निर्णय नं. ६३३४ - कीर्ते

निर्णय नं.- ६३३४ २०५४, ने.का.प. अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
सम्वत् २०४९ सालको फौ.पु.नं. ......५९२
फैसला मितिः ०५३।५।।२५।३
मुद्दाः- कीर्ते ।
पुनरावेदक
वादीः जि.म.डाम्ही भेडै गा.वि.स. वडा नं.२ वस्ने रामनारायण ठाकुरको छोरा वर्ष ४४ को रणेन्द्र कुमार ठाकुर ।
विरुद्ध
विपक्षीः
प्रतिवादी : ऐ.ऐ. वस्ने जवाहिर मिश्रको छोरा चन्देश्वर मिश्र ।
§ वादीले आफैले राजीनामा गरी दिएको हो होइन भन्ने प्रश्न निरोपण भए पछि मात्र राजिनामा गरी लिने दर्ता गर्ने कार्य दुषित वा सही के हो भन्ने कुरा निरोपित भएपछि हद म्याद कति हुने वा नहुने भन्ने कुराको पनि टुङ्गो लाग्ने अवस्था श्रृजना हुने ।
(प्र.नं.१३)
पुनरावेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया ।
प्रत्यर्थीतर्फवाटः विद्वान अधिवक्ता श्री हरिहर दाहाल ।
विद्वान अधिवक्ता श्री रामकृष्ण निरौला ।
अवलम्वित नजीरः- x
फैसला
न्या.लक्ष्मण प्रसाद अर्यालः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पुनरावेदन अदालत जनकपुरको फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त तथ्य यस प्रकार छ :
२. स्व.राम नारायण ठाकुर बिपक्षीको पिताको नामवाट मैलै खरिद गरी जि.म.श्रेस्तामा मेरा नाउमा दा.खा. गराई लिएको तपसिलको जग्गा सदा सर्वदा देखि भोग चलन गरी आएको छु म धेरै जसो अस्वस्थ रहने भएकोले खेतीको कार्य लगायत अन्य कार्य इष्ट मित्रहरुबाट गराउने गरी आएको । प्र.रणेन्द्र पनि मेरो परिवार भित्र कै भएकोले मेरो खर्चवाट तपसिलमा लेखिएको जि.म.परौल तिलगढ गा.पं. वडा नं. ८ कि.नं. २०७, २११, २१५, २१८ र २६१ को ज.वि. ६(२(८.१÷२ जग्गा आवाद गर्ने आयस्ता दिने गरेको र त्यसको तिरो इत्यादी निज रणेन्द्रले नै तिरी आएको थियो । निज माथि मैले कुनै शंका गरेको थिइन । हाल जग्गा आवाद गर्न खर्च म बाट माग गरीएन आवत जावत पनि एकाएक वन्द गरेकोले र भेट्न खोज्दा पनि भेट्न इन्कार गरेकोले शंका लागि पत्तो लगाउँदा राम अन्चीत चौधरीबाट सम्पूर्ण जग्गा निजले आफ्ना नामबाट आवाद गरेको कुरा ०४४।३।२७ मा थाहा पाई रणेन्द्र कुमारलाई भेटी ०४४।३।३२ गते सोध पुछ गर्दा यो जग्गा मेरो हो र ०३३।१।६ गते मेरो नाममा राजीनामा भै आएको जग्गामा तपाईको कुनै सरोकार छैन भनेवाट आश्चर्यमा परी मा.पो.का. महोत्तरीबाट ०४४।६।६ मा नक्कल लिंदा मेरो नांउको सम्पूर्ण जग्गा कीर्ते चन्देश्वर खडा गरी राजीनामामा आफ्नू नाम उल्लेख गर्नु सर्वथा अन्यायपूर्ण हो । निजले कुन चन्देश्वर खडा गरी राजीनामा गराए निजैबाट खुलाई सनाखत गराई पाउँ । मैले राजीनामा गर्दै नगरेको लिखतको आधारमा विपक्षी प्रतिवादीले जग्गा आफ्ना नाममा गराई ०४४।३।२७ गते देखि खिचोला गरेकोले छुटैृ मुद्दा दर्ता गराएको छु । कीर्ते गर्ने रणेन्द्र कुमारलाई कीर्ते कागजको ७ नं. बमोजिम संजाय गरी पाउँ भन्ने समेत ब्यहोराको फिराद पत्र ।
३. मेरो आफ्नो खेती सम्वन्धी कामकाज, गरेकोमा बिपक्षीको जग्गा आवाद तिरो भारो गर्ने गरेको भन्ने कुरा विश्वसनीय छैन । एकागाउँ ठाउँमा वस्दा विपक्षी मेरो घरमा आउने म विपक्षीको घर जाने कुराको कुनै महत्व राख्दैन । मैले बिपक्षीको जग्गा धन कीर्ते गरी खाने प्रयोजन नै छैन । वास्तविकता यो छ की वादीले जग्गा विक्री गर्दै खांदै गर्दा आर्थिक व्यवहार धान्न नसक्ने अवस्थामा झूठ्ठा उजुर गरी सम्पत्ति पाउन सकिन्छ कि भनी धारणा लिनु भएको हो । यदि कीर्ते गरी लिएको भए म्याद भित्र उजुर गरी बदर गराउन सक्नु पर्ने थियो । ०३३।१।६ मा भएको लिखतलाई ०४४ सालमा आएर उजुर गर्ने अधिकार कुनै कानूनले प्रदान गर्दैन । हद म्याद सम्बन्धी प्रष्ट व्यवस्था प्रतिकूल यस मुद्दामा लाग्ने नसक्ने नजिरको साहारा लिई दर्ता गराएको भए पनि खारेज भागी छ । वादीसँग मैले ०३३ सालमा जग्गा खरिद गरी सोही समय देखि भोगचलन गरी आएको छु । मेरो लिखत कीर्ते होइन मैले जग्गा खरिद गरेको तथ्य वादी र निजका अंशियारहरु लगायत सम्पूर्ण परिवार गाउँ समाजलाई पनि थाहा भएको हो यसको प्रमाण वादीले अर्जुन मिश्रसँग गर्नु भएको वण्डापत्र ०४०।१।१८ को मौजुद छ । वादीले जग्गा विक्री गरेको नभए यस्मा दावी लिएको जग्गा पनि बण्डा हुन्थ्यो र निजको समेतका नांउमा दर्ता हुने थियो । मैले खरिद गरी लिएको जग्गा विभिन्न व्यक्तिलाई विक्री गरी विभिन्न व्यक्तिको भोगमा गै सकेको छ । सो जग्गाको आयस्ता वादीलाई वुझाए हुँला भन्ने विश्वासनिय हुन सक्दैन मेरो सक्कल लिखत हराएको कुरा वादीले थाहा पाई के कस्तो षडयन्त्र रचना गरी यो नालेस दिनु भएको हो निजै जानुन् । कीर्ते काम कुराको लागि २ वर्ष भित्र नालेस दायर गर्नु पर्ने सिद्धान्त प्रतिपादित हुँदा खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।
४. नि.नं. ८१४ को नजीरको तथ्य भन्दा प्रस्तुत मुद्दाको तथ्य फरक रहेको देखिंदा उक्त नजीर प्रस्तुत मुद्दामा आकर्षितहुने देखिएन । तसर्थ कीर्ते कागजको १८ नं. को हदम्याद नाघी वादीको फिराद दायर भएको देखिंदा हदम्याद नाघि दायर भएको फिरादमा इन्साफ गर्न नमिल्ने हुँदा वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत महोत्तरी जिल्ला अदालतबाट ०४६।७।२९।३ मा भएको फैसला ।
५. शुरु म.जि.अ.ले प्रमाण ऐन, २०३१ को दफा ५४ बमोजिम बुझ्नू पर्ने प्रमाण नबुझी गलत आधार श्रृजना गरी मेरो दावी नै खारेज गर्ने गरेको फैसला कानूनको प्रतिकूल भएकोले सो फैसला बदर गरी दावी बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन ।
६. यसमा यसै लगाउको दे.पु.नं. १०९४ मा प्रत्यर्थी झिकाउने आदेश भएकोले यसमा पनि अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा सो अवस्था नाघेपछि नियमानुसार पेश गर्नु भन्ने तत्कालिन जनकपुर अञ्चल अदालतवाट ०४७।८।१८।३ भएको आदेश ।
७. कीर्ते कागजको १८ नं. को हदम्यादको मनासाय बिपरीत देखिंदा शुरु महोत्तरी जिल्ला अदालतको मिति ०४६।७।२९ को खारेजी फैसला वदर गरी दिएको छ । वादी दावी बमोजिम कीर्ते गरेको हो होइन ? सो प्रश्नमा दुवै पक्षको प्रमाण वुझी सो को मूल्याकंन गरी निर्णय गर्नु भनी उपस्थित दुवै पक्षलाई तारृेख तोकि मिसिल शुरु महोत्तरी जिल्ला अदालतमा पठाई दिने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत जनकपुरको फैसला ।
८. पुनरावेन अदालत जनकपुरको फैसला त्रुटीपूर्ण हुँदा बदर गरीपाउँ भनी प्रतिवादी रणेन्द्र कुमार ठाकुरको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
९. अ.वं.२०२ नं. बमोजिम विपक्षी झिकाउने भन्ने यस अदालत संयुक्त इजलासको आदेश।
१०. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक तर्फका विद्वान अधिवक्ता श्री रतन लाल कनौडियाले ०४४।३।२७ मा थाहा पाएको भनी ०४४।७।११ मा फिराद परेको छ । ०३५।३।२८ मा ०३३ सालको राजीनामा को नक्कल पुनरावेदकको शाला (राम पृय मिश्र जो निजका कारोवारी समेत हुन) ले लिएका छन् । ०४०।१।१८ मा वण्डा गर्दा सो राजीनामामा उल्लेखित जग्गा उल्लेख गरिएको पनि छैन । गजलाल लिम्वूको नजीर लगाएको पनि मिलेको छैन । नया परिवर्तित परिप्रेक्ष्यमा रमादेवी राजभण्डारीको नजीर पनि प्रतिपादित भएको छ । फिरादीले नक्कल लिएवाट अनाधिकारीक जानकारी भएको भन्ने भनाईबाट जानकारी पहिले भएको भन्ने देखिन आउछ भनी र प्रत्यर्थी तर्फका विद्वान अधिवक्ता श्री हरिहर दाहालले थाहा पाउने प्रकृया प्रत्यक्ष हुन्छ, जसरी पनि थाहा पाउन सकिन्छ भन्ने अनुमान गर्न मिल्दैन । लिखित प्रमाण बाटै थाहा पाएको हुनु पर्छ । पियुसराज पाण्डे, लोक भक्त राणा र गजलाल लिम्वू समेतका मुद्दामा यस विषयमा सिद्धान्त समेत प्रतिपादित भै सकेको छ । शुरुमा निर्णय गर्न पठाउदैमा कसैलाई असर परिहाल्ने अवस्था पनि छैन भनी र प्रत्यर्थि तर्फका अर्का विद्वान अधिवक्ता श्री रामकृष्ण निरौलाले प्रतिवादी मध्ये उपेन्द्र झा राजेन्द्र झा र ललित झाले म्यादै गुजारी वसी प्रतिउत्तर फिराएका छैनन् । राजेन्द्र झा र सुनैनाले हाल पुनरावेदन पनि गरेका छैनन् । मेरो पक्ष मानसिक रुपले कमजोर हुनुहुन्छ । । त्यस्तो अवस्थामा महोत्तरी माल हुँदा हुँदै पर्सा मालमा गएर वढीले दस्तूर तिरेर पास गर्नु पर्ने अन्य कुनै कारण देखिदैन । रणेन्द्रकै वावुले पास गरी दिएको जग्गा रणेन्द्रले पुनः कसरी पास गरी लिए सो समेत विचारणीय छ । राम पृत मेरो वारिस होइन । मैले ०४४।३।२७ भन्दा पहिले नक्कल लिएको छैन । जालसाज कीर्ते कृया प्रकाश नभएको अवस्थामा थाहा हुँदैन । नक्कल लिएर थाहा पाएको मितिले म्यादै भित्र आएको अवस्थामा खारेज गरेको वदर गरी इन्साफ गर्न पठाएको मिलेकै हुँदा सदर हुनु पर्छ भनी गर्नु भएको बहस समेत सुनियो ।
११. अव प्रस्तुत मुद्दामा पुनरावेदन अदालतको इन्साफ मिलेको छ छैन ? सो को निर्णय दिनु परेको छ ।
१२. निर्णय तर्फ विचार गर्दा यसमा फिरादको प्रकरण १ र २ मा पर्सामा गै कीर्ते चन्दे्रश्वर भूमिहार खडा गरी मेरो नाममा दर्ता रही मेरो नै हक भोगको जग्गाहरु मिति ०३३।१।६ का दिन आफ्नो नाममा राजीनामा लेखाई पास गराई लिएको कुरा २०४४।३।२७ मा नक्कल लिंदा थाहा भयो । कुन चन्देश्वर व्यक्ति खडा गरी राजीनामा रजिष्ट्रेशन पारीत गराए सो निजैवाट झिकाउन लगाई मलाई सनाखत गराई पाउँ । मैले राजिनामा नगरेको जग्गा प्रतिवादीले आफ्नो नाममा दर्ता गराई ०४४।३।२७ देखि ज.खि. समेत गरी चलन हटक गरेकोमा फिराद गरेको छु । कीर्ते चन्देश्वर भन्ने व्यक्ति खडा गरी गराई ०३३।१।६ मा रजिष्ट्रेशन पारीत गराई लिएको कीर्तेको १ नं. बमोजिमको अपराध गरेकोले ऐ. ७ नं. अनुसार सजाय गरी पाउ भन्ने दावी भएको र प्रतिउत्तरको प्रकरण ३ मा वादीले जग्गा विक्री गर्दै खांदै गरेको र प्रकरण ६ मा वादी सँग जग्गा खरिद गरेको हो कीर्ते होइन भन्ने उल्लेख भएको हुँदा वादी र प्रतिवादी वीच ०३३।१।६ मा राजिनामा गरी दिने भनेको चन्देश्वर भूमिहार सक्कली वा नक्कली के भन्ने मुख्य विवाद परेको देखिन्छ ।
१३. महोत्तरी जिल्लाको मानिस वेजिल्ला पर्सा मा.पो.का. गई लिखत भएको र सनाखत समेत भएको भन्ने तथ्यमा विवाद देखिदैन । यसरी वादीले आफैले राजीनामा गरी दिएको हो होइन भन्ने प्रश्न निरोपण भए पछि मात्र राजिनामा गरी लिने दर्ता गर्ने कार्य दुषित वा सही के हो भन्ने कुरा निरोपित भएपछि हद म्याद कति हुने वा नहुने भन्ने कुराको पनि टुङ्गो लाग्ने अवस्था श्रृजना हुने हुँदा यस्तो प्रकारको दाता नै कीर्ते हो भन्ने विवादका सम्वन्धमा मिल्दो नजीर पनि पेश हुन नसकेको र ६ वटा लिखत बदर मुद्दा मध्ये यही प्रश्न समावेश भएको ०३३।१।६ को लिखतबाट हक भएको भनी सुनैना र राजेन्द्र झालाई रणेन्द्रले गरी दिएको लिखत दर्ता बदर मुद्दा पनि उही आधारमा शुरुमा इन्साफका लागि पठाउने गरेको उपर मा पुनरावेदन नपरी अन्तिम भैरहेको अवस्था समेत हुँदा पुनरावेदन अदालत जनकपुरले इन्साफ गर्न शुरुमा पठाउने गरेको मिति ०४९।८।१७ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.उदयराज उपाध्याय
इति सम्वत २०५३ साल भाद्र २५ गते रोज ३ शुभम् ।