निर्णय नं. ६३२४ - विक्री वदर

निर्णय नं. ६३२४ ने.का.प. २०५४ अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
सम्वत् २०५२ सालको दे.पु.नं.........२६८६
निर्णय मितिः २०५३।८।४।३
मुद्दाः विक्री वदर ।
पुनरावेदक
वादीः रोल्पा जिल्ला तालवाङग गाऊ विकास समिति वडा नं. २ दाङखुरी वस्ने देव कुमारी डांगी समेत ।
बिरुद्ध
विपक्षी
प्रतिवादीः ऐ.ऐ. वस्ने दर्शन डांगी समेत जम्मा ३ ।
§ घरको मुख्य व्यक्तिले गरेको व्यवहारलाई लेनदेन व्यवहारको महलको ८ नं. ले मान्यता दिनु पर्ने तात्पर्य संगोलको व्यवहार चलाउने जोसुकैले नगरुन, त्यस्तो लेनदेन कारोवारमा घरको मुख्य व्यक्तिको समेत सहिछाप हुनुपर्ने व्यवस्था गरेको प्रष्ट छ । लेनदेन व्यवहारको महलको ८ नं.वमोजिम घरको मुख्य व्यक्तिले व्यवहार गर्दा पनि अचल सम्पत्ति को विक्री व्यवहारको सम्वन्धमा सोही महलको १० नं. को पालना गर्नुपर्ने स्पष्ट छ । अर्थात लेनदेन व्यवहारको उक्त महलले मुख्य व्यक्ति संगोलको व्यवहारको सम्वन्धमा कानूनद्धारा चयन गरिएको व्यक्ति भए पनि निजले कानून छाडी विक्री व्यवहार गर्न पाउने देखिदैन निजले संगोलको व्यवहारको लागि ऋण लिंदा वा चल सम्पति नगदी जिन्सी इत्यादीको लेनदेन गर्दा संगोलको अरु अंशियारको मंजुरी चाहिने कानूनी वन्देज नभए पनि निजले अचल सम्पतिको वेचविखन वा कुनै किसिमको हक हस्तान्तरण गरी अरुलाई दिंदा लेनदेन व्यवहारको १० नं. को कानूनी वन्देजको पालना गर्नु पर्ने वाध्यता देखिन आउने ।
§ घरको मुख्य व्यक्तिले संगोलको अंशियारको मंजुरी वेगर सगोलको अचल घर व्यवहार चलाउनु पर्ने कारण देखाई वेच विखन गर्न पाउने भएको भए लेनदेन व्यवहारको १० नं. लाई सोही महलको ८ नं. ले संकुचित गरेको अर्थ हुन जाने र संगोलको सवै अचल निजले आफूखुशी गर्ने हुने थियो । कानूनको सो अर्थ र अभिप्राय नरहेको प्रष्ट छ । तसर्थ संगोलको यी वादीले आफ्ना आमा र भाइको मंजुरी नै नलिई गरेको व्यवहारलाई उक्त महलको १० नं. को कानून वमोजिम रितपुर्वकको व्यवहार भएको मान्न नमिल्ने ।
(प्र.नं. ११)
पुनरावेदक तर्फबाटः
विपक्षी प्रतिवादी तर्फबाटः
अवलम्वित नजिरः
फैसला
न्या. केदारनाथ उपाध्यायः पुनरावेदन अदालत नेपालगंजको मिति ०४९।७।२४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (ख)(ग) अन्तर्गत यस अदालतमा दोहोर्याई पाउँ भन्ने निवेदन परी यस अदालतको संयुक्त इजलासवाट मिति ०५२।३।१५ मा दोहोर्याउने निस्सा भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छः
२. रोल्पा आरुवा गाउँका मु. पूर्ण वहादुर वुढामगर जिम्मा १९९६ सालका पाखा मोठमा वाजे मनरखका नाउँमा दर्ता भई निजको शेषपछि वावा मोतीलाल ज्यान मुद्दामा थुनुवा हुँदा तालुकदारको नामसारी श्रेस्तावाट मेरो हक भोग भएको दर्ता घरवारी समेतको तिरो रु.।८५ मध्ये रु.।४२।२ मध्ये रु.।२१।२ को पुर्व र दक्षिण एक वहादुरको पाखो पश्चिम धनी के (दर्सन डांगी कै) पाखो उत्तर तेर्छौ वाटो यो ४ किल्लाको दाङखुरी मध्ये घरवारी भन्ने पाखो जग्गा कित्ता १ र ऐ मौजाका धन वहादुर खत्री जमा १९९८ सालको खेतका मोठमा वाजे मंद्रख भन्ने मनराजका नाउँमा दर्ता भई ऐ.ऐ. व्यहोरावाट हकभोग भएको दर्ता माटो मुरी ।४० मध्ये माटो मुरी । । १० दश पाथीको तिरो रु.।५ पैसा लागेको पुर्व लाल वहादुरको पाखो पश्चिम र दक्षिण धनीको (ट्रसन डांगीको) खेत उत्तर जमन खेत यी ४ किल्ला भित्रको वासी भन्ने टारको खेत किता १ समेत ३ कित्ता घरजग्गालाई राजिनामा गरी दिए भन्ने वोली पाटी थैली रु.५०००। मा दर्सन डांंगीलाई रामे डांगीले विक्री गरी ४ अंशियारको हक लाग्ने जग्गालाइ मिति २०४५।९।१५ गते रोल्पा माल कार्यालयवाट राजिनामा रजिष्ट्रेशन पारित गरी लिएकोले हामी मंजुरी नलिई विक्री गरेको हुँदा ४ अंशियारको वण्डा लगाई हामी फिरादीहरुको २ खण्ड घरजग्गा विक्री वदर गरी पाउँ भन्ने फिराद दावी ।
३. मोतीलाल डांगी राजिनामामा साक्षी वसेकाले मुख्य समेतका सवै व्यक्तिले थाहा पाएको र अंशवण्डाका १९ नं. मा अचल सम्पतिको हकमा आधीसम्म व्यवहार चलाउनलाई आफूखुस गर्न पाउछ भन्ने प्रष्ट व्यवस्था भएकोले फिराद दावी खारेज गरी पाउँ भन्ने प्र.दर्शन डांगी समेतको प्रतिउत्तर जिकिर ।
४. प्र.मोतिलाल डांगी क्षेत्रीले २०४६।३।३० मा तामेल भएको तामेली इतलायनामाको म्यादै गुजारी प्रतिउत्तर नलगाई वसेको ।
५. विक्री गरेको जग्गाको रकम समेत लगाई सवै परिवार अंशियारलाई वण्डा लाग्ने जग्गा किनेको कुरालाई प्रतिवादी रामे डांगीले स्वीकारै गरेवाट व्यवहार चलाएकै देखिन आयो । आधा सम्पत्ति भन्दा कम सम्पत्ति विक्री भएको घरको मुख्य व्यवहार कर्ताले घरको मुख्य वावु समेत साक्षी वसी विक्री व्यवहार गरेको देखिएकोले विक्री वदर गरी पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने मिति २०४७।३।२१ को रोल्पा जि.अ.वाट भएको फैसला ।
६. रामे डांगी घरको मुख्य व्यवहार कर्ता पनि होईन प्र. रामे डांगीका नाउँमा हाल विवादीत जग्गा विक्री हुनुभन्दा पछि राजिनामा पारित भएता पनि सो विवादित जग्गा विक्री गर्नु भन्दा अगावै खरीद गरी सकिएको थियो । अंशवण्डा नहुदै विक्री भएको विक्री वदर नहुने ठहर्याई गरेको शुरुको त्रुटिपूर्ण फैसला वदर गरी फिराद दावी अनुसार गरी पाउँ भन्ने पुनरावेदन जिकिर ।
७. मिति २०४५।९।१५ को पारित राजिनामावाट प्रतिवादी रामे डांगीले प्रतिवादी दर्शन डांगीलाई सो सम्पत्तीको आधा भन्दा धेरै कम अर्थात रु.५,०००। को घर जग्गा मात्र विक्री गरेको भन्ने कुरा पुष्टि भईरहेकोले अंशवण्डाको १९ नं. मा भएको कानूनी व्यवस्था समेतको आधारमा उक्त सम्पत्ती वेचविखन गर्दा यी वादीहरुको मंजुरी लिनु पर्ने वाध्यात्मक कानूनी व्यवस्था भए गरेको नदेखिंदा वादीहरुको मंजुरी नलिएकै कारणले प्रस्तुत मुद्दामा फिराद दावी अनुसार विक्री वदर हुन सक्ने अवस्था विद्यमान नदेखिएकोले वादी फिराद दावी पुग्न नसक्ने ठहराइएको शुरु रोल्पा जिल्ला अदालतको इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्छ । पुनरावेदक वादी देव कुमारी डांगी समेतको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत नेपालगंजको फैसला ।
८. उक्त फैसलामा चित्त वुझेन, ने.का.प. २०४१ नि.नं. १९०४ पृष्ट १४६ मा प्रकाशित सिद्धान्त समेतको प्रतिकूल हुने गरी मुलुकी ऐन अशवण्डाको ९ नं. को गलत तरिकाले व्याख्या हुने गरि गरिएको रोल्पा जल्ला अदालत पुनरावेदन अदालत नेपालगंजबाट पुनरावेदन जिकिर पुग्न नसक्ने भनी गरिएको फैसला त्रुटिपूर्ण हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को (ख) (ग) वमोजिम मुद्दा दोहोर्याई हेरी पाउँ भनी वादीले स अदालतमा दिएको निवेदन ।
९. यसमा लेनदेन व्यवहारको १० नं. को व्याख्यात्मक त्रुटी गर्नुको साथै नेपाल कानूनपत्रिकाका २०४१ अंक २ पृष्ट १४६ नि.नं. १९०४ को वादी मोती वहादुर वानिया समेत प्रतिवादी नेत्र वहादुर वानिया क्षेत्री समेत भएको फैसला वदर हक कायम मुद्दामा प्रतिपादित सिद्धान्तको उल्लेखन समेत हुने गरी भएको रोल्पा जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत नेपालगंजको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख) वमोजिम दोहोर्याउने निस्सा दिइएको छ, कानून वमोजिम गर्नु भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।
१०. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक देव कुमारी डांगी समेतका तर्फवाट उपस्थित विद्धान अधिवक्ताहरु पुष्पा भूसाल र शेर वहादुर के.सी.ले प्रतिवादी रामे डांगीले संगोलका अन्य अंशियारहरुको मंजुरीनै नलिई वादीको समेत अंश हक लाग्ने अचल सम्पत्ति वेच विखत गरेको हुँदा उक्त व्यवहारलाई लेनदेन व्यवहारको १० नं. वमोजिम वदर गर्नुपर्नेमा वादी दावी पुग्न नसक्ने ठहर गरी शुरु रोल्पा जिल्ला अदालतवाट भएको फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत नेपालगंजको फैसला वदर होस भन्न् वहस प्रस्तुत गर्नुभयो । विपक्षी प्रतिवादी रामे डांगी समेतका तर्फवाट उपस्थित विद्धान अधिवक्ता एकराज भण्डारीले विपक्षीहरुका पति पिता मेरो पक्ष रामे डांगीका वावु मोतीलाल डागी ज्यान मुद्दामा थुनामा रहेको कारण सम्पुर्ण घर व्यवहार यीनै प्रतिवादी रामे डागीले नै गरि आएकोले सोही क्रममा पछि थुनावाट छुटेको भएपनि घर व्यवहार चलाउनलाई २०४५।९।१५ को पारित राजिनामा वमोजिमको जग्गा विक्री गरेको हो । विक्री भएको जग्गा संगोलको पैतृक सम्पत्तीको आधा भन्दा धेरै कम मात्र भएको हुँदा वदर हुने होइन भन्ने समेत वहस प्रस्तुत गर्नुभयो ।
११. यसमा वादी दावी पुग्न नसक्ने ठहर गरी रोल्पा जिल्ला अदालतवाट भएको फैसला मनासिव ठहराई गरेको पुनरावेदन अदालत नेपालगंजको फैसला मिले नमिलेको के रहेछ भनी निर्णय तर्फ विचार गर्दा प्रस्तुत मुद्दामा प्रतिवादी जिकिरमा वावु छदै छोरा रामे डागी घरको मुख्य व्यक्ति भएको र निजले व्यवहार चलाउन विवादको विक्री व्यवहार गरेको हो भन्ने रहेको छ । घरको मुख्य व्यक्तिले गरेको व्यवहारलाई लेनदेन व्यवहारको महलको ८ नं. ले मान्यता दिनु पर्ने तात्पर्य संगोलको व्यवहार चलाउने जोसुकैले नगरुन, त्यस्तो लेनदेन कारोवारमा घरको मुख्य व्यक्तिको समेत सहिछाप हुनुपर्ने व्यवस्था गरेको प्रष्ट छ । लेनदेन व्यवहारको महलको ८ नं.वमोजिम घरको मुख्य व्यक्तिले व्यवहार गर्दा पनि अचल सम्पत्ति को विक्री व्यवहारको सम्वन्धमा सोही महलको १० नं. को पालना गर्नुपर्ने स्पष्ट छ । अर्थात लेनदेन व्यवहारको उक्त महलले मुख्य व्यक्ति संगोलको व्यवहारको सम्वन्धमा कानूनद्धारा चयन गरिएको व्यक्ति भए पनि निजले कानून छाडी विक्री व्यवहार गर्न पाउने देखिदैन निजले संगोलको व्यवहारको लागि ऋण लिंदा वा चल सम्पति नगदी जिन्सी इत्यादीको लेनदेन गर्दा संगोलको अरु अंशियारको मंजुरी चाहिने कानूनी वन्देज नभए पनि निजले अचल सम्पतिको वेचविखन वा कुनै किसिमको हक हस्तान्तरण गरी अरुलाई दिंदा लेनदेन व्यवहारको १० नं. को कानूनी वन्देजको पालना गर्नु पर्ने वाध्यता देखिन आउँछ । घरको मुख्य व्यक्तिले संगोलको अंशियारको मंजुरी वेगर सगोलको अचल घर व्यवहार चलाउनु पर्ने कारण देखाई वेच विखन गर्न पाउने भएको भए लेनदेन व्यवहारको १० नं. लाई सोही महलको ८ नं. ले संकुचित गरेको अर्थ हुन जाने र संगोलको सवै अचल निजले आफूखुशी गर्ने हुने थियो । कानूनको सो अर्थ र अभिप्राय नरहेको प्रष्ट छ । तसर्थ संगोलको यी वादीले आफ्ना आमा र भाइको मंजुरी नै नलिई गरेको व्यवहारलाई उक्त महलको १० नं. को कानून वमोजिम रितपुर्वकको व्यवहार भएको मान्न मिल्ने देखिएन । तसर्थ वादी २ जनाको हकमा प्रतिवादीहरु द्धारा मिति २०४५।९।१५ मा राजिनामा लेनदेन गरी भएको विक्री व्यवहार मध्ये आधा वदर भै वादीहरुको नाउँमा कार्य हुने ठहर्छ । सो नठहराई पुरै लिखत सदर ठहराएकोमा शुरु सदर गरी पुनरावेदन आदलत नेपालगंजले गरेको इन्साफ उल्टी हुने ठहर्छ । अरु तपसील वमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा उल्लेख भए वमोजिम वादी दावी वमोजिम मिति २०४५।९।१५ को राजिनामा वमोजिम विक्री भएको जग्गा मध्ये आधा वदर भई वादीको कायम भएकोले उक्त लिखतको आधा जग्गा वादीको नाउँमा दाखिल खरेज गरिदिनु भनी मा.पो.का. रोल्पामा लेखि पठाउन शुरु रोल्पा जिल्ला अदालतलाई लगत दिनु................................... १
कोर्टफिको हकमा माथी इन्साफ खण्डमा उल्लेख भए वमोजिम वादी दावी अनुसारको आधा लिखत वदर हुने ठहर भएकोले वादीले फिराद गर्दा, पुनरावेदन गर्दा तथा यस अदालतमा पुनरावेदन गर्दा राखेको सम्पुर्ण कोर्टफि प्रतिवादीवाट भराई लिन पाउने हुँदा ऐनका म्याद भित्र प्रतिवादीको जायजेथा देखाई वादीको दरखास्त परे कानून वमोजिम भराई दिनु भनी शुरु रोल्पा जिल्ला अदालतलाई लगत दिनु.....१
सरोकारवाला पक्ष नक्कल लिन आए कानून वमोजिम लाग्ने दस्तूर लिई यो फैसलाको नक्कल सारी सराई दिनु । मिसिल नियमानुसार गरी वुझाई दिनु..१
उक्त रायमा म सहमत छु ।
न्या. कृष्ण कुमार वर्मा
ईति सम्वत् २०५३ साल मार्ग ४ गते रोज ३ शुभम्