शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३५०० - अंश

भाग: ३० साल: २०४५ महिना: असोज अंक:

निर्णय नं. ३५०० ने.का.प. २०४५ अङ्क ६

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४३ सालको दे.पु.नं. ७१९

फैसला भएको मिति : २०४५।५।९।५ मा

 

पुनरावेदक/प्रतिवादी : का.न.पं.वा.नं.७ कुमारीगाल बस्ने भैरवबहादुर बस्नेत क्षेत्री

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ.बस्ने रामबहादुरको मु.स.गर्ने सीतादेवी बस्नेत

 

मुद्दा : अंश

 

(१)                  सम्पत्तिमा आफ्नो भाग पाई आफ्नो नाउँमा दर्ता गरी भोग समेत गरी सकेपछि फेरि अंश पाउँ भनी पर्न आएको फिराद अंशबण्डाको ३० नं. मा भएका व्यवस्थाले नमिल्ने ।

(प्रकरण नं. १३)

 

फैसला

न्या.हिरण्येश्वरमान प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार रहेछ ।

२.     बाबा अम्बरबहादुर, आमा खडादेवीबाट जायजन्म भएको छोरा जेठा विपक्ष भैरवबहादुर, माहिला लाटो र म फिरादी कान्छा भएका र बाबु परलोक हुनु भएपछि हामीहरुको मन नमिली २०२३।२।१५ मा मानु छुट्टी आमासंग दाजु भैरवबहादुर बस्नु भएकोमा आमा पनि २०२३ सालमा परलोक हुनु भएपछि पितापूर्खाको श्रीसम्पत्ति विपक्षी जिम्मा रहेकोले मेरो अंश छुट्याई दिनुहोस् भनी भन्दा वास्ता नगरी टारवार मात्र गर्नु भएकोले मानो छुट्टिएको मिति २०२३।२।१५ का अघिल्ला दिन तकको विपक्षीसंग चलअचल श्रीसम्पत्तिको तायदाती लिई ३ भागको १ भाग अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

३.     यो वादी समेतको अघि लक्ष्मीबहादुर समेत प्रतिवादी यो वादी र म समेतका नाउँमा अंश मुद्दा दिंदा ५ भाग गरी अंश छुट्याई दिने कुरामा स.अ. समेतबाट २०३०।७।१० मा फैसला भई बण्डा छुट्याई दिएको छ । सो बण्डा बमोजिम श्री पशुपति भण्डारखाल तहसीलका जग्गा ५ जवानको नाउँमा दर्ता भई निजको भाग विजय सिंलाई बिक्री गरिसकेको छ, यसरी अंशबण्डा भई आफ्नो भाग बुझी लिई बिक्री व्यवहार गरिसकेको व्यक्तिले अंशबण्डाको ३० नं. विरुद्धमा यो फिराद गरेको हुँदा वादी नलाग्ने प्रष्ट छ वादीको झुठ्ठा दावाबाट फुर्सद गराई पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

४.     वादीले प्रतिवादीबाट फिराद दावा बमोजिम अंश लिन पाउने ठहर्छ । पेश भएको तायदातीबाट सम्पूर्ण सम्पत्तिमा ३ भागको १ भाग यी वादीले अंश पाउने ठहर भइसकेकोले सोही अनुसार बण्डा गरिदिनु पर्ने ठहर्छ भन्ने समेत व्यहोराको २०४०।५।२२ को काठमाडौं जिल्ला अदालतको फैसला ।

५.     उक्त फैसलामा चित्त बुझेन, यो फैसला अंशबण्डाको ३० नं.बमोजिम बदरभागी छ । बदर गरिपाउँ भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतमा परेको प्रतिवादीको पुनरावेदनपत्र ।

६.     ३ भागको १ भाग वादीले अंश पाउने ठहराएको र सोही अनुसार बण्डा गरिदिन पर्ने ठहराएको समेत इन्साफ शुरुको मनासिब ठहर्छ भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतको २०४०।९।२६ को  फैसला ।

७.     उक्त फैसलामा चित्त बुझेन, बा.अं.अ.को फैसला अंशबण्डाको ३० नं. को खिलाफमा भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीको म.क्षे.अ.मा परेको निवेदनपत्रमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत म.क्षे.अ.सिंगलबेञ्चको आदेश ।

८.     अंशबण्डा भइसकेको ठहर्‍याउन भरपर्दो सबूत चाहिन्छ । अनुमानको भरमा बण्डा भइसकेको ठहराउने हो भने कतिपय अंशियारा निरअंशी हुन जाने अवस्था हुने हुँदा प्रस्तुत मुद्दामा पनि वादी रामबहादुर र प्रतिवादी भैरवबहादुर बीच अंशबण्डा भइसकेको ठहराउन न्यायोचित नहुँदा ३ भागको १ भाग अंश प्रतिवादीबाट वादीलाई दिलाई दिने जिल्ला अदालतको निर्णय मनासिब हुँदा पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने म.क्षे.अ.को फैसला ।

९.     लगाउन पर्ने प्रमाण नलगाई नलाग्ने प्रमाण लगाई अंशबण्डाको ३० नं. र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरीत गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला गैरकानुनी र त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने भैरवबहादुरको यस अदालतमा परेको निवेदन ।

१०.     यसमा रामबहादुरको भाग २०३७।१।३ मा विजयसिंह नाममा दर्ता भई गएको मिसिल प्रमाणबाट देखिएपछि निवेदक भैरवबहादुरको मात्र भाग बण्डा हुने ठहर्‍याएको क्षेत्रीय अदालतको निर्णयमा अंशबण्डाको ३० नं. को त्रुटी भएको देखिँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको यस अदालत डिभिजन बेञ्चको आदेश ।

११.     नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरियो ।

१२.    यसमा क्षेत्रीय अदालतको इन्साफ मनासिब बेमनासिब के रहेछ ? त्यसको निर्णय दिनुपर्ने हुन आयो ।

१३.    यसमा निर्णयतर्फ विचार गर्दा, वादी लक्षबहादुर, प्रतिवादी यिनै वादी प्रतिवादी भएको अंश मुद्दाबाट सो मुद्दा यस अदालतबाट फैसला भएको मिति २०३०।७।२८ गतेसम्म सगोलमा रहे पनि सोही मुद्दामा भएको फैसला अनुसार २०३१।३।२५।३ को अदालत तहसीलका पत्रानुसार लक्षबहादुर, कीर्तिबहादुर, भैरबबहादुर, रामबहादुर समेतका नाउँमा एकै मितिमा छुट्टाछुट्टै नामसारी दर्ता भई रामबहादुरको भाग जग्गा रामबहादुरकै नाउँमा दर्ता कायम भएपछि उक्त रामबहादुरले जग्गाको बाली नबुझाई बाँकी राखेबाट यस मुद्दाबाट बाँकी कूतमा मोही पजनी हुने गरी म्याद टाँस गर्दा मिति २०३७।१।२ का टाँस पुर्जी अनुसार उक्त जग्गाको बाली कूत बुझाउने विजयसिंहका नाउँमा वहालीको चलन पुर्जी भई गइसकेको भन्ने समेत व्यहोराको पशुपति भण्डार तहसील कार्यालयले २०४१।८।१९ मा लेखेका पत्रबाट देखिन आएकोले लक्षबहादुरको अंश मुद्दाबाट अदालत तहसीलको पुर्जी बमोजिम लक्षबहादुर समेतको जग्गा छुट्याउँदा यिनी वादीका लोग्ने रामबहादुरले पनि आफ्नो भाग जग्गा छुट्टाई लिई कूतबालीमा लिलाम नहुँदासम्म भोगेको देखिन आएको, लक्षबहादुर वादी भएको अंश मुद्दामा यिनी वादी समेतको वारिस भई यिनी पुनरावेदकले दिएको तायदातीबाट सोही पशुपति भण्डार तहवील कार्यालयमा दर्ता भएको जग्गा र सोही जग्गामा बनेको घर बाहेक अरु बण्डा गर्नु पर्ने कुनै सम्पत्ति पनि नदेखिएको, तायदाती मध्येको घरमा आधी घर पाई सो घर भत्की हाल विपक्षीले सो घर भएको  जग्गामा घर समेत बनाई बसेको भनी रोहवरमा भनेकोबाट घरमा पनि आफ्नो अंश भाग पाइसकेको देखिन आएकोले यसरी २०३१।३।२५।६ को पुर्जी बमोजिम सम्पत्तिमा आफ्नो भाग पाई आफ्नो नाउँमा दर्ता गरी भोग समेत गरी सकेपछि फेरि अंश पाउँ भनी पर्न आएको यो फिराद अंशबण्डाको ३० नं. मा भएको व्यवस्थाले नमिल्ने हुँदा वादी विपक्षीको दावी बमोजिम अंश पाउने ठहर्‍याएको शुरु र अञ्चल अदालतको इन्साफ मनासिब ठहर्‍याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ गल्ती भई वादी दावी नपुग्ने ठहर्छ अरु तपसील बमोजिम गर्नु ।

तपसील

पु.वे.प्र.भैरवबहादुर बस्नेत क्षेत्रीके माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ.को इन्साफ गल्ती ठहरी फैसला भएकोले का.जि.अ.को २०४०।५।२२।४ को फैसलाले प्रतिवादीबाट वादीहरुलाई भराई दिने गरेको कोर्टफी रु.६३।८३ भराई दिइरहनु परेन, व्यहोरा जनाई लगतकट्टा गरिदिनु भनी का.जि.अ.त.मा लगत दिनु...१

माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावी नपुग्ने ठहरी फैसला भएकोले शुरु का.जि.अ. को २०४०।५।२२ को फैसलाले तायदाती फाँटवारीमा लेखिए बमोजिमको घरजग्गा बण्डा छुट्याई दिनु भन्ने लगत कायम नरहने हुँदा व्यहोरा जनाई लगत कट्टा गरिदिनु भनी का.जि.अ. मा लगत दिनु ...२

पु.वे.प्र.भैरवबहादुर बस्नेतले बागमती अञ्चल अदालतमा पुनरावेदन गर्दा शुरु का.जि.अ.को २०४०।५।२२ को फैसलाले वादीलाई भराई दिने गरेको कोर्टफी रु.६३।८३ का.जि.अ.मा २०४०।६।२५ मा धरौट राखेको देखिँदा उक्त धरौटी रकमबाट वादीलाई भराई दिने गरेको बागमती अञ्चल अदालतको २०४०।९।२६ को फैसलाले राखेको लगत कायम नरहने हुँदा व्यहोरा जनाई लगत कट्टा गरिदिनु र उक्त धरौट रकम पु.वे.प्र.भैरवबहादुरले फिर्ता पाउने हुँदा ऐनको म्यादभित्र फिर्ता पाउँ भनी दर्खास्त दिए प्रतिवादीलाई फिर्ता दिनु भनी का.जि.अ.मा लगत दिनु ......३

पु. वे. प्र.भैरवबहादुर बस्नेतके माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरु र अञ्चल अदालतको इन्साफ सदर गर्ने म.क्षे.अ.को इन्साफ गल्ती ठहरी फैसला भएकोले बागमती अञ्चल अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.९।म.क्षे.अ.मा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.८।९८, यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.९।५७ समेत जम्मा रु.२७।५५ वादीबाट भराई लिन पाउने हुँदा कोर्टफी ऐनका म्यादभित्र वादीको जायजेथा देखाई भराई पाउँ भनी ऐनका म्यादभित्र दर्खास्त दिए प्रतिवादीलाई कानुन बमोजिम भराई दिनु भनी का.जि.अ.मा लगत दिनु ....४

मिसिल नियम बमोजिम गरी बुझाई दिनु........५

 

उक्त रायमा म सहमत छु ।

न्या.रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४५ साल भाद्र ९ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु