शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६३३९ - अंश दर्ता

भाग: ३९ साल: २०५४ महिना: असार अंक:

निर्णय नं.- ६३३९              २०५४, ने.का.प.        अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे

संवत २०५१ सालको दे.पु.नं........१९२९

फैसला मितिः ०५४।१।९।२

 

मुद्दाः अंश दर्ता ।

 

पुनरावेदक/वादीः जि.धनुषा तुलश्याही जवदी गा.वि.स. वार्ड नं.२ वस्ने किशोरी शाहको छोरा वर्ष ५० को नथुनी शाह  ।

विरुद्ध

विपक्षी/प्रतिवादीः ऐ.ऐ. वस्ने वुधनी देवी तेलीन समेत जम्मा ३ ।

 

§  जानकी देवीले दिएको अंश मुद्दाको फैसला कार्यान्वयन हुन भन्दा पहिले नै दिनेशलाई गरिदिएको वकसपत्रको वांकी जग्गाको सम्वन्धमा तत्काल सगोलमा नै रहेको यी वादीले कुनै नालेस उजुर गरेको देखिन आउँदैन । यस स्थितिमा यी अंश छुट्टि सकेको वादीले प्रस्तुत अंश मुद्दा दिएको नाताले अवण्डा सम्पत्ति छुट्टयाई पाउन भनि दिएको दावी सरह अंश छुट्याउनु पर्ने कानूनी आधार समेत नदेखिने ।       

(प्र.नं.१२)

§  अतः एक पटक अंश भाग छुट्टी नाउँसारी समेत गरी सकेपछि अंश पाउ भन्ने प्रस्तुत वादीको दावी नपुग्ने ठहर्‍याएको पुनरावेदन अदालत, जनकपुरको फैसला मनासिव ठहर्ने । 

   (प्र.नं.१२)

 

निवेदक तर्फवाटः- विद्वान अधिवक्ता श्री राम प्रसाद भट्टराई ।

विपक्षी तर्फवाटः- विद्वान अधिवक्ता श्री लभ कुमार मैनाली ।

अवलम्वित नजीरः-  x    

 

फैसला

            न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत, जनकपुरको मिति २०५०।२।४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) वमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त व्यहोरा यस प्रकार छः-

            २. स्व. बाबु किशोरी साह र आमा विपक्षी बुधनी देवीको म एक मात्र छोरा हुँ । मेरो २ श्रीमती मध्ये जेठी स्व.लक्ष्मी नियाको एकछोरा विपक्षी दिनेश तथा कान्छी जानकीवाट एक छोरा रमेश र छोरी ४ मध्ये जेठी जगतारनी देवी, माहिली परमिला, साहिली विपक्षी मनतोरिया र कान्छी सुनिता हुन । हामी मध्ये मेरो कान्छी श्रीमती जानकी देवी एका सगोलमा वस्न नसक्ता म समेत उपर २०४३ सालमा अंश मुद्दा दायर गरेकोमा निजले अंश पाउने ठहरी ध.जि.अ.वाट ०४५।१२।१९ मा फैसला भै सकेकोमा प्रतिवादी बुधनी र दिनेशले म सँग रिसईवि लिई मलाई मिति ०४७।४।२१ देखि खानलाउन समेत नदिई अंश समेत नदिएकोले विपक्षी जिम्माको सम्पूर्ण सम्पत्तिको तायदाती लिई ३ खण्डको १ खण्ड अंश पाउँ भन्ने समेत नथुनी साहको फिराद पत्र ।

            ३.    पुस्तावलीमा हाम्रो विवाद छैन । तर वादीको अंश हाम्रो जिम्मामा छैन  प्र.मध्येका म दिनेशको आमा स्वर्गिय हुनु भएपछि विपक्षी वावुले जानकी देवी सँग दोश्रो विवाह गरेको र सौतेनी आमा घरमा ल्याएपछि निजले हामीहरुलाई हेरविचार समेत केही नगरी जानकी संगै वस्न जानु भयो । हामीलाई सोही वेला देखि छुट्टयाई दिएको हो पछि जानकी देवीलाई उचाली अंश मुद्दा दिन लगाए सोको वण्डा समेत भै सकेपछि मालपोत को कर्मचारीलाई आफ्नो प्रभावमा पारी निजले फैसला भन्दा वढी जग्गा आफ्नो भागमा पारी लिएकोमा सो उपर हामीले नालेस गरी सकेपछि सोही रिस इवीवाट यो मुद्दा दिएको हो । अंश पाई सकेकोले दोहोरो दिनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।

            ४. प्रमाणको जानकी देवीले यीनै वादी समेत उपर दायर गरेको दे.नं. १०८४ को अंश मुद्दामा जानकी देवीले मात्र अंश पाउने ठहरी फैसला भएको समेतवाट यी वादीले अंश पाई सकेको भन्ने नदेखिएकोले ३ खण्डको १ खण्ड अंश पाउने ठहर्छ भन्ने समेत ०४९।२।१९ को ध.जि.अ.को फैसला ।

            ५. वादीले फैसला भन्दा वढी अर्थात आफ्नो भाग समेत दर्ता गराई लिएकोमा दे.नं. १११० को लि.द.व. मुद्दा चलाएकोमा त्यसमा वादीको १ खण्ड भाग वाहेकमा हाम्रो वादी दावी ठहरी कायम भएको फैसला अन्तिम रुपमा विद्यमान भै रहेको स्थितिमा वादीले अंश पाउने ठहरीएको शुरु फैसला आत्मनिष्ठताको आधारमा कानून र तथ्यको जथाभावी व्याख्या गरिएको गलत एवं कानून विपरितको फैसला हुँदा सो वदर गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरमा परेको पुनरावेदन पत्र ।

            ६. यसमा २०४६।७।५ को वण्डा मुचुल्कावाट सवै अंशियारको भाग छुट्टयाईएको दर्ता गर्न अदालतवाट मालपोत कार्यालयलाई पत्र समेत पठाई दर्ता भै सकेको अवस्थामा शुरु फैसला फरक पर्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाउनु भन्ने उक्त अदालतको २०४९।९।२० को आदेश ।

            ७. विपक्षी वादीले आफ्ना अंश भाग छुट्टयाई  लिएको स्पष्ट देखिन आउँछ । अंश भिन्न भएको छैन पुनः अंश पाउँ भन्ने दावी नै तथ्ययुक्त देखिन आएन । सोही अनुरुप पुनरावेदक दिनेश तथा वुधनी देवी समेतले आ-आफ्नो अंश भाग प्राप्त गरी चित्त वुझाई वसे पश्चात पुनः अंश दिनु पर्ने देखिन आउदैन । यस्तो स्थितिमा अंश भिन्दै नभएको भन्ने आधार लिई विपक्षीलाई अंश दिलाई दिने गरी गरेको शुरु जि.अ.को निर्णय त्रुटीपूर्ण देखिदा उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरको मिति ०५०।२।४ को फैसला ।

            ८. अंश नपाउने ठहराएको पुनरावेदन अदालत जनकपुरको त्रुटीपूर्ण फैसला वदर गरी फिराद दावी अनुसार अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको पुनरावेदन ।

            ९. वादीले अंश पाइसकेको भन्ने देखिन नआएकोले अंश पाउने ठहर्‍याएको शुरु फैसला उल्टी गरी पुनरावेदन अदालत जनकपुरले गरेको फैसला नमिली फरक पर्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति ०५३।८।१७ को आदेश ।

            १०. नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री राम प्रसाद भट्टराई तथा विपक्षीका तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री लभ कुमार मैनालीले आ-आफ्नो पक्षवाट वहस प्रस्तुत गर्नु भयो  ।

            ११. दुवै पक्षका विद्वान अधिवक्ताहरुले प्रस्तुत गर्नु भएको वहस जिकिर समेत सुनि पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा वादीले अंश पाउने ठहराएको शुरु जिल्ला अदालतको फैसला उल्टी गरी अंश दिनु नपर्ने ठहर्‍याएको पुनरावेदन अदालत जनकपुरको फैसला मिले नमिलेको के रहेछ ? सो विषयमा निर्णय दिनु पर्ने देखिन आयो । निर्णय तर्फ विचार गर्दा प्रतिवादीहरुले खानलाउन नदिएको र अंश समेत नदिएकोले विपक्षी जिम्माको सम्पूर्ण सम्पत्ति तायदाती लिई ३ खण्डको १ खण्ड अंश पाउ भन्ने फिराद दावी भएकोमा जानकी देवीले हामी उपर अंश मुद्दा दिई सो मुद्दाको फैसला वमोजिम अंश वण्डा हुँदा विपक्षी वादीले पनि अंश पाइसकेको हुँदा दोहोरो अंश दिनु पर्ने होइन भन्ने प्रतिउत्तर जिकिर रहेछ ।

            १२. प्रस्तुत मुद्दामा जानकी देवीले दिएको अंश मुद्दाको फैसालावाट जानकी देवीको अंश छुट्टाउँदा प्रस्तुत मुद्दाका वादी लगायत सवै अंशियारको भाग वण्डा छुट्टयाई मुचुल्का खडा गरी वुधनी देवीको नाउँमा रहेको सगोलको सम्पत्ति र किशोरीको नाउँको सम्पत्ति समेत अंशियाराहरुको नाउँमा नामसारी समेत भएको देखिन आउँछ । सो अवस्थामा यी वादी वण्डा मुचुल्काको रोहवरमा समेत वसेको देखिन्छ । त्यस प्रकार दर्ता नामसारी गरिंदा लगभग वरोवरी अचल सम्पत्ति अंशियारको भागमा छुट्याइएको भन्ने देखिन आएकोले त्यस पछि पनि वादी प्रतिवादीको सम्पत्ति सगोलमा नभै छुट्टिएको प्रमाण खण्डन हुन सक्ने कुनै पनि प्रमाण वादीले गुजार्न सकेको मिसिल वाट देखिन आएन । प्रस्तुत मुद्दा चल्नू भन्दा अघिनै  वुधनी देवी तेलीनले दिनेश शाह तेलीलाई गरी दिएको वकस पत्र समेतको जग्गा जानकी देवीको फिरादवाट जानकी देवीको हक जतिको वकसपत्र वदर भै वांकी कायम नै रहेको देखिन आउँछ । जानकी देवीले दिएको अंश मुद्दाको फैसला कार्यान्वयन हुन भन्दा पहिले नै दिनेशलाई गरिदिएको वकसपत्रको वांकी जग्गाको सम्वन्धमा तत्काल सगोलमा नै रहेका यी वादीले कुनै नालेस उजुर गरेको देखिन  आउँदैन । यस स्थितिमा यी अंश छुट्टि सकेको वादीले प्रस्तुत अंश मुद्दा दिएको नाताले अवण्डा सम्पत्ति छुट्टयाई पाउन भनि दिएको दावी सरह अंश छुट्टयाउनु पर्ने कानूनी आधार समेत देखिएन । अतः एक पटक अंश भाग छुट्टी नाउँसारी समेत गरी सकेपछि अंश पाउ भन्ने प्रस्तुत वादीको दावी नपुग्ने ठहर्‍याएको पुनरावेदन अदालत, जनकपुरको फैसला मनासिव ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न  सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.इन्द्रराज पाण्डे ।

 

इति संवत २०५४ साल वैशाख ९ गते रोज २ शुभम् ..... ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु