शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३५०७ - जग्गा खिचोला

भाग: ३० साल: २०४५ महिना: कार्तिक अंक:

निर्णय नं. ३५०७ ने.का.प. २०४५     अङ्क ७

 

 

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४४ सालको दे.पू.ई.नं. ६६

फैसला भएको मिति २०४५।४।२५।३ मा

 

पुनरावेदक/प्रतिवादी : तानसेन नगर पञ्चायत (पाल्पा) स्वशासित संगठित संस्थाको लागि ऐ. नगर पञ्चायतको प्रधानपञ्च गणेशमान महर्जन

विरुद्ध

विपक्षी/वादी : जिल्ला पाल्पा बन्दी पोखरा गा.पं. वडा नं. ६ छापथोक बस्ने चक्रबहादुर कार्की

 

मुद्दा : जग्गा खिचोला

 

(१)                 झगडा परेको जग्गा वादीको राजीनामा किल्लाभित्रको भए पुरानो ढुंगाले पर्खाल लगाउँदा र निलकांडाले बार लगाउँदा पर्खाल र निलकांडाको बारदेखि बाहिर पारी त्यसै छाडेको होला भनी सम्झन नमिल्ने ।

(प्रकरण नं. १३)

 

पुनरावेदकर्फबाट : विद्वान अधिवक्ता श्री शम्भू थापा

प्रत्यर्थीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

 

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर अनुमति प्राप्त भई प्रतिवादीको पुनरावेदन परी पेश हुँदा सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीशहरुको राय मतैक्य हुन नसकी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :

२.     पाल्पामा तानसेन नगर पञ्चायत वडा नं. २  वडीगान टोलमा पर्ने साविक चौ. दुर्गाप्रसाद हालका चौ. रणबहादुर थापाका तालुकको दामासाही तिरो रु.१३।लागेको पूर्व सडक उत्तर सडक, पश्चिम गोपालप्रसादको बारीको ढुंगो, दक्षिण टेकवीर जंग कै बारीको ढिक यति चार किल्लाभित्रको माथिल्लो बारी भन्ने पाखो जग्गा क.प. टेकवीर जंग राणाबाट मिति २०२४।२।१९ मा राजीनामा लिएको उक्त जग्गासंग जोडिएको दामासाही तिरो रु. ०३ पैसा लागेको पूर्व सडक, पश्चिम दाता टेकवीर जंगकै बारी उत्तर म चक्रबहादुरको जग्गाको ढिक दक्षिण टेकवीर जंगको ढोका माथिको ठुलो ढिक यति चार किल्लाभित्रको बडीगान टोलको बारी भन्ने पाखो रु. ९००।मा मैले २०२५।५।१६ मा राजीनामा लिई तिरो तिरी भोगी आएको जग्गाको पूर्व भाग सडक लाइनतर्फ अन्यायवाला नगर पञ्चायतले मिति २०३४।२।१३ का दिन पिसाबखाना बनाउने भनी नाप जाँच गरी किल्ला ठोक्न लागेको देखि बन्द गरी पाउँ भनी मैले नगर पञ्चायतमा निवेदन दिएकोमा पिसाबखाना बनाउने निर्णय भइसकेकोले नबनाउनु भनी रोक्का गर्न सक्दैनौं भनी जवाफ दिएकोले आफ्नो हक नपुग्ने मेरो हक भोगको जग्गामा तानसेन नगर पञ्चायतले संविधानद्वारा प्रदत्त अधिकार साथै नागरिक अधिकार ऐन, २०१२ को दफा ९ द्वारा प्रदत्त अधिकारमा आघात पुर्‍याई जबरजस्ती पिसाबखाना बनाई खिचोला गरेकोले खिचोला मेटाई मेरो हक सदर कायम राखी निजले जबरजस्ती बनाएको पिसाबखाना घर बनाउनेको ३,४ नं. बमोजिम हटाई मोहडा निकास खुल्ला गराई पाउँ भन्ने समेत व्यहोराको मिति २०३४।३।२०।२ को फिरादपत्र ।

३.     वादीले राजीनामा गरी लिएको जग्गामा पिसाबखाना बनाएको होइन छैन । वादीको राजीनामाको जग्गाको पूर्व सीमानामा दक्षिणतर्फको टेकवीर जंगको घर पस्ने ढोका माथिको ढिकदेखि उत्तर सडकसम्म नै पूरा आरपार क्रमशः ढुंगाको पर्खाल र निलकांडाको धारीको बारे वेष्ठीत गरेको छ र सो बार पर्खाल देखि पूर्वतर्फ सार्वजनिक सडकलाई सो वार पर्खालले प्रष्ट अलग छुट्याएको छ । हाल नगर पञ्चायतले बनाएको पिसाबखाना घर सो बार पर्खालदेखि बाहिर पूर्वतर्फको नगर पञ्चायत ऐन, २०१९ को दफा ३७(ख) बमोजिम प्रतिवादीको हक लाग्ने सार्वजनिक सडक जग्गामै स्थित छ । सो जग्गालाई अघिदेखि नै सार्वजनिक कायम गरी सार्वजनिक रुपले उपभोग गरी आएका छन् । उक्त जग्गा वादीका राजीनामा किल्लाभित्रको व्यक्तिगत भए वादीको जग्गाको सीमाको बार पर्खालले सो जग्गालाई बाहिर नपारी भित्र पार्नु पर्ने बाहिर परेकोले समेत दावीको जग्गा वादीका हकको होइन तसर्थ झुठ्ठा फिराद दावीबाट फुर्सद गराई पाउँ भन्ने समेत व्यहोराको मिति २०३४।६।१८ को प्रतिउत्तरपत्र ।

४.     वादीको जग्गा निलकांडा र पर्खाल साँध भई छुट्याएको छ सो साँधदेखि पश्चिम वादीको जग्गा र पूर्वतर्फ सार्वजनिक जग्गामा पिसाबखाना बनाएको हो भनी प्रतिवादी नगर पञ्चायतका साक्षी मनोहरप्रसाद समेत जना ८ ले किटानीसाथ बकपत्र गरिदिएका र सो बकाइबाट बहुमत प्रतिवादीको नै हुन आएको देखिन्छ । सडकको साँधमा रहेको जग्गा दिन प्रतिदिन मुल्य बढ्दै गएकोले त्यसै हात लगाउन सकिन्छ कि भन्ने उद्देश्यले सार्वजनिक जनताको हितलाई ख्यालमा राखी बनाएको पिसाबखानालाई वादीले मेरो हकको जग्गामा बनायो भनी झुठ्ठा उजूर दावा गरेको ठहर्छ भन्ने समेत व्यहोराको पाल्पा जिल्ला अदालतको मिति २०३६।४।२८ गतेको फैसला ।

५.     जिल्ला अदालतले गरेको फैसलामा चित्त बुझेन सबूद प्रमाणको उचित मूल्यांकन गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको वादीको लुम्बिनी अञ्चल अदालतमा पुनरावेदन परेकोमा झगडा परेको न.नं. २ को जग्गा केही भिरालो परी न.नं. ३,४ को पुरानो ढुंगाको पर्खाल र निलकांडाको बारदेखि बाहिर देखिन आएकोले वादीको  राजीनामाको जग्गा र सार्वजनिक सडक क्षेत्रको जग्गालाई उक्त न.नं. ३,४ को पर्खाल र निलकांडाको बार समेतले छुट्याएको स्पष्ट रुपमा देखिएकोले झगडा परेको न.नं. २ को सार्वजनिक पिसाबखाना बनाएको ठहर्छ वादी दावी बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको पुनरावेदन जिकिर पुग्न सक्दैन भनी लुम्बिनी अञ्चल अदालतबाट मिति २०३८।३।१६ मा फैसला भएको ।

६.     अञ्चल अदालतको फैसलामा प्रत्यक्ष कानुनी त्रुटि भएको हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भनी पश्चिमाञ्चल क्षेत्रीय अदालतमा वादीको निवेदन पर्दा सडक भन्ने नै उल्लेख भएकोमा पूर्व किल्ला ढुंगाको पर्खाल र निलकांडाको बार कायम गर्दा पारित राजीनामा समेतको विपरीत हुन जाने भई अञ्चल अदालतको फैसला मिलेको नदेखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ, भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४०।७।२४ मा आदेश भएको ।

७.     यसमा मिसिल संलग्न मिति २०३७।६।१७ गतेको नक्सा कुण्डली हेर्दा विवादित जग्गाको पूर्वतर्फ न.नं. १५ ढुंगा छापेको मूल सडक देखिएको र वादीको राजीनामाको पूर्व किल्ला सडक नै रहेको देखिएको र सो राजीनामा नगर पञ्चायतकै सिफारिश अनुसार पारित भएको समेत देखिएको हुँदा त्यस्तो जग्गालाई सार्वजनिक कायम गरी चर्पी बनाएको समेत नमिलेको देखिन्छ । यसर्थ उक्त विवादित जग्गामा वादी दावी बमोजिम वादीको हक कायम हुने ठहर्छ शुरु तथा अञ्चल अदालतको इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।९।१७ गतेको फैसला ।

८.     उक्त फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादी तानसेन नगर पञ्चायतको यस अदालतमा निवेदन परेकोमा भई आएको नक्शा मुचुल्काबाट न.नं. ३ पुरानो ढुंगाको पर्खाल र न.नं. १ को चर्पी देखिन्छ झगडा परेको न.नं. २ को जग्गा न.नं. ३ र ४ देखि बाहिर देखिन आएकोले वादीका राजीनामा किल्ला र सार्वजनिक सडक क्षेत्रको जग्गालाई उक्त न.नं. ३, ४ को पर्खाल र निलकांडाको बारले छुट्याएको न.नं. २ को जग्गा सार्वजनिक देखिँदा तानसेन नगर पञ्चायतले चर्पी बनाई खिचोला गरेको ठहर्छ भनी पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णयमा अ.बं. १८४(क) १८५ र प्रमाण ऐनको दफा ५४ को त्रुटि देखिएको हुँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम यस अदालतबाट पुनरावेदनको अनुमति प्राप्त भई यस अदालत संयुक्त इजलासमा पेश हुन आएको रहेछ ।

९.     यस अदालत संयुक्त इजलासमा पेश हुँदा यसमा मिसिल संलग्न रहेको मिति २०३७।६।१७ गतेको नक्सा कुण्डलीबाट झगडा परेको जग्गा न.नं. २ र सो न.नं. २ को जग्गाको पूर्वतर्फ न.नं. ५ ढुंगा छापेको मूल सडक भन्ने उल्लेख भएको देखिन्छ । वादीले राजीनामा गरी लिँदा उक्त जग्गाको पूर्व किल्ला सडक भन्ने नै उल्लेख भएको देखिएकोले विवादित झगडा परेको जग्गा वादीको राजीनामाको चारकिल्ला भित्रको जग्गा नै रहेछ, भन्ने प्रष्ट हुन आउँछ । न.नं. ३ र ४ मा ढुंगाको पर्खाल र निलकांडाको बार हुँदैमा उँक्त विवादित जग्गा वादीको होइन भन्न मिल्ने स्थिति छैन । उक्त ढुंगाको पर्खाल र निलकांडाको बारनै वादीले राजीनामा गरी लिएको जग्गाको पूर्व किल्ला हो भन्ने कुरा कहीं कतैबाट पुष्टि हुन आउँदैन । अ.बं. १३९ नं. बमोजिम बुझिएका टेकवीर जंगका छोरा अर्जून वीरजंग राणाले बाबुले जग्गा राजीनामा गरिदिनु अघि पर्खाल र निलकांडाको बारभित्रको जग्गामात्र चलन गरेको थियो भनी गरी दिएको बकपत्रलाई प्रमाणमा लिन पनि मिल्ने देखिँदैन । वादीले उक्त जग्गा खरीद गरी लिँदा नगर पञ्चायतको सिफारिशमा राजीनामा पारित भएको समेत देखिन्छ ।  त्यसरी न.पं. आफैले वादीले राजीनामा गरी लिएको जग्गाको चारकिल्लालाई स्वीकारी पूर्व किल्ला हो भनी सिफारिश गरेकोमा अहिले उक्त जग्गाको पूर्व सीमाना ढुंगाको पर्खाल र निलकांडाको बार हो भनी नगर पञ्चायतले लिएको जिकिर मनासिब देखिन आएन । उपरोक्त प्रमाणहरुबाट विवादित जग्गाको चारकिल्ला भित्रको नै देखिन आएकोले उक्त जग्गालाई सार्वजनिक कायम गर्न नमिली वादीको हक कायम हुने ठहर्छ भनी पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ कुनै त्रुटि नदेखिएको हुँदा इन्साफ मनासिब ठहर्छ भन्ने माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय ।

१०.     तानसेन नगर पञ्चायतले सार्वजनिक पिसाबखाना बनाएको भनेको जग्गा सार्वजनिक सडक क्षेत्रको जग्गा हो या वादीको राजीनामा भित्रको जग्गा के रहेछ भनी हेर्दा वादीले राजीनामा गरिलिएको जग्गाको पूर्व किल्ला सडक भन्ने उल्लेख भएको पाइन्छ । यस विवादित जग्गाको सम्बन्धमा अञ्चल अदालतबाट मिति २०३७।६।१७ गते र १९ गते भई आएको मिसिल सामेल रहेको नक्सा मुचुल्का हेर्दा न.नं. ३ पुरानो ढुंगाको पर्खाल न.नं. ४ निलकांडाको बार भन्ने उल्लेख भएको देखिन्छ भने सो देखि पूर्व झगडा परेको न.नं. २ को जग्गा र सोही जग्गा भित्र न.नं. १ मा चर्पी भएको देखिन आयो । अब विवादित जग्गा सार्वजनिक हो या राजीनामा भित्रको हो भनी यकीन गर्न अञ्चल अदालतले वादीको जग्गाको पूर्वको सडकको विवाद नपरेको ठाउँमा उत्तरतर्फ र दक्षिणतर्फको सडकको पूर्व पश्चिम चौडाई के कति रहेछ र विवाद भएको ठाउँको चौडाई के कति रहेछ सो समेत नाप गरी पेश गर्ने भन्ने आदेश बमोजिम भएको नाप नक्साबाट विवाद नपरेको ठाउँको उत्तर तर्फको चौडाई ५ मिटर ३० सेन्टिमिटर र दक्षिणपट्टी ५ मिटर ७० सेन्टिमिटर भएको र वादीको जग्गा देखि उत्तरतर्फ सडक साँगुरिदै गई झगडा परेको ठाउँमा ४ मिटर ८० सेन्टिमिटरमात्र रहे भएको देखिन आएको छ । त्यसैगरी वादीले अञ्चल अदालतमा दिएको पुनरावेदनमा आफ्नो दावीको जग्गाको सडक मोहडातर्फ अर्को कान्लो भई ढिक परेको र सो को दक्षिण उत्तर दुवै तर्फ पर्खालले घेर्दै ल्याएको भन्ने उल्लेख गरेको देखिन्छ । विवादित जग्गा पनि सडकको मोहडातर्फ अर्को ढिक भएको सो ढिक र कान्लामा ढुंगाको पर्खाल र निलकांडाको वार रहे भएको कुरा देखिएबाट वादीको राजीनामाको जग्गा र सार्वजनिक सडक क्षेत्रको जग्गालाई उक्त न.नं. ३, ४ को पर्खाल निलकांडाको वारले छुट्याएको प्रष्ट रुपमा देखिन्छ । झगडा परेको जग्गा न.नं. ३ र ४ को पर्खाल र निलकांडा वारदेखि बाहिर रहे भएको सार्वजनिक सडक क्षेत्रको जग्गा देखिनाले र सोही जग्गामा तानसेन नगर पञ्चायतले सार्वजनिक चर्पी बनाएको समेत हुँदा वादी दावी बमोजिम तानसेन नगर पञ्चायतले खिचोला गरेको ठहर्दैन  भनी शुरु पाल्पा जिल्ला अदालते गरेको फैसलालाई मनासिब ठहर्‍याएको लुम्बिनी अञ्चल अदालतको फैसला मनासिब देखिँदा पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई मिति २०४४।१।७।२ मा फैसला भएको रहेछ ।

११.     पुनरावेदक तानसेन नगर पञ्चायतको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री शम्भू थापाले वादीले राजीनामा गरी लिएको जग्गा र सार्वजनिक सडक क्षेत्रको जग्गालाई ढुंगाको पर्खाल र निलकांडाको वारले छुट्याएको छ । विवादित जग्गा उक्त ढुंगाको पर्खाल र निलकांडाको वारदेखि बाहिर पर्न आएकोले वादीको राजीनामाको किल्लाभित्र उक्त विवादित जग्गा नपरी सार्वजनिक जग्गा हुँदा पश्चिमाञ्चल क्षेत्रीय अदालतले सार्वजनिक जग्गा कायम नगरी वादीको राजीनामा भित्रको जग्गा ठहर्‍याएको मिलेको नहुँदा पश्चिमाञ्चल क्षेत्रीय अदालको इन्साफ मिलेको छैन । अञ्चल अदालतको इन्साफ सदर गरेको माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय सदर हुनु पर्दछ भन्ने समेत र  प्रत्यर्थी वादीतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले विवादित जग्गाको पूवतर्फ न.नं. ५ ढुंगाले छापेको मूल सडक भन्ने नक्सामा उल्लेख भएको छ । वादीको राजीनामाको पूर्व किल्ला सडक भन्ने उल्लेख भएको पाइन्छ । नगर पञ्चायतको सिफारिश अनुसार सो राजीनामा पारित गराई लिएको हुँदा विवादित जग्गा वादीको भन्ने देखिन्छ । तसर्थ पश्चिमाञ्चल क्षेत्रीय अदालतले झगडा परेको जग्गा वादीको हकको ठहराई गरेको इन्साफ सदर गरेको माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय सदर हुनु पर्दछ भन्ने समेत बहस गर्नुभयो ।

१२.    आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा टेक वीरजंगसंग राजीनामा गरी लिएको राजीनामा ४ किल्ला भित्रको पूर्व भाग सडक लाइनतर्फ अन्यायवाला न.पं. ले जबरस्ती पिसाबखाना बनाई खिचोला गरेकोले खिचोला मेटाई मेरो हक सदर कायम राखी निजले जबरजस्ती बनाएको पिसाबखाना हटाई मोहडा निकास खुल्ला गराई पाउँ भन्ने समेत वादीको दावी देखिन्छ ।

१३.    लुम्बिनी अञ्चल अदालत मार्फत भएको मिति २०३७।६।१९ गतेको नक्साको झगडा परेको न.नं. २ को जग्गा आफ्नो भनी दावी गर्दा राजीनामाको पूर्व किल्ला सडकलाई मुख्य आधार लिएको देखिन्छ । सो नक्साबाट विवादको जग्गाको पश्चिम सीमाना न.नं. ३ मा उल्लेख भए बमोजिम पुरानो ढुंगाको तथा निलकांडाको वार र न.नं. ४ चार निलकांडाको वार लगाई न.नं. ७ को जग्गा वादीले भोग गरेको पाइन्छ । तर सो झगडा परेको न.नं. २ (दुईको) जग्गा पुरानो ढुंगाको पर्खाल र निलकांडाको वार देखि बाहिर पूर्व पट्टी रही वादीको भोगचलनमा रहेको भन्ने नक्साबाट देखिँदैन । सो झगडा परेको जग्गा वादीको राजीनामाको किल्ला भित्रको भए पुरानो ढुंगाले पर्खाल लगाउँदा र निलकांडाले वार लगाउँदा पर्खाल र निलकांडाको वार देखि बाहिर पारी त्यसै छाडेको होला भनी सम्झन मिल्ने अवस्था देखिँदैन । यस स्थितिमा झगडा परेको न.नं. २ को जग्गा न.नं. ५ को सडककै भाग भन्ने देखिन आएकोले वादी दावीको राजीनामाको पूर्व किल्ला सडकले सो झगडा जनिएको जग्गा समेत राजीनामाभित्र पर्ने भन्न सकिने अवस्था रहेन । तसर्थ वादी दावी बमोजिम तानसेन नगर पञ्चायतले खिचोला गरेको ठहर्दैन भनी शुरु पाल्पा जिल्ला अदालतले गरेको फैसला सदर गरी लुम्बिनी अञ्चल अदालतले गरेको फैसला मनासिब ठहराएको सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय मनासिब ठहर्छ पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथी इन्साफ खण्डमा लेखिए अनुसार खिचोला नठहरेकाले पश्चिमाञ्चल क्षेत्रीय अदालतका मिति २०४१।९।१७ गतेका फैसलाले पुनरावेदक प्रतिवादी तानसेन नगर पञ्चायतबाट वादी चक्रबहादुर कार्कीलाई कार्टफि रु. १३०।भराउने गरेकोमा सो बमोजिम भरी भराउ गर्नु परेन । सो लगत काटी दिनु भनी पाल्पा जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ. मा लगत दिनु........१

पश्चिमाञ्चल क्षेत्रीय अदालतका मिति २०४१।९।१७ का फैसलाले पुनरावेदक प्रतिवादी तानसेन नगरपञ्चायताट वादी चक्रबहादुरलाई भराउने गरेको कोर्टफि रु. १३०।प्रतिवादी तानसेन नगर पञ्चायतले यस अदालतमा पुनरावेदन गर्दा सर्वोच्च अदालत (पुनरावेदन शाखा) को मिति २०४२।५।२६ गतेको पत्र साथ का.जि.अ. मा धरौट रहेको देखिँदा सो धरौटी फिर्ता पाउँ भनी पुनरावेदक तानसेन नगर पञ्चायतको ऐनका म्याद भित्र दर्खास्त परे दस्तुर केही नलिई फिर्ता दिनु भनी का.जि.अ. मा लगत दिनु......२

तानसेन नगर पञ्चायतके यस अदालतमा अनुमति प्राप्त गरी पुनरावेदन गर्दा राखेको कोर्टफि रु १५।वादी  चक्रबहादुरबाट भराई पाउँ भनी ऐनका म्यादभित्र पुनरावेदक तानसेन नगर पञ्चायतको दर्खास्त परेमा दस्तुर केही नलिई वादीबाट भराई दिनु भनी का.जि.अ. मा लगत दिनु.......३

इन्साफ उल्टीमा लुम्बिनी अञ्चल अदालतका तत्कालीन अं.न्या.श्री हरिश्चन्द्र प्रसाद उपाध्यायको रेकर्ड राख्ने गरेको सो रेकर्ड राख्नु पर्दैन कट्टा गरी दिनु भनी पश्चिमाञ्चल क्षेत्रीय अदालतलाई लेखी पठाई दिनु.....४

मिसिल नियमानुसार गरी बुझाई दिनु........५

 

उक्त रायमा हामीहरु सहमत छौं ।

न्या.हिरण्येश्वरमान प्रधान,

न्या.रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४५ साल श्रावण २५ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु