शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६३०९ - खिचोला हक कायम ।

भाग: ३९ साल: २०५४ महिना: बैशाख अंक:

निर्णय नं. ६३०९          ने.का.प.०५४        अङ्क १

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ

 

सम्वत् २०५१ सालको दे.पु.ई.नं. ५२

फैसला मिति :- २०५३।८।१४।६

मुद्दाः- खिचोला हक कायम ।

पुनरावेदक

वादी :- भक्तपुर जिल्ला भक्तपुर न.पा. वडा नं. ५ वस्ने अमिर वहादुर शाखकर्मी 

विरुद्ध

प्रत्यर्थी

प्रतिवादी :- ऐ.ऐ. वस्ने कृष्णभक्त शाखकर्मी ।

           

§  अंशवण्डा हुँदा वादीका बाबुको नाममा परेको जग्गाको स्वामित्व जुन रुपमा थियो सोही रुपमा प्रतिवादीले आफ्नो नाममा नामसारी गराएकोमा नामसारी गर्ने कार्यवाट मात्र नयां हक श्रृजना हुन सक्ने अवस्था नदेखिंने ।

                                                (प्र.नं. १८)

§  प्रतिवादीले नापीमा दर्ता गराएपछि परेका मुद्दाहरुवाट समेत वादीको बाबुको हक रहेको देखिने गरी फैसला मिलापत्र भएको देखिंदा वादीका बाबुको हक टुटेको भन्न सकिने अवस्था नदेखिने ।

                                         (प्र.नं.१८)

§  अंशवण्डाबाट अंश हक हुन आएको जग्गा साविक दर्तावाला बिकु बहादुर र निजपछि प्रतिवादी कृष्णभक्तका नाउँमा दर्ता भैरहेको कारणवाट मीन बहादुरको अंश भाग जाने भन्न नमिल्ने र निजपछि वादीलाई उक्त विवादित जग्गाका हक स्वामित्व प्राप्त हुन आएकोमा, फिल्डवुकमा आफ्नो नाउँ  उल्लेख भएकै आधारमा मात्र प्रतिवादीले आफ्नो नाउँमा नामसारी गराउदैमा वादीको अंश हक नहुने भन्न मिलेन । एकाको भागमा परेको अन्य प्रमाणवाट देखिन्छ भने त्यस्तो जग्गा अर्कै अंशियारको नाममा दर्ता रहन गएकोमा कानून बमोजिमको लिखत बेगर दर्तावालाको भन्न मिल्ने नदेखिने भन्ने ने.का.प. २०३० नि.नं. ७२० पृष्ठ २४ मा सिद्धान्त प्रतिपादन समेत भएको देखिंदा हदम्याद नाघेको भनी संयुक्त इजलासवाट खारेज गर्ने गरेको र म.क्षे.अ. बाट वादी दावा पुरै नपुग्ने गरेको इन्साफ मिलेको नदेखिंदा बदर हुने ।             

(प्र.नं. १९)

पुनरावेदक वादी तर्फवाट :-

            विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम वहादुर श्रेष्ठ ।

            विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी ।

 

प्रत्यर्थी प्रतिवादी तर्फबाट :-

            विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त

            विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

            विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर ।

            विद्वान अधिवक्ता श्री शंभु थापा ।

            विद्वान अधिवक्ता श्री तीर्थ वसौला ।

 

अवलम्बित नजीर :-

§  ने.का.प. २०३० नि.नं. ७२०, पृष्ठ २४ मा प्रतिपादित सिद्धान्त ।

 

फैसला

            न्या.लक्ष्मण प्रसाद अर्याल :- यस अदालतको डिभिजन वेन्चबाट भएको फैसला उपर बिन्तिपत्र पर्न गै श्री ५ महाराजधिराज सरकारबाट इन्साफ जांचको लागि हु.प्र.भै आएकोमा यस अदालतबाट दोहोर्‍याउने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार   

            २.    साविक कि.नं. १४।१४ को ४--० हाल भ.पु.न.पा. वडा नं. ४ को (ग) कि.नं. २२ कायम भएको ३-१३--० जग्गा २००० सालको अंशवण्डामा मेरो पिताको भागमा परेको जग्गा मेरो नाउँमा दर्ता गरी पाउन भक्तपुर माल कार्यालयमा निवेदन दिंदा सो जग्गा विपक्षीले आफ्नो नाउँमा दर्ता गराई जग्गाधनी प्रमाणपूर्जा समेत लिई सकेकोले ३५ दिनभित्र अदालतमा गई आफ्नो हक कायम गराई ल्याउनु भनी सुनाएको हुँदा यो फिराद गर्न आएको छुं । तसर्थ मेरा बाबुले विपक्षीलाई कुनै किसिमबाट हक छाडि नदिएको जग्गा विपक्षीले के कति कारणबाट दर्ता गराएका हुन, बदरगरी मेरो नाउँमा गरी हक कायम गरी गरी पाउँ भन्ने समेत व्यहोराको अमिर बहादुरको मिति २०४१।६।१४ को फिराद ।

            ३.    वादी दावी झूठा हो । विपक्षीका बाबु था मेरा बाबु २००० सालमा छुटी सकैपछि मेरो बाबुको अंश भागमा परेको मैले भोग चलन गरी आएको जग्गामध्ये २०२१ सालको सर्भे नापीमा भ.पु.न.पा. वडा नं. ४ (ग) कि.नं. २२ को ३(१३(३ जग्गा विपक्षीका बाबुले नै मेरो नाउँमा हस्ते भै दर्ता गरीदिनु भएको हुँदा मिति २०२२।१०।८ मा दर्ता भै जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरेको हुँ । यसरी दर्ता भएको २० वर्षपछि आएर दर्ता वदर गरी पाउँ भन्ने फिराद तत्काल जग्गा पजनीको १७ नं. तथा विपक्षीले भर गरेको अन्य ऐनले विपक्षीलाई मद्दत गर्ने होइन । तसर्थः विपक्षीको फिराद र अ.वं. १८० नं. बमोजिम खारेज गरी पाउँ भन्ने समेत व्यहोराको कृष्णभक्तको प्रतिउत्तर पत्र ।

            ४.    वादी दावीको कि.नं. २२ को जग्गा वण्डा पत्रवाट हक प्राप्त गर्ने व्यक्तिहरुको हक छोडेको लिखत विना प्रतिवादीका नाउँमा दर्ता गर्न कानूनले नमिल्ने हुँदा सो जग्गा मिति २०२२।१०।८ मा प्रतिवादीका नाउँमा भएको दर्ता वादी दावी अनुसार बदर भई वादीका नाउँमा दर्ता गरी वादीकै हक कायम हुने ठर्हछ भन्ने समेत व्यहोराको भक्तपुर जिल्ला अदालतको मिति २०४३।५।१ को फैसला ।

            ५.    उक्त फैसला वदर गरी मेरो प्रतिउत्तर जिकिर अनुसार विपक्षीको फिराद दावी खारेज गरी पाउँ भन्ने समेत व्यहोराको कृष्णभक्तको वागमती अंचल अदालतमा परेको पुनरावेदन पत्र ।

            ६.    दर्ता नै नहुनु पर्ने दूषित दर्तालाई बदर गराउन म्यादभित्र उजूर गरी रहनै नपर्ने समेत कारण र आधारमा प्रतिवादीको नाउँको कि.नं. २२ को दर्ता वदर भई वादीकै कायम गर्ने गरी शुरुले गरेको फैसला मनासिव ठहर्छ भन्ने समेत व्यहोराको वागमती अंचल अदालतको मिति २०४३।८।१७ को फैसला ।

            ७.    वागमती अंचल अदालतको फैसला त्रुटीपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको प्र. कृष्णभक्तको मध्यमान्चल क्षेत्रीय अदालतमा पर्न आएको निवेदन पत्र ।

            ८.    बाबुकै पालामा हदम्याद खिलाप भैसकेकोमा हाल यो वादीले दाजुको मन्जुरी विना उजूर गर्ने अधिकार नपुग्ने हुँदा अ.वं. ८२ नं. ले अदालतमा प्रवेश प्रवेश गर्न नपाउने देखिंदा वादी दावी नलाग्ने प्रस्तुत मुद्दा खारेज गर्नुपर्नेमा ईन्साफ गरेको अ.वं. ८२ नं. जग्गा पजनीको १७ नं. को कानूनी त्रुटी समेत देखिंदा पुनरावेदन गर्ने अनुमती प्रदान गरीएको छ भन्ने समेत व्यहोराको मध्यमान्चल क्षेत्रीय अदालतको मिति २०४३।१।६ को आदेश ।

            ९.    २०१६ सालदेखि नै विवादास्पद जग्गा प्रतिवादीको नाउँमा नामसारी भै २०२१ सालमा प्रतिवादीकै नाउँमा रै.प.दर्ता भएको र २०२१ सालको नापीमा समेत प्रतिवादीकै नाउँमा जग्गाधनी भनी नापी भै २०२३ सालमा प्रतिवादीले नै जग्गाधनी दर्ता प्रमाण पूर्जा प्राप्त      गरी पहिले देखिनै तिरो भोग समेत गरी आएको र सो उपर वादीका बाबु २०२९ सालमा मात्र मृत्यु भएको र निजको कुनै उजूरबाजुर नभै प्रतिवादीका नाउँमा दर्ता समेत गराउनमा निज वादीकै बाबु हस्ते भै सरिक रहेको देखिंदा विवादास्पद जग्गामा वादी दावी पुग्न  नसक्ने ठहराउनु पर्नेमा शुरु अदालतले प्रतिवादीका नाउँको दर्ता वादी दावी अनुसार बदर भै वादीका नाउँमा दर्ता गरी वादीकै हक हुने ठहराईएको फैसलाहरु त्रुटीपूर्ण देखिंदा उल्टी हुन्छ भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालतको मिति २०४५।८।१५ को फैसला ।

            १०.    यो अंश हकको जग्गा हुँदा म.क्षे.अ.को फैसला हकसिहंको सकार गर्ने उज्यालो कुवरनी र जित वहादुर कुवंर विरुद्ध भोला प्रसाद बूढा समेत भएको जग्गा हटक मुद्दामा (ने.का.प. २०३० नि.नं. ७२० अंक १ पृ. २४ मा प्रकाशित) श्री सर्वोच्च अदालत फूलवेन्चबाट प्रतिपादित सिद्धान्त समेतको विपरीत भै त्रुटीपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमती पाउँ भन्ने समेत व्यहोराको वादी अमीर बहादुरको यस अदालतमा पर्न आएको निवेदन पत्र ।

            ११.    यस्मा विवादको जग्गा वादीको बाबुको भागमा परी अंशवण्डा कागज भएको देखिन्छ । वादीका बाबुका अंशमा परेको जग्गा कानूनी रुपमा छोडपत्र गरेको देखिंदैन । यस्तो स्थितिमा वादी दावी पुग्न नसक्ने भनि म.क्षे.अ.बाट भएको फैसलामा ने.का.प. २०३० नि.नं. ७२० मा प्रतिपादित सिद्धान्तको त्रुटी विद्यमान देखिंदा पुनरावेदनको अनुमती दिइएको छ भन्ने   यस अदालत संयुक्त इजलासको मिति २०४५।१०।७ को आदेश ।

            १२.   यस अदालतमा पर्न आएको निवेदन पत्र यिनै पक्ष विपक्ष भएको विवादित जग्गा कै सम्वन्धमा परेको खिचोला हक कायम समेत मुद्दामा विवादित जग्गा प्रतिवादीको नाउँमा नापी   दर्ता भएको मितिले तत्काल प्रचलित जग्गा पजनीको महलको  १७ नं. र जग्गा मिच्नेको महलको १८ नं. समेत बमोजिम दुई वर्षभित्रमा फिराद परेको नदेखिएकोले फिरादै खारेज गर्नुपर्नेमा इन्साफ गरेको गल्ती ठहरी फिराद खारेज गर्ने गरी आजै यस इजलासबाट निर्णय   भएको छ । दर्ता समेत बदर गरी आफ्नो नाउँमा कायम गरी पाउँ भन्ने समेत उक्त फिराद त्यसरी म्याद भित्रको नदेखिई खारेज भएकोले सोही दर्ता बदर समेत मुद्दाबाट यो वादीको हक कायम हुन नसकेकोले सोही जग्गाको विषयको फैसला बदर गरी पाउँ भन्ने प्रस्तुत फिराद खारेज हुने ठहर्छ । मध्यमान्चल क्षेत्रीय अदालत समेतबाट मुद्दाको औचित्यमा प्रवेश गरी इन्साफ गर्ने गरेको फैसला कानूनी त्रुटीपूर्ण देखिएकोले बदर भै उल्टी हुन्छ भन्ने यस अदालत डिभिजन वेन्चको फैसला ।

            १३.   स.अ. डिभिजन बेन्चको फैसला त्रुटीपूर्ण एवं प्रतिपादित सिद्धान्त विपरीत भएकोले इन्साफ जांच गरी दिनु भन्ने हु.प्र. बक्स पाउँ भन्ने वादी अमिर वहादुर शाखकर्मीले श्री ५ महाराजधिराज  सरकारको जुनाफमा चढाएको विन्तिपत्र ।

            १४.   यस्मा दूषित दर्तालाई  मान्यता दिन नमिल्ने भनी अच्चेलाल ठाकुर हजाम समेत विरुद्ध सिसिया ठाकुर हजामनीको दर्ता बदर गरी दर्ता गरी पाउँ भन्ने मुद्दामा (ने.का.प. २०४३ अंक ३ पृष्ठ २६५) यस अदालतबाट प्रतिपादित सिद्धान्तसँग सो फैसला बाझिएकोले र आफ्नै अंश भागको जग्गामा हदम्यादको प्रश्न उठन नसक्ने जहिले पनि दर्ता गराउन सकिने हुँदा सर्वोच्च अदालतको उक्त फैसला त्रुटीपूर्ण देखिएकोले दोहोर्‍याएको निस्सा प्रदान गरीएको छ भन्ने यस अदालतको आदेश ।

            १५.   नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी यस पूर्ण इजलास समक्ष पेश हुन आएको प्रस्तुत खिचोला हक कायम मुद्दामा पुनरावेदक वादीका तर्फवाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ तथा वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारीले वादीका बाबुले कुनै राजिनामा वा दानबक्सको लिखत गरी जग्गा छोडेको छैन । एकाको अंश भागमा परेको जग्गा अन्य अंशियार दर्तावाला मरी निजको छोराको नाउँमा नामसारी सम्म हुँदैमा कानून बमोजिम हक छाडेको प्रमाण वेगर त्यस्तो जग्गामा हक टुटेको भन्न मिल्दैन । अंशबाट पाएको जग्गा आफ्नो नाममा नामसारी गराई साविक दर्तावालाकै नाममा कायम राखी नजिकै नाममा तिरो चलेको भएपनि अंशवाट पाएको जग्गा हक जान नसक्ने भन्ने यस अदालतबाट प्रतिपादित सिद्धान्तहरु समेत विपरीत क्षेत्रीय अदालतबाट फैसला भएको छ । यो जग्गाबाट मेरो पक्षको कानून बमोजिम हक टुटेको छैन । जग्गा पजनीको २ क नं. अनुसार आफ्नो अंश भागमा परेको जग्गा जहिलेपनि दर्ता नामसारी गराउन सकिने कानूनी व्यवस्था छ । तसर्थ जग्गा नापी दर्ता गराएको दुई वर्षभित्र  उजूर परेको नदेखिंदा वादीको फिराद खारेज हुने ठहर्छ भनी गरेको यस अदालतको संयुक्त इजलासको फैसला त्रुटीपूर्ण हुँदा बदर गरी पाउँ भन्ने वहस प्रस्तुत गर्नुभयो । प्रत्यर्थी प्रतिवादीका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त, वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर, अधिवक्ता श्री शंभु थापा, र अधिवक्ता श्री तीर्थ बसौलाले वादीका बाबु मिन बहादुरको दुई छोरा मध्ये एक विर बहादुर र अर्का यी वादी अमिर बहादुर भएकोमा दावीको जग्गामा विर वहादुरको उजूर छैन । यी दाजुभाई बीच परेको अंश मुद्दामा विवादको जग्गा तायदातीमा परेको छैन । वादीका बाबुको हक भएको भए तायदातीमा उल्लेख हुनुपर्दथ्यो । वण्डापत्रका अन्य जग्गाहरु दर्ता नामसारी भएको छ । वण्डा कार्यान्वित नभएको अवस्था छैन । तसर्थ संयुक्त इजलासको लाला बूद्धिमानको मुद्दामा प्रतिपादित सिद्धान्त समेतको आधारमा हदम्याद नाघेको भनी गरेको फैसला मनासिव देखिंदा सदर हुनुपर्दछ भन्ने वहस प्रस्तुत गर्नुभयो ।

            १६.    आज निर्णय सुनाउन तोकिएको तारिखका दिन विद्वान वरिष्ठ अधिवक्ताहरु तथा अधिवक्ताहरुले गर्नु भएको वहस तथा पेश गर्नु भएको लिखित वहसनोट समेतलाई अध्ययन मनन् गरी निर्णय तर्फ बिचार गर्दा वादी दावी पुग्ने ठहराई गरेको शुरु तथा अन्चल अदालतको फैसला र वादी दावी पुग्न सक्दैन भनी गरेको क्षेत्रीय अदालतको फैसला समेत बदर गरी वादी दावी खारेज गर्ने गरेको यस अदालतको संयुक्त इजलासको फैसला मिलेको छ वा छैन ? निर्णय दिनु पर्ने देखिन आयो ।

            १७.   यस्मा २००० साल आषाढको वण्डापत्रमा प्रतिवादीका बाबु विकु बहादुरका नाउँमा दर्ता भएको ज.रो. ४-२-० जग्गा जुन हाल नापीमा कायम भएको कि.नं. २२ मा ३-१३-३-० हुन आएकोले लाल बहादुर र मिन बहादुरको अंश भागमा परेको सो वण्डापत्रबाट देखिएको र प्र. कृष्णभक्त उपर परेका उक्त वण्डापत्रबाट आधा पाउने लाल बहादुरको श्रीमती पुण्येश्वरीबाट वीर वहादुरले पाएको बक्सपत्र पास मुद्दापरी पास हुने ठहरीएको देखिन्छ । वादी अमिर बहादुर प्रतिवादी पुण्येश्वरी समेत भएको बक्सपत्र जालसाजी मुद्दामा विवादित कि.नं. २२ को ३-१३-३ जग्गा समेत वीर वहादुर र वादीका बीच आधा आधा वाडी खाने भन्ने मिलापत्र भएकोले ती लिखत पास मुद्दाको फैसला र मिलापत्रहरु बदर नभई अन्तिम रुपमा रहेको देखिन्छ ।

            १८.   उपरोक्तानुसार विवादित कि.नं. २२ को जग्गा वण्डापत्रवाट वादीको बाबुको भागमा समेत परेको र उक्त जग्गा सम्वन्धमा मुद्दाहरु पनि परेको हुँदा यस्तो वादीका बाबु समेतको अंश हकमा परेको सम्पत्ति  कानून  बमोजिम हक टूटाई लिई दर्ता गराएको देखिएन । अंशवण्डा हुँदा वादीका बाबुको नाममा परेको उक्त जग्गाको स्वामित्व जुन रुपमा थियो सोही रुपमा प्रतिवादीले आफ्नो नाममा नामसारी गराएकोमा नामसारी गर्ने कार्यवाट मात्र नयां हक श्रृजना हुन सक्ने अवस्था देखिदैन र प्रतिवादीले नापीमा दर्ता गराएपछि परेका मुद्दाहरुवाट समेत वादीको बाबुको हक रहेको देखिने गरी फैसला मिलापत्र भएको देखिंदा वादीका बाबुको हक टुटेको भन्न सकिने अवस्था देखिंदैन ।

            १९.    यसरी अंशवण्डाबाट अंश हक हुन आएको जग्गा साविक दर्तावाला बिकु बहादुर र निजपछि प्रतिवादी कृष्णभक्तका नाउँमा दर्ता भैरहेको कारणवाट मीन बहादुरको अंश भाग जाने भन्न नमिल्ने र निजपछि वादीलाई उक्त विवादित जग्गाका हक स्वामित्व प्राप्त हुन आएकोमा फिल्डवुकमा आफ्नो नाउँ  उल्लेख भएकै आधारमा मात्र प्रतिवादीले आफ्नो नाउँमा नामसारी गराउदैमा वादीको अंश हक नहुने भन्न मिलेन । एकाको भागमा परेको अन्य प्रमाणवाट देखिन्छ भने त्यस्तो जग्गा अर्को अंशियारको नाममा दर्ता रहन गएकोमा कानून बमोजिमको लिखत बेगर दर्तावालाको भन्न मिल्ने नदेखिने भन्ने ने.का.प. २०३० नि.नं. ७२० पृष्ठ २४ मा सिद्धान्त प्रतिपादन समेत भएको देखिंदा हदम्याद नाघेको भनी संयुक्त इजलासवाट खारेज गर्ने गरेको र म.क्षे.अ.बाट वादी दावा पुरै नपुग्ने गरेको इन्साफ मिलेको नदेखिंदा  बदर हुन्छ । मिन बहादुरको हक खाने छोराहरु विर बहादुर र वादी अमिर बहादुरको विवादित कि.नं. २२ को जग्गामा मिलापत्र समेतका आधारमा बराबर हक लाग्ने देखिएको हुँदा अमिर वहादुरको हक सम्म दर्ता बदर गर्नुपर्नेमा पुरै बदर गर्ने गरेको शुरु र वा.अ.अं. को फैसला केही हदसम्म नमिलेको हुँदा सो हदसम्म उल्टी हुने ठर्हछ । तसर्थ कि.नं. २२ को जग्गा मध्ये आधी दर्ता बदर हुने ठहर्छ अरुमा तपसिल बमोजिम गर्नु ।

 

तपसिल

पुनरावेदक वादी अमिर वहादुर शाख कर्मीके, माथि इन्साफ खण्डमा लेखिए बमोजिम यस अदालतको संयुक्त इजलासको फैसला उल्टी भै  विवादित जग्गाको आधासम्म वादीको हक कायम हुने ठहराएको पुनरावेदक वादीले फिराद दर्ता गर्दा राखेको कोर्ट फि रु. २५५।- मध्ये आधा  रु. १२७।५०  र यस अदालतमा पुनरावेन गर्दा राखेको कोर्ट फि रु. २३।५० समेत जम्मा रु. १५०।५० वादीले प्रतिवादीबाट  भरी पाउने ठहरेकोले प्रतिवादीले वागमती अन्चल अदालतमा पुनरावेदन गर्दा राखेको धरौट रु.२५५। बाट वादीलाई कानून वमोजिम भराई दिई वाँकी धरौट       रु. १०४।५० प्रतिवादीले फिर्ता माग्न आए नियमानुसार गरी फिर्ता दिनु भनी लगत शुरु भक्तपुर जिल्ला अदालतमा दिनु ..... १  

वादीले यस अदालतमा पुनरावेदन गर्दा म.क्षे.अ. को फैसला वमोजिम धरौट राखेको कोर्ट फि रु. ७२।७५ यस अदालतमा धरौट राखेको देखिंदा सो धरौट मध्ये आधी रु. ३६।३७ पुनरावेदक वादीले फिर्ता पाउने र आधी रु. ३६।३८ विपक्षी प्रतिवादीले भरी पाउने हुँदा सो बमोजिम भराई माग्न वादी प्रतिवादीको कानून बमोजिम दरखास्त पर्न आए सो अनुसार गरिदिनु भनि लगत शुरु जि.अ.मा दिनु ......   २

माथि इन्साफ खण्डमा लेखिए  अनुसार विवादीत जग्गा मध्ये आधा जग्गामा वादीको हक कायम हुने ठहरेकोले प्रतिवादीका नाममा दर्ता रहेको उक्त कि.नं. २२ को ज.रो. ३-१३-३-० जग्गा मध्ये आधी दर्ता बदर गरी वादीको नाममा दर्ता गरिदिनु भनी मालपोत कार्यालय भक्तपुरमा लेखि पठाउनु भनी लगत शुरु काठमाण्डौं जिल्ला अदालतमा दिनु .....  ३

मिसिल नियमानुसार गरी वुझाई दिनु ... ४

 

उक्त रायमा हाम्रो सहमति छ ।

 

न्या.कृष्णजंग रायमाझी

न्या.गोविन्द बहादुर श्रेष्ठ                

 

इति सम्वत २०५३ साल मंसीर १४ गते रोज ६ शुभम् .... .. ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु