शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९००५ - कर्तब्य ज्यान

भाग: ५५ साल: २०७० महिना: श्रावण अंक:

ने.का.प. २०७०,           अङ्क ४

निर्णय नं.९००५

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय

माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की

संवत् २०६६ सालको स.फौ.पु.नं. ०६६CR०७२८

फैसला मितिः २०७०।२।६।२

 

मुद्दाः कर्तब्य ज्यान ।

 

पुनरावेदक प्रतिवादीः तेह्रथुम जिल्ला, संक्रान्तिबजार गा.वि.स.,वडा नं.२ बस्ने ईश्वर लिम्बू

विरुद्ध

प्रत्यर्थी वादीः हेमकुमार पाहिमको जाहेरीले नेपाल सरकार

 

शुरू फैसला गर्ने :

मा.न्या.श्री कोषकुमार नेम्वाङ्ग

पुनरावेदन फैसला गर्ने :

मा.न्या.श्री हरिप्रसाद घिमिरे

मा.न्या.श्री ऋषिराज मिश्र

 

§  मुलकी ऐनको ज्यान सम्बन्धी महलको ५ नं. अनुसार घटनामा फौजदारी अपराध हुने आपराधिक तत्वमध्येको महत्वपूर्ण तत्व मनसायको अभाव रहने हुन्छ । आफूले गरेको कामबाट मानिस मर्न सक्छ भन्ने परिणामको ज्ञान यसमा हुँदैन । कुनै एउटा कामको निमित्त सावधानीसँग सतर्कतापूर्वक गरिरहेको अवस्थामा अचानक केही ब्यहोराले अरूलाई लाग्न गएकोमा भवितव्य हुन्छ । भवितव्यबाट सो घटना घट्न गएको हो भन्ने पक्षले सो कार्य दुर्घटना थियो, आपराधिक मनसाय र ज्ञानले गरिएको थिएन । उचित सतर्कता र सावधानी राखिएको थियो भन्ने कुराको प्रमाणित गर्नुपर्दछ । सो घटनामा मानिस छ भन्ने कसूरदारलाई थाहासम्म पनि भएको हुनु हुँदैन । अरू नै कुनै केही चीज वस्तुउपर प्रहार गर्दा अचानक मानिसउपर पर्न गै मानिसको मृत्यु भएको हुनुपर्ने ।

§  मुलकी ऐनको ज्यान सम्बन्धी महलको १४ नं. को व्यवस्थामा मान्छेको उपस्थिति पनि भएको, घटना वारदात मान्छेमान्छेबीच भएको तर उक्त मान्छेलेमान्छेलाई ज्यानमार्नेसम्मको कुनै मनसाय पनि नभएको, ज्यान लिनुपर्नेसम्मको पूर्व रीसइबि पनि नभएको, लुकी चोरीकन पनि नहानेको, उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी साधारण लाठा, ढुङ्गा, लातमुक्का इत्यादिले हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा १० वर्ष कैद गर्नुपर्छ भन्ने कानूनी अवस्था भएकाले सोही ऐनबमोजिम मानिसमानिसबीच वारदात हुन गएको तर उसै मौकामा उठेको रिस थाम्न नसकी लात मुक्काले हानेको अवस्थाबाट मृतकको मृत्यु हुन गएकाले सोही ऐनको १४ नं.आकर्षित हुने ।

(प्रकरण नं.४)

 

पुनरावेदक प्रतिवादीतर्फबाटः

प्रत्यर्थी वादीतर्फबाटः

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५, ६ र १४ नं.

 

फैसला

न्या.प्रा.डा.भरतबहादुर कार्कीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत, धनकुटाको मिति २०६६।३।१६ गतेको फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :

मेरो भाइ अम्बरबहादुर पाहिमलाई मिति २०६४।१२।१६ गतेका दिन ११ः०० बजेको समयमा जिल्ला तेह्रथुम, संक्रान्तिबजार गा.वि.स., वडा नं.२ बस्ने ईश्वर लिम्बूले छिमेकी रामबहादुर फोम्बोको घर आँगनमा लात्ती मुड्कीले कुटपीट गरी कर्तव्य गरी मारेको हुँदा निजलाई पक्राउ गरी कानूनी कारवाही गरिपाऊँ भन्नेसमेत व्यहोराको जाहेरवाला हेमकुमार पाहिमको २०६४।१२।२७ गतेको जाहेरी दरखास्त ।

निधारको दाहिनेमाथि निलो दाग, दाहिने खुट्टाको घुँडामा खोस्रेको नीलडाम, लिङ्गबाट रगत वीर्य निस्केको देखिएको भन्नेसमेत व्यहोराको मृतक अम्बरबहादुर पाहिमको घटनास्थल तथा लाश जाँच मुचुल्का ।

हेमकुमार पाहिमको जाहेरीले कर्तव्य ज्यान मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ परेका ईश्वर लिम्बूको साथबाट भरुवा बन्दुक १ थान, खुकुरी थान १, बारुद र शीशाको टुक्रासमेत बरामद भएको भन्ने व्यहोराको बरामदी मुचुल्का ।

मिति २०६४।१२।२६ गते म र मृतक अम्बरबहादुर पाहिम सिकार खेल्न जाने कुरामा विवाद भई कुटपीट हुँदा मैले निजलाई लात्ती र मुड्कीले पेट तथा छातीमा हिर्काएकोले सोही चोट पीरका कारण निजको मृत्यु भएको भन्नेसमेत व्यहोराको पक्राउ परेका प्रतिवादी ईश्वर लिम्बूको बयान ।

दरखास्तमा लेखिएको मिति २०६४।१२।१६ गते म समेतका व्यक्तिहरू रामबहादुर फोम्बोको घरमा बसीरहेका थियौँ । यस्तैमा अभियुक्त ईश्वर लिम्बू र मृतक अम्बरबहादुर पाहिम हामी भएको घरमा आए । ईश्वर लिम्बूले साथमा भरुवा बन्दुक बोकेका थिए । केही समयमा के कुन कुरामा दुवैजनाले विवाद गरी ईश्वर लिम्बूले अम्बरबहादुरलाई लात्ती मुड्किले पेट छातीमा प्रहार गरी आँगनमा लडाए । सोपछि उठी खाटमा सुतेका निज अम्बरबहादुर पुनः लात्ती मुड्कीले कुटपीट गर्दा निज अम्बरबहादुर पाहिमको घटनास्थलमै मृत्यु भएको भन्नेसमेत व्यहोराको दीलबहादुर फोम्बोको कागज ।

मिति २०६४।१२।२६ गते पक्राउमा परेका प्रतिवादी ईश्वर लिम्बूले नै अम्बरबहादुर पाहिमलाई कुटपीट गरी कर्तव्य गरी मारेका हुन्, निजले के कुन रीसइबिको कारण अम्बरबहादुर पाहिमलाई कुटपीट गरी मारेका हुन्, यकीन थाहा भएन भन्नेसमेत व्यहोराको खड्गबहादुर फोम्बोको कागज ।

मेरो घरका आँगनमा ईश्वर लिम्बूले अम्बरबहादुर पाहिमलाई लात्ती मुड्कीले शरीरको जत्रतत्र पेट, छाति समेतमा प्रहार गरी कुटपीट गरी मारेको हो । वारदात हुँदाका अवस्थामा ईश्वर लिम्बूको कुटपीटको चोट पीरका कारणले अम्बरबहादुर पाहिमको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको रामबहादुर फम्वोको कागज ।

मिति २०६४।१२।२६ गते पक्राउमा परेका प्रतिवादी ईश्वर लिम्बूले अम्बरबहादुर पाहिमलाई लात्ती मुड्कीले शरीरको जत्रतत्र भागमा कुटपीट गर्दा सोही कुटपीटको चोट पीरका कारण निज अम्बरबहादुर पाहिमको घटनास्थल मै मृत्यु भएको हो । निज ईश्वर लिम्बूले के कुन रीसइबिका कारण कुटपीट गरेका हुन् यकीन थाहा भएन भन्नेसमेत व्यहोराको बुझिएका तिलप्रसाद फोम्बोको कागज ।

मिति २०६४।१२।२६ गते संक्रान्तीबजार गा.वि.स. वडा नं. २ मा बिहान ११ बजेको समयमा अम्बरबहादुर पाहिमलाई ईश्वर लिम्बूले कर्तब्य गरी मारेकोमा विश्वास लाग्छ भन्नेसमेत व्यहोराको रामबहादुर फोम्बो र दिनेश अधिकारीसमेतले खुलाई लेखाई दिएको मिति २०६५।१।२० गतेको वस्तुस्थिति मुचुल्का  ।

ईलाका प्रहरी कार्यालय आठराई, तेह्रथुमको च.नं.१४५ मिति २०६५।१।३ को पत्रसाथ प्राप्त भएको मिति २०६४।१२।२६ गते मृतक अम्बरबहादुर पाहिमको शव परीक्षण प्रतिवेदन ।

           प्रतिवादीले अम्बरबहादुर पाहिमलाई लात्ती मुड्कीले पेट तथा छातीमा प्रहार गरी घटनास्थल मै कर्तव्य गरी मारेको पुष्टि हुन आएको हुँदा यी प्रतिवादीले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १४ नं.को बर्जित कसूर अपराध गरेको पुष्टि हुँदा निज अभियुक्त ईश्वर लिम्बूलाई ऐ.ऐनको १४ नं. बमोजिम सजाय हुन र पक्राउ परेका अभियुक्त ईश्वर लिम्बूलाई यसै अभियोग साथ प्रस्तुत गरिएको छ भन्नेसमेत व्यहोराको जिल्ला सरकारी वकील कार्यालय, तेह्रथुमको मिति २०६५।१।२२ गतेको अभियोग पत्र ।

मिति २०६४।१२।२६ गते बिहान अ.७ बजेको समयमा म घरबाट घाँस काट्न भनी जाँदै गर्दा गाउँकै रामबहादुर फोम्बो लिम्बूको घरमा यी मृतक अम्बरबहादुर पाहिमलाई भेटी निजले मलाई रक्सी खाउँ भनेकाले निज अम्बरबहादुर र मैले १ बोतल रक्सी खायौं । मैले विवाह गरेपछि रक्सी खान छोडेको थिएँ । निजले कर लगाएकोले मैले पनि खाएको हो । उक्त १ बोतल रक्सी निजले किनेको हो । त्यसपछि मैले पनि १ बोतल रक्सी किनेँ । सो पनि हामी दुवै जनाले खायौं । त्यसपछि उसले पनि किन्यो मैले पनि किनेँ । मैले जम्मा २ बोतल र निजले ३ बोतल किन्यो । खाइसकेपछि फेरि गिलासमा उसले मागेकोले फेरि खाँदै सो ठाउँमा नै बसियो । रक्सी सकियो भनेपछि म तल्लो खड्गबहादुर लिम्बूको घरमा गै दिनको अं.१०:३० बजेतिर सुतेँ । निज अम्बरबहादुर म दुवैजना मातेका थियौं । पिसाब फेर्न भनी घरको पछाडि गएकोमा त्यहीँ एक पटक लडेको थियो । त्यो घरवाला दाइ रामबहादुर फोमेले हामीलाई किन यतिबेलासम्म खाई हल्ला गरेको भन्ने अम्बरबहादुरले मेरो पेट पो दुख्ला जस्तो भयो भन्दै थिए । म तल्लो घरमा गै सुतँे । निज र मेराबीचमा सो दिन कुनै झै झगडा भएन । मैले उक्त दिन यी अम्बरबहादुरलाई लात्ती मुड्कीले कर्तव्य गरी मारेको होइन, भन्नेसमेत व्यहोराको अभियुक्त ईश्वर लिम्बूले मिति २०६५।१।२३ गते शुरू अदालतमा गरेको बयान ।

पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई अ.बं.११८ को देहाय २ बमोजिम थुनामा राखी मुद्दाको पूर्पक्ष गर्न प्रतिवादीलाई कारागार कार्यालय, तेह्रथुममा पठाई दिने साथै, प्रतिवादी चुक्ता भएकोले जाहेरवाला, मौकामा कागज गर्ने र वस्तुस्थिति मुचुल्का तथा प्रतिवादीका साक्षीसमेत बुझी पेश गर्नु भन्ने मिति २०६५।१।२३ गतेको शुरू जिल्ला अदालतको थुनछेक आदेश ।

जाहेरवाला, मौकामा कागज गर्ने वस्तुस्थिति मुचुल्का तथा प्रतिवादीका साक्षीको बकपत्र गराई मिसिल संलग्न रहेको ।

प्रतिवादी ईश्वर लिम्बू र मृतकबीच रीसइबि केही भएको मिसिलबाट देखिएन । निजहरूले रक्सी सेवन गरी सामान्य कुरामा वादविवाद गरी हात हालाहाल, लात मुक्का गर्दा मृतकको मृत्यु भएको देखिन्छ । वारदातको समयमा प्रतिवादीसँग भएको बन्दुक र खुकुरीको प्रयोग भएको मिसिलबाट नदेखिँदा निज प्रतिवादीले ज्यानमार्ने मनसाय राखेको रहेछ भन्न सक्ने अवस्था रहन नआएकोले निज प्रतिवादी ईश्वर लिम्बूले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ नं. विपरीत कसूरमा ऐ ऐनको दफा ६ को देहाय ४ बमोजिम ६ महिना कैद र रू.५००।जरीवाना हुने ठहर भएको शुरू तेह्रथुम जिल्ला अदालतको मिति २०६५।४।२६ गतेको फैसला ।

प्रतिवादीलाई अभियोग दावीअनुसार सजाय नगरी दावी नै परिवर्तन गरी ज्यानसम्बन्धी महलको ६(४) नं.अनुसार सजाय हुने ठहर भएको शुरू तेह्रथुम जिल्ला अदालतको फैसला मिसिल संलग्न प्रमाणको मूल्याङ्कन तथा कानूनको प्रयोगमा गम्भीर त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीलाई अभियोग दावीअनुसार नै सजाय गरिपाऊँ भन्ने व्यहोराको वादी नेपाल सरकारका तर्फबाट पर्न आएको पुनरावेदन पत्र ।

यसमा प्रस्तुत वारदातको परिप्रेक्ष्यमा ज्यानसम्बन्धी महलको ५ नं.एवं ६ नं.तथा १४ नं.समेतको ब्याख्यात्मक प्रश्न उपस्थित भई शुरूको फैसला विचारणीय हुँदा छलफलका लागि अ.बं.२०२ नं.तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी प्रतिवादीलाई झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६६।१।१० गतेको आदेश । 

प्रत्यर्थी प्रतिवादीले मृतकलाई तत्काल उठेको रीसका कारणले लाठी एवं मुड्कीले प्रहार गर्दा सोही चोट पीरले मृतकको मृत्यु भएको भनी स्वयं प्रतिवादीले मौकामा बयान गर्दा स्वीकारेको, सो स्वीकारोक्ति अन्यथा किसिमको हो भनी बलियो सबूद प्रमाणद्वारा प्रतिवादीले खण्डन गर्न नसकेको, अभियोग दावीलाई अदालतमा समेत उपस्थित भई बकपत्र गर्ने स्वतन्त्र व्यक्तिहरूले समेत समर्थन गरिदिएका, प्रतिवादीकै कुटाईबाट मृतकको फियो च्यातिएको वा फाटेको (Spleen Rupture) ntra – Abdominal Haemorrhage भएको भन्नेसमेत मृत्युको कारण भनी शवपरीक्षण प्रतिवेदन (Autopsy Report) मा उल्लेख भएकोसमेत देखिई रहेको अवस्थामा प्रस्तुत वारदात र प्रतिवादीको कसूर अपराध ज्यानसम्बन्धी महलको ५ र ६ नं.अन्तर्गतको पर्ने भनी ६ नं.को देहाय ४ नं.अनुसारको मात्र सजाय गर्ने ठहराएको शुरू तेह्रथुम जिल्ला अदालतको मिति २०६५।४।२६ को इन्साफ मिलेको देखिएन । प्रस्तुत कसूर वारदात ज्यानसम्बन्धी महलको १४ नं. अन्तर्गतको भएको र प्रतिवादी ईश्वर लिम्बूले सो नं. बमोजिमको कसूर अपराध गरेको प्रमाणितसमेत भएको हुँदा निजलाई सोही १४ नं.बमोजिम १०(दश) वर्ष कैद सजाय हुने ठहर्छ । सोबमोजिम १० वर्ष कैद सजाय गर्नुपर्नेमा सो नगरेको हदसम्म शुरूको इन्साफ केही उल्टी हुन्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत धनकुटाको मिति २०६६।३।१६ को फैसला ।

मेरा हितैषी साथी अम्बरबहादुरलाई मैले मार्नुपर्ने कुनै कारण पनि  थिएन । मार्ने मनसाय पनि थिएन । मैले मार्ने कुनै कार्य कुटपीट, लात्ती मुड्की प्रहार केही पनि गरेको होइन । मसँग भएका अवस्थामा मेरा कारणले मरेको पनि होइन । अम्बरबहादुरले रक्सी खाई बढी रक्सी भएकोले रक्सीले फियो फुटेर अम्बरबहादुरको मृत्यु भएको हो । प्राकृतिक कारणले अम्बरबहादुर लिम्बूको मृत्यु भएको हुँदा म निर्दोष भएकोले सफाइ पाऊँ । सुनेको आधारमा जाहेरी दर्खास्त दिएको र मृतक भाइ अम्बरबहादुर फोम्बोको शरीरको कुनै पनि भागमा नीलडाम चोटपटक नदेखिएको सुनेकै भरमा Hearsay Evidence का आधारमा दिएको जाहेरीको आधारमा मलाई कसूरदार ठहराइएको छ ।

फौजदारी मुद्दामा कसूरदार ठहर गर्नका लागि मिसिल संलग्न कागज प्रमाणमा शङ्कारहित तवरले पुष्टि हुनुपर्दछ । शङ्काको भरमा दोषी सावित ठहर गर्न मिल्दैन भनी कानूनका सर्वमान्य सिद्धान्तका आधारमा प्रशस्त नजीरहरू प्रतिपादन भएका छन् । तसर्थ पुनरावेदन अदालत, धनकुटाको फैसलाउपर पुनरावेदन गरेको हुँदा उक्त दुवै फैसला उल्टी गरी पूर्ण सफाइ गरिपाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादीको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।

नियमबमोजिम दैनिक पेशी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको शुरू तथा पुनरावेदन मिसिलसमेत अध्ययन गरी पुनरावेदन अदालतबाट भएको फैसला मिले नमिलेको के रहेछ सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

मिसिल अध्ययन गरी हेर्दा प्रतिवादीले ज्यानसम्बन्धी महलको १४ नं.बमोजिमको कसूर अपराध गरेको हुँदा सोही ऐनको १४ नं.बमोजिमको सजाय गरिपाऊँ भन्ने अभियोग मागदावी भएकोमा मुलुकी ऐन ज्यानसम्बन्धी महलको ५ नं.बमोजिमको कसूर गरेमा ठहर गरी सोही ऐनको ६ नं.बमोजिम ६ महिना कैद र रू.५००।जरीवाना हुने ठहर्‍याएको शुरूको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परेकोमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं.बमोजिमको कसूर ठहर गरी सोही नं.बमोजिम १० वर्ष कैद हुने ठहराएको पुनरावेदन अदालत, धनकुटाको फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेश भएको रहेछ ।

२. निर्णयतर्फ विचार गर्दा यी प्रतिवादीले मृतकलाई लात्ती मुड्कीले कुटपीट गरी कर्तव्य गरी मारेकोले कानूनी कारवाही गरिपाऊँ भन्ने जाहेरी दरखास्त देखिन्छ भने सो कुरालाई पुष्टि हुने निधारको दाहिने माथि निलोदाग, दाहिने खुट्टाको घुँडामा खोस्रेको नीलडाम, लिङ्गबाट रगत वीर्य निस्केको भन्ने घटनास्थल तथा लासजाँच मुचुल्का, म र मृतक शिकार खेल्न जाने कुरामा विवाद भई कुटपीट हुँदा मैले निजलाई लात्ती र मुड्कीले पेट तथा छातीमा हिर्काएकोले सोही चोट पीरका कारणले निजको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी ईश्वर लिम्बूको बयान, यिनै ईश्वर लिम्बूले मृतकलाई लात्ती मुड्कीले पेट तथा छातीमा प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको हो भन्ने दीलबहादुर फोम्बो रामबहादुर फोम्बो, खडगबहादु्र फोम्बो, तिलबहादुर फोम्बोसमेतले मौकामा गरिदिएको कागज, प्रतिवादीकै कुटाईबाट मृतकको फियो च्यातिएको वा फाटेको (Spleen Rupture)Intra - Abdominal Haemorrhage भएको कारणले मृतकको मृत्यु भएको हो भन्ने शव परीक्षण प्रतिवेदन देखिन्छ । त्यस्तै पक्राउ परेका प्रतिवादी ईश्वर लिम्बूको साथबाट भरुवा बन्दुक १ थान, खुकुरी १ थान, बारुद र शिशाका टुक्राहरू बरामद भएको तथा बरामदी मुचुल्काका सामानहरू शिकार खेल्ने प्रयोजनमा प्रयुक्त हुनसक्ने देखिएको र प्रतिवादी स्वयंले म र मृतक शिकार खेल्न जानेकुरामा विवाद भई कुटपीट हुँदा मैले निजलाई लात्ती र मुड्कीले पेट तथा छातीमा हिर्काएकोले सोही चोट पीरका कारण निजको मृत्यु भएको हो भन्ने प्रतिवादीको बयान तथा प्रतिवादी ईश्वर लिम्बूले साथमा भरुवा बन्दुक बोकेका थिए भनी प्रत्यक्षदर्शी दीलबहादुर फोम्बोले मौकामा गरिदिएको कागजसमेतले प्रतिवादीलाई कसूरदार ठहराउनमा तथ्यगत सम्बद्धता र घटनाक्रमबाट संपुष्टि हुने समेत देखिन्छ । 

३. यसरी जाहेरी दरखास्त, लाश प्रकृति मुचुल्का, प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साविती बयान, मौकामा कागज गर्ने व्यक्तिहरूको भनाई तथा शव परीक्षण प्रतिवेदनसमेतबाट यी प्रतिवादी ईश्वर लिम्बूकै चोटको कारणबाट मृतकको मृत्यु भएको रहेछ भन्ने कुरा स्पष्ट हुन आयो ।

४. अब शुरू जिल्ला अदालतले प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ नं.को कसूरमा ऐ. ६ नं. बमोजिम ६ महिना कैद र रू.५००।जरीवाना गर्ने गरेको फैसला वा पुनरावेदन अदालतले सोही ऐनको १४ नं. बमोजिमको कसूरमा सोही १४ नं.बमोजिम १० वर्ष कैद गर्ने गरेको फैसलामध्ये कुन फैसला मिलेको रहेछ भन्नेतर्फ विचार गरी सोही ऐनको ५ नं.को व्यवस्थालाई हेर्दा ज्यान लिने इबिलाग वा मनसाय नभै कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भै कुनै मानिस मर्न गएको भवितब्य ठहर्छ भन्ने व्यवस्था रहेको पाइन्छ । यस व्यवस्थाअनुसार यस्तो घटनामा फौजदारी अपराध हुने आपराधिक तत्वमध्येको महत्वपूर्ण तत्व मनसायको अभाव रहने हुन्छ । आफूले गरेको कामबाट मानिस मर्न सक्छ भन्ने परिणामको ज्ञान पनि यसमा हुँदैन । यसअनुसार कुनै एउटा कामको निमित्त सावधानीसँग सतर्कतापूर्वक गरिरहेको अवस्थामा अचानक केही ब्यहोराले अरूलाई लाग्न गएकोमा भवितव्य हुन्छ । भवितव्यबाट सो घटना घट्न गएको हो भन्ने पक्षले सो कार्य दुर्घटना थियो, आपराधिक मनसाय र ज्ञानले गरिएको थिएन । उचित सतर्कता र सावधानी राखिएको थियो भन्ने कुराको प्रमाणित गर्नुपर्दछ । यो नं.को व्यवस्थाअनुरूप सो घटनामा मानिस छ भन्ने कसूरदारलाई थाहासम्म पनि भएको हुनु हुँदैन । अरू नै कुनै केही चीजवस्तुउपर प्रहार गर्दा अचानक मानिसउपर पर्न गै मानिसको मृत्यु हुन पुगेको हुनुपर्दछ । तर ऐ.ऐनको १४ नं. को व्यवस्था भनेको मान्छेको उपस्थिति पनि भएको, घटना वारदात मान्छेमान्छेबीच भएको तर उक्त मान्छेलेमान्छेलाई ज्यानमार्नेसम्मको कुनै मनसाय पनि नभएको, ज्यान लिनुपर्ने सम्मको पूर्व रीसइबि पनि नभएको, लुकी चोरीकन पनि नहानेको, उसै मौकामा उठेको कुनै कुरामा रीस थाम्न नसकी साधारण लाठा, ढुङ्गा, लातमुक्का इत्यादिले हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा १० वर्ष कैद गर्नुपर्छ भन्ने कानूनी व्यवस्था छ । सोहीअनुरूप प्रस्तुत वारदातमा पनि ऐ.ऐनको ५ नं.मा उल्लेख भएजस्तो भवितव्यको अवस्था नभै उसै मौकामा उठेको कुनै कुरामा रीस थाम्न नसकी मृतकलाई लात मुक्काले छाती तथा पेटका विभिन्न ठाउँमा प्रहार गर्दा मृतकको मृत्यु हुन गएको देखिन आयो । ऐ.ऐनको ५ नं. को कानूनी व्यवस्था भनेको मानिसले अन्य कुनै केही कार्य गर्दाका अवस्थामा अचानक मानिस पर्न गै मानिसको मृत्यु हुन गएकोमा भवितब्यको अवस्था हुने हो । तर प्रस्तुत मुद्दामा त्यो अवस्था नभै सोही ऐनको १४ नं. बमोजिम मानिसमानिसबीच वारदात हुन गएको तर उसै मौकामा उठेको रिस थाम्न नसकी लात मुक्काले हानेको अवस्थाबाट मृतकको मृत्यु हुन गएको भन्ने देखिँदा प्रस्तुत वारदातमा सोही ऐनको १४ नं.आकर्षित हुने देखिन आयो । यस्तो अवस्थामा प्रतिवादीलाई ऐ. १४ नं.बमोजिम १० वर्ष कैद गर्नुपर्नेमा ऐ. ५ नं.को कसूर गरेको ठहराई ऐ. ६ नं.बमोजिम ६ महिना कैद र रू.५००।जरीवाना गरेको शुरूको फैसला केही उल्टी गरी ऐ. ऐनको १४ नं. बमोजिमको कसूर गरेमा ठहर गरी सोही नं.बमोजिम १० (दश) वर्ष कैद हुने ठहर्‍याएको पुनरावेदन अदालत, धनकुटाको मिति २०६६।३।१६ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ ।  प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

                                                             

न्या.वैद्यनाथ उपाध्याय

 

इति संवत् २०७० साल जेठ ६ गते रोज २ शुभम्........

 

इजलास अधिकृत : हेमबहादुर सेन 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु