शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६३३२ - परमादेश समेत

भाग: ३९ साल: २०५४ महिना: असार अंक:

निर्णय नं.- ६३३२             २०५४, ने.का.प.         अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री उदयराज उपाध्याय

सम्वत् २०५२ सालको रिट.नं...... २४०९

आदेश मितिः ०५४।२।।२१।३

 

विषयः- परमादेश समेत  ।

 

निवेदकः- जिल्ला कास्की पोखरा नगरपालिका वडा नं. १ बगर वस्ने अम्वर बहादुरु गुरुङ्ग  ।

विरुद्ध

प्रत्यर्थीः- पुनरावेदन अदालत, पोखरा ।

 

§  एउटै जग्गाको बिषयमा वादी  प्रतिवादी दुवैको फिराद परी कारवाही चलेकोमा एउटै मुद्दावाट वादीको सो जग्गामा हक पुग्ने नपुग्ने प्रश्नको निरोपण हुने हुँदा अर्को मुद्दामा पुनरावेदनको म्याद नदिए पनि बादीलाई असर नपर्ने ।                  

(प्र.नं.१०)

 

निवेदकतर्फवाटः- विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर ।

विपक्षी तर्फवाटः- x

अवलम्वित नजीरः- x

 

आदेश

            न्या.ओमभक्त श्रेष्ठः- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत यस अदालतमा परेको प्रस्तुत रिट निवेदनको संक्षिप्त ब्यहोरा र आदेश यस प्रकार छ :

            २. कास्की जिल्ला ढुंगेपाटन भन्ने प्लट नं. २०१ को शिशुवा आ.गा.पं. वडा नं. ९ कि.नं. १३४ को क्षेत्रफल १०-१२-२ जग्गा मेरो हक भोगको हुँदा दर्ता गरी खिचोला मेटाई हक कायम समेत गरी पाउँ भनी खिमराज सुवेदी उपर फिराद दायर गरेको निजै उपर जालसाजी मुद्दा समेत दायर गरेको थियो । त्यस्तै खिमराजले उल्लेखित कि.नं.को जग्गाका सम्बन्धमा म समेत उपर जग्गा हक कायम र जालसाजी मुद्दा दायर गरेको थिएं त्यस्तै खेमराजले उल्लेखित कि.नं. को जग्गाका सम्वन्धमा म समेत उपर जग्गा हक कायम र जालसाजी मुद्दा दायर गरेको थियो ।

            ३. कास्की जिल्ला अदालतबाट म वादी भई दायर जग्गा हक कायम, खिचोला मुद्दामा मेरो हक कायम हुने र खिमराजले खिचोला गरेको ठहर्ने तथा २०२९।३।२९ को लिखत जालसाजवाट खडा गरेको ठहरी मिति २०४५।२।१७ मा वेग्ला वेग्लै फैसला भयो र खिमराज वादी भई दायर हक कायम जालसाजी मुद्दामा वादी दावी पुग्न नसक्ने ठहरिई फैसला भयो ।

            ४. उल्लेखित फैसलाहरु उपर खिमराजको पुनरावेदन परी पुनरावेदन अदालत पोखरावाट म वादी भएको जग्गा हक कायम खिचोला र जालसाजी मुद्दामा शुरुको ईन्साफ उल्टी गरी दावीको कि.नं. १३४ को जग्गा धनमायाको देखिन आएको भनी मलाई हराई ३५ दिन भित्र सर्बोच्च अदालतमा पुनरावेदन गर्न जानु भनी २०४९।१।२९ मा फैसला भएको रहेछ सो मुद्दाहरुमा सम्मानित अदालतमा पुनरावेदन परी बिचाराधिनमा छ । सोही कि.नं. १३४ को जग्गाको विषयमा खिमराज वादी भै चलेको जग्गा हक कायम, खिचोला र जालसाजी मुद्दामा शुरु इन्साफ मुनासिव ठहराई २०४९।१।२९ मा भएको फैसलामा मलाई पुनरावेदन म्याद दिइएन । के भएको रहेछ भनी वुझ्न जांदा पुनरावेदन म्याद पाउँदैनौ भनी जवाफ दिएबाट सम्मानित अदालत समक्ष निवेदन पत्र साथ उपस्थित छु । शुरुवाट वादी दावी पुग्न नसक्ने ठहराएको फैसला उल्टी भै धनमायांको ठहर गरिएवाट शुरु र पुनरावेदन अदालतको फैसलामा तात्विक भिन्नता छ । तसर्थः म्याद पाउनु पर्ने स्पष्ट छ । अतः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११,१२(२)(ङ), धारा १६,१७ द्वारा प्रदत्त संवैधानिक तथा न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग), अ.वं.१९३ नं. द्वारा प्रदान कानूनी हक हनन् हुन गएको छ । तसर्थः खिमराज बादी र म प्रतिवादी भएको मिति २०४९।१।२९।२ मा छिनिएको जग्गा हक कायम खिचोला मेटाई पाउँ भन्ने मुद्दा र जालजासी  मुद्दामा पुनरावेदन म्याद दिनु भनी प्रत्यर्थीका नाउँमा परमादेशको आदेश जारी गरी पाउँ भन्ने रिट निवेदन ।

            ५. यस्मा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? यो आदेश प्राप्त भएका मितिले १५ दिन भित्र लिखित जवाफ पठाउनु भनी विपक्षीलाई सूचना पठाई लिखित जवाफ प्राप्त भएपछि वा अवधि नाघेपछि नियम बमोजिम गरी पेश गर्नु भन्ने समेत व्यहोराको २०५२।७।२८।३ को आदेश ।

            ६. खिमराज वादी र निवेदक प्रतिवादी भएको जग्गा हक कायम खिचोला मेटाई पाउँ र जालसाजी मुद्दामा कास्की जिल्ला अदालतबाट दावी नपुग्ने ठहरीई भएको फैसला उपर खिमराजको पुनरावेदन परी शुरु फैसला सदर हुने गरी यस अदालतवाट २०४९।१।२९ मा फैसला भएको राय कितावबाट देखिन्छ । न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) मा शुरु र पुनरावेदन अदालतको निर्णयमा तात्विक भिन्नता भएको मुद्दामा मात्र सर्बोच्च अदालतमा पुनरावेदन लाग्ने व्यवस्था छ । शुरु फैसला मनासिव ठहर भएको हुँदा पुनरावेदन म्याद दिनु पर्ने अवस्था नदेखिएकोले प्रस्तुत रिट निवेदन खारेज गरी पाउँ भन्ने लिखित जवाफ ।

            ७. नियम बमोजिम दैनिक पेशी सुचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको लिखित   जवाफ सहितको मिसिल अध्ययन गरी रिट निवेदकका तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री पन्नामान तुलाधरले मेरो पक्ष रिट निवेदक अम्वर बहादुर गुरुङ्ग वादी र खिमराज सुवेदी प्रतिवादी तथा खिमराज सुवेदी वादी र रिट निवेदक प्रतिवादी भई कि.नं. १३४ को जग्गाका विषयमा जग्गा हक कायम खिचोला र जालसाजी दोहोरो मुद्दाहरु चलेको र सबै मुद्दामा शुरुवाट भएको फैसला उपर खिमराजको पुनरावेदन परी मेरो पक्ष वादी भएको मुद्दामा कि.नं. १३४ को जग्गा धनमायाको देखिन आएकोले शुरुवाट वादीको ठहराएको इन्साफ उल्टी भै वादी दावी पुग्न सक्दैन भनी फैसला भएको छ । एउटै जग्गाको बिषयमा दोहोरो मुद्दा चलेको अबस्थामा एउटा मुद्दाको निर्णयबाट शुरु फैसलामा तात्विक भिन्नता देखिएपछि सवै मुद्दामा पुनरावेदन म्याद दिनु पर्नेमा मेरो पक्ष वादी भएको मुद्दाहरुमा मात्र पुनरावेदन म्याद दिई खिमराज वादी भै चलेका जग्गा हक कायम खिचोला र जालसाजी मुद्दामा पुनरावेदन म्याद नदिएकोले ती मुद्दाहरुमा समेत पुनरावेदन म्याद दिनु भनी प्रत्यर्थीका नाममा परमादेशको आदेश जारी गरी पाउँ भनी प्रस्तुत गर्नु भएको वहस समेत सुनियो ।

            ८. म निवेदक वादी र खिमराज समेत प्रतिवादी तथा खिमराज वादी म समेत प्रतिवादी भै कि.नं. १३४ को जग्गाका बिषयमा हक कायम खिचोला र जालसाज दोहोरो मुद्दाहरु चलेकोमा म वादी भएको मुद्दाहरुमा शुरुवाट वादी दावी पुग्ने ठहर भएकोमा पुनरावेदन अदालत, पोखराबाट कि.नं. १३४ को जग्गा धनमायांको देखिंदा शुरु इन्साफ उल्टी भै फैसला भएको तथा खिमराज बादी भै चलेका मुद्दाहरु शुरु सदर भै फैसला भएकोमा एउटै विषयमा चलेका मुद्दा मध्ये एउटा मुद्दामा भएको फैसलाबाट तात्विक भिन्नता देखिई सकेपछि  सबै मुद्दामा पुनरावेदन म्याद दिनु पर्नेमा खिमराज वादी भै चलेका जग्गा हक खिचोला र जालसाजी मुद्दामा पुनरावेदन म्याद नदिएकाले पुनरावेदन म्याद दिनु भन्ने परमादेशको आदेश जारी गरी पाउँ भन्ने निवेदकको मुख्य निवेदन जिकिर भै खिमराज बादी भै चलेका मुद्दाहरुमा शुरु फैसला सदर भई फैसला भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम शुरु र पुनरावेदनको फैसलामा तात्विक भिन्नता नहुँदा पुनरावेदन म्याद नदिइएको हो, रिट निवेदन खारेज गरी पाउँ भन्ने लिखित जवाफको मुल जिकिर रहेछ ।

            ९.    यस्मा निवेदकको माग वमोजिमको आदेश जारी हुन पर्ने हो होइन सो कुराको निर्णय दिनु परेको छ ।

            १०. निर्णय तर्फ बिचार गर्दा यसमा कि.नं. १३४ को जग्गाको बिषयमा निवेदक र खिमराज छुट्टा छुट्टै बादी प्रतिवादी भई हक कायम खिचोला र जालसाजी मुद्दाहरु चलेको कुरामा बिबाद छैन । एउटै जग्गाको बिषयमा वादी प्रतिवादी दुवैको फिराद परी कारवाही चलेकोमा एउटै मुद्दावाट वादीको सो जग्गामा हक पुग्ने नपुग्ने प्रश्नको निरोपण हुने हुँदा अर्को मुद्दामा पुनरावेदनको म्याद नदिए पनि बादीलाई असर नपर्ने देखिंदा र निवेदक बादी भै चलेको हक कायम खिचोला मुद्दामा निवेदक बादीको पुनरावेदन आज यसै संयुक्त ईजलासवाट किनारा भै सकेको आधार समेतबाट निवेदकको माग बमोजिम परमादेशको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. उदयराज उपाध्याय

 

इति सम्वत २०५४ साल जेष्ठ २१ गते रोज ३ शुभम्  ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु