निर्णय नं. ३४८८ - भ्रष्टाचार

निर्णय नं. ३४८८ ने.का.प. २०४५ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४३ सालको फौ.पु.नं. ५२६, ५२३
फैसला भएको मिति : २०४५।३।२२ मा
पुनरावेदक वादी : श्री ५ को सरकार (विशेष प्रहरी विभाग)
विरुद्ध
पुनरावेदक प्रतिवादी : का.जि.का.न.पं.घट्टेकुलो डेरा गरी बस्ने श्रीमती ईन्दिरा थपलिया
विरुद्ध
पुनरावेदक वादी : श्री ५ को सरकार (विशेष प्रहरी विभाग)
मुद्दा : भ्रष्टाचार
(१) तत्काल प्रचलित न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ (५) अनुसार क्षेत्रीय अदालतले पुनरावेदन हेरेको भ्रष्टाचार मुद्दामा दोश्रो तहको पुनरावेदन सर्वोच्च अदालतमा लाग्ने व्यवस्था भएकोमा पछि आएको कानुन व्यवस्थाले लाग्नै नसक्ने पुनरावेदन दर्ता गरेको देखिँदा त्यस्तो पुनरावेदनबाट कार्यवाही गर्न नमिल्ने ।
(प्रकरण नं. ३०)
वादीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री बलराम के.सी.
प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शभु थापा
फैसला
न्या.पृथ्वीबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ :
२. कर्मचारी संचय कोषमा सहायक तहमा काम गर्ने एकजना महिला कर्मचारीले दुइजना सहायक एक प्रमुख सहायक, शा.अं. तथा वरिष्ठ शा.अ.गरी जम्मा ५ कर्मचारीको कीर्ते सही गरी कोषबाट रकम झिकेको छन् भन्ने समेतको स्थानीय समाचार पत्रमा छापिएको खबरको आधारमा अनुसन्धान प्रारम्भ भएको देखिएको ।
३. मिति २०४०।६।१२ मा निवेदिका इन्दीरा थपलिया नाम गरी सामाजिक कार्य सापटी माग गरेको देखाइएको सक्कलै फर्म कोष कट्टी शाखा हिसाब शाखा र कर्जा शाखामा म आफैंले लगेर सही गराए र अरु तीन कट्टी प्रबन्धक र अ.प्र.मा पिउनले लगेर सही गराएको हो । सो फर्मबाट नै मैले रु. १,०८५।– सामाजिक सापटी लिएको हो, मेरो अहिले सम्मको कोष कट्टी जम्मा रकम २,०८६।६० मात्र हो तर मैले भरेको फर्ममा उक्त रकम कसरी ३,०८५।६० भयो मलाई थाहा छैन । २०४०।६।१२ को कन्ट्रा भौचरको फोटोकपी हेरी सनाखत गरे उक्त रकम मैले नै बुझेको हो उक्त भौचरको पछाडि भएको सही मेरो आफ्नै हो । शुरेसदेव भट्ट, कल्याणबहादुर विष्ट र भवानी रेग्मी तीन जनाले मेरो रोहवरमा सो अंक, अक्षरका साथै फर्म नै हामीले भरेको होइन भनी भन्नु भएको हुँदा सो फर्ममा कोष कट्टी शाखाका कर्मचारीहरुको सही हुने महलहरुमा म आफैंले कृतिम सही गरेको र जम्मा रकम २,०८५।६० समेत म आफैंले भरी सो फर्म पेश गरी पैसा खाएको हो । त्यसबेलाको परिस्थितिले गर्दा मैले वहाँहरुको कृतिम सही गरेर पैसा निकालेकी हुँ, कानुनले जस्तो ठहर्छ भोग्न तयार छु । हिसाब शाखाको कृष्णबाबु मेनका, महेश र कर्णलाल यी चारै जनाको सही पनि म आफैंले गरेको हुँ भन्ने समेत व्यहोराको विशेष प्रहरी विभागमा प्रतिवादी इन्दीरा थपलियाले गरेको बयान ।
४. मिति २०४०।६।१० मा सहायक इन्दीरा थपलियाले सामाजिक कार्यको लागि माग गरेको फारममा म समेतले सहिछाप गर्नु पर्ने हो तर उक्त माग गरेको सापटीको फाराममा मेरो हस्ताक्षर होइन । सो देखाइएको सक्कल सापटी फाराम हेरें प्रमुख सहायक महलमा गरेको सही मेरो होइन हेरी सनाखत गरेको छु । माथि सनाखत गरेको सापटी फाराम इन्दीरा थपलियाले म समक्ष लिएर आएकी थिइनन् मेरो समेत सही गरी रकम झिकेको भन्ने कुरा थाहा पाएपछि मैले सम्बन्धित अधिकृत समक्ष यो कुराको जानकारी गराएको थिएँ भन्ने समेत व्यहोराको कल्याणबहादुर विष्टले विशेष प्रहरी विभागमा गरेको बयान ।
५. मिति २०४०।६।१० मा सहायक इन्दीरा थपलियाले पेश गरेको सामजिक कार्य सापटीको सक्कलै फाराम हेरी सनाखत गरेको छु । उक्त फाराममा जनाइएको रकम मैले लेखेको होइन र सहायकले हस्ताक्षर गर्नुपर्ने महलमा गरिएको हस्ताक्षर मेरो होइन । मैले हस्ताक्षर गर्नुपर्ने महलमा कस्ले मेरो हस्ताक्षर गर्यो मैले रकम जनाउनु पर्ने ठाउँमा कसले जनायो म अनिभिज्ञ छु भन्ने समेत व्यहोराको सुरेशदेव भट्टराईले विशेष प्रहरी विभागमा गरेको बयान ।
६. अभिलेख शाखाकी इन्दीरा थपलियाले सामाजिक कार्य सापटी लिंदा भरेको फाराममा प्र.स.भन्ने महलमा मैले सही गरोको होइन भन्ने समेत व्यहोराको कृष्णबाबु क्षेत्रीले विशेष प्रहरी विभागमा गरेको बयान ।
७. अभिलेख शाखाको स.इन्दिरा थपलियाले मिति २०४०।६।१० मा सापटी लिएको फर्ममा कोष शाखाबाट उक्त सक्कल फर्ममा रकम भरेको छैन । सो फर्मको शा.अ. भन्ने महलमा भएको सही मेरो होइन, सो फर्म नै कोष शाखामा प्राप्त भएको थिएन भन्ने समेत व्यहोराको भवानी रेग्मीको विशेष प्रहरी विभागमा भएको बयान ।
८. अभिलेख शाखाकी इन्दीरा थपलियाले २०४०।६।१० मा सापटीको लागि पेश गरेको देखाइएको सक्कलै प्रतिमा हिसाब शाखाबाट भन्ने महलमा रु.५६४।– भन्ने लेखी मेरो सही भएको भन्ने सम्बन्धमा उक्त दर्खास्त फाराममा मैले रु.५६४।– बाँकी भन्ने लेखेको पनि होइन र सही पनि गरेको होइन भन्ने समेत व्यहोराको मेनका आचार्यले विशेष प्रहरी विभागमा गरेको बयान ।
९. मैले इन्दीरा थपलियाको सामाजिक कार्य सापटीको फाराममा सही गरेको छैन । उक्त फाराम म कहाँ ल्याइएको पनि थिएन र त्यसमा आफ्नो दस्तखत पनि गरेको छैन भन्ने समेत व्यहोराको कर्णलाल श्रेष्ठले विशेष प्रहरी विभागमा गरेको बयान ।
१०. सहायक इन्दीरा थपलियाले मिति २०४०।६।१० मा दिएको निवेदन म कहाँ आएको छैन र उक्त फर्ममा मैले सही गरेको समेत छैन भन्ने समेत व्यहोराको महेशप्रसाद दहालले विशेष प्रहरी विभागमा गरेको बयान ।
११. श्रीमती इन्दीरा थपलियाले कोषमा पेश गरी सापटी लगेको फाराममा परेको हस्ताक्षर र सहीहरु सुरेशदेव कल्याणबहादुर विष्ट, श्रीमती भवानी घिमिरे, कृष्ण बाबु क्षेत्री र कर्णलाल श्रेष्ठका नमूना हस्ताक्षर सही भिड्दैनन् । निज इन्दीरा थपलियाले मिति २०४०।६।१९ मा पेश गरेको स्पष्टीकरणको हस्ताक्षर अंक अक्षरहरु र उल्लिखित फारामको पहिलो पृष्ठको प्रकरण ४.६ तथा दोश्रो पृष्ठको कोष शाखाबाट भन्ने महलको र हिसाब शाखाबाट भन्ने महलमा भरिएका अंक अक्षरहरु एउटै व्यक्तिको हातबाट लेखिएका हुन् भन्ने समेत व्यहोराको विवादग्रस्त लिखत परीक्षक पद्मराज काफ्लेको प्रतिवेदन ।
१२. मिति २०४०।६।१२ मा रु.१,०८५।– सामाजिक कार्य सापटी लिएको आफ्नो अहिले सम्मको कोष कट्टी जम्मा रु. २,०८५।६० मात्र भएकोमा आफैंले भरेको सामाजिक कार्य सापटी माग गरेको फर्ममा सुरेश देव भट्ट, कल्याणबहादुर विष्ट र भवानी रेग्मी समेतको सही दस्तखत आफैंले कृतिम सही दस्तखत गरी जम्मा रकम ३,०८५।६० जम्मा भएको भन्ने सामाजिक कार्य सापटी माग फर्म गैरकानुनी किसिमले अंक अक्षर आफैंले लेखी तयार गरी कर्मचारी सञ्चय कोषमा पेश गरी गैरकानुनी तरीकाले रु.१,०८५।– सापटी प्राप्त गरी आफूलाई गैरकानुनी लाभ र कर्मचारी सञ्चय कोषलाई हानी पुर्याई भ्रष्टाचारपूर्ण कार्य गरी आएकोमा निज इन्दीरा थपलियाको साविती हुनुको साथै निज इन्दीरा थपलियाले सामाजिक र्काय सापटी रु.२,३८४।१० पाउन सक्नेमा निजले पहिले नै लिइसकेको भएबाट सामाजिक कार्य सापटी बाँकी रु.२,३८४।१० र त्यसमा २०४०।६।९ सम्मको लाग्ने थप ब्याज रु.३।८७ अग्रिम लिएको तलब पेश्की रु.४४१।५० समेत जम्मा रु.२,८२९।४७ कटाएर मात्र बाँकी रकम दिनुपर्नेमा निजले पाउन सक्ने २,३८४।१० भन्दा कटाउनु पर्ने रु.२,८२९।४७ बढी भएबाट निज इन्दीरा थपलियाले सामाजिक कार्य सापटीबाट कुनै रकम पाउन सक्ने तथा निजको कोषमा सञ्चित जम्मा रकम भन्दा रु. १,०००।–बढाएको र कठ्ठा गर्नु पर्ने सामाजिक कार्य सापटीमा पनि रु.२०००।– पुरै बढी भुक्तानी लिएको भन्ने समेत कर्मचारी सञ्चय कोषको मिति २०४०।१०।२६ को पत्र तथा विवादग्रस्त लिखत परीक्षकको २०४०।७।७ को प्रतिवेदन सामाजिक कार्य सापटी पाउँ भनी निज इन्दीरा थपलियाले दिएको निवेदन २०४०।६।१२ को रु.१,०८६।– को भौचर कल्याणबहादुर विष्ट, सुरेश देव भट्टाराई, कृष्णबाबु क्षेत्री र भवानी रेग्मी समेतको बयानबाट निज इन्दीरा थपलिया उपरको आरोपलाई पुष्ट्याँई मिल्न आएको छ । उपरोक्त सबूद प्रमाणको आधारमा इन्दीरा थपलिया उपर भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) अन्तर्गत गैरकानुनी कारवाही भई हदैसम्म सजायँ हुन र दफा २९ अन्तर्गत गैरकानुनी तरीकाले भुक्तानी प्राप्त गरेको रु.१,०८६।– निज इन्दीरा थपलियाबाट असूल उपर गरी कर्मचारी सञ्चय कोषलाई भराई दिनु हुन अनुरोध गरिन्छ भन्ने समेत व्यहोराको विशेष प्रहरी विभागको आरोपपत्र ।
१३. मैले २०४० साल आश्विन १० गते सामाजिक कार्य बापत सापटी पाउँ भनी फर्म भरी हिसाब शाखामा लगी बुझाएँ । त्यहाँ लगी सकेपछि मेरो सापटी बाँकी छ कि छैन भनी हेरेर त्यहाँकै सहायक महेशले जति सापटी बाँकी थियो सो लेखें, त्यसपछि कृष्णबाबुले सिफारिश गरे । त्यसपछि वरिष्ठ शाखा अधिकृत कर्णलाल श्रेष्ठको समेत सिफारिश भएपछि उक्त फाराम कोष शाखामा लगे । त्यहाँ पनि सोही तरिकाले सिफारिश गराइयो त्यसपछि उक्त फाराम कोष शाखामा लगियो । कोषशाखामा पनि सुरेशदेव भट्ट, देवबहादुर विष्ट र भवानी रेग्मीको सिफारिश गराई आर्थिक प्रशासनमा लगेर दिएको हुँ । आर्थिक प्रशासन शाखामा लगेपछि माणिकलाल श्रेष्ठको सिफारिश अनुसार केदार श्रेष्ठ (महाप्रबन्धक) को सिफारिशमा मैले भुक्तानी लिएको हुँ मैले भुक्तानी लिएको रकम एक हजार छयासी हो । कोष कट्टी रकम कसरी बढ्यो र कर्जा कसरी घट्यो भन्ने सम्बन्धमा मलाई केही पनि थाहा छैन । आरोप अनुसार मैले कोष कट्टी रकममा रु.१००० बढाई सापटी कट्टी २,०००।– घटाई अरु अक्षर परी मैले फाराम भरेको र प्रमुख सहायक कल्याणबहादुर, सहायक सुरेशदेव भट्ट प्रमुख सहायक कृष्ण बाबु क्षेत्री, शाखा अधिकृत भवानी रेग्मी समेतको दस्तखत मैले कीर्ते गरेको समेत होइन ।
१४. विशेष प्रहरी विभागमा भएको बयान कागज विवशतामा परी डर र त्रासमा परी कृत्रिम सही गरेको हुँ भनी बयान गरेको हुँ मलाई इच्छा विरुद्ध बयान गराइएकोमा कहीँ कुनै उजुर गरेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी इन्दिरा थपलियाले बागमती विशेष अदालतमा गरेको बयान ।
१५. मिति २०४०।६।१० मा सामाजिक कार्य सापटी पाउँ भनी इन्दिरा थपलियाले दिएको दर्खास्त फाराममा कोष शाखाको महलमा प्रमुख सहायक भन्ने ठाउँमा मैले सही गरेको छैन भन्ने समेत व्यहोराको कल्याणबहादुर विष्टले बागमती विशेष अदालतमा गरेको बयान ।
१६. मिति २०४०।६।१० मा सामाजिक कार्य सापटी पाउँ भनी सहायक इन्दिरा थपलियाले दिएको दर्खास्त फाराममा कोष शाखाको महलमा सहायक भन्ने ठाउँमा गरिएको शुरेशदेव भन्ने सही मैले गरेको छैन र सो ठाउँमा भर्नु पर्ने अक्षर अंक मैले भरेको पनि छैन भन्ने समेत व्यहोराको सुरेशदेव भट्टराइले बागमती विशेष अदालतमा गरेको बयान ।
१७. मिति २०४०।६।१० मा सामाजिक कार्य सापटी पाउँ भनी सहायक इन्दिरा थपलियाले दिएको दर्खास्त फाराममा हिसाब शाखाका महलमा प्रमुख सहायक भनी गराएको सही मैले गरेको होइन भन्ने समेत व्यहोराको कृष्टबाबु क्षेत्रीले बागमती विशेष अदालतमा गरेको बयान ।
१८. मिति २०४०।६।१० मा सामाजिक कार्य सापटी पाउँ भनी सहायक इन्दिरा थपलियाले दिएको दर्खास्त फाराममा कोष शाखाको महलमा व.शा. अधिकृतको ठाउँमा भएको हस्ताक्षरको सही मैले गरेको होइन । कसले कीर्ते गर्यो मलाई थाहा छैन । उक्त दर्खास्त फाराम कोष शाखामा आएकै थिएन भन्ने समेत व्यहोराको भवानी रेग्मीले बागमती विशेष अदालतमा गरेको बयान ।
१९. मिति २०४०।६।१० मा सामाजिक कार्य सापटी पाउँ भनी सहायक इन्दिरा थपलियाले दिएको दर्खास्त फाराममा हिसाब शाखाको महलमा लेखिएको अंकहरु तथा सहायकको ठाउँमा भएको सही मेरो होइन साथै त्यहाँ लेखिएका अंक मैले लेखेको हैन भन्ने समेत व्यहोराको मेनका आचार्यले बागमती विशेष अदालतमा गरेको बयान ।
२०. मिति २०४०।६।१० मा सामाजिक कार्य सापटी पाउँ भनी सहायक इन्दिरा थपलियाले लिएको दर्खास्त फारामको शाखाको महलमा लेखिएका अंक अक्षर तथा व.शा.अ.भनी गरेको सही समेत मैले लेखे भरेको एवं सही गरेको समेत हैन भन्ने समेत व्यहोराको कर्णलाल श्रेष्ठले बागमती विशेष अदालतमा गरेको बयान ।
२१. मिति २०४०।६।१० मा सामाजिक कार्य सापटी पाउँ भनी सहायक इन्दिरा थपलियाले दिएको दर्खास्त फाराममा हिसाब शाखाको महलमा भएको सामाजिक कार्य सापटी शीर्षकको सही मैले गरेको होइन भन्ने समेत व्यहोराको महेशप्रसाद दहालले बागमती विशेष अदालतमा गरेको बयान ।
२२. मिति २०४०।७।७ को कर्मचारी संचय कोषमा चढाएको प्रतिवदन मैले दिएको हो, मेरो प्रतिवेदनको प्रकरण १, २, ३, ४ र ५ मा उल्लिखित कारणहरुबाट प्रकरण ७(क) मा उल्लेख भए बमोजिमको राय व्यक्त गरिसकेको छु । प्रकरण ६ मा उल्लिखित कारणले प्रकरण ७ को खण्ड (ख) को राय दिएको हुँ यी रायहरु ठीक छन् भन्ने समेत व्यहोराको विवादग्रस्त लिखत परीक्षक पद्मराज काफ्लेको बकपत्र ।
२३. प्रतिवादीको मौका कागजमा झुठ्ठो विवरण आफैंले भरेको र ५ जना कर्मचारीको सही पनि आफैंले कीर्ते गरी रकम झिकी खाएमा सावित रहेको र अदालतमा बयान गर्दा इन्कार रहेको देखिन्छ । निजले सापटी भनी दिएको फाराममा सही गर्नुपर्ने कर्मचारी कल्याणबहादुर समेतको सहीहरु निजहरु कसैसंग पनि नमिल्ने फरक छन् भनी विशेषज्ञले राय दिएको उपयुक्त सापटी फारामको दोश्रो पानामा कोष शाखाबाट भरिनुपर्ने अंकहरु निजै प्रतिवादीका हस्ताक्षरसंग मिल्न आएको हुँदा एउटै व्यक्तिबाट लेखिएको भनी विशेषज्ञको राय मिसिल संलग्न छ । निजलाई बढी सापटी दिलाउनु पर्ने अरु कुनै व्यक्तिले कीर्ते सही गर्नुपर्ने अवस्था नहुँदा समेत निजको मौकाको साविती कागजलाई नै समर्थन गरी रहेको निजले कोष कट्टी जम्मा रकम बढी देखाई र बाँकी सापटी पनि घटी देखाई आफैंले छुट्टो विवरण भरी सापटी फाराममा तमाम कर्मचारीहरुको कीर्ते सही गरी गैरकानुनी रुपमा पाउनै नसक्ने सापटी पाउने परिबन्द मिलाई भुक्तानी लिई खाए मासेकोले भ्रष्टाचार निवारण ऐन, २०१७ को उपदफा (२) को कसूर गरेको ठहर्छ भन्ने समेत व्यहोराको बागमती विशेष अदालतबाट २०४१।३।१ मा भएको फैसला ।
२४. बागमती विशेष अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको इन्दिरा थपलियाको म.क्षे.अ.मा परेको पुनरावेदन ।
२५. भ्रष्टाचारको आरोपबाट प्रतिवादी इन्दिरा थपलियाले सफाई पाउने ठहर्छ । निजले पाउन नसक्ने रकम लिएकोमा बढी लिएको रु.१,०८६।– कानुन बमोजिम संचय कोषले निजबाट भरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको म.क्षे.अ.को फैसला ।
२६. म.क्षे.अ.को इनसाफमा बागमती विशेष अदालतले कसूरदार ठहर्याई जरिवाना गरेको हदम्म सफाई दिएको बदर गरी बा.अं.वि.अदालतले गरेको फैसला अनुसार प्र.इन्दिरा थपलियालाई जरिबाना समेत गरिपाउँ भन्ने समेत वादी श्री ५ को सरकार (विशेष प्रहरी विभाग) को पुनरावेदन ।
२७. म.क्षे.अ.को बिगो सम्म असूल गर्ने गरी भएको फैसला अंशसम्म बदर गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिवादी इन्दिरा थपलियाको पुनरावेदन ।
२८. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकार (विशेष प्रहरी विभाग) को तर्फबाट उपस्थित विद्वान का.मु. सहन्यायाधिवक्ता श्री बलराम के.सी.को र प्रतिवादी पक्षबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाले प्रस्तुत गर्नुभएको बहस जिकिर समेत सुनियो ।
२९. अब म.क्षे.अ.को इन्साफ उपर प्रस्तुत मुद्दामा यस अदालतमा पुनरावेदन लाग्ने हो वा होइन र यदि पुनरावेदन लाग्न सक्ने भए म.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ हेरिनु पर्ने देखिन आयो ।
३०. यसमा प्रस्तुत मुद्दामा यस अदालतमा पुनरावेदन लाग्ने नलाग्ने के रहेछ त्यसतर्फ विचार गर्दा प्रस्तुत मुद्दा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४३।५।५ मा निर्णय भएको देखियो । तत्काल प्रचलित न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५) हेरिएमा क्षेत्रीय अदालतले पुनरावेदन हेरेको भ्रष्टाचार मुद्दामा दोश्रो तहको पुनरावेदन सर्वोच्च अदालतमा लाग्ने व्यवस्था नभएकोमा प्रस्तुत भ्रष्टाचार मुद्दा निर्णय भई सकेपछि न्याय प्रशासन सुधार ऐन, २०३१ चौथो संशोधन मिति २०४३।७।२४ देखि लागू भएकोमा सोही संशोधन भएको ऐनको आधारमा वादी श्री ५ को सरकार (विशेष प्रहरी विभाग) ले मिति २०४३।८।३० मा प्र.इन्दिरा थपलियाले मिति २०४३।९।३ मा यस अदालतमा पुनरावेदन गरेको देखियो । यसरी पछि आएको कानुन व्यवस्थाले लाग्न नसक्ने पुनरावेदन दर्ता गरेको देखिँदा त्यस्तो पुनरावेदनबाट कारवाही गर्न नमिल्ने हुँदा वादी श्री ५को सरकार (विशेष प्रहरी विभाग) र प्रतिवादी इन्दिरा थपलियाको पुनरावेदन खारेज हुने ठहर्छ । मिसिल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा मेरो सहमति छ ।
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४५ साल असार २२ गते रोज शुभम् ।