निर्णय नं. ३४९० - अंश

निर्णय नं. ३४९० ने.का.प. २०४५ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४३ सालको दे.पु.नं. ६२०
फैसला भएको मिति : २०४५।४।२४।२ मा
निवेदक/प्रतिवादी : सिन्धुपाल्चोक जलविरेकोट गा.पं.वा.नं.३ बस्ने गणेशबहादुर श्रेष्ठ
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ.बस्ने शिवदास श्रेष्ठ
मुद्दा : अंश
(१) मुलुकी ऐन रजिष्ट्रेशनको १ नं.बमोजिम मानो जोडिएको लिखत पास हुनुपर्ने ९:बलमबतयचथ० व्यवस्था गरेको पाइने ।
(प्रकरण नं. १८)
(२) अंशबण्डा पास भएकोमा रजिष्ट्रेशनको १ नं.अनुसार मानो जोडिएको कागज पास नभएसम्म सगोलमा रहेको भन्न नमिल्ने हुँदा अंशबण्डा पास भइसकेपछि कुनै कागजमा एकाघर सगोलको भाइ भनी उल्लेख हुँदैमा रजिष्ट्रेशनको १ नं.बमोजिम मानो जोडाएको लिखत पास नभएसम्म सगोलमा रहेको भन्न नमिल्ने ।
(प्रकरण नं. १८)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्वर सिलवाल
विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री चूडामणीराज सिंह मल्ल
फैसला
न्या.हरगोविन्द सिंह प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।३।२२ को फैसला उपर चित्त नबुझी पुनरावेदनको अनुमतिको लागि पर्न आएको प्रतिवादीको निवेदनमा अनुमति प्राप्त गरी इजलास समक्ष पेश भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।
२. २०१८ साल माघ २२ गते बाबुको श्रीसम्पत्ति मध्ये बाबुलाई जीउनी भाग बाँकी राखी अरु अंश हक २ बण्डा लगाई पारित गरिसकेपछि म नाबालक भएकोले मेरो भाग विपक्षी दाजु गणेशबहादुरले निजको भाग संगै नै सगोलमा राखी व्यवहार गरी आएकोमा मेरो भागमा परेको बण्डापत्र अनुसारको केही जग्गाहरु दाजु गणेशबहादुरले बिक्री वितरण गरेकोले मलाई चित्त नबुझी मेरो हक बण्डामा आएको जग्गाहरु दिनुहोस् भन्दा नदिएकोले २०३२ साल आश्विन १३ गते देखि खान लाउन नदिई अन्याय गरेकोले २०३२।६।१२ गते तकको विपक्षीबाट श्रीसम्पत्तिको तायदाती लिई बण्डा गरी अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको शिवदास श्रेष्ठले २०३३।५।६ मा दिएको फिराद ।
३. वादी दावी बमोजिम अंश दिनुपर्ने होइन बुबा भैरवलाल जिवित छँदै विपक्षी र म समेत कान्छी सौता पट्टिको रामृष्णलाई बराबर गरम करम मिलाई चल अचल सम्पत्ति सबै २०१८।१०।२१ गते सिन्धुपाल्चोक जिल्ला माल मार्फत बण्डा गरिसकेको छ विपक्षीको भागको कुनै जग्गा जमीन मेरा जिम्मा छैन झुठ्ठा दावीबाट अलग फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको गणेशबहादुर श्रेष्ठ समेतको २०३३।५।२८ को प्रतिउत्तर ।
४. यस्मा वादीको अंश भागको सम्पत्ति समेत प्र.गणेशबहादुरले व्यवहार गरी राखेको देखिनाले जिम्मा लिएको थिएन भनी प्रतिवादीको जिकिर पुग्न सक्दैन २०१८।९।२० को बण्डापत्र बमोजिमको सम्पति वादीले प्रतिवादीबाट छुट्टाई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको सिं.पा.जि.अ.को २०३५।३।४ को फैसला ।
५. सि.पा.जि.अ.ले गरेको फैसलामा चित्त बुझेन सो फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भनी वादी प्रतिवादीको म.क्षे.अ.मा परेको पुनरावेदन ।
६. सि.पा.जि.अ. को फैसला बदर गरिदिएको छ । वादी दावी बमोजिम प्रचलित नेपाल कानुन अनुसार कारवाही किनारा गर्नु भनी रुजु रहेका पक्षलाई तारेख तोकी मिसिल शुरु सि.पा.जि.अ. मा पठाई दिनु भन्ने समेत म.क्षे.अ.को मिति २०३५।१२।३१ को फैसला ।
७. यस्मा विपक्षी र म समेतको २ बण्डा लगाई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको सि.पा.जि.अ.को २०३८।७।७ को फैसला ।
८. सि.पा.जि.अ.को फैसलामा चित्त बुझेन सो फैसला बदर गरी फिराद दावी बमोजिम अंश दिलाई भराई पाउँ भनी वादीले क्षेत्रीय अदालतमा दिएको पुनरावेदन ।
९. प्रस्तुत मुद्दामा तायदाती आएको र वादीको दावीबाट ३२६००।– को मुद्दा देखिन आएकोले न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(१)(ख) अनुसार क्षे.अ.ले ग्रहण गर्न नमिलि सोही ऐनको दफा १३(१)(क) अनुसार अञ्चल अदालतको अधिकारक्षेत्र भित्रको देखिन आएकोले यस अदालतको दायरी लगत कट्टा गरी कानुन बमोजिम किनारा गर्नु भनी प्रस्तुत मुद्दाको मिसिल र हाजिर रहेका पक्षलाई बा.अं.अ.को तारेख तोकी पठाई दिनु भन्ने समेत क्षे.अ.को २०४०।३।२६ को आदेश ।
१०. एक पटक बण्डा भई सकेपछि मानो अंश जोडिएको सबूद प्रमाणको अभावमा वादी दावी पुग्न सक्दैन । शुरु अदालतको इन्साफ मिलेकै देखिन्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको बा.अं.अ.को २०४०।५।२२ को फैसला ।
११. बा.अं.अ.को इन्साफमा चित्त बुझेन सो फैसला त्रुटिपूर्ण भएको हुँदा उक्त बा.अं.अ.को फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत शिवदास श्रेष्ठको क्षे.अ.मा निवेदन परेकोमा बा.अं.अ.को फैसलामा कानुनी त्रुटिपूर्ण हुँदा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(३) को खण्ड (ख) र (ग) को आधारमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको क्षे.अ. सिंगलबेञ्चको २०४१।७।३० को आदेश ।
१२. यस्मा वादी शिवदाश श्रेष्ठ प्रतिवादी गणेशबहादुर श्रेष्ठ संग सगोलमा रहेको भन्ने देखिन आएको हुँदा मिसिल संलग्न तायदाती बमोजिमको सम्पत्ति मध्ये बिक्री भएको बाहेकको सम्पत्तिमा वादीले प्रतिवादीबाट एक भाग अंश पाउने ठहर्छ । शुरु सि.पा.जि.अ.को इन्साफ सदर गरेको बा.अं.अ.को इन्साफ त्रुटिपूर्ण हुँदा उल्टी हुन्छ भन्ने समेत म.क्षे.अ.को ०४३।३।२२।१ को फैसला रहेछ ।
१३. २०१८ सालमा एकपटक अंशबण्डा भइसकेपछि पुनः बण्डा गरिरहनु नपर्ने हुँदा वादीले अंश पाउने ठहर गरेको म.क्षे.अ.को फैसलामा गंभीर कानुनी त्रुटी हुँदा पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी गणेशबहादुर श्रेष्ठको पुनरावेदन गर्ने अनुमतिको लागि पर्न आएको निवेदनमा पछि भएको लिखत एकाघरको भनी देखाई साक्षी बस्दैमा एकासगोल भनी ठहर गर्नु र रजिष्ट्रेशनको १ नं.मा भएको व्यवस्था विपरीत भई त्रुटि हुन गएको र सो त्रुटि सार्वजनिक महत्वको समेत हुँदा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार प्रस्तुत मुद्दामा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजन बेञ्चको २०४३।५।२५ को आदेश रहेछ ।
१४. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भई आएको प्रस्तुत मुद्दामा तारेखमा रही इजलास समक्ष उपस्थित हुन आएका वादी प्रतिवादीको वा.समेतलाई रोहवरमा राखी पुनरावेदक प्रतिवादी गणेशबहादुर श्रेष्ठको तर्फबाट बहसका लागि उपस्थित हुनुभएको विद्वान अधिवक्ता श्री पिताम्वर सिलवालले मेरो पक्ष र वादीका बीच २०१८।१०।२२ मा नै कानुन बमोजिम बण्डा भइसकेकोमा फेरि अंश भाग पाउँ भन्ने मिल्ने होइन । एकपटक बण्डा भइसकेकोमा अंश मिसाएको भए कानुन बमोजिम लिखत प्रमाण वादीले पेश दाखेल गर्नुपर्ने सो गर्न सक्नु भएको छैन विभिन्न मितिमा जग्गा बिक्री गरेकोमा पनि ऐनको म्यादभित्र नालेश गरी बदर गराउन सक्नु पर्नेमा सो वादी दावीले गर्न सक्नु भएको छैन । पछि भएको राजीनामा एकाघरका भाइ भनी अन्तरसाक्षी बस्दैमा अंशबण्डा भइसकेको कुरालाई भएको छैन भनी पुष्टी गरेको छैन केवल यो घर व्यवहार मिलाउन मात्र त्यसो भएकोले र वादी पक्षको विद्वान अधिवक्ताले पेश गर्नुभएको नजीर यस मुद्दामा लाग्न सक्ने होइन भन्ने समेतका गर्नु भएका बहस जिकिर र विपक्षी वादीको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री चूडामणिराज सिंह मल्लले वादी समेतका दाजुभाई बीच अंशबण्डा २०१८ सालमा नै भएको भए तापनि प्रतिवादी उक्त अंशबण्डा हुनु अघि नै देखि बण्डा भई सकेपछि पनि सगोलमा बसी आएका छन सो कुरा मिति २०२८।१।११ समेतको वादी ऋणी भई गरेको लिखतमा विपक्षी प्रतिवादी एकाघरको दाजु भनी अन्तरसाक्षी बसेको र त्यस्तै मिति २०२५।२।१० को राजीनामा मलाई एकाघरको भाइ भनी अन्तरसाक्षी राखेको समेतबाट मेरो पक्ष र विपक्षीसंग सगोलमा रहेको पुष्टी भएको छ यसरी व्यवहार प्रमाणबाट सगोलमा रहे भएको देखिएमा स.अ.बाट बंशमान अमात्य विरुद्ध टेकमाया अमात्यनी भएको अंश मुद्दामा मिति २०२९।९।१७ मा भएको निर्णयबाट प्रतिपादीत सिद्धान्त समेतबाट सगोलको मान्नु पर्ने हुँदा मेरो पक्षले फिराद दावी बमोजिम प्रतिवादीबाट अंश भाग पाउने ठहर गरेको म.क्षे.अ.को इन्साफ मिलेकै हुँदा सदर गरिनु पर्छ भन्ने समेतको बहस जिकिर प्रस्तुत भयो ।
१५. प्रस्तुत मुद्दामा वादी दावी बमोजिम प्रतिवादीबाट वादीले अंश भाग पाउने ठहर गरेको म.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिन पर्ने हुन आयो ।
१६. यस्मा २०१८ साल माघमा बण्डापत्र गरी पास गरिसकेपछि नाबालक भएकोले आफ्नो भाग समेत दाजु गणेशबहादुर संग सगोलमा राखी व्यवहार गर्दै आएकोमा वण्डापत्र बमोजिम छुट्याई सगोलमा रहेको केही जग्गा दाजुले बिक्री गरी २०३२ साल आश्विन १३ गतेदेखि खान लाउन समेत नदिई अन्याय गरेकोले विपक्षीबाट तायदाती लिई बण्डा गरी अंश दिलाई पाउँ भन्ने वादी दावी भएकोमा एकपटक अंशबण्डा भई सकेपछि पुनः अंश मिलाई सगोलमा रहे बसेको भन्ने प्रमाण वादीबाट पेश नभएको अवस्थामा वादीले अंश दिलाई पाउँ भन्ने वादी दावी नपुग्ने भनी शुरु जि.अ.ले गरेको इन्साफलाई बा.अं.अ. बाट सदर भएकोमा प्रतिवादीका २ साक्षीले यी दुई भाइ पसलमा संगै बसेको भन्ने बकपत्र गरेको र मिति ०२५।२।१० र मिति २०२८।१।११ को लिखतमा एकाघरको भाइ भनी अन्तरसाक्षी बसेको देखिन आएबाट सगोलमा रहेको भन्ने आधारमा उक्त बा.अं.अ.को इन्साफलाई उल्टी गरी वादी दावी बमोजिम अंश भाग पाउने ठहर गरी क्षे.अ.ले निर्णय गरेको देखिन आयो ।
१७. अब यसरी उपरोक्त उल्लिखित २०२५।२।१० तथा २०२८।१।११ को लिखतबाट एकाघरको भाइ भनी उल्लेख गरेको स्थितिमा सगोलमा रहेको भनी प्रतिवादीबाट वादीले अंश भाग पाउने ठहर गरेको क्षे.अ.को इन्साफ मिले नमिलेको के हो भन्ने सम्म मात्र निर्णय दिनु पर्ने हुनआएको छ ।
१८. मिति २०१८।१०।२२ मा अंशबण्डाको कागज पास भई वादी प्रतिवादीले अंश पाएकोमा विवाद देखिन आएन । साथै उक्त खडा भएका बण्डापत्रमा वादी प्रतिवादी सगोलमा नै रहने अवस्था वादीको भागको जग्गा प्रतिवादीको जिम्मा रहने भन्ने उल्लेख भएको देखिन नआई आ–आफ्नो भाग बुझी लिए दिए भन्ने उल्लेख भएको देखिन आयो । मुलुकी ऐन रजिष्ट्रेशनको १ नं.बमोजिम मानो जोडिएको लिखत समेत पास हुनुपर्ने (Mandatory) व्यवस्था गरेको पाइन्छ तर त्यस किसिमबाट अंशबण्डा पास भएकोमा उक्त रजिष्ट्रेशनको १ नं.अनुसार मानो जोडिएको कागज पास नभएसम्म वादी प्रतिवादी सगोलमा रहेको भन्न मिल्ने हुँदैन अंशबण्डा पास भइसकेपछि कुनै कागजमा एकाघर सगोलको भाइ भनी उल्लेख हुँदैमा रजिष्ट्रेशनको १ नं.बमोजिम मानो जोडिएको लिखत पास नभएसम्म सगोलमा रहेको भन्न नमिल्ने हुँदा बण्डापत्रको लिखत पारीत भइसकेपछि खडा भएको लिखतमा एकासगोलको भाइ भनी उल्लेख भएको आधारलाई लिई वादीले प्रतिवादी दावी अंश भाग पाउने गरेको म.क्षे.अ.को इन्साफ कानुन अनुरुप नहुँदा म.क्षे.अ. को उक्त इन्साफ उल्टी हुने ठहर्छ । वादीले अंश नपाउने ठहर गरेको शुरु इन्साफलाई सदर गरेको बा.अं.अ. को उक्त इन्साफ मनासिब ठहर्छ अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम क्षे.अ.को इन्साफ उल्टी भई फैसला भएकोले उक्त क्षे.अ.को २०४३।३।२२ को फैसलाको तपसील खण्डमा उल्लिखित सम्पूर्ण लगत कट्टा हुने हुँदा उक्त लगत कट्टा गरिदिनु भनी शुरु जि.अ.मा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु १ ऐ.ऐ.ठहरी फैसला भएकोले प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा शुरुको कोर्ट फीको १५। ले हुने रु.४३९।५१ सदर स्याहा भैसकेको देखिँदा उक्त रकम वादीबाट भराई पाउँ भनी प्र.को ऐन बमोजिम दर्खास्त पर्न आए ऐन बमोजिम वादीबाट भराई दिनु भनी शुरु जि.अ.मा.लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु २ ऐ.ऐ.ठहरी फैसला भएकोले प्र.ले यस अदालतमा पुनरावेदन गर्दा रु.२९८१।६० धरौट राखेको देखिँदा प्र.को ऐन बमोजिमको दर्खात पर्न आए उक्त २९८१।६० (रकम) प्र.लाई फिर्ता दिनु भनी का.जि.अ.त. मा लगत दिनु ३ माथि इन्साफ खण्डमा लेखिएबमोजिम क्षे.अ.को इन्साफ उल्टी भई फैसला भएकोले म.क्षे.अ.को मा.न्या.श्री केशव प्रसाद मुडवरी तथा मा.न्या.श्री अरबिन्दनाथ आचार्यको उल्टीमा रेकर्ड राख्नु मिसिल नियम बमोजिम गरी बुझाई दिनु
उक्त रायमा म सहमत छु ।
न्या.बब्बरप्रसाद सिंह
इति सम्वत् २०४५ साल श्रावण २४ गते रोज २ शुभम् ।