निर्णय नं. ३४८० - जालसाजी

निर्णय नं. ३४८० ने.का.प. २०४५ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४४ सालको फौ.पु.नं. ६३३
फैसला भएको मिति : २०४५।४।१०।२ मा
पुनरावेदक प्रतिवादी : जि.दाङ विजौरी गा.पं.वा.नं.५ बस्ने भगवती बाम्हणी
विरुद्ध
प्रत्यर्थी वादी : ऐ.ऐ.बस्ने प्रदिप गौतम
मुद्दा : जालसाजी
(१) अंशबण्डाको १ नं.अनुसार जियजीयै बण्डा लाग्ने ।
पारित बण्डाबाट वादीको हकै मेटिने देखिएकोले वादी दावी बमोजिम बण्डापत्र जालसाजी ठहराई गरेको निर्णय मनासिब देखिने ।
(प्रकरण नं. १३)
पुनरावेदक, प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतका २०४३।५।९ का फैसला उपर भगवती ब्रम्हणीले पुनरावेदनको अनुमति पाउँ भनी यस अदालतमा दिएको निवेदनमा यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान भई यसै इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ ।
२. पिता वामदेवबाट जेठा भागवत जस्की पत्नी भगवती हुन्, माहिला अशोककुमार, साहिलो म फिरादीको जन्म २०१९।८।९ मा भएको, २०२०।२।२९ को बण्डापत्र भन्दा पहिले जन्म भएको मेरो भाग नलगाई मेरो मौलिक हकबाट बञ्चित भएको छु । म जन्मिएपछि भएको बण्डापत्र कानुन प्रतिकुल छ र बण्डापत्र कीर्तेकागजको ३ नं.बमोजिम जालसाजीलाई समर्थन गरेको छु । भगवतीबाट सरस्वतीले हालैको बकसपत्र पारित गरी लिई सरस्वतीले वामदेव समेतलाई खिचोला मुद्दाको फिराद गरेको इतलायनामा २०३९।६।७ मा प्राप्त हुँदा मात्र जालसाजी बण्डा भएको थाहा पाउँ । उक्त जालसाजबाट गरिएको बण्डापत्र बदर गरी कीर्ते कागजको १० नं.अनुसार विपक्षीहरुलाई सजायँ गरिपाउँ भन्नेसमेत व्यहोराको प्रदीप गौतमको २०३९।७।२५ को फिरादपत्र ।
३. विपक्षीका बाबु वामदेव, ठूली आमा विष्णुकुमारी, दाजु भागवत, अशोककुमार जना ४ ले २०१९।१०।५ मा बण्डापत्र खडा गरी २०२०।२।२९ मा पास गर्नु भएपछि म भगवतीको पति भागवत परलोक हुनुभएपछि पतिको नामको जग्गा मरो नाउँमा नामसारी हुनआएको । बण्डापत्र भइसकेपछि २०२१।८।९ मा फिरादी जन्मेको हुँदा अंशबण्डाको ११ नं.अनुसार बाबुको बण्डाबाट अंश लिन पाउने हुँदा झुठ्ठा फिराद गरेको प्रष्ट देखिन्छ । तसर्थ फिराद खारेज गरिपाउँ भन्ने समेत व्यहोराको भगवती ब्राम्हणीको प्रतिउत्तरपत्र ।
४. वामदेवले म बिजुलीप्रसादलाई बण्डापत्र लेखी दिनु पर्यो भनेकाले बण्डापत्र लेखी दिएको हुँ, फटके साक्षी हामी जोगेश्वर, डिल्लीबहादुरले सहीछाप गरिदिएको हो, हामीहरुले जालसाज गरका होइनौ भन्ने समेत व्यहोराको जोगेश्वर, बिजुलीप्रसाद, डिल्लीबहादुर समेतको संयुक्त प्रतिउत्तरपत्र ।
५. वादी प्रदीप साहिलो छोरा र छोरी देवमा जुम्ल्या हुने हल्ला भएकोले जग्गा बटवारी गर्ने विचार उठी नाबालकको नाममा जग्गा राख्न नमिल्ने हुँदा प्रतिपको नाउँमा नराखी विष्णुकुमारीको नाममा धेरै जग्गा राखिएको हो । पारिवारिक इमान्दारीको विरुद्ध भगवतीले सगोलको अंश जग्गालाई बकसपत्र दिनु, खिचोला मुद्दा दिनु समेतको अनुभव गर्ने प्रदिपले जालसाजी गरे भन्ने हामी समेतका नाउँमा मुद्दा दिएकोमा अंशबाट बञ्चित गराउने नियतले गरेको हैन । जालसाल गरे भन्ने वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको वामदेव, अशोककुमार, खिमकुमारी समेतको संयुक्त प्रतिउत्तरपत्र ।
६. बण्डापत्र हुँदाका बखत वादी प्रदिप जन्मिएको नदेखिई प्र.भगवतीको लोग्ने भागवत समेतसंग यी वामदेव, अशोककुमार समेतका बीच रीतपूर्वकको बण्डापत्र भई रजिष्ट्रेशन पास समेत भएको देखिँदा जालसाज भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको दाङदेउखुरी जिल्ला अदालतको २०४०।१२।३० को फैसला ।
७. शुरु जिल्ला अदालतको फैसलामा चित्त बुझेन सो फैसला बदर गरी हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको वादी प्रदिप गौतमले राप्ती अञ्चल अदालतमा गरेको पुनरावेदनपत्र ।
८. जानी जानी वादी प्रदिप गौतम समेतको हक मेटिने गरी बण्डापत्र खडा भएको देखिने र बण्डा पाउने प्रतिवादी वामदेव, विष्णुकुमारी, भागवत र साक्षी बस्ने प्रतिवादी खिमकुमारी उपाध्यायनी मात्र एकाघरका अंशियार भएकोले यीमध्ये हाल जिवित रहेका प्रतिवादी वामदेव र खिमकुमारीले मात्र जालसाज गरी सो बण्डापत्र खडा गरेको ठहर्छ भन्ने समेत व्यहोराको राप्ती अञ्चल अदालतको २०४१।१२।११ को फैसला ।
९. राप्ती अञ्चल अदालतको फैसलामा चित्त बुझेन उक्त फैसला बदर गरी हक इन्साफ गरिपाउँन पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको भगवती ब्राम्हणीको म.प.क्षे.अ.मा परेको निवेदनमा उक्त अदालतबाट पुनरावेदनको अनुमति प्रदान गरिएको रहेछ ।
१०. यसै लगाउको फौ.पु.नं. २२।१४० को जालसाजी मुद्दाबाट वादी प्रदीपको जन्म मिति २०१९। ८।९ देखिई विवादीत २०२०।२।२९ को बण्डापत्र जालसाजी ठहरेकोले बण्डापत्रको आधारले पतिले प्राप्त गरी अपुतालीबाट मेरो हक भएको जग्गाको हक मेटाउने उद्देश्यले जालसाजी काम गरे भन्ने फिराद दावी हुँदा सो दावी नपुग्ने देखिन्छ । तसर्थ वादी दावी नपुग्ने ठहराएको राप्ती अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।५।९ को फैसला ।
११. म.प.क्षे.अ.को फैसलामा अ.बं.४० नं.अंशबण्डाको ३२ नं. अ.बं.८२ नं.प्रमाण ऐनको दफा ३,१८,२३, २४,३४,५४ समेतका कानुनको सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटी भएको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको भगवती ब्राम्हणीले यस अदालतमा दिएको निवेदनमा प्रस्तुत मुद्दामा वादी प्रदिप गौतम भएको र फिरादको मुख्य दावा जालसाजीबाट खडा गरिएको बण्डापत्र बदर गरी सजायँ समेत गरिपाउँ भन्ने माग दावी भएकोमा सोभन्दा बाहिर गई म.प.क्षे.अ.ले निर्णय गर्दा अपुतालीबाट मेरो हक भएको जग्गाको हक मेटाउने उद्देश्यले जालसाजी काम गरे भन्ने वादी दावा पुग्न सक्तैन भनी फैसला गरिएको पाइन्छ । यसर्थ वादी दावाभन्दा बाहिर गई निर्णय गर्न नहुने भन्ने स.अ.बाट प्रतिपादित सिद्धान्तको विपरीत म.प.क्षे.अ.ले फैसला गरेको देखिँदा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३ (५)(ग) को आधारमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासबाट २०४४।२।११ मा भएको आदेश ।
१२. पुनरावेदीका प्रत्यवादी भगवती ब्राम्हणीतर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले र विपक्षीतर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री विश्वकान्त मैनालीले गर्नुभएको बहस समेत सुनियो मुख्यत क्षेत्रीय अदालतले गरेको निर्णय मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनुपर्ने हुनआएको छ ।
१३. पिता वामदेव गौतमबाट जेठा भागवतकी पत्नी भगवती ब्राम्हणी हुन् र माहिला अशोककुमार, साहिला म फेरादीको जन्म २०१९।८।९ मा भएकोमा २०२०।२।२९ मा पिता तथा दाजु भागवतका भागको जग्गा भागवतको निधनपछि पत्नी भगवतीका नाममा नामसारी गरी भएको त्यसमा मेरो भागै नलगाई मेरो मौलिक हकबाट बन्चीत भए गरेको कुरा ०३९।६।७ मा थाहा भएकोले उक्त मेरो हक भाग मेटीने गरी गरेको जालसाजी बण्डापत्र बदर गरी कीर्ते कागजका १० नं. अनुसार विपक्षी प्रत्यवादीलाई सजायँ गरीपाउँ भन्ने मुख्य वादी प्रदीप गौतमको दावी भएको पाइन्छ । सो दावीतर्फ हेर्दा यी प्रत्यवादी भगवतीको पति भागवत र वामदेवको बीचमा २०२०।२।२९ मा बण्डापत्र पारित हुँदाका अवस्थामा यी वादी प्रदीपको जन्म भएको छ छैन र हो होइन भन्ने नै मुख्य विषय देखिन आएको छ । वादीका पिता वामदेव तथ आमा खेमकुमारी एवं दाजु अशोकले पनि प्रतिवाद गर्दा वादीको जन्म २०१९।८।९ गते नै भएको हो भन्ने उल्लेख गरेको र २०३४।१२।१४ मा प्राप्त गरेको वादीको नागरिकताको अस्थायी निस्सा र संस्कृत जनता माध्यमिक विद्यालयको ०४०।६।१४ को पत्रबाट समेत सोही २०१९।८।९ नै जन्ममिति देखिन आएको समेतबाट ०२१।८।९ मा प्रदीपको जन्म भएको हो भन्ने प्रत्यवादी जिकिरलाई समर्थन हुने र समर्थन गर्न मिल्ने कुनै प्रमाण प्रत्यवादीबाट पेश हुन नसकेको समेतका आधार प्रमाणबाट वादी प्रदीपको जन्म मिति ०१९।८।९ नै कायम हुने ठहराई अंशबण्डाको १ नं.अनुसार जियजीयै बण्डा लाग्ने कानुनी आधार प्रमाणबाट सो पारित बण्डाबाट वादी प्रदीपको हक मेटिने देखिएको समेतबाट सो वादी दावी बमोजिम बण्डापत्र जालसाजी ठहराई राप्ती अञ्चल अदालतले गरेको निर्णय मनासिब ठहराएको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा कुनै त्रुटी गरी गरेको देखिन नआएकोले इन्साफ मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतको मनासिब ठहर्छ । पुनरावेदीकाको पुनरावेदन जिकिर पुग्न सक्दैन, तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।
पुनरावेदीका प्रत्यवादी भगवती ब्राम्हणी के माथी इन्साफ खण्डमा लेखिएबमोजिम इन्साफ सदर भएकोले निजलाई राप्ती अञ्चल अदालतले गर्ने गरेको जरिवाना रु.१००।– को अ.बं.२०३ नं. ले सयकडा ५।– ले रु.५।– पाँच थप जरिवाना हुन्छ । असूल गर्नु भनी शुरु दाङ देउखुरी जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु.....१
मिसिल नियमानुसार गरी बुझाई दिनु ...२
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इति सम्वत् २०४५ साल श्रावण १० गते रोज २ शुभम् ।