निर्णय नं. ६३१५ - निखनाइ पाउँ

निर्णय नं.- ६३१५ ने.का.प. २०५४ अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
संवत् २०५० सालको दे.पु.नं. .... १८९७
फैसला मितिः- २०५३।६।२।४
मुद्दाः- निखनाइ पाउँ ।
पुनरावेदक
प्रतिवादीः- जगत वहादुरको मु.स. गर्ने ल.पु.जि. गोदामचौर गा.वि.स. वडा नं. ६ वस्ने नजरमान श्रेष्ठ ।
विरुद्ध
विपक्षी
वादीः- ल.पु.जि. गोदाम चौर गा.वि.स. वडा नं. ६ वस्ने भक्त वहादुर श्रेष्ठ ।
· भोग वन्धकी लिखता जहिले सुकै पनि थैलि बुझाउन एवं भोग वन्धकी लिखतको आधारमा भोग वन्धकी लिने साहु कहिले पनि सो जग्गाको स्वामी हुन नसक्ने ।
(प्र.नं. ११)
निवेदक तर्फवाटः- विद्वान अधिवक्ता श्री वसन्त राम भण्डारी
विपक्षी तर्फवाटः-
अवलम्बित नजीरः-
फैसला
न्या.ओमभक्त श्रेष्ठः पुनरावेदन अदालत पाटनको मिति ०५०।११।१७ को फैसला उपर पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।
२. मुन नारायण ३ छोराहरुमा गणेश दाश हुन । छोरीमा मेरी आमा काली मात्र भएकीले गणेशलाल २०११ सालमै परलोक भएकोले इन्द्र वहादुर भएको र गणेश दास वेपत्ता भएको र हकवाला ईन्द्र वहादुरको विहावारी समेत नभएकोले मेरी आमा काली श्रेष्ठनीले निज ईन्द्र वहादुरले आफ्नो जो भएको श्री सम्पत्ति शेषपछि खान पाउने गरी मिति २०१४।२।२८ मा वक्सपत्र पारित गरी दिएको र २०१४ साल श्रावणमा परलोक भएपछि २०२७।३।५ मा गणेशलालबाट भोगवन्धकी खाने विपक्षी जगत वहादुर सँग उक्त वन्धकी थैली बुझि निखन्न दिनुस भन्दा ईन्कार गरेकोले गणेशदास हालसम्म पनि फर्की नआएकोले वन्धकी निखनाई पाउँ भनी मालपोत कार्यालय ललितपुरमा मिति २०४०।५।२ मा निवेदन गर्दा विपक्षीले थैली बुझ्न नपरोस भनी वयान गरी सकेपछि २०४१।५।२२ मा खारेज गरेकोले सो उपर जिल्ला कार्यालयमा र सो उपर म.क्षे.अ. मा क्रमश पुनरावेदन गर्दे जांदा म.क्षे.अ. वाट तारेख तोकि पुनः इन्साफको लागि मालपोत कार्यालयमा पठाई दिएको र तारेखमा वसी आएकोमा २०४६।४।३२ मा अदालतमा गई हक कायम गराई ल्याउनु भनी निर्णय गरी सुनाएकोले यो फिराद गर्न आएको छु । गणेशलालको हक खाने ईन्द्र वहादुरले मेरो आमालाई वक्सपत्र गरी दिएको जग्गाहरुमा अमाको हक भएकोमा निजको ०३३ सलामा मृत्यु भएपछि मेरो हक हुन आएकोले गणेशलालले २००६।२।२३ मा वन्धकी दिएको जग्गाहरु हाल नापीमा कायम भएको ल.पु.जि. गोदामचौर गा.वि.स.वडा नं. ६(ख) को कि.नं. २७४, २८१, २९३, ३०७, २९६, र १८० समेतको मोल रु.१२००। पर्ने जग्गाको थैली रु.६७१। विपक्षीलाई बुझाई विपक्षीको वन्धीमा रहेको जग्गा निखनाई पाउँ भन्ने फिराद दावी ।
३. विपक्षीको आमा काली श्रेष्ठ लगायत वुद्धिमानको छोरी ठुली र तुलसी श्रेष्ठनी भै यही लिखत उपर अर्थात साविक रसिद देखाई गणेशलालले भोग वन्धकी दिएको लिखतमा उल्लेखित ३ खला जग्गामा विपक्षीको आमा काली र अरु ठुली तुल्सी भै मेरो विरुद्धमा रजिष्ट्रेशन अड्डामा निखनाई पाउँ भनी उजुर गरेकोमा विपक्षीले निखन्न पाउने होईन भनी वयान गरेपछि अदालतमा आई तैकात गरी आउनु भनी सुनाएको र सो उपर पुनरावेदन गर्दा ललितपुर मजिष्टे्र्ट अफिसले ललितपुर रजिष्ट्रेशन अड्डाबाट भएको निर्णय सदर गरेकोमा विपक्षीको आमा समेत कोही पनि अदालतमा गई हक कायम गराउन सकेको छैन । आफ्नो आमाले हक कायम गराउन नसकेको विषयमा विपक्षीले पुनः निवेदन दिई हक कायम गराउने भन्ने प्रश्न नै आउदैन । त्यसैले प्रस्तुत फिराद खारेज गरी पाउँ । विपक्षीले जग्गाधनी दर्ता प्रमाण पुर्जा लिएको भनेको कुरा पनि झूठा हो विपक्षीले मालपोत कार्यालयले सुनाए वमोजिम हक हिस्सा कायम गराउन नआई खाली निखनाई पाउँ भनी सुनाए भन्दा फरक कुराको दावी लिई दरखास्तवालाहरु सवै नआई एक जना मात्र आएको हुँदा र झूठा लेखी आएको समेत कारणबाट र गणेशलालले हकवाला दाजुभाईलाई भोगवन्धकी दिएको विषय ईन्द्र वहादुरबाट विपक्षीको आमा कालीले पाएको शेषपछिको वक्सपत्रकाट विपक्षीलाई कुनै पनि हकदैया प्राप्त नहुँदा विपक्षीको झूठा उजुरीबाट फुर्सद दिलाई पाउँ भन्ने समेत प्रतिउत्तर ।
४. वादीसँग प्रस्तुत मुद्दामा गर्ने हकाधिकार भएको नदेखिएको तथा वादी मनासिव माफिकको समयभित्र कानुनः सम्मत प्रकृयाबाट अदालतमा प्रवेश गरेको नदेखिएको हुँदा यस्तो हकदैया र हदम्याद विहिन फिरादको औचित्य भित्र प्रवेश गरी वादीले भोग वन्धकी निखनाई पाउने वा नपाउने भन्ने सम्वन्धमा निर्णय गरी रहनु नपर्ने हुँदा वादीको फिराद दावी खारेज हुने ठहर्छ भन्ने शुरु जिल्ला अदालतको फैसला ।
५. शुरु जिल्ला अदालतको अन्यायपूर्ण फैसला वदर गरी फीराद दावी वमोजिम जग्गा निखनाई पाउँ भन्ने समेत वादीको साविक अंचल अदालतमा परेको पुनरावेदन पत्र ।
६. शुरुले गरेको खारेजी फैसला विचारणिय देखिएको छलफलको लागि अ.वं. २०२ नं. र पुनरावेदन अदालत नियमावली, २०४८ वमोजिम विपक्षी झिकाउने भन्ने समेत पुनरावेदन अदालत पाटनको आदेश ।
७. शुरु जिल्ला अदालतले फिरदा दावी खारेज हुने ठहराएको फैसला नमिलेकोले वदर हुने र सवुद प्रमाण बुझि ईन्साफ गर्नको लागि मुद्दामा तारेखमा रहेको पक्ष विपक्षीहरुलाई शुरु अदालतको तारेख तोकी प्रस्तुत मिसिल समेत फिर्ता पठाई दिने ठर्हछ भन्ने समेत पुनरावेदन अदालत पाटनको मिति २०५०।११।१७ को फैसला ।
८. विपक्षी वादी भोग वन्धकी दिने व्यक्ति आसामीमका हकवाला होइनन् । मध्यमान्चल क्षेत्रिय अदालतबाट रजिष्ट्रेशनको ३५ नं.अनुसार आफ्नो हक जतिको हिसाव कायम गराई ल्याउनु भनी सुनई दिन पर्न भनी ठहर भए पश्चात मालपोत कार्यालय ललितपुरबाट आफ्नो हक जतिको हिस्सा छुटर्याई ल्याउनु भनी सुनाएकोमा आफ्नो हक जतिको हिस्सा कायम गराउने फिराद दिएको छैन । काली श्रेष्ठ जिवित हुँदाकै अवस्थामा निजले निखनाई पाउँ भनी दावी लिएकोमा रजिष्ट्रेशन अड्डावाट २०१८।५।२७ मा आजका मितिले ३५ दिनभित्र अदालतमा तैकात गराई आउनु भनी सुनाए उपर पुनरावेदन दर्ता ललितपुर मजिष्ट्रेड अफिसवाटै सोही सदर गरी ०१८।१२।२० मा सुनाएकोमा निज विक्षीको आमा कालि श्रेष्ठ अदालतमा गई हक कायम गराई ल्याउन सक्नु भएको छैन । अ.वं. ८५ नं. व्यवस्था अनुसार पनि पटक पटक एउटै विषयमा कारवाही चलाई रहन पाईदैन । अतः हदम्याद र अं वं. ८५ समेतको आधारमा शुरुले खारेजी फैसला गरेकोमा पुनः फैसला गर्न शुरु जिल्ला अदालतमा पठाएको पुनरावेदन अदालतको फैसला अ.वं. ८५ नं. रजिष्ट्रेशनको ३५ नं. दान वक्सको ५ नं. र अ.वं. ८५ नं. समेतको विपरित हुँदा पुनरावेदन अदालत पाटनको फैसला वदर गरी शुरु जिल्ला अदालतको फैसला सदर गरी पाउँ भन्ने समेत प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
९. नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीको तर्फवाट विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारीले रजिष्ट्रेशन अड्डाले अदालतमा तैकात गरी आउनु भनी सुनाएको निर्णय र सो लाई सदर गरेको ल.पु. मजिष्ट्रेट अफिसको निर्णय वमोजिम वादीको आमा अदालतमा आई हक कायम गराउन नसकेपछि वादीले पुनः निखनाई पाउँ भनी मालपोत कार्यलयमा निवेदन दिएको देखिन्छ । वादीकी आमाले दिएको निवेदनबाट अदालतमा गई हक कायम गराउन ल्याउन नसकेपछि वादीको पुनः निखनाई पाउँ भन्ने उजुरी लाग्न सक्ने होईन । निर्णय भईसकेको विषयमा पटक पटक उजुरी लाग्न नसक्ने हुँदा शुरुले वादीको फिराद खारेज गरेको फैसला मिलेको हुँदा शुरुको फैसला वदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको नहुँदा हाल विपक्षी झिकाउने आदेश हुनु पर्छ भन्ने समेत वहस प्रस्तुत गर्नुभयो ।
१०. उक्त वहसमा समेत सुनी शुरु जिल्ला अदालतले वादीको फिराद खारेज गरेको फैसलालाई वदर गरी ईन्साफ तहकिकात गर्न शुरुमा पठाएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ छैन त्यस सम्वन्धी निर्णय दिनु पर्ने हुन आयो ।
११. गणेश लालले जगत वहादुरलाई २००६ सालमा भोग वन्धकी गरी दिएकोमा गणेशलालको मृत्यु भएको र निज गणेश लालको हक जाने निसन्तान इन्द्र वहादरले मेरो आमा काली श्रेष्ठ लाई वक्सपत्र गरी दिई आमाको मृत्यु पछि मेरो हक हुन आएकोले गणेशलालले वन्धकी दिएका जग्गाहरुको थैली विपक्षीलाइ बुझाई वन्धकीमा रहेको जग्गाहरु निखनाइ पाउँ भन्ने समेत फिराद दावी र मलाई गणेश लालले भोग वन्धकी दिएको लिखतमा उल्लेखित जग्गाहरु विपक्षीको आमा काली समेतले मेरो विरुद्धमा रजिष्ट्रेशन अड्डामा निखनाई पाउँ भनी उजुर गरेकोमा निखन्न पाउने होईन भन्ने मेरो वयान भएपछि अदालतमा गई तैकात गरी आउनु भनी सुनाएको र सो उपर पुनरावेदन पर्दा ललितपुर मजिष्ट्रेट अफिसले ललितपुर रजिष्ट्रेशन अड्डाबाट भएको निर्णय सदर गरेकोमा विपक्षीको आमा समेत कोही पनि अदालतमा गई हक कायम गराउन नसकेको अवस्थाामा विपक्षीले पुनः निवेदन दिई हक कायम गराउन नमिल्ने हुँदा वादीको फिरद खारेज गरी पाउँ भन्ने प्रतिउत्तर जिकिर भएको प्रस्तुत मुद्दामा निर्णय तर्फ विचार गर्दा आफ्नो हक जतिको हिस्सा कायम गराई ल्याउनु भनी निवेदकलाई सुनाई दिने भनी मालपोत कार्यालय ललितपुरले २०४६।४।३२ मा निर्णय गरेको मिसिल संलग्न निर्णय पर्चाको प्रतिलिपीवाट देखिएको र सो निर्णय कायम रहिरहुनको साथै सोही निर्णयको आधारमा वादीले जिल्ला अदालतमा प्रस्तुत मुद्दा दायर गरेको देखिन्छ । गणपेशलालले जगत वहादुरलाई भोग वन्धकी लिखत गरी दिएकोमा गणेशलालको मृत्यु पश्चात गणेशलालको हकवाला निसन्तान इन्द्र वहादुरले वादीको आमा काली श्रेष्ठलाई शेषपछिको वक्सपत्र गरी दिए पछि कालीको समते मृत्यु भई वक्सपत्र गरी दिएको सम्पत्तिमा कालीको छोरी वादीको हक हुन आएको देखिन्छ । वादीको आमा काली श्रेष्ठलाई मिति २०१४।२।२८ मा ईन्द्र वहादुरले गरी दिएको शेषपछिको वकसपत्र पास भएको र सो लिखतमा विवाद परेको नदेखिनुको साथै वेपत्ता भएको गणेशदाशको भाग परसारी भन्ने व्यहोरा समेत उल्लेख भएको देखिंदा तथा भोगवन्धकी लिखतमा जहिले सुकै पनि थैली बुझाउन सक्ने एवं भोगवन्धकी लिखतको आधारमा भोगवन्धकी लिने साहु कहिले पनि सो जग्गाको स्वामी हुन नसक्ने । सर्वमान्य कानूनी सिद्धान्त भएको कारण समेतबाट हदम्यादको आधारमा शुरुको खारेजी फैसला वदर गरी इन्साफ तहकिकात गर्न पठाएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको देखिंदा प्रतिवादीको पुनरावेदन पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमनुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.अरविन्दनाथ आचार्य
इति सम्वत् २०५३ साल असोज २ गते रोज ४ शुभम् ................................ ।