शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६३१८ - लुटपीट ।

भाग: ३९ साल: २०५४ महिना: जेष्ठ अंक:

निर्णय नं. ६३१८     ने.का.प. २०५४      अङ्क २

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री केदार नाथ आचार्य

सम्वत २०५१ सालको फौ.पु.नं. ... ८५५

फैसला मितिः २०५३।१०।२२।३

 

मुद्दाः लुटपीट ।

पुनरावेदक

वादीः  रामेछाप जिल्ला भटौलिया गा.वि.स. वडा नं.५ वस्ने  पुष्पराज प्रसाई

विरुद्ध

विपक्षी

प्रतिवादीः जि. रामेछाप पकरवास गा.वि.स. वार्ड नं. ५ बस्ने सिद्धिमान तामाङ समेत जम्मा ५।

 

§  अ.वं. १३९ नं. वमोजिम वुझिएका वादीका छोरा दिवाकर प्रसाईले प्रतिउत्तर जिकिर समर्थित हुने गरी वकपत्र गरेको समेत देखिंदा एकासगोलका अंशियारको नाममा दर्ता रहेको जग्गाको वाली अर्का अंशियारले जन ज्यामी लगाई काटी भांची ल्याएको क्रिया मुलुकी ऐन लुटपिटको १ नं. को परिभाषा भित्र नपर्ने ।

§  सगोलको जग्गामा सगोलकै अंशियारले बाली लुटने प्रश्न नै उठन नसक्ने ।      

(प्र.नं. ११)

पुनरावेदक तर्फबाटः

प्रतिवादी तर्फबाटः

अविलम्वित नजिरः

 

फैसला

            न्या.ओमभक्त श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालत समक्ष पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त व्यहोरा एवं तथ्थ यस प्रकार छ ।

            २.    मेरो हक भोगको भटौलिया गा.वि.स.वार्ड नं. ६(ख) कि.नं. १८६ को क्षे. ९(१३(२(२ को जग्गा मकै वाली छरी गोडी पाकि तयार भएकोमा मिति ०४८।३।१० विहान १० वजे देखि ५.०० बजे सम्म विपक्षीहरु समेत नचिनेको ३० जना खेतमा ल्याई जर्वजस्ती मकै भारी १५० ढोड भारी १०० लुटी लगेकेमा सो को हुने मोल रु.१५०००। विपक्षीहरुबाट दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।

            ३.    विपक्षको छोरा दिवाकार प्रसादल मिति ०४८।३।१० मा  मेरो मकै भाच्नू छ खेतमा आई दिन पर्यो भनी हामी प्र. मध्येको शम्भु बहादुर तामाङ वाहेक ४ जना हामी लगायत अरु खेताला समेत भै मकै भांची दिवाकरले भने बमोजिम विपक्षीकै घरमा लगेको हो । ०४८।३।९ गते सिन्धूली गई ०४८।३।११ गते घर आएको हुँदा हामीले लुटपीट गरेकै छैन भन्ने समेत व्यहोराको शम्भु तामाङ सहितको एउटै प्रतिउत्तर पत्र ।

            ४.    प्रतिवादीले वादी दावीलाई स्वीकार गरी प्रतिउत्तर फिराई तारेख गुजारी बसेकोले वादी दावी बमोजि प्रतवादीहरुले लुटपीट गरेको ठहर्छ भन्ने समेत व्यहोराको मिति ०४९।१।११ गतेको रामेछाप जि.अ. को फैसला ।

            ५.    शुरु रामेछाप जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी प्रतिउत्तर जिकिर बमोजिम गरी पाउँ भन्ने प्रतिवादीहरुको पुनरावेदन अदालत जनकपुरमा परेको पुनरावेदनप पत्र ।

            ६.    यसमा दिवाकर प्रसादको बतन पुनरावेदकबाट खुलाई अ.वं..१३९ नं. बमोजिम दिवाकर प्रसाई बुझ्न र छलफलको निमित्त अ.ब.ं २०२ नं. बमोजिम विपक्ष समेत झिकाई नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको मिति ०४९।११।५ को पुनरावेदन अदालत जनकपुरको आदेश ।

            ७.    प्रत्यर्थी वादी पुषराम मेरो एक सगोलका आफ्नै पिता हुनहुन्छ । कि.नं. १८६ को जग्गामा पिता म र आमा समेत मिलि लगाई वाली पुनरावेदक लगायत अन्य व्यक्ति समेत लाई ज्याला जनही रु ३० दिई मकै भांच्न लागाई संगोल घरमा लगी पिता वादी समेतले उक्त मकै खाएको हो । पुनरावेदकहरुले लुटपीट गरेको छैनन भन्ने समेत व्यहोराको अ.वं. १३९ नं. बमोजिम बुझिएका दिवाकर प्रसाईको मिति ०५०।२।२९ को वयान कागज ।

            ८.    एक सगोलका अंशियारको नाममा दर्ता रहेको जग्गाको वाली अर्का अंशियारले जना ज्यामी लगाई काटी भाँची ल्याएको क्रियालाई लुटपिटको संज्ञा दिन नमिल्ने र निज दिवाकर प्रसाईलाई प्रतिवादी समेत नबनाएको र अंश नपाएसम्म वेगल भिन्न बसेको भन्न पनि नमिल्ने हुदा वादी दावी बमोजिम लुटपीट ठहर्‍याएको शुरुको इन्साफ उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत जनकपुरको मिति ०५०।१०।५ को फैसला ।

            ९.    मेरो एकलौटी हक भोगको कसैको पनि हक नलाग्ने जि. रामेछाप भटौलिया गा.वि.स वार्ड नं.६(ख) कि..नं.. १८६ को क्षे.९(१३(२(२ को जग्गामा मैले २०४८ सालमा लागएको मकै वाली विपक्षी प्रतिवादीहरुले लुटपीट गरी लगेको कुरामा स्वयं प्रतिवादी जिकीरमा समेत खण्डन गर्न नसकी स्वीकार गरेको अवस्थामा म सँग व्यक्तिगत रुपमा रीसइवी सांध्ने नियत लिने र अंश भागमा बकसपत्र भित्रका जग्गा वण्डा गर्न नमानेको र वण्डा नहुने भनी निर्णय भएकोले अवस्थाम सोही रीसइवी सांध्ने नियत राखि प्रतिवादीहरुकै समर्थन गर्ने व्यक्ति दिवाकर प्रसाईलाई झिकी वुझी मेरा विरुद्धमा दिएको वयानलाई मात्र आधार लिई वुझन पर्ने प्रमाण नवुझी प्रमाण ऐन, २०३१ को प्रतिकूल तथा सर्वोच्च अदालतबाट प्रतिपादित नजीरको विपरीतको पुनरावेदन अदालत जनकपुरको फैसला बदर गरी शुरु फिराद माग दावी बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदक वादी पुष्पराज प्रसाईको यस अदालत समक्ष पर्न आएको पुनरावेदन ।

            १०.    नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी विचार गर्दा मेरो हक भोगको भटौलिया गा.वि.स. वार्ड नं. ६(ख) कि.नं. १८६ को जग्गामा लगाएको मकै वाली मिति ०४८।३।१० गते १० देखि ५:०० बजे सम्म विपक्षीहरुले नचिनेका ३० जना खेतमा ल्इाई जर्वजस्ती मकै र ढोड समेत जम्मा रु.१५०००। को लुटी लगेकोले विपक्षीहरुबाट दिलाई भराई पाउँ भन्ने वादी दावी भएकोमा विपक्षीका छोरा दिवाकर प्रसाईले मेरो मकै भाँच्नु छ खेतमा आई दिनु पर्यो भनी हामी प्रतिवादी मध्यको शम्भु बहादुर तामाङ वाहेक ४ जना हामी लगायत अरु खेताला समेत भै मकै भांची दिवाकरले भने बमोजिम विपक्षीकै घरमा लागेका छौ हामीले लुटपीट गरेको छनौं भन्ने प्रतिउत्तर जिकिर भएकोमा वादी दावी बमोजिम प्रतिवादीहरुले लुटपीट गरेको ठहर्‍याई भएको शुरु रामेछाप जिल्ला अदालतको त्रुटिपूर्ण फैसला उल्टी गरीवादी दावी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत जनकपुरको फैसला मिलेको छ छैन ? सोही कुराको निर्र्णय दिनु पर्ने हुन आयो ।

            ११.    निर्णय तर्फ विचार गर्दा अ.वं. १३९ नं. बमोजिम बुभिएका वादीका छोरा दिवाकर प्रसाईले प्रतिउत्तर जिकिर समर्थित हुने गरी बकपत्र गरेको समेत देखिंदा एक संगोलका अंशियारको नाममा दर्ता रहेको जग्गाको वाली अर्का अंशियारले जन ज्यामी लगाईकाटी भांची ल्याएको क्रिया मुलुकी ऐन लुटपीटको १ नं.को परिभाषा भित्र नपर्ने र ऐ. को ४ नं.मा अर्काको वाली लुटपीट गर्नेलाई मात्र सजायको व्यवस्था गरको देखिंदा संगोलको जग्गामा सगोलकै अंशियारले वाली लुट्ने प्रश्न  नै  नउठ्ने  भएकोले शुरुले लुटपिट ठहर्‍याएको इन्साफ उल्टी गरी वादी दावी नपुग्ने ठहर्‍याई भएको पुनरावेदन अदालत जनकपुरको फैसला मिलेकै देखिंदा पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरि बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.केदारनाथ आचार्य

 

इति संम्वत २०५३ साल माघ २२ गते रोज ३ शुभम्.....।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु