनैजना तल छिँडिमा सुते । हाम्रो परिवार माथि सुतेम् । राती गौमतीले मर्ने जे.टि.ले सारी तान्न आयो कराउँदै गौमती हामी भएको ठाउँमा आएर सुतिन् त्यपछि जे.टि.निस्केर गएका हुन् । को को भई निज जे.टि.बद्रीनाथलाई मारे मलाई थाहा छैन भन्ने समेत व्यहोराको पूर्णकुमारी गुरुङको अदालतमा भएको बयान ।

२३.    कृष्णबहादुर गुरुङले छुरीले हिर्काए, गौमतीले चप्पलले र अगुल्टोले हिकाइन् । घरको बुढी विष्णुमायाले पनि चप्पलले र अगुल्टाले हिकाइन, मानबहादुरले अगुल्टाले र मैले घुस्साले हिर्काएँ भक्त गिरीले पिर्काले हिर्काए सेते सार्कीले सन्नी तानी दिएपछि जे.टि.बद्रीनाथको प्राण गएको हो भन्ने समेत व्यहोराको देउबहादुर गुरुङको अदालतमा भएको बयान ।

२४.    कृष्णबहादुर लगायत गौमती, विष्णुमाया, देउबहादुर, सेते सार्की समेतले छुरीले हान्ने, सन्नी तान्ने, घुस्सा दिने, गरेका थिए मैले पनि यसलाई हिकाई देउ भनेकाले पछाडिबाट पिर्काले हिर्काएको हुँ भन्ने समेत व्यहोराको भक्त गिरीको अदालतमा भएको बयान ।

२५.    जे.टि.बद्रीनाथाई मारे मराएको समेत केही छैन । कृष्णबहादुर समेतले मारेको भन्ने मात्र थाहा पाएको हुँ के कसरी मारे सो कुरा मलाई थाहा छैन र मैले सहयोग पनि कुनै गरेको छैन भन्ने समेत व्यहोराको मिनबहादुर भुजेल घर्तीले अदालतमा गरेको बयान ।

२६.    जे.टि.बद्रीनाथ आफैं मरेको वा कसैको कर्तव्यबाट मर्न गएको हो सो कुरा मलाई थाहा छैन प्रहरीमा मलाई जबर्जस्ती सहिछाप गराएको हो भन्ने समेत व्यहोराको मनवीर विश्वकर्माले अदालतमा गरेको बयान ।

२७.    प्रतिवादीले गौमती समेतको कर्तव्यबाट जे.टि.बद्रीनाथको मृत्यु भएको हो कसले के कस्तो चोट पारे सो भन्न खुलाउन सक्दिन भन्ने समेत व्यहोराको जाहेरवाला कृष्णप्रसाद घिमिरेको अदालतमा भएको   बकपत्र ।

२८.    वादी प्रतिवादीका साक्षीहरुको बकपत्र भई शुरु मिसिल सामेल रहेको रहेछ ।

२९.    प्र.मध्येका देउबहादुर गुरुङ र भक्त गिरी आरोपित कसूरमा प्रहरी र अदालतमा समेत सावित  भएको देखिँदा निजहरुलाई ज्या.सं.को १३(३) बमोजिम जन्मकैद हुन्छ । प्र.गौमतीको हकमा चप्पलले हिर्काएकोमा सावित भएबाट ऐ.१७(२) बमोजिम ५ वर्ष कैद हुन्छ र अरु प्रतिवादीहरुको हकमा जे.टि.बद्रीनाथलाई कर्तव्य गरी मारेको भन्ने तथ्ययुक्त सबूद प्रमाण नहुँदा सफाई पाउने ठहर्छ भन्ने कास्की जिल्ला अदालतको फैसला ।

३०.    म मार्ने मनसाय लिई घटनास्थलमा गएको छैन । मेरो चोटबाट जे.टि.बद्रीनाथ मरेको पनि होइन । तसर्थ मलाई जन्मकैद गर्ने गरेको त्रुटिपूर्ण फैसला बदर गरी न्याय पाउँ भन्ने समेत व्यहोराको देउबहादुर गुरुङको प.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।

३१.    उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारतर्फबाट प.क्षे.अ.मा पर्न आएको पुनरावेदनपत्र ।

३२.    उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको गौमती थापा मगरको प.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।

३३.    प्र.भक्त गिरीको हकमा ज्यानसम्बन्धीको १३(३) बमोजिम शुरु कास्की जिल्ला अदालतबाट सजायँ हुने ठहरेकोमा भक्त गिरीको पुनरावेदन नपरेकोबाट निजको हकमा साधकका रुपबाट दर्ता भई प.क्षे.अ.मा पेश भएको रहेछ ।

३४.    प्र.मानबहादुर गुरुङ, प्र.विष्णुमाया, प्र.पूर्णमाया, प्र.मनवीर, प्र.भिमबहादुर उपर आरोपित कसूर प्रमाणित हुनसक्ने समेत कुनै प्रमाण देखिन आउँदैन सफाई दिएको शुरु इन्साफ मिलेकै देखियो । प्र.गौमतीको हकमा विचार गर्दा ज्या.सं.को १३(३) को अवस्था देखिन आएन । ऐ.को १७ (३) बमोजिम हदैसम्म ३ वर्ष कैद सजायँ हुने ठहर्छ । प्र.देउबहादुर र प्र.भक्त गिरीलाई ज्या.सं.को १३(३) बमोजिम कसूरदार ठहराई सजायँ गर्ने गरेको शुरु इन्साफ मिलेकै देखिन्छ भन्ने समेत व्यहोराको प.क्षे.अ.को मिति २०४३।६।१।४ को फैसला ।

३५.    उक्त निर्णयमा चित्त बुझेन भनी प्र.गौमती थापा मगर र प्र.देवहादुर गुरुङको तथा वादी श्री ५ को सरकारतर्फबाट पर्न आएको पुनरावेदन ।

३६.    पुनरावेदक वादी श्री ५ को सरकार तर्फबाट उपस्थित हुनुभएका सरकारी विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्कीले र विपक्षी प्र.पुनरावेदक गौमतीतर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री चुडामणीराज सिंह मल्लले र प्र.पुनरावेदक देउबहादुर गुरुङकातर्फबाट उपस्थित हुनुभएका विद्वान वैतनिक अधिवक्ता श्री रामजी विष्टले गर्नुभएको बहससमेत सुनियो । मुख्य प.क्षेत्रीय अदालतले गरेको निर्णय मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।

३७.    यसमा जे.टि.बद्रीनाथ अधिकारीको मृत्यु कर्तव्यबाट भएकोमा विवाद देखिएन पुनरावेदक प्रतिवादीहरु मृतकको साथमा रहे बसेको र वारदात गरेकोमा साविती भएको र सो सावितीलाई पारस्परिक सहअभियुक्तको भनाई तथा निजहरु बसेको घर धनीको बयान तथा घटनास्थलको रगत लागेको माटो तथा सरजमिनको बकाई, निज पुनरावेदकको साविती समेतका आधार प्रमाणबाट पुनरावेदक प्रतिवादी देउबहादुरलाई शुरुले ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गर्ने गरेको इन्साफ सदर गर्ने गरेको इन्साफ मिलेको देखिँदा इन्साफ मनासिब ठहर्छ । अब पुनरावेदक प्रतिवादी गौमती थापा मगरका हकमा जनाना जातीलाई सत्य डगाउने उद्देश्यले रातको समयमा परपुरुषले साडी तान्न आएपछि चुप लागी बस्ने अवस्था नभएको र सो कुराको बचावटका लागि चप्पलले हिर्काउनु र हल्ला गर्नु समेतका कुरा त्यति अस्वभाविक भन्न र ज्यान मार्ने उद्देश्यले नै गरेको भन्न मिल्ने देखिएन । यस्तो स्थितिमा निज पुनरावेदीका गौमतीलाई १७(३) अनुसार ३ वर्ष कैद गरेको मिलेको देखिएन निजलई ऐ.महलको १७(३) अनुसार २ वर्ष कैद हुने ठहरेकोले क्षेत्रीय अदालतको निर्णयमा केही उल्टी हुने ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन  जिकिर अनुसार क्षेत्रीय अदालतले गरेको निर्णय ठीक छ छैन भनी त्यसतर्फ हेर्दा गौमती बाहेक अरु प्रत्यवादीलाई क्षेत्रीय अदालतले गरेको निर्णय घटनाको अवस्था अभियुक्तको बयान सरजमिन तथा प्रमाणहरुबाट मिलेको देखिन आएकोले वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । इन्साफ प.क्षे.अ.को मनासिब ठहर्छ । पुनरावेदनबाट हेरिएकोले साधकको लगत काटी दिनु । अरु तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।

तपसील

पुनरावेदीका प्र.गौमती थापा मगरनी के माथि इन्साफ खण्डमा लेखिएबमोजिम निजलाई प.क्षे.अ.ले गर्ने गरेको कैद वर्ष ३ हाल नलाग्ने हुँदा सो को लगत काटी दिनु अब निजलाई लाग्ने ठहरेको कैद वर्ष २ दुईको लगत कासी कानुन बमोजिम असूल गर्नु भनी शुरु का.जि.अ.मा लेखी पठाउनु का.जि.अ.मा लगत दिनु .............१

मिसिल नियमानुसार गरी बुझाई दिनु ..........................१

(यसमा दुवैजना भई निर्णय सुनाइसकेपछि मा.न्या.श्री हरिहरलाल राजभण्डारी परलोक हुनुभएकोले सहयोगी मा.न्या.ज्यु को सही हुन नसकेको ।)

 

न्या.सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०४४ साल चैत्र ३ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु