शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३५१० - लिखत दर्ता बदर

भाग: ३० साल: २०४५ महिना: कार्तिक अंक:

निर्णय नं. ३५१० ने.का.प. २०४५     अङ्क ७

 

 

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४३ सालको दे.पु.इ.नं. ८३

फैसला भएको मिति २०४५।४।३२।३ मा

 

निवेदिका/वादी : जिल्ला वारा लिपनी गा.पं. वडा नं. ९ बस्ने भिमकुमारीको मु.स. गर्ने क्षेत्रकुमारी विष्ट

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ. लिपनी विर्ता बस्ने रमकलिया कुर्मीसमेत

 

मुद्दा : लिखत दर्ता बदर

 

(१)                  आफूले खरीद गरेको जग्गा भन्दा बढीमा दावी गर्न नपाउने ।

(प्रकरण नं. १६)

(२)                राजीनामामा उल्लेख भए बमोजिम क्षेत्रफल भएको जग्गाको वादी प्रतिवादी दुवैले जग्गाधनी प्रमाणपूर्जा समेत प्राप्त गरी सकेको स्थितिमा वादी दावी बमोजिम दोहोरा पारी लिखत गरेको भन्न सकिने अवस्था नरहने ।

(प्रकरण नं. १६)

 

निवेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी

विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

 

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह :यस अदालत डिभिजन बेञ्चबाट मिति २०४२।२।२४।२ मा भएको फैसला दोहोर्‍याई पाउँ भनी निवेदिकाले विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराज सरकारका जुनाफमा विन्तिपत्र चढाउनु भएकोमा यसमा व्यहोरा साँचो भए त्यस अदालतको डिभिजन बेञ्चबाट छिनिएको विन्तिपत्रमा लेखिएको लिखत दर्ता बदर मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहोर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भनी बक्स भई आएको हुकुम प्रमांगी बमोजिम यस अदालतको पूर्ण इजलासको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :

२.     विपक्षीले लिपनी मालको जग्गामध्ये ०१० जग्गा मिति ०२४।१०।१२।६ मा पर्सा मालबाट पारित गरी दिएको हुँदा सडक किनारामा कुनै जग्गा बाँकी नै थिएन मलाई लेखी दिएको हदको जग्गा अरुलाई दोहरो लिखत गर्न नहुनेमा विपक्षी यज्ञबहादुर र गोरखबहादुरले सडक देखि पश्चिमको ०३ जग्गा रु.४०००।मा मिति ०३४।१।६ मा भू.प्र.का. पर्सामा पारित गराई लिएकोमा नाताले खिचोला गरेको सडक किनाराको आफ्नो नाममा कित्ताकाट गरी दर्ता समेत गराई लिएकोमा विपक्षी रमकलियाले मलाई लेखिएको जग्गा आफ्नो नाममा लेखाएको देखिन्छ तर कि.नं. ३७६ को मेरो लिखत देखि पश्चिमको जग्गा मेरो नाममा भू.प्र.का. बाट दर्ता गरी प्रमाण पूर्जा पाएको छु यसरी विपक्षीले जग्गा दर्ता गराएको मिति ०३५।२।८।१ मा नक्सा गराई लिई थाहा पाएको हुँदा विरोध जनाई मेरै नाममा दर्ता गरी पाउँन निवेदन दिएकी छु । त्यस्तो हुँदा दोहरो लिखत गरी दिनेहरुलाई लेनदेन व्यवहारको २५।२७ नं. बमोजिम सजायँ गरी वादी दावी बमोजिम गरिपाउँ भन्ने समेत फिरादपत्र ।

३.     वादी दावीको जग्गा र मैले खरीद गरी लिएको जग्गा बेग्लै हो भन्ने कुरा जग्गाको नाप नक्सा र अदालतबाट भएको नापनक्सा समेत भिडाई हेरेमा छुट्टा छुट्टै कित्ताकाट समेत भएको देखिनाले वादीको लिखत बमोजिमको जग्गासँग मलाई केही थाहा नभएको हुँदा अ.बं. ८२ नं. बमोजिम वादी दावी खारेज गरिपाउँ भन्ने रमकलियाको प्रतिउत्तरपत्र ।

४.     लिपनी मालको जग्गा मध्ये साविक कि.नं. ८०,७२५ को जग्गा कठ्ठा ०१० पर्सा मालबाट मिति ०२४।१०।१२।६ मा विपक्षीले आफ्नो नाममा पारित गराई भोगचलन गरी आएको म गोरखबहादुरकै नाममा दर्ता रहेको लिपनी गा.पं. वा.नं. ३(ग) को कि.नं. २७(ख) को ०११ मध्ये ०३ रमकलियालाई राजीनामा गरी दिएको सो जग्गा कित्ताकाट भई कि.नं. ३१(ख) मा ०३ जग्गा कायम भएको छ सो बाहेक बाँकी ०८ जग्गामध्ये कित्ताकाट भई विपक्षीको नाउँमा कि.नं. ३७ को ०१० जग्गा छुट्टै कायम भएको छ । म यज्ञबहादुर, भिमकुमारी र रमकलिया समेतलाई पारित गरी दिएको जग्गाको ४ किल्ला र कित्तासमेत छुट्टा छुट्टै भई निजहरु आआफ्नो नाममा नक्सा भोगचलन समेत गरी आएको हुँदा दोहरो लिखत मैले नगरेकोले वादी दावीबाट फुर्सत गरिपााउँ भन्ने यज्ञबहादुर गोरखबहादुरको संयुक्त प्रतिउत्तरपत्र ।

५.     वादीलाई सडकको पश्चिमको जग्गा ०१० राजीनामा लेखी लिई सकेपछि सोही जग्गालाई सडकको पश्चिम भनी ७३ जग्गा दोहरो पारी प्रतिवादी गोरखबहादुर र यज्ञबहादुरले दिने र प्र.रमकलियाले लिएको देखिँदा सो दोहरो लिखत बदर हुन्छ । सो लिखत भएको वादी भिमकुमारीलाई कित्ता  काट गरी दर्ता गरेको दर्ता बदर हुने र वादीको राजीनामा लेखिएको किल्ला कायम गरी वादी भिमकुमारीको नाउँमा दर्ता गरी पाउने समेत ठहर्छ भन्ने समेत व्यहोराको बारा जि.अ.को फैसला ।

६.     शुरु वारा जि.अ. को फैसलामा चित्त बुझेन उक्त फैसला बदर गरिपाउँ भनी प्र.को ना.अं.अ.मा दिएको पुनरावेदन ।

७.     वादीको राजीनामाको जग्गा सर्भे कि.नं. ३७ को जग्गा वादीको नै नाम कायम भएको जग्गा धनी प्रमाणपूर्ण वादी स्वयंले उठाई लिएको र उता प्र.रमकलियाको नाममा दर्ता भएको जग्गा सर्भे कि.नं. ३१(ख) भई जग्गा छुट्टा छुट्टै देखिएकोले वादी र प्रतिवादीको दर्ता गोरखबहादुरको अख्तियारवाला यज्ञबहादुर न्यौपानेले एउटै जग्गा २ जनालाई बिक्री गरेको नदेखिँदा वादी दावी पुग्दैन शुरु वारा जि.अ. को फैसला उल्टी हुने ठहर्छ भन्ने ना.अं.अ.को फैसला ।

८.     नारायणी अञ्चल अदालतको फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादीको म.क्षे.अ.मा निवेदन, इन्साफ जाँच गरी पाउँ भनी श्री ५ महाराजाधिराजको जुनाफमा दिएको विन्तिपत्र बमोजिम म.क्षे.अ.को नाउँमा इन्साफ जाँची दिनु भन्ने हु.प्र.बक्स भई आएको ।

९.     वादीलाई एक पटक हक छाडी राजीनामा गरी दिएको जग्गा नै दोहरो पारी प्रतिवादीले राजीनामा गरी दिएको जग्गा नै प्र.ले राजीनामा गरी लिएको देखिन आयो । कसैलाई हक नछाडी दिएको आफ्नो हकको जग्गासम्म हस्तान्तरण गर्न पाउने गरी रजिष्ट्रेशनको १० को ऐनमा व्यवस्था भएको र वादीलाई एकपटक राजीनामा गरी दिएको किल्ला भित्रको जग्गा दोहरो पारी लिखत गरी दिएको देखिन आएकोले लेनदेन व्यवहारको २५ नं. ऐन अनुसार वादीको अघिल्लो लिखत नै सदर हुने हुँदा यस किसिमको दोहरो लिखत बदर नहुने ठहराएको ना.अं.अ.को फैसला त्रुटिपूर्ण हुँदा बदर हुन्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

१०.     उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्र.रमकलियाको यस अदालतमा निवेदन पर्दा वादी भिमकुमारी न्यौपानेले राजीनामा गरी लिएको जग्गा कि.नं. ३७ को कायम भई निजले ०३४।६।४ मा उक्त जग्गाको ज.ध.प्रमाणपूर्ण लिएको र निवेदक प्र.रमकलियाले राजीनामा गरी लिएको जग्गा कि.नं. ३१(ख) कायम भई निजले पनि ज.ध. प्रमाण पूर्जा लिएको देखिन्छ । यसरी छुट्टा छुट्टै कित्ता जग्गाको प्रमाणपूर्जा लिएको देखिन्छ । यसरी छुट्टा छुट्टै कित्ता जग्गाको प्रमाण पूर्जा उठाएकोमा दोहरो लिखत भन्न मिलेन । तसर्थ म.क्षे.अ.को इन्साफमा लेनदेन व्यवहारको ८ नं. को त्रुटि देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत डिभिजन बेञ्चको आदेश ।

११.     यसमा रमकलिया कुर्मीनीबाट मिति २०२४।१०।१२ मा पर्सा मालबाट ज.वि. ०१० पारित गरी लिएकोमा ०३४।१।६ मा ज.वि. ०३ विपक्ष यमबहादुर र गोरखबहादुरले दोहरा पारी पारीत गरी लिएको बदर गरी पाउँ भन्ने मुख्य फिराद दावी रहेको देखिन्छ । सर्भे नापी हुनु भन्दा अघि भिमकुमारीको जग्गा वि. ०१ कायम भई सो मध्ये ज.वि. ०१० वादीलाई ०२४।१०।१२ मा राजीनामा गरी लिएको देखिन्छ । वादीले पारीत गरी लिएको उक्त जग्गाको कि.नं. ३७ कायम भएको पाइन्छ । त्यस्तै प्र.रमकलियाले पाएको ज.ध.प्र.पूर्जामा सर्भे कि.नं. ३१(ख) मा ज.वि. १३ कायम भएको देखिन्छ । वादीले ज.वि. ०१० भन्दा बढी दावी गर्न सक्ने राजीनामाबाट देखिन आउँदैन वादी र प्रतिवादी दुवैको जग्गाहरु छुट्टा छुट्टै कित्ता नम्बर कायम भएकोबाट छुट्टा छुट्टै जग्गा रहेछ भन्ने प्रष्ट हुन आएको र वादी प्रतिवादीले कित्ताकाट गराई आफ्नो राजीनामा बमोजिमको जग्गा धनी प्रमाण पूर्जा उठाई सकेकोमा अब  किल्लाको नाताले मात्र बढी जग्गामा वादीको दावी पुग्न सक्दैन । वादी दावी पुग्न नसक्ने ठहराएको नारायणी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ । वादी दावी बमोजिम गर्ने गरेको शुरु वारा जिल्ला अदालतको इन्साफ सदर गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिएकोले उल्टी हुने ठहर्छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४२।२।२४ को फैसला ।

१२.    श्री ५ महाराजाधिराज सरकारका जुनाफमा सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ दोहोर्‍याई पाउँ भनी चढाएको विन्तिपत्रमा फुल बेञ्चबाट दोहोर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने हुकुम प्रमांगी भई आएको रहेछ ।

१३.    निवेदक वादीतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले कि.नं. ३१, ३७, ३८ को सबै जग्गा वादीले मोही भई जोती घरवास गरी आएको घर समेत छ । विपक्षी रमकलियाले गोरखबहादुरको नाउँमा दर्ता भएको ०८ मध्येको जग्गा राजीनामा लिएको हुँदा गोरखबहादुरको बाँकी जग्गा रहे भएको ठाउँमा जग्गा हुनुपर्छ । तर कि.नं ३१, ३७, ३८ भएको ठाउँमा गोरखबहादुरको जग्गा नै छैन विपक्षले लिएको जग्गाको उत्तरमा मंगल भन्ने किल्ला देखाएकोले विपक्षको भनेको कि.नं. ३१ को उत्तरमा मंगल हुनुपर्ने सो पनि छैन । तसर्थ दोहोरो पारी लिखत गरी दिएमा सजायँ गरी सो जग्गा वादीको नाउँमा दर्ता हुनुपर्छ । डिभिजन बेञ्चको इन्साफ मिलेको छैन भन्ने समेत र विपक्षी प्रतिवादीतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले वादीले ०१० जग्गा खरीद गरेको त्यसको जग्गाधनी प्रमाण पूर्जा लिई सकेको  छ । प्रतिवादीले साविक कि.नं. २७ को ०११ जग्गामध्येको जग्गा ०३ मिति २०३४।१।६ मा खरीद गरेको हो । सो जग्गा कि.नं. ३१ मा दर्ता छ । वादी प्रतिवादी दुवैको जग्गा छुट्टा छुट्टै छ, घर कि.नं. ३७ मा छ । तसर्थ वादी दावी नपुग्ने गरी सर्वोच्च अदालत डिभिजन बेञ्चले गरेको इन्साफ मिलेको छ, सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो ।

१४.    आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

१५.    यसमा निर्णयतर्फ हेर्दा दोहोरो पारी लिखत गराएमा सजायँ गरी विपक्षीले गराई लिएको दर्ता बदर गरी मेरो लिखत बमोजिमको जग्गा मेरो नाउँमा दर्ता गराई पाउँ भन्ने समेत वादी दावी देखिन्छ । वादी भिमकुमारीले यज्ञबहादुरबाट २०२४।१०।१२ मा खरीद गरी लिएको राजीनामाबाट जम्मा जग्गा ३ कठ्ठा १० धुर राजीनामा गरी लिएको देखिन्छ । सो राजीनामा समेतका साविकमा भएको जग्गा नापी हुँदा कि.नं. २७ मा जग्गा विगहा ०११ भएको, सो मध्ये वादीले ३ कठ्ठा १० धुर राजीनामा लिएको पाइन्छ । ४ किल्ला लेख्दा समुच्चा जग्गाको ४ किल्ला लेखिएको छ । वादीले राजीनामा गरी लिएको जग्गामा घर समेत भएको भन्ने राजीनामाबाट देखिन्छ । सो घर भएको जग्गा समेत कित्ताकाट गरी कि.नं. ३७ को जग्गाधनी प्रमाण पूर्जा वादीले प्राप्त गरी सकेको देखिन्छ । राजीनामा लिएको जग्गा भन्दा घटि भएको भन्ने वादी दावी होइन । दोहोरो पारी बिक्री गरेको भन्ने वादी दावी रहेको छ । प्रतिवादी रमकलियाले जग्गा २ कठ्ठा ३ धुर खरीद गरेको देखिन्छ सो खरीद गर्दा पश्चिम किल्लामा वादीलाई साँध देखाएको छ । सो खरीद गरेको जग्गा प्रतिवादी रमकलियाको नाउँको कि.नं. ३१(ख) मा ०३ जग्गा कायम भएको छ । निजले राजीनामा भन्दा बढी जग्गा कब्जा गरेको भन्ने देखिँदैन । वादीको राजीनामा वादीले २ कठ्ठामा घर बनाई चर्ची आएको जग्गा वादीलाई बिक्री गरेको भन्ने लिखतबाट देखिन्छ ।

१६.     यसै लगाउको आजै यस इजलासबाट निर्णय  भएको यिनै वादी प्रतिवादीहरुको जग्गा खिचोला मुद्दामा भएको ०३४।८।१८ को नक्शाबाट वादीले जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरेको कि.नं. ३७ मा घर बनेको भन्ने देखिन्छ । आफूले खरीद गरेको जग्गा भन्दा बढीमा वादीले दावी गर्न पाउने भएन । मिसिल प्रमाणबाट र नक्शाबाट समेत वादी प्रतिवादीहरुको जग्गा अलग अलग रहेको भन्ने देखिन्छ । राजीनामामा उल्लेख भए बमोजिम क्षेत्रफल भएको जग्गाको वादी प्रतिवादी दुवैले जग्गाधनी प्रमाणपूर्जा समेत प्राप्त गरिसकेको पाइन्छ । यस्तो स्थितिमा वादी दावी बमोजिम दोहोरा पारी लिखत गरेको भन्न सकिने अवस्था रहेन । तसर्थ मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफलाई उल्टाई वादी दावी पुग्न नसक्ने ठहर्‍याएको नारायणी अञ्चल अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४२।२।२४ को फैसलाले निवेदक वादीबाट प्रतिवादी रमकलियालाई भराउने गरेको कोर्टफी रु. ३।निवेदक वादीले मुद्दा दोहोर्‍याई ल्याउँदा यस सर्वोच्च अदालत मार्फत का.जि.अ.त.मा मिति २०४३।८।१६ मा धरौट राखेको देखिँदा सो धरौटीबाट भराई पाउँ भनी प्रतिवादीको ऐनको म्यादभित्र दर्खास्त परेमा दस्तूर केही नलिई सो धरौट रहेको बाट प्रतिवादीलाई भराई दिनु र सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसलाले भराउने गरेको कोर्टफी रु. ३।को २०४२।४।३१ को लगत कट्टा गरी दिनु भनी का.जि.अ.मा लगत दिनु...१

मिसिल नियम बमोजिम गरी बुझाई दिनु...१

 

उक्त रायमा हामीहरु सहमत छौं ।

न्या.प्रचण्डराज अनिल,

न्या.हिरण्येश्वरमान प्रधान

 

इति सम्वत् २०४५ साल श्रावण ३२ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु