शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३४९७ - व्याज भराई पाउँ

भाग: ३० साल: २०४५ महिना: असोज अंक:

निर्णय नं. ३४९७ ने.का.प. २०४५ अङ्क ६

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४३ सालको दे.पु.नं. ६२२

फैसला भएको मिति : २०४५।४।३१।२ मा

 

पुनरावेदक/वादी : का.प.जि.खरेलथोक गा.पं.वा.नं.२ बस्ने रामप्रसाद सेढाई

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.देउभूमि वलुवा गा.पं.वा.नं.४ बस्ने पद्मकुमारी नेउपाने

 

मुद्दा : व्याज भराई पाउँ

 

(१)                  लेनदेनको ३ नं.मा भएको व्यवस्थाबाट दृष्टिबन्धक लेखिएकोमा भाखा नाघेको मितिले बन्धक लिएको जग्गा चलन गर्नुपर्ने चलन नदिए नालिश दिनुपर्ने र म्याद नघाई बसी चलन नलिए मात्र दृष्टिबन्धक लिखत कपाली सरह हुने ।

(प्रकरण नं. १३)

(२)                वादी आफैंले म्यादभित्र दिएको फिरादबाट चलन पाउने ठहरेपछि फेरि सो दृष्टिबन्धक लिखतको आधारमा कपाली सरह कायम गरी ब्याज पाउने भन्ने कानुनले नमिल्ने ।

(प्रकरण नं. १३)

 

विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री महेन्द्रकान्त मैनाली

 

फैसला

न्या.हिरण्येश्वरमान प्रधान :      मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।५।२५ को फैसलामा चित्त नबुझी पुरावेदनको अनुमतिको लागि पर्न आएको वादीको निवेदनमा अनुमति प्राप्त गरी दर्ता भएको प्रस्तुत मुद्दाको विवरण निम्न प्रकार छ ।

२.     विपक्षीले घरखर्च गर्न भनी मबाट रु.२०,०००।कर्जा लिई आजको तीन वर्ष भित्र दशौंदका दरले साँवा ब्याज दिने, नदिएमा हालको सर्भे नापीमा कि.नं.१०२ को रोपनी १२० को जग्गा घर समेत भोगचलन गरी खानु भनी दृष्टिबन्धक राखी २०३६।११।१६।५ मा पारित गरिदिएकोमा साल साल दिनुपर्ने ब्याज समेत नदिएकाले तीन वर्षको ब्याज रु.६०००।दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।

३.     साँवा ब्याज रु.१५,०००। लिई २०,०००। दृष्टिबन्धकमा राखी हक भोगको जग्गा घर समेत लेखी दिई म आफैंले भोगचलन गरी सयकडा १० प्रतिशत कूत नगदी बुझाई आएकोले ब्याज भराई नदिनु पर्ने हो । मेरो लोग्ने थुनामा परेकोले म अवला नारीलाई झुठ्ठा फिराद दिएका मात्र हुन भन्ने समेत व्यहोराको पद्मकुमारीको प्रतिउत्तर ।

४.     दृष्टिबन्धकलाई प्रतिवादीले इन्कार गर्न नसकेको र ब्याज बुझाएकोतर्फ ठोस प्रमाण प्रतिवादीले गुजार्न नसकेको समेत देखिँदा दावी बमोजिम ब्याज भराई पाउने ठहर्छ भन्ने समेत शुरु का.प.जि.अ.को मिति २०४०।७।२४ को फैसला ।

५.     का.प.जि.अ.को फैसलामा चित्त नबुझी प्रतिउत्तर बमोजिम गरिपाउँन भन्ने समेत प्रतिवादीको बा.अं.अ.मा परेको पुनरावेदन ।

६.     व्याज भराउने गरेको शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने समेत बा.अं.अ.को २०४१।५।२ को फैसला ।

७.     बा.अं.अ.को फैसला प्रत्यक्ष कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादीको म.क्षे.अ.मा परेको निवेदनपत्र ।

८.     २०३६।११।१६ को लिखित बमोजिम ३ वर्षको ब्याजको दावी भएकोमा २०३९।११।१२ मा परेको फिरादबाट २०३९ सालको समेत ब्याज भराएको मिलेको नदेखिएको र लेनदेन व्यवहारको ३ नं.बमोजिम जग्गा चलन चलाई पाउँ भनी २०४०।१।२४ मा छुट्टै फिराद परिसकेको अवस्थामा व्याज समेत भराई दिने गरेको इन्साफ त्रुटिपूर्ण देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने मिति २०४१।६।२९ को म.क्षे.अ.को आदेश ।

९.     यिनै वादी प्रतिवादीका बीचको चलन चलाई पाउँ भन्ने दे.पु.नं. ११४९ को मुद्दामा वादी दावा बमोजिम २०३६।११।१६ को दृष्टिबन्धक तमसुकको लिखत बमोजिमको भाखाभित्र साँवा व्याज प्रतिवादीले नबुझाएको र चलन समेत नदिएको हुँदा वादी दावी बमोजिमको घरजग्गामा वादीले चलन चलाई पाउने ठहरी आजै फैसला भएको र सोही मिति २०३६।११।१६ को दृष्टिबन्धकको तमसुकको आधारमा प्रस्तुत मुद्दामा वादीले ब्याज भराई पाउँ भन्ने दावी लिएको देखियो । उक्त लिखतमा २०३६।११।१६ का मितिले ३ वर्ष भित्र साँवा व्याज चुक्ता गरी बुझाउने र नबुझाएमा सो लिखत उल्लिखित कि.नं.१०२ को घर जग्गा भोगचलन गरी खानु भन्ने व्यहोरा लेखिएको रहेछ । यस सम्बन्धमा लेनदेन व्यवहारको ३ नं.बमोजिम भाखा नाघेका मितिले २ वर्ष भित्र चलन गर्नु पर्ने र चलन गर्न नदिए चलन चलाई माग्न नालेस दिनु पर्ने कानुनी व्यवस्थाको आधार लिई वादीले दे.पु.नं. ११४९ को मुद्दामा चलन चलाई माग्ने मुद्दा चली आजै यसै बेञ्चबाट फैसला भएको हुँदा लिखतको व्यहोरा र लेनदेनको ३ नं.बमोजिम चलन पाएपछि पुनः ब्याज भराई पाउँ भनी दावी गरी चलन पनि पाउने र ब्याज भरी पाउने समेतको दोहोरो फाइदा लिन पाउने कानुनी व्यवस्थाको अभावमा वादी दावी नपुग्ने ठहर्छ शुरु का.प.जि.अ.को वादी दावी बमोजिम  व्याज भरी पाउने ठहराएको इन्साफ सदर गरेको बा.अं.अ.को इन्साफ उल्टी हुन्छ भन्ने समेत व्यहोराको म.क्षे.अ.को २०४३।२।२५ को फैसला ।

१०.     बा.अं.अ.को फैसला उपर म.क्षे.अ.मा अनुमतिको लागि निवेदन परी म.क्षे.अ.बाट पुनरावेदन गर्न अनुमति पाई लिखतको व्यहोरा र लेनदेनको ३ नं.बमोजिम चलन पाए पछि ५ नं. ब्याज भरी पाउँ भनी दावी गरी चलन पनि पाउने र ब्याज पनि भरी पाउने समेतको दोहोरो फाइदा लिन पाउने कानुनी व्यवस्थाको अभावमा वादी दावी नपुग्ने भनी म.क्षे.अ.बाट फैसला भई उक्त फैसलामा चित्त नबुझी पुनरावेदनको अनुमति पाउँ भनी पर्न आएको निवेदनमा चलन चलाएको तर ब्याज नभराउने गरी गरेको म.क्षे.अ.को फैसला लेनदेन व्यवहारको ६ नं. को त्रुटिपूर्ण भएको र यस्तो त्रुटिपूर्ण सार्वजनिक महत्वको समेत हुँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५)(ख) बमोजिम अनुमति प्रदान गरिएको मिति २०४३।५।९ को यस अदालतका संयुक्त इजलासको आदेश ।

११.     नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा हाजिर रहेका प्रतिवादीको वा.शिवप्रसाद मैनालीलाई रोहवरमा राखी प्रतिवादीका तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री महेन्द्रकान्त मैनालीको बहस समेत सुनियो ।

१२.    यसमा म.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ हेर्नु पर्ने हुन आयो ।

१३.    यस्मा वादीले दृष्टिबन्धकको लिखत बमोजिमको लिखत व्यहोराबाट ३ वर्षभित्र साँवा व्याज बुझाउँला नबुझाएमा लिखतमा लेखिएको घरजग्गा चलन गर्नु भन्ने उल्लेख भएको हुँदा पुनरावेदक वादीले सो म्यादभित्र साँवा ब्याज नबुझाएकोले लिखतको घरजग्गा चलन चलाई पाउँ भनी फिराद दिई चलन समेत चलाउने ठहरी अन्तिम फैसला भइरहेको देखियो । लेनदेनको ३ नं. मा भएको व्यवस्थाबाट दृष्टिबन्धक लेखिएकोमा भाखा नाघेको मितिले बन्धक लिएको जग्गा चलन गर्नु पर्ने चलन नदिए नालिश दिनुपर्ने र म्याद नघाई बसी चलन नलिए मात्र दृष्टीबन्धक लिखत कपाली सरह हुने भएको वादी पुनरावेदकले आफैंले म्यादभित्र दिएको फिरादबाट यो व्यवस्था बमोजिम चलन पाउने ठहरेपछि फेरि सो दृष्टिबन्धक लिखतको आधारमा कपाली सरह कायम गरी ब्याज भरी पाउने भन्न कानुनले नमिल्ने नै हुँदा क्षे.अ.को ब्याज भरी नपाउने ठहर्‍याएको इन्साफ मनासिब ठहर्छ । लिखतको जग्गा बकसपत्र गरिदिएको भन्ने पुनरावेदन जिकिरको हकमा फैसला बमोजिम चलन नपाएमा पुनरावेदक वादीले कानुन बमोजिम उजूरी दिई उपचार लिन पाउने नै हुँदा प्रस्तुत फिरादबाट यसतर्फ विचार गर्न मिलेन । तसर्थ वादी पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी राखी पुनरावेदन गरेको देखिँदा अरु केही गरी रहन परेन । नियम बमोजिम मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०४५ साल श्रावण ३१ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु