शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३४९८ - जोत दर्ता

भाग: ३० साल: २०४५ महिना: असोज अंक:

निर्णय नं. ३४९८ ने.का.प. २०४५ अङ्क ६

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४३ सालको दे.पु.नं. ७५४

फैसला भएको मिति : २०४५।४।९।१ मा

 

पुनरावेदक/वादी : का.न.पं.वडा नं.१२ टेकु बस्ने भैरवमान महर्जन

विरुद्ध

विपक्षी/प्रतिवादी  : गुठी संस्थान, केन्द्रीय कार्यालय

 

मुद्दा : जोत दर्ता

 

(१)                  गुठी संस्थान ऐन, २०२१ को दफा १७ को प्रतिबन्धात्मक वाक्यांशमा भएको व्यवस्थाबाट गुठी जग्गामा कसैले घर बनाई बसेको भए निजलाई सो घरबाट उठाउन पाउने छैन भन्ने व्यवस्था भएको र गुठी संस्थान ऐन, २०३३ को दफा ३५(२) ले पनि सोही व्यवस्था अनुरुप कसैले गुठी जग्गामा स्वीकृति नलिई घर बनाई बसेको भए मोहियानीमा दर्ता गरिदिने व्यवस्था गरेकोबाट विवादीत घर जग्गामा वादीको हक कायम नहुने भन्न नमिल्ने ।

(प्रकरण नं. १३)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्याय

प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय

 

फैसला

न्या.हिरण्येश्वरमान प्रधान :      मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफउपर चित्त नबुझाई वादी भैरवमानको पर्न आएको निवेदनमा यस अदालत संयुक्त इजलासबाट मिति २०४४।२।४ का आदेशले पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।

२.     का.जि.मखनटोल बस्ने भावसिंह प्रधानले का.जि.टेकुमा श्री जगन्नाथजीको मन्दिर बनाई मुर्ति स्थापना गरी नित्य पूजा चलाउन जग्गा समेत गुठी राखी पूजा चलाउने व्यवस्था गर्नु भएको, निजको सन्तान चन्द्रामान प्रधानले मेरो पिता भुयुचा भन्ने आशामान महर्जनतर्फ उक्त गुठी जग्गामा पक्कि घर बनाउन दिई मोही कायम गरेको सो जग्गा र घर समेत सर्भे नापी हुँदा का.न.पं.वार्ड नं. २(क) कि.नं.३९ क्षेत्रफल ७० भई जोताहामा पिता आशामान महर्जन भई किसानको महलमा जगन्नाथमा तिरो तिरी खाएको भन्ने लेखाई जोताहाको प्रमाण पूर्जा प्राप्त गरेकोमा मेरो पिता २०२९ सालमा परलोक भएको हुँदा उक्त घरजग्गा पिताको नाउँबाट जोत नाउँसारी गरिपाउँ भनी भू.सु.का.काठमाडौंमा निवेदन गर्दा पिताको नाउँको जोतका लगत कट्टा भई गुठी संस्थानको नाउँमा जोत कायम भइसकेकोछ भन्ने जवाफ दिएको हुँदा के कुन कारणले मेरो पिताको नाउँको जोताहा हक कट्टा गरी गुठी संस्थानको नाउँमा सो हक कायम गरेको हो मलाई कुनै थाहा नभएको उक्त कार्यालयले मेरो कानुनी हक बञ्चित गरेको हुँदा प्रमाण बुझी मेरा नाउँमा नाउँसारी गरी जोताहा प्रमाणपत्र दिलाई दिनु भन्ने जि.का.काठमाडौंका नाउँमा हुकुम प्रमांगी बक्स पाउँ भन्ने समेत व्यहोराको २०३८।३।१९ को भैरवमान महर्जनले चढाएको विन्तिपत्रमा व्यहोरा साँचो भए भू.सु.का.र गुठी संस्थान समेत बुझी निवेदकको मोहियानी लगत कट्टा भएको हो भन्ने के कारणबाट लगत कट्टा भएको रहेछ यथार्थ विवरण खुलाई सरकारमा जाहेर हुन चाँडो प्रतिवेदन जाहेर गर्नु होला भन्ने मिति २०३९।२।१३ को जि.का.काठमाडौंका नाउँमा आदेश भएको ।

३.     भू.सु.का.काठमाडौं र गुठी संस्थान के.का. बुझी सो कार्यालयहरुले विवरण खुलाई पठाएको विवरण जि.का.काठमाडौंले २०३८।३।१८ मा जाहेर गरेकोमा यसमा विन्तिपत्रको व्यहोरा साँचो भए बाबुको नाउँको जोताहा हक नामसारी गरिपाउँ भन्नेतर्फ जो बुझ्नु पर्ने बुझी कानुन बमोजिम निर्णय गरी नतिजा जाहेर गर्नु निवेदकलाई जनाउ दिनु भन्ने बा.अं.अ.का नाउँमा २०३८।११।१९।३ को हुकुम प्रमांगी बक्स भई आएको ।

४.     मलाई गुठी संस्थान र भू.सु.का.काठमाडौंले अन्याय गरेको व्यहोरा विन्तिपत्रमा उल्लेख गरिसकेको छु । उक्त निवेदनमा लेखिएबमोजिम कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको भैरवमान महर्जनको बयान ।

५.     का.न.पं.वार्ड नं. २(क) कि.नं.३९ को ७० जग्गा यस कार्यालयको श्रेस्तामा मोही भुयुचा भन्ने आशामान महर्जनको नाउँमा देखिएको र निजको नाउँ कट्टा भएको नदेखिएको निवेदकले नामसारी गर्ने दर्खास्तको मितिमा दिएको भन्ने उल्लेख गर्न नसकेकोले उक्त जग्गा भुयुवा भन्ने आशामानकै नाउँमा कायमै रहेकोले दावी खारेज गरिपाउँ भन्ने समेतको महान्यायाधिवक्ताको कार्यालय मार्फत भू.सु.का.काठमाडौंको लिखित जवाफ ।

६.     उजूर लेखाई झुठ्ठा हो, २०२९ सालमा निजका बाबु परलोक भइसकेको र सो समयमा गुठी अधीनस्थ जग्गामा जग्गा कमाउने मोहिको हक प्राप्त नै नहुने भएबाट बाबुले नपाएको हक उजूरवालाका नाममा जोत नामसारी हुन पर्ने वा निजलाई जोताहाको प्रमाणपत्र दिलाउनु पर्ने समेत होइन भन्ने समेतको गुठी संस्थानको के.का.को प्रतिउत्तरपत्र ।

७.     भू.सु. कार्यालयको श्रेस्तामा मोहियानीमा वादीका बाबुको नाउँ कायम भइरहेको फिल्डबुक उतारमा जोताहा भुयुचा भन्ने आशामानको नाम लेखिएको गुठी संस्थान ऐन, २०२९ खारेज भई लागू हुनआएको गुठी संस्थान ऐन, २०३३ को दफा २७ मा गुठी जग्गामा खास जोताहा किसानले प्रचलित कानुन बमोजिम मोहियानी हक पाउनेछ भन्ने व्यवस्था भएको हुँदा वादीका बाबुको नाउँमा भू.सु.का.श्रेस्तामा कायम रहेको मोहियानी वादीको नाममा नाउँसारी गरिपाउँने ठहर्छ भन्ने समेत व्यहोराको २०४१।१।६ को बा.अं.अ.को फैसला ।

८.     बा.अं.अ.ले सबूद प्रमाणको मूल्यांकन नगरी अन्यायपूर्ण फैसला गरेको हुँदा सो फैसला उल्टाई न्याय पाउँ भन्ने समेत व्यहोराको म.क्षे.अ.मा गुठी संस्थान तर्फबाट पर्न आएको पुनरावेदनमा अ.बं.२०२ नं. र क्षे.अ.नियमावली, २०३६ बमोजिम छलफल निमित्त विपक्षी झिकाउने भन्ने समेत व्यहोराको २०४१।९।२३ को म.क्षे.अ., सिंगलबेञ्चको आदेश ।

९.     विवादीत जग्गाको श्री जगन्नाथको गुठी अधीनस्थको बगैंचा फूलबारी जग्गा भएको र वादीले कूत बुझाई मोहियानीमा कमाई आएको भन्ने देखिएन । गुठी संस्थान ऐन, २०३३ को दफा ३५(२) ले यो ऐन प्रारम्भ हुँदाको बखत संस्थानको स्वीकृति नलिई कसैले गुठी जग्गामा घर बनाई सकेको रहेछ भने त्यस्तो जग्गा संस्थानले तोके बमोजिम दस्तूर लिई मोहियानीमा दर्ता गरिदिन सक्नेछ भन्ने व्यवस्था गरिदिएकोबाट वादीतर्फबाट घर बनाई सकेको जग्गा मोहियानीमा गुठी संस्थानले दर्ता गरिदिन सक्ने नै हुँदा बाबुको मोहियानी हक नामसारी गरिपाउँ भन्ने वादी दावी पुग्न सक्दैन वादीको बाबुको मोहियानी हक दर्ता नामसारी गर्ने गरेको बा.अं.अ.को फैसला उल्टी हुन्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।३।८ को फैसला ।

१०.     मेरो स्वर्गीय पिता तथा म समेत विवादीत जग्गाको चिताइदार नभई मोही हौं जग्गा नापजाँच ऐन, २०१९ बमोजिम सर्भे हुँदा खडा भएको फिल्डबुकको विवरणमा मकै भन्ने जनिएको छ । कूत बुझाई मोहियानीमा कमाएको भन्ने देखिने रसीद भर्पाईहरु पेश गर्दागर्दै पनि प्रमाण दाखिल गर्न नसकेको भनिएबाट क्षे.अ.को  फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटी समेत हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी भैरवमान महर्जनको यस अदालतमा पर्न आएको निवेदन ।

११.     यसमा वादीले घर बनाइसकेको जग्गा मोहियानीमा गुठीले दर्ता गरिदिन सक्ने नै हुँदा भन्ने सम्म उल्लेख भएको पाइन्छ । तर के कति जग्गा घरबासको लागि वादीले दस्तूर तिरी मोहियानीमा दर्ता गराउन पाउने हो सो यकीन गरेको पनि देखिँदैन । अतः बाबुको मोहियानी हक नामसारी गरिपाउँ भन्ने वादी दावी पुग्न सक्दैन भनी म.क्षे.अ.ले गरेको फैसलामा गु.सं.ऐन, २०२९ को दफा २६ र गु.सं.ऐन, २०३३ को दफा ३५(२) समेतको व्याख्यात्मक त्रुटी देखिएको हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४४।२।४ को आदेश ।

१२.    नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्याय तथा प्रत्यर्थी गुठी संस्थानका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शोभाकर उपाध्यायले गर्नु भएको बहस समेत सुनी मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब बेमनासिब के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुन आयो ।

१३.    प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा, यसमा क्षेत्रीय अदालतबाट विवादका जग्गामा भएको घरको सम्बन्धमा गुठी संस्थानले दर्ता गरिदिन सक्ने र मोही हक नामसारी गरिपाउँ भन्ने दावी नपुग्ने ठहर्‍याएको देखियो । वादी पुनरावेदकले आफ्नो बाबु आशामानको नाउँमा जोताहा कायम भई जो.अ.निस्सा र मोही हक प्रमाणपत्र पाएको जग्गा बाबु मरेकोबाट आफ्नो नाउँमा नामसारी गरिपाउँ भन्ने दावी लिएको र बक्स भएको हुकुम प्रमांगीमा पनि व्यहोरा साँचो भए बाबुको नाउँको जोताहा हक नामसारी गरिपाउँ भन्नेतर्फ जो बुझ्नु पर्ने बुझी कानुन बमोजिम गर्नु भन्ने भएकोबाट पुनरावेदकको बाबुको नाउँमा जोताहा हक कायम भएको हो होइन भन्नेतर्फ हेरिएमा पुनरावेदकले बाबुको मोही हक कायम भएको सबूदमा नापीको अवस्था फिल्डबुकमा किसानको महलमा पुनरावेदकको बाबुको नाम लेखिएको र सोही आधारमा २०२६।१०।१४।३ मा जोताहा अस्थायी निस्सा लिई २०३२।७।३ मा मोही हकको प्रमाण लिएको भनी देखाएको देखिन आउँछ । विवादको जग्गा गुठीको हो भन्ने कुरा पुनरावेदकका बाबुले फिल्डबुकमा किसानको व्यहोरामा लेखी देखाएको व्यहोराबाटै स्पष्ट छ । यस्तो गुठीको जग्गा पुनरावेदकले मोहीको हैसियतले जोती कमाई आएको भए निजको नाउँमा गुठी संस्थानमा मोही लगतमा दरिएको र गुठीलाई बाली बुझाएको रसीद समेत लिएको हुनु पर्दथ्यो । तर पुनरावेदकतर्फबाट यो यति लगत नं. मा आफ्नो बाबुको नाउँमा मोही दर्ता भएको र बाली बुझाएको रसीद समेत पेश गर्न सकेको देखिँदैन । बरु गुठी संस्थानले क्षे.अ.को आदेश बमोजिम पेश गरेको पुनरावेदकले चढाएको १९९२।८।५ को विन्तिपत्रको व्यहोराबाट पुनरावेदकका बाबुले खान्गी खाई काम गरी आएको भन्ने सम्म देखियो सो कुरा सो जग्गा सम्बन्धी गुठीको लगतको व्यहोराबाट समेत पुष्टि हुनआएको देखिन आएकोले यस्तो खान्गी सम्म खाई काम गर्ने कामदारले आफू जिम्मा रहेको जग्गा नापीमा मोही लेखाई सो आधारमा पाएको जो.अ.निस्सा र मोही हकको प्रमाणपत्रकै आधारमा मोही कायम मान्न नमिलेकोले पुनरावेदक वादीले आफ्नो बाबुका नाउँमा कायम रहेको मोही हक नामसारी गरिपाउँ भनी लिएको दावी नपुग्ने ठहर्‍याएको इन्साफ क्षे.अ.को मनासिबै देखिन आउँछ । तर क्षे.अ.को आदेश बमोजिम भई आएको नक्शामा सोही विवादको जग्गामा न.नं.५ मा ३ तले टायल छाना भएको घर समेत रहेको देखिन आएको सो घर विवादको जग्गा नापी हुँदाकै अवस्थादेखि रहे भएको सर्भेको नक्साबाट समेत  देखिन आएको छ । सो ३ तले पक्की घर गुठी संस्थानले आफूले बनाएको वा साविकदेखि नै रहे भएको भनी भन्न नसकेकोबाट सो घरमा बसी आउने पुनरावेदकले नै बनाएको मान्नु पर्ने हुनआएको छ । गुठी संस्थान ऐन, २०२१ को दफा १७ को प्रतिबन्धात्मक वाक्यांशमा भएको व्यवस्थाबाट गुठी जग्गामा कसैले घर बनाई बसेको भए निजलाई सो घरबाट उठाउन पाउने छैन भन्ने व्यवस्था भएको र गुठी संस्थान ऐन, २०३३ को दफा ३५(२) ले पनि सोही व्यवस्था अनुरुप कसैले गुठी जग्गामा स्वीकृति नलिई घर बनाई बसेको भए मोहियानीमा दर्ता गरिदिने समेत व्यवस्था गरेकोबाट सो न.नं.५ मा भएको सोही नक्शामा देखाएको नाप ठहर बमोजिमको घरजग्गामा वादीको हक कायम नहुने भन्न मिलेन । त्यस्तो घरजग्गा पनि धनीको नाउँमा सोही उपदफामा व्यवस्था भएबमोजिम प्रकृया पूरा गरी दर्ता गरिदिने अधिकार गुठी संस्थानलाई नै प्रदान गरिएको देखिन आएकोले त्यसतर्फ अदालतले निर्णय दिइरहन पर्ने पनि नदेखिएकोले क्षेत्रीय अदालतले सो बमोजिम ठहर गरेको मनासिबै ठहर्छ । मिसिल नियम बमोजिम बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४५ साल श्रावण ९ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु