निर्णय नं. ३४८३ - जिउ मास्ने बेच्ने

निर्णय नं. ३४८३ ने.का.प. २०४५ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
सम्वत् २०४४ सालको फौ.पु.नं. ६०५
फैसला भएको मिति : २०४५।५।२२।४ मा
पुनरावेदक प्रतिवादी : कारागार शाखा भद्रगोल काठमाडौं थुनामा रहेको बन्दी १० नम्वरी भोटे भन्ने बलबहादुर सार्कीसमेत
विरुद्ध
विपक्षी वादी : श्री ५ को सरकार
मुद्दा : जिउ मास्ने बेच्ने
(१) पछि संशोधन भएको न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३(३) बमोजिम सो संशोधन अघि भएको फैसला उपर पुनरावेदन लाग्न नसक्ने ।
(प्रकरण नं. १९)
फैसला
न्या.बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।५।१२ को फैसला उपर कारागार मार्फत पर्न आएको पुनरावेदनको संक्षिप्त विवरण निम्न प्रकार छ ।
२. वर्ष १४ की तुल्सा थापा भन्ने केटीलाई भगाई बम्वई ल्याई कान्छा सार्की, दश नम्वरी भन्ने बलबहादुर, भोला भन्ने बाहुला कामी, कान्छा कामी समेतले बिक्री गरी वेश्यावृत्तीमा लगाई दिंदा बिरामी छिन् भन्ने इन्टरपोल नयाँ दिल्ली भारतको टेलीग्राम पत्र ।
३. १४ वर्षको मिस तुल्सा थापालाई अपहरण गरी बम्बईमा वेश्यावृत्तीको काम गर्नको लागी कान्छा सार्की र बलबहादुर समेतले बेचेको भन्ने अभियोगमा बम्बई प्रहरीले निजहरुलाई कारवाही गर्नको लागी पक्राउ गर्नेतर्फ खोजी रहेको भन्ने इण्टरपोलको टेलिग्राफ प्राप्त भएकोले आवश्यक कारवाही गर्न हुन निर्देशानुसार अनुरोध गरिन्छ भन्ने समेत प्रहरी प्रधान कार्यालय इण्टरपोल शाखाको मिति २०३९।९।१३।३ को पत्र ।
४. मिति २०३८।११।२७।३ गते मदिसेहरुको होली हेर्न भनी नारायणघाट बजार जाँदा दिउँसो अंदाजी ३।४ बजेको समयमा पर्चा बजारमै गाउँकै वीरध्वज थापाकी छोरी वर्ष १४ की तुल्सा थापा क्षेत्रीलाई धुम्ती दोकानमा बसिरहेको देखी कहाँबाट आएको तुल्सा भन्दा म घरबाट आएको भनी सकेपछि मेरो पछि लागेकोले यो केटीलाई कसैले बम्बईतर्फ बिक्री गर्न लान्छ कि भनी ल्याई मेरो डेरामा लगेर मेरो डेरामा लोग्ने मान्छे मात्र छ तिमी मैले चिनेको मानिसको डेरामा बस भनी नारायणघाट संगमचोकमा लुगा सिउने काम गरी बसेका बाबुलाल भन्ने उत्तरकुमारलाई वर बोलाई ल्याई यो केटी मेरो ठाउँको, तिम्रो स्वास्नी माहिली दमाई र सालो सन्ते दमाई समेत भएर बम्बईमा बिक्री गरी आएको रुपैयाँ मलाई समेत दिनु भनी गरेको सल्लाह अनुसार म अन्यत्र गई उत्तमकुमार, सन्ते दमाई, १० नम्वरी भोटे भन्ने बलबहादुर सार्की समेत भई तुल्सा थापालाई बम्बई लगी बिक्री गरेको कुरा मिति २०३९।४।२३ गते नारायणघाट आएको २।४ दिन पछि मात्र थाहा पाएको छु । रुपैयाँ लिए खाएको छैन भन्ने समेत व्यहोराको कान्छा सार्कीले प्रहरीमा गरेको बयान कागज ।
५. मिति २०३८।११।२६,२७ गतेतिर कान्छा सार्कीले उसैको घरगाउँको १४ वर्षकी तुल्सा थापा नाउँकी एक केटीलाई नारायणघाट बजारमा अलपत्र परी फेला परेको भनेर उत्तरकुमारको पसल डेरामा राखी राखेको रहेछ । त्यतिखेर कान्छा सार्की त्यहाँ थिएन । यो केटीलाई तपाई हामी भएर भगाई विदेश भारत बम्बैमा लगी बिक्री गर्न तपाईले पनि मद्दत गर्नु पर्यो भनी भनेको सल्लाह अनुसार भोलिपल्ट बाबुलाल भन्ने उत्तरकुमार निजको सालो सन्ते दमाई र म नचिनेको २ जनासहितको तुल्सा थापालाई बीरगन्जबाट भारतको रक्सौलमा पुर्याएपछि सन्ते र म समेत भई यो केटीलाई विक्री गरी आउँछौ तिमी यहाँबाट फर्क पैसा पछि मिलाउँला यो कुरा कसैलाई पनि नभन्नु भनेकाले म फर्कि आएँ । २०३९ साल जेष्ठमा बाबुलाल भन्ने उत्तरकुमारलाई भेटी केटी बिक्री गरी आएको पैसा बारे कुरा गर्दा अहिले छैन पछि मिलाउँला भनेका थिए । पैसा पाएको छैन भन्ने समेत व्यहोराको १० नम्बरी भोटे भन्ने बलबहादुर सार्कीको बयान ।
६. मिति २०३८।११।२७ गते तिर हो नारायणघाटमा जुत्ता सिउने काम गरी बसेका कान्छा सार्कीले १४ वर्षकी तुल्सा थापालाई लिई मेरो डेरामा आई यो मेरो गाउँको केटी हो, यसलाई तिमी, बलबहादुर, कान्छा कामी समेत भई भगाई बम्बईमा लगी बिक्री गरी आउनु भनी गरेको सल्लाह अनुसार रक्सी खाई मात्तिएपछि सुतेका हौं । भोलिपल्ट मेरा पसलमा विहान ७ बजेतिर कान्छा कामी र भोला भन्ने वहुला कामी समेतले तिमीकहाँ राखेको केटीलाई हामी भारतको बम्बईमा लगी विक्री गरी आएको पैसा तिमीलाई पनि दिन्छौ भनी भोलिपल्ट कान्छा कामी, वहुला कामी र १० नम्वरी भन्ने बलबहादुर र म मेरा सालो सन्ते दमाईसहित भएर तुल्सा थापालाई रक्सौल पुर्याएपछि बलबहादुर काम छ भनी त्यहीं बसेपछि म र मेरो सालो सन्ते दमाई समेतलाई कान्छा कामी घर जाउ भनेकाले निजहरुको साथमा तुल्सालाई छोडी फर्कि आएको छु । त्यसको १०/१५ दिनपछि कान्छा कामीले रु.४०००।– मा तुल्सालाई बिक्री गरिपाएकोमा चोरी भयो भनी मलाई रु.२००। दिएको खर्च गरी सकेँ भन्ने समेत व्यहोराको बाबुलाल भन्ने उत्तरकुमार परियारको बयान ।
७. मिति २०३८।११।२७ गतेका दिन ललितपुर पुल्चोकमा सिलाई बुनाईको तालीममा जाने मेरो छोरी वर्ष १४ की पुल्सा थापालाई गाउँकै कान्छा कामीले ललाई फकाई नारायणघाटबाट लगि त्यहाँ कान्छा कामी समेतका मानिसहरु गएर भारत वम्वईमा लगेर बिक्री गरेको भन्ने कुरा भारत दिल्लीको टेलीग्राफबाट थाहा पाएकोले कान्छा कामी समेतलाई कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको तुल्सा थापाको बाबु वीरध्वज थापाको कागज ।
८. कान्छा कामी समेतका व्यक्तिहरु मिलेर तुल्सा थापालाई भारतमा लगी बिक्री गरेका हुन् भन्ने समेत व्यहोराको २०३९।१२।२० को सरजमीन मुचुल्का ।
९. भारत स्थिति ईन्टरपोलको पत्र प्रतिवादीहरुले स्वयंले वर्ष १४ की तुल्सा थापालाई ललाई फकाई भारत वम्बईमा लगी बिक्री गरेको हो भनी गरेको साविती बयान कागज एवं सरजमीन मुचुल्का समेतबाट बिक्री गरेको स्पष्ट हुन आएकोले १० नम्बरी भन्ने बलबहादुर सार्की कान्छा सार्की र बाबुलाल भन्ने उत्तरकुमार परियार उपर जिउ मास्ने बेच्नेको महलको १ नं.अनुसार हदैसम्म कारवाही सजायँ हुन र कन्छा कामी, भोला भन्ने बहुला कामी र सन्ते दमाई समेतको स्पष्ट ठेगाना खुलेको बखत कानुन बमोजिम कारवाही गर्ने गरी छुट्टै प्रतिवेदन गरिनेछ भन्ने समेत व्यहोराको मिति २०३९।१२।२२ को प्रहरी प्रतिवेदन ।
१०. मिति २०३९।११।२१ गतेका दिन म आफ्नो ससुराली कल्याणपुरमा थिए । बेलुकी १० बजे प्रहरीहरु आई मलाई केही पनि नसोधी पक्राउ गरी भरतपुरमा लगी त्यहाँबाट ऐ. २२ गते जिल्ला प्रहरी कार्यालय काठमाडौंमा ल्याई कुटपिट गर्दा पहिले नै लेखिएका कागजमा सहिछाप गरेको हुँ मैले केटी तुल्सा थापालाई नचिनेको र बिक्री गरेको समेत होइन भन्ने समेत व्यहोराको १० नम्वरी भोटे भन्ने बलबहादुर सार्कीले काठमाडौं जिल्ला अदालतमा गरेको बयान ।
११. प्रहरीमा मलाई कुटपिट गरी बयान गराएका हुन म समेत भएर तुल्सा थापालाई ललाई फकाई भारतमा लगी बिक्री गरेको समेत होइन र को कसले बिक्री गरे मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी कान्छा सार्कीले गरेको बयान ।
१२. २०३९ साल फाल्गुण पुर्णिमाको दिन कान्छा कामीसंग नारायणघाट बसबाट ओर्लिएको तुल्सा थापा उभिरहेकी र कान्छा कामी आफ्नो पसलतर्फ गयो मैले वलुवा कामी र कान्छा कामीको लुगाहरु सिए बापत ज्याला रु.२००।– दिएर मलाई खाजा खान लगे त्यहाँ रक्सी खाएको हुँदा लागकोले म बरण्डामा लडेछु भोलिपल्ट कान्छा कामी समेतलाई देखिन प्रहरीमा मलाई कुटपिट गरी बयान गराएका हुन् । मैले तुल्सा थापालाई भारत बम्बईमा लगी बिक्री गरेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी बाबुलाल भन्ने उत्तरकुमार परियारको बयान ।
१३. २०३८ साल फाल्गुण महिनामा समेत गते बार सम्झना छैन मेरो काम गर्ने ठाउँ पुल्चोकमा कान्छा सार्की आई मेरो आमालाई पेट दुखेकोले हस्पिटलमा लगी सकेको छ बुबाले लिएर आउ भनेको छ भनेकाले निजको साथ लगी रातको बस चढी नारायणघाट लगी उत्तरकुमार परियार बलबहादुरलाई जिम्मा लगाई दिए । मलाई ३ जना मिली सोडा खान दिएपछि बेहोस भएँ । त्यसपछि मलाई रक्सौलबाट बम्बई सेन्टर आउँदा कान्छा कामी थिएन । अरु २ जनाले एक ठूलो घरमा लगी रेखा भन्नेलाई रु. ७०००। मा बिक्री गरेको कुरा भोलिपल्ट थाहा पाउँ । गन्धा काम गर्न नमानेकोले झ्यालबाट खसालकोमा जनताहरुले अस्पताल लगेका रहेछन् । यी प्रतिवादी कान्छा सार्की समेत ३ जनालाई कानुन बमोजिम कारवाही सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको बेचिएकी केटी तुल्सा थापाको बकपत्र ।
१४. प्रतिवादीहरुले प्रतिवेदनमा माग दावी बमोजिम तुल्सा थापालाई भारत बम्बईमा ललाई फकाई लगी बिक्री गर्यो भन्ने कुरा स्पष्ट हुन आएकोले जिउ मास्ने बेच्नेको १ नं.बमोजिम २० वर्ष कैद हुने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०४१।१२।३०।६ को फैसला ।
१५. मैले इन्कारी बयान गर्दा गर्दै २० वर्ष कैदको सजायँ गर्ने गरेको शुरु फैसला अन्यायपूर्ण हुँदा बदर गरी सफाई पाउँ भन्ने समेत व्यहोराको १० नम्वरी भोटे भन्ने बलबहादुर सार्की समेतले मध्यमाञ्चल क्षेत्रीय अदालतमा गरेको पुनरावेदन ।
१६. इन्टरपोलले प्रहरी प्रधान कार्यालयलाई सूचना गरे अनुसार भोटे भन्ने बलबहादुर सार्की र बाबुलाल भन्ने उत्तरकुमार परियारले शुरु कागज गर्दा निजहरु साविती भई कागज गरेको देखिन आउँछ । अदालतमा आई इन्कार बयान गरे तापनि पीडित तुल्सा भन्ने वर्ष १४ की केटीले निज अभियुक्तहरु मिली मलाई बम्बईमा लगी बिक्री गरेको भनी किटानी बकपत्र गरेको मिसिल कागजबाट देखिन आउँछ अवोध १४ वर्षकी बालिकाले निजहरु उपर यसरी नभएको नगरेको भए किटान गर्न पर्ने अवस्था मिसिलबाट देखिन आउँदैन १४ वर्षकी बालिका त्यसै बम्बई जस्तो ठाउँमा पुगी वेश्यवृत्तिमा संलग्न हुन सक्छिन भनी पत्याउन पनि सकिने अवस्था छैन । पुनरावेदक बलबहादुर कान्छा सार्कीले आफ्नो पुनरावेदनमा पनि निर्दोषिताको कुनै जिकिर लिन सकेको छैन । यस अवस्थामा शुरु का.जि.अ.ले भोटे भन्ने बलबहादुर सार्की र कान्छा सार्कीलाई जिउ मास्ने बेच्नेको १ नं.बमोजिम सजायँ गरेको मनासिब हुँदा निजहरुको पुनरावेदन दावी पुग्न सक्दैन भन्ने समेत मिति २०४३।५।१२ को म.क्षे.अ.को फैसला ।
१७. उक्त फैसलामा चित्त बुझेन भन्ने बलबहादुर र कान्छा सार्कीको यस अदालतमा परेको पुनरावेदन ।
१८. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा कारागारबाट झिकाई आएको पुनरावेदकहरुलाई रोहवरमा राखी पुनरावेदन जिकिर समेतको मिसिल अध्ययन गरी निर्णयतर्फ विचार गर्दा १० नम्बरी भन्ने बलबहादुर भोटे समेतलाई जिउ मास्ने बेच्नेको १ नं.अनुसार २० वर्ष कैदको सजायँ गरी म.क्षे.अ.बाट २०४३।५।१२ मा गरेको फैसला उपर पुनरावेदकहरुको पुनरावेदन परेको देखिन्छ । पुनरावेदन लाग्ने नलाग्ने के रहेछ भनी कानुनी व्यवस्थातर्फ हेर्दा न्या.प्र.सु. ऐन, २०३१ संशोधित हुनु पूर्व दफा १३(३) बमोजिम प्रस्तुत पुनरावेदन परेको देखिन आयो । न्याय प्रशासन सुधार ऐन, ०३१, ०४३।७।२४ मा संशोधन भई २० वर्ष कैद हुनेमा उक्त १३(३) बमोजिम क्षे.अ.को फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने व्यवस्था गरेको पाइन्छ । प्रस्तुत मुद्दा ०४३।५।१२ मा क्षे.अ.बाट फैसला भएको हँुदा तत्काल बहाल रहेको न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३(५) लाग्ने अवस्था देखियो सो ऐनमा २० वर्ष कैदको सजायँ भएको क्षे.अ.को फैसला उपर स.अ.मा पुनरावेदन लाग्न सक्ने व्यवस्था भएको पाइँदैन ।
१९. तसर्थः पछि संशोधन भएको न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३(३) बमोजिम सो संशोधन अघि ०४३।५।१२ मा भएको फैसला उपर पुनरावेदन लाग्न नसक्ने हुँदा पुनरावेदन दायर गरेको कानुन अनुरुप नभएकोले पुनरावेदन खारेज हुने ठहर्छ नियम बमोजिम मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.पृथ्वीबहादुर सिंह
इति सम्वत् २०४५ साल भाद्र २२ गते रोज ४ शुभम् ।