निर्णय नं. ६३३० - मोही नामसारी

निर्णय नं.- ६३३० २०५४, ने.का.प. अङ्क ३
संयुक्त इजलास
संम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
संवत् २०५१ सालको दे.पु.नं...................२१७७
फैसला मितिः ०५३।५।२५।३
मुद्दाः- मोही नामसारी ।
पुनरावेदक
वादीः जिल्ला पर्सा विरगंज नगरपालिका वडा नं. ३ बस्ने किसुनदास तत्मा ।
विरुद्ध
विपक्षी
प्रतीवादीः ऐ.ऐ.वस्ने हृदय नारायण तिवारी समेत २ जना ।
§ भूमि सम्वन्धी ऐन, २०२१ लागु भएका बखत मोही कायम हुनको लागी भूमि सम्बन्धी नियमावली बमोजिम मोहीले आफूले कमाएको जग्गाको र जग्गाधनीको नाम समेत खुल्ने गरी १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशित भएको हुनु पर्नेमा, वादीका स्वर्गिय पिताको नाममा १ नं. लगत नै नहुनु र २ नं. अनुसूचीमा समेत प्रकाशित नभई जोताहाको स्थायी वा अस्थायी निस्सा समेत नभएको अवस्थामा एक मात्र नापीमा फिल्डबुकमा लेखिएको कारण फिल्डवुकको आधारमा तयार भएको जग्गा धनी प्रमाण पुर्जामा अंकित भएकै कारण विवादित जग्गाको मोही वादीका स्वर्गीय पिता थिए भनी निजको मृत्यु पश्चात यो पुनरावेदक वादीका नाउँमा मोही नामसारी गरीदिने ठहर्याउन कानून सँगत नदेखिने ।
(प्र.नं.११)
पुनरावेदक तर्फवाटः- विद्वान अधिवक्ता श्री ठाकुर आचार्य ।
वादी तर्फवाटः- विद्वान अधिवक्ता श्री दिपक प्रसाद खरेल ।
अवलम्वीत नजीरः- x
फैसला
प्र.न्या.सुरेन्द्र प्रसाद सिंहः- न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) अन्तर्गत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :-
२. मेरा पिता चिरकुट तत्माका नाममा मोही नाप नक्सा भएको साविकमा रामदुलारी व्राम्हणीका नाममा र हाल बिपक्षी जग्गाधनीहरुका नाममा दर्ता रहेको जि.पर्सा छपकैया वडा नं. २ कि.नं. ४५ को ज.वि.०-६-१० जग्गा पिता परलोक भएपछि मैले जोती आएको छु । मोही नामसारी गरी पाउँ भन्ने किसुन दास तत्माको निवेदन ।
३. बिपक्षीको पिता मोही होइनन् मोही ह’नलाई २ नं. अनुसूची हुनु पर्दछ । अथवा भू.सं.ऐन २०२१ को दफा ३४(१) अनुसार दोहोरो कुत कवुलियत हुनु पर्दछ वादीसँग दुवै प्रमाण छैन । नापीमा बादीको पिताले आफ्नो नाममा मोही नाप नक्सा गराएपनि मोही लगतको अभावमा मोही नहुने जव वादीको पितालाई मोही मान्न नमिलेपछि मोही नामसारी हुने प्रश्न नै आएन । बादी दावी झूठ्ठा हो वादी दावी खारेज भागी छ । खारेज गरी पाउँ भन्ने प्रतिउत्तर जिकिर ।
४. फिल्डबुकमा मोही लेखाएको कारणले मात्र मोही मानी बादी दावी बमोजिम मोही नामसारी गर्न श्री सम्मानित सर्बोच्च अदालतको विभिन्न मितिमा विभिन्न बेन्चबाट प्रतिपादित भएका सिद्धान्त अनुसार मिलेन बादी दावी नपुग्ने ठहर्छ भन्ने भू.सु.का.पर्साको मिति ०४८।३।१३ गतेको फैसला ।
५. शुरु भू.सु.का पर्साको इन्साफमा चित्त नबुझेकोले शुरु इन्साफ त्रुटीपूर्ण भएकोले सो बदर गरी पाउँ भन्ने पुनरावेदक वादी किसुन दास तत्माको तत्कालिन ना.अं.अ.मा मिति ०४८।४।२४ गतेको पुनरावेदन पत्र ।
६. यस्मा क्षेत्रीय किताबमा कि.नं. ४५ को किसान महलमा चिरकुट तत्मा उल्लेख भएको देखिएको र पुनरावेदन जिकिरमा जग्गा धनी प्रमाण पुर्जामा पनि मोही उल्लेख भएको भन्ने जिकिर रहेको हुँदा भू.सु.का.पर्साको निर्णय बिचारणीय हुँदा छलफल निमित्त अ.वं. २०२ नं. बमोजिम बिपक्षी झिकाई नियम बमोजिम पेश गर्नु भन्ने पुनरावेदन अदालत हेटौंडाको मिति ०४८।११।२१ को गतेको आदेश ।
७. भू.सु.ऐन लागु भएको बखत मोही कायम हुनको लागि भू.सु.नियमावली बमोजिम मोहीले आफूले कमाएको जग्गाको र जग्गाधनीको नाम समेत खुल्ने गरी १ नं. लगत भरी २ नं. को अनुसूची प्रकाशित भएको हुनु पर्नेमा यसरी बादीका स्वर्गीय पिताको नाममा १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशित भएको नै नहुनु पर्नेमा वादीका स्वर्गिय पिताको नाममा १ नं. लगत नै नहुनु २ नं. अनुसूचीमा समेत प्रकाशित नहुनु र जोताहाको स्थायी अस्थायी निस्सा समेत नभएको अवस्थामा एक मात्र नापीमा फिल्डबुकमा लेखिएको कारण फिल्डबुकको आधारमा तयार भएको जग्गाधनी प्रमाण पुर्जामा अंकित भएकै कारण बिवादित जग्गाको मोही बादीका स्वर्गीय पिता थिए भनी निजको मृत्यु पश्चात यी पुनरावेदक वादीका नाममा मोही नामसारी गरीदिनु पर्छ भनी ठहर्याउन कानून सँगत नहुँदा भूमि सुधार कार्यालय पर्साले बादी दावी नपग्ने ठहर्याएको फैसला मनासिव ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौंडाको फैसला ।
८. मेरा पिता चिरकुटका नाममा मोही नाप नक्सा भएको साविक जग्गाधनी राम दुलारी ब्राम्हणीले मानी मोहीमा कुनै विवाद समेत उठाउन नसकेकोमा हाल बिपक्षी जग्गा धनीहरुका नाममा दर्ता हुन आएपछि मोही नामसारी तर्फ बिवाद उठाउन नमिल्ने हुँदा, फिल्डवुक जग्गाधनी प्रमाण पुर्जा सरजमिन, नगरपालिकाको सिफारिस पत्र कुतको भरपाई समेतको आधारमा पुनरावेदन अदालतको वेरीतको फैसला बदर गरी मोही नामसारी ह’ने किसिमसँगत फैसला भै हक इन्साफ पाउँ भन्ने समेत पुनरावेदन पत्र ।
९. पुनरावेदन अदालत हेटौंडाको फैसला त्रुटीपूर्ण देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) को आधारमा दोहोर्याउने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको आदेश ।
१०. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी यस संयुक्त इजलास समक्ष पेश हुन आएको प्रस्तुत मोही नामसारी मुद्दामा पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री ठाकुर आचार्य र प्रत्यर्थी प्रतिवादी तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री दिपक प्रसाद खरेल समेतले गर्नु भएको बहस जिकिर समेत सुनी निर्णय तर्फ बिचार गर्दा वादी दावी नपुग्ने ठहर्याएको शुरु निर्णयलाई सदर गरी गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको छ वा छैन ? निर्णय दिनु पर्ने देखिन आयो ।
११. यस्मा मेरो पिताको नाममा मोही कायम भएको जग्गा पिता परलोक भएकोले पिताको नामको मोही नामसारी गरी पाउँ भन्ने समेत वादी दावी भएकोमा, वादीको पिता कहिले पनि उक्त जग्गाको मोही नरहेकोले मोही नामसारी हुने भन्ने प्रश्नै नउठ्ने भन्ने समेत प्रतिउत्तर जिकिर भै विवाद उत्पन्न भएको पाइन्छ । अब यस्मा भूमि सम्वन्धी ऐन, २०२१ लागु भएका बखत मोही कायम हुनको लागी भूमि सम्बन्धी नियमावली बमोजिम मोहीले आफूले कमाएको जग्गाको र जग्गाधनीको नाम समेत खुल्ने गरी १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशित भएको हुनु पर्नेमा, वादीको स्वर्गिय पिताको नाममा १ लगत नै नहुनु र २ नं. अनुसूचीमा समेत प्रकाशित नभई जोताहाको स्थायी वा अस्थायी निस्सा समेत नभएको अवस्थामा एक मात्र नापीमा फिल्डबुकमा लेखिएको कारण फिल्डवुकको आधारमा तयार भएको जग्गा धनी प्रमाण पुर्जामा अंकित भएकै कारण विवादित जग्गाको मोही वादीका स्वर्गीय पिता थिए भनी निजको मृत्यु पश्चात यो पुनरावेदक वादीका नाउँमा मोही नामसारी गरीदिने ठहर्याउन कानून सँगत देखिदैन । तसर्थ भूमि सुधार कार्यालय पर्साले वादी दावी नपुग्ने ठहर्याएको निर्णय सदर गरी गरेको पुनरावेदन अदालत हेटौंडाको इन्साफ मुनासिव देखिएकोले सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा मेरो सहमती छ ।
न्या.गोविन्द बहादुर श्रेष्ठ
ईति संवत २०५३ साल भाद्र २५ गते रोज ३ शुभम्