शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३५०२ - अंश

भाग: ३० साल: २०४५ महिना: असोज अंक:

निर्णय नं. ३५०२ ने.का.प. २०४५ अङ्क ६

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४३ सालको दे.पु.नं. ६१९

फैसला भएको मिति : २०४५।५।१५।४ मा

 

पुनरावेदक/वादी : बांके माई गाउँ गा.पं.वा.नं.५ राझा बस्ने सुलोचना मिश्र

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने वामदेवप्रसाद शर्मासमेत

 

मुद्दा : अंश

 

(१)                  सगोलमै रहेको अवस्थामा नदीकाट बालु बूर्जमा सकारेको र आफूले बकस पाएको भए पनि अंशबण्डाको १८ नं. मा भएको संशोधन पूर्व आर्जन गरेको देखिएकोले तत्काल प्रचलित अंशबण्डाको १८ नं. मा भएको व्यवस्थाले सगोलका सबै अंशियारले भाग पाउने नै देखिन आउने ।

(प्रकरण नं. १४)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्ज विहारीप्रसाद सिंह

उल्लिखित मुद्दा : ने.का.प. २०४१ नि.नं. २०८४ पृष्ठ १०१३ को मुद्दामा स.अ.बाट सिद्धान्त प्रतिपादित ।

 

फैसला

न्या.हिरण्येश्वरमान प्रधान :      मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।१२।२९ को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।

२.     प्रतिवादी वामदेवप्रसाद प्रतिवादी लोग्ने प्राणपतिको जेठी पत्नीबाट जन्मेका छोरा हुन म निज लोग्नेको कान्छी पत्नीबाट अविवाहिता छोरा अनिल र छोरी पुनम, निलम रीता र सुमित्रा छन् । हामी वादी प्रतिवादीको अंशबण्डा नभई एकासगोलमा छौं छोरा वामदेवप्रसाद मिश्र र बुहारी शान्तिले मलाई सौतेनी आमा भनी उपेक्षाको दृष्टिले हेर्ने गर्थे पुर्खौली र मेरा गहना बिक्री गरी छोरा बुहारीका नाउँमा घरजग्गा जोड्नु भयो म तर्फबाट सो अवस्थामा छोरा नहुँदा सहन गरी चुप लागि बसेको थिएँ २०३८ साल आषाढ १६ गते विहान छोराको खाना सम्बन्धमा विवाद कलह उठाई लोग्ने प्राणपति पनि आई छोरा बुहारीको पक्षमा लागि कुटपिट समेत गरी घरबाट निष्कासन गरिदिनु भयो मैले अंश र छोरीको विवाह खर्च माग गर्दा प्र.हरुले इन्कार गरेकोले अंशबण्डाको १,२ नं.बमोजिम ४ खण्डको १ खण्ड अंश र विवाह खर्च समेत दिलाई भराई पाउँ भन्ने सुलोचनादेवीको   फिरादपत्र ।

३.     फिराद जिकिर अनुसार हामीहरु एकासगोलमा छैनौं, प्र.प्राणपति र वादी एकासगोलमा छन् । बांके मनिकापुर गा.पं.वार्ड नं. ६ कि. नं. ३०० को जग्गा विगहा ०० शान्तिले आफ्नो दाइजोको रुपैयाँ लगाई खरीद गरेको हुँदा शान्तिदेवीको एकलौटी हक भोग छ । अरु बांके मनिकापुर गा. पं.वार्ड नं. ६ को कि.नं.२९९ को ज.वि.०७ म वामदेवप्रसादले राममिलनबाट दान बक्स पाई रजिष्ट्रेशन गराई भोगचलन गरी राखेको छु र चटार गा. पं. वडा नं.५क. कि. नं. १८२ को ज.वि.६१३/४ म बामप्रसादले नदी काट बालुबुर्जा २०२६।१।२७ मा सकार गरी भोगचलन  गरिआएको हुँदा सो समेतको जग्गा म बामदेव बाहेक अरु कसैको हक छैन वादीको झुठ्ठा दावीबाट फुर्सत पाउँ भन्ने वामदेवप्रसाद र शान्तिदेवीको एकै मिलानको प्रतिउत्तरपत्र ।

४.     वादीलाई मैले घरबाट निष्कासन गरेको छैन प्र.शान्तिदेवी र प्र.वामदेवप्रसादका नाममा नै सगोलको सम्पूर्ण अचल सम्पत्ति दर्ता रहेको छ वादीको पनि सो सम्पतिमा अंश हक छ भन्ने समेत व्यहोराको प्राणपति मिश्रको प्रतिउत्तरपत्र ।

५.     २०२९।३।१६ र २०२२।१।१४ को बिकाता बाहेक फाँटवारीमा लेखिएअनुसारको सम्पत्तिमा वादी दावी बमोजिम अंश पाउने ठहर्छ भन्ने शुरु बांके जिल्ला अदालतको फैसला ।

६.     कि.नं.२९९ को र कि. नं. ३०० को जग्गामा बनेको घर जग्गा समेतको जेथामा अंश नपाउने र अंशबण्डाको १७ नं.बमोजिम विगहा खर्च पर नसारेको फैसलामा चित्त बुझेन भन्ने सुलोचनादेवीले भेरी अञ्चल अदालतमा दिएको पुनरावेदनपत्र ।

७.     अंशबण्डाको १८ नं.बमोजिम आफ्नो आर्जनबाट प्राप्त गरेको सम्पत्तिमा वादीको हक लाग्ने गरी गरेको फैसलामा चित्त बुझेन सो फैसला बदर गरी वादीको दावीबाट फुर्सत गरिपाउँ भन्ने वामदेवप्रसाद शर्मा र शान्तिदेवीले भेरी अञ्चल अदालतमा दिएको एकै मिलानको पुनरावेदनपत्र ।

८.     पुनरावेदक सुलोचना भारतीय नागरिक भएकोले निजले यस सरहदको नागरिक पुनरावेदक वामदेव समेतको निजी शिप प्रयासबाट समेत आर्जन गरेको सम्पतिमा सुलोचना मिश्रले अंश पाउँ भनी झुठ्ठा दावी लिएको ठहर्छ सो हुँदा शुरुबाट भएको फैसला बदर हुने ठहर्छ भन्ने भेरी अञ्चल अदालतको फैसला ।

९.     शुरु र अञ्चल अदालतको राय नमिलेको र उक्त फैसला उपर चित्त नबुझी म.प. क्षेत्रीय अदालतका नाउँमा इन्साफ जाँचको लागि श्री ५ महाराजाधिराजका जूनाफमा विन्तिपत्र चढाएकोमा इन्साफ जाँची कानुन बमोजिम गर्नु भन्ने हुकुम प्रमाङ्गी ।

१०.     यसमा वादी समेत अंशियार ४ जवान भएको कुरामा प्रतिवादीहरुको कुनै विवाद नभएको वादीलाई भारतीय नागरिक हुन होइनन् भन्ने बोलिरहन नपर्नेमा वादीलाई भारतीय भनेको भेरी अञ्चल अदालतको फैसला नमिलेकोले सो हदसम्म बदर हुने र प्रतिवादी वामदेवप्रसाद र शान्तिदेवी शर्मासंग पुर्खौली बण्डा गर्नुपर्ने सम्पति नदेखिएको त्यसमा पनि वादी सुलोचनाको लोग्ने यी प्रतिवादीहरुको बाबु ससुरो प्राणपति जीवित हुँदाहुँदै वादीले अंश खोज्नु पर्ने भए आफ्नो लोग्ने प्राणपतिसंग नै खोज्नु पर्नेमा प्राणपतिले पुर्खौली अचल सम्पत्ति छ भन्न नसकेको यस अवस्थामा प्रतिवादी वामदेवप्रसाद र शाति शर्माको आआफ्नो आर्जनको सम्पत्ति बण्डा लाग्छ भन्न नमिलेकोले प्रतिवादी मध्येका वामदेवप्रसाद र शान्ति शर्माबाट वादीले अंश पाउन नसक्ने ठहराएको भेरी अञ्चल अदालतको इन्साफ सदर ठहर्छ भन्ने म.प.क्षे.अ.को मिति २०४२।१२।२९।६ को फैसला ।

११.     म वादी अंशियार भएको कुरा निर्विवाद छ लोग्ने प्राणपतिका नाममा पनि फिराद परेको हुँदा अंश खोज्नु पर्ने भए लोग्नेसँग खोज्नु पर्ने भन्ने समेत व्यहोराको श्री म.प.क्षे.अ. बाट भएको फैसलामा गम्भीर कानुनी त्रुटी हुँदा पुनरावेदन गर्न अनुमति पाउँ भनी वादी सुलोचना मिश्रको पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा मुलुकी ऐन अंशबण्डाको संशोधित १८ नं.बमोजिम २०३४।९।२७।४ भन्दा अघिको सगोलको आर्जन कानुन बमोजिम बण्डा गर्नुपर्ने माथि उल्लेख भएबमोजिम देखाइएका आर्जनहरु २०३४।९।२७ भन्दा अघिको देखिएको र सो सम्बन्धमा यस अदालतबाट सिद्धान्त समेत प्रतिपादन भइसकेकोले यस्तो अवस्थामा वादीलाई अंश नदिने गरी गरेको म.प.क्षे.अ.को फैसलामा मुलुकी ऐन अंशबण्डाको १८ नं. तथा  प्रतिपादित सिद्धान्त समेतको विपरीत भई सार्वजनिक महन्वको विषयमा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) को अवस्था विद्यमान भएको देखिँदा प्रस्तुत मुद्दामा पुनरावेदन गर्न अनुमति दिइएको छ भन्ने समेत यस अदालत डिभिजन बेञ्चको मिति ०४३।४।१५।४ को आदेश रहेछ ।

१२.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भई आएको प्रस्तुत मुद्दामा वादी तथा प्रतिवादी दुवै पक्षका वारेश समेतलाई रोहवरमा राखी पुनरावेदीका वादीको तर्फबाट बहसका लागि उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विपक्षी प्रतिवादीको तर्फबाट बहसका लागि उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुंज विहारीप्रसाद सिंहले गर्नुभएको बहस जिकिर समेत सुनियो ।

१३.    प्रस्तुत मुद्दामा म.प.क्षे.अ.ले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

१४.    यसमा विपक्षी वामदेवले आफूले नदीकाट बालुवुर्जमा सकारे मध्येको जग्गा २०३०।३।२६ मा राजीनामा दिंदा आफ्नो बाबु प्र.प्राणपतिले आफूलाई विपक्षी वामदेवको एकासगोलको बाबु भनी साक्षी बसेको कुरा स्वीकारेकै हुँदा सो भन्दा अघि २०२० सालमा बाबुसित छुट्टिई भिन्न भएको भन्ने विपक्षीतर्फको जिरह साक्षीहरुको बकाईको आधारमा मनासिब भन्न मिलेन । यसप्रकार विपक्षी वामदेव २०३०।३।२६ सम्म आफ्नो बाबुसित सगोलमै रहेको अवस्थामा नदीकाट बालुबुर्जमा सकारेको र आफूले २०२९।३।३० मा बकस पाएको भए पनि अंशबण्डाको १८ नं. मा भएको संशोधन पूर्व आर्जन गरेको देखिएकोले तत्काल प्रचलित अंशबण्डाको १८ नं. मा भएको व्यवस्था तथा स.अ.बाट ने.का.प. २०४१ नि.नं.२०८४ पुष्ठ १०१३ को मुद्दामा प्रतिपादित सिद्धान्तले सगोलका सबै अंशियारले भाग पाउने देखिन आएको र विपक्षी वामदेवकी पत्नी शान्तिदेवीले २०२२।१।४ मा राजीनामा लिएको जग्गा भनेकोमा पनि सगोलकै अवस्था खरीद देखिन आएको र सो राजीनामामा जिकिर लिएबमोजिम दाइजोपेवाबाट खरीद भएको भनी नलेखिएकोबाट सो जिकिरलाई पनि मान्न नमिल्ने हुँदा उक्त विपक्षीले आर्जन गरेको भनेको र दाइजो पेवाबाट खरीद भएको भनेको जग्गामा समेत वादी पुनरावेदकको दावी बमोजिम अंश पाउने ठहर गर्नु पर्नेमा शुरु जि.अ.ले २०२२।१।४ मा शान्तिदेवी मिश्रले किनेको भनेको कि.नं.३०० को र २०२९।३।३० मा विपक्षीले दान बकस पाएको भनेको कि.नं.२९९ नं. को जग्गामा अंश नपाउने ठहर्‍याएको र अञ्चल अदालत र क्षेत्रीय अदालतबाट बालुबुर्जमा सकारेको भनेको कि.नं.१८२ नं.को जग्गामा समेत अंश नपाउने ठहर्‍याएको म.प.क्षे.अ.को इन्साफ गल्ती ठहरी वादी दावी बमोजिम उक्त जग्गाहरु समेतमा ४ खण्डको १ खण्ड अंश पाउने ठहर्छ अरुमा तपसील बमोजिम गर्नु ।

तपसील

वादी सुलोचना मिश्रके इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादीबाट अंश पाउने ठहर भएकोले दं.स.को ४६ नं. को म्यादभित्र दर्खास्त परेको बखत अंश छुट्याएको सम्पत्तिको कोर्टफी ऐन बमोजिम लाग्ने कोर्ट फीमा वामदेवले म.प.क्षे.अ.मा पुनरावेदन गर्दा राखेको धरौटी रु.६१३।९५ सदर स्याहा गरी नपुग भएमा प्रतिवादीबाट थप कोर्टफी समेत लिई देहायको सम्पत्तिबाट ४ खण्डको १ खण्ड ऐनको रीत पुर्‍याई वादीलाई अंश छुट्याई दिन लगत राख्नु भनी शुरु जि.अ.मा लगत दिनु १ प्र.वामदेवप्रसादका नाउँ दर्ताको मोल रु.६०,०००।जाने जग्गा १ जि.बाँके चटार पञ्चायत वार्ड नं. ५(क) कि. नं.१८२ क्षेत्रफल ६१३/४ को कित्ता १ ऐ. मनिकापुर ६(क) कि.नं. २९९ क्षे.फ. ०१०७ को कित्ता १ प्र.शान्तिदेवीका नाममा दर्ताको जम्मा मोल बिगो रु.१८५००।जाने घर १  बाके मनिकापुर गा. पं.वा. नं. ६ कि. नं. ३०० को ज.वि.०० को घर जग्गा १ चल सम्पत्ति वामदेव र शान्तिदेवी जिम्मा रहेको भा.रु. ७६।५० को धनमाल     १ मोल रु.१०। जाने पुरानो आलमुनियमको कसौडी    १

”              ७। जाने फलामे कडाही   १

                ”              ५। जाने तावा   १

                ”              १। जाने डाडु     १

                ”              १। जाने पनेउ    १     

                ”              ।५० को चिम्टा  १

                ”              ४। जाने दरी थान १

                ”              १०। जाने खाट   १

                ”              ६। जाने सीसाको गीलाश थान ४   १

                ”              १। जाने माटोको गाग्रा    १

                ”              ५। जाने बाल्टी थान     १

वादी सुलोचना मिश्रके वादी दायर गर्दा शुरु जि.अ.मा राखेको कोर्टफी रु.२५ अं.अ.मा पुनरावेदन गर्दा राखेको कोर्टफी ९२।९ को जम्मा रु.१४८।७४ प्र.हरुबाट भराई पाउँ भनी दर्खास्त दिएमा कानुन बमोजिम वादीलाई भराई दिनु भनी लगत राख्न शुरु जि.अ.मा लेखी पठाउनु ..२

म.प.क्षे. को इन्साफ उल्टी भएकोले मा.न्या.श्री रुद्रबहादुर सिंह मा.न्या.श्री लिलाप्रसाद गिरीको उल्टी रेकर्ड राख्नु........................३

नियम बमोजिम मिसिल बुझाई दिनु......४

 

उक्त रायसंग म सहमत छु ।

न्या बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०४५ साल भाद्र १५ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु