निर्णय नं. ३४९९ - हक सफा

निर्णय नं. ३४९९ ने.का.प. २०४५ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४३ सालको दे.पु.नं. ७२४
फैसला भएको मिति : २०४४।१२।२८।१ मा
पुनरावेदक/प्रतिवादी : तनहुँ माझकोटा गा.पं.वार्ड नं. ७ बस्ने लुरीमाया श्रेष्ठ
विरुद्ध
विपक्षी/वादी : ऐ.मिमाता गा.पं.वार्ड नं. २ बस्ने सूर्यरत्न श्रेष्ठ
मुद्दा : हक सफा
(१) साँधको एउटै कित्ताको जग्गा दुईजनालाई वादी संधियारमा नपर्ने गरी २ कित्ता कायम गरी बिक्री गरेकोमा दुवै कित्तामा सन्धिसर्पन र संधियारको नाताबाट एकै मितिमा निखनाई पाउँ भनी दर्खास्त दिन पाउने भन्न मुलुकी ऐन लेनदेन व्यवहारको १२ नं. को कानुनी व्यवस्थाले नमिल्ने भई साँधको एकै कित्ता दुइजनालाई २ कित्ता गरी बिक्री गरेकोमा एकैपटक निखनाई पाउन दिएको दर्खास्तबाट वादीले निखन्न पाउनुपर्ने हो भन्ने जिकिर मनासिब नदेखिने ।
(प्रकरण नं. १४)
पुनरोदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना
फैसला
न्या.हिरण्येश्वरमान प्रधान : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ ।
२. सामुङ्ग भगवतीपुर गा.पं.वडा नं.४ कि.नं.१०१ को बढुवा बाँझा खेत रोपनी २३–१४–२–२ मध्ये ७–०–०–० धर्मराजले लुरीमाया श्रेष्ठबाट रु. १७,०००।– लिई मिति २०३२।११।२६।६ मा राजीनामा पारित गरी हक छाडी दिने र हक छुटाई लिने दिने लुरीमायाकी सौतेनी दिदी छलिमायाले कि.नं.१०१ को जग्गा मध्ये खेत रोपनी ८–०–०–० धर्मराजबाट नै राजीनामा गरी लिंदा पूर्व म सूर्यरत्नको खेत साँध राखी जरिवाना गरिलिएको र छलिमाया लुरीमायाले राजीनामा गरिलिएको जग्गा रोपनी १५–०–०–० मध्ये धर्मराजको हकको कि.नं. १०१ को जग्गा मध्ये बाँकी ८–१४–२–२ रहेको मेरो कि.नं.९९ को बढुवा बाँझ खेत रोपनी २०–१–३–२ देखि पश्चिमपट्टी लुरिमाया, छलिमायाले राजीनामा लिएको खेत र धर्मराजको हकको बाँकी खेत भएकोले लुरिमायाले धर्मराजबाट लिएको कि.नं.१०१ बढुवा बाँझ खेतमध्येको रोपनी ७–०–०–० मलाई सन्धिसर्पन कायम गरी मैले राखेको थैली रु.१७,०००।– लुरीमायालाई बुझाई हक निखनाई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।
३. मैले राजीनामा लिएको जग्गा मुहानमा विपक्षीको जग्गा पुछारमा नभई मेरो जग्गा पूर्वदाताको र दाताको पूर्व छलिमायाको त्यसदेखि पूर्व विपक्षीको जग्गा रहेको छ । पश्चिममा मेरो जग्गा र पूर्व वादीको जग्गाको उत्तर साँधबाट कुलो गइरहेको छ । उक्त कुलोबाट विपक्षीको जग्गाको मुहानमै पटनी हुन्छ । विपक्षीको खेत सुख्खा लाग्ने भन्ने दावी मिथ्या हो । मेरो जग्गा विपक्षीले हक सफा गर्न पाउने होइन भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।
४. ऐनले तोकेको म्यादभित्र फिराद पर्न नआएको म्याद नाघी दर्ता हुनआएको फिरादबाट कारवाही गर्दा कानुन विपरीत हुने देखिएकोले प्रस्तुत मुद्दा खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०३७।२।१९ को जिल्ला अदालतको फैसला ।
५. जिल्ला अदालतको फैसला बदर गरी फिराद दावी अनुसार इन्साफ पाउँ भन्ने समेत व्यहोराको वादीको गण्डकी अञ्चल अदालतमा परेको पुनरावेदन ।
६. शुरुले म्यादभित्रको फिराद नभएको हुँदा खारेज गर्ने गरेको फैसला मिलेको नदेखिँदा बदर गरी दिएको छ । पुनः जो जे बुझ्नु पर्दछ बुझी कानुन बमोजिम निर्णय गर्नु भनी मिसिल शुरु जिल्ला अदालतमा पठाई दिनु भन्ने समेत व्यहोराको मिति २०३८।३।१२ को गण्डकी अञ्चल अदालतको फैसला ।
७. मिसिल संलग्न प्रमाणहरुबाट सन्धिसर्पन पर्ने हुँदा निखनाई पाउँ भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु जिल्ला अदालतको मिति २०३८।७।५।४ को फैसला ।
८. सन्धिसर्पनको अनर्थ परिभाषा गरी वादी दावी नपुग्ने ठहराएको जिल्ला अदालतको फैसला बदर गरी सन्धिसर्पनको हक निखनाई पाउँ भन्ने समेत व्यहोराको वादीको अञ्चल अदालतमा परेको पुनरावेदन ।
९. कानुनका म्यादभित्र वादीले थैली धरौटी राखेको समेत देखिँदा थैली प्रतिवादीलाई बुझाई दावी बमोजिम सन्धिसर्पनको जग्गा वादीले निखनाई लिन पाउने ठहर्छ, शुरु अदालतको फैसला बदर हुन्छ भन्ने समेत व्यहोराको मिति २०४०।९।४।२ को अञ्चल अदालतको फैसला ।
१०. अञ्चल अदालतको फैसलामा चित्त बुझेन प्रतिवादी जिकिर बमोजिम गरिपाउँ भनी पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदनको लागि निवेदन परी अनुमति प्रदान भएको विवादीत जग्गामा भई आएको नक्शाको न.नं.६ को पूर्वपट्टि यिनै वादी छलिमाया भएको हक सफा मुद्दामा हक सफा गरी लिन पाउने ठहरी अन्तिम रुपमा रहेको देखियो । उक्त मुद्दाबाट विवादीत जग्गा वादीले हक सफा गरी लिई सकेबाट सोही जग्गाको पश्चिमतर्फको जग्गा सीमानामा परेको र सन्धिसर्पन पर्ने समेत देखिँदा अञ्चल अदालतको फैसलामा कानुनी त्रुटि भएको नपाइँदा इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको क्षेत्रीय अदालतको फैसला ।
११. पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा सार्वजनिक महत्वको विषय र प्रत्यक्ष कानुनी त्रुटि समेत विद्यमान भएको हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भनी लुरिमाया क्षेत्रीको पर्न आएको निवेदनमा प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रत्यक्ष त्रुटी गरी भएको निर्णयमा सार्वजनिक महत्वको विषय विद्यमान रहेको देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालतको मिति २०४३।२।२८ को आदेश ।
१२. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र प्रत्यर्थीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री दमन ढुङ्गानाले गर्नुभएको बहस जिकिर समेत सुनियो ।
१३. यसमा पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब बेमनासिब के रहेछ भन्ने सम्बन्धमा निर्णय दिनपर्ने देखिन आयो ।
१४. यसमा धर्मराज नाम दर्ता कि.नं.१०१ को जग्गा एकै मिति २०३२।११।२६।६ मा दुई सौताहरु लुरिमाया श्रेष्ठ र छलिमाया श्रेष्ठलाई धर्मराजले राजीनामा गरिदिएको भए पनि पुनरावेदीका लुरिमायालाई राजीनामा दिंदा पूर्व किल्लामा असामीले आफ्नै जग्गा भनी उल्लेख गरेको र पछि सोही जग्गा पुनरावेदीकाको सौता छलिमायालाई सोही मितिमा राजीनामा दिएकोमा वादी विपक्षी सूर्यरत्नले सन्धिसर्पन पर्ने संधियार भनी आफूलाई देखाई उक्त जग्गाहरु निखनाई पाउन दर्खास्त दिएकोमा विपक्षीले विरोध जनाएपछि निजले सो जग्गा निखन्न पाउने नपाउने भन्ने कुराको ठहर भएपछि मात्र वादीको सो जग्गामा हक कायम हुने भएकोले साँधको एउटै कित्ताको जग्गा दुइजनालाई वादी संधियारमा नपर्ने गरी २ कित्ता कायम गरी बिक्री गरेको दुवै कित्तामा सन्धिसर्पन र संधियारको नाताबाट एकै मितिमा निखनाई पाउँ भनी दर्खास्त दिन पाउने भन्न मुलुकी ऐन लेनदेन व्यवहारको १२ नं. को कानुनी व्यवस्थाले नमिल्ने भई साँधको एकै कित्ता दुइजनालाई दुई कित्ता गरी बिक्री गरेकोमा एकैपटक निखनाई पाउन दिएको दर्खास्तबाट वादीले निखन्न पाउनुपर्ने हो भन्ने जिकिर मनासिब नदेखिएकोले पुनरावेदीकाले राजीनामाबाट लिएको जग्गा निखन्न पाउने ठहर्याएको गण्डकी अञ्चल अदालतको फैसला सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक प्रतिवादी लुरीमाया श्रेष्ठको इन्साफ खण्डमा लेखिएबमोजिम प.क्षे.अ.को फैसला उल्टी हुँदा ग.अं.अ.को मिति २०४०।९।४।२ को फैसलाले वादीलाई बुझाउनु पर्ने कोर्टफी र अन्य दस्तूर समेत जम्मा रु.८२३।४० क्षे.अ.मा पुनरावेदन गर्दा धरौट राखेको देखिँदा उक्त रकम फिर्ता पाउने हुँदा ऐनका म्यादभित्र दर्खास्त परे नियमानुसार फिर्ता दिनु भनी लेखी पठाउन का.जि.अ.तहसील फाँटमा लगत दिनु.............१
पु.वे.प्र.लुरीमाया श्रेष्ठके अदालतमा पुनरावदेन गर्दा राखेको कोर्टफी रु.१०५।– र यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.१०५।– समेत जम्मा रु.२१०।– वादीबाट भरिपाउने हुँदा कानुनको म्यादभित्र वादीको जेथा देखाई दर्खास्त दिए केही दस्तूर नलिई भराई दिन लगत राख्नु भनी लेखी पठाउनु.........२
मिसिल नियम बमोजिम गरी बुझाई दिनु.................३
उक्त रायमा म सहमत छु ।
न्या.बब्बरप्रसाद सिंह
इति सम्वत् २०४४ साल चैत्र २८ गते रोज १ शुभम् ।