निर्णय नं. ६३२१ - कर्तव्य ज्यान

निर्णय नं.- ६३२१ ने.का.प. २०५४ अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
सम्वत २०४९ सालको फौ.पु.नं. ..४६०
फैसला मितिः २०५३।३।२६
मुद्दाः कर्तव्य ज्यान ।
पुनरावेदक
वादीः जिल्ला सिन्धुली दुधौली गा.वि.स. वडा नं. ९ वस्ने होमना अधिकारी समेतको जाहेरीले श्री ५ को सरकार.
बिरुद्ध
विपक्षी
प्रतिवादीः जि. सिन्धुली दुधौली गा.वि.स. वार्ड नं. ९ वस्ने श्री लाल अधिकारी दनुवार समेत जम्मा ८
§ सरकार वादी हुने फौज्दारी मुद्दामा अदालतको अधिनमा मुद्दा गै सकेपछि अदालतको आदेश वेगर प्रहरीले कुनै तहकिकात गर्न पाउने कुनै कानूनी व्यवस्था देखिंदैन । अपराधसँग सम्वद्ध वस्तु बरामद गर्ने कार्य अनुसन्धानको कार्य भए पनि मुद्दा अदालतको अधिनस्थ भै सकेपछि अदालतको आदेश बेगर प्रहरी आफैले मुद्दा दायर हुन अघिको अवस्थामा जस्तो स्वतन्त्र रुपले अनुसन्धान गर्न नमिल्ने ।
§ अदालतको आदेश वेगर अदालतमा मुद्दा दायर भैसकेपछि वन्दुक वरामद भएको भनि प्रहरी तर्फबाट मुचुल्का खडा गरी दुई दिन पछि प्रतिवादी शुक्रा धामीलाई पक्राउ गरेको प्रतिवेदन साथ संलग्न राखी पेश गरेको वरामदी मुचुल्काले कानूनी मान्यता पाउने अवस्था नदेखिने ।
§ आफ्नो घरबाट वन्दुक बरामद भएको होईन, वन्दुक आफ्नो हैन भनि अदालत समक्ष प्र. शुक्रा धामीले वयान गरेको, निजको नाउँमा वन्दुक दर्ता पनि नदेखिएको, निजले वन्दुक लिएर हिडेको देखेको भन्ने कुनै प्रमाण नभएको कानूनी वरामदी मुचुल्का वाहेक अन्य प्रमाणबाट निजले नै बन्दुक प्रहार गरी मृतक वृहस्पतिलाई मारेको हो भन्ने ठोस र शंकारहित प्रमाणको अभाव देखिंदा पुनरावेदन अदालत जनकपुरले निज प्रतिवादी शुक्रा धामीलाई सफाई दिेन गरेको ईन्साफ मिलेको देखिंदा सदर हुने ।
(प्र.नं. ३३)
पुनरावेदन तर्फबाटः
प्रत्यर्थी तर्फबाटः
अवलम्वित नजिरः
फैसला
न्या.लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत, जनकपुरको मिति २०४९।२।८ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९ (१)(ख) र (ग) वमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. मृतक वृहस्पति दनुवार सँग प्र.शुक्रा धामीको पहिला देखि नै रिसइवी थियो । २०४२।११।२८ गते सांझ विपक्षी रोदी, ठुले कासी, जुलुमले वृहस्पतीलाई पखलास् गोली हानी तेरो सन्तानै मारी दिन्छौ भनी धम्की दिएको थियो । २०४२।११।३० गते मृतक वृहस्पतीको पोखरी तर्फ राती ११ वजेतिर वन्दुक पड्क्यो, सो आवाज पछि गुहार भन्ने आइमाईको आवाज सुनेपछि हामी समेत पोखरी तर्फ जांदा मृतक वृहस्पतिलाई गोली लागी मरी सकेको तथा त्यहाँ अपराधी कोहि नभएकोले मृतकलाई प्र.शुक्रा धामीले गोली हानी मारेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको पछरु अधिकारी समेतको जाहेरी दरखास्त ।
३. मिति ०४२।११।३० गते म घरमा राती सुती रहेको अवस्थामा वन्दुक पडकेको भनी छोरा वुहारीले भनेकोले थाहा पाए, मानिस मरेछ हल्ला सुने भोलीपल्ट घटनास्थलमा जांदा लाश देखि मृतक र शुक्रा धामी विच झै झगडा भएको कारण सोही रिस ईवीवाट मृतकलाई शुक्राले गोली हानी मारेको हुनुपर्छै भने समेत व्यहोराको प्रतिवादी अधना मुसहरले प्रहरीमा गरेको वयान।
४. २०४२।११।३० गते सुन्दर लालको छोरीलाई पुर्याउन म समेतको मानिसहरु केटीको घरमा गयो रातको ११ वजे वन्दुकको आवाज आयो भनी साथीहरुले भन्दा थाहा पाए भोलीपल्ट घरमा आउ.दा वाटामा वृहस्पतिलाई रामचन्द्र र शुक्राले गोली हानी मारेको कुरा सुने मैले सहयोग दिई गोली हानिएको छैन निज सुक्राले वन्दुकले गोली हानी मारेको भन्ने समेत व्यहोराका् प्र. कासी भन्ने काशीलाल कुमार दनुवारले प्रहरीमा गरेको वयान ।
५. मिति २०४२।११।३० गते रातको ९ वजेकोसमय तिर गाउकै सुन्दरकै छोरी पुर्याउन म समेतका गाउँले लखनपुरमा गई सोही रातको १२ वजे घर तिर फर्केर आउँदा वाटामा धेरै जना मानिस थिए मृतक र शुक्राको झै झगडा कारणवाट निज शुक्राले नै मृतकलाई गोली हानी मारेको हो म उपरको पोल उजुर झुट्टा हो भन्ने समेत व्यहोराको प्रतिवादी रोदी कुमार दनुवारले प्रहरीमा गरेको वयान कागज ।
६. मिति २०४२।११।३० गते म आफ्नो घरमा थिए रातको १० वजेको समयमा वन्दुक पडक्यो म गईन भोलीपल्ट जांदा मरेको लाश देखे मृतकलाई रिसईवीको कारणवाट शुक्रा धामीले नै मारेको हो भन्ने समेत व्यहोराको प्रतिवादी जुलुम अधिकारीले प्रहरीमा गरेको वयान कागज ।
७. मिति २०४२।११।३० गते रातको अंदाजी ८ वजेतिर म समेतका मानिसहरु मै सुन्दर लालको छोरी पुर्याउन गएका थियो सोही रात घरतिर फर्केर आउँदा घटनास्थलमा मानिसहरु जम्मा भएका रहेछन मृतकलाई शुक्रा धामीले गोली हानी मारेको हो भनी रामचन्द्रले भनेकोले निज शुक्रा धामीले नै मारेको हो भन्ने समेत व्यहोराको प्रतिवादी श्रीलाल अधिकारी दनुवारले प्रहरीमा गरेको वयान ।
८. मिति २०४२।११।३० गते राती वन्दुक पडक्यो म समेतका धेरै जना पोखरी तिर गयो जांदा मृतक मरी सकेको थियो मृतक र शुक्राको रिस इवि भएकोले निज शुक्रालेनै गोली हानी मारेको म उपरको पोल उजुर झुट्टा हो भन्ने समेत व्यहोराको प्रतिवादी जानकी चौधरीले प्रहरीमा गरको वयान कागज ।
९. मिति २०४२।११।३० गते म खडग वहादुरको मिलमा काम गरी वसी रहेको थिए वेलुका शुक्रा धामी म कांहा आई तेरो मित आमा वेरामी छ हिड् भनी म समेत शुक्राको घरमा गयो निज शुक्राले वन्दुक निकाले र घटनास्थल तिर लाग्यो निजको आज्ञा अनुसार मृतक सुतेको छाप्रोमा डल्लोले हानेर छाप्रोमा लागी मृतकले टर्च वाली तलतिर झर्न लाग्दा शुक्राले मृतकलाई वन्दुकले एक फायर गरे म भांगे सो छाप्रोमा मृतक र एकजना आईमाई समेत थियो । मलाई किन पोल गरे मलाई थाहा भएन भन्ने समेत व्यहोराको प्रतिवादी रामचन्द्रले प्रहरीमा गरेको वयान कागज ।
१०. सम्पुर्ण सर्जमिनका मानिसहरुले पक्राउ परेका अभियुक्त र फरार रहेका अभियुक्त समेतको सहयोगवाट शुक्रा धामीले मृतकलाई वन्दुकले गोली हानी मारेको हो भन्ने कुरा प्रष्ट हुन आयो । पक्राउ परेका अभियुक्त अघना मुसहर समेतको सहयोगवाट मृतकलाई वन्दुकले हानी मारेको र मार्न लगाएको देखिएवाट काशीलाल, रोदी, जुलुम, अघना, क्रिलाल सार्की, जानकी तथा फरार रहेका सानो मुल्ला समेतलाई ज्यान सम्वन्धीको १७,३ को माग दावी पक्राउ परेका रामचन्द्र दनुवारले मृतकलई छाप्रोमा डल्लाले हिर्काएको भनी सावित भई वयान गरेकोले निजलाई ज्यान सम्वन्धीको १७,२ वमोजिम सजायको माग दावी फरार रहेका शुक्रा धामीको हकमा मृतकसँग रीसइवी भएको र निजको भरुवा वन्दुक हुँदा सोही वन्दुकले मृतकलाई गोली हानी मारेको भन्ने कुरा प्रष्ट हुन आएकोले निज शुक्रा धामीलाई ज्यान सम्वन्धीको १३(१) वमोजिम सजाय गरी पाउँ भन्ने संयुक्त प्रहरी प्रतिवेदनमा माग दावी ।
११. मिति २०४२।११।३० गते वेलुका अंन्दाजी ८ वजे तिर मेरो वहिनिलाई घर पुर्याउन म समेतका ६०, ६३ जना मानिस लखनपुर आएका थियो घर आउँदा वाटोमा मृतकलाई शुक्रा धामीले मार्यो रे भन्ने सुने मृतकलाई मार्नमा सहयोग गरेको छैन भन्ने प्रतिवादी श्री लाल अधिकारीले अदालतमा गरेको वयान ।
१२. मिति २०४२।११।३० गते म आफ्नो घरमा छु राती ८ वजे गाउकै सुन्दरको छोरी पुर्याउन लखनपुर गएको थिए आउँदा वाटामा प्रहरी र अन्य मानिसहरु भएकोले म पनि वसे तहां अन्य मानिसले भने अनुसार मृतकलाई प्रतिवादी शुक्रा धामीले गोली हानी मारेको हो मैले मार्नमा सहयोग दिएको छैन भन्ने समेत व्यहोराको रोदीले अदालतमा गरेको वयान ।
१३. मिति २०४२।११।३० गते राती म आफ्नै घरमा भएकोले मैले मृतकलाई गोली हानी मारेको हैन शुक्रा धामी र मृतक विच रिस ईवी भएको कारण निज शुक्राले नै मृतकलाइृ गोली हानी मारेको भन्ने कुरा सुनेको हो भन्ने समेत प्रतिवादी जानकी चौधरीले अदालतमा गरेको वयान ।
१४. मिति २०४२।११।३० गते रात म आफ्नो घरमा सुतेको थिए मृतकलाई प्रतिवादी शुक्रा धामीले गोली हानी मारेको भन्ने कुरा सुने मैले कुनै सहयोग दिएको छैन भन्ने समेत प्रतिवादी अघना मुसहरले अदालतमा गरेको वयान ।
१५. मिति २०४२।११।३० गते अंदाजी ९ वजेको समयमा गाउँकै सुन्दरलालको छोरी पुर्याउन लखनपुर गएको थिए सो रात त्यही वसी भोलीपल्ट घर तर्फ आए प्रतिवादी शुक्रा धामीले मृतकलाई रिस इवीको कारणवाट गोली हानी मारेको रे भन्ने कुरा सुने म समेतको सहमतिले मारे मराएको हैन भन्ने समेत प्रतिवादी काशी लालले अदालतमा गरेको वयान ।
१६. मिति २०४२।११।३० गते दिन रात म खड्ग वहादुरको मिलमा काम गर्न लागेको थिए वोरा लिन म शुक्राको घरमाक् गएको थिए त्यसैले शुक्राको साथी हो भनी मलाई पनि प्रहरीले चौकीमा लगेको हो मृतकलाई कसले मारी मलाई थाहा भएन भन्ने समेत प्रतिवादी रामचन्द्रले अदालतमा गरेको वयान ।
१७. मिति २०४२।११।३० राती म आफ्नो घरमा वसेको थिंए मृतक र प्रतिवादी शुक्रा वीच रीसइविको कारण निजले नै मारेको रे भन्ने कुरा मैले सुनेको हो मृतकलाई मार्नमा मेरो सहयोग छैन भन्ने समेत व्यहोराको जुलमा अधिकारीले अदालतमा गरेको वयान ।
१८. मिति २०४२।११।३० गते राती गाउकै सुन्दरलालको छोरी पुर्याउन लखनपुर गएको थिए सो रात वार्दात स्थलमा २ वजेतिर आई पुगेका थियो मृतकलाई प्रतिवादी शुक्रा धामीले वन्दुकले हानी मारेको हो भन्ने कुरा गाउलेले भनेकोले सुनेको हो भन्ने समेत सार्की मुसहरले गरेको वयान ।
१९. फरार रहेको शुक्रा धामी दनुवारलाई निजकै घरमा फेला पारी निजले ज्यान मार्न प्रयोग गरेको भरुवा वन्दुक नाल १ समेत वरामद गरेको ठिक सांचो हो भन्ने २०४३।११।२५ को वरामदी मुचुल्का ।
२०. २०४२।११।२९ गते म जनकपुर तर्फ गएकोले ३० गते म वार्दातमा थिइन ३० गतेको दिन १२ वजे सवेरै पुगे र वेरामी भएको कारण काकाको छोराले अस्पताल पुर्याई दियो र उपचार गरी ऐ चैत्र ३ गते अस्पतालवाट हिडी वन्दीपुर पुग्दा मेरो छोराले तपाईलाई पुलिस खोजी गर्न आएको छ भनी भनेकोले ताहांवाट म मन्त्री हेम वहादुर मल्लको घरमा गै वसे मैले मृतकलाई गोली हानी मारेको छैन रामचन्द्रले किन मेरो नाम पोल गरे निजै जानुन प्रहरीले मलाई पक्राउ गरी दाखिल भएको भरुवा वन्दुक मेरो हैन म सिकार खेल्न र वन्दुक चलाउन पनि जान्दीन मृतकसँग रिसईवी थिएन मलाई नि पोल गरे थाहा छैन भन्ने समेत प्रतिवादी शुक्रा धामीले अदालतमा गरेको वयान ।
२१. मिति २०४२।११।३० गते सांझ ८,९ वजेतिर सुन्दरलालको छोरी पुर्याउन लखनपुर गएको थिए सोही रात घर फर्कदा वाटोमा प्रहरीले लास परेको छ यहाँ आउनु भन्दा गई हामी रात भरी सो लास रुंगी वसी रह्यो मृतकसँग मेरो कुनै रीसइवी थिएन मेरो सहयोगवाट मृतकलाई गोली हानी मारेको छैन गाउँ घरको रीसइवीवाट मेरो उपर पोल गरेको हो भन्ने समेत प्रतिवादी सानो मुल्ला भन्ने रघुनाथले अदालतमा गरेको वयान ।
२२. जाहेरवाला वादी, प्रतिवादीका साथीहरुको वकपत्र मिसिल सामेल रहेको ।
२३. मिति याद भएन प्रतिवादी काशीलाल, रोदी श्रीलाल, सार्कि, मुसहर, अघना मुसहर, सानो मुल्ला, समेतले मृतकलाई तेरो ज्यान खतम पारी कमलामा लास दवाई दिन्छू भनी भनेका थिए त्यसको २ दिन पछाडी मृतक समेत हामी पोखरीमा माछा रुग्न गएका थियो सोही रात अं. ८ वजेको समयमा प्रतिवादी शुक्रा धामीले गोली हानी मेरो श्रीमान वृहस्पतिलाई मार्यो निजलाई सहयोग पुर्याउनमा प्रतिवादी रोदी, श्रीलाल, काशीलाल, सार्कि, अघना सानो मुल्ला समेत थिए भन्ने समेत व्यहोराको प्रहरीमा कागज गर्न उज्री अधिकारी दनुवारले अदालतमा वकेको वकपत्र ।
२४. सर्जमिनका मानिस मध्ये मानमति अधिकारी दनुवार, पकु कुमार दनुवार, जित वहादुर कार्की, विदलाल अधिकारी दनुवारराम वहादुर खत्री, शिवराज राउत, लोक वहादुर खत्री, झुलाल अधिकारी समेत अदालतमा उपस्थित भै आ आफ्नो कुरा वकि लेखि लेखाई दिएका रहेछन् ।
२५. जाहेरवालाहरुले दिएको शुरु जाहेरी दर्खास्त र मृतककि श्रीमतीले मौकैमा गरि दिएको कागजवाट यी मृतकका सँग साथमा रहेको देखिनुको साथै अधिकार प्राप्त अधिकारी समक्ष गरी दिएको कागज अदालतमा गरेको वकपत्रवाट शुक्राधामी दनुवारलाई तत्कालै चिनेको भनी लेखाई दिएको अन्य प्रर्तेवादीहरुलाई चिन्न नसकेको भनी लेखाई दिएको रातीको समयमा माछा रुगी रहेको अवस्था मृतकका सँग साथमा रहेका व्यक्ति वाहेक अन्यले सो अपराधीलाई स्वभाविक देखिनुका साथै प्रर्तेवादी शुक्रा धामी दनुवारको घरवाट वन्दुक समेत वरामद भएको देखिंदा प्रहरी प्रतिवेदन दावी वमोजिम प्र.शुक्रा धामीले गोली हानी कर्तव्य गरी हत्या गरेको देखियो प्रतिवादी शुक्राले प्रहार गरेको गोली लागी मृतकको मृत्यु भएको देखिंदा शुक्रा धामीका हकमा दावी वमोजिम ज्यान सम्वन्धीको १३(१) वमोजिम सर्वस्व सहित जन्म कैद हुने ठहर्छ । प्रतिवादी रामचन्द्रका हकमा तहकिकात हुँदाका अवस्थामा अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा निजले शुक्रा धामीका सँग साथ लागि वारदात स्थलमा गै प्रतिवादी शुक्राधामी दनुवारले वन्दुक प्रहार गरेको भनी वकि लेखाई दिएको देखिंदा निज प्रर्तेवादी रामचन्द्रले प्रतिवादी शुक्रा धामी दनुवारले कर्तव्य गरी वृहस्पति अधिकारी दनुवारलाई वन्दुक प्रहार गरी मार्ने गरेको कर्तव्य अपराधमा सहयोग पुर्याएको देखिंदा निजका हकमा दावी वमोजिम ज्यान सम्वन्धीको १७(२) वमोजिम ५(पांच वर्ष कैद हुने ठहर्छ । अन्य प्रतिवादी अघना मुसहर, काशीनाथ, रोदी, जुलुम, जानकी, श्री लाल सार्कि मुसहर, सानो मुल्ला भन्ने रघुनाथले गरेको वयानवाट निजहरु दावीमा इन्कार रहेको देखिंदा र निजहरुका साथीहरुले प्रतिवादीहरुको वयान जिकिरलाई समर्थन गरि वकपत्र गरेको देखिनुका साथै वादी श्री ५ को सरकार तर्फवाट निजहरुका विरुद्ध कसुरको समर्थनमा कुनै सवुद प्रमाण पेश दाखिल गर्न सकेको नदेखिएकोले निजहरुका हकमा प्रमाणको अभावमा ठहर हुन नसकी उल्लेखित प्रतिवादीहरुले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु सिन्धुली जिल्ला अदालतको मिति २०४४ साल पौष ५ गते रोज १ को फैसला रहेछ ।
२६. प्रतिवादी शुक्रा धामी र रामचन्द्र कुमार दनुवारलाई प्रहरी प्रतिवेदनको माग दावी अनुसार सजाय ठहर गरी अन्य प्रर्तेवादीहरुको हकमा सफाई दिने ठहर्याई वादी श्री ५ को सरकारलाई आंशिक रुपमा सफल गरी मिति २०४४ साल पौष ५ गते गर्नु भएको फैसलामा चित्त वुझेन भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदनपत्र ।
२७. वन्दुक शुक्रावाट वरामद भएको छैन वन्दुक वनुवा अधिकारीको भन्ने प्रमाणित छ उक्त वन्दुक शुक्रालाई दिएको प्रमाण छैन शुक्राले मारेको भन्ने कुरा वादीले आफ्नो दावी प्रमाणित राख्न सकेको छैन शुक्रा वारदातमा आफू सरिक नरहेको भन्ने वयान । २०४२।११।३० गतेका दिन सवै लामा वेरामी रहेको र सो कुरा आफ्नो साक्षीहरुवाट प्रमाणित रहेको छ । सवै लामावाट हर्षाही मृतकको घर लखनपुर ९ कोष फरक पर्दछ । यस्तो स्थितिमा रामचन्द्रको पोल नकरा ठहरीएको नै छ । यसवाट म शुक्रा अधिकारी अपराधमा शरिक नरहेको प्रमाणित रहेको छ । उल्लेखित कारण परिवन्धवाट शुरु सिन्धुली जिल्ला अदालतको फैसला कानूनसँगत नभएवाट उक्त फैसला वदर वातिल गरी मुक्त गरी पाउँ भन्ने समेत व्यहोराको सिन्धुली जिल्ला कारागार कार्यालय मार्फत शुक्रा धामी दनुवारले दिएको पुनरावेदन पत्र रहेछ ।
२८. यसमा शुरुले प्रर्तेवादीहरुलाई सफाई दिएको निर्णय विचारणीय हुँदा अ.वं २०२ नं. वमोजिम विपक्षी झिकाई नियम वमोजिम पेश गर्नु भन्ने तत्कालिन जनकपुर अञ्चल अदालतको मिति २०४६।९।१२ को आदेश ।
२९. प्रतिवादी शुक्रा धामीले कर्तव्य गरी मारेको भन्ने शंकारहित तथ्य मिसिलसाथ भएको नदेखिदा शुरुले यि प्रतिवादीलाई ज्यान सम्वन्धीको १३(१) अनुसार सजाय गरेको मिल्ने नदेखिंदा निजले सफाई पाउने ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरको मिति २०४९।२।८।५ को फैसला ।
३०. सवुद प्रमाण समेतको आधारमा प्रत्यर्थीहरुले कसुर गरेको प्रमाणित हुँदा हुँदै सो कुरालाई अवलोकन नै नगरी शुरुले ठहर गरेको शुक्रा धामी समेतलाई सफाई दिएको पुनरावेदन अदालत, जनकपुरको फैसला न्याय सँगत नहुँदा वदर गरी शुरु प्रहरी प्रतिवेदन मागदावी वमोजिम सजाय गरी पाउँ भन्ने व्यहोराको वादी श्री ५ को सरकारको यस अदालतमा परेको पुनरावेदन ।
३१. प्रहरीमा साविति कागज गर्ने र सो कागजको आधारमा शुक्रा धामी उपर ज्यान सम्वन्धीको १७(२) नं. वमोजिम सजाय समेत भएको, निज रामचन्द्रले शुक्रा धामीले वन्दुक चलाएको भनी प्रहरीको कागजमा लेखाएको र निज शुक्रा धामी कहांवाट वन्दुक वरामद समेत भएको दुवै थरमा रीसइवी रहेको मिसिलवाट देखिंदा शुक्रा धामीलाई दावीको अभियोगवाट सफाई दिने गरेको पुनरावेदन अदालत, जनकपुरको फैसला नमिली फरक पर्ने देखिंदा अ.वं २०२ नं. वमोजिम विपक्ष झिकाई आएपछि पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०५२।३।२६।२ को आदेश ।
३२. नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरियो । पुनरावेदक वादी श्री ५ को सरकारका तर्फवाट उपस्थित विद्धान सरकारी अधिवक्ता श्री सत्य नारायण प्रजापतिले मृतक वृहस्पतीको गोली लागी मृत्यु भएको र वारदात घटेको कुरामा विवाद छैन । शुरु जिल्ला अदालतले शुक्रा धामीले वृहस्पतिलाई वन्दुक प्रहार गरी मार्ने गरेको अपराधमा सहयोग पुर्याएको भनी प्रतिवादी रामचन्द्रलाई ज्यान सम्वन्धीको १७(२) वमोजिम ५ वर्ष कैद ठहर्याएकोमा निजले सो उपर पुनरावेदन नगरी अभियोग स्वीकार गरी वसेका छन् । मृतकसँग शुक्रा धामीको झगडा परेको कुरालाई सर्जमिनका मानिस समेतले पुष्टि गरि दिएको छन । यस्तो अवस्थामा सवुद प्रमाणको मूल्याङ्कननै नगरी सजाय गर्ने ठहर्याएको शुरुले शुक्रा धामी समेतलाई सफाई दिने गरेको पुनरावेदन अदालत जनकपुरको इन्साफ त्रुटिपूर्ण हुँदा वदर गरी प्रहरी प्रतिवेदन माग दावी वमोजिम प्रतिवादीहरुलाई सजाय गरी पाउँ भनी वहस प्रस्तुत गर्नु भयो । प्रतिवादी शुक्रा धामी समेतका तर्फवाट उपस्थित विद्धान अधिवक्ता श्री होमनाथ ढूंगानाले अधेरी रातमा १६, १७ फिट टाढा सिमिको झ्याङमा लुक्नेलाई चिनेको भन्ने मृतक कि श्रीमतीको वयान कागज विश्वासनिय छैन । शुक्रा धामीको घरमा मौका तलासी लिएको देखिदैन । वन्दुक वरामद गरिएको मुचुल्काका मानिसहरुलाई अदालतमा वयान गराइएको छैन । वरामद भएको वन्दुक वानुकुमारका नाउँंमा दर्ता भएको छ । वानुकी श्रीमती मनवती सौतेनी सासु भएको हुँदा पुर्व इवीका कारणले झुट्टा पोल गरेको वारदातको समयमा प्रतिवादी शुक्रा धामी अन्यत्रै रहेको अवस्थामा शंकाको भरमा कसुरदार ठहराउनु मिल्ने होइन, प्र. शुक्रा धामीलाई सफाई दिने ठहराएको पुनरावेदन अदालतको ईन्साफ मिलेकै हुँदा सदर हुनुपर्दछ भनी प्रस्तुत गर्नु भएको वहस समेत सुनियो ।
३३. प्रस्तुत मुद्दामा शुरु जिल्ला अदालतले प्रतिवादी शुक्रा धामी र रामचन्द्र कुमार दनुवारलाई प्रहरी प्रतिवेदन माग दावी वमोजिम सजाय गरी अन्य प्रतिवादीहरुलाई सफाई दिने गरी गरेको फैसला केहि उल्टी गरी प्र.शुक्रा धामीलाई सफाई दिने ठहर्याएको पुनरावेदन अदालत जनकपुरको इन्साफ मिलेको छ छैन ? सो निर्णय दिनु पर्ने देखिन आयो । निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा प्रतिवादी शुक्रा धामीले कसुर गरेको भन्ने मुख्य आधार निजको घरवाट वन्दुक वरामत भएको भन्ने कुरालाई वनाइएको पाइन्छ । सो वन्दुक के कसरी कस्तो अवस्थामा वरामत भएको रहेछ भन्ने तर्फ हेर्दा प्रस्तुत मुद्दा २०४३।१।१४ मा अभियोग पत्र अदालतमा प्रस्तुत भै दर्ता भएको देखिन्छ । सो आरोप पत्र प्रस्तुत गर्दाको अवस्थासम्म प्र. शुक्राको घर खानतलासी गरी वन्दुक वरामद भएको भन्ने नदेखिई सिन्धुली जि.अ.मा मुद्दा दायर भै प्रतिवादीका नाउँंमा वारेन्ट पुर्जि सहितको ७० दिने म्याद जारी भै मिति २०४३।११।२७ गते निजलाई घरमा फेला पारी पक्राउ गरी उपस्थित गराएको प्रतिवेदन साथ पेश गर्दा मिति २०४३।११।२५ को मिति परेको वन्दुक वरामदी मुचुल्का भनेको प्रहरीले गराएको मुचुल्का पनि उक्त पक्राउ प्रतिवेदन साथ पठाइएको देखिन आउँदछ । तत्काल वहाल रहेको सरकारी मुद्दा सम्वन्धी ऐन, २०१७ को दफा ३(६) मा अदालतमा मुद्दा दायर भएपछि अदालतको आदेशले मात्र पुनः तहकिकात हुन सक्ने व्यवस्था गरेको पाइन्छ । सरकार वादी हुने फौज्दारी मुद्दामा अदालतको अधिनमा मुद्दा गै सकेपछि अदालतको आदेश वेगर प्रहरीले कुनै तहकिकात गर्न पाउने कानूनी व्यवस्था देखिदैन । अपराधसँग सम्वध्द वस्तु वरामद गर्ने कार्य अनुसन्धानको कार्य भएपनि मुद्दा अदालतको अधिनस्थ भै सकेपछि अदालतको आदेश वेगर प्रहरी आफैले मुद्दा दायर हुनु अघिको अवस्थामा जस्तो स्वतन्त्र रुपले अनुसन्धान गर्न मिल्दैन । तसर्थ अदालतको आदेश वेगर अदालतमा मुद्दा दायर भैसकेपछि वन्दुक वरामद भएको भनी प्रहरी तर्फवाट मुचुल्का खडा गरी दुई दिन पछि प्रतिवादी शुक्रा धामीलाई पक्राउ गरेको प्रतिवेदन साथ संलग्न राखी पेश गरेको वरामदी मुचुल्काले कानूनी मान्यता पाउने अवस्था देखिएन । आफ्नो घरवाट वन्दुक वरामद भएको होइन, वन्दुक आफ्नो हैन भनी अदालत समक्ष, प्र. शुक्रा धामीले वयान गरेको, निजको नाउँंमा वन्दुक दर्ता पनि नदेखिएको, निजले वन्दुक लिएर हिडेको देखेको भन्ने कुनै प्रमाण नभएको, अकानूनी वरामदी मुचुल्का वाहेक अन्य प्रमाणवाट निजले नै वन्दुक प्रहार गरी मृतक वृहस्पतिलाई मारेको हो भन्ने ठोस र शंकारहित प्रमाणको अभाव देखिंदा पुनरावेदन अदालत जनकपुरले निज प्रतिवादी शुक्रा धामीलाई सफाई दिने गरेको इन्साफ मिलेको देखिंदा सदर हुने ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । शुक्रा धामी वाहेकका प्रतिवादीहरुले कसुर गरेको यो यस्तो प्रमाणवाट देखिन्छ भनी पुनरावेदनमा उल्लेख सम्म पनि गर्न सकेको नदेखिंदा अन्य प्रतिवादीहरुलाई पनि सफाई दिएको मिलेन भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
३४. मुख्य अभियुक्त शुक्रा धामीले उपरोक्तानुसार कसुर गरेको नठहराएको पुनरावेदन अदालत जनकपुरको इन्साफ सदर भएकोले निज शुक्रा धामीलाई कसुर गर्नमा सहयोग पुर्याएको भनी ज्यान सम्वन्धीको १७(२) नं. अनुसार प्रतिवादी रामचन्द्र कुमार दनुवारलाई सजाय गरेकोमा उक्त नं. १७ को स्वतन्त्र अस्तित्व नभई नं. १३ र १४ मा पराश्रीत हुने भएकोले वन्दुक हान्ने भनिएको प्रतिवादी शुक्रा धमीले सफाई पाएपछि निज रामचन्द्रको पुनरावेदन नपरे पनि अ.वं. २०५ नं. अनुसार निजको हकमा समेत शुरुले निजलाई ज्यान सम्वन्धीको १७(२) नं. अनुसार ५ वर्ष कैद गर्ने गरेको इन्साफ पनि उल्टी हुने सम्वन्धमा पुनरावेदन अदालतले वोलिदिनु पर्नेमा वोलेको नदेखिंदा निज पुनरावेदन नगर्ने रामचन्द्रको हकमा समेत शुरु फैसला उल्टी भै निजले समेत सफाई पाउने ठहर्छ । अरु तपसील वमोजिम गर्नु ।
तपसील
प्रतिवादी रामचन्द्र दनुवारकै माथि इन्साफ खण्डमा लेखिए वमोजिम निजले सफाई पाउने ठहरिएको हुँदा शुरु सिन्धुली जिल्ला अदालतको फैसलाले कायम गरेको कैद वर्ष ५ को लगत कट्टा गरि दिनु भनी उक्त जि.अ. मा पठाई दिनु..........१
प्र शुक्रा धामीको माथि इन्साफ खण्डमा लेखिए वमोजिम निजलाई सफाई दिने गरेको पुनरावेदन अदालत जनकपुरको फैसला सदर भएकोले शुरु जि.अ.को फैसला वमोजिम रोक्का रहेको निजको अंशभागको सम्पति समेत फुकुवा गरिदिनु भनी शुरु जि.अ.मा लेखि पठाई दिनु.....१
उक्त रायमा म सहमत छु ।
न्या. कृष्ण कुमार वर्मा
इति सम्वत् २०५३ साल आषाढ २६ गते रोज ४ शुभम........