निर्णय नं. ६३२० - अंश

निर्णय नं. ६३२० ने.का.प. २०५४ अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
सम्वत् २०५१ सालको दे.पु.नं............३५८९
निर्णय मितिः ०५३।२।२८
मुद्दाः अंश ।
पुनरावेदक
वादीः का.जि.का.न.पा. वडा नं. २७ घर भई वडा नं. ३ लाजिम्पाट वस्ने हिरा शोभा कंसाकार ।
विरुद्ध
विपक्षी
प्रर्तेवादीः का.जि.का.न.पा. वडा नं. २७ घर भई ऐ.ऐ. वडा नं. २९ ठमेल वस्ने ज्ञानशोभा कंसाकारको मुद्दा सकार गर्ने ज्ञान ज्योति कंसाकार ।
§ दिदी वहिनी बीच चलेको अंशवण्डा मुद्दामा अंशवण्डा भई छुट्टी भिन्न वसेको दाजुले अंश मुद्दँ सकार गर्न पाउने कानूनी व्यवस्था रहेको नदेखिने ।
§ विवादित सम्पत्तिमा हक पुग्ने दैयादारले मात्र मुद्दा सकार गर्न पाउने ।
§ प्रस्तुत मुद्दामा दिदी वहिनी बीच चलेका अंश मुद्दामा पहिले नै अंशवण्डा भई भिन्न वसेको दाजुले मुद्दा सकार गर्न प्रचलित कानूनले व्यवस्था गरेको नदेखिएको साथै यस सर्वोच्च अदालतबाट प्रतिपादित नजिरहरु समेत विपरित पुनरावेदन अदालत ललितपुरबाट वादीको मु.स. गर्ने ज्ञान ज्योति कायम गरेको वदर हुन्छ । वादी ज्ञान शोभाको मृत्यु भै सकेको हुँदा ज्ञानशोभाको मृत्यु पश्चात एक अंशियार मात्र वांकी रहेकोमा पुनरावेदन अदालत ललितपुरबाट दुई भागको एक भाग अंश दिलाउने गरेको फैसला गल्ती भई उल्टी हुने ।
(प्र.नं. ८)
पुनरावेदक तर्फबाटः
प्रतिवादी तर्फबाटः
अवलम्वित नजिरः
फैसला
न्या.उदयराज उपाध्यायः पुनरावेदन अदालत ललितपुरवाट मिति २०५०।८।२२ मा भएको फैसला उपर पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं निर्णय यस प्रकार छः
२. वावु भाजु रत्नको २ पत्नीमा जेठी ज्ञान मायाबाट जेठी ज्ञान प्रभा माइली लक्ष्मी प्रभा, साइली लक्ष्मी हेरा तथा कान्छो छोरा मणि हर्ष ज्योति तथा कान्छि पत्नी ज्ञान मायावाट ज्ञानज्योत, म ज्ञानशोभा प्रतिवादी हिरा शोभा तथा कान्छा छोरा देवजोति ४ जनाको जाय जन्म भै जेठी ज्ञान मायाको १९७३ सालमा कान्छि (आमा) को २०२५।११।८ मा र बाबुको ०१३ सालमा स्वर्गारोहण भयो । आमा ज्ञानमायाको जिवनकालमा दाजु भाई दिदी वहिनी संगोलमा वसि आएकोमा तिन जना दाजु भाइले विदेशमा रहेको चल अञ्चल अंश लिई नेपालमा रहेको चल अचल साहु असामी विवाह खर्च वा अंश छोरीहरुलाई दिनुपर्ने भए दिने शर्तमा अंश छोडपत्रको लिखत गरि मिति २०१७।१२।२३।४ मा रजिष्टेशन समेत भयो । आमाको शेष पछि म फिरादी दाजु ज्ञान ज्योतिको घरमा र प्रतिवादी भाई देव ज्योति को घरमा वसि आएको हामी वाहेक आमाको नामको सम्पत्ति खान अरु हकदार कोही छैन । ०२१।१२।३० को वण्डापत्र बमोजिम आमाका अंश भागमा परेको विभिन्न जग्गा प्रतिवादीले आमाको एकभाग हकदार छोरी भनी नाता प्रमाणित गराई मालपोत कार्यालयको ०४६।२।२० का निर्णयले आफ्नो नाममा नामसारी गरि प्रमाण पुर्जा समेत प्राप्त गरेको जानकारी ०४७।४।२६ मा निर्णयको नक्कल लिंदा थाहा भयो । वरावर हकदार भएको मलाई अंशियारको विवरणवाट हटाई नाता प्रमाणित जालसाजी गरेतर्फ विपक्षी उपर छुट्टै जालसाजी मुद्दा दायर गरेको छु तसर्थ आमा ज्ञानमाया कंसाकारको अंशभागमा ०२१।१२।३० को वण्डापत्रवाट परेको प्रतिवादीको नाममा दर्ता गराएको घर तथा जग्गा समेतको संपतिको फांटवारी घरको मुख्य काम काज हेर्ने वहिनी प्रतिवादीवाट लिई २ भागको एक भाग अंश दिलाई दर्ता समेत गरि पाउँ भन्ने व्यहोराको फिराद दावी ।
३. अंशवण्डाको १ नं. ले बाबु, आमा, स्वास्नी, छोराहरु विच मात्र अंश वण्डा हुने कानूनी प्रावधान छ । सो व्यवस्था म उपर आकर्षित हुन सक्दैन, मैले वादीलाई अंश दिन पर्ने र म उपर अंश मुद्दा दायर हुन सक्ने अवस्था छैन । वादी ०२१ सालवाट आमा तथा म सँग छुट्टी अलग वसि आएको हो मैले आमाको स्याहार सुसार गरि आएकोले आमाको अपुताली मैले पाउने हो । हकदैया विहिन फिराद खारेज गरी पाउँ भन्ने व्यहोराको प्रतिउत्तर जिकिर ।
४. मिसिल संलग्न रहेको अंशको फांटवारी वमोजिम संपति आफ्नो अंश हक वादीको देखिन आएकोले दावी वमोजिम फांटवारी बमोजिमको सम्पत्तिमा २ भागको एक भाग वादीले पाउने ठहर्छ भन्ने समेत ०४८।११।१२ को काठमाडौं जिल्ला अदालतको फैसला ।
५. अपुताली अन्तर्गत आमाको संपति मैले हकवालाको हैसियतले पाउने अवस्थामा दावी बमोजिम अंश दिलाउने गरि काठमाडौं जिल्ला अदालतको फैसला अ.वं. १८४ क, १८५ नं. समेतको प्रतिकूल भएकोले उक्त फैसला वदर गरि प्रतिउत्तर जिकिर वमोजिम गरि पाउँ भनी प्रतिवादीले यस अदालतमका दिएको पुनरावेदन पत्र ।
६. लगाउको लिखत वदर मुद्दामा विपक्षी झिकाउने आदेश भएकोले प्रस्तुत मुद्दामा पनि अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाउनु भन्ने समेतको ०५०।२।३।१ को पुनरावेदन अदालत पाटनको आदेश ।
७. मुलुकी ऐन अंशवण्डाको १६ नं. ले अविवाहिता छोरीले पूरा अंश पाउन सक्ने कानूनी व्यवस्था देखिएको सो अंश वादीले लिई सकेको सवुत प्रमाण प्रतिवादीले पेश गर्न नसकेकोले दाखिल भएको तायदाती फांटवारीको सम्पति र २ भागको एक भाग वादीले अंश पाउने ठहराएको सुरुको इन्साफ मिलेको देखिंदा सदर हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत ललितपुरवाट भएको फैसला ।
८. पुनरावेदन अदालतले जिल्ला अदालतको फैसला सदर हुने गरि गरेको फैसलामा कानूनको व्याख्याको गम्भिर त्रुटि भएको, स.अ.वाट प्रतिपादित नजिरको अवलम्वन नगरी पुनरावेदन अदालत पाटनवाट भएको मिति २०५०।८।२२ गतेको फैसला प्रचलित कानून विपरित भएको हुँदा प्रस्तुत मुद्दा दोहोर्याई हेरी उपरोक्त फैसला वदर गरि मेरो दावा वमोजिम गरी न्याय इन्साफ पाउँ भन्ने समेत प्रतिवादी हिराशोभा कंसाकारको यस अदालतमा पर्न आएको निवेदन पत्र।
९. यसमा संगोलमा वसेको आमा र वहिनीको मृत्यु पश्चात आमासँग संगोलमा वसेको अर्को वहिनीले अंश नपाई छुट्टी भिन्न वसेको दाजुले अंश पाउने भन्ने कुरा कानून सँगत नदेखिंदा वहिनी निवेदिका हिराशोभाले दुइ भागको एक भाग मात्र अंश पाउने ठहराएको पुनरावेदन अदालत पाटनको इन्साफमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) को अवस्था विद्यमान रहेको देखिंदा दोहर्याउने निस्सा प्रदान गरिएको छ विपक्षी झिकाइ आएपछि पेश गर्नु भन्ने समेत यस सर्वोच्च अदालत संयुक्त इजलासवाट मिति २०५२।११।१४ मा भएको आदेश ।
१०. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भएको प्रस्तुत पुनरावेदक तर्फवाट रहनु भएको विद्धान वरिष्ट अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारीले छोरी छोरी अंशियार हुदैनन् । अंशवण्डाको १६ नं.ले छोरी ३५ वर्ष पूरा भएपछि छोरा सरह हुन्छे प्रस्तुत मुद्दामा आमाको सम्पतिको लागि दिदी वहिनी विच चलेको अंश मुद्दामा वादीको मृत्यु भएपछि छुट्टी भिन्न वसेको दाजुले सकार गरेको कार्य कानून विपरित छ तसर्थ पुनरावेदन अदालतको इन्साफ उल्टी वदर हुनु पर्दछ भन्ने र विपक्षीतर्फवाट विद्धान वरिष्ट अधिवक्रा श्री मुकुन्द रेग्मी र विद्धान अधिवक्ता श्री कमल नारायण लाल दासले पुनरावेदन अदालतवाट भएको इन्साफ कानून बमोजिम हुँदा सोही सदर हुनुपर्दछ भनी गर्नु भएको वहस सुनियो ।
११. यसमा निर्णयतर्फ हेर्दा, पिता भाजुरत्नको कान्छी श्रीमती ज्ञानमायावाट हामी वादी, प्रतिवादी र छोराहरु ज्ञान ज्योति, देव ज्योती जायजन्म भएकोमा पिताज्यु, २०१३ सालमा परलोक हुनु भयो आमा, छोराहरु विच २०१७ सालमा अंशवण्डा भई २०२५ सालमा आमा परलोक हुनु भइ हाम्रा अंशवण्डा भएको छैन दुईभागको एक भाग अंश पाउँ भन्ने फिराद दावी र अंश दिनु पर्ने कुनै सम्पति नभएको भन्ने प्रतिउत्तर जिकीर भई काठमाडौं जिल्ला अदालतवाट फैसला भई उक्त फैसला उपर पुनरावेदन अदालत ललितपुरमा पुनरावेदन परि मुद्दा चली रहेको अवस्थामा वादी ज्ञानशोभा कंसाकारको स्वर्गवास भई स्वर्गीय वादीको तर्फवाट वादी प्रतिवादीको दाजु ज्ञानज्योति कंसाकारले मुद्दा सकार गर्नु भएको देखिन्छ । अदालती वन्दोवस्तको ६२(३) मा मृत्यु भएको मितिले वाटाको म्याद वाहेक ३५ दिन भित्रै मृतकको दैयादारले मुद्दा सकार गर्न पाउने व्यवस्था रहेको छ । प्रस्तुत मुद्दामा वादीको मृत्यु भएकोले निज वादी ज्ञानशोभाका दाजु ज्ञानज्योतिे यो मुद्दा सकार गरी पुनरावेदन अदालतवाट पनि इन्साफ भएको देखिन्छ । तर मृतक वादीकै फिराद लेखाईमा आमा छोराहरु विच २०१७ सालमा अंशवण्डा भई २०२५ सालमा आमा परलोक हुनु भयो
भनी उल्लेख गरेको देखिन्छ । यसरी दिदी वहिनी वीच चलेको अंशवण्डा मुद्दामा अंशवण्डा भई छुट्टी भिन्न वसेको दाजुले अंश मुद्दा सकार गर्न पाउने कानूनी व्यवस्था रहेको देखिदैन । यस सम्वन्धमा यस सर्वोच्च अदालतवाट प्रतिपादित सिद्धान्तहरु हेर्दा ने.का.प. २०४३, पृ ९६६ मा मोतीको मु.स. गर्ने लाल विरुध्द लिला कुमारीको मुद्दामा मोहीको भाइलाई मोहियानि हक प्राप्त हुन नसक्ने हुँदा मोही मरेपछि भाईले मुद्दा सकार गर्न हकदैया पुग्र्दैन भने र ने.का.प. २०४४, पृ ५४२ मा जसोदाको मु.स. गर्ने वावु देइ वनैनी विरुध्द राम प्रसाद भएको मुद्दामा विवाहित नन्दले भाउजुको अंश मुद्दा सकार गर्न पाउदैन भन्ने सिद्धान्त प्रतिपादन भएको देखिन्छ । यसवाट विवादित सम्पत्तिमा हक पुग्ने दैयादारले मात्र मुद्दा सकार गर्न पाउने हो तसर्थ प्रस्तुत मुद्दामा दिदी वहिनी वीच चलेको अंश मुद्दामा पहिलेनै अंशवण्डा भई भिन्न वसेको दाजुले मुद्दा सकार गर्न प्रचलित कानूनले व्यवस्था गरेको नदेखिएको साथै यस सर्वोच्च अदालतवाट प्रतिपादिति नजिरहरु समेत विपरित पुनरावेदन अदालत ललितपुरवाट वादीको मु.स. गर्ने ज्ञानज्योति कायम गरेको वदर हुन्छ । वादी ज्ञानशोभाको मृत्यु भै सकेको हुँदा ज्ञानशोभाको मृत्यु पश्चात एक अंशियार मात्र वांकी रहेकोमाक् पुनरावेदन अदालत ललितपुरवाट र्दूइभागको एक भाग अंश दिलाउने गरेको फैसला गल्ती भई उल्टी हुन्छ । पुनरावेदन अदालतको इन्साफ उल्टी भएको हुँदा शुरु इन्साफ सदर गरी पुनरावेदन अदालत समेतवाट भएको फैसला वमोजिम कायम रहेको लगत समेत कट्टा गरि दिएको छ । अरु नियम वमोजिम गरी मिसिल वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.केशव प्रसाद उपाध्याय
ईति सम्वत् २०५३ साल असार २८ गते रोज ६ शुभम्..........।