निर्णय नं. ६३१६ - मोही कायम

निर्णय नं. ६३१६ ने.का.प. २०५४ अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
सम्वत २०५२ सालको दे.पु.नं. .. ३०५७
फैसला मितिः २०५३।५।११।३
मुद्दाः- मोही कायम ।
पुनरावेदक
प्रतिवादीः वारा जिल्ला गंज भवानीपुर गा.वि.स. वडा नं. १ वस्ने शारदाशंकर प्रसाद कलवार ।
विरुद्ध
विपक्षी
वादीः ऐ.ऐ. वडा नं. २ वस्ने सुकदेव राय यादव ।
· जग्गा धनीलाई मोहियानी हक छाडी भएको मिलापत्र वदर नभई कायम रहेको स्थितिमा बाली वुझाएको भर्पाइबाट साविक मोहीलाई कुनै प्रभाव नपर्ने ।
· कानून वमोजिमको कवुलियतको अभावमा भर्पाइको आधारमा मात्र मोही कायम गर्न नमिल्ने ।
(प्र.नं. १६)
फैसला
न्या.ओमभक्त श्रेष्ठः पुनरावेदन अदालत हेटौडाको मिति २०५०।११।१२ को फैसला उपर मुद्दा दोहोर्याई पाउँ भनी प्रतिवादीको यस अदालतमा परेको निवेदनमा मुद्दा दोहोर्याउने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः
२. साविक जग्गा धनी भोला साह नाम दर्ताको जिल्ला वारा हरैया गा.पं वडा नं. ८ कि.नं. २७ को ज.वि. ३-१७-० मध्ये पश्चिम तर्फबाट ज.वि. २-८-१० जग्गा मोहीमा रामेश्वर लेखिए पनि निजले इन्कार गरेकोले साविक जग्गा धनीले मलाई मोहीमा जोत्न दिई २०३४ साल देखि जोती साल सालको वाली जग्गा धनीलाई वुझाई भरपाई लिई आएको छु मेरो नाममा मोही कायम गरी पाउँ भन्ने वादी दावी ।
३. वादीले दावी गरेको जग्गाको मोही रामेश्वर हुन भन्ने वादी लेखबाट प्रष्टै देखिन्छ । दर्तावाला मोहीको मोही हक समाप्त भएको छैन । दर्तावाला मोही परलोक भएपछि निजको छोरालाई भूमि सम्वन्धी ऐन, २०३१ को दफा २६(१) वमोजिम जोगेन्द्रलाई मोही पत्याई जोत्न दिएकोमा २०४५।२।१६ मा मोही छोडेको छ । २०३४ साल देखि वादीले दावीको जग्गा जोती आएको भन्ने दावी निराधार हुँदा खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र
४. वादीले दावीको जग्गा मोहीमा जोती वाली वुझाई आफ्नो कर्तव्य गरी आएको भन्ने देखिंदा दावीको जग्गा वादीको नाममा भूमि सम्वन्धी ऐन, २०२१ को दफा २५(२) वमोजिम मोही कायम हुने ठहर्छ भन्ने मसेत भूमि सुधार कार्यालय वाराको फैसला ।
५. शुरुको फैसलामा कानूनी त्रुटि हुँदा वदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको नारायणी अञ्चल अदालतमा परेको पुनरावेदन पत्र ।
६. अ.वं. २०२ नं. वमोजिम विपक्षीलाई झिकाउनु भन्ने नारायणी अञ्चल अदालतको आदेश ।
७. मोहीको मोहियानी हक छाडी २०४५।२।१६ मा वारा जिल्ला अदालतमा मिलापत्र गरेको सो मिलापत्र उपर वादीले उजुर गरी वदर गराउन नसकी अन्तिम अभिलेखको रुपमा रहेको देखिएकोले वादी सुकदेव कानु मोही देखिन नआएकोले मोही कायम गरी पाउँ भन्ने वादी दावी पुग्न सक्तैन भन्ने नारायणी अञ्चल अदालतको फैसला ।
८. वारा जिल्ला अदालतको मिलापत्रले हाम्रो मोहियानी हकलाई विस्थापित गरेको स्थिति छैन र जोगेन्द्रलाई मोहियानी हक स्थापित पनि गरेको छैन । यस स्थितिमा वारा जिल्ला अदालतको मिलापत्र वदर गराउन नसकेको भनी मुद्दा चली सो मिलापत्र हुनु भन्दा पछि भूमि सुधार कार्यालयले मोहियानी कायम गर्दै फैसला गरेको स्थितिमा अर्थको अनर्थ लगाई भनाई हराई गरिएको नारायणी अञ्चल अदालतको फैसला त्रुटिपूर्ण भएकोले वदर गरी मेरो निवेदन अनुरुप इन्साफ पाउँ भन्ने वादीको मध्यमान्चल क्षेत्रिय अदालतमा परेको पुनरावेदन ।
९. मोहीले प्रस्तुत गरेको भपाईमा लागेको सहिछाप जग्गा धनीले आफ्नो होइन भनी यस जग्गाको मोही रामेश्वर साह कलवार भन्ने शिर व्यहोरा समेत ठीक हो भनेको परिप्रेक्ष्यमा जग्गा धनीले गरेको वयानको साथै यसै लगाउको दे.पु.नं. १९०३ को मुद्दाको आजै यसै अदालतबाट भएको आदेश समेतको आधारमा अ.वं. २०२ नं. वमोजिम छलफलको लागि विपक्षी झिकाउनु भन्ने पुनरावेदन अदालत हेटौडाको आदेश ।
१०. मोहीले पेश गरेको भरपाईमा लागेको सहिछापहरुलाई स्वीकार गरी वयान गरेका समेत कारणले वादी दावीको जग्गाको मोही देखिन आई दावी वमोजिम मोही कायम गरी दिनु पर्ने देखिदा मोही कायम नहुने ठहर्याएको नारायणी अञ्चल अदालतको फैसला मिलेको नहुँदा उल्टी हुन्छ । दावीका जग्गामा वादीलाई मोही कायम हुने ठहराएको शुरु भूमि सुधार कार्यालय वाराको इन्साफ मनासिव ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौडाको मिति २०५०।११।१२ को फैसला ।
११. विवादित जग्गाको मोही रामेश्वरको मृत्यु पछि निजको छोरा जोगेन्द्र साहलाई मोही मत्याई निजले नै जग्गा कमाई आएकोमा निजले जग विगारेकोले निज उपर दायर गरेको माही निस्कासन मुद्दामा २०४५।२।१६ मा मोही हक छोडी मिलापत्र भएकोमा सो मिलापत्र उपर वादीले उजुर नगरी स्वीकार गरेको र भूमि सम्वन्धी ऐन, २०२१ को दफा २५ अनुसार मोही कयम हुन दफा ३४(१) अनुसारको कार्यविधि पूरा भए मात्र दफा २५(२) अनुसार मोही कायम हुन सक्छ भन्ने सिद्धान्त समेत प्रतिपादित भएकोमा दफा ३४(१) वमोजिमको प्रकृया पूरा नै नभएको अवस्थामा प्रमाण नलाग्ने २०३६।१०।५ र ०४४।७।१५ को भरपाईको आधारमा दोहोरो मोही कायम हुन नसक्नेमा मोही कायम हुने ठहर गरेको भूमि सुधार कार्यालय वाराको फैसला र सोलाई मनासिव ठहर गरेको पुनरावेदन अदालत हेटौडाको फैसला त्रुटिपूर्ण भएकोले मुद्दा दोहोर्याई उक्त फैसलाहरु वदर गरी नारायणी अञ्चल अदालतको फैसला कायम गरी पाउँ भन्ने समेत प्रतिवादीको यस अदालतमा परेको निवेदन ।
१२. यसमा मोहीको लगत कायम रहेसम्म अरुलाई कवुलियत गरी दिई वालीको भरपाईको आधारमा मोही कायम गरी दोहोरो मोही कायम भएको देखिन आएकोले दोहोरो मोही कायम हुन नसक्ने कानूनी व्यवस्था तथा यस अदालतको नि.नं २८७९, ने.का.प.. २०४३, पृष्ठ संख्या ९९५ र नि.नं ३४४८, ने.का.प. २०४५, पृष्ठ संख्या ४३२ मा प्रतिपादित नजिर सिद्धान्त समेतको प्रतिकूल देखिदा पुनरावेदन अदालत हेटौडाको फैसालमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) को त्रुटि विद्यमान देखिदा मुद्दा दोहोर्याउने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको आदेश ।
१३. नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीको तर्फबाट विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपानेले विवादित कि.नं. २७ को साविक मोही रामेश्वर कलवारको मृत्यु पछि निजको छोरा जोगेन्द्रलाई मोही पत्याई निजले जग्गा कमाई अएकोमा निज उपर मोही निस्कासन मुद्दा परी निजले मोही हक छाडी मिति २०४५।२।१६ मा मिलापत्र भएको छ । मिलापत्र उपर विपक्षीले दावी नगरी स्वीकार गरेको छन् । जोगेन्द्र मोही भई मोही लगत कायम रहेसम्म अरुलाई कवुलियत गरी दिई वालीको भपाईको आधारमा दोहोरो मोही कायम हुन सक्ने हुँदा मोही कायम गरेको शुरु भूमि सुधार कार्यालयको निर्णय सदर गरेको पुनरावेदन अदालत हेटौडाको फैसला नमिलेकोले सो फैसला उल्टी हुनु पर्छ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो । विपक्षी वादीको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी र विद्वान अधिवक्ता श्री मोशेष अव्वासले २०३०।११।२१ को वारा जिल्ला अदालतको फैसलाले विवादीत कि.नं. २७ को जग्गाको मोही रामेश्वरलाई कायम गरेको छ । २०४५।२।१६ को मिलापत्रबाट रामेश्वरको छोरा जोगेन्द्रले मोही हक छोडेका हुन । मिलापत्र भईसकेकोपछि वादी मोही भएकोले दोहोरो मोही कायम भएको छैन । वादीले पेश गरेको भपाईलाई प्रतिवादीले स्वीकार गरेको छन् । वारा जिल्ला अदालतमा भएको मिलापत्रबाट जोगेन्द्रले मोही हक छोडेकोमा वादीको मोहीयानी हक विस्थापित भएको छैन । तसर्थ वादीको मोहियानी हक कायम गरेको शुरु भूमि सुधार कार्यालयको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौडाको फैसला सदर हुनु पर्छ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।
१४. उपरोक्त वहसहरु समेत सुनी मोही कायम हुने ठहर्याएको शुरु भूमि सुधार कार्यालयले इन्साफ मनासिव ठहर्याएको पुनरावेदन अदालत हेटौडाको इन्साफ मिलेको छ छैन त्यसतर्फ निर्णय दिनु पर्ने हुन आयो ।
१५. विवादीत कि.नं २७ को पश्चिम तर्फबाट ज.वि. २(८(१० जग्गाको मोहीमा रामेश्वर लेखिए पनि निजले इन्कार गरेकोले साविक जग्गा धनीले मलाई जोत्न दिई २०३४ साल देखि जोती साल सालको वाली जग्गा धनीलाई वुझाई लिई आएकोले मेरो नाउँमा मोही कायम गरी पाउँ भन्ने फिराद दावी र वादीले दावी लिएको जग्गा मोही रामेश्वर परलोक भए पछि निजले छोरा जोगेन्द्रलाई मोही पत्याई जोत्न दिएकोमा २०४५।२।१६ मा मिलापत्र गरी मोही हक छोडेकोले निराधार वादी दावी खारेज गरी पाउँ भन्ने प्रतिउत्तर जिकिर भएको प्रसतुत मुद्दामा निर्णय तर्फ विचार गर्दा वारा जिल्ला अदालतको मिति २०३०।११।२१ को अन्तिम फैसलाबाट विवादको कि.नं. २७ को जग्गामा रामेश्वर प्रसाद कलवार मोही कायम भई निजको मृत्यु पछि जग्गावालाले निजको छोरा जोगेन्द्र साह कलवारालाई मोही पत्यार्य जोगेन्द्रले जग्गा कमाई आईरहेकोमा मोही निस्कासन गरी पाउँ भन्ने मुद्दा परी मोही रामेश्वरको छाृेरा जोगेन्द्रले जग्गा धनीलाई मोही हक छोडी मिति २०४५।२।१६ मा वारा जिल्ला अदालतबाट मिलापत्र भएको देखिएको छ । जोगेन्द्रले सो जग्गाको मोही हक छोडी २०४५।२।१६ मा मिलापत्र भएको देखिएको छ । जोगेन्द्रले सो जग्गाको मोही हक छोडी २०४५।२।१६ मा मिलापत्र गर्नु भन्दा अगावै २०३४ साल देखि जोती वाली वुझाइ भरपाई लिएको आधारमा मोही हकमा दावी गरेको देखिन्छ । उक्त समयमा विवादीत जग्गामा दर्तावाला मोही कायम भईरहेको देखिन आएको छ । मोहीले कमाई आएको जग्गामा मोही सम्वन्धी निजको हक निजपछि निजको पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भनी भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) मा उल्लेख गरेको देखिएबाट दर्तावाला मोहीको मृत्यु पछि निजको पति पत्नी वा छोराहरु मध्ये एकलाई जग्गावालाले विविधवत रुपमा मोही रोजेपछि मात्र त्यस्तो जग्गामा रोजिएको व्यक्तिको मोही हक स्थापित हुन सक्ने र सो अवस्था वाहेक दर्तावाला मोही भएको जग्गामा अन्य अवस्थाबाट मोही हक कयम हुन सक्ने र साविक दर्तावाला मोहीलाई कुनै असर पर्ने समेत देखिदैन । साथै जग्गावालाको र मोहीको वीचमा कानून वमोजिमको कवुलियत भएको भन्ने पनि देखिन आएन ।
१६. तसर्थ मिति २०३०।११।२१ को वारा जिल्ला अदालतको अन्तिम फैसलाबाट मोही रामेश्वर प्रसाद कलवार मोही कायम गरेको अवस्थामा मिति २०४५।२।१६ को वारा जिल्ला अदालतमा रामेश्वर प्रसाद कलवारको छोरा जोगैन्द्र साह कलवारले जग्गा धनीलाई मोहियानी हक छाडी भएको मिलापत्र वदर नभई कायम रहेको स्थितिमा बाली वुझाएको भर्पाइबाट साविक मोहीलाई कुनै प्रभाव नपर्ने र कानून वमोजिमको कवुलियतको अभावमा भर्पाइको आधारमा मात्र मोही कायम गर्न नमिल्ने हुँदा मोही हक कायम गरी पाउँ भन्ने वादी दावी नपुग्ने ठहर्छ । पुनरावेदन अदालत हेटौडाको शुरुको सदर र नारायणी अञ्चल अदालतको उल्टी गरी मोही कायम गर्ने गरेको इन्साफ नमिलेकोले उल्टी हुन्छ । पुनरावेदन अदालत हेटौडाको मिति २०५०।११।२२ र शुरु भूमि सुधार कार्यालय वाराको मिति २०४६।३।१ को फैसला समेतले राख्ने गरेको लगत कट्टा गरी दिनु भनी शुरु भूमि सुधार कार्यालय वारामा लेखि पठाई मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. उदयराज उपाध्याय
इति संवत २०५३ साल भदौ ११ गते रोज ३ शुभम..।