निर्णय नं. ३५०८ - जग्गा खिचोला

निर्णय नं. ३५०८ ने.का.प. २०४५ अङ्क ७
पूर्ण इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४४ सालको दे.पू.ई.नं. १०६
फैसला भएको मिति २०४५।४।२७।५ मा
निवेदक/वादी : का.प.जि मल्पी गाउँ पञ्चायत वडा नं. २ पनौती सानो कपालकोट बस्ने भू.पू. प्रमुख सेनानी तेजप्रसाद सिंह कार्की
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने रामबहादुर कार्की
मुद्दा : जग्गा खिचोला
(१) रसीदलाई वादीले जालसाजी भनी बयान गरेकोमा शुरु जिल्ला अदालतबाट रसीद सद्दे ठहर गरेकोमा वादीले पुनरावेदन नगरी रसीद सद्दे कायम रही फैसला अन्तिम भई राखेको पाइन्छ, यसबाट विवादित जग्गा वादीको हक लाग्ने भन्न नमिल्ने ।
(प्रकरण नं. २०)
निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना तथा विद्वान अधिवक्ता श्री शम्भू थापा
फैसला
प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारका जुनाफमा सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला फुल बेञ्चबाट दोहोराई पाउँ भनी चढाएको विन्तिपत्रमा पूर्ण इजलासबाट दोहराई हेरी कानून बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ, भनी मौसूफ सरकारको विशेष जाहेरी विभागबाट मिति २०४३।९।२३ मा तोक लागी आई पूर्ण इजलासको लगतमा दर्ता भई पेश हुन आएकोमा मुद्दाको तथ्य यस प्रकार छ :
२. मेरो हक तिरोको का.प.जि. मालमा ७३३ नं. मा दर्ता भएको तिरो रु १९।९८।१ लाग्ने मल्पी गा.पं. अन्तर्गतको वाल्चा समेतको खेत माटो मुरी २६।१२।४ को जग्गा मध्ये आधी जग्गा ऐ. वडा नं. १ कि.नं. २०२ को क्षेत्रफल ४–२–१।। कायम ठहर भई मेरै नाममा नाप जाँच हुन गएछ र बाँकी जग्गा विपक्षी रामबहादुर कार्कीका नाममा कि.नं. २०३ नं. भई क्षेत्रफल जग्गा रोपनी ३–१०–० कायम ठहर भई नाप जाँच हुन गएको कुरा ज.ध.प्र.पूर्जा लिएपछि थाहा भएकोले सो पुरै जग्गा मेरो पिताजी बमबहादुर कार्कीका नाममा हुँदा उहाँको २०२५ सालमा परलोक अवस्था पछि गाउँ पञ्चायत मार्फत तिरो बुझाएर भोगचलन गर्दै आएको छु । त्यसैले जग्गामा विपक्षीले कि.नं. २०३ को ज.रो. ३–१०–० आफ्नो साविक कि.नं. ७३९ को माटो मुरी ।।११।४ को तिरो रु. ७।२० लाग्नेसंग भिड्ने जग्गा हो भनी झुठ्ठा बयान गरेर दर्ता गराएको पूर्व वन जाने ठाडो बाटो पश्चिम गुठी खेत उत्तर गुठी खेत, दक्षिण जगतबहादुरको खेत यति ४ किल्ला भित्रको कि.नं. २०३ को क्षेत्रफल ३–१०–० को दर्ता बदर गरी मेरा नाममा दर्ता गराई मेरै हक कायम गरी विपक्षीकै दावी छुटाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. वादी दावीको जग्गा बाबुकै पालामा अंश बण्डा भई अहिले हामी छोरा नातीहरुले भोगचलन गरी आएका छौं र उक्त जग्गाको ३ वर्षको अर्थात् वादीले ०२७।२८।०२९ सालको तिरो आफ्नै हस्तेवारीबाट मेरा नाममा बुझाई दिएका छन् त्यस किसिमको तिरो बुझाईबाट पनि हाम्रो बाबु बाजेको अंश भागको रहेछ भन्ने कुरा प्रष्ट हुन आएको छ सो जग्गा अंशबण्डा नभएकोबाट खान्गी खारेज भई २००९ सालमा वादीका बाबा बमबहादुर जीवित छँदै आ–आफ्नो अंश भागको जग्गाहरु बाबा छउन्जेल बाबाहरुले नै तिरो नामसारी भोग गरी आएको र अहिले मेरो बाबाको शेषपछि मैले नै आफ्नो नाममा नामसारी तिरो बुझाई आएको हुँदा झुठ्ठा वादी दावीबाट र्फुसद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।
४. विवादग्रस्त जग्गामा वादीको बाबु बमबहादुरका नाममा दर्ता कायम हुँदा प्रतिवादीले सबूद बेगर खिचोला गरेको ठहर्छ भन्ने समेत व्यहोराको काभ्रेपलान्चोक जिल्ला अदालतबाट मिति २०३२।११।२५।२ मा भएको फैसला ।
५. शुरुले गरेको फैसला बदर गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदपत्र ।
६. सक्कल रसीद प्रतिवादीबाट खिची वादीलाई सुनाउन ७ दिने म्याद दिई झिकाउने भन्ने वागमती अञ्चल अदालतको आदेश ।
७. रसीद देखे हस्तेवारीको सहीछाप तेजप्रतापको हो । खाली पायडमा सही गरेकोमा पञ्चायतको सदस्य समेतलाई हात लिई जालसाजी गरेको हो भन्ने समेत वादी तेजप्रतापको वारिश दीर्घप्रतापको बयान ।
८. मैले दाखिल गरेको रसीद जालसाज गरेको होइन भन्ने समेत प्रतिवादी रामबहादुरको बयान ।
९. तेजप्रतापले रामबहादुरको हस्तेवारी भई तिरो बुझाएको रसीद गरी दिएको हो जालसाजी होईन भन्ने समेत प्रधानपञ्च बशुन्धराको बयान ।
१०. प्रतिवादीबाट भएका रसीद सद्दे हो होइन अ.बं. १९२ नं.ले एकैसाथ निर्णय गर्नु पर्ने हुँदा जग्गासम्म शुरुले गरेको फैसला बदर हुने ठहर्छ भन्ने समेत व्यहोराको वागमती अञ्चल अदालतबाट मिति २०३५।११।१ मा भएको फैसला ।
११. प्रतिवादीले पेश गरेको तीन थान रसीदहरु सद्दे ठहर्छ । प्राप्त भएका दर्ता श्रेस्ताबाट ७३३ नं. वाल्चा खेत ।२६।११।४ वादीकै हक ठहर्छ र प्रतिवादीको जिकिर पुग्न नसकी कि.नं. २०३ को दर्ता बदर हुने ठहर्छ भन्ने समेत व्यहोराको काभ्रेपलान्चोक जिल्ला अदालतको मिति २०३६।७।१।५ को फैसला ।
१२. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदनपत्र ।
१३. तिरो भोगबाट देखिएको प्रतिवादीको र वादी प्रतिवादी अंशियार भईयाद देखिएकोले दर्ता मूल वाजेको नाममा रहँदैमा हक हुन्छ भन्न नमिल्नेमा पनि दर्ताको नाताले मात्र हक भएको भन्न नमिल्ने भनी श्री सर्वोच्च अदालत फुल बेञ्चबाट नि.नं. ७२० ने.का.प. २०३० पेज २४ मा निर्णय भएको समेत देखिएकोले वादी दावी झुठ्ठा ठहर्नाले शुरुले केही गल्ती गरी जालसाज नठहराएको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको वागमती अञ्चल अदालतबाट मिति २०३८।९।२९।४ मा भएको फैसला ।
१४. उक्त वागमती अञ्चल अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ, भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको सिंगल बेञ्चको मिति २०३९।९।२९ गतेको आदेश ।
१५. दर्ता समेतको प्रमाणबाट वादी दावी बमोजिम विवादित जग्गामा वादी तेजप्रतापकै हक कायम हुने र दावी बमोजिम प्रतिवादीको नामको दर्ता बदर हुने समेत ठहर्छ । वादी दावी नपुग्ने ठहराएको वा.अं.अ. को इन्साफ उल्टी हुन्छ भन्ने म.क्षे.अ. को २०४१।१।७ को फैसला ।
१६. उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा वादी प्रतिवादीको एकै जिजु बाजेका सन्तान हुनुको साथै वादी स्वंयले विवादित जग्गाको तिरो प्रतिवादीको नामबाट तिरेको समेत देखिन आएकोले त्यस्तो जग्गामा प्रतिवादीको हक कायम नरहने गरी म.क्षे.अ. ले गरेको फैसला अ.बं. १८४(क) १८५ तथा प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको त्रुटि गरी गरेको देखिन आएको र न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत डिभिजन बेञ्चको मिति २०४१।४।१०।४ को आदेश ।
१७. उक्त विवादित कि.नं. २०३ को जग्गाको तिरो रसीद वादी तेजप्रताप सिंह हस्ते भई प्रतिवादी रामबहादुरको नामबाट वादीले बुझाएको देखिन्छ । उक्त तिरोको रसीदहरु अ.बं. ७८ नं. बमोजिम सद्दे कीर्तेमा सुनाई कारवाही चली सद्दे ठहरे उपर वादी तेजप्रताप सिंहको पुनरावेदन परेको पनि पाइँदैन । विवादित जग्गा मध्येबाट दुई(२) रोपनी जग्गा प्रतिवादीले ज्ञानेन्द्रबहादुरलाई राजीनामा गरी दिएको देखिन्छ । उक्त राजीनामा गरी दिएको जग्गा सम्बन्धमा वादीबाट कुनै उजूर वाजूर परेको पनि छैन । वादी विवादित जग्गाको हक दर्ता तथा तिरो प्रतिवादीको रहेको कुरा स्वीकार गरी स्वयं वादीले जग्गाको तिरो बुझाई आएको तथा पेश भएका रसीद सद्दे ठहराएतर्फ पुनरावेदन समेत नगरी स्वीकार गरी बसेको तथा विवादित जग्गा ज्ञानेन्द्रबहादुरलाई बेचबिखन गर्दा पनि सो वारे उजूर वाजूर दावी विरोध गरेको देखिन नआएबाट वादी दावी जग्गा प्रतिवादीकै हक स्वामित्व रहेको कुरा सिद्ध हुन आएकोले विवादित जग्गाको वादी दावी बमोजिम दर्ता बदर भई हक कायम हुन सक्ने अवस्था देखिएन । अतः विवादित जग्गामा प्रतिवादीको हक कायम गरी वादी दावी नपुग्ने ठहराएको वागमती अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४२।११।३०।५ को फैसला ।
१८. निवेदकतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले न.नं. ७३३ को वाल्चा खेत माटो मुरी ।२६।१२।४ वादीका बाबुका नाममा दर्ता भएको जग्गा हो । हस्तेवारीबाट वादीले तिरो तिरेको रसीद भनेको केरमेट भई प्रमाण नलाग्ने । साविक दर्ता फोडेको प्रमाणित छैन । वादीको बाबु दर्तावालाबाट हक टुटाएको कुनै प्रमाण छैन । रसीदबाट हक छुट्दैन । दर्ता तिरोभरो ७ नं. फाँटवारी जोताहा निस्सा समेतबाट जग्गा वादीको हकको भन्ने प्रष्ट देखिएको छ । यस्तोमा वादी दावी नपुग्ने गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ मिलेको छैन । जग्गामा वादीको हक कायम हुनु पर्दछ भन्ने समेत बहस गर्नु भयो । विपक्षी प्रतिवादीतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुंगाना तथा विद्वान अधिवक्ता श्री शम्भू थापाले विवादित जग्गा साविक खान्गीको जग्गा हो । २००९ सालमा खान्गी खारेज भई दर्ता भएको छ । भाग शान्ति भोग गरी नापीमा वादीले झगडा जनाउन सकेको छैन । साविक ७३३ नं. को वाल्चा खेत मध्ये आधा प्रतिवादीहरुतर्फ अंश भागमा परी भोगेको त्यसबाट माटो मुरी ।२ ज्ञानेन्द्रबहादुर कार्कीमा परेको निजले जग्गा बिक्री गरेको छ । त्यसमा उजूर गर्न सकेको पनि छैन । विवादित प्रतिवादी दर्ताको जग्गाको ०२७।०२८।०२९ सालको तिरो वादीले नै हस्तेवारी गरी तिरो बुझाएको छ । सो रसीद सद्दे ठहराएतर्फ वादीले पुनरावेदन नगरी चित्त बुझाई बसेको छ । विवादको जग्गा प्रतिवादीको भन्ने प्रष्ट देखिरहेको छ । तसर्थ विवादको जग्गामा वादीको हक नहुँदा वादी दावी नपुग्ने गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ सदर हुनु पर्दछ भन्ने समेत बहस गर्नु भयो ।
१९. प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ मिलेको छ, छैन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
२०. यसमा निर्णयतर्फ हेर्दा ७३३ नं. मा दर्ता भएको वाल्चा खेत माटो मुरी ।२६।१२।४ मध्ये आधी जगगा कि.नं. २०२ को क्षेत्रफल ४–२–१।। कायम ठहर भई मेरो नाममा नापजाँच हुन गएछ । बाँकी जग्गा विपक्षी रामबहादुरका नाममा कि.नं. २०३ क्षेत्रफल ३–१०–० कायम भई पूर्जा लिएपछि थाहा भयो । सो पूरै जग्गा मेरो पिता बमबहादुरको हुँदा तिरो भरो भोगी आएको हुँदा सो कि.नं. २०३ को दर्ता बदर गरी मेरा नाममा दर्ता गराई मेरो हक कायम गराई पाउँ भन्ने समेत फिराद दावी देखिन्छ । विवादको जग्गा साविक खान्गीको भन्ने पाइन्छ । अंशियारको नाममा दर्ता भएको भन्ने कारणबाट मात्र अरु अंशियारको हक नलाग्ने भन्न मिल्दैन । वादी प्रतिवादी भईयाद भन्ने कुरामा र मुल पूर्खा वीरबहादुर भन्ने कुरामा विवाद देखिँदैन । साविक दर्ता माटो मुरी ।२६।१२।४ मध्ये आधी जग्गा नापीमा कि.नं. २०२ मा क्षेत्रफल ४–२–१।। वादीका नाममा दर्ता भएको भन्ने वादी आफैंले आफ्नो फिरादमा स्वीकार गरेको छ आधी जग्गा माटो मुरी १३।६।४ अंशबाट भोगी आएकोमा २०३० सालमा भाई अंश हुँदा माटो मुरी ।२ ज्ञानेन्द्र कार्कीको अंशमा परी बाँकी जग्गा मैले भोगेको छु भन्ने प्रतिवादीले आफ्नो प्रतिउत्तरपत्रमा जिकिर लिएको छ । तर ज्ञानेन्द्र कार्की उपर उजूर गर्न सकेको छैन । वादी स्वयंले प्रतिवादी रामबहादुर कार्कीका नामबाट हस्तेवारीमा सही गरी विवादित जग्गाको तिरो तिरेको प्रतिवादीले पेश गरेको रसीदबाट देखिन्छ । सो रसीदलाई वादीले जालसाजी भनी बयान गरेकोमा शुरु जिल्ला अदालतबाट रसीद सद्दे ठहर गरेकोमा वादीले पुनरावेदन नगरी रसीद सद्दे कायम रही फैसला अन्तिम भई राखेको पाइछ । यसबाट समेत विवादित जग्गा वादीको हक लाग्ने भन्न मिल्दैन । प्रतिवादीको हकको रहेछन् भन्ने देखिन्छ । यस स्थितिमा विवादको जग्गा वादीको हो रहेछ भन्ने तथ्ययुक्त सबूद प्रमाणको अभावमा वादी दावी बमोजिम विवादित जग्गामा वादीको हक कायम हुने अवस्था नदेखिँदा वादीको निवेदन जिकिर पुग्न सक्दैन । विवादको जग्गामा वादी दावी पुग्न नसक्ने ठहराएको वागमती अञ्चल अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४२।११।३०।५ को फैसला मनासिब ठहर्छ । कोर्टफि लागेको मुद्दा हुँदा कसैलाई केही गर्नु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायम हामीहरु सहमत छौं ।
न्या.पृथ्वीबहादुर सिंह,
न्या. प्रचण्डराज अनिल
इति सम्वत् २०४५ साल श्रावण २७ गते रोज ५ शुभम् ।