निर्णय नं. ६३३३ - उत्प्रेषण मिश्रीत परमादेश

निर्णय नं.- ६३३३ २०५४, ने.का.प. अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा
माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा
सम्वत् २०५२ सालको रिट.नं...................१३८६
फैसला मितिः ०५३।८।।२६।४
विषयः- उत्प्रेषण मिश्रीत परमादेश ।
निवेदकः जिल्ला गुल्मी ग्वादी गा.वि.स.वडा नं. ६ वस्ने टासुराम ज्ञवाली ।
विरुद्ध
विपक्षीः श्री लोक सेवा आयोग केन्द्रीय कार्यालय समेत २ ।
§ निवेदकले लोक सेवा आयोगवाट प्रकाशित विज्ञापन नं. ९६३।०५२ अनुसार मेडिकल अधिकृत पदको लागि आन्तरिक प्रतियोगितात्मक परिक्षाद्वारा वढुवा हुने पदको लागि दरखास्त फारम पेश गरेकोमा खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदको लागि तोकिएको न्युनतम शैक्षिक योग्यता आवश्यक पर्ने होइन । लोक सेवा आयोगले विज्ञापन नं. ९६३।०५२ को लागि समेत एम.वि.वि.एस., एम.डी. वा सो सरहको शैक्षिक योग्यता तोकेको मिलेन र त्यसरी तोक्ने अधिकार विपक्षी लोक सेवा आयोगलाई छैन भनी लिएको जिकिर तर्फ हेर्दा, लोक सेवा आयेग (कार्यविधि) ऐन, २०४८ को दफा ७ मा आयोगवाट लिइने परिक्षाको विभिन्न तरिकाहरु तोकिएको छ जस भित्र विज्ञापन नं. ९६३।०५२ वमोजिम पदपूर्ति गरिने प्रकृया समेत समावेश भएको तथा उल्लेखित दफा ७ अन्तर्गतको परिक्षा सम्वन्धी शैक्षिक योग्यता समेत तोक्न सक्ने अधिकार सोही ऐनको दफा ८(१) ले आयोगलाई दिएको देखिन्छ । विज्ञापित जनरल हेल्थ सर्भिसेज अन्तर्गतको मेडिकल अधिकृत पद डाक्टरको भइ सो पदमा नियुक्ति हुने व्यक्तिको काम कारवाही प्रत्यक्षरुपमा जनस्वास्थ्यसँग सम्वन्धित भइ अति सम्वेदनशील भएको तथ्यलाई इन्कार गर्न सकिदैन । मेडिकल अधिकृतले गर्ने काम तथा निजको शीप र दक्षता निजको शैक्षिक योग्यताले समेत निर्देशित गर्ने कुरामा समेत कसैको दुईमत हुदैन । सर्वसाधारण जनताको स्वास्थ्य र जीवनमा आइ पर्ने रोग व्याधिको उपचारमा लाग्नु पर्ने डाक्टर जस्तो पेशा तथा कामको प्रकृतिले अतिनै संवेदनशिल पदका लागि लोक सेवा आयोग (कार्यविधि) ऐन, २०४८ को दफा ८(१) ले दिएको अधिकार वमोजिम नेपाल स्वास्थ्य सेवा नियमहरु, २०५१ को नियम ७ सँग सम्वन्धित अनुसूची ३(१) वमोजिम मान्यता प्राप्त शिक्षण संस्थावाट एम.वि.वि.एस. वा न्युनतम शैक्षिक योग्यताको रुपमा प्राप्त एम.डी. वा सो सरहको उपाधि प्राप्त हुनु पर्ने भनी तोकि सो शैक्षिक योग्यता नपुगेको निवेदकलाई प्रतियोगितावाट हटाउने गरी गरेको विपक्षी आयोगको निर्णयलाई अन्यथा भन्न सकिने अवस्था नदेखिने ।
(प्र.नं. १४)
निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री वद्री वहादुर कार्की
विपक्षी तर्फवाटः विद्वान सरकारी अधिवक्ता श्री कृष्ण राम श्रेष्ठ
अवलम्वित नजीरः- x
आदेश
न्या.मोहन प्रसाद शर्माः- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छः-
२. निवेदक मिति २०४६।३।११ गतेको निर्णयले रा.प.अ.प्रथम श्रेणी प्राविधिक हे.अ.पदमा सोही मिति देखि लागु हुने गरी नियुक्ती पाइ हाल सम्म सोही पदमा कार्यरत छु । विपक्षी लोक सेवा आयोगले मिति २०५२।२।१० मा प्रकाशित वि.नं. ९६३।०५२ (वढुवा) जनरल हेल्थ सर्भिसेज (मे.अ.) तर्फको रिक्त ५ पदको लागि योग्य उम्मेदवारवाट दरखास्त आव्हान गरेकोले रीत पुर्वकको फाराम भरी दरखास्त पेश गरेको थिए उक्त सूचनामा योग्यताको हकमा वढुवा हुने पदभन्दा एक श्रेणी मुनिको पदको सेवा प्रवेशको लागि निर्धारित न्युनतम शैक्षिक योग्यता भएको नेपाल स्वास्थ सेवा (गठन समुह तथा श्रेणी विभाजन र नियुक्ती) नियमहरु, २०५१ को दफा ९ वमोजिम हुनु पर्ने भन्ने किटानी उल्लेख भएकोले निवेदक हाल वहाल रहेको पदको निमित्त आवश्यक पर्ने न्युनतम शैक्षिक योग्यता जनरल मेडिसिनको प्रमाण पत्र तह उत्तिर्ण भएकोले दरखास्त स्वीकृत भई लिएको लिखित परिक्षामा सामेल भइ लिखित परिक्षाको नतिजा प्रकाशित हुँदा सफल भए । तर अचानक मिति २०५२।७।१२ मा वोलाएको अन्र्तवार्तामा जांदा शैक्षिक योग्यता वारेमा वुझ्न परेकोले भनी अन्तरवार्ता स्थगित गरेको पत्र दिइयो । अन्य उम्मेदवारको अन्तरवार्ता लिने काम सम्पन्न भएको छ । यस्तैमा आयोगको मिति २०५२।७।१२ को निर्णयले लोक सेवा आयोग कार्यविधि ऐन, २०४८ को दफा ८(२) को आधारमा शैक्षिक योग्यता नमिलेको भनी दरखास्त नै रद्द गरिएको जानकारीको पत्र मिति २०५२।७।१४ मा दिइयो । सोही पत्रमा नेपाल स्वास्थ सेवा नियमहरु, २०५१ को नियम ७ सँग सम्वन्धित अनुसुचि ३(१) अनुसारको शैक्षिक योग्यताको प्रमाण पत्र भएमा सात दिन भित्र पेश गरेमा अन्तवार्तामा सम्मिलित गराउने भन्ने उल्लेख भएको छ । यसरी विपक्षीले मेरो सम्वन्धमा गरेको उल्लेखित कार्य कार्यवाही निम्न आधारमा त्रुटीपूर्ण भइ वदर भागी छ ।
३. विपक्षी आयोगले प्रकाशित गरेको मिति २०५२।२।१० को विज्ञापन तथा सूचना नि.से.नि. २०५० को नियम ७४ अन्तरत प्रकाशित गरिएको हुँदा सो वदर नभएसम्म अन्य शैक्षिक योग्यता तोक्न मिल्दैन । सो सूचनामा नेपाल स्वास्थ्य सेवा समुह नियमहरु, २०५१ को नियम ९ बमोजिम वढुवा हुने पदभन्दा एक श्रेणी मुनीको पदको सेवा प्रवेशको लागि निर्धारित शैक्षिक योग्यता भनी किटानी उल्लेख भएको र सोही अनुसारको शैक्षिक योग्यताको प्रमाण पत्र मैले पेश गरी विपक्षीले स्वीकार गरी अन्तरवार्ता वाहेकको अन्य काम कारवाहीमा मलाई समावेश गराई सकेपछि हाल आएर परिक्षा नै रद्द गर्ने अधिकार विपक्षीलाई छैन । विज्ञापन सूचनामा तोकिएको शैक्षिक योग्यता पुगेको प्रमाण पेश गर्न नसकेको भन्ने भनाई पनि विपक्षीको छैन । मिति २०५२।७।१२ मा लाग्दै नलाग्ने नियमको आधारमा स्वीकृत भइ सकेको दरखास्त रद्द गरेपछि शैक्षिक योग्यताको प्रमाण पेश भएमा अन्तरवार्तामा सम्मिलित गराउने भनाई हास्यास्पद मात्र छ । यसरी एक पटक स्वीकार भै सकेको दरखास्त पुनः रद्द गर्न मिल्दैन त्यस्तै मिति २०५२।७।१२ को निर्णयले रद्द भइ सकेको दरखास्त सात दिन भित्र पुनः क्रियाशिल हुन सक्दैन ।
४. लोक सेवा आयोग कार्यविधि ऐन, २०४८ को दफा ८(२) को अधिकार प्रयोग गरी मेरो दरखास्त रद्द गर्ने निर्णय गरेको देखिन्छ । तर उक्त व्यवस्था कुनै शैक्षिक योग्यता निजामती पदको लागि आयोगवाट तोकिएको वा मान्यता दिइएको योग्यता सरह छ, छैन भन्ने सम्वन्धमा निर्णय गर्ने प्रयोजनको लागि हो । विज्ञापन गर्दा वढुवा हुने पद भन्दा एक तह मुनिको पदको लागि तोकिएको न्युनतम शैक्षिक योग्यता माग गर्ने तर अन्तरवार्ता दिने वखतमा वढुवा हुने पदको निमित्त तोकिएको न्युनतम शैक्षिक योग्ता नभएको भनी दरखास्त रद्द गर्न पाउने छुट विपक्षीलाई छैन । नेपाल स्वास्थ सेवा गठन ऐन, नियमहरु, २०५१ को नियम ७ को अनुसुचि ३(१) द्वारा निर्धारित योग्यता निवेदकको हकमा आकृष्ट हुदैन । किन कि उक्त नियम २०५१।२।२ वाट मात्र लागु भएको हो भने म मिति २०४६।३।११ देखि कार्यरत रही २०५०।३।११ देखि सम्भाव्य उम्मेदवार हुन आवश्यक पर्ने ४ वर्षको न्युनतम सेवा अवधि पूरा गरी सकेको छु । लागु हुँदा पनि मिति २०५१।२।२ पछी सेवा प्रवेश गर्ने उम्मेदवारको हकमा लागु हुने हो । उक्त नियम, २०५१ को नियम ७ खुल्ला प्रतियोगिता द्वारा पूर्ति गर्दाको अवस्थामा मात्र आकृष्ट हुने भनी किटानी साथ लेखिएकोमा वढुवा द्वारा पूर्ति हुने प्रस्तुत वि.नं. ९६३।०५२ को पदको हकमा लागु हुन सक्दैन ।
५. यसर्थ उल्लेख भए बमोजिम मेरो हकमा लागु हुन नसक्ने उक्त नियम ७ को अनुसूची ३(१) मेरो हकमा लागु गरी मेरो दरखास्त रद्द गरी अन्तरवार्तामा सामेल समेत नगराएर संविधानको धारा ११,१२(२)(ङ) निजामती सेवा ऐन तथा नियम, २०५० द्वारा संरक्षीत मेरो मौलिक तथा कानूनी हक हनन भएकोले उत्प्रेषणको आदेशले विपक्षी आयोगको मिति २०५२।७।१२ को निर्णय तथा कार्यवाही वदर गरी परमादेशको आदेशले मेरो अन्तरवार्ता लिर्ई कानून वमोजिम विज्ञापित पदमा सिफारिस गरी पाउन परमादेश जारी गरी पाउँ साथै विज्ञापन नं. ९६३।०५२ को नतिजा प्रकाशन सिफारिस तथा नियुक्ति लगायतका काम कारवाही प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म स्थगित गराउनु भनी अन्तरिम आदेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन पत्र ।
६. यसमा के कसो भएको हो ? निवेदन माग वमोजिमको आदेश किन जारी गर्नु नपर्ने हो ? वाटाका म्याद वाहेक सात दिन भित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ दिनु भनी विपक्षीहरुलाई सूचना दिनु साथै अन्तरिम आदेश सम्वन्धमा छलफल गर्न महान्यायाधिवक्ताको कार्यालयलाई सात दिनको सूचना दिनु भन्ने समेतको मिति २०५२।७।२९।४ को यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।
७. यस्मा अन्तरीम आदेश जारी गर्नु पर्ने अवस्था नदेखिंदा अन्तरिम आदेश जारी हुन सक्दैन भन्ने समेतको मिति २०५२।१०।५।६ को यस अदालत संयुक्त इजलासको आदेश ।
८. नेपाल स्वास्थ सेवा नियमहरु २०५१ ले आन्तरिक प्रतियोगितात्मक परिक्षाद्वारा रा.प.अ.पदवाट रा.प.पदमा पूर्ति गर्दा चाहिने योग्यता वारेमा स्पष्ट पार्न नसकेको कारणले वि.नं. ९६३ (०५२) को लागि निजको शैक्षिक योग्यता पुगेको जस्तो देखिएता पनि डाक्टर जस्तो सम्वेदनशील पदमा पुग्नको लागि न्युनतम योग्यता अर्थात् एम.वि.एस. गरेको हुनु पर्ने देखिएकोले व्यवहारिकतालाई समेत ध्यानमा राखी नेपाल स्वास्थ सेवा (गठन समुह तथा श्रेणी विभाजन र नियुक्ती) नियमहरु, २०५१ को नियम ७(१) मा व्यवस्था भएको शैक्षिक योग्यता रा.प.तृ.श्रेणीको मेडिकल अधिकृतको वढुवा पदकोलागि समेत कायम गर्ने गरी आयोगवाट निर्णय गरिएको हो । तदनुरुप निवेदकको शैक्षिक योग्यता मिलेको देखिन नआएकोले लोक सेवा आयोग कार्यविधि ऐन, २०४८ को दफा ८(२) को आधारमा समेत निजले सात दिन भित्र एम.वि.वि.एस.वा सो सरहको प्रमाणपत्र पेश गर्न नसकेकोले निजको दरखास्त रद्द गर्ने सम्मको निर्णय भएको र सो वमोजिमको प्रमाणपत्र पेश हुन नआएकोले निजको दरखास्त रद्द गरिएको कार्य मनासिव हुँदा रिट जारी गर्नु पर्ने अवस्था छैन । खारेज होस् भन्ने समेतको विपक्षी लोक सेवा आयोग केन्द्रीय कार्यालय तथा सो को अन्तरवार्ता तथा शिफारिस शाखाको एकै व्यहोराको अलग अलग लिखित जवाफ ।
९. विपक्षीले रिट निवेदन पत्रमा उठाउनु भएको शैक्षिक योग्यता सम्वन्धी विषयमा लोक सेवा आयोगवाट निर्णय भएको भन्ने कुरा रिट निवेदन व्यहोरावाट देखिन्छ यसरी लोक सेवा आयोगवाट प्रचलित ऐन नियमको आधारमा भएको निर्णयलाई लिए र उक्त विवाद संंग असंलग्न मन्त्री परिष्द समेतलाई प्रत्यर्थी वनाउनु पर्ने कुनै कानूनी आधार नभएकोले प्रस्तुत रिट निवेदन खारेज होस् भन्ने समेतको श्री ५ को सरकार मन्त्री परिषद् सचिवालयको लिखित जवाफ ।
१०. नियम वमोजिम आजको दैनिक पेशी सूचीमा चढी निर्णयार्थ यस ईजलास समक्ष पेश भएको प्रस्तुत रिट निवेदनमा निवेदकतर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री वद्री वहादुर कार्कीले विपक्षी लोक सेवा आयोगले प्रकाशित गरेको विज्ञापन नं.९६३।०५२(वढुवा) जनरल हेल्थ सर्भिसेज (मे.अ.) पदको लागि तोकिएको योग्यता पुगेको कारण दरखास्त पेश गरी परिक्षामा समेत उत्तीर्ण भएकोले अन्तरवार्तामा सम्मिलित हुन जांदा तोकिएको शैक्षिक योग्यता नपुगेको भन्ने आधारमा प्रतियोगितावाट हटाउने निर्णय गरियो । लोक सेवा आयोग (कार्यविधि) ऐन, २०४८ को दफा (२) को आधारमा शैक्षिक योग्यता नमिलेको भनी दरखास्त रद्द गरिएको छ । यो ऐन वमोजिम आयोगले योग्यता निर्धारण गर्ने होइन । कुनै पदको लागि शैक्षिक योग्यता तोक्ने काम सम्वन्धित सेवा समुह नियमावलीको हो । स्वास्थ्य सेवा गठन नियुक्ति नियमहरु, २०५१ वमोजिमको योग्यता पुगेको मेरो पक्षलाई अन्तरवार्ताको तहमा गएर दरखास्त रद्द गर्ने आयोग समेतको काम कारवाही मिलेको छैन भनी र विपक्षी लोक सेवा आयोगको तर्फवाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठले लोक सेवा आयोग (कार्यविधि) ऐन, २०४८ को दफा ८(२) ले लोक सेवा आयोगले संचालन गर्ने परिक्षाको लागि शैक्षिक योग्यता तोक्न सक्छ । विज्ञापित पद मेडिकल अधिकृत तहको भएको र निवेदक चिकित्साशास्त्रमा प्रमाणपत्र तह पास गरी शिक्षा शास्त्रमा स्नातक गरेको व्यक्तिलाई डाक्टर जस्तो सम्वेदनशील पेशाको लागि स्वास्थ सेवा नियमहरु, २०५१ ले निर्धारित गरेको एम.वि.वि.एस. वा सो सरहको योग्यता अनिवार्य समेत भएकोले आयोगले सोही वमोजिम शैक्षिक योग्यता तोकी योग्यताको अभावमा प्रतियोगितावाट निवेदकलाई हटाउने गरेको निर्णय मिलेकोले रिट निवेदन खारेज होस् भनी वहस गर्नु भयो ।
११. विद्वान कानून व्यवसायीहरुले गर्नु भएको उल्लेखित वहस जिकिरलाई दृष्टिगत गरी मिसिल संलग्न निवेदन सहितको कागजात हेरी निवेदन माग वमोजिमको आदेश जारी गर्नु पर्ने हो, होइन सो कुराको निर्णय दिनु पर्ने हुन आयो ।
१२. निर्णयतर्फ हेर्दा, लोक सेवा आयोगले मिति २०५२।२।१० मा प्रकाशन गरेको वि.नं. ९६३।०५२ (वढुवा) जनरल हेल्थ सर्भिसेज (मे.अ.) पदको लागि तोकिएको योग्यता पुगेको हुँदा दरखास्त दिइ लिएको परिक्षामा उत्तीर्ण समेत भइ अन्तरवार्ता दिन जांदा नेपाल स्वास्थ सेवा नियमहरु, २०५१ को नियम ७ सँग सम्वन्धित अनुसूची ३(१) वमोजिम शैक्षिक योग्यता नपुगेको भन्ने आधारमा मलाई प्रतियोगितावाट हटाउने गरी मिति २०५२।७।१२ मा निर्णय गरेकोले सो निर्णय वदर गरी कानून वमोजिम अन्तरवार्ता लिई विज्ञापित पदमा सिफारिस गरी पाउँ भनी निवेदकले मुल रुपमा दावी लिएको देखियो ।
१३. विज्ञापनमा तोकिएको आवश्यक न्युनतम योग्यता पुगेका निवेदकको दरखास्त फारम स्वीकार गरी मिति २०५२।४।३१ गतेमा भएको लिखित परिक्षामा उत्तीर्ण भई मिति २०५२।७।१२ मा हुने भनिएको अन्तरवार्तामा सामेल हुँदा फारम भर्दा पेश गरेको शैक्षिक योग्यता वारे थप कुरा वुझ्नू परेको भनी निवेदकको हकमा तोकिएको अन्तरवार्ता स्थगित गरिएको जानकारी सोही दिन निवेदकलाई दिएको तथा विपक्षी आयोगको मिति २०५२।७।१२ गतेको निर्णयले रा.प.तृतीय श्रेणीको मेडिकल अधिकृत पदको लागि नेपाल स्वास्थ सेवा (गठन समुह तथा श्रेणी विभाजन र नियुक्ती) नियमहरु, २०५१ (यसपछि नेपाल स्वास्थ सेवा नियमहरु २०५१ भनिएको) को नियम ७ सँग सम्वन्धित अनुसूची ३(१) वमोजिम एम.वि.वि.एस., एम.डि. वा सो सरहको न्युनतम शैक्षिक योग्यता नपुगेको कारणले लोक सेवा आयोग (कार्यविधि) ऐन, २०४८ को दफा ८(२) को आधारमा शैक्षिक योग्यता नमिलेकोले दरखास्त रद्द गरेको भन्ने सम्वन्धित कार्यवाही फाइलवाट देखिन्छ । निवेदकको शैक्षिक योग्यता हेर्दा जनरल मेडिसिनमा प्रमाणपत्र तह उत्तीर्ण गरी शिक्षा शास्त्रमा स्नातक तह पास गरेको प्रमाणपत्र दरखास्त फारम साथ पेश गरेको पनि देखिन्छ ।
१४. निवेदकले लोक सेवा आयोगवाट प्रकाशित विज्ञापन नं. ९६३।०५२ अनुसार मेडिकल अधिकृत पदको लागि आन्तरिक प्रतियोगितात्मक परिक्षाद्वारा वढुवा हुने पदको लागि दरखास्त फारम पेश गरेकोमा खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदको लागि तोकिएको न्युनतम शैक्षिक योग्यता आवश्यक पर्ने होइन । लोक सेवा आयोगले विज्ञापन नं. ९६३।०५२ को लागि समेत एम.वि.वि.एस., एम.डी. वा सो सरहको शैक्षिक योग्यता तोकेको मिलेन र त्यसरी तोक्ने अधिकार विपक्षी लोक सेवा आयोगलाई छैन भनी लिएको जिकिर तर्फ हेर्दा, लोक सेवा आयोग (कार्यविधि) ऐन, २०४८ को दफा ७ मा आयोगवाट लिइने परिक्षाको विभिन्न तरिकाहरु तोकिएको छ जस भित्र विज्ञापन नं. ९६३।०५२ वमोजिम पदपूर्ति गरिने प्रकृया समेत समावेश भएको तथा उल्लेखित दफा ७ अन्तर्गतको परिक्षा सम्वन्धी शैक्षिक योग्यता समेत तोक्न सक्ने अधिकार सोही ऐनको दफा ८(१) ले आयोगलाई दिएको देखिन्छ । विज्ञापित जनरल हेल्थ सर्भिसेज अन्तर्गतको मेडिकल अधिकृत पद डाक्टरको भइ सो पदमा नियुक्ति हुने व्यक्तिको काम कारवाही प्रत्यक्षरुपमा जनस्वास्थ्यसँग सम्वन्धित भइ अति सम्वेदनशील भएको तथ्यलाई इन्कार गर्न सकिदैन । मेडिकल अधिकृतले गर्ने काम तथा निजको शीप र दक्षता निजको शैक्षिक योग्यताले समेत निर्देशित गर्ने कुरामा समेत कसैको दुइमत हुदैन । सर्वसाधारण जनताको स्वास्थ र जीवनमा आइ पर्ने रोग व्याधिको उपचारमा लाग्नु पर्ने डाक्टर जस्तो पेशा तथा कामको प्रकृतिले अतिनै सम्वेदनशिल पदका लागि लोक सेवा आयोग (कार्यविधि) ऐन, २०४८ को दफा ८(१) ले दिएको अधिकार वमोजिम नेपाल स्वास्थ सेवा नियमहरु, २०५१ को नियम ७ सँग सम्वन्धित अनुसूची ३(१) वमोजिम मान्यता प्राप्त शिक्षण संस्थावाट एम.वि.वि. एस. वा न्युनतम शैक्षिक योग्यताको रुपमा प्राप्त एम.डी. वा सो सरहको उपाधि प्राप्त हुनु पर्ने भनी तोकि सो शैक्षिक योग्यता नपुगको निवेदकलाई प्रतियोगितावाट हटाउने गरी गरेको विपक्षी आयोगको निर्णयलाई अन्यथा भन्न सकिने अवस्था देखिएन ।
१५. अतः विज्ञापन नं. ९६३। (०५२) को मेडिकल अधिकृत पदको लागि निवेदकले पेश गरेको दरखास्त फारम रद्द गरी प्रतियोगितावाट निवेदकलाई हटाउने विपक्षी लोक सेवा आयोगको मिति ०५२।७।१२ को निर्णय कानून सम्मतः देखिएकोले सो निर्णय वदर गरी अन्तरवार्तामा सामेल गराउने आदेश गरी पाउ भन्ने निवेदन जिकिर मनासिव नहुँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । मिसिल नियम वमोजिम गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरि प्रसाद शर्मा
इति सम्वत २०५३ साल मंसिर २६ गते रोज ४ शुभम् ।