निर्णय नं. ६३३५ - कर्तव्य ज्यान डाँका चोरी

निर्णय नं.- ६३३५ २०५४, ने.का.प. अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने
सम्वत् २०५२ सालको फौ.पु.नं. .......१२१४
सम्वत् २०५२ सालको फौ.पु.नं. ........१०८०
फैसला मितिः ०५३।१०।।२१।२
विषयः- कर्तव्य ज्यान डांका चोरी ।
पुनरावेदक
प्रतिवादीः धादिङ्ग जिल्ला जिवनपुर गा.वि.स.वडा नं.२ घर भै हाल केन्द्रीय कारागारमा थुनामा रहेको वर्ष २६ को नेप्टे भन्ने पदम बहादुर मगर समेत ।
विरुद्ध
विपक्षी
वादी : सानुमैयाको जाहेरीले श्री ५ को सरकार समेत ।
पुनरावेदक
वादीः सानुमैयाको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी
प्रतिवादीः धादिङ्ग जिल्ला जीवनपुर गा.वि.स. वार्ड नं. २ घर भै हाल केन्द्रीय कारागारमा थुनामा रहेको वर्ष २६ को नेप्टे भन्ने पदम बहादुर मगर समेत ।
§ दण्डनीय कुरामा संलग्न व्यक्तिले अपराधिक दायित्व अर्कामा सार्ने प्रयास हुने सम्भावना रहेको तर आफूले दायित्व स्वीकार गरी अरुलाई उन्मूक्ती दिने स्थिति नरहने हुँदा निज आफैले मात्र हिर्काएकोमा अदालत समक्ष समेत सावित भएको देखिंदा त्यसलाई अन्यथा भन्नु मनासिव नदेखिने ।
(प्र.नं. ३५)
पुनरावेदक वादी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री नन्द बहादुर सुवेदी
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री वच्चु सिंह खड्का
अवलम्वित नजीरः
फैसला
न्या.लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत पाटनको मिति २०५१।९।१२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त व्यहोरा यस प्रकार छ :
२. २०४६।२।२२ का दिन मेरो पति प्रतिमान रुचाल मगर नु.जि.कुमारी गा.वि.स.वडा नं. ७ जान भनी गइ रहेको अवस्थामा १६.०० वजेको समयमा ऐ.वडा नं. ३ किटनी डाडा पुग्दा कमल वहादुर मगर, नेप्टे भन्ने पदम बहादुर, धन बहादुर मगर, ललित बहादुर मगर, सन्त बहादुर मगरहरुले मेरो पतिलाई लखेट्दै कोल्पुखोलामा लगी कुटपिट गरे छुट्टयाउन जांदा मलाई समेत कुटपिट गरेका थिए, मेरो घाँटीमा लगाएको आधा तोलाको तिलहरी एक, कानमा लगाएको आधा तोलाको रिङ्ग जोर एक, मेरो श्रीमानको नाडिमा लगाएको घडि एक नगद रु.३०००। यिनीहरुले लुटि लगेको र मेरो श्रीमानको विर अस्पतालमा उपचार हुँदा हुँदै मृत्यु भएको हुँदा निजहरुलाई कानून बमोजिम सजांय गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त ।
३. विर अस्पतालको मुर्दा घरमा लास प्रकृति मुचुल्का गर्दा दुवै आंखा अर्ध खुल्ला, मुख खुल्ला, माथि पट्टिको ४ वटा दांत देखिएको, नाकको दुवै प्वाल र मुखवाट सेतो भातको सिता देखिएको पायौं । हातको कुइना वरिपरि निलो भएको सो हातको कुइनो भन्दा अ. १ इन्च माथि नाडिको भागमा २ वटा तिखो चिजले घोचेको गोलाकार दाग, रगत निस्किएको, दाहिने गोडाको नलि हाडमा अं. १र२ ४ इन्च लामो १र२ ४ इन्च चौडाई १ इन्च गहिराई भएको काटेको घाउ देखिएको व्यहोराको मुचुल्का ।
४. मेरो छोरा नेप्टे भन्ने पदम बहादुरको श्रीमती शिवेलाई मृतकले भगाई स्वास्नी वनाई राखेका र उल्टै हामी बाबु छोरालाई खेतमा पानी लगाउन जांदा खेद्ने गरेको हुँदा म मेरो छोरा नेप्टे मगर, धन बहादुर मगर, सन्त बहादुर मगर, ललित बहादुर मगर समेत भई मिति ०४६।२।२२ गते किटनी डांडाको वाटोमा आई पुग्दा निज प्रतिमानलाई लखेटी कोल्पुखोला तर्फ जांदा निज १५।२० फिट अग्लो भिरवाट लड्यो र मेरो छोरो नेप्टे भन्ने पदम बहादुरले लडाई हिर्काए हामीले हिर्काएको चोटवाट निजको मृत्यु भएको हो भन्ने समेत व्यहोराको कमल बहादुर मगरको प्रहरीमा वयान कागज ।
५. निज प्रतिमानले मेरो दाजुको छोरा (भतिजो) को श्रमती भगाई लगेको उल्टै निजले खेतमा जांदा संधै कुटपिट गर्न आउने हुँदा र ज्यानै लिने धम्की समेत दिएकोले निज मृतकलाई कुटपिट गर्न सहयोग दिन पर्यो भनेकोले ०४६।२।२२ गते हामी कमल बहादुर, नेप्टे भन्ने पदम बहादुर, म धन बहादुर, सन्त बहादुर, र ललित बहादुर मगर समेतका व्यक्तिहरुले लखेट्दै जांदा १५।२० फिट अग्लो भिर बाट निज खस्यो, त्यसपछि म गै निजलाई समाती भतिजो पदमले २०।२५ लाठि हिर्काए मैले अलि अलि हिर्काएर हामी गयौं, धनमाल केही लगेका छैनौ भन्ने समेत व्यहोराको धन बहादुर मगरको प्रहरीमा भएको वयान ।
६. मेरो श्रीमती मृतक प्रतिमानले भगाई लगेको थियो, उल्टै मलाई वेला वेलामा खेतमा जांदा लखेट्ने र ज्यानै मार्ने भनी धम्की समेत दिएको कारणले निजलाई कुट्ने षडयन्त्र गरी ०४६।२।२२ गते बाबु कमल बहादुर, धन वहादुर, सन्त वहादुर र ललित बहादुर सँग सहयोग मागी निजलाई खेद्दै जांदा १५।२० फिट अग्लो भिरवाट खस्यो र ढूंगामा पछारिन पुग्यो, उठन सकेन त्यसपछि मेरो सहयोगीहरु पांच जना भई लगि मुड्कीले कुटपिट गर्यौं निज व्यहोस भएपछि हामीहरु हिड्यांै, धनमाल लगेको छैनौं, हाम्रो चोटवाट काठमाण्डौंमा उपचार हुँदा हुँदै मृत्यु भएको हो भन्ने व्यहोराको नेप्टे भन्ने पद्म बहादुर मगरको प्रहरीमा भएको वयान कागज ।
७. मेरो दाजुको छोरा पद्मको श्रीमती प्रतिमान रुचालले लगेकोमा प्रतिमानले पदम समेतका परिवारलाई कुटपिट गर्न लखेटेकोले भतिजोले सहयोग मागेको हुँदा ०४६।२।२२ गते किटिनी पाखावाट लखेट्दै लांदा निज १५।२० फिट तल लडे पछि निजलाई पदम ले कुटपिट गरे, त्यसपछि कमल बहादुर, ललित वहादुर समेत मिलि कुटपिट गरेका हौं, सोही चोटको कारणले विर अस्पतालमा उपचार हुँदा हुँदै मृत्यु भएको हो भन्ने समेत व्यहोराको प्र.सन्त बहादुर भन्ने लाल बहादुरको प्रहरीमा भएको वयान ।
८. मुरली मगर, भक्त बहादुर मिजार, भरत मगर, सुर्य बहादुर मगर समेतको प्रहरीमा गरेको कागज ।
९. ०४६।२।२२ गते प्रतिमान वेसिघरवाट गाउँ को घर तर्फ कृष्ण बहादुर मगर भवे सार्की समेत ३ जना संगै गई रहेको अवस्थामा बिडारीको घर मुनी कुवावाट केहि तल सोही स्थानमा प्रत्यर्थी भनिएको नेप्टे भन्ने पदम बहादुर मगर, कमल बहादुर, धन बहादुर मगर, सन्त बहादुर, लाल बहादुर, ललित वहादुरहरुले लाठा लिएका र कमल बहादुरको हातमा खुर्पा समेत थियो । रुदै निजहरुले खोलामा पुर्याई लाठोले हानेको देख्यौं, घाइते अलि अलि वोल्दै थियो, निजलाई कुटपिट गर्नु पर्ने कारण प्रतिमानले नेप्टे भन्ने पदम बहादुरको श्रीमती भगाई लगेको रिसइवीवाट हो, माल लगे नलगेको थाहा भएन भन्ने समेत व्यहोराको मिति ०४६।४।१३ को सर्जमीन मुचुल्का ।
१०. मृत्युको कारण कलेजो च्यातीएर रक्त श्राव र सक भै मृत्यु भएको देखिन्छ भन्ने ०४६।२।२३ को पोष्टमार्टम रिपोर्ट ।
११. मृतकको शरिरमा लागेको घा चोट पटक लाश प्रकृति मुचुल्कावाट देखिन्छ । सर्जमीनका अधिकांश व्यक्तिहरुले मृतकले स्वास्नी भगाई लगेको रिस इवीवाट यि पांच जना प्रतिवादीहरुले कुटपिट गरेको देखेको भनी वकी लेखाई दिएको, पोष्टमार्टम रिपोर्टवाट शरिरको विभिन्न ठांउमा चोट पटक लागेको व्यहोरा उल्लेख भएको तथा प्रतिवादीहरुले एक आपस मिली कुटपिट गरेमा स्वीकार गरी वयान समेत गरेकोले ज्यान सम्वन्धी महलको १, ११(३) नं. नै विपरीत कार्य गरेको हुँदा ऐ.का. १३(३) नं. अनुसार सजाय गरी पाउँ भन्ने र घटनामा पिडीत हुनेहरुवाट जाहेरी दरखास्तमा लेखिएको १ तोला सुनको गहना रु.३०००। र घडि एक समेत लगेको हुँदा मुलुकी ऐृन चोरीको १र६ नं. विरुद्धको कसुरमा सोही महलको १४(४) नं. अनुसार भै उक्त विगो धनमाल समेत ऐ. महलको २१ नं. वमोजिम निजहरुवाट दिलाई भराई पाउन माग दावी गरिएको छ र फरार रहेका प्रतिवादी ललित बहादुर मगरलाई कानून वमोजिम म्याद जारी गरी पाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
१२. प्रतिमानलाई मैले कुटपिट गरेको छैन, वेलुका पदम बहादुरले प्रतिमान सँग झगडा भयो भिरवाट लड्यो मैले कुटपिट गरें भनी भनेका थिए, २२ गते म धनी विसौली भन्ने खेतमा व्याड वनाउन गएको छु, पदम वहादुरलाई देखिन, कमल वहादुर सो दिन १०।११ वजे तिर मेरो खेत देखि १ कि.मि. तल निजकै खेतमा थियो । ललित बहादुर देखिन, प्रतिमानलाई म चिन्दीन, पदम बहादुरले म समेत भई कुटपिट ग¥यौं भनी किन भने निज जानुन, प्रहरीमा भएको वयान मैले भने अनुसार लेखिएको छैन मृतक के कसरी मरे म जान्दीन भन्ने समेत व्यहोराको प्र.धन बहादुर मगरले अदालतमा गरेको वयान ।
१३. ०४६।२।२२ गतेका दिन गोल भेडा लिएर म काठमाण्डौं गै वेलुका ८ वजे घर फर्केको हुँ, प्रतिमानलाई कस्ले कुटपिट गरे मर्यो मरेन सो कुनै कुरा मलाई थाहा छैन, सर्जमीनका र अरु प्रत्यवादीहरुले किन पोले म भन्न सक्दिन, प्रहरीमा भएको वयान मैले भने अनुसार लेखिएको छैन भन्ने समेत व्यहोराको कमल बहादुर मगरले अदालतमा गरेको वयान ।
१४. मेरो श्रमती शिव कुमारी मगरनीलाई प्रतिमानले भगाई लगेको थिए, ०४६।२।२२ गते ढाडिखोला भन्ने ठांउमा निज मृतकलाई र निजको श्रीमतीलाई भेट भयो त्यसपछि मैले हिर्काउन भनी लखेटे प्रतिमान खोला तर्फ भाग्यो, मैले भेटाउन सकिन उ २० मि. अग्लो भिरवाट हाम फाल्यो र लड्यो, श्रीमती पनि त्यही आइन,् मैले प्रतिमानलाई कुटपिट गरीन, त्यसपछि म घर गए, मरे वांचेको मलाई थाहा छैन, खूंडा लिएर गएको छैन, लाठीले हिर्काएको हो, ललित बहादुर, कमल वहादुर त्यहाँ गएको छैन, अरुको हातमा के के थियो थाहा छैन, प्रतिमान खोलावाट लडे पछि कट्टी मुनी २।३ थप्पड हिर्काएको हुँ, जाहेरवालीलाई कुटपिट गरेको छैन, प्रहरीमा मेरो वावुले हिर्काएको भनेको थिइन, प्रहरीमा भएको वयान पढी वांची मलाई सुनाइएन, धनमाल लगेको छैन भन्ने समेत व्यहोराको नेप्टे भन्ने पदम बहादुरले अदालतमा गरेको वयान ।
१५. म काठमाण्डौं तिर गएको थिए,ं जेष्ठ १० गते आएं प्रतिमान के कसरी मरे मलाई थाहा छैन । ०४६।२।२२ गते म काठमाण्डौंमा थिएं सो दिन निजहरुलाई मैले देखिन, दाई धन बहादुर साथमा थिए अरु थिएन, पदम बहादुर, कमल बहादुर संगै सुते, ललित बहादुर थिएन, ०४६।२।२२ गते म खेत खन्न गएको थिएं, दाजु धन बहादुर म संगै खेतमा गई खनेऊं, अरु आ आफ्नो खेतमा थिए, वेलुका ७ वजे तिर घर गयौं, धनमाल लगेको छैन पदम बहादुरले कुटपिट गरेको हो प्रहरीमा के लेखे मलाई पढी नसुनाई सही गराएको हो भन्ने समेत व्यहोराको सन्त बहादुर भन्ने लाल बहादुर मगरले अदालतमा गरेको वयान ।
१६. ०४६।२।२२ गतेका दिन म गाउँकै २ जना साथीलाई वोलाई गाउँ वारीमा मकै गोडी रहेको अवस्थामा दिनको ४ वजे तिर कमल वहादुर, पदम वहादुर, लाल बहादुर समते ४ जवान भै मलाई हातले वोलाई म गए,ं कमल वहादुरले हामी संगै जाउँ जारले जार काटनु पर्यो हामी वेहोर्छौ भनी भने, म पछि पछि गएं, धन बहादुर प्रतिमान भिरवाट लडे त्यसपछि सन्ते भन्ने र मैलै हातै हालेनौं, धन बहादुर र पदम बहादुरले प्रतिमानलाई कुटे, जाहेरवालाको हातवाट खुर्पि धन वहादुरले खोसे, कमल वहादुर धन बहादुर पदम वहादुरले मात्र कुटेका हुन सन्ते भन्ने लाल वहादुर र मैले कुटपिट गरेको छैन भन्ने समेत व्यहोराको ललित बहादुर सारु मगरले अदालतमा गरेको वयान ।
१७. २०४६।२।२२ गते अं. दिउसोको ३ वजे तिर म र ४ नं. वडा अध्यक्ष वलराम रेग्मी वगुवा भन्ने ठांउमा पुग्यौं र गुहारको आवाज घटना स्थलवाट आएपछि त्यहाँ गयौं ७।८ मिटर वरै वस्यौं र खवरदार ज्यान मार्न पाईदैन भनी करायौं कमल बहादुर, सन्त बहादुर, ललित बहादुर समेतले मृतकलाई लाठाले हानी कुटी रहेका थिएं, कमल बहादुरको हातमा खुर्पा, धन बहादुरको हातमा छुरी थियो । गुहारको आवाजले अरु मानिसहरु आएपछि निजहरु भागे भन्ने समेत व्यहोराको सर्जमिनका मानिसहरु प्रेमध्वज कूंवर र कृष्ण बहादुर थापा मगरको वकपत्र ।
१८. प्रस्तुत मुद्दाका सवै प्रतिवादीहरुले लाठी खुर्पाले हानी मृतकलाई चोट पुर्याई सोही चोटको कारणवाट उपचार हुँदा हुँदै मृतकको मृत्यु भएको हो भन्ने समेत व्यहोराको सर्जमिनका मानिस विष्णु ढकाल, नेत्र नाथ न्यौपाने, वलराम रेग्मीले गरेको वकपत्र ।
१९. २०४६।२।२२ गते खलवल गरी मानिसहरु उकालो लागेको देखेको हुँ, प्रतिवादीहरुले मृतकलाई कुटपिट गरेर विर अस्पतालमा उपचार हुँदा हुँदै मृत्यु भएको र अर्को दफामा मृतक धन बहादुर र नेप्टे भन्ने पदम बहादुरले लखेट्दा भिर वाट खसी लडि मरे अरे भन्ने सुनेको भनी वकी लेखि दिएको प्र.धन बहादुरको साक्षी गोरे घिमिरेको वकपत्र ।
२०. मृतकलाई प्रत्यवादीहरुले कुटपिट गरी मारेको होइन, मृतक आफ्नो घर संगैको भिरमा लडी मृत्यु भएको सुनेको हुँ भन्ने समेत व्यहोराको प्र.कमल वहादुरको साक्षी विर बहादुरले गरेको वकपत्र ।
२१. निज प्रत्यवादीहरुले मेरो श्रीमानलाई लगी लाठी खुर्पाले हानी सोही चोट पटकको कारणबाट मृत्यु भएको व्यहोरा ०४६।२।२२ मा दिएको जाहेरी दरखास्तमा उल्लेख गरेकी नै छु, सोही अनुसार कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरवाला सानुमैया रुचाल मगरनीले अदालतमा गरेको वकपत्र ।
२२. मिति ०४६।२।२२ गते दिउँसो १२ वजे देखि प्र. ललित बहादुरको वारिमा ललित बहादुर म मकै गोडी वेलुका ५:३० सम्म काम गरी घर फर्केका हौं मृतक भिरवाट लडी मरेको रे भन्ने कुरा सुनेको हुँ भन्ने समेत व्यहोराको प्र.ललित वहादुरको साक्षी सुर्य सार्कीले अदालतमा गरेको वकपत्र ।
२३. पदम बहादुर कमल वहादुर र धन वहादुरलाई मृतकले देखि भाग्दा भिरवाट लडेर मृत्यु भएको सुनेको हुँ ललित बहादुरलाई कमल वहादुरले वोलाएको सम्म थाहा छ भन्ने समेत व्यहोराको ललित वहादुरको साक्षी सानु भाई सार्कीले अदालतमा गरेको वकपत्र ।
२४. प्रत्यवादीहरुले खुर्पा र लाठीले प्रतिमानलाई हानी चोट पटक पारी मृत्यु भयो रे भन्ने कुरा सुनको हुँ देखेको होइन, भाग्ने प्रतिमान लखेट्ने ५ जना थिए भन्ने समेत व्यहोराको अदालतवाट वुझिएको सर्जमिनका मानिस भैरव प्रसाद अर्यालको वकपत्र ।
२५. मलाई मृतकको वाकस वोकाई गाउँमा लग्न लाग्दा वैडाटिको घरमुनी पुग्ना साथ यि प्रत्यवादीहरु पांचै जनाले मृतकलाई लखेटे र खोला झरे, खोलामा के के भयो मैले देखिन भन्ने समेत व्यहोराको अदालतवाट बुझिएका सर्जमिनका व्यक्ति भक्त बहादुर मिजारको वकपत्र ।
२६. २०४६।२।२२ गते घटनास्थल भन्दा १०० मिटर फरकको खेतमा म थिएं मानिस कराएको आवाज सुनी के रहेछ भनी हेर्न जांदा पदम बहादुरले मृतकलाई कुटेको देखेको अरु प्रतिवादीहरुले कुटेरे भन्ने कुरा सुनेको हुँ भन्ने समेत व्यहोराको अदालतवाट वुझिएका सर्जमिनका व्यक्ति देवनाथ न्यौपानेको वकपत्र ।
२७. प्रतिवादी कमल बहादुर, पदम वहादुर, धर्म बहादुर, सन्त बहादुर, ललित बहादुर समेतलाई मुलुकी ऐन ज्यान सं. को १३(३) नं. अनुसार जन्मकैद हुने ठहर्छ, मृतक प्रतिमान मगर र जाहेवाला समेतको धनमाल समेत प्रतिवादीहरुले लुटी लगेको भन्ने कुरा कहि कतैवाट समर्थित हुन सकेको नदेखिंदा सो तर्फ प्रहरी प्रतिवेदन दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको शुरु धादिङ्ग जिल्ला अदालतको २०४९।३।२९ को फैसला ।
२८. मिति २०४९।३।२९ को फैसला बदर गरी आरोपित कसुरवाट सफाई पाउँ भन्ने प्रतिवादीहरुको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
२९. शुरु जिल्ला अदालतको फैसला विचारणीय हुँदा छलफलको लागि अ.वं. २०२ नं. समेत बमोजिम पुनरावेदन सरकारी वकिल कार्यालयलाई पेशीको सूचना दिई पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको आदेश ।
३०. पदम बहादुरकै लाठाको प्रयोगवाट प्रतिमानको मृत्यु भएको भन्ने कुरा प्रमाणित भएवाट प्रतिवादी नेप्टे भन्ने पदम बहादुर मगरलाई ज्यान सम्वन्धीको १३(३) बमोजिम सर्वश्व सहित जन्म कैद हुने ठहर्छ । प्रतिवादी कमल वहादुर मगर, धन ववहादुर मगर, सन्त वहादुर भन्ने लाल वहादुर मगर र ललित वहादुर मगर वारदातमा उपस्थित रहेको प्रमाणित हुन आएको निजहरुले अभियोग वमोजिम मर्ने प्रतिमानलाई हात छोडी कुटपिट गरेको भन्ने कुरा शंकारहित तवरवाट प्रमाणित हुन नआएको तर वारदातमा उपस्थित रहेका प्रतिमानलाई कुट्ने कार्यमा सहयोग पारेको देखिन आएवाट निजहरुले ज्यान सम्वन्धीको १७(२) बमोजिम अपराध गरेको ठहर्छ सो ठहर्नाले ज्यान सम्वन्धीको १७(२) वमोजिम ५ वर्ष कैद हुन्छ सवै प्रतिवादीहरुलाई १३(३) वमोजिम जन्म कैद हुने ठहर्याएको शुरुको इन्साफ उल्टी हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति ०५१।९।१२ को फैसला ।
३१. मेरो विरुद्ध कसुर प्रमाणित नभएको, सर्जमिनका मानिसहरुले शंका रहित तवरवाट पुष्टि गर्न नसकेको, प्रतिवादीहरुको विरुद्ध गरेको पोल युक्ति सँगत नभएको, चश्मदित प्रमाणको रुपमा देख्ने भनीएका व्यक्तिहरुको वयान शंकास्पद रहेको लास जाँच मुचुल्कावाट आरोप प्रमाणित हुन नसकेको, मेरो कुटपिटको चोटवाट मृत्यु भएको भन्ने नदेखिएको र प्रहरीमा भएको वयान प्रमाण ऐन, २०३१ को दफा ९ को उपदफा २(क) को देहायको अवस्थावाट प्रभावित भएको, अदालतमा कसुरमा इन्कार रहेको आदि कुरावाट समेत मेरो विरुद्द लगाइएको प्रहरी प्रतिवेदनको आरोप शंका रहित तवरवाट प्रमाणित हुन नसकेको अवस्थामा फौज्दारी न्यायको सिद्धान्त मुताविक शंकाको सुविधा प्रतिवादीले पाउने पर्याप्त प्रमाण आधारहरु समेत भएको, तथ्ययुक्त ठांउ सवुद प्रमाणहरु विना कसैलाई पनि कसुरदार ठहर गर्न नमिल्ने भन्ने सम्मानित सर्बोच्च अदालतवाट धेरै मुद्दाहरुमा सिद्धान्त समेत प्रतिपादन भएकोमा सोको प्रतिकूल गरी मलाई ज्यान सम्वन्धीको १३(३) नं. अनुसार जन्म कैद गर्ने गरेको जिल्ला अदालतको फैसला उल्टी गरी सर्वश्व सहित जन्म कैद गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति ०५१।९।१२ को फैसला वदर गरी सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी पदम बहादुर मगरको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
३२. प्रतिवादी मध्येका सवै जनाले हात छाडेका र यसैको चोटले मृत्यु भएको भन्ने पनि कहि कतै प्रमाणित नभएको अवस्थामा पदम बहादुर वाहेकका अरु प्रतिवादीलाई कम सजाय गर्न मिल्ने होइन । अदालतमा आई वकपत्र गर्ने कृष्ण वहादुर थापा, सन्त वहादुर, प्रेम ध्वज कुवर, वलराम रेग्मी, जाहेरवाला, वेदनाथ न्यौपाने समेत सवैले प्रतिवादी ५ जनाले कुटपिट गरेको देखेको, सवैका हातमा लठृी खुर्पा, छुरी थिए भनी स्पष्ट वकपत्र गरेको ठोस प्रमाणलाई उपेक्षा गरी भएको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण भएकोले सो फैसला वदर गरी प्रतिवादीहरुलाई शुरु माग दावी अनुसार ज्यान सम्वन्धीको महलको १३(३) बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फवाट यस अदालतमा परेको पुनरावेदन ।
३३. नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरीयो । पुनरावेदक वादी श्री ५ को सरकारको तर्फवाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री नन्द बहादुर सुवेदीले प्र.ललित बहादुरको अदालत समेतको वयानमा सवै प्रतिवादीहरु वारदात स्थलमा उपस्थित थिए भन्ने रहेको, सवै सँग लाठी छुरा रहेको भन्ने देखिएको र मृतकको मृत्यु कर्तव्यवाट भएको भन्नेमा विवाद नरहेकोले यी प्रत्यर्थी प्रतिवादीहरुलाई शुरु फैसला केही उल्टी गरी कम सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा निजहरु समेतलार्ई माग वमोजिम सजाय हुनु पर्दछ भन्ने र पुनरावेदक प्रतिवादी पदम वहादुरको तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री वच्चु सिंह खड्काले लास प्रकृति मुचुल्का, पोष्टमार्टम रिपोर्ट समेतवाट मृतकको मृत्यु कुटपिटवाट भएको देखिंदैन अन्य प्रतिवादीहरुलाई कम सजाय गरी पदम वहादुरलाई मात्र मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सर्वश्व सहित जन्म कैद गरेको मिलेको देखिंदैन निजले माग दावीवाट सफाई पाउनु पर्दछ भन्ने समेत व्यहोराको मुख्य बहस जिकिर प्रस्तुत गर्नु भयो ।
३४. विद्वान कानून व्यवसायीहरुको बहस जिकिर समेत सुनी मिसिल अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी पदम बहादुरको जिकिर बमोजिम निजलाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सर्वश्व सहित जन्म कैद गर्ने गरेको र प्रत्यर्थी प्रतिवादीहरु ललित बहादुर मगर, कमल वहादुर मगर, धन वहादुर मगर, सन्त वहादुर भन्ने लाल वहादुर मगर समेतलाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १७(२) बमोजिम सजाय गरेको सजाय कम भयो भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर वमोजिम सवै प्रतिवादीलाई जन्मकैद हुने ठहराएको शुरु जिल्ला अदालतको फैसला केहि उल्टी गरी प्रतिवादी नेप्टे भन्ने पदम वहादुरलाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(३) नं. बमोजिम सर्वश्व सहित जन्म कैद र अन्य प्रतिवादीहरुलाई ऐ. ऐनको ऐ. महलको १७(२) वमोजिम ५।५ वर्ष कैद हुने ठहराएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ छैन ? निर्णय दिनु पर्ने देखिन आयो ।
३५. सर्व प्रथम प्रतिवादी पदम बहादुरको पुनरावेदन जिकिर तर्फ विचार गर्दा यस्मा मृतक प्रतिमानले निजको श्रीमती लगेको भन्ने विवाद नदेखिएको, प्रहरीमा र अदालतमा भएको वयानमा समेत निजले मृतक प्रतिमानलाई लखेट्दै गएको र मृतक भाग्दै जांदा भिरबाट खसेको र मृतकलाई निज खसे पछि लडेको ठांउमा गई लाठीले हिर्काएमा सावित रहेको, घटनास्थल तथा लास प्रकृति मुचुल्कावाट नाडीको भागमा घोचिएको गोलाकार २ वटा घाउ, दाहिने गोडाको नली हाडमा घाउ, कम्मरको पछाडी पनि घाउ देखिएको जाहेरवालीको किटानी जाहेरी समेतका कागज प्रमाणवाट निजको साविती वयान पुष्टि हुन आएको देखियो । को को मिली चोट छोडेको हो भन्ने तर्फ हेर्दा यी प्रतिवादी पदम बहादुरले अदालत समक्ष वयान गर्दा आफूले मात्र हिर्काएको अन्य प्रतिवादीले हिर्काएको होइन भनी वयान गरेको देखिन्छ । दण्डनीय कुरामा संलग्न व्यक्तिले अपराधिक दायित्व अर्कामा सार्ने प्रयास हुने सम्भावना रहेको तर आफूले दायित्व स्वीकार गरी अरुलाई उन्मुक्ती दिने स्थिति नरहने हुँदा निज आफैले मात्र हिर्काएमा अदालत समक्ष समेत सावित भएको देखिंदा त्यसलाई अन्यथा भन्नु मनासिव देखिदैन, तसर्थ निज प्रतिवादी पदम बहादुरले मात्र चोट छोडेको मान्नु पर्ने देखिन आयो । मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(३) नं मा लाठा ढूंगा र साधारण साना तिना हात हतियारले कुटी हानी रोपी घोची वा अरु ज्यान मार्ने गैह्र कुरा गरी ज्यान मरेमा एकै जनाले मात्र सो काम गरी ज्यान मारेमा त्यस्तालाई सर्वश्व सहित जन्म कैद गर्नु पर्छ भन्ने व्यवस्था भएकोले र पुनरावेदक प्रतिवादी नेप्टे भन्ने पदम बहादुर कै चोटपिरबाट मृतक प्रतिमानको मृत्यु भएको देखिंदा निजलाई उक्त १३(३) नं. बमोजिम जन्म कैद हुने ठहराएको शुरु धादिङ्ग जिल्ला अदालतको फैसला केही उल्टी गरी सर्वश्व सहित जन्म कैद गर्ने गरेको पुनरावेदन अदालतको फैसला मिलेकै देखिन आयो ।
३६. अव वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर तर्फ विचार गर्दा यसमा मुख्य अभियुक्त ठहर गरिएको पुनरावेदक प्रतिवादी पदम बहादुरले अदालत समक्ष वयान गर्दा अन्य प्रतिवादीले लाठोले हिर्काएको होइन भन्ने वयान गरेको र यी प्रत्यर्थी प्रतिवादीहरुले अदालतमा वयान गर्दा वारदात स्थलमा नरहेको भन्ने जिकिर लिएता पनि पुनरावेदन अदालतले निजहरुलाई सजाय गरे उपर यस अदालतमा पुनरावेदन नगरी चित्त वुझाई वसेको प्रतिवादी पदम बहादुरले छोडेको चोटवाट मृतकको मृत्यु भएको भन्ने माथि गरिएको विवेचना जाहेरी दरखास्त र साक्षीहरुको वकपत्र समेतको मिसिल संलग्न मूल्याङ्कनवाट यी प्रत्यर्थी प्रतिवादीहरुलाई मुलुकी ऐन, ज्यान सम्वन्धी महलको १७(२) बमोजिम ५।५ वर्ष कैदको सजाय गर्ने गरेको पुनरावेदन अदालत, पाटनको फैसला मिलेकै देखिएवाट केही परिवर्तन गरिरहनु परेन । पुनरावेदन अदालत पाटनको मिति ०५१।९।१२ को फैसला मिलेको देखिंदा मनासिव ठहर्छ । पुनरावेदक प्रतिवादी नेप्टे भन्ने पदम बहादुर मगर र वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
३७. तर पुनरावेदक प्रतिवादी नेप्टे भन्ने पदम बहादुरको उमेर वारदातका वखत २१ वर्षको मात्र देखिएको अदालतमा वयान गर्दा पनि निज मृतकलाई लाठीले हानेको भनी कसुर नलुकाई वयान गरेको मृतक प्रतिमानले निजको स्वास्नी भगाई लगेकोमा मानसिक तुष रहने अवस्था विद्यमान देखिंदा समेत सर्वश्व सहित जन्म कैद गर्दा चर्को पर्ने देखिन आएकोले निज पुनरावेदक प्रतिवादी पदम बहादुर मगरलाई अ.वं. १८८ नं. बमोजिम कैद वर्ष १० मात्र हुने ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।
तपसिल
पुनरावेदक प्रतिवादी नेप्टे भन्ने पदम बहादुर मगर- माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरिएकोले शुरु जिल्ला अदालतको र पुनरावेदन अदालत पाटनको फैसलाको तपसिलको खण्ड १ ले कायम गरेको लगत राख्नु परेन कट्टा गरी दिनु र निजलाई १० वर्ष मात्र कैद हुने ठहरेकोले थुनामा रहेको मिति देखि कैद कट्टा हुने गरी लगत राखी कैद ठेक्नु भनी शुरु धादिङ्ग जिल्ला अदालतमा लेखि पठाई दिनु ........ १
फैसलाको जानकारी थुनुवा पुनरावेदक प्रतिवादी पदम बहादुर र पुनरावेदक बादी श्री ५ को सरकारलाई दिई मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. नरेन्द्र बहादुर न्यौपाने
इति सम्वत २०५३ साल माघ २१ गते रोज २ शुभम्... ।