शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६३३८ - भ्रष्टाचार

भाग: ३९ साल: २०५४ महिना: असार अंक:

निर्णय नं.- ६३३८              २०५४, ने.का.प.        अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री उदयराज उपाध्याय

सम्वत् २०५० सालको फौ.पु.नं. ......७१३

सम्वत्  २०५० सालको फौ.पु.नं. ......६१२

सम्वत्  २०५० सालको फौ.पु.नं. ....... ७०३

फैसला मितिः ०५३।१०।२३।४

 

मुद्दाः भ्रष्टाचार ।

 

पुनरावेदक/वादीः श्री ५ को सरकार विशेष प्रहरी विभाग  ।

विरुद्ध

विपक्षी/प्रतिवादीः सिन्धुली जिल्ला सिद्धेश्वर आर्दश गा.वि.स. वडा नं. ५ वस्ने रमेश कुमार वस्नेत समेत ।

 

पुनरावेदक/प्रतिवादीः सप्तरी जिल्ला तरही गा.वि.स.वडा नं. ९ वस्ने सुलेमान खां ।

विरुद्ध

विपक्षी/वादीः श्री ५ को सरकार विशेष प्रहरी विभाग ।

 

नरावदेक/प्रतिवादीः सिन्धुली जिल्ला सिद्धेश्वर आर्दश गा.वि.स. वडा नं. ५ वस्ने रमेश कुमार वस्नेत ।

विरुद्ध

विपक्षी/वादीः  श्री ५ को सरकार विशेष प्रहरी विभाग ।

 

§  पुनरावेदन अदालत पाटनको २०४९।८।४ को फैसला उपर वादी विशेष प्रहरी विभागबाट यस अदालतमा पुनरावेदन परेको रहेछ । फौ.पु.ई.नं. १२ श्री ५ को सरकार विशेष प्रहरी विभाग वादी दिल वहादुर लामा समेत प्रतिवादी भएको भ्रष्ट्राचार मुद्दामा श्री ५ को सरकार  वादी हुने मुद्दामा सरकारी वकीलले पुनरावेदन  गर्नु पर्नेमा विशेष प्रहरी विभागवाट परेको पुनरावेदनवाट कार्यवाही गर्न नमिल्ने हुँदा प्रस्तुत पुनरावेदन खारेज हुने भनी  यस अदालत पूर्ण इजलासवाट मिति २०५२।९।२० मा सिद्दान्त कायम भएको छ । प्रस्तुत मुद्दामा श्री ५ को सरकार विशेष प्रहरी विभागको तर्फबाट पुनरावेदन परेको सरकारी वकील तर्फबाट पुनरावेदन परेको नदेखिएबाट उक्त सिद्दान्त अनुसार विशेष प्रहरी विभागको तर्फको पुनरावेदन खारेज हुने ।           

(प्र.नं. ३३)

§  विशेष प्रहरी विभागमा भएको वयान कागजको आधारमा मात्र कसुरदार ठहराउन मिल्ने नदेखिने ।

§  आरोपित कसुर प्रमाणबाट पुष्टि हुन नसकेको अवस्थामा अनुमानको आधारमा मात्र कसुर ठहराउन नमिल्ने ।                  

(प्र.नं. ३४)

 

पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली

प्रतिवादी पुनरावेदक सुलेमान खां को तर्फबाटः विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने

वादी श्री ५ को सरकारको तर्फबाटः विद्वान उप सरकारी अधिवक्ता श्री भोलानाथ चौलागाई

 

फैसला

            न्या.केदारनाथ उपाध्यायः प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः

            २. मानिस सहिछाप तमसुक समेत कीर्ते गरी यस वैंकवाट ऋण लिनेमा मुख्य हात भएको भन्ने यस वैकलाई शंका लागेको घननाथ भन्ने राम प्रसाद भण्डारी समेत भएको फायल कारवाईको लागि तहां गएकोमा हाल पनि राम प्रसादको सहयोगवाट मोहन प्रसाद गौतम भन्नेले कुखुरा पालनको लागि भनी स्वीकृत भएको ऋण रु.२८,०००। मध्ये रु.२८,०००। भूक्तानी गैसकेकोमा निजको नाउमा स्वीकृत भएको २८,०००। मध्ये पहिलो किस्ता रु.७०००। मोहन प्रसादले नै र वांकी रकम निजको मन्जूरनामामा शालिक राम भन्नेले वांकी रकम वुझी लगेको तर मोहन प्रसाद गौतम भन्ने व्यक्ति यही हो भन्ने यकिन गर्न सकिएको छैन । उक्त ऋण दिने कार्यवाही भएको सक्कल तमसुक जग्गा धनी प्रमाण पुर्जा रसिद समेतका कागजात भएका फायल आवश्यक कारवाही गरी दिन हुन पठाइएको छ भन्ने समेत व्यहोराको मिति ०४१।१२।१८ को कृषि विकास वैंक काठमाण्डौं शाखाको पत्र ।

            ३. मैले कृषि विकास वैंक काठमाण्डौं शाखावाट कुखुरा पालनको लागि राम प्रसाद भण्डारीको अख्तियारनामा लिई पटक पटक २८०००। झिकी निज राम प्रसादलाई नै वुझाई आएको छु । मिति नभएको अख्तियारनामा कागजमा भएको सही मेरो हो हेरी सनाखत गर्दछु, मोहन प्रसाद गौतम नामको अख्तियारनामा कागज मलाई राम प्रसाद भण्डारीले अख्तियार पाउनेको सही भन्ने ठाउँमा सही गराई सो कागज मलाई दिई मैले उक्त मोहन प्रसादका नामको अख्तियारनामा राम प्रसाद भण्डारी सँग लिई उक्त शाखावाट रकम झिकी ल्याई राम प्रसादलाई नै दिएको  छु । मोहन प्रसाद गौतमलाई म चिन्दीन र देखाइएको फोटो कसको हो मलाई थाहा छैन भन्ने समेत व्यहोराको शालिक राम भण्डारीले वि.प्र.विभागमा मिति ०४१।१२।२१ मा गरेको वयान ।

            ४. मैले कृषि विकास वैंक काठमाण्डौं शाखावाट ऋण लिई तिर्न वांकी रहेको हुँदा उक्त शाखावाट कुखुरा पालनको लागि पुनः ऋण लिने उद्देश्यले ऋण माग पत्र पेश गर्दा मोहन प्रसाद गौतम भन्ने काल्पनिक नाम राखि माग पत्र म आफैले दर्ता गराई आएको हुँ उक्त माग अनुसार म आफैले ७०००। मात्र वुझी अरु रकम रु.२१०००। मैले दिएको अख्तियारनामा अनुसार शालिकराम भण्डारीले झिकी मलाई दिएका हुन । देखाइएको अख्तियारनामा अधिकार दिनेको सहीमा भएको ल्याप्चे सही मोहन प्रसादको हो निजको सही नाम के हो कहां वस्छन् मलाई अहिले थाहा छैन, निज मोहन प्रसाद भन्ने काल्पनीक व्यक्ति कृषि विकास वैंक शाखा कार्यालय काठमाण्डौंका ऋण सहायक सुलेमान खां ले नै खडा गरेका हुन । सो ऋण लिनेकाम ऋण सहायक सुलेमान खांको सहयोगवाट भएकोले पहिलो किस्ता लिंदा रु.४०००। दोश्रो किस्तामा रु.३०००। निज खां ले म वाट लिएका हुन, साथै काल्पनीक मोहन प्र्रसाद गौतम भन्ने नामको जग्गा धनी प्रमाण पुर्जा डिल्लीवजारका लेखनदास हरि गोपाल शर्मावाट रु.४००। दिई लिएको र मैले परानो रसिदको अंक अक्षर मेटी रसिद, माग पत्रमा भएको दस्तखत नागरिकताको रोक्कापत्र समेतमा उल्लेखित व्यहोरा भने लेख्ने काम मैले आफ्नै हस्ताक्षरवाट गरेको हुँ भन्ने समेत व्यहोराको घनानाथ भन्ने राम प्रसाद भण्डारीले विशेष प्रहरी विभागमा गरेको ततिम्वा सहितको वयान ।

            ५. मलाई घनानाथ भन्ने राम प्रसाद भण्डारीले एउटा खाली जग्गा धनी प्रमाण पुर्जा ल्याई देउ रु. ४००। दिन्छु भनेकोले मा.पो.का. काठमाण्डौंको नाम थाहा नभएको नेपाल भन्नेसँग लिई राम प्रसाद भण्डारीलाई उक्त जग्गा धनी प्रमाण पुर्जा अक्षर नभरीकन दिएको हुँ । सो वापत मैले रु.४००। लिएको हुँ । उक्त खाली लालपुर्जामा मोहन प्रसाद गौतमको नाम कोवाट लेखाए निज राम प्रसाद नै जानुन भन्ने समेत व्यहोराको हरि गोपाल शर्माले वि.प्र.वि.मा गरेको वयान ।

            ६. मोहन प्रसाद गौतम भन्ने नाम गरेका मानिस गोगंवु गा.पं. वडा नं. ५ मा यस अन्तर्गत समेतमा भए वसेका छैनन भन्ने समेत व्यहोराको  मुचुल्का ।

            ७. निर्णय कमिटीको ०४१।४।७ को निर्णय समेत हेरि सनाखत गर्दछु । मोहन प्रसाद गौतम नामको ऋण स्वीकृतार्थ निर्णयाक मितिमा मैले पेश गरेको हुँ तर त्यस सम्वन्धी सम्पूर्ण कागजातहरु पेश गर्न आउँदा सम्वन्धित ऋणीले ऋण सहायक सँग सम्र्पक गरी ऋण सहायकले पेश गरेको कागजातहरु मात्र चेक गरेको हुँ मैले उक्त ऋणीको तमसुक जांचेको पनि होइन । सो सम्वन्धमा ऋण सहायक वस्नेतको सिफारिसमा तोक समेत लगाई आएको छु । ऋणी मोहन प्रसाद गौतमले पेश गरेका कागजहरु कानूनी रीत पुगे नपुगेको सम्वन्धमा हेरी वुझेर मात्र ऋण स्वीकृत गर्नु पर्ने हो तर मैले सो छुट्याउन नसकी ऋण कमिटीमा पेश गरी म समेतबाट ऋण स्वीकृत भएकोले मैले पनि गल्ती गरें । कानूनले जो ठर्हछ सहन मंजुर छ भन्ने समेत व्यहोराको ऋण अधिकृत विदुर मान सिंहले विशेष प्रहरी विभागमा गरेको ततिम्वा सहितको वयान ।

            ८. मोहन प्रसाद गौतम नामको ०४१।४।२३ को सक्कलै तमसुक कागजमा जाच्नेको महलमा भएको दस्तखत मेरै हो हेरी सनाखत गरी दिए । तमसुक गर्ने कर्मचारीले सम्वन्धित ऋणीलाई रीतपुर्वकको तमसुक गराई कागज जाँचको लागि म कहां पठाउने  हुँदा सवै ऋणीलाई चिन्न नसकिने भएकोले मोहन प्रसाद गौतमलाई पनि मैले चिनेको छैन र उक्त ऋणीको ऋण पुर्व र ऋण पश्चात् निरिक्षण समेत म बाट नभएको साथै निजले ऋण स्वीकृत भै धितो रोक्का समेत भै आएको आधारमा तमसुक जाँच गरेको हुँ । ऋण कमिटीबाट समेत ऋण स्वीकृत भएकोले निज मोहन प्रसाद काल्पनिक हुन भनी आशंका गर्न नसकिएकोले उक्त व्यक्ति काल्पनीक भएमा धितो मूल्याङ्कन निरिक्षण गर्न कमिटीका सदस्यहरु नै जवाफ देही हुनु पर्दछ । अख्तियारनामा लिखत सहीको अलावा ल्याप्चे सहीछाप हुनु पर्नेमा तमसुकमा पनि ल्याप्चे सहिछाप मात्र हुन गएछ यसो हुन दिन भएन यो मेरो गल्ती हो साथै ऋण कमिटीमा म उपस्थित पनि थिइन भन्ने समेत व्यहोराको भोला प्रसाद अधिकारीले विशेष प्रहरी विभागमा गरेको ततिम्वा वयान ।

            ९. हरि गोपाल शर्माले मलाई किन पोले थाहा छैन हुन सक्छ निजले लेखेको लिखत मे.ना. शा.मा कित्ता काटको लागि लगी देउ भनी भन्दा उक्त दिन त्यतिखेर नपाएकोले सोही कारणबाट मलाई पोलेका हुन निज हरि गोपाललाई आफ्नो कार्यालयबाट खाली जग्गा धनी प्रमाण पुर्जा दिएको होइन भन्ने समेत व्यहोराको राम नेपालको वि.प्र.अ.मा भएको वयान ।

            १०.    १२ थान कागजातहरु मैले तमसुक तयार गर्दा सक्कल दर्ता प्रमाण पुर्जा तिरो तिरेको मालको रसिद मात्र मैले चेक जाँच गरेको हुँ अन्य कागजातहरु ऋण कमिटीबाट चेक र रकम समेत स्वीकृत भई आएपछि ऋण अधिकृत भोला प्रसाद अधिकारीको मौखिक आदेशानुसार तमसुक तयार पारेको हुँ । ऋणीको ऋण माग पत्रमा भएको दस्तखत र निजको पछि सम्मको कागजी करारमा समेत एकै किसिमको दस्तखत हुनु पर्नेमा ऋणी मोहन प्रसाद गौतमको ऋण माग मत्रमा लेखात्मक सही हुँदा हुदै पनि तमसुक अख्तियारनामा समेत रेखात्मक सही हुन गएको ठीक सांचो हो यसो गर्न कानूनले मिल्ने होइन भन्ने समेत व्यहोराको वेनु कुमार भट्टराईले गरेको वयान ।

            ११. मोहन प्रसाद गौतमको नामको जग्गा निज गौतमले देखाएको धितो निरीक्षण गरी धितो मूल्याङ्कन गरेको हुँ । धितो मूल्याङ्कन प्रतिवेदनमा सुलेमान खां भनी गरेको सही मेरै हो । ऋणी मोहन प्रसाद गौतमले ऋण माग पत्र साथ पेश गरेको नागरिकता प्रमाण पत्रको फोटोकपीमा प्रशासकिय अधिकृतको छाप लागेको खोर निर्माणको नक्सामा प्र.पं. को सहीमा गा.पं.को सही भएको, रसिदको फोटोकपीमा अंक अक्षर र मिति प्रष्ट पंचायत समेत अस्पष्ट देखिएको जग्गा धनी श्रेष्ताको फोटोकपीमा पनि कि.नं. र क्षेत्रफल सच्चीएको साझाको सिफारिसमा साझाको छाप हुनु पर्नेमा सरकारी कार्यालयको छाप र साझाको नाम चलानी नं. समेत उल्लेख नभएका कागजहरुमा देखिएको त्रुटीहरु हुँदा हुँदै पनि मैले नागरिकतामा भएको फोटोमा भएका व्यक्ती र धितो देखाउने व्यक्ति एकै हुन होइन हेरी वुझी मूल्याङ्कन गर्नुपर्नेमा तर सो नगरी काल्पनीक व्यक्तिको नाममा जग्गा धितो मूल्याङ्कन गरेको हुँ । यो मेरो ठुलो गल्ती हुन  गयो । निज ऋणी मोहन प्रसाद भन्ने काल्पनिक व्यक्तिको ऋण माग पत्र म आंफैले दर्ता गरी काल्पनिक मोहन प्रसाद गौतमको नामबाट काभ्रेस्थली गा.पं. वस्ने घननाथ भन्ने राम प्रसाद भण्डारीसँग मिलोमतो गरी विभिन्न कृत्रिम कागजातहरु खडा गरी गर्न लगाई आफूलाई वदनियत फाइदा र बैंकलाई हानी नोक्सानी पुर्याई नभएको धितो मूल्याङ्कन सिफारिस समेत गरी दिई निज राम प्रसाद सँग रु.७०००। लिएको ठिक सांचो हो, कानूनले जो ठर्हछ सहन्छु वुझाउन मंजुर छु भन्ने समेत व्यहोराको सुलेमान खां ले विशेष प्रहरी विभागमा गरेको ततिम्वा सहितको  वयान ।

            १२.   ऋण कमिटीको सदस्यको हैसियतले निज मोहन प्रसाद गौतमको नाममा ऋण स्वीकृत गरी दिएका हौं । बैंकको नियम बमोजिम निवेदकले पेश गर्ने लाल पुर्जा मालपोत तिरेको रसिदको नक्कलमा सक्कल बमोजिम टिक छ भनी ऋण निवेदकले प्रमाणित गर्नु पर्ने नियम भएकोमा मैले सो कुरा नहेर्नु मेरो गल्ती हो । ऋण कमिटीको सदस्यको हैसियतले ऋण स्वीकृतमा सहमती जनाएको थियो हाल हेर्दा मोहन प्रसाद गौतमबाट पेश हुन आएका कागजातहरु कानूनी मान्यता दिन नमिल्ने पांए निजलाई ऋण स्वीकृत गर्न हुने थिएन मेरो गल्ती भयो भन्ने समेत व्यहोराको शंकरनाथ कपालीले वि.प्र. विभागमा गरेको ततिम्वा सहितको वयान ।

            १३. निरिक्षण विश्लेषणको पछाडीपट्टी भरत भनी लेखेको सही मेरै हो । उक्त कागजातहरु ऋण स्वीकृतार्थ म कहां पेश भएका हुन र ऋणी मोहन प्रसादले पेश गरेका  कागज म कहां पेश हुँदा मैले हेरी वसुन्धरा गा.पं. साझा संस्थ्ँँ लि को सिफारिसको आधारमा ऋण स्वीकृत गरेको हो । ती कागजातहरु गैर कानूनी किसिमबाट छाप लगाई तयार  गरीएको हुँदा कानूनी छन भन्न मिल्दैन भन्ने समेत व्यहोराको भरत कुमार प्रधानले गरेको वयान ।

            १४. धितो निरीक्षणमा जांदा किसानलाई चिन्नु पर्छ । मैले ऋणी मोहन प्रसाद गौतमका सदुपयोगिता मात्र जाँच गरेको र धितो मूल्याङ्कन सुलेमान खाबाट भएकोले परियोजना स्थलमा धितो मूल्याङ्कन गर्ने व्यक्तिको भनाई अनुसार सो ठांउमा गई सदुपयोगिता जाँच गरी भएको विवरण हाकिम समक्ष पेश गरेको छु र म निज मोहन प्रसाद गौतमलाई चिन्दीन । मोहन प्रसाद गौतमको माग अनुसार ०४१।५।६ को मेरो सिफारिस अनुसार ७५००। वरावरको दोश्रो किस्ता र त्यसपछि अख्तियार प्राप्त व्यक्ति सालिक राम भण्डारीको किस्ता माग अनुसार मेरो सिफारिसको आधारमा विभिन्न मितिमा पटक पटक किस्ता वापतको रुपैयाहरु उपलब्ध हुन गएको ठिक सांचो हो उक्त कागजातहरु हेरी सनाखत समेत गर्दछु भन्ने समेत व्यहोराको रमेश कुमार वस्नेतले वि.प्र. विभागमा गरेको वयान ।

            १५. सालीक राम भण्डारी भन्ने व्यक्ति मेरो फर्ममा एक चोटी विलमा सही गर्न आएका थिए । मोहन प्रसाद गौतम भन्नेलाई चिन्दीन र निज मोहन प्रसाद गौतमको अख्तियार नामवाला सालिक राम भण्डारीले कृ.वि..बैंकको सप्लाई अर्डरमा अंकित रकम वरावरको सामान आफै आई मेरो फर्मबाट बुझी लगेको हो उक्त सामान के गरे कुखुरा पालन गरेको छ छैन सो मलाई थाहा छैन भन्ने समेत व्यहोराको राम भक्त मानन्धरले विशेष प्रहरी विभागमा गरेको  वयान ।

            १६. चेक नं. ५३८७०१६, ५३८७०८१ मा मोहन प्रसाद गौतम नामको सक्कल चेक थान दुई कृषि विकास बैंक अञ्चल कार्यालय काठमाण्डौंको मिति ०४२।२।१७ को पत्रसाथ प्राप्त ।

            १७. विवादग्रस्त सिफारिस पत्रको हस्ताक्षरहरु र नमुनाहरु र मिति ०४१।४।२ को चेकको पछाडी लेखिएको मिति ०४१।२।१ को ऋण माग पत्रको निवेदनको सही घनानाथ भन्ने राम प्रसादले नमुनाको लागि मोहन प्रसाद गौतमले भन्ने हस्ताक्षर सहीहरु समेत एकै व्यक्तिबाट लेखिएको हो भन्ने समेत व्यहोराको विवादग्रस्त लिखत परिक्षक पदमराज काफ्लेको मिति ०४२।३।४ को राय प्रतिवेदन ।

            १८. ऋणीले पेश गरेको सक्कल कागजातहरु तमसुक बनाउनेले र तमसुक चेक गर्नेले ठीक वा वेठिक भनी चेक गर्नु पर्ने भन्ने समेत व्यहोराको कृषि विकास बैंक मुख्य कार्यालयको मिति ०४२।१२।११ को पत्र ।

            १९. निज सुलेमान खां समेतका कर्मचारीहरु उपर विभागीय कारवाही हुन वि.प्र. विभागबाट ०४३।१।२२ मा कृषि विकास वैंक मुख्य कार्यालयमा लेखि पठाई सकिएको ।

            २०. प्रस्तुत मुद्दा भ्र.नि.ऐन, २०१७ को दफा २४(क) ले हदम्याद नलाग्ने क्षेत्राधिकार पनि सम्मानीत अदालतकै पर्ने ।

            २१. विरुद्ध खण्डमा लेखिएका प्रतिवादीहरुले आफूलाई फाइदा र कृषि विकास बैंकलाई हनी पुर्‍याएको र सो को लागि सहयोग समेत पुरयाइएको हुँदा प्र. राम प्रसाद भण्डारी उपर भ्र.नि.ऐन, ०१७ को दफा ४ र ८ अन्तर्गत प्र. हरि गोपाल शर्मा उपर सोही ऐनको दफा १६ अन्तर्गत प्र. वेनुप कुमार भट्टराई उपर दाफा ७(२) र ९ अन्तर्गत प्र. सालिक राम भण्डारी उपर दफा ८ अन्तर्गत प्रं सुलेमान खां उपर दफा ३ र ७(२) अन्तर्गत प्र. रमेश कुमार बस्नेत उपर दफा ७(२) अन्तर्गत कारवाही भई हदैसम्म सजाय हुन र उक्त ऐनको दफा २९ अन्तर्गत विगो रु.२८०००। र सो विगोको  बमोजिम जरिवाना वापत समेत जम्मा रु.५६०००। निज राम प्रसाद भण्डारीबाट असुल उपर गरी कृषि विकास वैंक शाखा कार्यालय काठमाण्डौंलाई दिलाई भराई दिनु हुन तथा कानूनले लिन खान नहुने गैर कानूनी रकम घुस रिसवत लिनु दिनु गरेको रु.७०००। निज सुलेमान खा बाट र हरि गोपाल शर्माबाट रु.४००। समेत असुल उपर गरी जफत गरी श्री ५ को सरकार सर्वसंचित कोषमा दाखिला हुन अनुरोध छ भन्ने श्री ५ को सरकार विशेष प्रहरी विभागका विशेष प्रहरी अधिकृतले तत्कालिन वागमती विशेष अदालतमा पेश गरेको मिति ०४४।२।२९ को आरोप पत्र ।

            २२. सालिक राम भण्डारी भन्ने व्यक्तिसँग साथ लागि गोगंवु गा.पं. मा गई निज सालिक रामले देखाएको स्थानमा गई निरिक्षण गर्दा पहिलो किस्ताबाट सामान खरिद गरको भनी देखाउँदा कुखुराको चल्ला ३०० वटा समेत देखाएको हुँदा दोश्रो किस्ताको लागि सिफारिस मात्र गरेको हुँ आरोप अनुसारको कसुर नगरेको हुँदा सजाय हुनु पर्ने होइन वि.प्र.वि.मा भएको वयानका सम्पूर्ण जवाफहरु मेरो हस्ताक्षरबाट लेखिएका भएता पनि वि.प्र.वि.का. कर्मचारीले कुटपीट गरी डर त्रास देखाई उनीहरुले रफ गरेको कुरा वाध्य भई लेखेको हुँदा मेरो राजिखुशीबाट भएको वयान होइन भन्ने समेत व्यहोराको प्र. रमेश कुमार वस्नेतले तत्कालिन बागमती विशेष अदालतमा गरेको वयान ।

            २३. कृषि विकास वैंक शाखा कार्यालयवाट मोहन प्रसाद गौतमलाई खोर निर्माण तथा कुखुरा पालन गर्ने सम्वन्धमा जग्गाधनी प्रमाण पुर्जा, रसिद, नागरिकता साझाको सिफारिस नक्सा सम्वन्धी इत्यादि फोटोकपी पेश भएको आधारमा खटाइए अनुसार फिल्डमा गई प्राविधिक दृष्टिकोणले निरिक्षण जाँच गरी निरिक्षण प्रतिवेदन कार्यालयमा पेश गरेको हुँ कुनै रकम लिए खाएको छैन प्रहरी अभियोग झूठ्ठा हो । वि.प्र.वि.को वयान राजिखुसीको होइन कुटपिट डर त्रास देखाई उनिहरुले खेस्रा गरेको व्यहोरा वाध्य वनाई लेख्न लगाएको हुँदा सम्पूर्ण जवाफहरु मेरो स्वहस्ताको हो भन्ने समेत व्यहोराको प्र.सुलेमान खांले तत्कालिन वा.वि.अ.मा गरेको वयान ।

            २४. मेरो घनानाथ भन्ने राम प्रसाद भण्डारीसँग देखा देख भएकोले साधारण चिनजान थियो तापनि मैले निजलाई मैले कुनै लाल पुर्जा कागज दिएको र रु.४००। लिएको तथा ज.ध.प्र.पुर्जा मा केही लेखेको समेत होइन वि.प्र.वि.मा थुनामा राखी कुटपिट गरेकोले पिटाई सहन नसकी उनीहरुले भने अनुसार वाध्य भई लेखि दिएको हुँ आरोप अनुसार मैले कुनै कसुर गरेको छैन भन्ने समेत व्यहोराको प्र.हरि गोपाल शर्माले तत्कालिन वा.वि.अ.मा गरेको वयान ।

            २५. मैले जानी  जानी कुनै लिखत तयार गर्न सहयोग गरेको होइन प्रस्तुत मुद्दामा ऋण मागको कारवाही हुँदा मैले ऋण अधिकृत भोला प्रसाद अधिकारीले लाए अह्राए अनुसार गरेको र मैेले ती तमसुक समेतका कागज हेर्न र अन्य शाखावाट कारवाही फायल आएको हुँदा तमसुक कागज लेखि दिएको सम्म हुँ ऋणी र अन्य कुनै व्यक्तीसँग मेरो कुनै कुराको सम्वन्ध र चिनजान समेत केही नभएको हुँदा आरोप अनुसार सजाय हुनु पर्ने होइन वि.प्र.वि.को वयान व्यहोरा मेरो राजीखुसीको होइन भन्ने समेत व्यहोराको प्र.वेनु कुमार भट्टराईले तत्कालिन वा.वि.अ. मा गरेको वयान ।

            २६. ०४१ सालको महीना गते सम्झना छैन एक दिन राम प्रसाद भण्डारीले कृ.वि.वैंक काठमाण्डौंमा जाउँ एउटा मेरो ऋण लिने काममा साक्षी वस्नु पर्‍यो भनेकाले दाजु नातापर्ने भएकोले विश्वासमा परी निजको साथै गएं त्यहा मन्जूरीनामा भन्ने कागजमा सही गराए तर मलाई चाही साक्षी हो केही होइन भनेर उनैले वैंकमा मान्छेसँग के के कुरा गरे मैले सुनिन म वाहिर वसेको थिएं । पछि ऋण लिने मंजुरीनामामा सही गराएको रहेछन र मेरो नाममा दिएको चेकको रकम निजसँग गै आफैले चेक पछाडि सही गरेर सवै रुपैया लिएका हुन मैले कुनै रकम नलिएको र निजहरुसँग मिलोमतो नगरेको हुँदा आरोप अनुसार संजाय हुनु पर्ने होइन वि.प्र.वि.मा मैले गरेको वयान राजिखुसीको हो भन्ने समेत व्यहोराको प्र.शालिकराम भण्डारीले तत्कालिन वा.वि.अ.मा गरेको  वयान ।

            २७. प्र.रमेश कुमार वस्नेतको साक्षी जवान २, प्र. वेनु कुमार भट्टराईको साक्षी जवान २ ले गरेको वकपत्र मिसिल संलग्न रहेको ।

            २८. प्र.राम प्रसाद भण्डारीले तत्कालिन वा.वि.अ.वाट जारी भएको समाव्हान ०४५।४।२७।५ मा वुझी हाजिर हुन नआएको ।

            २९. प्रतिवादी सुलेमान खां ले कृषी विकास वैंकलाई गैरकानूनी हानी पुर्‍याउने उद्देश्यले निरिक्षण प्रक्रिया जानी जानी पालना नगरी सो वैंकलाई नोक्सान पारी आफूलाई फाइदा हुने कसुर गरेको देखिंदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) वमोजिम कैद वर्ष एक हुने ठहर्छ । प्रतिवादी रमेश कुमार वस्नेतले कृ.वि.वैंकलाई नोक्सान पार्ने नियतवाट निरिक्षणको तोकिएको प्रक्रिया पूरा नगरी सिफारिस गरेको कार्य वदनियत पूर्ण देखिएकोले भ्र.नि.ऐन, २०१७ को दफा ७(२) को कसुर गरेको हुँदा निजले उपलव्ध गराएको दोश्रो किस्ताको रकम रु.७५००। भएकोले सोही वमोजिमको रु.७५००। जरिवाना हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत पाटनको मिति ०४९।८।४ को फैसला रहेछ ।

            ३०. उक्त फैसला पूर्णत कानून विपरीत तथा अन्यायपूर्ण भएकोले सो फैसला वदर गरी पाउँ भन्ने  समेत व्यहोराको वादी श्री ५ को सरकार प्रतिवादी रमेश कुमार वस्नेत र सुलेमान खां को छुट्टा छुट्टै पुनरावेदन परेको रहेछ ।

            ३१. यस्मा वदनियतको तत्वको अभावमा प्रतिवादीलाई संजाय गर्ने गरेको फैसला इन्साफ विचारणीय देखिंदा अ.वं. २०२ नं. बमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको सूचना दिई यसै लगाउको फौ.पु.नं. ७०३,७१४ र ६१२ का मुद्दाहरु समेत एकै साथ राखि नियमानुसार पेश गर्नु भन्ने फौ.पु.नं. ६१२ को मुद्दामा यस अदालतवाट ०५१।६।३ मा आदेश भएको रहेछ ।

            ३२. नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी रमेश  कुमार वस्नेत तर्फवाट रहनु भएका विद्वान अधिवक्ता विश्वकान्त मैनालीले रिट निवेदन साथ पेश भएका ज.ध.प्र.पुर्जा लगायतका कागजातहरुको सत्यतावारे जाँचवुझ गर्ने कार्य क्षेत्र प्रतिवादीको होइन । माग पत्र लिने जांच्ने सम्पूर्ण कार्य समाप्त भएपछि आदेशानुसार परियोजना स्थलमा गई प्राविधिक मूल्याकंन गर्ने काम सम्म मेरो पक्षको हो । सम्वन्धीत शाखा प्रमुखको आदेश र ऋण अधिकृतको स्वीकृति वेगर कुनै पनि ऋणीले ऋण प्राप्त गर्न सक्दैन । पुनरावेदक प्रतिवादी ऋण प्रदान गर्ने अधिकारी होइन । प्राविधिक मूल्याकंन गरी सिफारिस सम्म गर्ने व्यक्ति हुँदा पुनरावेदक प्रतिवादीले आफूलाई गैरकानूनी लाभ कृषि विकास वैंकलाई गैरकानूनी हानी नोक्सानी पुर्‍याउने वदनियत साथ कार्य गरेको भन्ने कुनै सवुद प्रमाण मिसिल वाट देखिदैन । अतः पुनरावेदक प्रतिवादी रमेश कुमार वस्नेतको हकमा वादी दावीको अभियोगवाट सफाई हनु पर्छ भनी वहस प्रस्तुत गर्नु भयो । पुनरावेदक प्रतिवादी सुलेमान खां तर्फवाट रहनु भएका विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपानेले पुनरावेदक प्रतिवादी सुलेमान खां ऋणिले पेश गरेको कागज सद्धे कीर्ते के हो सो छट्याउने अधिकारी होइन । सद्धे कीर्ते ऋण माग फाराम दर्ता हुँदा नै कार्यालय प्रमुखले हेर्नु पर्ने कुरा हो । ऋणीले देखाएको जग्गा आदेशानुसार मूल्याकंन गरी सिफारिस सम्म गर्ने व्यक्तिले वदनियत पूर्ण आफूलाई गैरकानूनी फाइदा कृषि विकास वैंकलाई हानी पुर्‍याएको भन्न मान्न नमिल्ने हुँदा झूठ्ठा अभियोगवाट सफाई हुनु पर्छ भनी वहस प्रस्तुत गर्नु भयो । विशेष प्रहरी विभागवाट उपस्थित हुनु भएका विद्वान उप सरकारी अधिवक्ता श्री भोला नाथ चौलागाईले प्रतिवादीहरु विशेष प्रहरी विभागमा कसुर गरेको कुरामा साविति भएका छन् । अदालतमा वयान गर्दा कसुर इन्कार भए तापनि सो इन्कारीलाई समर्थन हने कुनै प्रमाण वाट प्रमाणित गर्न नसकेवाट पुनरावेदन अदालत पाटनको फैसला सदर कायम हुनु पर्छ भनी वहस प्रस्तुत गर्नु भयो ।

            ३३. आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनको उपरोक्त फैसला मिलेको छ छैन भनी निर्णय दिनु पर्ने देखियो । यसमा सर्व प्रथम श्री ५ को सरकारको पुनरावेदन तर्फ विचार गर्दा पुनरावेदन अदालत पाटनको २०४९।८।४ को फैसला उपर वादी विशेष प्रहरी विभागबाट यस अदालतमा पुनरावेदन परेको रहेछ । फौ.पु.इ.नं. १२ श्री ५ को सरकार विशेष प्रहरी विभाग वादी दिल बहादुर लामा समेत प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा श्री ५ को सरकार वादी हुने मुद्दामा सरकारी वकिलले पुनरावेदन गर्नु पर्नेमा विशेष प्रहरी विभागवाट परेको पुनरोदनवाट कार्यवाही गर्न  नमिल्ने हुँदा प्रस्तुत पुनरावेदन खारेज हुने भनी यस अदालत पूर्ण इजलासवाट मिति २०५२।९।२० मा सिद्धान्त कायम भएको छ । प्रस्तुत मुद्दामा श्री ५ को सरकार विशेष प्रहरी विभागको तर्फवाट पुनरावेदन परेको सरकारी वकिल तर्फवाट पुनरावेदन परेको नदेखिएवाट उक्त सिद्धान्त अनुसार विशेष प्रहरी विभागको तर्फको पुनरावेदन खारेज हुने ठहर्छ ।

            ३४. पुनरावेदक प्रतिवादी सुलेमान खां को हकमा विचार गर्दा घनानाथ भन्ने राम प्रसाद भण्डारीले मोहन प्रसाद गौतम भन्ने काल्पनीक नाम राखि ऋण लिए वापत ऋण सहायक सुलेमान खांले रु.७०००। लिएका हुन भनी विशेष प्रहरी विभागमा वयान गरेको आधारमा प्रतिवादी सुलेमान खां उपर अभियोग लगाएको देखिन्छ । प्रतिवादी सुलेमान ले विशेष प्रहरी विभागमा वयान गर्दा मोहन प्रसाद गौतम नाउँको जग्गा निरिक्षण गरी धितो मूल्याकंन प्रतिवेदनमा सुलेमान खां भनी गरेको सही मेरै हो । नभएको धितो मूल्याकंन सिफारिस समेत गरी दिई राम प्रसाद सँग रु.७०००। लिएको हो भनी कसुरमा साविति भएको देखिन्छ । निजले अदालतमा वयान गर्दा कसुरमा पूर्ण इन्कार रही वयान गरेको पाइन्छ । विशेष प्रहरीमा भएको सावितिलाई अन्य कुनै स्वतन्त्र एवं ठोस प्रमाणवाट समर्थित हुन आएको नदेखिएवाट प्रतिवादी सुलेमान खां  ले रु.७०००। लिए खाएको भन्ने भन्न सकिने अवस्था देखिएन । विशेष प्रहरी विभागमा भएको वयान कागजको आधारमा मात्र कसुरदार ठहराउन मिल्ने देखिएन । यसको अतिरिक्त प्रतिवादी   सुलेमान खां ले आफ्नो ओहदा (ऋण सहायक) वमोजिम कार्यवाही गर्दा आफूलाई गैरकानूनी लाभ र कृषि विकास वैंकलाई गैरकानूनी हानी नोक्सानी पुर्‍याउने वदनियत साथ कार्य गरेको भन्ने कुनै प्रमाणवाट पुष्टि भएको देखिन आएन । पुनरावेदक प्रतिवादी रमेश कुमारको हकमा विचार गर्दा निजले विशेष प्रहरी विभागमा वयान गर्दा मेरो सिफारिसको आधारमा विभिन्न मितिमा पटक पटक किस्ता वापतको रुपैंया उपलव्ध हुन गएको हो भनी उल्लेख गरेको छ । अदालतमा वयान गर्दा पहिलेको किस्ताबाट सामान खरिद गरेको देख्दा दोश्रो किस्ताको सिफारिस मात्र गरेको छु भनी वयान गरेको पाइन्छ । प्रतिवादी रमेश कुमार वस्नेतको ऋण सिफारिस गरि दिए वापत रकम लिइ खाएको भनी किटानी उल्लेख भएको पाइएन । निजले आफ्नो ओहदाको कार्यवाही सम्वन्धमा आवश्यक सावधानी नदेखाएको सम्म मिसिलवाट देखिन आउँछ । तर वद्‌नियतका साथ कृषि विकास र्वैकलाई गैरकानूनी हानी नोक्सानी र आफूलाई गैरकानूनी लाभ पुर्‍याउने काम कारवाही गरेको भन्ने प्रमाणित हुन सकेको देखिंदैन । यसरी आरोपित कसुर प्रमाणबाट पुष्टि हुन नसकेको अवस्थामा अनुमानको आधारमा मात्र कसुर ठहराउन नमिल्ने हुनाले पुनरावेदक प्रतिवादी सुलेमान खां र रमेश कुमार वस्नेतले वादी दावीको अभियोगवाट सफाई पाउने ठहर्छ । भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७ (२) वमोजिम प्रतिवादी सुलेमान खांलाई कैद वर्ष एक र प्रतिवादी रमेश कुमार वस्नेतलाई रु. ७५००। जरिवाना हुने ठहराएको पुनरावेदन अदालत पाटनको इन्साफ नमिलेकोले सो हद सम्म इन्साफ उल्टी हुन्छ । अरु तपसिल बमोजिम गर्नु ।

 

तपसिल

माथि इन्साफ खण्डमा लेखिय वमोजिम प्रतिवादी सुलेमान खांले अभियोगवाट सफाई पाएकोले निजको हकमा पुनरावेदन अदालत पाटनको ०४९।८।४ को फैसलाले कायम गरेको कैद वर्ष एकको लग कट्टा  गरी दिनु भनी काठमाण्डौं जिल्ला अदालतमा लेखि पठाई दिनु.... १

प्रतिवादी सुलेमान खां ले यस अदालतमा पुनरावेदन गर्दा अ.वं. १९४ नं. वमोजिम धरौटी राखेको रु.५००। फिर्ता पाउँ भनी दर्खास्त दिए कानून वमोजिम गरी फिर्ता दिनु भनी काठमाण्डौं जिल्ला अदालतमा लेखि  पठाउनु ... १

माथि इन्साफ खण्डमा लेखिए वमोजिम प्रतिवादी सुलेमान खांले सफाई पाएकोले मिति २०४२।२।१८ मा सप्तरी जिल्ला तरही गा.पं. वडा नं. ८ वस्ने महमुद मियाले जि.सप्तरी तरही गा.पं. वडा नं. ५ कि.नं. १०१ को ०-७-३ र ऐ वडा नं. ८ को कि.नं. १७७ को ज.वि. ०-११-१५ जेथा जमानी दिएको देखिंदा उक्त कि.नं.को जग्गाहरु फूकुवा गरी दिनु भनी मालपोत कार्यालय सप्तरीमा लेखि पठाई दिनु भनी सुरु काठमाण्डौं जिल्ला अदालतमा लेखि पठाउनु ....... १

माथि इन्साफ खण्डमा लेखिए वमोजिम प्रतिवादी रमेश कुमार वस्नेतले अभियोगवाट सफाई पाएकोले निजको हकमा पुनरावेदन अदालत पाटनको मिति २०४८।८।४ को फैसलाले कायम गरेको लगत सवै कट्टा गरी दिनु भनी वि.प्र.वि.मा लेखि पठाउन काठमाण्डौं जिल्ला अदालतमा लगत दिनु .... १

मिसिल नियम वमोजिम वुझाई दिनु ............. १

 

उक्त रायमा सहमत छु ।

 

न्या. उदयराज उपाध्याय

 

ईति सम्वत २०५३ साल माघ २३ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु